‘आज अदालत जानु छैन जाउँं रेस्टुरेन्टमा खाजा खान’ भनेर शारदा दिदीले आग्रह गरे पछि म पनि दिदीको पछि लागेँ । मैंले भर्खरै वि. एल. सिध्याएर दिदीको ल फर्ममा एक हप्ता अघि मात्र प्राक्टिस शुरु गरेकी थिएँ । हामी रेस्टुरेन्ट पस्दा रेस्टुरेन्टको पल्लो छेउको कुनामा तीन जना वकिलहरु प्नि गफमा मस्त हुदौ खाजा खाइरहेका थिए।
मैले शारदा दिदीलाई ‘तिनीहरुपनि वकिलै रहेछन् है दिदी’ भनेर सोधेँ । दिदीले ‘यो पुतली सडक भरिमा झण्डै पचासको हाराहारीमा ल फर्म छन् र वकिल त कति कति’ भन्दै हाँस्नुभो । ती तीन जनामध्ये एउटा वकिलले नजाँनिदो पाराले साथीहरुसँग कुरागर्दै बेला बेलामा मतिर आँखा घुमाउँदै थियो । भनौँ न उस्का र मेरा आँखा जुध्दै थिए ।
हामीले खाजाको अर्डर लिएर खानै लाग्दा तिनीहरुले खाइ सकेर हाम्रै टेवलतिर लम्कदै गर्दा मैले त्यो आँखा जुध्ने वकिललाई उस्ले थाहा नपाउने गरी राम्ररी हेरेँ । पातलो र अग्लो शरीर, ठूलो निधार, माथि फर्काएर कोरेको कपाल, बाहिरबाट हेर्दा आकर्षक नै देखिन्थ्यो । सबैले दिदीलाई आदरभाव सहितको नमस्कार गरे अनि मलाई यस अघि कहिल्यै दिदीसँग नदेखेको कुरा सामान्य रुपमा सोधेँ । दिदीले पनि ‘एक हप्ताअघि मात्र मेरो फर्ममा काम शुरु गरेकी हुन् बैनीले’ भन्नु भो । स्थापित वकिल भैसकेकोले कसैले पनि मसँग परिचयको वास्ता गरेनन् । ती आँखा जुधेका वकिलको मनसाय त बुझ्न सकिनँ, दिदीसँग आराम विरामका कुराहरु गर्न थाले । यत्तिकैमा बाहिर रहेका साथीमध्ये एउटाले ‘ए किरण छिटो गर न यार’ भनेर बोलाएपछि मलाई पक्का भो, उनको नाम किरण रहेछ भनेर ।
दिदीको अफिसमा मसमेत तीन जना स्टाफ थियौँ । दिदीको प्रायजसो अदालत गइरहनु पर्थ्यो । म दिदीलाई क्लाइन्टको स्क्याजुयल मिलाउने, मिसिल, प्रमाण, कागजात मिलाउने, मुद्दाको पेशी लिने काममा सहयोग गर्थेँ भने अर्को साथीले बाहिरको काम गर्नुहुन्थ्यो । यसैगरी दिदीको अफिसमा काम गरेको पनि करिब एक वर्ष हुन लागेको थियो । यस बीचमा किरणसँग पनि रेस्टुरेन्ट र बाहिर गरेर धेरै पटक भेटघाट र बातचित भैसकेको थियो । समय बित्दै जाँदा, म यता अफिसको काममा पोख्त हुँदै थिए भने एल. एल. एम. को कक्षा पनि शुरु गरिसकेकी थिएँ ।
अचानक एक दिन काम सकेर घर फर्कने बेलामा टेम्पो कुरेर उभिइरहेको बेला किरणले मेरो अगाडि मोटरसाइकल रोकेर घरसम्म लगिदिने कुरा गरे । मैले अलि असहज मानेर ‘भैगो म टेम्पोमै गइहाल्छु नि, आइरहन्छन् टेम्पो’, भनेँ तर उनले अति नै ढिपी कसेपछि उनको मोटरसाइकलको पछाडि बसेँ म पनि ।
घर पुगेपछि मोटरसाइकलबाट ओर्लंदै गर्दा ‘कहिलेकाहीँ कुराकानी गर्न हुन्छ नि फोन नम्बर पाऊँ न’, भने । एक वर्षदेखि भेट भैसकेको र दिदीले पनि राम्ररी चिनेके भएकाले मैले नि निःशंकोच मेरो नम्बर दिएँ उसलाई । ‘म मिसकल दिन्छु’ भन्दै बतासिए किरण ।
