पुस्तकै पुस्तकको दराज ! पुस्तकै पुस्तकको टेबुल ! पुस्तकै पुस्तकको कार्पेट/सोफा–भुइँ, कोठा–घर … ! पहिलो पल्ट मैले यति धेरै पुस्तक देखेको थिएँ, कि मानौं ठूलो चौरमा जम्मा भएका हजारौं मान्छेको जुलुस निस्किनु भन्दा पहिलेको त्यो अस्तव्यस्त भीड हो ।
यो कुरा पहिलो पटक प्रकाशन गृह पुग्दा बखतको !
केही स्थापित लेखकहरूसँग थिएँ म । जहाँ शब्द–समुद्र किनारमा उभिएर त्यो मानिस पानीको छाललाई स्पर्श गर्न खोजिरहेको एउटा अपरिचित र एकान्त, एक्लै थियो ।
अब शुरू हुन्छ परिचयको आदान–प्रदान । तर एउटा मानिसको अपरिचित परिचय, परिचित मानिससँग परिचय विनै परिचय नभई परिचयको त्यहीं अन्त्य हुन्छ । बिल्कुल कृत्रिम मुस्कान जस्तो एकदम से महत्ताहीन । त्यसकारण बारम्बारको औपचारिकताबाट बारम्बार त्यो मानिस कतै भाग्न खोजिरहेको थियो । त्यसरी भाग्न खोज्ने अरू कोही नभई म एउटा अपरिचित मान्छे नै थिएँ । त्यसकारण अब म कतै एकछिनलाई हराउन चाहन्थें, हराइदिएँ त्यतै सुलुत्त किताबहरूको जुलुसभित्र ।
खासमा मेरो त्यो हीनताबोधको बहाना थियो, र त्यसरी हराइदिंदा मलाई एक किसिमको आनन्दै लाग्यो । अब चोर आँखाहरू चोरले झैं घरभित्र कहाँ–कहाँ खजाना छन् त ? हतार हतार आँखाकै टर्च बालेर खोज्न थाल्छ ।
यत्तिकैमा, झट्ट एउटा अनौठो चित्रमाथि टक्क आँखा रोकिन्छ । त्यो चित्रको बुनोट अहिले पनि सम्झना छ मलाई –– सादा मोनोटोनमा कोरिएको कस्तो अनौठो–अनौठो हाँगाविनाको रूख जस्तो । रूखको जरा जस्तो । अथवा एकखालको जीवजस्तो । अमिबा जस्तो, जस्तो एउटा अजिब कला देखेर एकछिन म साँच्चै घोरिएँ, सम्मोहनले नभएर आश्चर्यले । कौतुहलताले । प्रश्नै प्रश्नहरूले । अहो ! चित्रले के भन्न खोजिरहेको होला ?
यस्तो पनि चित्र हुँदोरहेछ …?
खासमा त्यो कभर चित्र रहेछ, चंकी श्रेष्ठको गजलसंग्रह ‘फूलविनाको शाखा’ कृतिको । एकदम पकेटबूक । त्यसपछि
मस्तिष्कको आकाशमा केही दिन म कौतुहलता र कल्पनाको बादल भएर उडिरहन्छु ।
यसरी पहिलो पटक २०६० सालमा, विवेक सिर्जनशील प्रकाशन गृहमा, रमेश श्रेष्ठ दाइको नामलाई मैले अर्थपूर्ण
रूपमा चिनें ।
दाइको कुरा गरिरहँदा यतिबेला म कसैको एउटा सर्वप्रचलित भनाइ ‘पहिलो प्रभाव नै अन्तिम प्रभाव’ भन्ने वाक्यांश सम्झिरहेको छु । यसरी त्यो अनौठो चित्रको आकर्षकले मभित्र दाइको प्रभाव उस बेलादेखि शुरू भएको रहेछ । जति बेला म पचासको दशकदेखि साठी सालको आसपास काठमाडौंमा बस्थें । काम गर्थें । कलेज पढ्थें । हल्का साहित्य र पत्रपत्रिका पढ्ने बानी पनि थियो मेरो । आक्कल झुक्कल राष्ट्रिय दैनिक, साहित्यिक पत्रिकाहरूमा ‘रमेश श्रेष्ठ’ कै नाउका कविताहरू देख्थेँ । कतै किताबका बूक कभरहरूमा, कतै किताबहरूमा वहाँको नाउ देख्दा मलाई खुल्दुली लाग्थ्यो –
कलासाहित्यमा कतिवटा रमेश श्रेष्ठ नामहरू छन् हँ ?
