साँझको साढे छ बज्न लागेको छ । तलतिर माथितिरको घरमा सन्ध्या आरतीको मंगल भजन अनि घन्टीको आवाज आउँदैछ । साउनको महिनामा झ्याउकिरी झ्याउ झ्याउ गरी कराई राखेका छन्। माटामुनिको भ्यागुताको ध्वनित् वातारवरणमा सावित्री कान्छी घरको पेटीमा एक हाथ चिउँडोमा लगाएर घर छेउको केराको बोटमा एकोहोरिएर बसीराखेको छिन्। जति टोलिन्छिन् त्यति उनका आखाँबाट आँसु बरररर झर्दै जान्छन्।
पछाडिबाट सावित्रीकी छ सालकी छोरी मीठीले आमालाई झस्काउँदै भन्छे, ‘आमा, आमा, भात डढ्यो होला, अघिबाट गनाउँदैछ।’
सावित्री पिरको संसारबाट क्षणभरमै निस्केर, आँसु पूछ्दै, छोरीलाई हेर्दै मुसुक्क हाँसेर भन्छिन्, ‘भान्साघरमा गएर चुल्हाको दाउरा निकाल्दे अनि कोक्रामा सुतेको भाई उठ्यो कि उठेन, गएर हेर ल मेरी प्यारी छोरी। मँ गाईलाई घास हालेर आउछूँ।’
यति काम अर्हाएर, सावित्री गाईलाई घास हाल्न लाग्छिन्। उता छोरी भान्साघरमा गएर आमाले अर्हाएको काम गर्न लाग्छे। यही बेला सावित्रीका लोग्ने बले कान्छा लरबरिँदै आउछन्। आँगनमा लेउ लागेको ठाउँमा चिप्लेर पछारिन्छन्। कसो कसो गरेर फेरी उठेर, ‘कोही छ मसँग लड्ने’ भनी काराउँदै सिक्वाको डिलमा बसेर हिलै हिलो भएको हाथले चुरोट सल्काउन लाग्छन्। बले कान्छा पछारिएको कारण आँगनमा लागेको लेउको साथ साथ उनको दिनै रक्सी पिएर मात्ने बानीले पनि हो।
बले कान्छाले कराएको आवाजले कोक्राको नानी उठेर रून लाग्यो।
सावित्री घाँस हालेर घर भित्र पस्न लाग्दा बले कान्छाले मुखमा तान्दै गरेको चुरोट निकालेर, थूक उछिट्याउँदै ठूलो आवजमा भन्छन्, ‘ओइ सावित्री, मलाई भोक लाग्यो। भात खुरूक्क गएर पस्की। नत्र तेरो मँ मँ मँ…भन्दै एक हाथले खुट्टामा टोक्दै गरेको लामखुट्टेलाई फ्याट्ट पारेर फेरी चुुरोट तान्न लाग्छन्।
सावित्री केही न बोली सुरू सुरू भित्र नानी लिएर भान्साघरमा पस्छिन्।
काखमा नानीलाई दुध पिलाउदै भर्सेको भातको भाडाको बिर्को निकाल्दै छोरी लाई अराउँछिन्, ‘मीठी जा बाबालाई खाना खान बोला ।’
सावित्रीले बले कान्छा अनि छोरीलाई खाना पस्किन्छिन्। बले कान्छा सर्ट भरी हिलो बोकेर भित्र भान्साघर आए अनि खाना खान बसे। सावित्रीले छोरी लाई अराएर बले कान्छाको लागि अर्को सर्ट लिन पठाउछिन्।
बलेकान्छा सर्ट फेर्दै लटियांग्रो मुखले भन्छन्,‘के तरकारी पकाईस्?’
सावित्री केही नबोली, नानी लाई दुध पिलाउन अर्को तिर नानीलाई सार्छिन्। मीठी खाना खान थाल्छे।
बले कान्छा ठूलो स्वरमा, ‘के तरकारी पकाईस् भनेको? एक चोटि भनेको सुन्दिनस्? कि कानका जली खोलिने गरी दिउ?’
यति सुन्दा सावित्रीका फुट्न आटेका कुरा निस्किन खोज्दा पनि आफूलाई नियन्त्रण गरी फुस्फुसाउँदै भन्छिन्, ‘साग,तरकारी किन्ने पैसा दिएको थियौ र मैले थरी(थरीको खाना पकाउनु? तल थपेनी आमोईको बाट लियेको मोईको सोलर छ। चामल पनि सिद्धिएको छ। एक मानो रहेको चामल अहिले पकाएको हो। एक जानाले न खाई भाँडो रित्तियो। के गर्नु बुडालाई रक्सी खान पुग्छ तर……………’
यो कुरा पुरा गर्न न दिई बले कान्छाले भातले भरिएको थाल टिपेर पर ठेलासम्म पुग्ने गरी झटारो हान्दै भन्छन्, ‘के भनिस् रे? मैले रक्सी पिएको तलाई धेर भयो? तेरो बाउको खाइदिएको छ?’
