टर्कीको माहोन तट भन्दा पनि मलाई भने ग्यालीपोली जाने बडो उत्सुकता थियो । जहाँ मेरो जीवनमा जोडिएको छुट्टै इतिहास छ ।

भावना मात्र नजोडिएर इतिहास पनि उत्तिनै जोडिएको छ । हुन त समाचारका हेडलाइनतिर टर्कीको इस्तानबुलको बारेमा धेरै सुनियो राम्रा-नराम्रा सबै । तर हाम्रै क्याम्पमा अवस्थित अफिसमा काम गर्ने मित्र इन्जिनियर एक्रिमले टर्कीको सुन्दरताबारे बयान गर्दा नेपालको भन्दा बढी नै कुरा गरे । भन्न थाले, ताल त हाम्रो प्रत्येक शहरमा कुवाभन्दा धेरै छन् । पहाडको ढाँचा भन्ने हो भने एकले अर्काेलाई छेकेर बसेका कत्ति छन् कत्ति ! ग्यालीपोली त करौंडोले हेर्न आउने पर्यटकीय उत्तम थलो हो ।

उनका कुरा सुनेर म छक्क परेँ अनि त म उनको भनाइमै मुग्ध भएर त्यहाँको यात्रा रच्न थालेँ ।

रोक्स होटेलमा पुगेर सामान बिसाएर राखेपछि म त्यहाँ अडिन नै सकिनँ तर बाटो सोझ्याउन अलिक सार्हो भएकाले मैले बोकेको नक्सा हेर्न थालेँ । मलाई कुलेली ट्राम स्टेसन पुग्नु थियो । त्यहाँबाट कुलेली स्टेसनमा पुग्न दश मिनेट लाग्यो । त्यहीँबाट ऐतिहासिक ठाउँहरु र मसला बजारका बाटो हुँदै एक बन्दरगाहसम्म पुगिन्थ्यो । मलाई त्यहाँको प्रख्यात केही मस्क र मसला बजार पुग्नु थियो ।

करिब पैंतालीस मिनेटपछि अनकपना स्टेसनमा झरेर मसला बजारतर्फ लागेँ म । यो मसला बजारको नाम पहिला नयाँ बजार थियो । सन् १६६० मा अटोमन साम्राज्य आजको टर्कीको केन्द्रमा रहेको अटोमनको राजधानी इस्तानबुल थियो, जसलाई पूर्वी रोमन शासन अवधि (३९५–१४५३)मा कन्स्ट्यानिपोल भनिन्थ्यो । अटाेमन साम्राज्य सन् १२९९ को वरपरदेखि १९२२ सम्म कायम रह्यो । पहिलो विश्वयुद्धमा अटोमन साम्राज्य बेलायत र उसका सहयोगीहरुबाट पराजित भएको थियो । पहिलो विश्वयुद्धको समयमा अष्ट्रो हङ्गेरीको अटोमन साम्राज्य पतन हुँदा बेलायत, फ्रान्स आदिको जिम्मा जमानीमा रहेका तथा अटोमन साम्राज्यमा रहेका मुलुकहरू स्वतन्त्र भएका थिए ।

इस्तानबुलमा मसलाको व्यापारको केन्द्र (र अझै पनि) रहेको छ तर पछिल्ला वर्षहरूमा अन्य प्रकारका पसलहरूले बिस्तारै मसलाको बिक्रेताको ठाउँ लिइरहेका छन् । २४ जुलाई १६६० मा दुई दिनसम्म यहाँ आगलागी हुँदा वरिपरिका सबै गाउँहरू आगोको लपेटमा परेको थियो ।

इस्तानबुल टर्कीको एक प्रमुख शहर हो । यो पुरानो सहरले यहाँ धेरैले शासन गरेको साम्राज्यको सांस्कृतिक प्रभाव झल्काउँदछ । सुल्तानाहेत जिल्लामा खुला आकास, रोमी युगको घोडा दौंडको मैदान शताब्दीयौंसम्म रथ दौडहरूको ठाउँ थियो । इजिप्टेली चतुर्काेण तथा प्रतिष्ठित बाइजान्टिन हया सोफियाले छैटाैँ शताब्दीको मस्क र दुर्लभ क्रिश्चियन मोजेक (साना रङका टुक्राहरू सँगै मिलाएर उत्पादन गरिएको, जस्तै ढुंगा, टाइल वा सिसाबाट बनेको कलाकृति) देख्न पाइन्छ ।

