नेपाली साहित्यमा केही व्यक्ति अमर बनेका छन् जो आफ्नो सृष्टि र दृष्टिले उल्लेखनीय कृतिहरू दिएर गएका छन् । यस्तै एक अमर सर्जक हुन कृष्णचन्द्रसिंह प्रधान ।

वि.सं. १९८२ मा जन्मिएका प्रधानलाई कवि र निबन्धकारका रूपमा मात्र हैन समालोचकका रूपमा पनि चिन्छौं हामीले । नेपाली उपन्यास समालोचनको शुरूआती चरणमा देखा परेका इन्द्रबहादुर राई, प्रतापचन्द्र प्रधान, राजेन्द्र सुवेदी, डा कृष्णहरि बराल सँगै प्रधान पनि प्रमुख समालोचक हुन् ।

प्रधानका प्रकाशित कृतिहरूमा-   ४ निबन्धसंग्रह – ‘सालिग’, ‘अनाम सत्य’, ‘बागमतीको हरफ’, ‘समय सुनामी’, कवितासंग्रह ‘भञ्ज्याङनेर’, ४ समालोचना ‘कवि व्यथित र काव्यसाधना’, ‘नेपाली उपन्यास र उपन्यासकार’, ‘सिर्जनाको सेरोफेरो’, ‘कृतिको अवलोकन’, तथा २ संस्मरण ‘नफर्किने ती दिनहरू’, ‘जिन्दगीका टिप्पणीहरू’ हुन् ।

उनले ‘कवि व्यथित र काव्य साधना’ पुस्तकका निम्ति मदन पुरस्कार तथा पुरस्कार र उत्तम शान्ति पुरस्कार पाएका थिए । उनको निधन असार १७ गते २०६७ मा भएको हो ।

उनले समालोचना र निबन्ध लेखनमा आफ्नो एक युगको नेतृत्व गरेका हुन् ।

समालोचक प्रधानको ‘नेपाली उपन्यास र उपन्यासकारको नाम’ अग्रपंक्तिमा आउँछ । यसको प्रकाशन सर्वप्रथम वि सं २०३७, दोस्रो संस्मरण २०४३, तेस्रो संस्मरण २०५२, चौथो संस्करण २०६१ रहेका छन् । यसको प्रकाशकीयमा नै यस ग्रन्थको महत्त्व, अध्ययन पद्धति र विशेषतालाई समात्ने प्रयास गरिएको छ । यसमा जम्मा ४७० पृष्ठहरूमा खण्ड एक खण्ड दुई र खण्ड तीन रहेका छन् ।

कृष्णचन्द्रसिंह प्रधान

कृष्णचन्द्रसिंह प्रधान

यसमा  उपन्यासको परिभाषा परिचय र परम्परा, पाश्चात्य औपन्यासिक परम्परा र नेपाली उपन्यास परम्परा र प्रवृत्ति, उपन्यासका प्रमुख वाद र प्रणाली प्रमुख उपन्यासकारका औपन्यासिक प्रवृत्तिबारे विस्तृत अध्ययन समीक्षण र विश्ले,ण गरिएको छ । यो कृति नेपाली साहित्यमा उच्च शिक्षा लिनेका निम्ति अति उपयोगी, सन्दर्भग्रन्थ र आधारग्रन्थ सिद्ध भएको छ ।

प्रधानको प्रस्तुत कृतिलाई हामी चार वटा कोणबाट विश्लेषण गर्न सक्छौं । यसभित्र रहेका यी चार पक्षहरूमा-१. उपन्यासको विधागत अवधारणा र परिचय, २. नेपाली उपन्यासको विकास परम्परा, ३. नेपाली उपन्यासको प्रमुख प्रवृत्तिहरूको रेखाङ्कन र ४. केही प्रमुख नेपाली उपन्यासकार ।

यसको खण्ड क भित्र उपन्यासको महत्त्व र परिभाषा, उपन्यासकको उत्पत्ति तथा विकास नेपालीमा उपन्यासको उद्भव र विकास, प्रारम्भिक काल अनुकरणात्मक प्रयोग आधुनिक नेपाली उपन्यासको विकास सामाजिकतातर्फको  प्रवेश रहेका छन् ।

