असारको महिना । ठ्याक्कै तीन दिनदेखि सघन पानी परिरहेको सुर्खेती आकाशमा चौथो दिन बिहानै अनपेक्षित पूर्वी क्षितिजमा हल्का लाली थप्दै सूर्याेदय हुन्छ । सूर्यको उदय सँगसँगै मानिसहरु आआफ्ना काममा दौडिरहेका छन् । विद्यार्थी स्कुल -कलेजतिर , व्यापारी व्यापार – व्यवसायतिर , कर्मचारी कार्यालयतिर , किसान चाँचरी गीत गाउँदै मेलापाततिर । परिवेश घमाइलो देखिन्छ तर पाँच बर्षदेखि हत्याको सजायमा कैदी बनेर कैदखानामा दिन काटिरहेकी सेता वस्त्रमा परिवेष्टित मनमायाको मनमा चाहिँ अझै पनि घाम लाग्न सकेको देखिँदैन । मनको एक पाटोमा अमिट भई बसेका विगतले उनलाई बेलाबखतमा झस्काउने गर्छन् ।

नेपालमा गरिबी र असमानताका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी माओवादीका नाममा सुरु भएको दस बर्षे शसस्त्र विद्रोहले सर्वसाधारणलाई सारै पिरोलेको थियो । सर्वसाधारण मानिसहरु सरकार र विद्रोहीको क्रुुरताको सिकार बन्न बाध्य थिए । हजारौँ निरपराधीहरु कठोरतापूर्वक दण्डित भएका थिए । विस्थापित भएका थिए । बलात्कृत भएका थिए । हजारौँ निर्दाेषहरुको निर्ममतापूर्वक हत्या गरिएको थियो । माओवादी सेना र नेपाल सरकार दुवैबाट सर्वसाधारणको जीवन शोकभीत र भयभीत थियो ।

कालिकोटको सदरमुकाम मान्ममा तत्कालीन शाही नेपाली सेना र माओवादी सेनाबीच भएको भिडन्तमा मनमायाका बाबु मानबहादुर मारिए । तीन महिनाअघि मनमायाका दाजु पनि त्यसरी नै मारिएका थिए । छोरो मारिएको शोकले आँखामा आँशु नसुक्दै शिरको पति मारिएको खबरले मनमायाकी आमा विक्षिप्त भइन् । उनका दिनहरू रोदन मिश्रित हिक्(हिकीमा बिते । दिनहरु बिते सँगसँगै महिना बिते । महिना बिते सँगसँगै उनको हिक्हि.की रोकियो । तर आँखाबाट बग्ने आँशुका बलिन्ध धारा रोकिएनन् ।

एकरात रुँदै खाना खाइवरी सुतेकी आमा फेरि कहिल्यै उठिनन् । मनमायाको जीवनमा दिउँसै रात परेजस्तो भयो । जन्मदिने आमाले पनि कलिलै उमेरमा छोडेर गएपछि उनलाई धर्ती भासिएजस्तो भयो । उनी रातदिन रुन थालिन् । कराउन थालिन् । निन्द्रामा ‘आमा’ ‘आमा’ भनी बर्बराउन थालिन् । मनमायाको रुवाई सुनी उनका मामा दानबहादुरले उनलाई आफ्नो घरमा ल्याए । मनभरि पीडा बोकेकी मनमायालाई चारैतिरबाट पहाडै पहाडले घेरेको सुर्खेतको सहरी दृश्यले लोभ्याएन ।

धेरै दिनसम्म उनको मन आफ्नै गाउँघरका छाँगा -छहरा, पहरामा डुलिरह्यो । मनमा पारिवारिक शोकले एकछत्र राज गरिरह्यो । जीवनमा पीडा हुन्छन् तर पीडानै जीवन होइन । विगतका दुःख सम्झी बस्नु मात्रै जीवनको सार्थकता हो त ? उनको ब्रह्ममा यस्तै यस्तै कुराहरु खेल्न थाले । उनी मामाकै सहायतामा प्रमाणपत्र तहमा भर्ना भइन् । मिहेनती र लगनशील मनमायाले उत्कृष्ट प्राप्ताङ्कसहित प्रमाणपत्र तह उत्तीर्ण गरिन् ।