याात्राकै क्रममा इस्तानबुल पुरातत्त्व संग्रहालय पनि पुगियो ।

यहाँको प्रख्यात तोपकापी दरबार यतिबेला महत्त्वपूर्ण संग्रहालय बनेर टर्की र मध्यपूर्वकै इतिहासलाई नै वृहद् कलाको श्रृंखला निर्माण गरिदिएको छ । यस कम्प्लेक्समा तीन छुट्टै सेक्सनहरू छन्, जुन प्रत्येक भ्रमणको लागि योग्य छ । पुरातन ओरिएन्टको संग्रहालयमा पुरातत्त्व संग्रहालय र मेहमेतको टाइल पैवेलियन कन्क्वेररको सजिसजावट छ । जसले सिरामिक कलाको आश्चर्यजनक संग्रह र सौन्दर्य प्रस्फुटित गराएको छ । साथै यहाँका सबै अद्भुत कलाकृतिहरू, मुख्य पुरातत्त्व संग्रहालयमा युगौंदेखिका चिजबिजहरू प्रदर्शनमा छन् । यहाँका कोठाका झ्यालबाट देखिने गरेर बनाइएका इस्तानबुल शहरको अवलोकनले त झनै यात्राको अर्काे उम्दापन प्रदर्शन गरिदिन्छ ।

धेरै आगन्तुकहरूका लागि इस्तानबुलको दर्शनीय स्थल संग्रहालयहरू र स्मारक आकर्षणहरू जत्तिकै किनमेल गर्ने थलो हो । यता घुम्न जानुभएमा त्यस्तै अर्काे भव्य बजार( कापाली अर्सी) पनि घुम्न नबिर्सनु होला ।

यो ग्रान्ड बजार हेर्न धेरै पर्यटन आउँदछन् । यो विशाल बजार मूल रूपले संसारको पहिलो सपिङ मल हो, पूरै शहर क्वार्टर लिने, मोटा पर्खालहरूले घेरिएको, न्यु उस्मानी मस्जिद र बेयाजित मस्जिदको बीचमा रहेको छ । बियाजीत मस्जिद १४९८ देखि १५०५ मा निर्माण गरिएको थियो । यसले आफैं थियोडोसियस फोरमको साइट ओगटेको छ र हया सोफियाबाट प्रेरित आर्किटेक्चर छ ।

बजारमा प्रवेश ११ गेटहरूमध्ये एकबाट रहेको छ जहाँ बाटाहरू र स्टिलका लाइनहरू लगाइएको भोल्टसिलि बि लेनवेजको एक भूलभुलैया, तपाईंले कल्पना गर्न सक्ने प्रत्येक टर्की स्मारिका र हस्तकला बिक्री गर्ने स्टोरहरू। विभिन्न ट्रेडहरू प्रायः विशेष सेक्सनमा मिलाएर राखिएका छन्, जसले हेर्न र किन्नलाई सजिलो बनाउँदोरहेछ । बजारको प्रवेशको नजिक विभिन्न स्तम्भ छन् ।

यहाँका ट्राम सानो र पुरानो भए पनि बिसौनीहरूमा छोटो समयमा आउने भएकाले सुविधाजनक छ । स साना पसल, क्याफे, युरोपेलीनपन, सुकिला लुगा, नरम बोली देख्दा यहाँको सभ्यता हाम्रोभन्दा धेरै नम्र र भद्र भएको भान भयो मलाई ।

ट्रामको टिकट काट्न मसँग पैसा थिएन । ट्रामको स्टेसनमा एउटा मिठाई दोकान थियो । मैले केही मिठाई किनेँ अनि कसरी टिकट काट्ने भनी सोधेँ । किनकी मसँग यहाँको पैसा लिरा छैन तर भिसा कार्ड भने छँदैथियो । पसल्नीले आफ्नै ट्राभल कार्ड दिई । मैले भिसा कार्डबाट केही रकम लेऊ भनेँ तर उसले भनी, यहाँ धेर लिरा छैन तपाईंलाई तट जान र आउन भने पुग्छ । सकभर बरु फर्केर आउँदा निश्चय नै फर्काउनु होला !

