पोखराको फेवा ताल र माछापुछ्रे हिमाल हेर्न एकाबिहानै उठ्नुपर्छ । तर बिहानको सात बजेसम्म हामी ओछ्यानमै थियौं । हामी अर्थात म, सरगम, मधूदी र सीमादी। हामी चारले एउटै रूम लिएका थियौं ।

धनगढीको आफ्नो घर टेम्पल होटलबाट छुटेदेखि चौबीस घण्टाभन्दा बढीको बस यात्राले हामी सबै शिथिल भएका थियौं । पोखराको नाना होटलले हामीलाई यति माया गरेछ कि पोखराको सुन्दर बिहानी हामीलाई स्वागत नै नगरी गएछ ।

तर होटलको हल्लीखल्लीले सुखद् निद्रा खल्बल्याउन थालेछ ।

“आहा, यहाँबाट अझ सुन्दर । हैन, यहाँबाट छुट्टै !” यस्तै शब्दहरू सुनेपछि बल्ल हामी ब्युँझियौं ।

यत्तिकैमा बाहिरबाट कसैले कराए जस्तै लाग्यो । “माथि बाल्कनीमा आउनू, सबै जम्मा भैसके” भनेको सुनेँ । म जुरूक्क उठेँ र बाल्कनी उक्लें । आहा ! आफ्नो अगाडि प्रकृतिले श्रृङ्गारेको सुन्दर पोखरा टक्क अडियो, यति राम्रो वातावण देखेपछि मैले सबैलाइ उठाएँ । साँच्चै, मलाई मात्रै हैन सबको मनलाई रिझायो पोखराले।

काठमाडौंमा हिन्दूविद्यापीठबाट देखेको क्षितिजमा टल्किएको टुप्लुक्क टाढाबाट देखिएको हिमाल यहाँ सर्वाङ्ग देखिएकी थिइन् । हिजैदेखि सरहरूले लेक साइटका सम्भावित दृश्यहरू बर्णन गर्नुभएको थियो । तर थकानले चूर हुदाँ केही भेउ पाइनँ । काठमाडौंदेखि एकै घण्टमा फ्लाइट मार्गबाट टेकेको सुदूरपश्चिम बस यात्रामा भने दुई तीन दिन लाग्छ भन्ने त थाहा थियो । तर त्यति कठिन यात्राको कल्पना थिएन । फेवा वरपरका सुन्दर दृश्य र माछापुछ्रे सर्लक्क उभिँदा ती सबै दुःख बिर्सिएँ ।

कुरो हिजो कै हो, समयको गतिलाई पछ्याउँदै सरर्र गरेर बस लुम्बिनीबाट पोखरातिर हुँइकिँदै गयो । धुमधुम्ती ओगटेको बादल चिर्दै यात्रा पहाडतिर उक्लदै गर्दा लाग्यो, “अब चाहिँ हामी सही मानेमा सूदूरपश्चिमबाट बिदा भए छौँ।”

पश्चिमप्रदेशले दिएका यतिका सुन्दर सम्झनाहरू मनमा सधैं रहने नै छन् । साहित्य सम्मेलनलाई आँखामा उतार्दै पुन: व्यवस्थापक अध्यक्ष रामलाल जोशी सरलगायत प्रवर्द्धक र आयोजक समितिहरूलाई मनमनै आभार प्रकट गरें । दिउँसोको घाम त्यति धेरै चर्को थिएन । वातावरणले पनि छेउ कुनाबाट उमङ्ग भर्दै गएकै थियो । पोखरा हेर्न त्यसै फुरूक्क थियो मन, पानी परेको भए सादय आलस्य हुने थियो। बाफ रे ! बाटो भने खत्रा रहेछ । सुरूमा मैले भन्दै आएको भारत नागाल्यन्डको बाटो अहिले यो हेरिकन सन्तोषजनक रहेछ जस्तो लागेको थियो । फेरि ड्राइभर दाई अलि तातो खुन भएका झन्नक्क रिसाइहाल्ने रहेछन्, घुमाउरो बाटो पनि बिनाहन, स्पीड कमै नगरी हुँइकाउने । बाटो सँगै ड्राइभरसँग पनि उति नै डर लागेको थियो।

‘त्यतापट्टि ध्यान गइरह्यो भने मन त्रसित हुन्छ र यात्रा रमाइलो हुँदैन’ भनी हामी घरि अन्ताक्षरी खेल्थ्यौं भने घरि ज्ञान सर र भीमजीका बर्मेली नेपालीको चुट्किला सुनेर अश्विनी सरलाई खुब हँसाउँथ्यौं । खासमा हामी आफैं पनि पेट मिचिमिचि हाँस्थ्यौं । अनि कतिखेर बर्मेली नेपाली साहित्यलाई कसरी उकास्नेबारे सरहरूको चिन्तन मननमा साथ दिन्थ्यौं त भागवत सरका साहित्यिक प्रसङ्गको छलफलले पनि उति नै गहकिलो हुन्थ्यो, परिवेश।

