साहित्य सागर डटनेटको आयोजनामा राष्ट्रकवि माधव घिमिरेको १०२ औँ जन्मजयन्ति भर्चुअल माध्यम जूममार्फत् एक कार्यक्रमका बीच सम्पन्न भएको छ। साहित्यकार तथा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सबै महादेशबाट प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रमका अतिथिहरूमा एनआरएनए भाषा साहित्य विभागका संयोजक साहित्यकार हिक्मत थापा (अफ्रिका), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेल माइला (जापान), एनआरएनए संस्कृति र सम्पदाका संयोजक गोविन्दप्रसाद गौतम (मस्को), वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ (मस्को), यूवाकवि तथा अनेसासका पूर्व महासचिव गणेश घिमिरे (अष्ट्रेलिया), साहित्यकार डा. मणी पनेरू (अष्ट्रेलिया), एनआरएनए आइसिसिका सदस्य एवं संस्कृति तथा सम्पदा समितिका क्षेत्रीय संयोजक अमित चाम्लिङ राई (कुवेत), वरिष्ठ साहित्यकार श्री होमनाथ सुवेदी (अमेरिका), श्री इश्वरीप्रसाद भट्ट,अनेसासका महासचिव श्री सर्वज्ञ वाग्ले, वरिष्ट पत्रकार श्री किरण मरहठ्ठा, र श्री मणि नेपाली पनेरूरहेका थिए । त्यस्तै गरी क्यानडाबाट कवि डा. भरतमान श्रेष्ठ, कवि खगेन्द्र गौतम र सुरेन उप्रेतीको सहभागिता रहेको थियो।
नेपालबाट बरिष्ठ साहित्यकार तथा प्राध्यापक मोहन सिटौला, समालोचक तथा भाषाविद् प्रा. डा. माधवप्रसाद पोख्रेल, समालोचक तथा कवि नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. रामप्रसाद ज्ञावली, डा. बिन्दु शर्मा, प्रा.डा. शैलेन्दुप्रकाश नेपाल, डा. विष्णु केसी, डा. जयन्ती रुपाखेती, डा. बच्चुराम भट्टराई, डा. मुकुन्द पथिक, कवि रमेश शुभेच्छु, कवि भुवनहरि सिग्देल, कवि ठाकुर शर्मा भण्डारी,डम्बर घिमिरे, मेघनाथ खनाल बन्धु, विपिन अगस्ति, ऋषि बराल, कल्पना खनाल, गीतकार संगीतकार तथा गायक रुपककुमार राई, कवि गीता सापकोटालगायतको उपस्थिति रहेको थियो।
आशन ग्रहण पश्चात राष्ट्रकविको लोकप्रिय “नेपाली हामी रहौंला कहाँ नेपालै नरहे” बोलको गीतलाई गायक रूपककुमार राईले गाएर कार्यक्रम शुरू भएको कार्यक्रममा साहित्यसागरका सम्पादक रमेश शुभेच्छुले राष्ट्रकविको विशेषाङ्कको बारेमा विद्वान् साहित्यकार र समालोचकहरूबाट गहकिला खोज पूर्ण रचनाहरु संग्रहित भएको कुरा बताउनु बताए ।
प्राध्यापक राजेन्द्र सुवेदी, मोहन सिटौला, डा. मुकुन्द पथिक, साहित्यकार कृष्णप्रकाश श्रेष्ठ आदिले राष्ट्रकविका विविध आयाम र विधाका बारेमा चर्चा भएको जानकारीका साथमा विभिन्न लेख, अनुभूति, कविता र गजलहरू संग्रहित रहेको कुरा जानकारी गराए । उक्त जानकारीपश्चात कुलपति गंगाप्रसाद उप्रेतीबाट माधव घिमिरे विशेषाङ्कको लोकार्पण गरिएको थियो ।
राष्ट्रकवि माधव घिमिरेको गीतिनाटकको बारेमा प्रकाश पार्दै डा. बिन्दु शर्माले घिमिरेको राष्ट्रियता र मानवियतालाई सरल ढंगले प्रस्तुत गर्ने विशिष्टताको चर्चा गर्दै भने, “शास्त्रीयता र क्लासिक चिन्तनलाई पनि लोकलयमा भिजाउने र सुक्तियताको प्रयोगले गीतिकाव्यहरु सरल रहेका छन् । मन्त्रहरु जस्तैगरी पढ्दा नै कण्ठ हुने कर्ण प्रिय सलिल झैँ छन् ।”
उनले मालती मंगले, हिमालपारी, विषकन्या, किन्नराकिन्नरी, मल्लिका आदिको चर्चा गरे । उनले थप भने, “कवि शान्तिप्रेमी भएकोले कतै विद्रोह छैन। शास्त्रीय लय चिन्तनलाई बोकेका छन् ।”
