
‘छोरो छोडेर आएँ, अब चाहिँ ढुक्कले कमाइने भयो । बूढाबूढीमध्ये एक जना त छोरोकै लागि बिदा बस्नुपर्ने, एक जनाको कमाइले छेउ टुप्पो नलाग्ने ! अब चाहिँ दुई जनाले केही वर्ष मेहेनत गर्न पर्यो र छिट्टै नेपाल फर्केर केही गरेर बस्नु पर्ला !’
एक वर्षअघि एक कार्यक्रममा भेट्दा रूपन्देहीका संजय गौतम (नाम परिवर्तन) ले भनेको वाक्य हो यो । तर केही दिनअघि उनै संजयलाई भेट्दा उनको अनुहार मलीन देखियो । कुरै कुरामा उनले भने, ‘छोरो उता, हामी यता, यो विकराल समय, सम्झिदा पनि रुन मन लाग्छ ।’

हेमन्त गिरी
संजयले यसपालिको भेटमा पोखेको गुनासो पोहोरको उत्साहको तहभन्दा कैयौँ तल खस्केको देखिन्थ्यो । तर उनी जापान छोडेर फ्याट्ट फर्किन सक्छन्, न छोरोलाई ल्याएर भने जस्तो बसाइ र कमाइ गर्न सक्छन् जापानमा । संजयको मात्र हैन, जापानमा श्रम गर्ने अधिकांश नेपालीको व्यथा यही हो । त्यसैले अहिलेलाई यत्ति भनौँ, सोँचे झैँ रैनछ जापान ।
केही समयअघि एउटा भिडियो भाइरल भयो । दूधे छोरीलाई नेपाल छोडेर केही वर्षदेखि जापानमा श्रम गरिरहेकी आमाले आफ्नी छोरीलाई भेट्दा छोरीले आमा चिनिनन् र काखमा आउन मानिनन् । आमा भक्कानिएर रोएको उक्त भिडियोले धेरै नेपालीलाई रुवायो ।
आखिर के छ त्यस्तो बाध्यता, जसको कारण जापानमा श्रम गर्ने अधिकांश नेपालीले आफ्ना दूधे बालबालिकालाई काखबाट छुटाउन बाध्य हुनु पर्छ ?!
के जापानले छोराछोरीलाई भिसा दिँदैन ? होइन ! के जापानमा बच्चाको स्याहार सम्भार गर्न अप्ठ्यारो छ ? त्यो पनि पूरै सत्य होइन ! छोराछोरी साथमै राख्न नसकिने अचाक्ली महँगो छ जापान ? त्यति साह्रो पनि होइन, सम्भवतः विश्वका सबै भन्दा सुरक्षित देशमध्ये एक हो जापान । सबैभन्दा सजिलै डिपेन्डेन्ट भिसा दिने देशमध्ये एक हो जापान । सबैभन्दा व्यवहारिक शिक्षा दिने र उच्च संस्कार सिकाउने देश हो जापान ! त्यसो भए अप्ठ्यारो के छ त त्यस्तो, जसको कारण आफ्ना साना साना बच्चालाई आफूसँग राख्न सक्दैनन् जापानमा श्रम गर्ने नेपालीहरूले ।
जापानमा विशेष गरी तीन प्रकारका नेपाली भेटिन्छन् । एकथरी विद्यार्थी, जो केही समय ‘पार्ट टाइम’ काम गरेर पढ्छन् र केहीपछि भिसालाई ‘वर्किङ भिसा’मा परिणत गर्छन् वा ‘बिजनेस भिसा’ बनाउँछन् । अर्कोथरी यहाँ सानादेखि ठूला व्यवसाय गरिरहेका मानिसहरू जोसँग ‘बिजनेस भिसा’ हुन्छ । र, तेस्रोथरी ‘स्किल्ड लेबर’ भिसा अन्तर्गत ‘कुक’ पेसामा आएकाहरू । त्यसो त न्यून मात्रामा विशेषज्ञ भिसा भएका नेपालीहरू पनि होलान् तर यहाँ चर्चा गर्न खोजिएको माथि उल्लेखित अधिकांश नेपालीहरूको कथा हो, जसले चाहेर पनि आफ्ना केटाकेटीलाई जापानमा आफूसँग राख्न सकेका छैनन् ।
व्यवसाय राम्रो चलेका र राम्रो आम्दानी तथा बन्दोबस्त भएकाले बच्चाहरूलाई आफूसँग राखेका पनि देखिन्छन् । ठीकठीकै आम्दानी भएका र नेपालतिर खासै पैसा पठाउनुपर्ने दायित्व नभएकाहरूले पनि बच्चाहरूलाई आफूसँग राखेका भेटिन्छन् तर अधिकांश मध्यम आम्दानी भएकाहरू त्यो सौभाग्यबाट वञ्चित छन् जापानमा ।