बाटाभरी नै विचार र विमर्शमा, हाँसो र रमाइलोमा,चिन्ता र थकाइमा, भोक र अनिदोमा उहाँको साथ र सहकार्य रहिरह्यो ।

पलपलमा साथ र हौसला दिनुहुने ज्ञान सर हामी सातै जनाको अभिभावक समान हुनुहुन्थ्यो । हामी सबैले उहाँलाई आफ्नो आइडल मान्छौं । अनि बर्मा हुँदैबाट हामी सातै जनाको राम्रो हिमचिम बनिसकेको थियो । चारतिरबाट भेला भए पनि हामी एउटै परिवारको सदस्यसरह भएका थियौं । खुलस्त आफ्ना विचार राख्नदेखि कुनै विषयमा बहस गर्दा पनि निसङ्कोच गर्थ्यौं । यसबीच नेपाल यात्रालाई सहज बनाउन रामलाल सरले छान्नुभएका पात्र अश्विनी सरलाई पनि राम्ररी जान्ने मौका मिल्यो। आदर्शताको नाता थियो सुरूमा । बाटामा हिँड्दै गर्दा कुनबेला आत्मीयताको नाता बन्यो हाम्रो टोलीसँग, थाहै भएन । एकछिनको भेटघाटको सम्झना भने त्यति नै समयमा सीमित रहने थियो । बाटाभरी नै विचार र विमर्शमा, हाँसो र रमाइलोमा,चिन्ता र थकाइमा, भोक र अनिदोमा उहाँको साथ र सहकार्य रहिरह्यो । उहाँ हाम्रै टोलीको सदस्य बनिसक्नु भएको थियो ।

अँ, पोखरा पुग्नुअघि मैले याद गरेको जग्गा थियो, पाल्पा । सडकबाट पल्लापट्टिको हरियो डाँडोको बीचबाट यता वल्लापट्टि बाटोको केही तलबाट जोरेर बनाइएको त्यो हल्लिने पुल, त्यहाँ ओहोरदोहोर गरेका फाट्टफुट्ट मानिस र अनि तल बगिरहेकी काली नदी कुनै नेपाली मुभी हेरे झैं लागेको थियो । पुलमा कोरिएका थिए ठाउँका नामहरू । कतै त गाउँ देखिन्थे तर नाम थिएन । त्यही पनि नहुनाले अश्विनी सरसँग सोधिरहनु पर्थ्यो हामी कुन ठाउँमा छौं भनेर । यस्तायस्तै भलाकुसारी स्याङ्जा पुगेका थियौं ।

स्याङ्जाका अग्ला अग्ला पहाडले छेलिसकेका थिए घामलाई। हुन त बेलुकीको पाँच बज्दै थियो, तर रिमरिम अँध्यारिए जस्तो देखिन्थ्यो। स्याङ्जाले मन खोलेर स्वागत गर्यो । व्यवस्थापक समितिहरू हाम्रो प्रतीक्षामा दुई तीन घण्टा अगाडिबाट आँखा ओछ्याएर बस्नु भएको छ भन्ने कुरा अश्विनि सरलाई घरि घरि फोन गरेर सोधखोज गरेदेखि नै हामीले थाहा पाएका थियौं ।

स्याङ्जा निवासी कवि शम्भू अर्याजी र अश्विनी सरको सम्पर्कबाट यो कार्यक्रम र भेटघाटको योजना बनेको रहेछ। बर्मेली नेपालीप्रतिको उहाँको विशुद्ध प्रेम, कोसौं पर रहेका आफ्ना नेपाली देखेर मानौं कुनै मेलामा बिछडिएका अर्थात् लापता भएका आफ्ना परिवारलाई पुन: भेटे झैं प्रफुल्ल हुनुहुन्थ्यो उहाँहरू । उपस्थित सबैलाई सम्झन सक्तिनँ तर सबैले उति नै माया र सम्मान दिएको बराबर सम्झना ताजै छ । हामीले कार्यक्रममा केही उहाँहरूका रचना सुन्यौं र केही आफ्ना पनि सुनायौं । तर ड्राइभर दाइले यति हतार गरे कि प्रेमपूर्वक प्राप्त चियानास्ता पनि राम्ररी गर्न नपाई हामी गह्रुङ्गो मन लिएर बिदा भयौं ।

होटलमा छिटोछिटो लगेज राखेर त्यही होटलका कर्मचारी भाइको सहयोगमा दोहोरी हेर्दै डिनर गर्न भनी गयौं ।

