
दुई वर्षसम्म अदृश्य दुश्मनसित कोठाभित्र बच्दैबच्दै हो कि जुझ्दैजुझ्दै, युद्ध लड्दैलड्दै हो कि युद्धै नलडी जितौरीका रूपमा पाइएको ज्यान बोकेर कोरोनालाई पछार्दै कोरोला नाकाको उचाइ नाप्न लोमान्थङ पुगियो ।
१५ हजार फिटाधिकको उचाइ आरोहण गर्ने मौका विश्व मानवमाझ शत्रुता साध्न आएको कोरोनाले छाडिराखेको ज्यानले उपहारमा पायो । कोरोला नाका टेक्न पाइयो ।
दुश्मनको हातले छोयो कि छोएन थाह छैन । दुश्मनको सासले भेट्यो कि भेटेन त्यो पनि थाह छैन । तर वरिपरि परिवेश कोरोनाको कहर काट्नमै व्यस्त । आफू भने सानामा खेलेको खेल ‘यति यति पानी घेघ्घेरानी’ भन्न छोडेर ‘यतै कतै कोरोना सबैतिर बिमारी’ भन्दै ज्यान जोगाउने खेल खेल्नमा नै मस्त । छिन छिनमा साबुन पानीले हात धुनमै व्यस्त ।
जीवनको यो उमेरसम्ममा म एक्लैले कति साबुन व्यवहारमा ल्याएँ हुँला त्यसभन्दा अधिक साबुन दुई वर्षभित्र सकिए हुँदाहुन् ।
हुन त एक गोली दबाइसम्म खानपरेन । तर भयावह परिस्थिति भने प्राणै सिद्धिएझैं… । खै ! कोरोनाले भेटेर पनि थाहै नपाई हारेर गयो कि वा नभेटी नै पर पर भयो ! त्यो कोरोना भाइरसलाई नै थाह होला । ह्याछ्यूँसम्म आएन, ज्वरो त परै जावोस् । दुई वर्षसम्म कुनै दिन डाक्टरको दैलो ढकढकाउनै परेन ।
यसैले त भन्दैछु म – ज्यानले कोरोनालाई हरायो र कोरोला नाका टेक्ने बकस पायो ज्ञानको ज्यानले ।
* * *
विद्यार्थी छँदा नोभेम्बर महिनाको पहिलो हप्ता साथीहरूसित नाइट शो सिनेमा हेरेपछि जलपहाडतिर सोझै उक्लन्थ्यौं र घुम जोरबङ्लो हुँदै उज्यालो खस्न अघि नै सूर्योदय हेर्न टाइगर हिल (८४८२ फिट) पुग्थ्यौं । कोरोनाको आतङ्कले त्राहिमाम् त्राहिमाम् बनाएको उमेरसम्म ८४८२ फिटभन्दा अग्लो भुइँको शिर टेक्न पाएको सम्झना छैन मलाई ।
मैले जीवनभरिमा उक्लिएको सबैभन्दा अग्लो चुचुरो त्यही थियो र रहने भो भन्ने नै थियो । साँच्चै मेरो सम्झनामा अर्को उचाइ आएन नै । यस्तैमा दुईतीन वर्ष अघि आदरणीय दाइ गणेश रसिकको आग्रहमा श्रीअन्तु उक्लिएर जेन कवि कृष्ण प्रसाईंको कविता सङ्ग्रह ‘घामको आयु’ लोकार्पण गर्दै घामलाई घामकै आयु देखाई देखाई सूर्योदय हेरेको कुरो झूटो हुनेछ यदि मैले यहाँ उल्लेख नगरे ।
मौका जुऱ्यो । श्रीअन्तु पनि उक्लिएँ ।
टाइगर हिल र श्रीअन्तुमा के कतिका भिन्नता होलान् भन्ने जिज्ञासा त हुने नै भो । र, पाएँ भिन्नता । श्रीअन्तु ७६३७ फीटभन्दा केही अग्लो पाएँ ।
टाइगरहिलभन्दा श्रीअन्तु केही होंचो नै पाएँ ।
विद्यार्थी उमेरमा आफूले पहाडको टाकुरा चढेर बनाएको आफ्नो उचा आरोहणको रेकर्ड यो शिक्षक जीवनबाट अवकाश लिएपछि आफैंले तोड्नसकेको सन्तुष्टि लिएर फुलेल छु म यतिखेर ।
* * *
हामीभित्रका राम्रा मानिसहरू आकर्षित हुनथालेका छन् सालबारीमा । सालबारी नाका हो पहाडको । प्रायः बेपार वाणिज्यमा पनि हाम्रा मानिस अघि आइरहेको देखिन्छ यस ठाउँमा यसबेला । सालबारी मेरो जन्मस्थान । एक समयको साह्रै दुर्नाम मेरो जन्मस्थान हाल सुनामको स्वर्ण मुकुट पहिरिएर सबैलाई आकर्षित गराउँदोछ ।
के साहित्यकार ! के चित्रकार ! के सङ्गीतकार ! के फोटोग्राफर ! के विद्वान्-विदुषी ! के सामाजिक चिन्तक / वैज्ञानिक ! विद्यालय / महाविद्यालय / विश्वविद्यालयका प्राध्यापकगण धेरै धेरै लोभिएको ठाउँ बनेका छ यसबेला सालबारी ! साँच्चै सबै सबैलाई नै बस्न लायकको ठाउँ बन्दै जाँदैछ सालबारी !