केही समयअगाडि एक जना बैनी मसँग खुब रोइन् । श्रीमानको ठीकठीकैको प्राइभेट जागिर भएकोले उनी पहिले विद्यार्थी भिसामा आउने र पछि श्रीमान डिपेन्डेन्टमा आएपछि कमाइ राम्रो हुने सपना देखेर जापान आएकी उनको सपना त्यतिबेला चकनाचुर भएछ जतिबेला श्रीमानलाई दुई पटकको प्रयासमा पनि डिपेन्डेन्ट भिसा पाएनन् । परिवारबाट टाढा रहनुको तनाव त छँदै थियो, श्रीमानले चरित्र र नियतमा शंकासमेत गर्न थालेछन् । ‘बाबुले के के सिकाएर छोरी पनि फोनमा राम्रोसँग बोल्दिन,’ भन्दै भक्कानिएकी उनी आफ्नो सपनालाई बिट मारेर केही महिनाअघि मात्र नेपाल फर्किइन् ।
पोहोर म घर जाँदा मेरो एक साथीले भन्यो, ‘टाढा त तेरो घरबाट टाढा छ, मिलेसम्म एकपटक मेरो बच्चाहरूलाई भेटेर आएस् न है ! हुन त दिनदिनै भिडियो कलमा कुरा हुन्छ, तर तँ गइस् भने उनीहरूलाई बाबाको साथी आउनुभो भन्ने कुराले खुसी मिल्छ । हामी गएसरह हुन्छ !’
प्रेम र वियोगका भावना तस्बिरमा देखिने दृश्यभन्दा कैयौं गुणा दर्दनाक हुन्छ ।
विशेषगरी कुक भिसामा जापान आउनेहरूको व्यथा अझ कहालीलाग्दो छ । कुकहरूले काम गर्ने भनेको नेपाली वा भारतीय साहुहरूकोमा नै हो, जहाँको आम्दानी जापानको औसत कमाइको तुलनामा न्यून हुने गर्छ । श्रीमतीलाई पनि सँगै राखेर, जापानबाट अनुमति दिइएकोभन्दा बढी काम नगराएसम्म दुई चार पैसा बँच्न मुस्किल पर्छ । यस्तो अवस्थामा बच्चालाई आफूले समय दिन भ्याइँदैन ।
जापानी स्कूलहरूमा बच्चालाई भर्ना गरिदिँदा बच्चाले नेपाली बोल्न नै बिर्सिने डर अर्कोतिर हुन्छ । जापानको बसाइ एकदमै साँघुरो हुन्छ, घरभाडा महँगो हुने हुँदा साना कोठामा आफ्ना बच्चालाई सीमित पार्नुपर्ने हुन्छ । त्यसैले पनि धेरैजसो कुक दम्पतीहरू आफ्ना बच्चालाई नेपाल छोडेर नुनिला आँसु दबाउन बाध्य भएको देखिन्छ जापानमा ।
त्यसो त सामाजिक सञ्जालका तस्बिर, भिडियोहरू देख्दा लाग्छ, जापानमा ‘मोज’ छ । तर मोजको भित्री कथा अर्कै छ । हेर्नलाई त जापान युरोप अमेरिकाभन्दा कम छैन, सुविधा र आधुनिकतातामा अझ अगाडी पनि होला तर सन्तान बिना बस्नुको पीडालाई सुविधा र भौतिक सुखले नजित्दो रहेछ । अधिकांश दम्पतीहरू आफ्ना सन्तानको सम्झना मनमा बोकेर, गहका आँशुलाई परेली डिलमा रोकेर रेल भेट्टाउन दौडिरहेका देखिन्छन । उद्देश्य एउटै छ, मेहेनत गरेर केही पैसा कमाउने र नेपाल फर्किएर बच्चाहरूसँग रमाउने । तर यो सपना त्यती सजिलो सपना भने होइन । दश वर्ष अघि जापानमा जती आम्दानी हुन्थ्यो, तुलनात्मक रूपमा आजको दिनमा त्यो वृद्धि भएको छैन, बरू व्यवसायिक प्रतिष्पर्धाले अधिकांशको आम्दानी घटेको छ । तर नेपालको महँगी आकासिँदो छ । एउटा सानो जग्गाको टुक्रो जोडौंला र त्यसमा एउटा छाप्रो हाली फर्केर छोराछोरी पढाएर बसौँला भनेर सपना सजाएका परदेशीहरू १५र २० वर्ष देखि यतै अल्झिएका छन । उता छोराछोरी आफू भन्दा ठूला भइसके, बा–आमालाई नचिन्ने भइसके ।