स्नातक तह अध्ययनका लागि उनी सुर्खेत शिक्षा क्याम्पसमा भर्ना भइन् । १८,१९ बर्षकी मनमायाको सुंगठित, सुन्दर र सुकोमल कायाले धेरैलाई लोभ्याउँथ्यो । उनको पारदर्शी सेतो रङ्गको सुरुवाल र कुर्ताबाट देखिने सेता तिघ्रा र पुष्ट छातीमा केटाहरुका आँखा लोलाउँथे । केटाहरु उनको सामीप्य चाहन्थे । तर उनी सबैसँग समीप हुन चाहन्थिनन् । किन चाहन्थिनन् त्यो उनी नै जानून् । एकदिन अकस्मात् उनका चञ्चल गाजलु आँखा प्रविन नामक समकक्षीका आँखासँग जुधे । अनार दानारुपी टलक्क टल्किएका दातका लहर देखाई उनी मुसुक्क मुसुकुराइन् । मनमायाको मीठो मुस्कान प्रविनलाई जरुर मिठै लाग्यो । उनीहरुका आँखा आँखाले केही दिनसम्म बात मारे । तर आँखाले नै मनका सम्पूर्ण अभिव्यक्ति काहाँ अभिव्यक्त गर्न सक्छन् र ? उनीहरू एकअर्कालाई बरोबर भेट्न थाले । छोटो समयमै उनीहरु प्रेमीप्रेमिकाबाट श्रीमान् श्रीमतीमा परिवर्तन भए ।

वैवाहिक बन्धनमा बाँधिएसँगै मनमायाको जीवनको अर्काे अध्याय सुरु भयो । केही दिन उनलाई पोइली घर बिरानो लाग्यो । ‘हामी आईमाइ भनेका धर्ती हौँ । जसरी धर्ती माता धेरै दुःख सहेर पनि मौनरुपमा बसेकी हुन्छिन् त्यसरी नै हामी नारीजाति पनि धैर्यपूर्व बस्न अभिशप्त छौँ । हाम्रा अनेकौँ रुपहरु हुन्छन् । हामी कसैकी छोरी बन्छौँ, कसैकी स्वास्नी बन्छौँ, कसैकी बुहारी बन्छौँ, कसैकी आमा बन्छौँ । नारीले एक रुपमा अनेकौँ भूमिका निर्वाह गर्न सक्नुपर्छ , बुझ्यौँ ?,’ आफू सानी हुँदा आफ्नी आमालाई मावलीघरकी हजुरआमाले बुझाएको कुरा मनमायाले सम्झिन् । उनी सखारै उठ्थिन् । घरको काम सकेर सहकारी संस्थामा जागिर गर्न जान्थिन् । प्रविन पनि घर नजिकैको बोर्डिङ स्कुलमा पढाउँथ्यो । नव विवाहित दम्पतीका दिनहरु खुसी खुसी साथ बिते त्यसैले उनीहरूले बर्ष बितेको पत्तो पाएनन् । समय निरन्तर आफ्नै रफ्तारमा कुदिरह्यो । त्यही समयकै कुदाइमा उनीहरुको प्रगाढ प्रेमको बगैँचामा दुई थुँगा फूल फुले । दुई बर्षको अन्तरालमा फुलेका फूलहरु विस्तारै – विस्तारै फक्रदै, हुर्कँदै, बढ्दै गए ।

