“अगाडिको यात्रा साहित्यमय बनाउनु पर्छ है ! घुम्दै फिर्दै, नयाँ ठाउँ हेर्दै काठमाडौं फर्कने हो अब । र साथमा साहित्यिक चर्चा परिचर्चा पनि गरौँला ।”, अश्विनी सरले अघिल्लो दिनै योजना सुनाइसक्नु भएको थियो । हुन पनि हो, हामी नेपाल टेकेपछि केही दिन घुमाघाममा मात्र मग्न भयौं भने केही दिन साहित्यिक माहोलमा समाहित ।अब भने दुबैको स्वाद एकचोटि लिन पाउने हुदाँ उत्साह हामी सबैमा जागेको थियो ।
धनगढीबाटै एउटा माक्रोबस रिजब गरेका थियौं । ताकि लुम्बिनी र पोखराको यात्रा सहज र अवलोकनमा सुविधा होस् । लोकल बसमा भने बसस्टप उत्रिएर फेरि ट्याक्सीमा आफ्नो गन्तव्यसम्म जानुपर्ने हुन्थ्यो । लगेजसँग यस किसिमको यात्रा झन्झटिलो हुन्छ । त्यही झन्झटको पूर्वानुमान गरेरै केही महँगो भए पनि सिङ्गो बस दुई दिनका लागि आफ्नो बनायौं र ढुक्कसँग लुम्बिनीतर्फ लम्क्यौं ।
करिब बाह्र घण्टजति बस गुडेपछि बिहानको सात बजे भैरहवा भन्ने ठाउँ पुगियो । अब तपाईँ हामी धनगढीबाट हिँडेको समय पत्ता लगाउन सक्नुहुन्छ । त्यहाँ एउटा होटल पसौं, फ्रेस भयौं र हल्का मेकअप गर्न पनि भ्याइहाल्यौं ।
हामीले मेकअप गरिभ्याउदा पनि भैरहवाको उठ्ने सुरसार थिएन । प्रायः पसलहरू बन्द नै थिए । त्यही होटलका साउजीलाई चिया पकाउन लगायौं । पर्खेरै एक कप चियाले ज्यान ततायौं । खासमा अश्विनी सरको योजनानुसार भैरहवामा एउटा कार्यक्रममा सहभागि हुनु थियो। त्यसपछि मात्र मायादेवी मन्दिरतिर लाग्ने हाम्रो यात्रा योजना थियो । कारणवश त्यो साहित्यिक कार्यक्रम अर्को दिनलाई सारिएछ । कार्यक्रम सञ्चालकले अश्विनी सरलाई फोन गरेर अफशोस जनाए । तर भोलिपल्टलाई हामीमा समय थिएन । अश्विनी सरले यही कुरा उहाँहरूलाई बताउनु भयो ।
उहाँहरू जो हुनुहुन्थ्यो, हामीले भेट्न अवसर नपाए पनि बर्माबाट आएको साहित्यिक टोली भनी कति ठूलो मनशायले निम्त्याउनु भयो, तर उहाँहरूको भावनाको कदर गर्न हामीले सकेनौँ । यसप्रति हामीलाई पनि दु:ख लागेको थियो । कार्यक्रम सार्नु परेकोमा सायद उहाँहरू पनि दुःख लागेको हुँदो हो ।
बाटो कच्चा, बसले यति धेरै उफार्यो कि दश घण्टामा हामी नुन खाएको कुखुरो झैं झोक्रिएका थियौं । अझ मलाई अघिल्लो दिनबाटै खास सञ्चो थिएन । त्यसमाथि रातभरीको बसको उचाल र पछारले जीउ थङ्थिलो बनाएको थियो ।
कार्यक्रम नहुने भएपछि बाटो सोद्धै र खोज्दै लुम्बिनीतिर लाग्यो हाम्रो बस । तीस मिनेट जति अघि बढेपछि लुम्बिनी पुगिन्छ भनी एउटा रैथानेबाट थाहा भयो । जुन कुराले मनलाई केही राहत मिल्यो । त्यसपछि त जब लुम्बिनी नजिक हुँदै गयो तब मनको थकानसँगै शरीरमा पनि अप्रत्यासित रूपले उत्साह उम्लेर आयो ।
मूलद्वारबाट मायादेवी मन्दिर हिँडेर जान निकै दूर पर्ने रहेछ । जुन कुरा थाहा पाएपछि अश्विनि सर र ज्ञान सरहरूले भनेबमोजिम दुईवटा ट्याम्पुमा बाँढिएर हामी नौ जनाको टोली लुम्बिनी उपवनतिर लाग्यो । महिनाको नयाँ दिन थियो अर्थात् मार्च १, २०२० । आकाशमा सूर्यको एक झिल्को थिएन । पूरै बादलले ढाकेको थियो, कतिखेर चाहिँ पानी भक्कानिएर पर्छकि झैं गरेर । वातावरण आलस्यमय भए पनि हामी खुब फुर्तिला भएका थियौं । जब ट्याम्पुबाट ओर्लिएर लुम्बिनी उपवनमा टेक्यौं । त्यहाँ पुगेपछिको उत्साह भने सबैको अनुहारमा राम्ररीसँग प्रतिबिम्बित थियो ।
मनले चरम खुसीको अनुभव गर्यो । भगवान् बुद्धको पाउ स्पर्श गरेको चोखो हावाले मन आनन्दित हुँदैँ गयो । हामी पनि कुनै ठाउँमा फोटो लिँदै त कुनै ठाउँमा भने परको क्षितिज हेर्दै अघि बढ्यौं । मन्दिरको नजिक हुँदै जाँदा मलाई आमाको याद खुब आयो । आमालाई म लुम्बिनी पनि जाँदै छु भन्ने थाहा थिएन। धनगढी हुँदै अब केही दिनमै काठमाडौं फर्कने हो भनेकी थिएँ । म बुद्धको जन्मस्थल पनि पुगें भनी आमाले सुन्नुभयो भने कति खुसी हुनुहुन्थ्यो होला !