बढ्दो उमेरका छोराछोरीसँग आँफूसँगै हुन नपाउनु भनेको सबै भन्दा ठूलो दुर्भाग्य हो । छोराछोरीमा बाबुआमा प्रति एक किसिमको वितृष्णा र घृणा भाव पैदा भएका धेरै उदाहरण पनि छन । तर अभाव र आवश्यकताको बोझले मानिसलाई के बाट के बनाउँछ, भन्न सकिदैँन । त्यसो त केही स्थायी भिसा दिने देशहरू बाहेक अधिकांश देशमा जाने नेपालीको व्यथा यही नै हो । खाडीमा जानेको कथा झन दर्दनाक छ भन्न पनि सकिन्छ तर उनीहरूको त आमा अथवा बाबु मध्ये एक जना त सन्तानको साथमा हुन्छन नेपालमा । परदेशी एक्लो त होला तर साना सन्तानलाई बाबुआमामध्ये एक जना साथी त हुन्छ । जापानमा हुने बाबुआमाका सन्तान भने कोही न कोहीसँग बस्न बाध्य हुन्छन जो अधिकांशको केसमा देखिएको छ ।
यसका केही मुख्य कारणहरू मध्ये एक जापानको भिसा सिस्टम हो जुन एकदम अनिश्चित छ । कसलाई के कारणले कती वर्षको भिसा दिन्छ वा कसलाई के कारणले दिँदैन, यकीन साथ भन्न सकिन्न । बढीमा पाँच वर्षको भिसा दिने जापान सरकारले कुनै पनि बेला भिसाको अवधी घटाइदिन वा नेपाल फिर्ता पठाइदिन सक्छ । यस्तो अवस्थामा आफ्ना केटाकेटीलाई यहाँ राखेर पढाउन अधिकांश अभिभावक डराउँछन । अर्को, जापानका स्कूलहरूमा जापानी भाषा बाट नै पठनपाठन हुन्छ । व्यवहारिक शिक्षाको लागि जापान अब्बलदेश त हो नै तर भविष्यमा भाषाको समस्या पर्ने डरले र भिसाको पनि अनिश्चितताको कारण अधिकांश अभिभावक जापानमा आफ्नाकेटाकेटी राख्न र पढाउन डराउने गरेको देखिन्छ । केही अंग्रेजी माध्यमका स्कूल नभएका पनि होइनन तर ती अति महँगा हुने हुँदा धेरैले आफ्ना बच्चालाई त्यहाँ पढाउने हिम्मत जो कोहीले गर्न सक्दैनन । फल स्वरूप उनीहरू आफ्ना स–साना केटाकेटीलाई नेपालमा अर्कैका ेजिम्मामा छोडेर श्रम गर्न बाध्य भएका देखिन्छन । जापानमा श्रम गर्नेहरूको अर्को मनोवैज्ञानिक अफ्ट्यारो पनि देखेको छु मैले, ‘जापानजस्तो देश गयो अब मस्तै कमाउँछ’ भन्ने मानसिकता नेपाल बस्ने अधिकांश आफन्त र साथीभाईमा देखिन्छ । जापान छ पनि त्यस्तै । यूरोप अमेरिका जस्तै कमाइ पनि नहुने हैन तर यहाँको बसाइ (घर भाडा) र यातायात अत्यन्त महँगो हुने हुँदा आमदानीको अधिकांश हिस्सा त्यतै सकिन्छ र बँचेको रकमबाट विभिन्न आवाश्यकताको जोहो गर्न हम्मे हम्मे पर्ने गर्दछ ।
यो आलेखको आशय जापान सरकारको भिसा नीतिलाई दोष दिनु, केटाकेटी नेपाल छोड्ने बाबु आमालाई आलोचना गर्नु वा छुटेका केटाकेटीलाई ‘कठैबरा’ भन्नु होइन । मात्र एउटा दर्पण देखाउन खोजिएको हो । रंगीचंगी लाग्ने नेपालीको जापानको जिन्दगीभित्र कति गहिरो व्यथा लुकेको हुन्छ भनेर !
यती लामो लेख लेख्नुको पछाडी एउटै कारण छ, म छोरीहरू हुर्किसकेपछि र स्कूल जाने भए पछि जापान आएको हुँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