किरणले बेलाबेला फोन गरेर हाल खबर बुझ्ने, सँगै खाजा खाने र घर छोडिदिने गर्दागर्दै नजानिँदो हिसाबले हामी त निकै नजिक भैसकेछौँ । एक दिन किरणले दिदीकै अगाडि ‘म ज्ञानुलाई मन पराउँछु दिदी’ भने । दिदीले पनि ‘के फरक पर्छ त दुवै समझदार छौ, एकअर्कालाई बुझेकै छौ, घरमा कुरा गरे भै गो नि’ भन्नु भयो । हामीले हाम्रो सम्बन्धको बारेमा आ-आफ्नो घरमा कुरा राख्यौँ ।दुवै परिवारमा बिहेको कुरा चल्यो र करिब छ महिनापछि बिहे पनि भयो ।
बिहेपछि बाहिरको मान्छेलाई तलब पनि दिनु नपर्ने, आफ्नो व्यवसाय पनि राम्ररी संचालन हुने कुरा परिवारमा सल्लाह भयो र म पनि किरणकै फर्ममा काम गर्न थालेँ । यसैबीच मेरो एल.एल. एम. प्रथम वर्षको परीक्षा पनि मैले प्रथम श्रेणीमा पास गरेँ । खुब मिहिनेत गर्यौँ हामी दुवैले । पढ्दा र लेख्दा हाम्रा कयौँ रातहरु छर्लंगै भए । हामीले मिहिनेत गरेअनुसार किरण र हाम्रो फर्मले अरु फर्म र वकिलहरुलाई उछिनेर निकै अगाडि फड्को मार्यो ।
आफ्नै फर्म त हो नि भनेर मैले आफूले काम गरेको तलब लिने गरेकी थिइनँ । जति पनि पैसा जम्मा हुन्थ्यो, किरणकै बैँक एकाउन्टमा जम्मा हुन्थ्यो । अफिसियल रुपमा हामी धनी भए पनि व्यक्तिगत रुपमा मलाई आर्थिक अभाव हुन थाल्यो। सानो तिनो खर्चको लागि पनि मैले किरणसँग हात फैलाउनुपर्ने भयो । यसअघि मैले एक रुपैयाँ पनि कसैसँग माग्नु परेको थिएन । मैले यस विषयमा धेरै विचार गरेर किरणसँग कुरा उठाएँ। तर उनले ‘हामीलाई नपुग्दो के छ र, तिमीलाई चाहिएको बेला एक दुई हजार दिएकै छु, त्यसमाथि आमा पनि बिरामी हुनुहुन्छ तिमी घरै बसे पनि त हुन्छ नि’ भन्दा त म छाँगाबाट खसेजस्ती भएँ । किरणले यी सब कुरा घरमा बुबाआमासँग सल्लाह गरेरै मलाई भनेका रहेछन्। बुबाले केही हदसम्म मेरो पक्ष लिए पनि घरमा आमाको हैकम चल्ने भएकाले बुबाको केही चलेन । मैले घरै बस्नु पर्ने र मलाई कुनै हालतमा काम गर्न नदिने वातावरण घरमा सृजना भयो । म आफू भविष्यमा न्यायाधीश बन्न चाहन्थेँ भने परिवार घरधन्दामा सीमित गर्न चाहन्थ्यो । मेरो अस्तित्व र वैवाहिक जिन्दगीको बीचमा मन एकतमासले आन्दोलित हुन थाल्यो … र अन्त्यमा मेरो अस्तित्वले जित्यो र म घर छोड्न बाध्य भएँ ।
मैले ठीक गरेँ कि बेठीक ? म आफैँसँग यसको उत्तर छैन। जे गरेँ, आफ्नो अस्तित्वको लागि गरेँ भन्ने लाग्छ । अहिले म मेरो आफ्नो घरमा छु । आफ्नो छुट्टै ल फर्म खोलेर पुनः काममा फर्केकी छु साथै एल.एल.एम. दोस्रो वर्षको पढाइ पनि जारी राखेकी छु । हो, मलाई अलि कठिन होला तर मैले हिम्मत हारेकी छैन …
भर्जिनिया, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।