थाल फ्याकेको देख्दा अनि यस्तो कुरा सुन्दा सावित्रीको आपा हरायो। झन्का छूट्यो अनि ठूलो स्वरमा भन्छिन्,‘यो सबै बेकारको कुरामा मेरो बुबाको कुरा न निकाल। मलाई थाह छ तिमी के कति गर्न सक्छौ र के कति गरेका छौ भनेर। भएका दुईटा नानी त पाल्न सकेको छैनौ । मेरो किस्मत नै फुटेको थियो जो तिमी जस्तो मतुआ, जिम्मेदारी न बुुझ्ने मान्छेसँग मैले प्रेम अनि विवाह गरे।’
यति भनी सकेर अर्को कुरा थप्नलाई लामो सास के फेर्दैथिइन्, बले कान्छाले चूल्हामा आदि जलेको अगुल्टोले बल पुर्याएर सावित्रीको खप्परमा जोरसँग हान्छन्। जोरसँग हानेकोले गर्दा सावित्रीको टाउको झननननन गरी घुमाउन लाग्छ। दुध पिउँदै गरेको नानी काखबाट तल झर्छ । चुलाको छेउमा आदि निभेको कोईलाले खुट्टामा पोल्दा नानी डाका छोडेर रून्छ। सावित्रीको खप्परबाट भलल रगतको धारा बग्न लाग्छ। मीठी आमाको रगत र भाई रोएको देख्दा काल्येर रून लाग्छे। यति काम गरेर बले कान्छा लरबरिदैँ भान्साघर देखि निस्केर घरको तगेरो काटेर जान्छन्।
………..
दुवै नानीले रोएर घरै उचालेका छन्।
सावित्री रगत निस्केको ठाउमा समातेर कसो कसो गरेर खाटमा गएर पल्टिन्छिन्। मीठी रूदै रूदै भाईलाई बोकेर आमाको छेउमा गएर सावित्रीलाई हल्लाउदै भन्छे, ‘आमा के भयो हजूरलाई? हेर्नु त कति रगत बग्यो हजुुरको टाउकोबाट। भाईको खुट्टामा पोलेर रोई राखेको छ। उठ्नु न आमा उठ्नु। मीठीका आँखाबाट अविरल आँसु झर्दै मुखमा पस्छ। सावित्री छोरीको आवाज सुनी छोरी तिर हेर्न लाग्छिन् तर आँखा तिरीमिरी भएर धमिलो देखिन्छ। उठ्न प्रयास गर्छिन् तर टाउको घुमाएकोले गर्दा खोलेका आँखा पनि चिम्ली अचेत अवस्थामा जान्छिन्। मीठी भाईलाई त्यही खाटमा राखेर आमालाई उठाउने प्रयास गर्छे तर सावित्री अचेत भएकोले गर्दा मीठी यो प्रयासमा असफल हुन्छे। आमाको केही प्रतिक्रिया न आएकोले मीठी झन् ठूलो स्वर गरी रून लाग्छे। मीठीको साथ-साथ सानो नानी झन साह्रो रून लाग्छ। यो घटना स्थलको दृश्य कसैले देख्दा पनि मनै पिघ्लेर आउँछ।
सावित्रीको घर माथितिर लगभग सय पाईला दुरीमा मास्टर हरि प्रसादको घर थियो। पचास वर्षका हरि प्रसाद त्यही गाँउको सरकारी स्कुुमा प्रधानाचार्य थिए। शिक्षक हुन साथ साथ उनी धेरै असल र सेवाभावी प्रवृतिका मानिस थिए। भर्खरै खाना खाएर, विद्यार्थीका पेपर जाँच गर्न लागेका थिए। तल्लो घरमा नानी रोएको आवाजले ध्यान केन्द्रित गर्न नसक्दा श्रीमती धनमायालाई सोध्छन्, ‘धनमाया तल्लाघरका नानीहरू किन रोएका होलान्? पन्ध्र(बीस मिनट देखि रोई राखेका छन् त?’
