माला बनाउने भन्दै

धागोसहितको तिखो सियोले मुटुमै घोच्यौ

र बन्दी बनायौ मलाई

कसैको खुशीको लागि

पीडा सहनु पनि त धर्मै हो भनेर सहिदिएँ ।

-फूलको प्रश्न

यी माथिका हरफहरू कवि कृष्ण बाउसेका हुन् । बिग्रिएको वातावरणप्रतिको कविको चासो कति रहेछ भन्ने कुरा ‘फूलको पश्न’ कविता पढे मात्र पनि पुग्छ ।

कविता पढ्दै जाँदा तिहारमा दाजुभाइको गलामा लगाइदिन सयपत्री र मखमली फूलको माला गाँस्न बसेको याद आउँछ । एकातिर दाजुभाइको आयु त्यही मखमली जस्तै लामो होस् भनेर कामना गर्ने हामी चेलीहरूले, अर्कातिर फूलको मर्ममा सियोले घोचेर धागो उन्दा हामीलाई जस्तै वनस्पतिलाईपनि दुख्छ भन्ने कुराको होसै पाएका रहेनछौं जस्तो लाग्यो ।

फूललाई सियोले घोच्दा अय्या … त उसले पनि भन्छ होला । उसको आवाज हामीले नसुने पनि, नबुझे पनि ऊ आफनै आँखा अगाडि ओइलिएर झरिमरेको त हामीले पक्कै देख्छौं तर त्यही फूलको माला एकछिन दाजुभाइको गलामा लाइदिएर उनीहरूको आयु लामो होस् कसरी भन्न सकेको होला ? के एउटाको आयु समाप्त गरेर अर्काको दिर्घायुको कामना गर्ने अधिकार छ र हामीलाई ? आयुभरी बाँच्ने आशामा डाक्टर र ‍औषधीको सहारा खोज्ने हामी मान्छे किन फूलको अधिकारको कुरा गर्दैनौं ? आवाजबिहिनहरूको आवाजलाई उठाएर बस्न योग्य धर्ती बनाउनु हामी सबैको कर्तव्य हैन र ? के फूलले चाहिं आफ्नो आयुभरी पनि बाँच्न नपाउने ? के हामी फुलेको फूलको छेउमा गएर आफ्ना माइतिहरूको दिर्घायुको कामना गर्न सक्दैनौं ? हामीलाई किन भ्याईनभ्याई, सकीनसकी पनि माला बनाउनै पर्ने हतारो हुन्छ ? आफ्नोमा नभए छिमेकीकोमा, त्यहाँ पनि नभए बजारबाट किनी माला बनाउनै पर्ने हाम्रो चलनलाई फेर्न नसक्ने हामी प्रदूषणको विरुद्धमा किन बोलिरहेका छौं, के बोलिरहेछौं, मनन गर्न जरूरी हुन्छ । एउटा ठूलो प्रश्न तेर्स्याएको छ यस कविताले – संस्कार र संस्कृतिलाई समयानुसार बदल्न सक्दैनौं हामीले ?

“हराएका छन्

तपाईंहरूले रोपेका निम, तितेपाती र मेवा

प्लास्टिकका टुक्राले छोपिएका छन्

सयपत्री घिउकुमारी र यार्चागुम्बा”

– परिवेशको जवानी

भएका वनस्पतिहरू जो औषधी र दैनिक खानामा प्रयोग हुन्थे र फाल्दा पनि सडेर बोटबिरुवालाई चाहिने पोषक तत्त्वको रूपमा पुनः प्रयोग हुन्थे, ती वनस्पति मासेर दिन प्रतिदिन घरहरू थपिनु र बिरुवाको ठाउँमा प्लास्टिक प्रयोग हुनुले बिग्रँदै गएको वातावरणप्रति चिन्तित कवि सबैलाई बिरुवा रोप्न, रोपेका बिरुवा जोगाउन र भएको जङ्गल जोगाउन आग्रह गर्छन् ।