मानिसको जीवन सोचेजस्तो कहाँ हुन्छ र ? ‘म ताक्छु मुढो , बन्चरो ताक्छ घुँडो’ भनेझैँ मानिस जीवनमा आफू अनुकूलको गोरेटो चाहन्छ तर बाध्यता र विवशताका डोरीले उसलाई अनुकूलताभन्दा बढी प्रतिकूलताको गोरेटोतर्फ डोराइरहन्छन् । ‘देशमै केही गर्छु , बूढा बाबुआमालाई स्याहारसुसार गर्छु , सँगै जीवनका उतारचढावहरु झेल्ने प्राण गरेकी जीवन सँगिनीसँग एकपल पनि अलग हुदिनँ, दुई तन एक भएर रमाउँदा -रमाउँदै जन्मेका दुई सुकुमारी छोरीलाई बाबुको अभिभावकत्वबाट वञ्चित हुन दिन्नँ ।’ भन्ने प्रविन समयका अगाडि झुक्यो । सरकारी नियुक्तिमा मनग्गे घुस ख्वाउन नसकेकाले ऊ लिखितमा पास भएपनि मौखिकमा फालियो । लोग्ने स्वास्नीको मासिक २० हजार कमाइले चार जनाको परिवार कसरी चल्दो हो र ? अन्ततोगत्वा ऊ विदेश हानियो ।

लोग्नेको वियोगमा केही दिन मनमाया सारै छट्पटाइन् । भिडियो कलमा लोग्नेको अनुहार देखेपछि उनको छट्पटी केही घट्यो । उता लोग्ने याने प्रविन पनि मनमायाकै हालतमा थियो । दुवैजना एकअर्काको अनुहार हेर्दै रुन्थे । ‘टाढा हुँदा मायाको अझ महत्व हुँदोरहेछ’, दुबैजना एकअर्काको अनुहार हेर्दै भन्थे । बिस्तारै बिस्तारै दिनहरु बित्दै गए , हप्ताहरु बित्दै गए , महिना बिते । प्रविनले रकम पठायो । लोग्नेले पठाएको रकमलेले घरको गर्जाे टारेर बाँकी जम्मा गर्न पाउँदा मनमाया खुसी हुन् थालिन् । उता प्रविन पनि कठिन कामका बाबजुद मनग्गे रकम कमाउन पाउँदा खुसी भयो । कहिलेकाही प्रविन हप्ताको एकपटक मात्रै फोन गथ्र्याे । ‘कम्पनी बिजी छ । म खासै फोन गर्न भ्याउदिनँ । छोरीहरुको राम्रोसँग हेरविचार गरी , दुःख मन नगरी बसे है ।,’ ठ्याक्कै ऊ यिनै शब्द प्रयोग गथ्र्याे र तत्काल फोन काटिहाल्थ्यो ।

‘एक बर्ष , दुई बर्ष , तीन बर्ष , चार बर्ष , पाँच बर्ष । अहो ! उहाँ घर आउने दिन आएछन्’, एकदिन बिहानै सुत्ने कोठाको भित्तोमा झुन्डिएको भित्रेपात्रोमा दृष्टिक्षेप गर्दै मनमाया मुस्कुराइन् । तत्काल म्यासेनजरमा निलो थोप्लो देखिएको लोग्नेको नाउँमा ट्ज गरिन् । घण्टी गयो तर फोन रिसिभ भएन । ‘यता बिहानीको ६ बज्दा उता बिहानीको ९ बज्छ, क्यारे ! रुममै मोवाइल छाडी कतै मैले भनेको चिज सपिङ्ग गर्न जानु भएको होला’ भनी उनले चित्त बुझाइन् । दिनको मध्यान्तरमा प्रविनले होइन मनमायाले नै फोन गरिन् ।

‘हलो ’

‘अँ , किन बिहान फोन रिसिभ नगर्नु भ’को ?’, मनमायाले सोधिन् ।

‘टिकटको लागि साथीको कोठामा गएको बेला फोन आएको रहेछ , त्यसैले …। ,’ प्रविनले ढाँट्यो ।

‘कैँलेलाई टिकट फिक्स भो ?’, उत्सुक हुँदै मनमायाले सोधिन् ।

‘हप्ता दशदिन डिले होला जस्तो छ ।,’ प्रविनले जवाफ फर्कायो ।

‘किन ?’, मनमायाले हडबडाएर सोधिन् ।

‘दश दिनयताका डाइरेक्ट उडान हुने प्लेनका सिट बुकिङ भैसके अरे ! ट्रान्जिट प्लेनका सिट पनि खाली छैनन् अरे ! दशै तिहारमा स्वदेश फर्कने नेपालीको घुइँचो छ अरे !’, प्रविनले ‘अरे अरे’ का कुरा सुनाइदिएपछि मनमाया केही बोलिनन् ।

