अमेरिकाका ५० वटा राज्यहरूमध्ये नर्थ क्यारोलाइना एउटा राज्य । त्यही राज्यको राजधानी शहर राले (Raleigh) बाट ५० किलोमिटर पश्चिममा अर्को शहर मसिरभिल (Morrisville) मा बसेको केही समय भयो ।
मरिसभिलसँग जोडिएको अर्को शहर RTP (Research Triangle Park)। वास्तवमा त्यो पार्क नभई औद्योगिक क्षेत्र हो । यहाँ विभिन्न प्रकारका सामग्रीको निर्माण हुने गर्छ । हवाइजहाजको पंखा र कम्प्युटरको पाटपुर्जादेखि विभिन्न प्रकारको औषधि र तासपत्तिसम्म निर्माण हुन्छ । मसिरभिल र आर.टि.पि. अनोन्याश्रित छन् । दिनभरि आर.टि.पी.मा काम गर्ने बेलुका सुत्न भने मरिसमिलमा नै जाने । धेरैजसो कामदारको निवास मरिसभिलमा नै हुनेगर्छ ।
मेरो निवास नजिकै Fujifilm Diosynth (फुजीफिल्म डायोसिन्ट) नाम गरेको औषधि कम्पनी छ । त्यो कम्पनीको छेऊ हुँदै दैनिकजसो म आवत–जावत गर्छु । बिहान–बेलुकाको हिंडाइ (Morning Walk) पनि हुने गर्छ । कम्पनीको छेउ लागेर सधैं हिँडे पनि साथै दैनिक आवत–जावत गरे पनि त्यो कम्पनी अन्तर्राष्ट्रियस्तरको हो भन्ने मलाई थाहा थिएन । नजिकको जोगी भातमार भनेको जस्तो त्यो बारेमा खासै चासो हुन्थेन तर त्यही कम्पनीको निरीक्षण गर्न अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदै छन् भनेपछि मेरो चासो ह्वात्तै बढ्छ, म झस्याङ्ग हुन्छु ।
हुन त केही दिन अगाडि त्यो कम्पनीको वरिपरि पुलिसको गाडी आउनेजाने भइरहेको थियो । टि.भी. र रेडियोकर्मीका ट्रक पनि देखिएका थिए । सुकिला–मुकिला व्यक्तिको ओहोर–दोहोर निकै थियो । तर राष्ट्रपति नै आउँदै छन् भन्ने मैले कहिल्यै सोचेको थिइनँ ।
त्यो कम्पनीका कार्यकारिणी निर्देशक थिए– मार्टिन मिसन (Marin Meeson) । केही दिनअगाडि तिनै मार्टिन मिसनसँग मेरो भेट भएको थियो । त्यो भेट अनौठो परिस्थितिले जुराएको थियो । एकदिन बिहानपख हिँडाइको क्रममा म उनको कम्पनीको आँगनमा पुगेछु, त्यही बेला एउटा गाडी म नजिकै रोकियो र त्यो गाडीबाट एक जना व्यक्ति निस्किए र सरासर मैतिर आए । शुरुमा मलाई डर पनि लाग्यो – “यहाँ किन हिँडेको भनेर गाली गर्लाजस्तो लाग्यो तर म डराउन परेन बरु ती व्यक्ति हँसिलो हुँदै आए र सुस्तरी बोले–
“गुड मर्निङ्ग ।”
“गुड मर्निङ्ग,” मैले पनि जवाफ फर्काए ।
त्यतिबेलासम्म मेरो दकस मरिसकेको थियो । साथै उनी पनि नजिकिंदै आएपछि मेरो साहस बढ्दै गयो र अर्को प्रश्न सोधिहालें, “तपाईं त आज निकै चाँडै पो आउनुभयो त ! भर्खर सात पनि बजेको छैन ।”
“हामीहरू एउटा ठूलो प्रोजेक्टमा छौं । त्यो प्रोजेक्ट नसकुन्जेल मेरो यस्तै क्रम चल्छ ।”
तर मैले कुन–कस्तो प्रोजेक्ट भनेर सोधिनँ । अमेरिकन कम्पनीहरूमा सधैं एउटा–एउटा प्रोजेक्ट लिएर नै अगाडि बढेका हुन्छन् तर उनी आफैं बोल्दै गए ।
“राष्ट्रपति चुनाव हुनुभन्दा पहिला नै यो प्रोजेक्टलाई सिध्याउनुपरेको छ ।”
अझै पनि मैले प्रोजेक्ट बारेमा सोधिनँ किनकि उनी हतारिएको मुडमा देखिन थालिसकेका थिए । उनी अफिसतिर उक्लिए । म आफ्नो निवासतिर । तर पछि टि.भी.मा अन्तरवार्ता दिइरहेका बेला थाहा भयो, उनी त त्यस कम्पनीका कार्यकारिणी निर्देशक पो रहेछन् । उनले राष्ट्रपति ट्रम्पलाई औषधिको बारेमा पनि बताइरहेका थिए ।