त्यसैगरी खण्ड दुईमा विभिन्न वाद र नेपाली उपन्यास भन्ने अध्यायभित्र नेपाली उपन्यासमा यथार्थवाद, आदर्शोन्मुख यथार्थवाद, सामाजिक यथार्थवाद, ऐतिहासिक यथार्थवाद, आलोचनात्मक यथार्थवाद समाजवादी यथार्थवाद तथा मनोविश्लेषणात्मक यथार्थवाद, नेपाली उपन्यासमा प्रयोग वैचित्र्यको अध्ययन गरिएको छ ।

त्यसपछि खण्ड तीनमा केही नेपाली उपन्यास र उपन्यासहरू भन्ने अध्याय बनाएर रुद्रराज पाण्डेदेखि लिएर ध्रुवचन्द्र गौतमसम्म अध्ययन गरिएको छ ।

यसैगरी उपन्यासको प्रारम्भिक कालको अनुकरणात्मक प्रयोगभित्र प्रेमाख्यान, तिलस्मी जासुसी ऐयारी उपन्यास, सामाजिक सुधार तथा विविध विषयका उपन्यास, प्रारम्भिककालीन उपन्यासको उद्देश्य र सीमा राखिएको छ ।

खण्ड दुईअन्तर्गत रहेको विभिन्न वादभित्र नेपाली उपन्यासमा यथार्थवादमा यथार्थवादको स्वरूप, उपन्यासको यथार्थ, औपन्यासिक सत्य, यथार्थको सार्थक स्वरूप, आदर्शवाद-यथार्थवादको आदर्शबारे विस्तृत छलफल गरिएको छ । त्यसैगरी मनोविश्लेषणवाद र नेपाली उपन्यासभित्र बाल्यकालीन काम प्रवृत्ति र यौन मनोग्रन्थी, मूल प्रवृत्ति र त्यसको प्रयोग, अचेतन मनको विश्लेषण र असामान्य चरित्र ।

खण्ड तीनभित्र रुद्रराज पाण्डे, रूपनारायण सिंह, लैनसिंह बाङ्देल, हृदयचन्द्रसिंह प्रधान, लीलबहादुर छेत्री, गोविन्दबहादुर गोठाले, शङ्कर कोइराला, विजय मल्ल, इन्द्रबहादुर राई, पारिजात, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु र ध्रुवचन्द्र गौतम गरी जम्मा चौधजना मूल मूल उपन्यासकारको औपन्यासिक लेखनको परिचय दिएका छन् । यी प्रत्येक उपन्यासकारले एकेकवटा औपन्यासिक प्रवृत्तिको सूत्रपात गरेको तथ्य प्रस्तुत गरेका छन् ।

लेखकले उपन्यासको महत्त्व र स्वरूपबारे चर्चा गर्दा दार्शनिक दृष्टिकोण, व्यावहारिक पक्ष आदिका आधारमा व्याख्या गरेका छन्. उनको विचारमा उपन्यासले समाजको आन्तरिक र बाह्य प्रवृत्तिहरूको चित्रण गर्छ, जीवनको मूल्य समाज ठम्याऊँ, यथातथ्य मात्रै होइन, समाजको आन्तरिक पक्षहरूको अध्ययन, सुधारको चेतना आदि पनि प्रकट गरेको हुन्छ ।

उपन्यास अरू विधाभन्दा कथावस्तुगत रोचकता, परिवेशगत विस्तृतता, व्यापक र बन्धनहीन स्वरूपले गर्दा सधैं परिवर्त्य, जीवनको निकटतम चित्र हुनाले बढी यथार्थ, प्रयोगधर्मी सम्भावनाले गर्दा सधैं नवीनता र मानिसक रहस्यको उद्घाटन गर्ने हुनाले अति गहन तथा सूक्ष्म हुन्छ । लेखकका विचारमा उपन्यासको मुख्य विषय नै मानव जीवन हो ।

लेखक प्रधानले औपन्यासिक तत्त्वहरूमा परम्परागत कथानक, चरित्र, कथोपकथन, शैली, भाषा, वातावरण, उद्देश्य गरी मुख्य सात वटा रहेका बताएको छन् । यीनै सात वटालाई नै परवर्ती अध्येता र समालोचकहरूले शाब्दिक परिवर्तन र पुनर्निर्धारण गरी नयाँ खालको बनाएको छ । कथोपकथन संवाद भयो, वातावरण नै परिवेश र दृष्टिविन्दु  भए । यद्यपि मूलमा सात वटा हुन् भन्ने उनको ठम्याइ छ ।