दुईदिन पछाडि भाग्यले प्रविनले एउटा डाइरेक्ट प्लेनमा ‘क्यानसिलेसन’ टिकट भेट्यो । उसले तत्काल घरमा फोन गरी आफू आउन लागेको तर आफूलाई लिन काठमाडौँ नआउन आग्रह ग¥यो । मनमायालाई लोग्ने स्वदेश आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिसिभ गर्न जाने पहिल्यैदेखिको इच्छा थियो तर अहिले लोग्नेले ‘नआउनु’ भनेपछि उनले ‘म आउँछु ’ भनेर जिद्दी गर्न मनासिब ठानिनन् । ‘म एअरपोर्ट नजादैमा मेरो लोग्ने अर्कैको हुने होइन क्यारे ! फेरि एअरपोर्टमा गएर छुट्टै के हुन्छ र ? दुई दिनपछि त उहाँ आइहाल्नु हुन्छ नि ।,’ मनमायाले गम खाएर मनमनै बोलिन् । ‘पाँच बर्षपछि घर फर्केको लोग्नेले आफ्ना लागि असीम प्रेमका प्रणयोपहार ल्याउनेछ । छोरीहरुले बाबुको न्यानो माया र साथ पाउनेछन् ।’, उनी स्वैरकल्पनामा हराउन थालिन् ।

दुई दिनपछि होइन, तीन दिनपछि प्रविन घर आइपुग्यो । सपरिवारमा हर्षाेन्माद छायो । मनमायाका आँखा खुशीले सजल भए । ८ बर्षकी जेठी छोरी बाबुको काखमा लुट्पुटिन पुगिन् । ६ बर्षकी छोरीले बाबुलाई चिनिनछन् क्यारे ! उनी आमातिरै टाँस्सिन् । कान्छी छोरीले आफूलाई नचिनेकोमा प्रविनलाई नरमाइलो लाग्यो तर उसले नरमाइलो मानी बस्ने समय पाएन । दिनहरु घर्किँदै गए । पारिवारिक सम्बन्धमा रसिलोपन थपिँदै गयो ।

एक बिहान लोग्ने साबिक समयमा नउठेपछि मनमाया उठाउन गइन् । ‘नरिसाऊ न सानूमाया … मैले फोन नगरे पनि फेसबुक म्यासेज त पठा’कै थे नि । फोन गर्न नसक्ने मेरो अवस्था बुझन् भन्या,’ भनेर लोग्नेले सानो स्वरमा परस्त्रीसँग कुरा गरिरहेको स्वर सुनेर उनी आगोले पोलेझैं झस्किन् । ‘म पछि फोन गर्छु डियर ! लभ यू वाई’, यी शब्दले उनका कान सन्न भए । शरीर काप्यो । रिसको पारो बढ्यो । तर रिस दबाएरै उनले कोठाभित्र प्रवेश गरिन् । लोग्नेले ब्लाङ्केट ओढी गोडा तन्काई भलादमी निन्द्रा परेको बहाना गर्याे। स्वास्नीले लोग्नेको बहाना थाहा नपाएको बहाना गरिन् । उनले लोग्नेले चाल नपाउने गरी सिरानीको मोबाइल समाइन् । लोग्नेले स्वास्नीको चाल नथापाएभैँ गर्यो । उनका आँखा लोग्नेको फेसबुक म्यासेजमा दौडिहाले ।