अमेरिकाको मेरील्याण्डमा मुख्य कार्यालय भएको यो कम्पनीले कोरोना भाइरसको औषधीको लागि अमेरिकी सरकारबाट १.६ बिलियन डलर (करिब २ खर्ब रुपियाँ) को बजेट हात पारेको रहेछ र काम थालिसकेको रहेछ । त्यही औषधीको निरीक्षण भ्रमणको सिलसिलामा राष्ट्रपति ट्रम्प त्यहाँ आउने भएका रहेछन् ।
जुलाई २७, २०२० अर्थात् २०७७ साल श्रावण १२ गतेको ३ बजे राष्ट्रपति त्यहाँ आउने कार्यक्रम थियो । म भने २ बजेदेखि नै टि.भी.को अगाडि बसेँ, प्रत्यक्ष प्रसारण हेर्न । टेलिभिजनले कहिले एयरपोर्टको दृश्य देखाइरहेको हुन्थ्यो त कहिले औषधि कम्पनी भवन । कहिले म आफैं बसेको निवासको पनि दृश्य टि.भी. देख्थेँ । एकातिर आकाशमा चिल घुमेझैँ हेलिकप्टर घुमिरहनु अर्कोतिर राजमार्ग दुवैतिर यातायात ठप्प हुनु, अनि बेलाबेलामा एम्बुलेन्सको साइरन आउनु वातावरण जति भयावह त्यति नै रमाइलो पनि, अनि जिज्ञासु । कहिलेकाहीं भयावह पनि रमाइलो हुँदोरहेछ ।
त्यतिबेला मैले नेपालका राष्ट्रपतिको भ्रमणको दृश्य सम्झन पुगे । कहिलेकाहीँ राष्ट्रपतिको भ्रमणको बेला यसो दश मिनेट सडकमा रोकिनपर्यो भने ट्राफिकलाई कुट्न जाने, हर्न बजाएर हैरान पार्ने अनि राष्ट्रपतिलाई नानाथरिको गाली गर्ने, ड्राइभरहरूले अमेरिका राष्ट्रपतिको भ्रमण देखे भने के गर्लान् ! त्यति लामो राजमार्गमा गाडीको त्यो लस्करले राष्ट्रपतिलाई सडक छोडेको आघा घण्टाभन्दा पनि बढी भएको थियो । तर त्यहाँ न हर्न बजेको छ, न नानाथरिको गाली नै ।
टि.भी.मा हेर्दाहेर्दै बडेमानको बोइङ जेट एयरपोर्टमा अवतरण गरेको मात्र थियो । चार–पाँच कालो कोट-पाइन्ट लगाएका व्यक्तिहरू बोइङको मुखै गए र राष्ट्रपतिलाई पर्खेर उभिए । एकैछिनमा बोइङको ढोका खुलेको मात्र थियो राष्ट्रपति हात हल्लाउँदै देखा परे । अनि भर्याङ्ग ओर्लिए । त्यहीबेला टि.भी.ले प्रसारण गर्यो– “अब राष्ट्रपति आधा घण्टामा औषधि कम्पनीमा पुग्नेछन् ।”
औद्योगिक क्षेत्र नजिकै निवास हुनु पहिल्यैदेखि उपलब्धिमूलक नै थियो मलाई । अब एयरपोर्ट नजिकै हुनु पनि अर्को थपियो । मैले सोफामा बसेर प्रत्यक्ष प्रसारण हेरेर मात्र सन्तोष मानिनँ र हत्तपत्त यही औषधि कम्पनीतिर नै हिँडिहाले । मनमनै सोचें– राष्ट्रपतिलाई भेटेर छाड्छु । तर मेरो सोचाई एकैछिन धुजाधुजा भएर च्यातियो । केहीअगाडि पुगेको मात्र थिएँ पुलिसले आफ्नो गाडि सडकको बीच भागमा नै तेर्सो पारेर राखेको रहेछ । त्यही उभिएको पुलिसलाई सोधे– “के यहाँबाट उता हिँड्न नै नपाइने हो ?
“पाइन्छ ! गाडी मात्र लैजान नपाइने हो, तपाईं जान सक्नुहुन्छ ।”
उसको उत्तर पाएपछि म सरासर अगाडि बढ्छु । केही अगाडि पुगेको मात्र छु, त्यहाँ त विशाल मानव सागर पो रहेछ ! राष्ट्रपतिलाई भेट्न आउनेको ताँती पो रहेछ ! कसैको हातमा अमेरिकन झण्डा छ, कसैको हातमा प्लेकार्ड ! कसैको समर्थन, त कसैको विरोध । औषधी कम्पनी अगाडिको असंख्य भीडलाई देख्दा लाग्थ्यो, राष्ट्रपतिप्रतिको चासो हो वा भीडभाडको रमाइलो !