उनले नेपाली भाषाको उत्पत्ति र विकास केलाउँदै त्यसमा रामशाहको जीवनी, पृथ्वीनारायण शाहको जीवनी र दिव्योपदेशलाई नेपाली उपन्यासको प्रारम्भिक मानेका छन् । जङ्गबहादुर बेलायत यात्रा, रामभद्र पाध्याको लक्ष्मी धर्म संवाद, ललितत्रिपुर सुन्दरीको राजधर्म, सुन्दरानन्द बाँडाको त्रिरत्न सौन्दर्य गाथा, शक्तिवल्लभ अर्यालको महाभारत विराट पर्व, हास्य कदम्ब, केही लोककथालाई नेपाली उपन्यासको पूर्वाधार मानेका छन् ।

यसपछि केही धार्मिक कथाहरूको अनुवाद पनि आधारका रूपमा छन् । प्रारम्भिक नेपाली आख्यानको पूर्वाधार संस्कृत हो भने केही पछिबाट हिन्दी प्रभाव, अरबी-फारसी प्रभाव, बङ्गला प्रभाव, अङ्ग्रेजी प्रभाव रहेका छन् ।

यस ग्रन्थलाई हामी केही विशेषता पाउँछौं । यसमा १. अनुसन्धानमूलकता, २. विश्लेषणमूलकता ३. आलोचनात्मक इतिहासको प्रस्तुति, ४. वैचारिकता, ५. तथ्यपरकता, ६. लेखकपरकता । यी चार विशेषताहरू परिलक्षित हुन्छन् ।

अनुसन्धानमूलकता– यस ग्रन्थ कुनै विद्यावारिधि वा अन्य कुनै उपाधिका निम्ति तयारी पारेको होइन । यसमा कुनै औपचारिक शोधविधि पाइन्न । यद्यपि यसलाई अनुसन्धान ग्रन्थ मान्न सकिन्छ । यसमा नेपाली उपन्यासको उत्पत्तिस्रोत, तथ्यानवेषण, प्रवृत्तिहरूको रेखाङ्कन गरिएको छ । यसमा नेपाली उपन्यासहरूको परम्परामा कालीक चेतना पहिल्याउनु, प्रवृत्तिगत समस्वर र समचेतना खुट्याएर तिनलाई वर्गीकृत गर्नु, उपन्यासकारको औपन्यासिक प्रवृत्तिहरूको एउटा साझा रूपरेखा पहिल्याउनु आदि जस्ता गुण पाइन्छन् । यसमा सामाजिक यथार्थवादी उपन्यासहरूमाथि निकै गहन रूपमा नालीबेली केलाइएको छ । यो ग्रन्थलाई अन्य उत्तरवर्ती उपन्यास अध्येता र शोधार्थीहरूले मूल रूपमा आधार लिएका छन् । यसमा केही उपन्यासहरूको कथावस्तुगत तथ्यात्मकता, शिल्प, पात्रहरूको चरित्र चित्रणको अङ्कन, औपन्यासिक प्रवृत्तिहरूको रेखाङ्कन, विभिन्न उपन्यासकारका उपन्यासभित्रको तत्त्वान्वेषण, तुलना आदि सबै कुरा पाइन्छन् ।

सैद्धान्तिक विश्लेषणमूलकता- यस ग्रन्थमा लेखकले विश्लेषण विधि अपनाएका छन् । यसमा यथार्थवादी चेतना र त्यसभित्र सामाजिक यथार्थवाद, ऐतिहासिक यथार्थवाद, आदर्शोन्मुख यथार्थवाद, मनोवैज्ञानिक यथार्थवादलाई निकै विस्तृत रूपमा व्याख्या विश्लेषण गरिएको छ । यसमा लेखकीय ज्ञान, अनुभव, शास्त्रअध्ययन, इतिहासचेतना, राजनैतिक चेतना, सामाजिक चेतना, औपन्यासिक शिल्पको परिवर्तनका दिशाहरू, प्रयोगशीलता आदि विषयमा ताथ्यिक विश्लेषण गरिएको छ । उपन्यासभित्रका वस्तु-अन्तर्वस्तु, प्रभाव र प्रवृत्तिको विश्लेषण अध्ययन गर्दा उनी आफैं तार्किक, तत्वमिमांसक, विश्लेषक, निर्णायक भएर विश्लेषण गरेका छन् ।