धनमाया सुुत्नको तरखर गर्दै थिइन्। खाटको बिस्तारा मिलाउँदै उत्तर दिन्छिन्, ‘खई, मँ पनि सुनी राखेको छु। आएको दस दिन पनि भएको छैन। सावित्रीका बुढा जहिले मातेको हुँदो रहेछ। आज पनि अघि आँगनमा पछारिएको देखेको थिएँ। केही अनर्थ भयो कि गएर बुझम न।’
मास्टरजी कलम टोकेर सुन्दै थिए। धनमायाको कुरा सुनेर ‘हुन्छ’ भनी टाउको हल्लाउदै टर्चलाईट बोक्न लाग्छन्।
मास्टरजी र धनमाया सावित्रीको घर तिर लाग्छन्। ढोका खुुल्लैे थियो। दैलोको छेउमा भर्खरै कुच्चिएको थाल लडीराखेको थियो। भात चारैतिर छररिएको थियो। भित्रको मनै खिन्न हुने दृश्य हेरेर दुवै जाना छक्क पर्छन्। सानो नानी धेरै रोएर घाँटीनै सुकेर खाटमा सक् सक् गर्दै बसीराखेको थियो। धनमायालाई मन खिन्न भएर दया लाग्छ अनि सानो नानीलाई बोक्छिन। मीठीको गालामा सुमसुमाउँदै सान्तवना दिन्छिन्। उता मास्टरजी अचेत भएकी सावित्रीको चोटमा रूमालले बाधेर नजिकको स्वास्थ केन्द्र लैजानको लागी बोक्न लाग्छन्।
धनमाया दुवै नानीलाई आफ्नो घरमा लगेर छोरीको साथमा छोडिदिन्छिन् अनि मास्टरजीको साथमा सावित्रीलाई लिएर स्वास्थ केन्द्र जान्छिन्। डाक्टरले उपचार गरेको एक घण्टा उपरान्त सावित्रीको होस् आउँछ। सावित्री अलि सामान्य भए पछि, दुवैजानाले उनलाई घरमा पुर्याइदिन्छन् ।
…….
भोलीपल्ट बिहानै उठेर सावित्री गाईलाई घास हालेर सिक्वाको डिलमा बस्छिन् । टाउकोमा सेतो पट्टी बाधेको छ। गाला र घाँटीमा रगत सुकेर पाप्रा भएको छ। उनलाई डाँको छोडेर रून त मन लागेको छ तर टाउको दुखेको पीरले उनलाई हल्लिन पनि गाह्रो भएको छ। सावित्रीका सधैँका प्रिय साथी आँसु आफ्नो बाटो हुँदै आज गालामा लागेको रतगमा मिस्सिएर रातो हुदै थपथप चुहिँदैछन्।
त्यही बेला मास्टरजी र धनमाया सावित्रीको छेउमा आईपुग्छन्। धनमाया सावित्रीको काधमा हाथ राखेर सोध्छिन्, ‘सावित्री अहिले तिमीलाई कस्तो हुदैछ?’
सावित्री झसंग भएर उठी दुवै जानालाई नमस्कार गर्दै जवाफ दिन्छिन्, ‘हजुर दीदी मलाई आराम हुदैछ।’
सावित्री भित्र पसेर दुईटा पीरा ल्याई मास्टरजी र धनमायालाई बस्न आग्रह गर्छिन्। सावित्री दुई हात जोडेर भन्छिन्, ‘हामी यहाँ आएको एक हप्ता पनि हुन लागेको छैन। हजुरहरूलाई धेरै दुःख दिएँ। हिजो भएको घटना पछि मलाई स्वास्थ केन्द्र लगेर मेरो ज्यान बचाएको गुन म कहिले बिर्सिने छैन। सायद मरेकै भए पनि दुःखनै लुक्ने थियो होला। मेरो आत्मा मरेको त धैरे भयो। यिनै दुईटा नानीको लागि बाचेको छु।’ थाम्न गर्दा पनि सावित्रीका आँसू रोकिँदैनन्।
मास्टरजी सावित्रीको कुरा काटेर भन्छन्, ‘सावित्री पहिलो कुरा, हामीलाई केही दुःख भएन। तिमी(हामी मान्छे हौँ। दुःख-गाह्रो भएको समयमा सहायता गर्नु हामी सबैको धर्म हो। अर्को कुरा तिमी यति चाँडै किन जीवनबाट हार खाएको?’
सावित्रीले भन्छिन्, ‘के गर्नु मास्टरजी, बुढामान्छेको बानी र व्यवहारले गर्दा जीवन नर्क समान भएको छ। बिहे गरेको दस वर्ष भयो। बिहे गरेको दुई वर्ष पछि यस्तै पीरमा जीवन काटिँदैछ।’
धनमायालाई आज पहिले चोटि सावित्रीको निजी जीवनको जानकारी पाउदा छक्क पर्दै सावित्रीलाई सोध्छिन्, ‘सावित्री, के बले कान्छा यसरीनै दिनै रक्सी खाएर लडाई-झगडा गर्छन्?’