हिलैमा फुलेको कमल भो कि यसबेला सालबारी !
स्वच्छ ड्राइक्लिनिङ (पहिले अर्कै नाम थियो)मा साहित्यकार साथीहरू साँझ भेला भएर गफ्फिन्थ्यौं । नोकरीबाट अवकाश लिएपछि समय कटनी ड्राइक्लिन सञ्चालन गर्नथालें । कोरोना भाइरस फैलिएपछि म दोकानमा बस्न छोडें । भेटघाटको क्रम तोडियो । हामी कहिलेकहीं गोम्देन चिया थोक बिक्रेताका स्वामी अनन्त गोम्देनले हामीलाई सविता गोम्देन साहित्य कक्ष स्थापित गर्न प्रदान गरेको कक्षमा भेटघाट गर्छौं । त्यस्तै कहिले गुरु मिठाई दोकान पनि हाम्रै साथी पूर्ण मगरको । हाल सन्ध्या भ्रमणको समय हामी यी दुवै ठाउँमा भेटघाट गर्ने गर्छौं ।
केही समय यता हाम्रो समूहमा विद्वान् प्राध्यापक डाक्टर सञ्जय बान्तवा पनि सामेल हुँदा हाम्रो शक्ति अझ बढेको छ । डाक्टर बान्तवाको विद्वत्ताको खाँचो छ हाम्रो समूहलाई । डाक्टर बान्तवा हामी सबैका पथ प्रदर्शक । सालबारीको सिङ्गो समाज डाक्टर बान्तवाबाट अझ फलिभूत भइरहने आशा गर्छ ।
कविता सिर्जना गर्नका साथै बान्तवाको रुचिको विषय फूलादि स्याहार्ने पनि रहेको देखिन्छ । फूल स्याहार्नका साथसाथै उनी यात्रामा निस्कन पनि त्यत्तिकै सौखिन । थप फोटोग्राफीमा पनि त्यत्तिकै लगाउ । साहित्यका डाक्टर बान्तवामा होमेप्याथिक डाक्टरमा हुनुपर्ने गुण पनि देखियो । यात्रावधि हाम्रो टोलीका सदस्यहरूले उनमा रहेको विविध ज्ञान र योग्यता अनुभव गर्न पाए ।
एक साँझ एउटा प्रस्ताव आयो बान्तवाबाट – मुक्तिनाथको यात्रा गर्दै नेपालचीनको सीमासम्म नौ दिने यात्रा गर्ने । झटपट मेरो समर्थन रह्यो उनको प्रस्तावलाई । त्यसरी नै पूर्ण मगरको समर्थन पनि पायो प्रस्तावले । पूर्ण मगर अवकाश प्राप्त पुलिस अफिसर । मेरा साथी विजय थापालाई पनि सामेल गर्ने विचार पोखें मैले । डाक्टर बान्तवाको शब्दकोशमा ‘नाइँ’ र ‘हुँदैन’ जस्ता शब्द नै छैनन् ।
पोखरासम्म नदेखेको बबुरो म । पोखरा हुँदै मुक्तिनाथ र त्यसभन्दा माथि कोरोला पास र चाइना सीमासम्म पुग्ने कुराले म फुरुङ्ग थिएँ । तर मेरो समस्या भने अर्कै थियो । म धेरै पहिलेदेखि फस्ट डिग्री हार्ट ब्लक भएको मानिस । एकपल्ट यात्रामा निस्कन अघि सिलगढीका प्रसिद्ध डाक्टर खिलानाथ शर्मालाई देखाऊँ भनेर सालबारीदेखि केही पर फर्च्युन बिल्डिङमा रहेको रेमेडी क्लिनिक पुग्ने विचार भयो ।
साथमा पूर्णजीलाई पनि उनको प्रेसर के कस्तो अवस्थामा छ बुझ्न पर्ने भयो । हामी दुवै पुग्यौं रेमेडी क्लिनिक । डाक्टर शर्मालाई च्याम्बरमा भेट्यौं । शर्मा मेडिकल डाक्टरका साथसाथै सफल कवि र कथाकार पनि ! उनीबाट “माथिल्लो मुस्ताङ चाहिं नजानुहोस् तपाईं” भन्ने सल्लाह पाएँ । थप अझ सुझाउ पाएँ –“ मुक्तिनाथ पुगिसकेपछि तपाईंकै शरीरले आफैं निर्णय लिनसक्छ अझ उकालो उक्लने कि तलै बस्ने । अक्सिजन कम भएर सास फेर्न असुविधा हुनसक्छ, त्यही विचार्नुहोस् ।”