“दुवै मेरै साथ बस्छौ

र मलाई नै डस्छौ ।”

– शोषण र आतङ्क

हुर्किएका बिरुवा मार्ने, पीरो धुवाँ छाडेर वातावरणमा आतङ्क फैलाउने मान्छेहरूलाई  सचेत रहन यी दुई लाइन नै काफ्फी छन्, ‘शोषण र आतङ्क’।

“अबदेखि उद्योगको नाउँमा पिरो धुवाँ उडाउँदिनँ म

परिवेशलाई दूषित बनाउने बाहानहरू गुडाउँदिनँ म

आन्दोलन चर्काउने बहानामा मेरो शहरको फोक्सो नै सुन्निने गरी

थोत्रा टायरको धूप लगाउँदिनँ म ।”

– विनाशविरुद्धको सङ्कल्प

विकासको नाममा धेरै धुवाँ निकाल्ने उद्योग खोलेपछि, बाटो हिंड्दा नाकै बटार्ने धुवाँ फाल्दै हुइँकिएका गाडी देखेपछि र आन्दोलनको नाममा भएका संरचना बिगार्नेगरी तोडफोड गर्ने सडकमा टायर बाल्ने जस्ता कामहरू गर्न उक्साउने मान्छेहरू देखेपछि त्यस्ता कामको विरुद्धमा लेखिएको कविता हो यो । यो कविता पढेपछि उनीहरूको घैंटामा घाम त कति लाग्ला थाहा छैन तर केही सकारात्मक सन्देश चाहिं पक्कै देला । आज हरेक मान्छेले जहाँ रहे पनि यो कविताले भने जस्तै सङ्कल्प गर्नै पर्छ ता कि पछि आउने सन्ततिहरू जन्मिंदै रोगी नजन्मिउन् र हुर्किंदा खोक्दै नहुर्किउन् ।

“म पृथ्वी हुँ, ऊ मान्छे

मलाई कराही बनाएर

आफ्नो स्वार्थको तेल तताउँदा तताउँदै

थाहै नपाई उसले

त्यही तातो तेलमा सुकुटी बनाएर तार्दै छ आफैँलाई”

– पृथ्वीको चिन्ता

यो कविता पढ्न शुरू गर्दा आङ जिरिङ्ग हुन्छ, खुट्टा लगलग काम्छन् । मैले के बिगार गरें र यति धेरै डराएँ भन्ने लाग्छ तर कविता पढिसकेपछि प्रत्यक्ष रूपमा आफूले केही नगरे पनि अप्रत्यक्ष रूपमा आफूबाट पनि केही बिगार भइरहेको आभास पाइन्छ । हामी मान्छेहरूले धन सम्पत्ति, र आरामको खोजीमा बोटबिरुवा मासेर निम्त्याएको गर्मीले हामी आफैंलाई गलाउँदै लगेको तर थाहा नपाएको कुरा कवितामा पढ्न पाइन्छ । हामी आफैंले पृथ्वीलाई बस्न अयोग्य बनाएकाले हरेक पल दूषित हावा र पानी लिएर विभिन्न नयाँनयाँ रोगहरूको शिकार हामी आफै भैइरहेको कुरा अब पनि थाहा नपाए कहिले थाहा पाउने भन्ने सन्देश दिएको छ यस कविताले ।

मान्छे पृथ्वीको सर्वश्रेष्ठ प्राणी हो, केही न केही नयाँ काम गरिरहन्छ र गरिरहनु पर्छ तर काम गर्ने बहानामा विनाश गर्नुहुँदैन । भइरहेका बिरुवा मासेपछि रोपेका नयाँ बिरुवा सर्छन् भन्ने के ग्यारेन्टी छ र ? सरीहाले पनि स्वस्थ भएर हुर्कन वर्षौं लाग्छ । जब भएका बिरुवाहरू मासिन्छन् त्यसपछि प्रकृति प्रकोपहरू बढेर बेसिजनका बाढी पहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि आदिको शिकार त हामी आफै नै हुनुपर्छ र भइरहेका छौं तर बिरुवा रोप्न पनि जाँगर देखाउँदैनौ, किन होला ? हामी आफूलाई हाम्रा बाबुबाजेभन्दा शिक्षित ठान्छौं, विकसित ठान्छौं तर अरूलाई हैन आफैंलाई हानी गर्ने कस्तो शिक्षा लिइरहेका छौं त ? सोचनीय कुरा पक्कै छ ।