यसमा यथार्थवादलाई बढी केन्द्रीत रहेर कृति विश्लेषण गरिएको छ । यसमा पनि सामाजिक यथार्थवाद, समाजवादी यथार्थवाद, मनोविश्लेषणवादी यथार्थवादमाथि निकै व्य़ाख्या विश्लेषण गरिएको छ ।

आलोचनात्मक इतिहासको प्रस्तुति- यस ग्रन्थलाई नेपाली उपन्यासको आलोचनात्मक इतिहास ग्रन्थ मान्न सकिन्छ । सय वर्षभन्दा अघिदेखिको नेपाली उपन्यासको उत्पत्ति केलाएर प्रारम्भिक दिनमा जासुसी, अय्यारी, तिलस्मी हुँदै क्रमिक रूपमा सामाजिक यथार्थवाद, ऐतिहिसिक यथार्थवाद, मनोवैज्ञानिक यथार्थवाद, विसंगतिवाद, प्रयोगवादको शृङ्खला केलाउँदै आलोचनात्मक अध्ययन गरिएको छ । यसमा नेपाली उपन्यासको थालनीदेखि क्रमिक विकास. प्रवृत्तिगत धारा शृङ्खला र रूपरेखालाई रेखाङ्कन गरेका छन् । हृदयचन्द्रसिंह प्रधानका स्वास्नीमान्छे र एक चिहान उपन्यासहरूमा पाइने सामाजिक सुधारको चेतना पाइन्छन् । व्यक्ति र समाजलाई कुन कुन तत्वले प्रभावित पार्छ, के कस्तो समस्या आइपर्दछ भन्ने कुराको गहन तत्वान्वेषण गरेका छन् । यसलाई औपन्यासिक प्रवृत्तिगत इतिहासलाई विस्तृत रूपमा अध्ययन गरिएको छ ।

वैचारिकता – यो ग्रन्थ नेपाली औपन्यासिक इतिहास र प्रवृत्ति केलाउने सामान्य किसिमको नभएर वैचारिक मन्थन गरिएको ग्रन्थ हो । यसमा लेखकको विचार. ज्ञान, पठन-अनुभव, आलोचनात्मक दृष्टिकोण, जीवनदर्शन, औपन्यासिक स्वर सन्धान, अनुशीलन आदि जस्ता गुणले युक्त छन् । औपन्यासिक रेखा पहिल्याएर उपन्यासकारको विचारसँगै समालोचक प्रधानको मौलिक विचार पनि प्रस्तुत गरिएको छ । यसमा लेखकले मानव चरित्र, सामाजिक व्यवस्थाबारे आफ्नो वैचारिक अड़ान अभिव्यक्त गरेका छन् । सामाजिक यथार्थवादलाई निकै खिप्ती गरेर त्यसबारे आफ्नो अभिमत समेत व्यक्त गरेका छन् । यसमा

तथ्यपरकता- यस ग्रन्थमा सामाजिक, राजनैतिक, उपन्यासकारको वैयक्तिक, ऐतिहासिक आदिको तथ्य पनि प्रकट गरिएको छ । यसमा कुन वर्षमा कुन उपन्यास प्रकाशित भयो, त्यो उपन्यास लेखनको सामाजिक राजनैतिक आर्थिक ऐतिहासिक पृष्ठभूमि के कस्तो थियो, धेरै उपन्यासभित्र के के कुरा पाइन्छन्, मूल प्रवृत्ति के हो, मूल मूल उपन्यासहरूले के के प्रभाव पारेको थियो भन्ने तथ्यान्वेषण गरिएको छ ।

लेखकपरकता- यसमा रूद्रराज पाण्डे, रूपनारायण सिंह, लैनसिंह बाङ्देल, हृदयचन्द्रसिंह प्रधान, लीलबहादुर छेत्री, गोविन्दबहादुर गोठाले, दौलतविक्रम विष्ट, शङ्कर कोइराला, विजय मल्ल, इन्द्रबहादुर राई, पारिजात, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु र ध्रुवचन्द्र गौतमको औपन्यासिकता, लेखनकला, उनीहरूका प्रत्येक उपन्यासको विश्लेषण र समीक्षा, जीवनदर्शन, उनीहरूले प्रवर्तन गरेका एकेकवटा प्रवृत्ति र औपन्यासिक मोड-उपमोडको रेखाङ्कन, उनीहरूको लेखनको परवर्ती प्रभाव आदिलाई केलाइएको छ  ।