झण्डै दुई दशक पहिले रमेश दाइको नाम सुनेको मैले । सिर्फ सुनेको नाम । मात्रै सुनेको । नदेखेको । त्यसो त अहिलेसम्म पनि दाइसित नभेटेको । दाइ मात्रै नभएर धेरै स्रष्टा–सर्जकहरूसँग भेट भएको छैन, जो नभेटेरै ‘खास’ छन् । मेरा निम्ति रमेश दाइ खासमध्येको खास अझै यसकारण बहुआयामिक हुनुहुन्छ ।
यहाँ एउटा मानिस निखारिएको सिद्दहस्त कवि बन्नसक्छ । एउटा मानिस निखारिएको सिद्धहस्त चित्रकार बन्नसक्छ । एउटा मानिस निखारिएको सिद्धहस्त मूर्तिकार बन्नसक्छ । संगीतकार बन्नसक्छ । कलाकार बन्नसक्छ । गायककार बन्नसक्छ । सिद्धहस्त हुँदैजाँदा एकदिन एउटा मानिस प्रख्यात बन्नसक्छ । सुबिख्यात बन्नसक्छ । तर एउटा मानिस यो भन्दा महत्त्वपूर्ण यदि बहुआयामिक बन्नसक्छ भने त्यो उसको असाधारण क्षमता मलाई अद्भुत लाग्छ ।
रमेश दाइलाई त्यसैले म मेरो ‘आइडल’ भनेको छु । कविता सिर्जनामा श्रद्धेय कवि ईश्वर वल्लभले ‘बिम्बकवि’को ताज दिनुभएको नामलाई स्थापित गर्दै, राष्ट्रकवि माधवप्रसाद घिमिरेले आधुनिक कविताका बिम्बकवि भन्ने आशीर्वचनलाई सजाउँदै आज त्यही बिम्बकवि उपनामले प्रसिद्धि पाउनुभएका दाइका कविताहरूको बारेमा चिरफार गर्ने, बोल्नसक्ने ल्याकत म’मा छैन, त्यो दुस्साहस गर्दिनँ पनि म ।
यद्यपि, मलाई यति कुरा भन्नलाई पक्कै सकस हुनेछैन, जस्तो बिम्ब सिर्जनाको कुरामा, ती स्रष्टाहरूले बिम्बको उत्खनन गर्न सक्छन्, ती स्रष्टाहरूले बिम्बको ताकत बुझ्नसक्छन्, ती स्रष्टाहरूले अर्ग्यानिक बिम्ब खोज्न सक्छन् जो छन् आफैमा निपूर्ण कलाकार । शब्दका कलाकार । सिर्जनाका कलाकार । रमेश श्रेष्ठ त्यसै पनि कलाकार । यसै पनि कलाकार । जसका शब्दशब्दमा चित्रहरू देखिन्छन् । चित्रचित्रमा कविताहरू भेटिन्छन् । एकदम अर्ग्यानिक !

रमेश श्रेष्ठ
नेपालमा केही बहुआयामिक व्यक्तित्वहरू जसले आफ्नो जीवनकालमा एकदम उच्च कोटीको विशिष्टता हासिल गर्नुभएको छ र यो देशलाई अमूल्य देन दिनुभएको छ । जस्तो बालकृष्ण सम ! जस्तो लैनसिंह बाङदेल ! जस्तो मनुजबाबु मित्र ! वहाँहरू चित्रमा पनि, साहित्यमा पनि विख्यात हुनुभयो । बहुआयामकै कुरा गर्दा, दार्जीलिङका एकजना अजय थापा छन् –– हरेक विधामा उत्तिकै पोख्त । उस्तै निपूर्ण । उनका चेला छन् उतै दार्जीलिङका अमीर सुन्दास । उनले पनि आफ्नै गुरुको बाटो पछ्याइरहे झैं बेलाबेला झल्को दिन्छन् । तर कलासाहित्यको कसीमा चर्चामा नआएका, आउन नसकेका कोही अस्ताए होलान् ! कोही कसैलाई हामीले थाहा पाउन सकेनौं !