नेटवकसँगै फोनको बेट्रीले पनि सताएको थियो । मलाई भने कतिखेर आमालाई आफू बर्मेली तीर्थस्थलमा भएको बताउँ बताउँ लागेको थियो । हो, आमाले लुम्बिनीलाई बर्माहरूको तीर्थस्थल भन्ने गर्नुहुन्छ । सानोमा आफ्ना नेपाली साथीहरूको परिवारबाट कोही नेपाल तीर्थयात्रा गरेर आएका थिए । त्यतिबेला आमासँग ‘बर्मेलीहरूको तीर्थ कहाँ छ ?’ भनेर सोधेकी थिएँ । आमाले, “छ नि नेपालमा, भगवान् बुद्ध जन्मेको ठाउँ” भनेर भन्नु भएको थियो । त्यो उत्तर र त्योबेला आएको मेरो केटाकेटी विचारको झल्को झै आउँछ।
आफूले जाने नजाने पनि भरसक आमा मेरा प्रश्नहरूको उत्तर दिनु हुन्थ्यो । पछि आफूले स्वयम् अध्यापन गराउँदा समेत यो कुरा मेरो मनमा अमेट छाप झैं बनेर रह्यो । आज मलाई त्यही झझल्कोले झक्झकाइरहेको छ ।
हामी सरासर मायादेवी मन्दिरतिर लाग्यौं । निरीक्षण बलियो थियो । मन त अगाडिबाटै आनन्दित थियो तर जब निरीक्षण सकेर भवन परिसर पसिसकेपछि मैले यति शान्त वातावरण पाएँ कि आफ्नो श्वास लिने र निकाल्नेबाहेक मन त्यही सुन्दर वातावरणमा लीन भयो । न केही चिन्ता न कुनै उत्साह ।
मानिसको मनस्थितिमा हुने परिवर्तनको विशेष भूमिका वातावरणले निभाउँछ । केही समय पहिला यात्रामा हुँदाको मन र त्यो पावन वातावरणको मनमा धर्ती र आकाशको फरक थियो । फराकिलो भूभागले आफू नेपालको पश्चिमाञ्चल भएको बताएकै थियो । बगैँचाका सानाठूला बोट र हरियो दूबोले पनि प्रकृतिलाई शान्त बनाउन विशेष मद्दत गरेजस्ता देखिन्थे ।
भगवान् बुद्धको जन्म कथा, मायादेवी मन्दिर, बौद्धगयाबारे सिङ्गो बर्मा कण्ठश्त छ । ठूलो श्रद्धा र आस्था छ । क्यालन्डरबाट घर, मन्दिरको भित्ता भित्तामा मायादेवी मन्दिरको फोटाहरू राख्न रूचाउँछन् बर्मेली नेपालीहरू । पछिल्लो समयमा मायादेवी मन्दिर र बौद्धगयाका स्तूपहरू पनि स्थापन गरिएको छ, जो नेपालसम्म आएर दर्शन गर्न सक्दैन उनीहरूले पनि दर्शन गर्न पाऊन् भनी ।
म जुन जुन ठाउँ गएँ, हरेक ठाउँमा केही न केही भावना र संवेदना सँगै आए । र भावुक भएँ । कतिपय ठाउँमा उत्सुक भएँ । तर यहाँ आएपछि यो मनोभावना दोहोरिएन । मात्र शान्त रह्यो मन, एकदम निश्चिन्त ।
मन्दिरभित्र फोटो खिच्न मानाही रहेछ । आआफ्नो मोबाइल थन्कायौं र मन्दिरभित्र पसी माता मायादेवी र बालस्वरूप भगवान् बुद्धको दर्शन गर्यौं । अनि दक्षिणतिरको ढोकाबाट पोखरीतिर लाग्यौं । त्यहीँ नजिकको ठूलो पीपलको रूख पनि दर्शन गर्यौं । फैलिएको चउर र बीच बस्चमा ठूल्ठूला वृक्ष । कतै जापानिजहरूले धान गरिरहेथे भने कतै चाइनिजहरू क्यासट मार्फ आफ्नै भाषामा बौद्ध दर्शन सुनिरहेका थिए । त्यस्तै एउटा ठूलो समूह थियो जो बर्मेलीको थियो । त्यहाँ पनि बर्मेली भाषाबाट बौद्ध दर्शन प्रचार भइरहेको रहेछ । करिब बीस मिनेट जति हामी पनि त्यहीँ छेउको रूखमुनि धर्म वाणि सुन्यौं । आमाले बर्मेलीको तीर्थस्थल लुम्बिनी भनेको सही रहेछ जस्तो लाग्यो मलाई । त्यो केटाकेटी बेला बर्मा र नेपाल एउटै होला, तीर्थस्थल एउटै भएपछि भन्ने सोच्ने गर्थें । यो वातावरणले भने मलाई कतै आफू बर्मामै छु कि जस्तो पनि बनाएको थियो ।