तिनका गुन बिर्सिएर नाथे पतकर भन्दै

रासायनिक मलको आतङ्क भोगिरहेका बोटबिरुवालाई पतकरको महत्वको कुरा गरेका छन् कविले यस संग्रहको कविता ‘डढेलोको आतङ्क’मा ।

“छुस्स सलाई कोरेर वा फुत्त चुरोटको ठुटो आफलेर

कष्ट दिँदै जलाउँदा तिमीलाई के प्राप्त हुन्छ?

के नै छ र तिनको चाह ?

पानीका थोपासँग नाच्दानाच्दै माटोसँग जीवन साट्ने

तिनको एउटै मात्र इच्छा न बाँकी छ ।”

–डढेलोको आतङ्क

तिनै पतकर गलेर मलिलो माटो बन्ने हुनाले बिरुवालाई चाहिने पोषक तत्त्व उत्पादन गर्ने पतकरमा छुस्स सलाई कोर्दा अथवा कुठाउँमा ननिभेको चुरोटको ठूटो फाल्दा पतकरमा सल्किएर फैलिएको डढेलो आफ्नै घरसम्म आइपुग्दा पनि गल्ती स्वीकार गर्न नसक्ने मान्छेको नियतप्रति यो कवितामार्फत तिखो व्यङ्ग्य गरेका छन् कविले ।

“तापले सीमा नाघेपछि, हिमाल छोडेर हिउँ भागपछि

कालो धुवाँले आकाश ढाकेपछि, जमीनलाई समुद्रले च्यापेपछि

मित्र ! ताप शत्रु भयो, धरती पत्रु भयो ।”- डाईनोसारको भजन

दिनदिनै बढिरहेको गर्मी, बेमौसमको हुरी, झरी खप्न चाहिं हामी नसक्ने तर यसो हुनबाट वातावरण बिगार्न चाहिं सक्ने मान्छेहरूलाई सचेत गराउँदै कविले मौसम परिवर्तनका कारक हामी आफैं भएकाले हामीले बदलिँदो जलवायुप्रति ध्यान दिन जरूरी छ । एकछिन गम्भीर भएर सोचौं त सेतो हिमालमाथि कालो पत्थर मात्र बाँकी देखियो भने हाम्रो रक्तसञ्चार गराउने पानी हामीले कहाँबाट ल्याउँछौं ?

त्यसै गरी छलकपट तथा खुट्टा तानातान र हानाहानले मन भरिएका मान्छेहरूको झुन्डबाट भागेर सहयोगी मन भएको मान्छे भएर बाँच्न पाए हुन्थ्यो नि ! भन्ने रहस्यात्मक इच्छालाई कविले ‘रूख भएर बाच्न पाए !’ शीर्षकमा यसरी लेख्छन् “ढुङ्गै भए पनि गुडिंदा गुडिंदै

बटुवाका सुस्केरासँगै टक्क अडिएर

थपक्क एउटा चौतारी बन्न पाए !”