सवित्री मीठीले सानो नानी दिएको काखमा लिदै उत्तर दिन्छिन्, ‘दिदी किस्मत मेराे नै खराब होला। मेरो बाबा पनि सरकारी स्कुुलमा अध्यापक हुनुहुन्थ्यो। मेरी दीदी बाह्र कक्षामा पढ्थी अनि म एघार कक्षामा। हामी पढेको स्कुलमा नै मेरा लोग्ने बस चलाउँथे। चिनजान हुँदाहुँदै कहिले हामी दुईमा माया बस्यो थाहा नै भएन। दिदीले यो कुरा थाह पाए पछि आमालाई भन्दिनुभयो। आमाले मलाई त्यो रात, रातभरी सम्झाएको अझै झलझली याद आउँछ। ‘छोरी अहिले पढाईमा ध्यान दे। बिहे गर्ने बेला भएको छैन। अठार वर्षकी मात्र भएकी छेस्। धेरै पढ्नु, जागिर गर्नू। त्यै अनुसार केटो पनि राम्रो जागिर भएको पाउँछेस्। यो उमेरमा बिहे गरिस् भने दुःख पाउछेस् है छोरी।’ काँचो उमेरमा भएको मायाले, आमाको कुराको मुल्य बुझिन।
हामीले भागेर त्यही साल बिहे गर्यौँ । बिहे भएको एक सालसम्म कति खुशीसँग बसेँ। मीठी छोरी पनि जन्मी। त्यो बेला सम्म मलाई लोग्नेले रक्सी पिउनु हुन्छ भनेर थाह थिएन। छोरी तीन महिनाको हुँदा एक दिन साथी लिएर आउनु भएको थियो। रात भरी साथीसँग बसेर रक्सी पिउनु भयो। मैले केही भनिन्। यस्तो दिनदिनै गर्न थाल्नु भयो। कमाएको सबै पैसा रक्सीमा जान थाल्यो। घरमा खाना अनि नानीको दबाई-पानीमा खर्च पुराउन गाह्रो हुन लाग्यो। दिनैपिच्छे साथीमा हुने पार्टीले परिवारमा आएको प्रभाव देखेर मैले आफ्नो जनाउन लाग्दा लोग्नेले म माथि हात उठाउन लाग्नु भयो। उहाँले यस्तो बानी गर्नाले दिनै कलह हुन लाग्यो। कति चोटि त आत्महत्या गर्ने मनमा आयो अनि गर्न कोशिश पनि गरे तर छोरा-छोरीको माया अनि म नहुँदा कति दुःख पाउलान् भन्ने ड़रले यो आत्मालाई मारेर बाचेको छु।’
यति भन्दै सावित्रीका आँसु झर्न लागे। धनमाया सावित्रीको छेउमा गएर आँसु पुुछिदिदै भन्छिन्, बहिनी नरोउ। सबै ठीक हुन्छ। यति सानो उमेरमा यति कष्ट झेलेकी रहिछ्यौ। समयले सबै ठीक गरी हाल्छ नि। मन दह्रो बनाउ अनि नानीहरूको पालन पोषणमा ध्यान देऊ।’
मास्टरजी धनमायाको कुरामा सहमति दिँदै भन्छन्, ‘धनमाया ठीक भन्दै छिन्। जीवनमा आफूलाई कमजोर अनि असहाय सोच्नु नै सबैभन्दा ठूलो भूल हो। मनमा आत्महत्या र आत्मलाई मार्नु जस्तो विचार गर्नु पनि अत्याचारीको बल बढाउनु हो। आजको समयमा पुरूष-महिला एकै समान भएको छन्। पुरूष भन्दा महिलाहरूले आफ्नो कला र आत्मविष्वासले आफ्नो खुट्टामा उभिएर जीवन यापन गरीरहेका छन्। तिमीले हार त खाएको छैनौ तर पनि आगाडिको जीवन खुशी र निर्भिक भएर जीवन जिउनु तिम्रो अधिकार हो अनि जरूरी पनि।’
धनमाया लोग्नेको कुरामा टाउको हल्लाई सहमति दिँदै भन्छिन्, ‘बहिनी, यो कुराको जानकारी तिम्रो बा-आमलाई छ कि छैन?’