समग्रमा कमबेसी धेरै होलान् , तर क्रीकेटका कपिलदेव जस्ता, गैरी सोबर्सजस्ता महान आलराउण्डारहरू कमै भेटिन्छन् । जस्तो दुर्लभ हुन्छ मणि । कुरा गर्दैजाँदा, प्रसङ्गले क्रीकेटको कुरा ल्यायो, मलाई हालका पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सम्झना आयो । जो विश्वकप बिजेता कप्तान, कालान्तरमा पाकिस्तानको प्रधानमन्त्री समेत बन्न सफल भएका छन् । अमेरिकाका भूतपूर्व राष्ट्रपति सर जोशु रेनोल्ड अवकाशपछि नामूद पेंटर बनेका छन् ।
हाम्रै देशको एउटा उदाहरण विश्वेश्वरप्रसाद कोइराला । यसरी बहुआयाम कला साहित्यमा मात्रै नभएर राजनीतिज्ञसँग पनि फैलिएको देखिन्छ । र, हर क्षेत्रमा लागु हुन्छ नै ! फरक त्यो सिर्फ ! दुर्लभ मानिसहरूले मात्रै सिद्ध गर्न सक्छन् । त्यसो त आजको नेपालमा केही नामी कला समीक्षकहरू पनि छन् जो चित्रमा प्रसिद्धि पाएका छन् । समीक्षा गर्नु उनीहरूको पेशागत धर्म हो । जस्तो वकिलले गर्छ काम । म त्यसलाई सिर्जनाको पाटो नभएर सिद्धान्तको अध्ययन र कलाको नाप तौलको जोड घटाउ भन्छु ।
भारतका नोबेल पुरस्कार विजेता कवि रविन्द्रनाथ टैगोर जति साहित्यमा विख्यात थिए, चित्रकलामा पनि उत्तिकै विख्यात थिए । खलिल जिब्रान विश्वविख्यात कवि त थिए नै चित्रकलामा समेत उत्तिकै विश्वविख्यात थिए । जसरी उनले कवितामा कल्पनाशीलताको प्रयोग गर्दै जादुमयी शब्द लहरीले पाठकहरूलाई मन्त्रमुग्ध बनाउँथे । आफ्ना चित्र सिर्जनामा पनि अर्धमूर्त शैलीमा अत्यधिक कल्पनाशीलताको प्रयोग गर्थे । उनको यही प्रयुक्त शैलीले दर्शकहरूलाई एकखालको मन्त्रमुग्ध बनाउँथ्यो । सोचमग्न बनाइरहन्थ्यो ।
टैगोर झैं साहित्यका अर्का नोबेल पुरस्कार बिजेता स्विट्जरल्याण्डका हर्मन हेसे चित्रमा पनि उस्तै विख्यात थिए । भनिन्छ, उनले प्रथम विश्वयुद्धको आघात र आफ्नो विवाह असफल भएपछि चित्र बनाउन थाले । उनले विशेषगरी पानीरङ मार्फत् दृश्यचित्रहरू बनाउँथे । प्रकारान्तरमा उनी कला–साहित्य दुवै विधामा उत्तिकै निपूर्ण भए । त्यस्तै अझै अर्का नोबेल पुरस्कार बिजेता गन्टर घोस जो अत्यन्त बहुमुखी सम्पन्न व्यक्तित्व थिए जो साहित्य इतर चित्रकला, मूर्तिकला र ग्राफिक्समा निकै ठूलो प्रसिद्धि पाएका थिए ।
यसरी विश्वमा त्यस्ता नगण्य मानिसहरू पनि थिए/छन् । जो आफूलाई हर दृष्टिकोणबाट, हर एंगलबाट बहुआयाम
सिद्ध गरेका छन् । प्रमाणित गरेका छन् ।
त्यस्तै मलाई यो लाग्छ, रमेश दाइले जुन विधा समात्नु भएको छ, हर एंगलबाट, हर दृष्टिकोणबाट उच्च कोटीको बहुआयामिक स्रष्टा मान्न सकिने आधारहरू बनाउनु भएको छ । आफ्नू समकालीन कविहरूले बनाएको कविताको पहरै पहरा भत्काएर, त्यही पहराको बाटोमा छुट्टै बिम्ब सिर्जनाको मौलिक बाटो निर्माण गरेर उक्लिरहनु भएको कुरा गरूँ ! या, चित्र सिर्जनामा गामबेंसीको सुगन्ध, पाखा पखेरा, हरिया–फरिया डाँडाकाँडाहरूलाई रंग र ब्रसको शक्तिशाली अस्त्रद्वारा एउटा युगलाई नै क्यानभासमा पोतिरहेको एक अथक चित्रकर्मीको कुरा गरूँ ! या, म कुरा गरूँ अर्धमूर्त शैली मार्फत् देशको चित्र बोकिरहेको । हर विधा अन्तर्गत हर सिर्जना उत्तिकै अर्थपूर्ण, उत्तिकै गहनबोधी यो नेपाली कला साहित्यले पाएको ठूलो उपलब्धि हो भन्ने लाग्छ मलाई ।