अर्को कविता ‘म त सधैं पात बनें’ शीर्षकका केही हरफ हेरौं  –

“बाठाहरू काँडा बने, लाटा बने फूल

म त सधैं पात बने,

यही भयो भूल, यही भयो शूल ।

उनिएर माला बन्छ लाटो बनेको

दुःख दिने चिजै त हो काँडा भनेको

आफूलाई त पाएसम्म घाँसै बनाउने

झरेपछि नियति नै सडी गनाउने ।”

कविताले पातको मर्मसम्म पुगेर बोलेको छ । भर्खर रोपेको बिरुवाले नयाँ पात हाल्यो भने आहा ! अब मेरो बिरुवा सर्‍यो, मैले लगाएको बाली सर्‍यो भनेर खुशी हुने हामी मान्छेले ती बिरुवा ठूला भएपछि तिनीहरूमाथि गर्ने हर्कतको कुरा गरेका छन् कविले । बोटलाई फूल, काँडा र पात सबै कुराको आफ्नै महत्त्व लाग्छ तर मान्छेले सबैभन्दा धेरै निमोठ्ने भनेको पात हो । बिरुवाले आफ्नो खाना हरितकण त्यही पातबाट बनाउने भएकोले बिरुवाका कलिला पातहरू काट्न नहुने, छाँट्न नहुने कुराको दुखलाग्दो वर्णन कविले यस कवितामा गरेका छन् ।

“कतै उकालो चढेर चुली टेक्न कसिन्छ

कतै खोँच झरेर खहरेसँग मस्किन्छ

कतै बेँसी, उपत्यका र समथरमा

फैलिन्छ भिजाउँदै खेतबारीका गह्रा ।

उ हो

उडिरहेको हावा, बर्सिरहेको पानी र टल्किरहेको घाम !”

– सामूहिक चिहानको त्रास

हावा, पानी र घाम-  यी तिन चीजको एउटा नाम हो प्रकृति जो हरेक प्राणी र वनस्पतिमा पसेर, बसेर हामीलाई निरन्तर केही गराइरहेछन् । मान्छेले केही राम्रो काम गर्नु भनेकै प्रकृतिले साथ दिनु हो । त्यो साथ पाउन मेहनत गर्नु हो तर प्रकृतिले सितैमा दिएका यी बहुमूल्य बस्तुको किन हामी सदुपयोग गर्न सकेका छैनौं र नसोचेको माहामारी खेपिरहेका छौं ? हिमालमा हिउँ जमेन भने हाम्रो शरीरलाई हरहमेसा चाहिने पानी कहाँबाट आउला ? एक निमेष हावा नचले के होला ? र हप्तादिन मात्र घाम नलागे के होला ? सोचनीय कुराहरू आफ्नो कविता मार्फत भनिरहेछन् कवि ।

“कुनै दिन हावाहुरीपछिको कुनै बिहानीमा

रूखसँग सोधेथें-

झरेछन् तिम्रा पातहरू, अब के गर्छौ ?”

– पर्याप्रेमको गुञ्जन

सङ्ग्रहभित्र पस्नुअघि नाम ‘पर्याप्रेमको गुञ्जन’ राखिएको किन होला भनी सोचेको थिएँ । कविता पढिसकेपछि यसको अर्थ थाहा पाएँ । हुरीबतासले नङ्ग्याई दिएपछि चिन्तित रूखलाई कोही मार्फत सोधेका प्रश्नहरूको लाम हो यो कविता । ऊ पनि किन हार्थ्यो होला र हावाहुरीसँग सितिमिति, फेरि पालुवा हाल्ला र आफ्नो नाङ्गिएको आङ छोप्ला तर हुरीले लछारपछार पारेको आफ्नो शरीर तङ्ग्रिन कति समय लाग्छ उसलाई पनि थाहा छैन । यो रूखलाई भन्दा पनि मान्छेलाई सोधेको प्रश्न हो । आफ्नै आँखा अगाडि हुरीबतासले ढालेर मरेका रूखहरू देखेपछि हतारहतार मान्छे आरा बोकेर त्यो रूख चिर्न जाला, उसले धेरै पैसा कमाउने सपना देख्ला तर बिस्तारै वातावरण फरक हुन थालेपछि के मान्छे त्यति बेला मलाई त केही भएको छैन भनेर बस्न सक्ला ? त्यो कमाएको धन दौलतले पहिलाको स्वच्छ हावापानी किन्न सक्ला ? भन्ने गम्भीर प्रश्न कविले हामी सबैलाई गरेका छन् ।

