एकाबिहानै
हामी सबै सोच्दै छौँ
त्यति राम्रो हाम्रो फूलबारी
कसले बिगारिदियो ?

संसार तिवारी

हिजो साँझ झिसमिसेमा
कतै कोहि पस्यो कि।।
हँसिया हथौडा लिएर
फुटायो कि हाम्रा तार-बार
काट्यो कि हाम्रो घाँस
बेच्यो कि कुनै व्यापारीलाई ?

वा कतै हिजो दिउँसोको सूर्यले नै
चुस्यो कि हाम्रा रस सबै
लुट्यो कि हाम्रा परागहरु
सुकायो कि हामीलाई ?

वा हिजो रुखका नारा लाउनेहरुले नै
उखेले कि हाम्रा जराहरु
निमोठे कि हाम्रा कोपिला
उजेडे कि हाम्रो माटो ?

अस्तिसम्म त सबै फलेफुलेकै थियो
खै
किन, कसरी, कतिबेला हामी यसरी ओइलायौँ
थाहा छैन कसैलाई,
कसले बिगारिदियो
४ जात ३६ वर्णको
हाम्रो साझा फूलबारी ?

जमर्नी