त्यसो त यो पनि यथार्थ हो, हाम्रो साहित्य बजारमा रहरे कविहरू वर्षमा हजार आउँछन् । रहर लाग्दा कविहरू वर्षमा एक दुई आउँछन् । रहर लाग्दा कविहरूलाई रहरे कविहरूको तडक भडक, सस्तो प्रचारबाजी र चर्चाको मिथ्या भ्रमले ‘ओभरटेक’ गरिरहेको विसङ्गति देखेर शायद केही वर्ष पहिले एकजना समीक्षकले एउटा घतलाग्दो यस्तै कसो शब्दमा व्यंग्य गरे –– ‘असन बजारको छतमा बसेर छर्रा हान्ने हो भने, तल बाटोको भीडमा हिंडिरहेका कोही न कोही कवि/गजलकारहरूलाई अवश्य छर्रा लाग्नेछ ।’ झट्ट सुन्दा यो भनाइ ठट्यौली लाग्न सक्छ, तर उनको यो शब्द अहिलेको नेपाली साहित्य कता जाँदैछ त ? कता मोडिइरहेको छ ? भन्ने एउटा गम्भीर चिन्तन र चिन्ताबाट उत्पन्न भएको बिस्फोटक भने पक्कै हो । त्यसो हुनाले सस्तो साहित्यलाई जतिसुकै प्रचारबाजीको लेपन लगाए पनि सिर्जनाको मूलतत्व कत्तिको जीवनमुखी छ, कत्तिको दर्शनमुखी छ, कत्तिको कलामुखी छ त्यही नै अन्त्यमा छानिंदै छानिंदै जाने न हो ।
त्यस मानेमा, रमेश श्रेष्ठका सिर्जनाहरू कत्तिको युगान्तकारी, जीवनवोधी, नवीन चिन्तनयुक्त प्रभावकारी, समाजपयोगी एवम् ग्रहणीय छन् त ? एकदिन समीक्षकहरूलाई पक्कै चर्चायोग्य विषय रहने नै छ भन्ने मेरो ठहर छ ।
यति कुरा गरिसकेपछि, अन्त्यमा दाइको एउटा महत्त्वपूर्ण कुरा छुटाउनु हुन्न भन्ने लाग्छ । त्यो हो ‘टिकटमा एकल कविता वाचन’को शुरूवातकर्ता । आजका अक्सर कविहरू रंगमञ्चका कलाकारहरू झैं स्टेज पर्फर्मर छन् । यो असाध्यै सुन्दर पक्ष पनि हो कि पाठक श्रोताहरूले शब्दबाट बुझ्न नसकेको शब्दको रहस्यमय अर्थ कविको हाउभाउ, वाचनशैली र अभिनय युक्त प्रस्तुतिबाट सहजै ग्रहण गर्न सक्छन् भने अर्का सुन्दर पक्ष कविहरू पनि लाभान्वित हुन्छन् ।
यसरी टिकटमा कविता सुनाएर कैयौं कवि सेलिब्रेटी मात्रै नभएर आर्थिक रूपमा समेत मजबूत भइरहेको हामीले देख्छौं, जसको शुरूवात रमेश श्रेष्ठले गर्नुभयो । यो आफैमा साहित्यको इतिहासले नबिर्सने एउटा अत्यन्तै महत्वपूर्ण कामको सृष्टि हो भन्न सकिन्छ । कविताको इतिहासमा एउटा नौलो प्रयोग गर्नु पनि स्रष्टाको निजत्व हो । सम्पत्ति हो । यसरी शब्दको रंग संयोजन र रंग मार्फत् शब्द संयोजन गर्दै विचार गहिरो समुद्रमा हराइ रहने रमेशहरू यो देशमा गोपालप्रसाद रिमालको कवितामा भने झैँ बस् ! एक जुगमा एकपल्ट आउँछन् ।
प्रस्तुत छ वहाँको एउटा शक्तिशाली कविता :
उत्कण्ठा बिम्ब
बिहानीले सोध्यो कविलाई
किन कविता कोरिएन ?
कविले भन्यो
अक्षरको खेत
बेइमानी कहाँ बन्धकी परेको छ ।
बतासले सोध्यो सङ्गीतकारलाई
किन धुनहरू जन्मिएनन् ?
सङ्गीतकारले भन्यो
सरगमको मूल
मनको पहिरोले पुरिएको छ ।
चराहरूले सोधे गायकलाई
किन गीतहरू गुन्जिएनन् ?
गायकले भन्यो
गलाको नदी
भोकको दाम्लोले बाँधिएको छ ।
आकाशले सोध्यो चित्रकारलाई
किन क्यानभासहरू ब्युँझिएनन् ?
चित्रकारले भन्यो
सृजनाको आँखा
रातको इनारमा खसेको छ ।
कतै बन्धकी परेर
कतै पहिराले पुरिएर
कतै दाम्लाले बाँधिएर
म उज्यालो खसाल्छु इनारमा,
जरादेखि नै उखेलेर रातलाई
मलाई बिहानीको रातोरातो
रगत ताप्ने इच्छा छ
मलाई हत्केलाको पौरखमा
झन्डाको उचाइ नाप्ने इच्छा छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ माघ २०८२, बिहीबार 