त्यस्तै अर्का वक्ता प्रा.डा. माधवप्रसाद पोख्रेलले कविको वैशाख कवितामा शैल्यविज्ञान बारेमा विश्लेषण गरेर प्रभावित भएको बताए । उनले भने, “कविता लेखन साधना हो । तपस्या हो । संसारभरिका कविताहरु पढेर कविता लेख्ने हो भने मात्र कवितामा गहनता आउछ । एउटै कविता लेख्न पनि दशौं वर्ष लगाएका उदाहरण छन् । माधव घिमिरेले “ज्योतिको पंखा उचाली” कविता लेख्न लामो समय खर्चनु भएको थियो ।”
त्यस्तै मन्तव्य राख्ने क्रममा साहित्यकार डा. रामप्रसाद ज्ञवालीले माधव घिमिरेलाई औँठीमा मुगा हाल्न सफल कविको रूपमा चर्चा गरे ।
एनआरएन भाषा साहित्यका संयोजक हिक्मत थापाले प्रवासमा रहेर साहित्य साधना गर्ने साधकलाई प्रोत्साहनका लागि पुरस्कार स्थापना गर्न लागेको कुरा जानकारी गराए । उनले राष्ट्रकविलाई स्मरण गर्दै श्रद्धासुमन व्यक्त गरेका थिए ।
त्यस्तै अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले साहित्यकारहरूलाई प्रोत्साहनका लागि पुरस्कार स्थापना गर्न र सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे भने साहित्यसागरका सल्लाहकार मोहन सिटौलाले घिमिरेका कृतिहरुलाई विश्वसामु पुर्याउनु पर्ने कुरामा जोड दिएका थिए । उनले अग्रज साहित्यकारहरुका कृतिहरुलाई पुस्तकालयमा एकै ठाउँमा राख्ने व्यवस्था गरी अध्ययनलाई सहज बनाउनु पर्ने कुरामा जोड दिए ।
एनआरएनएका संस्कृति तथा सम्पदा समितिका संयोजक गोबिन्दप्रसाद गौतमले नेपाली भाषा साहित्यको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनम बोष्टनमा भएको र त्यसबेला शुरु गरिएको यो अभियानलाई निरन्तरता दिएकोमा बधाइ तथा शुभकामना व्यक्त गरे भने नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले माधव घिमिरे प्रज्ञाको संस्थापकमध्येका एक भएको चर्चा गर्दै प्रज्ञाले निकाल्न लागेको अन्तर्देशीय कविता संग्रहका लागि सबैलाई सूचित गर्न अनुरोध गरे ।
कार्यक्रममा कृष्णप्रकाश श्रेष्ठ, गणेश घिमिरे, सर्वज्ञ वाग्लेले पनि मन्तव्य राखेका थिए । कवि गीता सापकोटाले माधवप्रसाद घिमिरेको वैशाख कवितालाई लयबद्ध वाचन गरेर सुनाएकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि कुलपति श्री गंगाप्रसाद उप्रेतीले साहित्यसागरको कार्यको सराहना गर्दै सफलताको कामना गर्दै भने, “नेपाल प्रज्ञाप्रतिष्ठानले भर्खरै चीनसँग नेपाली साहित्यका पुस्तकहरुलाई चिनियाँ भाषामा अनुवाद गर्ने विषयमा सम्झौता गरेको छ । यो बिषम परिस्थितिलाई प्रयोग गरी संसारभरीका नेपाली साहित्यका सिल्पीहरुलाई एक ठाउँ जुटाएको छ । हामीले प्रविधिलाई प्रयोग गर्दै अगाडि बढ्नु पर्नेछ ।”
उनले अनेसास, एनआरएन र अरू साहित्य संघ संस्थाहरुको योगदानको प्रतिष्ठानले उच्च मूल्याङकन गरेको बताए ।
साहित्यसागरका प्रधान सम्पादक तथा कार्यक्रममा सभापति मणि नेपालीले मन्तव्य राख्ने क्रममा भने, “साहित्यसागर यो अथाह पुस्तक र पठनीय सामाग्रीको सागर हो । यसलाई मेरो मरणोप्रान्त पनि अगाडि बढाउन आर्थिक रूपले सहयोग गर्न मेरो परिवारलाई इच्क्षा पत्र लेख्छु । यो बालक छ । यसलाई हुर्काउने सबै साहित्यकार र स्रष्टाहरुको दाइत्व हो ।”
विमोचित माधवप्रसाद घिमिरेको विशेषाङ्कलाई नेपाल प्रज्ञाप्रतिष्ठानले सहयोग गरे किताबको रुपमा पनि प्रकाशन गरिने कुरासमेत उनले बताए ।
साहित्य सागर डटनेटका प्रबन्ध सम्पादक सुरेन उप्रेतीले कार्यक्रम सन्चालन गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।