नयाँ ठाउँमा हाम्रो टोलीले तत्तसम्बन्धी ठाउँको खुब चर्चा गर्थ्यो, तर यस लुम्बिनी परिसरभित्र भने म जस्तै सबै शान्त हुनुहुन्थ्यो । त्यसैले त गुपचुप हाम्रो टोली आआफ्नै सुन्दर उपवनले दिएको सुन्दर अनुभवमा लीन थियो ।
“देवताहरूका प्रिय प्रियदर्शी (अशोक) राजा राज्यकालको बीसौं वर्षमा आफैं आउनुभयो । यहाँ शाक्यमुनि बुद्धको जन्म भएकोले (बुद्ध जन्म) संकेतक शीलामा पूजा गरी यो शीला स्तम्भ तयार गर्नुभयो । यहाँ भगवानको जन्म भएकोले लुम्बिनी गाउँको बलि (कर) घटाइ आठौं भाग मात्र कायम गर्नु भयो ।”, यस लेखलाई त्यहाँ अङ्ग्रजीमा पनि कुँदिएको थियो, अशोक स्तम्भको ठीक पूर्वपट्टी ।
विश्वकै सम्पदा सूचीमा सूचीकृत लुम्बिनी । जुन धेरैको आस्था मुछिएको छ । नेपाली, बर्मेली, चाइनिज, कोरियन, जर्मन, जापान आदि धेरै ठाउँमा बौद्ध धर्मावलम्बीहरू छन् । त्यसैको प्रतीक स्वरूप त्यहाँ आआफ्ना बौद्ध अनुयायी देशहरूले बनाएका बौद्ध स्तूपहरू पनि रहेछन् ।
बर्मेलीहरू व्रत बस्नेहरूले दिउँसोको भोजनपश्चात अन्न लिँदैनन् । हामी पनि त्यही समूहमा आफ्नो भोजन गर्यौं ।
हामी त्यहाँबाट उत्तरतिर बढ्यौं । समय मिलेसम्म सबै स्तूपहरूको दर्शन गर्न चाहन्थ्यौं । शान्ति दीपको दर्शनपश्चात् सरासर चाइनिज स्तूप हुँदै जापानिज स्तूपतिर लाग्यौं । त्यहाँ केही विशेष रहेछ क्यार ! जापानिजहरूले पूजापाठ गरिरहेका थिए । एक छिन घोरियौं त्यतै । हामीले अवलोकन गरेका देशीय स्तूपमध्ये भव्य लाग्यो मलाई । समयले झकझकाउन थालेपछि अश्विनी सरले, ‘अब लागौं होला ! बाटामा पनि कार्यक्रमहरू छन् । समय छैन ।’, भन्नुभयो । त्यसपछि हामी बर्माको गोल्डन टेम्पल तिर लाग्यौं ।
मायादेवी मन्दिर नजाँदै त्यहाँ दर्शन गरिसकेका थियौं । र यादवजीको निर्देशनानुसार आफूहरू उपस्थित भएको मन्दिर सञ्चालकलाई जनाइसकेका थियौं, हाम्रो भोजनको बन्दोबस्त त्यहीँ हुने भएकाले पनि । ठिक्कै दिउँसो भएको थियो । बर्मेलीहरू व्रत बस्नेहरूले दिउँसोको भोजनपश्चात अन्न लिँदैनन् । हामी पनि त्यही समूहमा आफ्नो भोजन गर्यौं । बर्मेली स्वाद र छेउछाउमा बर्मेली बोलीले आफू नेपालमा भएको पत्याउन गाह्रो भएको थियो ।
सीमादीले भन्नुभयो, “आज साह्रै आनन्द भयो, भोजन गरेर ।”, मलाई पनि बर्मेली दाल, चामल र भाषाबाट निस्ताएको आभास त्यहाँ पुगेपछि हटेर गयो।
“अब कता जाने सर ?”, सरगमले सोधिन् ।
“पोखरा जाने, त्यहाँ नपुग्दै हामी स्याङ्जामा सानो कार्यक्रम गर्छौं ।” अश्विनी सरले भन्नुभयो ।
पोखरा भन्नेबित्तिकै फेवाताल र माछापुच्छ्रे आखाँमा नाच्न लागे । मनको उत्साह बढ्यो । आँखा चञ्चल भए । र, हामी अघि बढ्यौं ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।