* * *
जाने दिन-
दार्जीलिङ मोडमा भेला भएर हामी आ-आफ्ना झोला तुम्बीसहित काँकरभिटातिर लाग्यौं । यात्राका व्यवस्थापक साह्रै सज्जन र अनुभवी रहेछन् । उनले दार्जीलिङ मोडबाट हाम्रो जिम्मा लिएपछि घर नभित्रिञ्जेल यति ख्याल राखे कि हामीलाई कुनै कुराको अभाव अनुभव गर्नै परेन । राम्रो व्यवस्थापन गर्नसक्नु नै उनको व्यवसायप्रतिको दक्षता र योग्यता लाग्यो । मानिस सत्यनिष्ठाताका साथ व्यवसायमा उत्रिएको पाएँ ।
यात्रामा निस्कने धेरैजसो यात्रीहरू पेन्सन पकाइसकेकाहरू नै थिए । पेन्सनभोगीहरूको शरीरले कुनै न कुनै रोग नबोकी त पेन्सन पकाएकै हुँदैन भने झैं लाग्छ मलाई । यता पुरुषभन्दा महिला दिदी बहिनीको संख्या धेरै ।
ठूलै रोग नभए पनि प्रायः प्रेसर र सुगरको औषधि खानेसम्म त हुन्छ नै हुन्छ ।
कुशल व्यवस्थापकको व्यवस्थापनले मुक्तिनाथ हुँदै कोरोला नाकासम्म जाने आँट सबैले गरे । मलाई फस्ट डिग्री हार्ट ब्लक रहेको बुझेपछि व्यवस्थापकले भने, “हामी लोमान्थाङ र कोरोला नाका पुगेर भोलि आउँछौं तपाईं कागवेणीमा नै एक रात बस्नुहोस् । यता बास र गाँसको सबै प्रबन्ध मबाटै नै हुन्छ ।”
तर मैले आँटै गरेर जान्छु भनें ।
पोखरा पुगेको भोलिपल्ट रात बाक्लँदै गर्दा हामी कागवेणी पुगेका थियौं । हाम्रो मुकाम दुईतीन दिनलाई कागवेणी नै बन्ने लक्षण देखियो । व्यवस्थापक शरण प्रधान आफू धेरै अघिदेखि यो व्यवसायमा उत्रिएर अनुभवले खारिएको देखियो । उनको बोलीचाली र कुशल व्यवहार स्थानीय सबैतिर झ्याँगिएको/ सबैसँग झ्याम्मिएको देखियो ।
पोखराबाट बस हिंडेपछि नै बसभित्र होस् कि बसबाहिर त्यहाँको भौगोलिक अवस्थानले हाम्रो कायिक अवस्थामा पर्ने परिवर्तन सम्बन्धमा डाक्टर बान्तवाको निगरानी रहिरहेकै पायौं । लेक लाग्नबाट होस् कि सानातिना रुघा खोकीबाट बचाउ गर्दै ठाउँठाउँवै होमेप्याथिक औषधिको थोपा खान दिएर बान्तवाबाट साँच्चै तिर्न नसक्ने गुणको भारी बोक्यौं हामी सबैले ।
चिसो मेरो दुश्मन ! घरबाट निस्कँदा नै सर्दीले समातेको थियो । बान्तवाको औषधिले भरथेग गरिरह्यो मलाई । मैले साथमा एन्टीबाइटिक दबाई पनि बोकेको थिएँ । साथी विजय घरीघरी एन्टीबाइटिक खानु कर गरिरहन्थ्यो मलाई ।