भर्खरै अघि फोन गर्ने केटीको नाम पवित्रा रहेछ । उनी काठमाडौँमा बस्दी रहिछन् । करिब ४ बर्षअघि लोग्ने र पबित्राको फेसबुकमै भेट भएको रहेछ । ‘लोग्नेले आफू अविवाहित हुँ’ भनी ढाँटेको रहेछ । उनीहरुले फेसबुकबाटै पिरती गाँसेका रहेछन् । बेलाबखतमा उनीहरू एकअर्काको नग्न तस्वीरहरु साटासाट गरी हेर्दा रहेछन् । लोग्नेले कहिलेकाहिँ उसलाई पैसा पनि पठाउँदो रहेछ । उनीहरूले बिहा गर्ने बाचा गरेका रहेछन् । लोग्नेको व्यभिचारीपन थाहा पाएपछि उनी फन्न घुमेर भुइँमा थचारिन् ।

केही क्षणको भुइँचालो केही मत्थर भएपछि उनी उठिन् र लोग्नेले ओढीराखेको ब्लाङ्केट सोहोरेर भुइँमा फ्याँकिदिन् । लोग्नेले ‘किन यसो गरेको’ भनी सोधेन ।’ ‘धेरै सुतेको स्वाँग पार्नु पर्दैन ।,’ स्वास्नी जोडले कट्किन् । लोग्नेले नसुनेझैँ ग¥यो ।’ सुन्नुभएन …? उठ्नूस् भनेको ….।,’ स्वास्नी दोस्रोपटक रिसले कट्किन् तर आदरार्थी शब्द बिर्सिनन् । लोग्ने लाचार भएर उठ्यो तर केही बोलेन । बरु स्वास्नी नै बोलिन, ‘लाज , सर्म , धर्म , कर्म केही छैन है ! हजुर यहीँ गर्न विदेश जा’नु भा’ हो ? दुनियाँ केटीहरु सँग कुरा गर्नु भन्दा पहिले म विवाहित हु , मेरा छोरीहरु छन् भन्ने ख्याल भएन ? त्यो पवित्रा भन्ने रन्डी काँ छे ? आज म त्यसका जगल्टा भुत्ल्याउँछु ।’

‘कुरा बुझेर बोल् भन्द्या छु ।,’ लोग्ने आँटैले बोल्यो ।

‘के बुझ्ने..के बुझ्ने…अब के बुझ्ने…. ? फुँडीसँग लाग्ने फुँडो ? थुुक्क…मधुकर !,’ स्वास्नीले फेरि शब्दले नै आक्रमण गरिन् । अचाक्ली रिस उठाएपछि लोग्नेले स्वास्नीका गाला बजाइदियो । उनी ह्वाँह्वाँ रुँदै भान्सातिर गइन् । भान्सामा छोरीहरु खाना खान आइसकेका रहेछन् । आँशु पुछ्दै उनले छोरीहरुलाई खाना ख्वाइन् र ड्रेस लगाई स्कुल पठाइन् । स-साना छोरीहरुले आमाको आँखामा आँशु देखेनन् । ‘सत्य लोग्ने एकाएक कसरी यस्तो कपटी भयो ? के लोग्ने परिवर्तनशील हुन्छन् ?,’ स्वास्नीले प्रश्न गरिन्’, पतिव्रता चाहनेले किन पत्नीव्रता पालना गर्दैनन् ?’

स्वास्नीले खाना खान लोग्नेलाई बोलाइनन् न त आफूले नै खाइन् । दिनभर मन एकतमासको भैइरह्यो । मनमा अनेकौँ कुराहरु आइरह्ये , गइरह्ये । ‘के पुरुष जननेन्द्रियको दासत्व हुन अभिशप्त नै छ त ?’ उनले गम खाइन् । साँझपख, लोग्नेले खै कताबाट लोकल ठर्रा खाई आएछ, स्वास्नीले चाल पाइहालिन् । स्वास्नी देखेर लोग्ने बम्कियो । ‘तेरो र मेरो आजदेखि शारीरिकरुपमा सम्बन्धविच्छेद , कानुनीरुपमा भोलि हुनेछ ।’