उसकाे कुरा सुनेर म छक्क परिरहेको थिएँ ।

‘भरे नहराइकन आएँ भने त दिइहाल्छु नि !’ मैले भनेँ ।

उनी पनि फिस्स हाँसिन् ।

ट्राम सानो थियो, फराकिलो थिएन । सिट पनि सबै भरीभराउ थियो । उभिएर नै मैले ३० मिनेटको यात्रा पार गरेँ । तटमा पुग्नुअगाडि नै म मसला बजार झरेँ । बजार यस्तो भीड थियो कि मानौँ आज त्यहाँ ठूलै मेला चलिरहेकाे छ । मसला बजारको गेटमा त्यहाँका पुलिस र आर्मीको पनि मनग्य उपस्थिति थियो । सानो गेटबाट भित्र छिरेँ म, जहाँ मसला पसलको सुगन्धित बासनाको हरक आयो । तर मलाई बास्ना भिन्नै लाग्यो । एकछिन त्यो भीडमा म पनि हराएँ । लाग्यो कि म कतै असन इन्द्रचोकको गल्लीमै त घुमिरहेको छैन !

विभिन्न रङका मसलाका प्रकारहरू बेजोड सजिसजाउका साथ सिंगारिएका थिए । मसला मात्र नभएर यहाँको प्रख्यात मिठाई पिस्ताचियो बाक्लाभा र लोकुम थिए । चाख्न भनेर मैले पनि मात्र दुई वटा किनेँ । यो मिठाई जस्तो गुलियो मिठाई मैले आजसम्म खाएकै थिइनँ । म मसलाको बास्नाले सर्कुँलाझैँ नै लाग्यो । त्यसैले केहीबेर मात्र घुमेर बाहिर निस्केँ ।

हरिया मकै पोलेको देखेर मुखबाट पानी उम्रिन थाल्यो तर मैले त्यहाँ नकिनी अलिक बाहिरतर्फ मोडिएँ । तल झरेपछि सानो पार्क भेटेँ जहाँँ मनिसहरु चउरमा घाम तापिरहेका थिए । सडक अलिक फोहोर भएकाले म झन् मास्तिर लागेँ । सुलेमानी मस्कको टुप्पा तलैबाट मज्जाले देखिन्थ्यो । सोह्रौ शताब्दीमा बनेको यो मस्जिद हेर्दाको आकर्षक थियो । त्यहाँ पनि मेसिनले मकै पाेलिरहेका दुई साना व्यापारी देखेँ । मैले एउटा घोगा मकै किनेर तीन लिरा दिएँ र पार्कमा बसेँ । एउटा केटोले पानी किनिदेला भनेर आशालु नजरले हेर्यो । उसको आशा खेर जान दिइनँ, एक लिरा दिएर एउटा बोतल पानी लिएँ ।

मसमस परेको मकै निकै स्वादिलो रहेछ । मकैको दाना धेर र खोया कम भएको !

दिन निक्कै गर्मी नै थियो । समयले मध्याह्नलाई छिचोलिरहेको थियो । त्यहाँका पानी-बोटमा ग्राहक बोलाइरहेका थिए । एक घण्टाको १२.५० लिरा तिरेर मैले पनि बोटको टिकट काटेँ र समुद्रमा तैरिन थालेँ । पानी जहाजबाट मैले सकेसम्म टाढा-टाढासम्मको दृष्यलई मनमा बिच्छ्याउन खोजेँ । बाटामा पर्ने यहाँको गोल्डन फाम, क्वारेन्टाइन टापु, यस किल्ला र नेभी बेस हुँदै उही पोर्ट माहोल तटमा फर्किएँ ।

बोटबाट ओर्लेर त्यहाँको त्यो सानो पार्कतिर हेरेँ, त्यो निकै व्यस्त थियो । स्थानीय बासिन्दाबाहेक त्यो सानो पार्कमा संसारका मानिसहरू ओइरिएर रमाइरहेका हुन् कि भन्ने भान परिरहेको थियो । चिसो पेय पदार्थ, हरियो मकै बेच्ने पसल, आइसक्रिमको साना छाप्रे दोकानमा एकदम भिड थियो । मलाई भने माछा मारेको दृश्य मन परेकोले भव्य गालाटे पुलतिर लम्किएँ । जहाँ एक प्रकारको अनौठो लाग्यो । त्यो पुलको तल्लो भागमा विभिन्न आकर्षक रेष्टुरेन्टहरू थिए भने त्यसको माथिल्लो रेलिङबाट माछा मार्ने मानिसहरूको लाइन लागेको थियो । मैले एकछिन माछा मारेको हेरेँ र खाजा खान तल पसलतिर झरेँ ।