ती चेलीबेटीले पनि साह्रै ख्याल गरे मेरो । टोलीमा दार्जीलिङ, गान्तोक, खरसाङ, कालेबुङ र सिलगढीका गरी झन्डै २५ जना जति यात्री हुँदा हौं हामी । दुब्लो पात्लो जीउका मानिस हुनाले मलाई सहयात्री सबैले सबैभन्दा वृद्ध सोचे क्यार । टोलीभित्र बुढो देखिनमा मेरो घोर्ले स्वरले पनि थप सहयोग पुऱ्याउँदा’भए भन्ने लाग्छ मलाई । त्यसरी वयोवृद्ध सोचिदिँदा मलाई अझ ज्यादा फाइदा भयो । मेरा निम्ति उनीहरूले अतिरिक्त ख्याल राख्नथाले । लामो समयसम्म सरकारी अस्पतालमा सेवा पुऱ्याई अवकाश ग्रहण गरेका केही नर्स दिदीबहिनी पनि सामेल थिए टोलीमा ।
सर्दीको कारण हल्का ज्वरो पनि थियो मलाई । तर बान्तवाको औषधि र ती अनुभवी दिदीबहिनीहरूको सेवा पाएर मेरो ज्वरो र सर्दीले बसाइँ सऱ्यो । आफ्नै गाउँ सालबारीका दिदीबहिनीसँग पनि यात्रावधि नै परिचय साटियो । उनीहरूबाट पनि विशेष सहयोग प्राप्त भयो । टोलीका सबै सहृदयी चेली बेटीबाट विशेष सहयोग पाउँदै गएँ जसका लागि यस लेखमा नै म ती सबै सबै चेली बेटीलाई हार्दिक धन्यवाद जनाउँछु ।
* * *
मुक्तिनाथ मन्दिर परिसरमा केही क्षण बितायौं विजय र मैले !
डाक्टर बान्तवा र पूर्ण मगरजी हामीलाई बस बिसौनीबाट घोडामा चढ्ने अथवा उलिन्काठमा चढेर (महाकविको यात्री कविताको सम्झना भो मलाई-… ‘मानिसहरूको काँध चढी…’) मन्दिरसम्म जानलाई सुझाइरहे ।
मन्दिर पुग्नुअघि बस बिसौनीबाट हिंडेर जानुपर्ने बाटो तेर्पेतेर्पे हुँदै दम्स्याइलो मात्र होइन वातावरण गुम्स्याइलो अनुभव भो । अक्सिजनको कमीले हिंडाइमा थकावटको अनुभूति भइरह्यो । बस बिसौनीबाट झन्डै एक किलोमिटर जति हिंडेपछि फेरि केही उक्लँदा माथि मन्दिर देखियो । वरिपरि पहिरो गएर बाँचेको एक्लो घरजस्तै देखें मैले मन्दिर । ढुङ्गा र बालुवा सोहोरिएर तलतल झर्न हतारिएझैं । यो अचम्मको भू-अवस्थान र प्रकृति मेरा निम्ति अद्भुत । मन्दिरतिर उक्लने फराकिलो चौडा पक्की सिँढी । मन्दिर परिसर छोडेर वरिपरि प्रकृतिले नै स्याँठ्ठै बोटबिरुवा वर्जित क्षेत्र घोषित गरे झैं हरियो रूखपात कतै देखिंदैन । आशौच बारेको भूबनौट । चिन्डे मुडुले टाकुरा जताततै । थप आशौच बारेझैं सेता कपडा लपेटेर उभिएका हिमालहरू । हावा रोइरहने वातावरण । हावामा अक्सिजनको मात्रा कम भएर होला निस्सासिँदो वातावरणलाई छिचोल्दै अघि जानुपर्ने । अनुभवी बान्तवाले त्यसै घोडा अथवा उलिन्काठ चढ्नलाई सुझाएका होइन रहेछ ।
भारतको केरला साथै कर्नटाका राज्यका बासिन्दाहरू उमेरको साह्रै थोरै भाग आफूसित साथमा लिएर पुण्य कमाउन आइपुगेकाहरू ! १ सय ८ धाराका चिसो पानीमा स्नान गरी कुद्दै फेरि मन्दिर अघिल्तिरको कुण्डमा डुबुल्की मारिरहेकाहरू देख्दा मलाई अचम्म नै लाग्यो । हामी नेपालीको संख्याभन्दा कता हो कता धेरैका संख्यामा ती दक्षिण भारतेली तीर्थालु । ती सबै घोडा / उलिन्काठ चढ्दै मन्दिरतर्फ बढेकारहेछन् भन्ने