कमलो त्यो मनले कति मनलाई साथ दियो होला
जिन्दगीदेखि बिरक्तिएर भागेकाहरूलाई
कलिला ती हातपाउहरूको बाध्यता देखेर मुटुमा ठेस पुग्यो होला
सबैलाई आफ्नै ठानेर बढेका ती पाइलाहरू
तिमीभन्दा पहिले तिम्रो इच्छाशक्ति पुग्यो होला
शैसवकालदेखि नियतिको पैँठेजोरी खेल्दै
अनि त्यो कलिलो निर्दोष बाल्यकाल कसरी बित्यो होला
त्यो त तिमीलाई मात्र थाहा छ
मान्छेहरूको बीचमा पनि आफ्नाहरू नभेट्नु
सायद पुरै कहरको पहाडले आफुलाई थिच्दो हो !
र पनि अलिकति पनि नडग्मगाई पाइलाहरू चालिरह्यौ
जिन्दगीलाई माया त तिमीले गर्न जानेका छौ
फेरि पनि दुनियाँलाई सोध्छौ, तिम्रो माया कति लाग्छ भनेर !
तिमीले कोर्ने ती वजनदार लेखाइहरूमा
कल्कलाउदा , संघर्षमय, सजीव जीवन भेटिन्छ
कष्टको भुङ्ग्रोमा डढेर आफूभित्रको चमक निकाल्न सक्यौ
ढुंगाजस्तो कठोर समय पनि पगालिदियौ
हो त्यतिबेला नै हो तिमीप्रति अथाह माया जाग्ने
अनि असिम प्रेम झल्किने
अनायासै नयनबाट छछल्किन्छन् खुसीहरू
सामाजिकताभित्र रुमल्दा , गरिबीभित्र गुज्रिरहँदा
तिमीले त्यहा तिम्रो धरातल कहिल्यै बिर्सन सकेनौ
र त तिमी फैलिन चाहन्छौ आशाको किरण बनेर ती पथहरूमा
जहाँ तिमीले बलिन्द्र आँसुका धाराहरू बगाएका थियौ
कलिला हातहरूले अजङ्गो जिम्मेवारी वहन गरेका थियौ
हो त्यही निश्चल बालापनको कसम
त्यति बेलालाग्छ तिम्रो अपार अनि अमित माया !
आफ्नाहरू गुमाउनुको पीडा अनि मर्म
सायद अरुले त्यति महशुस गरेनन होला
त्यही आलो सम्झना मनमा राखी हाँस्ने तिम्रो त्यो हँसिलो अनुहार हेर्दा
मुटुमा चस्स गाँठो पर्दो हो
अनि त्यतिबेला लाग्छ तिम्रो भित्री आत्मादेखिन माया
र पनि फेरी सोध्छौ ,तिम्रो माया कति लाग्छ भनेर !
तिमीसँग को नाता धेरै पुरानो इतिहास जस्तो छैन
एकपलमा दुई वचन मीठो बोलाई न हो
न त कुनै भेट , न त गफगाफ नै
मात्र सेतु थियो त, तिम्रा ती गहकिला शब्दभावहरू
जुन शब्दहरूमा बग्दै गयो मनका डोबहरू पछ्याउँदै
निस्वार्थ भाव, हँसिलोपन अनि त्यो शालीन गम्भीरता
सायद अजम्वरी मित्रताको रंग तिमीबाटै महसुस भयो
हो त्यतिबेला लाग्छ तिम्रो अपार स्नेह
र पनि फेरि तिमी सोध्छौ , तिम्रो माया कति लाग्छ भनेर !
काँडाले घोच्दा पनि फूल मात्र दिन जानेका छौ
तिक्ततालाई पनि मिठासताले जित्न सकेका छौ
तैपनि तिमि भन्छौ तिमी एक्लो छौ यति ठूलो भीडमा
आफ्नो मनको बार्दलीमा रंगिन फूलहरू फक्राउन सकेका
शब्दको मिठासले मुटुको ढुकढुकी स्पर्श गरेका छौ
हो त्यतिबेला लाग्छ तिम्रो अदितिय माया !
आँखाचिम्म पारी शून्य मनले तिमीप्रति विश्वास पलाउँछ
अनि तिमीप्रति यति धेरै भरोसाका किरणहरू उजागर हुन्छ
हो अनि त्यतिबेला सायद तिमीलाई बिश्वास नलाग्न सक्छ
अनि आँखा बन्द गरि आफँैलाई सोध तिमी
तिम्रो अन्तरआत्मालाई प्रश्न गर तिमी
कति उज्यालो ज्योति बनिसक्यौ भनेर !
जुन उजेली ले ओसिएका आशाहरू उजागर गरिसकेँ भनेर
अनि सोध तिमीले दिएका अपार मायाको अर्थ आफ्नाहरूलाई
हो त्यतिबेला नै हो तिम्रो धेरै माया लाग्ने !
घर छोड्नु पर्दाको पीडा के तिमी नाप्न सक्छौ ?
अनि तिमीले गरेका ती संघर्षका तिता पल भुल्न सकेका छौ ?
यदि सकेका छौ भने त्यसका प्रमाणहरू जुटाउन सकेका छौ ?
हो त्यतिबेला , तिमीलाई नै सोध्न मन लाग्छ
तिम्रो माया किन अनि कति लाग्छ भनेर !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।