एक्लै बसेर खान अलिक असहजै भए पनि खाना अर्डर गरेँ । वेटरले समुद्रको ताजा तारेको माछाको बयान गरे । मैले पनि माछा र चिसो सोडा मागेँ । छेउकाहरूले बिएर पिइरहेका थिए । अलिक अचम्म पनि लाग्यो, मुस्लिम देशमा खुल्लमखुल्ला बियर बेचेको देखेर । नपाउने हैन तर होटलबाहेक बाहिर यसरी बेचेको भने देखेको थिइनँ मैले । ब्रुनाईमा रहँदाताका मलेसियनहरूको रेष्टुरेन्टमा जाँदा चिया पिउने कपमा बियर लुकाएर बेच्थे । त्यो सम्झनाले एकछिनसम्म मलाई ब्रुनाई नै रङमङिरह्यो । यस्तो गर्मीमा मेरो आँत हरहर भएर आयो र सोचेँ, ‘यस्तो गर्मीमा बियर पाइन्छ भने किन नपिउने ?’

‘यहाँ बियर पनि पाउँछ र ?’ मैले आश्चर्य मानेर सोधेँ ।

‘किन नपाउने ? यो त ओपन बजार हो,’ बियर बेच्न बसेकी पातली पसल्नीले भनी ।

‘त्यसो भए मलाई पनि एक बोतल देऊ न त !’

‘बोतलमा त पाइन्न है ?’ भ्याट्ट उत्तर आयो ।

‘हुन्छ, ग्लासमै छ मज्जा !’ मैले भनिनस्कदै ओके भन्दै पातली पसल्नी भित्र छिरी ।

वेटरले सलादको प्लेट ल्याउँदा म चकित परेँ । त्यो यति धेरै थियो कि एउटा ठूलो प्लेटमा भरिभराउ । बीचको भाग कागती पानीले भरिएको गिलास । अनि वरिपरि गाँजर, काँक्रा र अरू हरिया सलादले भरिएको । मानौं एउटा सानो गमलामा विभिन्न रङले भरिएको फूल फूलिरहेछ !

मैले गिलासमा आएको चिसो पिउँदै समुद्र-दृश्यको आश्वाद लिइरहेँ । कत्ति व्यस्त होला यो सहर ? कता हिँडेका होलान् यी मान्छेहरू ? आउने र जाने क्रम त्यत्ति नै छ पानी जहाजमा पनि !

मलाई यहाँ बस्दाबस्दै ओरहान पामुकको उपन्यास ‘माई नेम इज रेड’को सम्झना आयो । जहाँ धर्म, संस्कृति, कला र अनेक समयको दर्पणले मनमस्तिष्क हल्लाइदिन्छ । तिनै लेखकलाई सम्झँदै म त्यहाँबाट मास्तिर उक्लेँ, जहाँ बत्तिका प्रत्येक पोलले चुनावको झल्को दिइरहेको थियो । त्यहाँको चुनाव हुन लागेकाले होला, उम्मेद्वारको रंगीविरंगी तस्बिरसहितका प्रचार सामग्री टाँसिएका थिए ।

सम्झेँ शक्तिका लागि कत्ति खर्च गर्छन् विश्वभरिका नै राजनीतिज्ञहरूले !

घामले मस्जिदको चुच्चो छुँदै डुब्ने तयारी थाल्यो । म पनि साँझसम्म तटमा नै अल्झिरहेँ । दिन भरिको टिपोट लेखेँ । बाटामा फर्किदा भीड बढी नै थियो । उभिएर नै आधा घण्टाको यात्रा गरेँ ।

दिउँसो लिएको मेट्रो कार्ड दिनलाई म स्टेसनमा झर्नेबित्तिकै म कार्ड फिर्ता दिन पसलमा छिरेँ र कार्ड दिँदै भनेँ, ‘म हराइनँ नि !’