कुरा उनीहरू पछिको हूल देख्दा थाहा भो मलाई । धार्मिक आस्था पर्यटनको सबैभन्दा ठूलो आशीर्वाद हो । साथी विजय र म हिंडेर नै माथि पुग्ने कुरामा विश्वस्त थियौं । साँच्चै तीन समयाधिक फराकिला सिँढीहरू बिसाउँदै बिसाउँदै उक्लियौं । पहाडी रेगिस्तान यस्तै हुँदो हो । रूख-पात/ बोट-बिरुवाको नामोनिशान छैन । मन्दिर परिसरमा पानी खसिरहेका १ सय ८ धारामध्ये मैले एउटा धाराको पानी हातमा लिएँ । ठिहिऱ्याउने पानी ! यो कस्तो अद्भुत भूगोल । यो कस्तो विचित्र प्रकृति । आफ्ना आँखाले नदेखेको भए कसैले गरेको वर्णन पत्याउनु नै गाह्रो । मन्दिरभन्दा पनि मन्दिर स्थापित भएको भौगोलिक अवस्थान र भूप्रकृति साँच्चै उदेक लाग्दो । मेरा निम्ति भने साँच्चै नौलो अनुभूति । मन्दिर होइन, मन्दिर परिसर दर्शन गरेर फर्कंदा बाटामा हाम्रै टोलीका साथीहरू पनि बिसाउँदै बिसाउँदै उक्लँदै गरेका भेटिए । मन्दिर पुगेर आएको मानिसको निधारमा टिकोसम्म नदेख्दा विस्फारित नजरले हेर्दै साथीहरू उक्लिए । विजय र म ओर्लिरह्यौं ।
त्यस रात पनि कागवेणीको गुरुङ दाइकै होटेल ।
* * *
भोलिपल्ट बिहान !
खस्नै लागेको उज्यालो हेर्दै होटेलको छाना उक्लने भऱ्याङ चढे डाक्टर बान्तवा ! असली हिमाल कस्तो हुन्छ त्यो देखाउन उनी लामो लेन्स जडित क्यामरा लिएर बिस्तारै भऱ्याङ उक्लन हामी तीन भाइलाई पनि अह्राए ।
अरे अरे यो के हो ! मेरै अघिल्तिर सुनको पहाड आएर ठिङ्ग उभियो । कसो म अलमलिइनँ । सेतो हिमाल होइन सुनको हिमाल यति नजिकमा । ‘हल्लो’ भन्दै कसो मैले सुनको ढिकोलाई हात पार्न हात अघि बढाइनँ । हिमाल र म दुवै आम्नेसाम्ने । यति आम्नेसाम्ने कि रातभरिको उसको चर्तिकला ह्वास्स नाकैमा ठोकिन्छ होला भने जत्तिकै… तर गन्धरहित चिसो सास मात्र मेरो नाकमा ठोकियो । थप चिसो अनुभूत भयो ।
हिमाल सेतो हुन्छ भन्ने नै चटक्क भुलेछु । कञ्चनजङ्घा सेतो हेर्ने आँखाकै अघि चौबीस क्यारेट सुनको हिमाल ! ‘गणेश हिमाल र अन्नपूर्ण हिमाल’ – बान्तवा सुनको पहाडतिर औंल्याउँदै हाम्रा पछिल्तिर सुनैसुनको ढिको उभ्याएर लेन्स मिलाउनतिर व्यस्त । हामीलाई सुनको ढिको अघि एक एकजना उभ्याएर पनि क्लिक । ग्रुपमा पनि क्लिक क्लिक । हामी तीनै जना डाक्टर साहेबको क्यामारामा सुनैको हिमाल पछाडि पार्दै उभियौं । पूर्ण मगर, विजय थापा र म डाक्टर साहेबको क्यामरा बन्दी ।
हावा एघार बजीदेखि हुइँ… हुइँ हुइँकिने कागबेनीको बलौटे बगैँचा । हावाको टाइमकल खोलिनअघि नै कागवेणीको आकाशमा पहेंला चुच्चा बोकेका कागहरू उडिरहेको भुइँ छोडेर लोमान्थाङतिर लाग्ने र कोरोला नाका हुँदै चीनको सीमासम्म पुग्ने ।