जति जति नजिकिदै गयौं उति उति नै अँध्यारिदै गएको थियो पोखरा । ज्ञान सरले होटलको बन्दोबस्त गरिसक्नु भएको थियो । डाइभरले पोखरामा मेसो नपाएर हो कि हामी झैं, निश्चित ठेगानामा पुग्नै समय लाग्यो । झन्नै रातिको आठ बज्न लागेको थियो, होटल पुग्दा । होटलमा छिटोछिटो लगेज राखेर त्यही होटलका कर्मचारी भाइको सहयोगमा दोहोरी हेर्दै डिनर गर्न भनी गयौं ।

हामी पोखरा हानिनुको एक प्रमुख उदेश्य लाइभ दोहोरी हेर्न र सुन्नु पनि थयो । “नेपाल आएर दोहोरी नहेर्नेले के नेपाल हेरेँ भन्नु ?” ज्ञानसरले काठमाडौं हुँदै भन्नु भएको थियो, “पोखरामा अझ मजा हुन्छ, त्यहाँ पुगेपछि दोहोरी हेर्न छुटाउनु हुँदैन ।”

मलाई पनि दोहोरी मन पर्छ । पछिल्लो समयमा यूट्यूबमा भाइरल भइरहने इन्द्रेणी भन्ने कार्यक्रमबाट दोहोरी हेर्दै र सुन्दै आएकी हुनाले दोहोरी हेर्न निकै उत्सुक भएकी थिएँ । अन्धकारमा कता हो कता, निकैबेर हिँडेपछि एउटा दोहोरी मञ्च भेट्यौं, तर हामी त्यहाँ पुग्नु र दोहोरी सक्किनु एकैचोटि भएछ। त्यहीँ छेउको एउटा रेस्टुरेन्टमा खाना खाएर फर्कनु पर्यो । लाइभ दोहोरी हेर्ने र सुन्ने उत्साह अधुरै रह्यो ।

दिनको उज्यालोमा पोखरा यति धेरै सुन्दर छ भनी मैले कल्पना पनि गरेकी थिइनँ । यो त सुन्दरताको पर्याय नै रहेछ । बनावटी सुन्दरताले आश्चर्य चकित मात्र बनाउँछ तर प्रकृतिले सजाएको सुन्दरता आँखालाई रिझाई रहन्छ, लोभ्याइरहन्छ । आँखा झिमिक्क गर्न पनि मन लाग्दैन । जता हेर्यो उतै प्रकृतिका मनोरम, सुरम्य पर्दा लहरिए झैं । यी सबै अनुभूति पर्याप्त थिए पोखरालाई स्मृतिमा जीवन्त राख्न ।

हाम्रो होटल लेकसाइटबाट केही टाढा थियो । तर हिँडेरै हामी फेवातालतिर लाग्यौं, मनोरम सुन्दरताको आनन्द लिँदै ।

“तालबाट हेर्ने हो भने माछापुच्छ्रे हिमाल अझ राम्ररी देखिन्छ ।”, अश्विनिसरले होटल हुँदैँ भन्नु भएको थियो । जति हेर्यो उति लोभ्याउने यो सुन्दरतामा अझै लोभिन चाहन्थ्यौं हामी पनि । तर हिमाल बादलको पछ्यौरीमा लुकेकी रहिछन्। अलिप रसम्म हिँडेर अघि बढ्यौं । बादलू पछ्यौरी हट्ने समयको प्रतीक्षामा । सिङ्गो आकाश छोडेर बादल पनि त्यहीँ गएर बसेपछि हाम्रो केही लागेन ।

फेवा गाउँको पुछारमा भएकाले यस तालको नाम फेवाताल रहन गएको रहेछ । तालको बारेमा यति जानकारी लिएर हामी तालको बीचमा रहेको तालबाराही मन्दिरतर्फ दर्शनका लागि लाग्यौं ।

‘”इन्डजी फया “गएको सम्झना भयो मलाई’, सीमादी भन्नुभयो।

बर्माको कछिन प्रान्तमा भएको एउटा प्रसिद्ध बौद्ध मन्दिर हो “इन्डजी फया”। यस्तै तालको बीचमा स्थापना गरिएको हुनाले बोर्ड या डुङ्गाबाट मात्रै दर्शन गर्न जान सकिन्छ । त्यसको के विशेषता भने, चैत महिनाको पूर्णिमामा त्यहाँ भव्य मेला लाग्छ । त्यही मेला लाग्ने महिनाभरि पानी केही सुक्छ र पैदलयात्रा गर्ने सानो बाटो देखा पर्छ । त्यही बाटो हुँदै मेलामा आएका दर्शनार्थीहरू दर्शन गर्छन् र मेला सिद्धिएलगत्तै पानी बढेर जल्लामे हुन्छ । हेर्दा ठ्याक्कै तालबारही मन्दिर झैं देखिन्छ । आफ्नो प्रान्तमा भएका हुनाले सीमादीलाई यसबारे विशेष ज्ञान छ ।

मन शान्तिको अनुभूति गरिहेको थियो, केही समय समयलाई नै बिर्सिएर बसिरहूँ जस्तो। तर समयले कहाँ एकछिन भन्छ र ?