‘के भन्नू भो ..?,’ स्वास्नीले फेरि सुन्न चाहिन् ।

‘भोलिदेखि तेरो र मेरो सम्बन्धविच्छेद हुनेछ । तँसँग आइन्दा मेरो जीन्दगी चल्दैनँ । मलाई एउटा छोरो चाहिएको छ , जुन तँबाट असम्भव छ।,’ स्वास्नीले सुन्न चाहेका नचाहेका सबै कुरा लोग्नेले राम्रैसँग सुनाइदिए पछि स्वास्नी अवा्क भइन् । सत्य युगमा पिता दक्ष प्रजापतिले पति महादेवको निन्दा गरेको सहन नसकी अग्निकुण्डमा हाम् फालेर प्राण त्याग गरेकी सत्यदेवीको निष्ठाबाट प्रभावित उनी विचलित भइन् । उनले धूर्त र प्रतिगामी लोग्नेको मुखबाट अरु शब्द सुन्न चाहिनन् ।

२१औं शताब्दीमा नेपाली समाजको प्रारब्धपनि सनातन पितृसत्तात्मक सोचले ग्रस्त भएको देख्दा उनलाई दुःख लाग्यो । उनी सरासर घरको बार्दलीमा गइन् र पश्चिम क्षितिजतिर हेर्दै फुसफुसाइन्, सुशिक्षित भनिएका मान्छेबाटै नै किन अशिक्षितको झैं व्यवहार हुन्छ ? नारी पृथ्वी हो , पुरुष बीउ हो भन्ने कुरा किन बुझ्दैन या बुझी-बुझी पनि बुझ पचाउँछ यो समाज ? उनी फुसफुसाउँदा फुसफुसाउँदै बार्दलीमा टहल्लिन थालिन् ।

उनले लोग्नेको प्रेमीरुप सम्झिन् । किन एक समयको प्रेमी सधैँको प्रेमी हुन सक्दैन ? के प्रेम घृणा हो ? के घृणा प्रेम हो ? उनी एक्कासि रणचण्डीझैँ थररर काँप्न थालिन् । महिषासुरको वध गर्ने दुर्गा भगवती उनको शरीरमा चढिन् । उनले जताततै रगतै रगतको आहाल देखिन् । ‘प्रेम पीडा हो , प्रेम पीडा हो ।,’ भन्दै कौसीको देब्रेपट्टी राखिएको बन्चरो उनले कोठामा परस्त्रीसँग फोनमा हाँसिरहेको व्यभिचारी लोग्नेको टाउकोमा बजारिन् । भुइँमा लडेको लोग्ने हाँसेको हाँस्यै भो ! लोग्नेको टाउकोमा बन्चरो बजार्नु अघि उनले आफ्नो सिउँदोको सिन्दुर नसम्झिकी हैनन् , गलाको पोते र नाडीका चुडा नसम्झिकी हैनन् , सेता परिधानका बारे ख्याल नगरेकी हैनन् । तर उनले दुःख मन गरी सुःखसँग बाँच्न चाहिनन् ।

एकैपटकमा मरेको लोग्नेको बीभत्स रक्तमूर्छित मृत शरीरलाई उनले गौर गरेर हेरिन् । यस्ता व्यभिचारीको रगत त रातो नहुनु नि ! अरुलाई अन्याय र अत्याचार गर्ने मान्छे त तड्पी तड्पी मर्नु नि ! कपटी त्यो मन छाती फोडेर बाहिर निस्कनु नि ! कम्तीमा हेर्न त हुन्थ्यो । उनले सोचिन् । कोठामा भएको होहल्ला सुनी घरबेटीको माइलो छोराले अघिनै प्रहरीलाई खबर गरिसकेको रहेछ । नेपाल प्रहरी आए र उनलाई नियन्त्रणमा लिए ।

अतीतका ती दुखान्त घोडा अन्तिम गन्तव्यमा पुग्नु अगावै टक्क अडिन्छन् । मनमाया केही थामिन्छिन् । अब यी काला कोठरीमा बिताउनु पर्ने दिन धेरै छैनन्, उनी सोच्छिन् र सदाझैँ कारागार भित्रको आफ्नो दैनिकीमा तल्लीन हुन्छिन् ।

 दक्षिण कोरिया