नौ दिनलाई भनेर बूक भएको त्यही बस गाडीमा चढ्यौं हामी । “अबको भूप्रकृति अझ विचित्रको देख्नपाइन्छ” डाक्टर साहेबको आवाज बसभरि गुन्जियो । बान्तवाको आवाज फेरि सुनियो, “ प्रकृतिभन्दा कुशल कलाकार अरू कोही हुनैसक्दैन । ” सबैले कान ठाडा पारे र आँखा चनाखो ! प्रत्येक झ्यालबाट अटाई नअटाई आँखाहरू प्रकृतिलाई वाह… वाह… भन्न हतारिरहेका थिए ।
बिहानीपख लोमान्थाङतिर बसले गति समायो । दुई भाइ ससाना केटाहरू ड्राइभर र खलासी ! मैले राति खलासीलाई बसमा असुविधा हुँदा हकारेको थिएँ । ती खलासी भाइ त गाडीका पूर्ण मालिक बन्दैरहेछन् । अब दुईचार लाख पुरानो मालिकलाई बुझाएपछि उनी हन्ड्रेड प्रसेन्ट बसगाडीको मालिक ! त्यसै मालिक बनिँदैन । ती दुई भाइ मित्र मात्र होइन अभिन्न मित्र नै रहेछन् । दुवैले बसगाडीको ख्याल राख्दारहेछन् ।
प्रकृतिको अदृश्य हातहरूले कुन कुन औजार कसरी कसरी समात्दै कति कति कलाकृति कप्न सकेको । प्रकृतिको कुशल कारिगरी अघिल्तिर को उभिनसक्ने ? म त छक्कै परें । बसका यात्री सबै मक्ख परे । धेरै अघिदेखि हाम्रा मूर्तिकार अमिर सुन्दासको गुरु खोज्दैथें म ! थाहा लाग्यो,अमिर त प्रकृतकै चेलो पो रहेछ । यो जनशून्य ठाउँमा भित्ता भित्ता कपेर कला खिप्नसक्ने बुता कसको ? बाटाका दुवैतिर विशाल फ्रेममा सजिएको कलाकृति ! सम्पूर्ण प्रकृतिको पृष्ठभागलाई नै क्यान्भास बनाई कुँदिएको कलाकृति ! यस्ता विशाल विशाल कलाकृति सिर्जने हावा र पानीका हातहरूलाई सलाम ।
मेरा हजुरबुआ हजुरमुआ, मेरा मुआ बुआहरू किन प्रकृतिलाई ढोग्छन् ? किन घामलाई ढोग्छन्/ किन पहाड पर्वत र नदी नालालाई ढोग्छन्- भन्ने प्रश्न सानैदेखि थियो, त्यसको सही उत्तर यति बेला यहीं पाएँ । यी घाम,जून, पहाड पर्वत, नदी नाला र वायु सबै सबै महान् कलाकार रहेछन् । मेरा अग्रजहरूले त कलाकारलाई सम्मान दिएका रहेछन् । मेरा अग्रजहरूले कलाको महत्त्व बुझेका र नै पुजेका रहेछन् । कलाको पाठशाला त प्रकृति पो रहेछ । मानिस यही पाठशालाको विद्यार्थी ! तर के ती विद्यार्थी यति निपुण बन्नसक्लान् ! मलाई शङ्कै लाग्छ । अझ ज्यादा पिकासोले टिपेका आर्टको सिद्धान्त त त्यतैकतै कोरिएका हुँदा हुन् भित्ताहुँदी । एब्स्ट्राक्ट आर्टलाई मैले त्यहीं भित्ता भित्ता कोरिएको पाएँ । भ्यानगग र डोनेटेलोहरू त्यहींका कुनै सत्रका विद्यार्थी थिए कि… । अमीर सुन्दासलगायत ।
तर कुन विद्यार्थीले टिप्नसके र सयमा सय प्रतिशत शिल्पकार्यको गुरुमन्त्र । यस्तो शिक्षालयबाट सयमा सय शिक्षा लिन । एकलव्यले त्यहीँ कतै पौराणिक युगमा कलाको युद्ध सङ्कायमा शिक्षा ग्रहण गरेको विश्वविद्यालय यतै कतै नै हुँदो हो कि !