दर्शनपछि पनि केही समय बाराही मन्दिरमै बस्यौं । त्यसपछि खाना खाएर विश्व शान्ति स्तूपको पनि दर्शन गर्न गयौं ।

“गौतम बुद्धको अस्थी धातु राखेर निर्माण गरिएको शान्ति स्तूप साँच्चै पुग्नु पर्ने ठाउं हो”, ज्ञान सरले भन्नुभयो । त्यहाँ पुगेपछि माछापुछ्रे हिमाल ठिक अगाडि पर्यो । बीचमा फेवाताल र पोखरा सहर कति राम्रो ! सरले भने झैं जापानी शैलीमा बनाइएको रहेछ त्यो शान्ती स्तूप । मन शान्तिको अनुभूति गरिहेको थियो, केही समय समयलाई नै बिर्सिएर बसिरहूँ जस्तो। तर समयले कहाँ एकछिन भन्छ र ?

हामी समयको गुलाम थियौं । त्यसको पछि पछि कुद्न बाध्य । त्यही दिन पोखराबाट बिदा हुनु पनि थियो ।

काठमाडौं नजाँदै सानो कार्यक्रममा पनि भागलिनु थियो । स्वास्थ्य आएको प्रतिकूलताले होटलमै बसी ज्ञान सरले हाम्रो अगाडिको यात्राको परिबन्द मिलाइ सक्नुभएको थियो । सरासर होटल गयौं । केही समय अझै बाँकी रहेकाले र्याण्डम रिडर्स सोसाइटी नेपाल, पोखराद्वार आयोजन गरिएको कार्यक्रममा सारिक भयौं ।

धनगढीमै हुदाँ आख्यानकार तथा समालोजक गनेश पौडेल सरसँग परिचय गर्ने मौका मिलेको थियो । उहाँ र अश्विनी सरको योजनामा बनेको रहेछ त्यो कार्यक्रम । बर्मेली कवि, साहित्यकार, संस्कृतिकर्मी तथा नागरिक अभियन्ताहरूसँगको विशेष अन्तरसंवाद कार्यक्रम विशेष हाम्रै लागि आयोजन गरिएको थियो कार्यक्रम । सहजकर्ताको भूमिकामा हुनुहुन्थ्यो अश्विनी सर ।

त्यहाँ पनि धनगढीमा झैं साहित्य र भाषा विकासका बारे चर्चा भए । सबै नेपालीहरूलाई जुन देशमा भए पनि भाषा साहित्य पनि बाँचोस् भन्ने लागि हाल्छ । त्यहाँ पनि त्यही दोहोरियो । केही बर्माबारे र केही नेपालबारे अनुभवहरू पनि साट्यौं । त्यसपश्चात उहाँहरूका लेख रचनाहरूसँगै आफ्ना सिर्जना साटासाट गर्यौं ।

कार्यक्रम रमाइलो भयो । विशेष हाम्रै लागि राखिएको हुनाले उहाँहरूको बर्मेलीप्रतिको प्रेमले हामीलाई भावुक बनाएको थियो । यी सबैभन्दा केही फरक, ठ्याक्कै बर्माका हजुरमु,मा हजुरबुबाहरूलाई कोही नेपालबाट आएको नेपालीसँग जुन किसिमको अपनत्व अनुभव हुन्छ त्यही अनुभव राख्नु हुने एकजना हजुरबुबा भेट्यौं । सायद जन्मनु भएकै बर्मामा होला, तर यकिन साथ भन्न सक्तिनँ । रङ्गुको कुनै ठाउँबाट नेपाल आउनु भएको, त्यसपश्चात कहिले बर्मा फर्कनु भएन रे ! बर्मेली नानीहरू भनी भेट्न आउनुभएको थियो ।

त्यो उहाँको बर्माप्रतिको अपनत्व थियो । बर्माको मायाले तानेर ल्याएको थियो उहाँलाई ।

हजुरबुबाबाट आशिर्वाद लियौं र ती सुन्दर सम्झनाहरू फोनमा कदै गरी हामी त्यहाँबाट बिदा भयौं ।

केही छिनमै पोखराबाट पनि ।