त्यो भीडमा उभिएर म धेरैबेर नै राष्ट्रपतिको प्रतीक्षा गर्छु । उनको बाटो हेरेर बस्छु । म मात्र होइन, त्यो भीडले निकैबेर नै प्रतीक्षा गर्छ तर राष्ट्रपति देखा परेनन् । हामीहरू आत्तिन थाल्यौँ । थाक्यौँ । राष्ट्रपति कता हराए ? पछि थाहा भयो, उनले त बाटो परिवर्तन गरेछन् । उत्तरी ढोकाबाट नगई दक्षिणी ढोका लिएछन् । त्यतिबेला म नेपालका क्रान्तिकारी नेतालाई सम्झन पुग्छु । आफ्नो बाटोमा प्रदर्शनकारी छन् भन्ने थाहा पाए भने उनीहरू आफ्नो बाटो नै परिवर्तन गर्छन् र भाग्छन् । उनीहरूलाई भीडसँग डर हुन्छ । ढुङ्गामुडाबाट जोगिनु छ । के राष्ट्रपति ट्रम्प पनि भीडबाट भागेका हुन् त ! उनलाई भीडबाट डर छ !
एकातिर कोरोना भाइरसले हाहाकार मच्चाएको विश्व ! अनि केही दिन अगाडि जर्ज फ्लोइड नाम गरेका काला व्यक्तिको हत्याले भद्रगोल भएको अमेरिका ! राष्ट्रपति ट्रम्प गलेका थिए । उनको मानसिकता गिरेको थियो । जर्ज फ्लोइडलाई तीनजना गोरा पुलिसको समूहले घाँटी अठ्याएर दिन दहाडै मारेका थिए । त्यो दृश्य विश्वभर नै सार्वजनिक भएको थियो भने राष्ट्रपति ट्रम्पलाई अमेरिकी जनताले र्याउर्याउ पारेका थिए ।
त्यसैले उनले आफ्नो दिशा परिवर्तन गरे । उनलाई भीडसँग डर थियो । तर ट्रम्पले दिशा परिवर्तन गरेपछि त्यो भीडले पनि दिशा परिवर्तन गर्यो । उनको दर्शनको लागि जम्मा भएको त्यो भीड पनि दक्षिण ढोकातिर ग्यारग्यार्ती पस्यो । त्यो टन्टलापुर घाम, नमिलेको बाटो, न हातमा छाता, न पानीको बोतल, त्यो लस्कर अगाडि बढेपछि म पनि उनीहरूसँगै मिसिएँ ।
तर दक्षिण ढोकामा पुगेपछि थाहा भयो राष्ट्रपति ट्रम्प किन डराउँथें ! दक्षिण ढोकामा त झन् ठूलो भीड पो रहेछ ! बरु त्यो भीड देखेपछि म डराएँ । मलाई कायरताले समात्दै ल्यायो । त्यस्तो भीड नदेखेको धेरै नै भएकाले होला म आत्तिन थालेँ । थरी–थरीका प्लेकार्ड, थरी–थरीका नाराबाजी ! न कसैलाई कोरानाको डर छ, न चर्को घामको । उनीहरूको ध्यान ट्रपको अगाडि उफ्रनु नै थियो । कोही उनलाई गाली गर्दै थिए त कोही स्याबासी !
त्यतिबेलासम्म ट्रप भित्र पसिसकेका थिए, उनलाई औषधी कम्पनीको चासो थियो तर बाहिरी ढोका भने चर्काचर्की । एकातिर कालाहरू “Black Lives Matter” भन्दै चिच्याइरहेका थिए अर्कोतिर गोराहरू “All Lives Matter” भन्दै कालाहरूको विरोध । मचाहिँ बीचमा । वातावरण अनौठो थियो अनि रमाइलो पनि ।
केहीबेरपछि राष्ट्रपति ट्रम्प आफ्नो दलबलसहित गेटबाट बाहिर निस्किए । अगाडि–अगाडि चार–पाँचवटा मोटरसाइकल, त्यसपछि कसिलो डिजाइनको गाडी अनि राष्ट्रपतिको गाडी । झिलिक–मिलिक बत्ती चम्काउँदै हाम्रो सामुन्ने आइपुग्यो । त्यहीबेला चर्को नाराबाजी शुरु भइहाल्यो तर म भने केही अगि सरेर दुवै हात उठाएर उनलाई नमस्कार गरेँ । उनले पनि आफ्नो हात उठाएर मलाई नमस्कार फर्काए तर उनको नमस्कार मेरो लागि थिएन । मलाई मात्र उनले नमस्कार गरेका थिएनन् । उनको नमस्कार त्यो विशाल भीडलाई थियो । सबैलाई उनले सामूहिक नमस्कार गरेका थिए । तर भीडले नमस्कार फर्काएन बरु चर्को नाराबाजी गरिरह्यो । चिच्याइरह्यो । राष्ट्रपति भीडलाई हात हल्लाउँदै अगाडि बढे तर भीड अझै उभिइरह्यो । त्यहीबेला कालो वर्णकी युवती बाकसभरि पानीको बोतल लिएर मेरो अगाडि आइन् र सोधिन्–
“सरलाई पानी दिऊ ?”