यसरी स्रष्टा प्रकृतिलाई निरीक्षण गर्दै हामीले चीन र नेपालमाझ रहेको दशगजा टेक्न पायौं । एउटा विशाल फाँट पुग्दा साँझ धेरै पर छैन भन्ने लाग्दैथ्यो । अब साँझ झर्नलाई तम्तयार हुँदै होला भन्ने समयमा दुई देशको सीमा आँखाले घरी वारि घरी पारि गर्दै नै थियो । चिसो ओढिरहेको चीन हेर्दै हामी दशगजामा उभिन पुगेका थियौं । चिसो ओड्दैगरेको नेपालमा उभिएर दुवैतिरको सपाट भूमि हेर्दैथ्यौं ।
दुवै देशको सीमा निर्वाध ओहोरदोहोर गर्न पशुले सक्छ । पक्षीले सक्छ । मानिसले सक्दैन ।
यति बेला मानिस पशुभन्दा तुच्छ लाग्यो । आँखाले मात्र वारपार गऱ्यो सीमा र सीमा ! सिङ्गो शरीरलाई पासपोर्ट र भिसा चाहिँदोरहेछ । शरीरकै अङ्ग आँखा भने थाकिञ्जेल ओहोरदोहोर गरिरह्यो दुई देशको सीमा ।
रात बाटैमा भेट्ने गरी हामी फर्कियौं ।
लोमान्थाङमा पुग्दा बाक्लिँदै गरेको रातसित भेट भो । होटेलको दैलो टेकियो । थकित शरीर बिसाउन कोठाभित्र पसें । खै के खाइयो फुरेमा केही आएको जस्तो त लाग्दैथ्यो । खाएको जस्तो पनि लाग्दैथ्यो ।
थकाइ कति रहेछ थाहै लागेन । मध्यरातमा खलखली पसिनाले निथ्रुक्क भिजेको रहेछु । फड्को पर्ला जस्तो भो । एउटै खाटमा सँगै सुतेको विजयलाई भनें- सानो गाडी बन्दोबस्त गरिदेऊ म पोखरा जान्छु ।
एउटा एन्टी बाइटिक गोली निकालेर दिन्छ विजय । मुश्किलले मुखमा हाल्छु र ननिली टोइलेटमा खसालिदिन्छु । यसरी बेला बेला विजयले दिएको एन्टी बाइटिक मैले बाट्बाटै उसको मन राख्न मुखमा हाल्दै थाह नपाउने गरी फालेको छु ।
अर्को खाटमा विशाल शरीर लिएर घुम्लुङ्ग सिरक ओडी पूर्ण मगर कति बेलादेखि रामदेवको अनुलोम विलोम गर्दैरहेछन् । उनले बुझेछन् कि सानो कोठा, चिसोको डरले झ्यालसम्म नभएको/ तीन तीन जनाले स्वा…स्वा सास फेरिरहेको । फोर डिग्री सेलसियसमा झरेको छ लोमान्थाङ । यसैले अक्सिजनको मात्रा कम भएको बुझेर मलाई पनि अनुलोम विलोम गर्ने सल्लाह दिए । मैले पनि उनैलाई अनुशरण गर्नथालें । साँच्चै धेरै होलो भयो मलाई । भरे कतिबेला मगर सुते र घुर्नथाले । मैले पनि फेरि उनैलाई अनुशरण गरें ।
जीवनमा यति अग्लो उचाइ उक्लिएको सपनामा पनि देखेको थिइनँ ।
तर उक्लिएँ ।
मार्फाको एउटा सुन्दर होटेल उपलब्ध भयो सातौं रातको निदरीलाई साथमा राखी विश्राम लिन । आज किन मार्फा मुकाम बनाए व्यवस्थापकले भन्ने लाग्दैथ्यो मनमा । मार्फा त हवाई मैदानसमेत भएको कालीगण्डकी उपत्यकाको सुन्दर एउटा ‘स..ह’ भइसकेर ‘र’ पर्खिएर बसेको ठाउँ रहेछ ।
