अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), वासिङ्टनका बोर्ड अफ ट्रष्टी सदस्य तीर्थराज अधिकारीको साधनाको स्वर्ण वर्ष लिपिबद्ध गरिने भएको छ । अनेसास केन्द्रीय कार्य समितिले अधिकारीले साधना थालेको ५० वर्ष पुगेको सन्दर्भ पारेर उनी बारे भए/गरेका अनुसन्धान र लेखिएका आलेखको एकीकृत कृति प्रकाशन गर्न लागेको हो ।
२००३ कार्तिक ३० गतेका दिन लमजुङ चन्द्रेश्वर–७, दुराडाँडामा जन्मिएका अधिकारी २०२६ सालदेखि निरन्तर साधनामा क्रियाशील छन् । दर्जनको संख्यामा काव्यकृति प्रकाशन गरिसकेका अधिकारीका जूनकीरी (कविता–२०५३), ऐना (कविता–२०५७), तीन लय तेह्र गीत (२०६०), झटारो (मुक्तक–२०७०), यो कसको हात हो ? (कविता–२०७०), झटारो (अङ्ग्रेजी मुक्तक–२०७२), बिरिमफूल (मुक्तक–२०७३), लमजुङको सम्झना (भीसीडी), माया (आधुनिक गीतिएल्बम–२०७४) र जूनका टुक्राहरु (अङ्ग्रेजी–नेपाली मुक्तक–२०७७) प्रकाशन भइसकेका छन् ।
गोर्खा दक्षिणबाहुलगायत दर्जन बढी सम्मान तथा पुरस्कार प्राप्त अधिकारी नेपाली मुक्तकलाई अङग्रेजीमा प्रकाशन गर्ने प्रथम प्रयोक्ता हुन् । नेपाली मुक्तकको उज्यालोलाई विश्वमा पुर्याएको योगदानको कदर गर्दै अनेसासले उनलाई मुक्तकमणि उपाधिसमेत प्रदान गरेको छ ।
यही साधनाको सम्मान स्वरुप अनेसास केन्द्रीय समितिले ‘साधनाको स्वर्ण वर्ष मुक्तकमणि तीर्थराज अधिकारी’ ग्रन्थ प्रकाशन गर्न लागेको हो । समितिले उक्त ग्रन्थ सम्पादनका लागि अनेसास गण्डकी समितिका महासचिव असफल गौतम र सदस्य कल्याण पन्तलाई सम्पादक मनोयन गरेको छ । समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा हालै सम्पन्न बैठकले सम्पादकद्वयलाई मनोनयन गरेको हो ।
असफल गौतम दुई दशकदेखि निरन्तर साधनामा क्रियाशील साधक छन् भने कल्याण पन्त त्रिभुवन विश्वविद्यालमा प्राध्यापनसँगै साहित्य साधनामा क्रियाशील लमजुङका स्रष्टा हुन।
यसैबीच सम्पादकद्वयले मनोनयनको पत्र प्राप्तिसँगै साधक, समाजसेवी र सङ्गठकको छवि बनाएका अधिकारीका बारेमा हालसम्म लेखिएका र प्रकाशन भएका सामग्री सङ्कलन गरी स्तरीय ग्रन्थ प्रकाशन गर्न तत्पर रहने अनेसास गण्डकी समितिका महासचिव असफल गौतमले जानकारी गराएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।