पात्रगत अध्ययन अनुशीलन- यस ग्रन्थमा केही उपन्यासका मुख्य मुख्य पात्र-पात्राहरूको चरित्र-चित्रण, तुलना, घटनाक्रमको भागीदार आदिको पनि अध्ययन प्रस्तुत गरिएको छ । भ्रमरका शेखर, माया र वीणा,   बसाइँको धनबहादुर बस्नेत, अतृप्तको मेघराज, पल्लो घरको झ्यालकी मिसरी, एक पालुवा अनेकौं याम उपन्यासका तारा, कमल, लिचुमैया मञ्जरी, आज रमिता छ उपन्यासका जनक, सीता र एम के, भूदेव, आदि जस्ता पात्रा-पात्राहरूलाई उपन्यासकार बड़ो रूचिका साथ अआध्ययन गरेका छन् ।

तुलनात्मकता- यस ग्रन्थमा आंशिक रूपमा तुलनात्मकता पनि पाइन्छ  । कतिपय उपन्यासहरूको प्रवृत्तिहरू, कथावस्तु, चरित्र आदिको आंशिक रूपमा तुलना पनि गरिएको छ  । केही उपन्यासका मूल मूल सामाजिक व्यवस्था, कथावस्तु, चारित्रिक विशेषता, नारीपात्रहरूको चरित्रगत तुलना गरिएको पाइन्छ  । कथावस्तुको अवधारणा आदिको पनि केही तुलना गरिएको पाइन्छ  । कुनै एउटा वादको आधारमा एउटा उपन्यासको चर्चा गर्दा त्यही सन्दर्भमा अर्को उपन्यासको पनि सँगसँगै तुलना गरिएको हुन्छ  ।

मार्क्सवादी दृष्टिकोण (Marxist Approach) – नेपाली उपन्यास र उपन्यासकार ग्रन्थका आधारमा कृष्णचन्द्रसिंहले यसमा परोक्ष रूपमा मार्क्सवादी दृष्टिकोणबाट व्याख्या विश्लेषण गरिएको छ । यसमा विशेषगरी उपन्यासमा विभिन्न जनपक्षीय धारणाको विश्लेषण, सांस्कृतिक-सामाजिक परिवर्तन, वस्तुनिष्ठ दृष्टिकोण,  सौन्दर्यशास्त्रीय चिन्तन, परिवर्तनाकांक्षी विचारधारा, ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादी आस्था, सामन्ती आदि जस्ता कुरा परोक्ष रूपमा भए पनि परिलक्षित भएको छ । उनले प्रायः प्रत्येक उपन्यासहरूमा प्रगतिवागदी चेतनाको खोजी गरेका छन् । उदाहरणका निम्ति हृदयचन्द्रसिंह प्रधानका स्वास्नीमान्छे र एक चिहान उपन्यासहरूमा रहेको मार्क्सवादी दृष्टिकोणको विश्लेषण र समीक्षामाथि नै शब्द खर्चिएका छन् । आलोचनात्मक यथार्थवादलाई उनले  निकै केन्द्रित रही त्यस प्रवृत्तिका उपन्यासहरूको समीक्षा गरेका छन् ।

यसरी नेपाली उपन्यासको अध्ययन परम्परामा कृष्णचन्द्रसिंह प्रधानको नेपाली उपन्यास र उपन्यास कोसेढुङ्गा हो । यसले नेपाली उपन्यासको अध्ययनको छिपछिपे अवस्थामा लेखकले गहन अध्ययन अनुसन्धान, चिन्तन-मनन गरी एउटा आधिकारिक ग्रन्थ प्रकाशित गरेर नेपाली उपन्यासका अध्येताहरूलाई ठूलो उपकार गरेका छन् ।

प्रस्तुत ग्रन्थ लेखकको साधना र तपस्याको फल हो, अनुभवको सार हो, अध्ययनको निचोड हो, ज्ञानको पराकाष्ठा रूप हो, इतिहासको ऐना हो, अनुसन्धानको साँचो नमूना हो । धेरै कोण प्रतिकोणबाट यो ग्रन्थ बहुपयोगी, ऐतिहासिक, आधारग्रन्थ, सन्दर्भग्रन्थका रूपमा रहेको छ । यसको ऐतिहासिक महत्त्व बोकेको छ । यसकै आधारमा परवर्ती उपन्यास अधध्येताहरूले आधार लिन सक्नेछन् ।