प्रबुद्ध पाठकवर्गहरुलाई पहिले नै जानकारी गराउन चाहन्छु कि पंक्तिकार अंग्रेजी भाषाको जानकार होइन । त्यसैकारण फरर्र अंग्रेजी बोल्ने र सरर लेख्ने मान्छे पंक्तिकारलाई सबैभन्दा बौद्धिक र जानकार लाग्छ ।
सरकारी स्कुलमा पढ्ने म जस्तो साधारण व्यक्तिको परिवार र साथीहरुसँग पनि अंग्रेजीमा बोल्ने कुरा आएन, किनभने उनीहरु पनि मजस्तै उक्त भाषामा कमजोर वा अनभिज्ञ नै हुने भए । यति हुँदाहुँदै पनि उनीहरुको दृष्टिमा म अंग्रेजी भाषामा पोख्त थिएँ, जो शतप्रतिशत गलत थियो ।
तर पनि म तिमीहरुजस्तै हो भनेर कहिले पनि भन्ने गरिनँ। बिना कुनै प्रयासमै अंग्रेजीमा पोख्त भएको पदवी पाउनु पनि मेरो लागि ठूलै कुरा हो। सायद आफूलाई अंग्रेजी भाषाको जानकार देखाउन मैले गरेको पाखण्डले उनीहरु झुक्किएका हुन सक्छन्।
यस्तै पाखण्डहरुमध्ये अरुले हिन्दी वा नेपाली गीतको क्यासेट किने पनि म भने साथीभाइका अगाडि फुर्ती देखाउन अंग्रेजी गीतको क्यासेट किन्थेँ । केही बढी मूल्य तिरेर । क्यासेटभित्र रहेको गीतको शब्द (लिरिक्स) रातभर रिठ्ठो नबिराई कण्ठ पारेर भोलि उनीहरुको अगाडि गाउँदा मेरो मान र शान धरहरा भन्दा अग्लो हुन्थ्यो । स्वयं गीत गाउनेलाई पनि थाहा नभएका शब्दहरु सुनेर उनीहरु पनि ‘इन्ज्वाई’ गर्थे वा बुझेकोजस्तो अभिनय गर्थे । त्यो उनीहरु नै जानून् तर मलाई त्यो गीतको कुनै शब्दको अर्थ ज्ञान भएन । तर समाजको अगाडि लौ यसले पनि अंग्रेजी गीत गाउँदो रहेछ भन्ने खोक्रो छाप छोड्न सफल भइयो ।
त्यस्तै भुटिभाङ्ग नबुझे पनि मलाई सिनेमा अंग्रेजी मात्र हेर्नु पर्थ्यो साथीहरुको अगाडि । त्यस बेला काठमाडौँको सिनेमा हलहरुमा फाट्टफुट्ट मात्र अंग्रेजी सिनेमा लाग्थ्यो । जब अंग्रेजी सिनेमा लाग्थ्यो, म सिनेमा हल पुग्थेँ र सिनेमा हेरेर फर्कन्थेँ। साथीहरुले विश्वास नगर्ने डरले टिकटको अधकट्टी पनि साथमै लिएर उनीहरुको अगाडि जान्थेँ र सिनेमाको कथा भन्थेँ । त्यो कथा मेरो आफ्नै अर्थात् पूर्ण रुपमा काल्पनिक हुन्थ्यो किनकि सिनेमाको कथा मैले बुझेकै हुन्नथेँ । एक दुई जना नायक र नायिकाको नाम मैले कण्ठ पारेको थिएँ, जब कसैले को कलाकार भनेर नाम सोध्थे, म उनीहरुको नाम भनिदिन्थे, सायद त्यी कलाकार त्यो सिनेमा मा हुन्थे वा हुन्थेनन्, पंक्तिकारलाई जानकारी भएन। तर अंग्रेजी सिनेमाको पारखी रहेछ भन्ने नाम पाइयो, त्यो नै खुशीको कुरा थियो ।
त्यस्तै गोरखापत्र पचास पैसामा पाइने समयमा म बाङ्गेमुढास्थित सन्देश गृहमा गएर २५ रुपियाँमा न्युजविक, टाइम, एसिया विकजस्ता अंग्रेजी पत्रिका किन्थेँ । पढ्न र बुझ्न नजाने पनि त्यो पत्रिकालाई बेरेर हातमा लिएर हिँड्थेँ । चिप्लो कागजमा रङ्गीन छापिएको त्यस्तो पत्रिका देखेर सबै मलाई कुनै अर्कै ग्रहको प्राणीजस्तो व्यवहार गर्थे । यद्यपि त्यी पत्रिकाभित्र प्रकाशित समाचार वा विचारको छेउटुप्पो मैले कहिले बुझिनँ । यसै पनि बुझ्नका लागि पहिले पढ्न जान्नु पर्यो, त्यो क्षमता मसँग थिएन । मलाई केवल ढोङ गर्नु थियो गरियो र अरुको आँखामा छारो हाल्न सफल भइयो ।
सायद मैले अंग्रेजी फरर कहिले पनि बोल्न र बुझ्न सक्ने छैन । त्यो विषयमा मैले एक किसिमले ‘गिभ अप’ नै गरिसकेको छु तर पनि आफूलाई जानकारी भएको अंग्रेजीको दुई चार शब्द मिले पनि नमिले पनि बेलाबेलामा बोलेर अंग्रेजी भाषा बोल्ने रहर पूरा गर्दछु । बढो मुस्किलले अंग्रेजीमा आफ्नो नाम र ठेगानासम्म लेख्न सक्ने पंक्तिकारलाई अंग्रेजी भाषाले नै श्राप देला कि भन्ने मात्र डर छ । हे भगवान्, यस्तो नहोस् !
मलाई एउटै कुरामा सधैँ डर लाग्छ कि मलाई अंग्रेजी बोल्न वा लेख्न नआउने कुरा मेरा साथीभाइ वा आफन्तहरुलाई थाहा नहोस् अर्थात हालसम्म मैले खनेको झुटको खाडल एकाएक नफुटोस् । यस्तो भयो भने मैले आजसम्म पाएको अंग्रेजी भाषाको ज्ञाता (?) को पगरी एकाएक फुस्किने छ र म कसैको अगाडि मुख देखाउन लायक हुने छैन ।
(एक दशकदेखि अमेरिका बसाेबास गरिरहेका रायमाझी नेपालमा रहँदा चलेका पत्रिकाहरूमा पत्रकारिता गर्थे । उनका व्यड्ग्यात्मक लेख रूचिकर हुन्छन् ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।