‘पर्याप्रेमको गुञ्जन’ संग्रहका सबै कविताले हाम्रो वरिपरिको वातावरणलाई जोगाउन अनुरोध गरेका छन् । कविताहरूले सबैभन्दा ठूलो धन भनेको स्वस्थ जीवन हो, जुन हामीलाई मात्र नभएर सन्तान दर सन्तानलाई चाहिने सम्पत्ति हो भन्ने सन्देश दिन्छन् । सङ्ग्रहभित्रका हरेक कविताले बेमौसमको प्राकृतिक प्रकोपले आक्रान्त पृथ्वी हामी मान्छेले नै बस्न अयोग्य बनाएको कुराका दशी प्रमाणहरू निस्किरहेको बेला पनि हामी सचेत भएनौं भने हामीले आफूलाई स्वास्थ्य राख्ने कल्पना मात्र पनि गर्न सक्दैनौं भनेका छन् ।

भएका बोटबिरुवा जोगाऔं, एउटा रूख काट्दा कति अक्सिजन नाश हुन्छ त्यो क्षतिपूर्ति गर्न नयाँ बिरुवा रोपौं । विज्ञानले भन्छ- बिरुवाले आफूलाई चाहिने खानाको निर्माणमा घाम र हामीले फालेको कार्बनडाइ अक्साइड लिन्छ र अक्सिजन छोड्छ, जुन अक्सिजन हामीले लिइरहेको हावा हो । जति बढी बिरुवाहरू भए त्यति धेरै कार्बन लिन्छन् र अक्सिजन छोड्छन्  तर अहिले संसारमा त्यसको विपरीत भएको छ । जनसंख्या बढ्नु र वनजङ्गल मासिंदै जानुले वातावरण असन्तुलित भइरहेको छ र विभिन्न खाले विनाशको शिकार हामी मान्छे आफैं भैरहेका कुरा कविले आफ्ना कवितामार्फत भनेका छन् ।

प्रकृतिको संरक्षण गर्नुपर्छ भन्नुको मतलब विकास नगर्नु भन्ने होइन । हामी ढुङ्गे युगमा फर्कनुपर्छ भन्ने पनि होइन तर हरेक नयाँ कुराको निर्माण गर्दा भइरहेको वातावरण र संरचना जोगाउन पनि उत्तिकै लागिपर्नु पर्छ भन्ने सन्देश यी कविताहरूले दिएका छन् ।

कविकै भाषामा भन्दा बढ्दो, शहरीकरण, वन विनाश, धुवाँ र धुलोको साम्राज्यले हाम्रो जनजीवनमा पारेको प्रभावलाई न्यूनीकरण गर्न लेखिएका कविताहरूलाई पर्याकविता (Ecopoetry) भनिएको हो र यस सङ्ग्रह भित्रका सबै कविताले स्वच्छ वातावरणकै कुरा गरेका छन् । ५२ वटा कविता भएको यस सङ्ग्रहमा ‘फूलको प्रश्न’ बाट समस्या देखाएर ‘हरियाली संसारको पुननिर्माणमा’ जोड दिनुपर्ने कुरा कवितामा लेखेर टुङ्गिएको छ ।

‘पर्याप्रेमको गुञ्जन’ पढेपछि हरेक मान्छे आफ्नो वरिपरिको वातावरण जोगाउन सकारात्मक हुन्छ भन्ने विश्वास मैले लिएकी छु । पाठकको भित्री आँखा खुलाउने यी कविताहरूले सबैलाई एकपल्ट आफ्नो वरिपरिको वनजङ्गल र खोलानालामा पुर्‍याउने भएकाले सबैलाई एकपटक यो पुस्तक पढ्न म आग्रह गर्छु ।

आदरणीय साहित्यकार कृष्ण बाउसेलाई हार्दिक बधाई दिंदै वहाँबाट यस्ता खाले लेख रचना आइरहुन् भन्ने कामना पनि गर्दछु ।

अमेरिका