सवित्री भन्छिन्, ‘छैन दिदी । मैले चाहेर पनि भन्न सकेको छैन। किन घरमा पीर दिनु। मैलेनै आफै जीवनसाथी चुनेर आएको थिएँ। अहिले यो समयमा आएर घटना सुनाउँदा परिवारले कसरी सहन सक्छन्। मैले पनि आमा(बाबा पीरमा भएको हेर्न सक्दिन। आफ्नो पीर मेरो मनमै गुम्साएर बसेको छु।’
मास्टरजीले भन्छन्, ‘यसरी नै दिनै पछि बले कान्छाले झगडा गर्दा, पीर दिँदा पनि कहिले तिमीले उसलाई छोड्ने कुरा मनमा आएको छैन?’
मास्टरजीको प्रश्नमा सावित्रीले भन्छिन्, ‘अब छोड़ेर कहाँ जानु? कसरी दुईटा नानी पाल्नु? कसलाई गएर पीर पोख्नु? कसले मलाई सहायता गर्ने छ?’
मास्टरजीले सावित्रीको कुराको मर्म बुझेर भन्छन्, ‘बहिनी यसरी आफुलाई कमजोर र असहाय सोचेर भएननि। महिलाहरूको लागि त हाम्रो सरकारी तन्त्रमा सहायता गर्ने आयोग र कानूनहरू धेरै छन्। घरेलुु हिंसाको तहतः हामीले पुलिसमा गएर सिकायत गर्न सकिन्छ। पुलिसले उचित मद्दत नगरे राष्ट्रिय महिला आयोगमा अथवा कोर्टमा गए हुन्छ। तसर्थ महिलाले असहाय सोचेर हिँसा सहेर बस्नु हँुदैन। भन्छन् नि अपराध सहनु पनि पाप हो भनेर। तिमीमाथि त यति ठूलो अत्याचार भएको छ। यसको निम्ति तिमीले अगाडि़को जीवन जिउन कानूनको अवश्य सहायता लिनु पर्छ। स्वतन्त्र भएर जीवन जिउन पाउनुु सबै मानिसको अधिकार हो।’
सावित्री यि कुराहरूलाई गम्भीर भएर सुने पछि भन्छिन्, ‘मास्टरजी तर……..!’
मास्टरजी तर शब्द सुनरे फट्टै कुरा काटेर भन्छन्, ‘तिमीले धेरै केही न सोचे हुन्छ। यस्तो हिंसक पीडादायक जीवन भन्दा एक्लै स्वतन्त्र भएर जीवन जिउनु धेरै उत्तम हो। र यो जीवन यापन गर्नको लागि भने तिमीले एघार कक्षा पढेको रहिछ्यौ। म प्रधानाचार्य भएको स्कुुलमा तिमीलाई वार्डनको जागीर दिलाउने मेरो जिम्मा हो। यसको लागि तिमी ढुक्क भएर बस।’
धनमाया मास्टरजीको कथनलाई उचित मान्दै भन्छिन् ‘मास्टरजीले ठीक भन्नुहुँदै छ। तिमी केही चिन्ता न गर। सबै ठीक हुनेछ। सवित्री काखको नानी छेउमा राखेर आफु बसको ठाउँमा उभिइ दुई हात जोडी, अनुहारमा नयाँ खुसि र आशा लिएर दुवैजनालाई केही न बोली आभार प्रकट गर्छिन्।
……….
भोलीपल्ट दिउसो तीन बजे सावित्रीको घरमा पाँच, छ जाना पुलिस आउँछन् ।
सोधपुछ गरेको एक घण्टामा बले कान्छालाई लालबत्ति लगाएको गाडिमा हालेर लैजान्छन्। सावित्री सिक्वाको डिलमा नानी बोकेर लोग्नेलाई लगेको आँखाबाट ओझेल नहुन्जेल हेर्छिन्। मनमा नौलो आशा र लुकेको खुशीको त महसुुस गर्छिन तर त्यो पुरानो एघार कक्षामा पढेको अनि पहिलो(पहलो माया बसेको दृश्य याद आउँदा आँसु थाम्न सक्दिनन्।
पछाडीबाट मीठीले डराएको स्वरमा रूदै भन्छे, ‘आमा बाबालाई किन पुलिस अङकलले लगेका? बाबा कहिले आउनु हुन्छ?’
सावित्रीसँग यि प्रश्नका उत्तर त थिएनन् फेरि पनि उनले आँसु पुुछ्दै छोरीलाई भन्छिन्, ‘बाबालाई पुलिस अङकलले काममा लगाई दिन लैजानु भएको हो। बाबा,भोलीसम्म आईहाल्नु हुन्छ नि छोरी’ भनेर सावित्री घरभित्र पस्छिन्।
चारहजरे, मणिपुर, भारत
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।