साँझ बजार घुम्न निस्कियौं । स्याउको रक्सी पाइन्छ भन्दैथे साथीहरू । मैले स्याउको सुकाएको चाना किनें । एउटा स्वेटर किनें । स्याउको रक्सी बनिने भट्टी देखाउँदैथे साथीहरू । भट्टीले झट्टी हान्ने अवस्थालाई उमेरको लट्ठीले खबरदारी गऱ्यो । म आफू पनि रक्सीको रस्सीले कहिले नबाँधेको व्यक्ति परें । हाम्रा टोलीमा कोही खाइहिंड्ने देखिएन । मार्फामा कसरी स्याउको खेती आइपुग्यो भन्ने मनमा बोकेर आठौं दिनमा मार्फा छोडियो ।
मन-मस्तिष्कलाई पछिसम्म नै खेदिरह्यो मार्फा र स्याउको प्रश्नले । त्यस्तैमा स्रष्टा रोशन शेरचनको गल्ली संसार पुस्तकभित्र स्याउ बाजे र स्टिभ जब्स लेख पढ्न पाएँ । त्यस भेकमा स्याउको बेर्ना बाँड्ने दूरदर्शी व्यक्ति बुद्धिरत्न शेरचन भन्ने जान्नपाएँ । बुद्धिरत्न शेरचनको टाढा देख्ने सोचलाई उनको देशले कसरी लियो कोनि । मैले भने सलाम गरें । मैले खाएको प्रत्येक स्याउको सुकेको चानामा उहाँको विचारधारा सिञ्चन भएको मानें । फस्ट डिग्री हार्ट ब्लक भएको व्यक्ति म । र, ‘घरी घरी मुटुको रोगीले स्याउ खानु राम्रो भन्ने डाक्टरको भनाइ’- ले पनि मलाई मार्फामा खाएको र घरमा ल्याएको सुकेको चानाले तानिरहेको हुँदो हो ।
त्यस्तैमा फेरि अर्को पुस्तक श्वेत पर्वत स्रष्टा विष्णुप्रसाद शर्मा पराजुलीको पढ्न पाएँ । फ्रान्समा राजा महेन्द्रले भेट गरेका सोलुखुम्बुको पासाङ काम्बाचे शेर्पाले स्याउ खेती मुस्ताङको बालुवामाथि शुरू गरे भन्ने लेखेको पाएँ ।
तर म अलमल्ल परिनँ । पहिलो सोच जसले बनाए पनि काम हुनुपर्ने थियो । काम भयो । यी दुई दूरदर्शी/ महान् सोचका धनी ! सोच एउटै । यसैले उनीहरूको पवित्र सोचलाई मैले एउटै सोच मानिलिएँ । व्यक्तिलाई सोचले महान् बनाउँछ । सोचलाई कार्य रूपमा ढल्ने दुवै अझ महान् ।
देश प्रेमले ओतप्रोत हृदयबाटै जन्मन्छ यस्ता सोच र देश हित कार्य । हामीले पुज्नुपर्ने कामलाई नै हो । यसैले यी दुवैप्रति श्रद्धा जाग्यो । दुवैका सोच-सिञ्चन स्याउको बोट र फल हुँदै मैले खाएको चानासम्म आइपुग्यो घरमा ।
फस्ट डिग्री हार्ट ब्लक भए पनि डाक्टर बान्तवाको यात्रा मोहबाट पाइएको यो आँट, यो उमङ्ग र यस्ता जोश फेरिफेरि पनि पाइरहनु हो भने सगरमाथा नै पनि उक्लन्छु कि भनेझैं भएर घर फर्किएँ ।
र, घरबाट निस्किएको नवौं दिनपछि ताला खोली घर भित्रिएँ ।
सालबारी/ दार्जीलिङ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