मैले खुशी हुँदै एक बोतल पानी हातमा लिए र उनलाई धन्यवाद दिए अनि त्यहाँ उभिइ–उभिई नै पानी पिएँ तर त्यो त पानी थिएन, अमृत थियो । मित्रभावको संकेत थियो । अनि सामूहिक प्रेम । त्यहाँ थुप्रै वैचारिक दुश्मन थिए । एक–आपसमा आकर्षित नारा लगाइरहेका थिए तर प्रेम पनि त्यत्तिकै थियो । भाइचारा थियो । ती काली युवती आफ्नो अगाडि देखिएका सबैलाई पानी बाँड्दै हिँडिरहेकी थिइन् । उनको अगाडि गोरा पनि थिए, काला पनि अनि खैरा पनि । मैले मनमनै सोचे– आखिर काला होस् वा गोरा, महिला होस् वा पुरुष तिर्खा त समान आवश्यक रहेछ हगि !
म आफ्नो निवासमा आइपुग्दा टि.भी.को प्रत्यक्ष प्रसारण जारी नै थियो । राष्ट्रपति ट्रम्प बोइङ चढ्ने तरखरै गर्दै थिए । स्थानीय नेताहरूसँग हात मिलाउँदै थिए । त्यहीबेला टि.भी.ले सूचना दियो ।
‘अब राष्ट्रपति ट्रम्प नर्थक्यारोलाइनाबाट फ्लोरिडा जानुहुनेछ, फ्लोरिडाबाट न्युयोर्क र न्युयोर्कबाट वासिङ्गटन डि.सी. । उहाँका रात्रिकालीन खाना न्युयोर्कमा हुनेछ भने सुत्नको लागि उहाँ ह्वाइट हाउसमा पुग्नुहुनेछ ।’
अहो ! कस्तो व्यस्त कार्यतालिका ! कस्तो हतार ! त्यतिबेला मलाई एउटा इतिहास सम्झना आयो । जतिबेला नेपालमा राजा वीरेन्द्र थिए । उनी प्रत्येक वर्षको हिउँदमा विभिन्न विकास क्षेत्रको भ्रमण गर्थे । उनको हिउँदको दैनिक जीवन राष्ट्रपति ट्रम्पको भन्दा कम थिएन । त्यतिबेलाका नेपालको राष्ट्रियस्तरका दैनिक पत्रिकाको एउटा अनुच्छेदमा लेखेको मेरो दिमागमा आउँछ– “….राजा वीरेन्द्रको बिहानको खाना काठमाडौं हुनेछ, दिउँसाको रारा तालमा अनि बेलुकाको सुर्खेतमा । मौसुफ सरकारको रात्रिकालीन आराम पनि सुर्खेतमा नै हुनेछ ।” त्यो दिनचर्यालाई लिएर धेरै पत्रिकाले घुमाउरो पारामा राजा वीरेन्द्रको विलासी जीवन र मोजमस्तीको नमुना दिए ।
राष्ट्रपति ट्रम्पलाई पनि त्यस्तो आरोप कहाँ नआउने हो र ! उनलाई आरोप लगाउँदा घुमाउरो भाषा चाहिँदैन, शब्द चपाउन पर्दैन । विरोधी पार्टीले सोझै भन्छन् तर उनको बोइङ अमेरिकी आकाशमा दिनहुँ उड्ने गर्छ, अनि त्यो बडेमानको बोइङमा उनी एक्ला यात्री हुन् । उनको बिहानको खाना ह्वाइट हाउसमा हुनेगर्छ, दिउँसोको क्यालिफोर्निया अनि साँझको अलास्कामा । उनलाई विरोधीले के भन्लान् भन्ने डर छैन किनकि उनको भ्रमण मोज–मस्ती र विलासी जीवनका लागि होइन, देश र जनताको लागि हो, विश्वको लागि हो ।
सायद राजा वीरेन्द्रले पनि आफ्नो भ्रमणलाई विलासी नबनाएको भए मोज–मस्तीमा नै दिन नफालेको भए अकालमा मृत्यु हुने थिएन, रारा ताल वरिपरिको मात्र होइन नेपाली जनताको जीवनस्तरमा कायापलट नै हुन्थ्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।