जीवनको बचाइ सापेक्षिक भएको कारणले नै जीवन सापेक्षिक छ। जीवनको यही सापेक्षताले गर्दा जीवनको परिभाषा सिङ्गो रूपमा दिन सकिँदैन। हुन त जीवनको बचाइ अथवा मानव जीवन मानवसित मात्र सम्बन्धित नभएर पशु(प्राणी, वनस्पतिदेखि लिएर पृथ्वीका जल, वायु, माटो अनि पर्यावरणदेखि लिएर ब्रह्माण्डको प्रत्येक वस्तु अनि वस्तुका सूक्ष्म अणु(परमाणुसित सम्बन्धित छ।
त्यति मात्र नभएर भाव अनि अभावसित (निश्चित अनि अनिश्चितसित) पनि सम्बन्धित छ। आजका वर्तमान अवस्था, स्थिति अनि विकाससम्म आइपुग्नु हामी मानव मात्रको कारण होइन। यसकारण आज हामी हरितक्रान्तिदेखि लिएर लोकसंस्कृतिको विषयमा वहस गर्न विवश भइरहेका छौँ।
आज हाम्रो जगतबाट कति पशु/पक्षीहरूदेखि लिएर वनस्पतिहरूसमेत लोप हुँदै गइरहेका छन्। यस्तै स्थिति रहिरह्यो भने हाम्रो पालो पनि चाडै आउनेछ। कारण हाम्रा बचाइ अनि जीवन(संसार सापेक्षिक छन्। आज पर्यावरणवादीहरूले मात्र नभएर विज्ञान, धर्म, संस्कृति र साहित्यले समेत यसलाई समेटेर अघि बढ्ने प्रयास गरिरहेका छन्।
जीवनका आदर्शहरू झन् पूर्णरूपमा सापेक्षिक हुन्छन्। एउटा उल्लेखित अथवा सर्वमान्य आदर्श आफैँमा आदर्श हुन सक्दैन। फेरि नैतिक महत्वहरु नैतिक विशेषताहरूमा आधारित हुन्छन्। मानिसहरूले गरेका नैतिक कर्महरूको नैतिक न्याय हुन सक्छन् तर आदर्शहरू त मात्र औपचारिक (व्युत्पत्तिमूलक) वर्णन हुन्। त्यसलाई व्यावहारिकतामा पूर्ण रूपले मानिलिनुपर्छ भन्ने कुनै अनिवार्यता हुँदैन। त्यसलाई सुझाव, प्रेरणा र संस्कारको रूपमा मात्रै लिन सकिन्छ। त्यसले हाम्रो व्यावहारिक जीवनलाई अनिवार्य अनि निश्चित रूपमा निर्धारितचाहिँ कदाचित गर्दैन।
आदर्शका कुराहरु महत्वपूर्ण हुँदाहुँदै पनि प्रत्येक मानिसले आफ्नो व्यावहारिक जीवनमा एकै प्रकारले लिँदैन। तसर्थ जीवनको एउटै मात्र परिभाषा मूल रूपमा दिन सकिँदैन। बरु जीवनको सापेक्षवादलाई हामी सैद्धान्तिक भौतिक विज्ञानमा पाइने अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्त, वर्नर हाइजनबर्गको अकस्मिताको (अनिश्चितताको) सिद्धान्त अनि जैन दर्शनको ज्ञानमीमांसामा पाइने स्याद्वाद जस्ता सिद्धान्तहरूसित जोड्न सकिन्छ। तर म यहाँ सैद्धान्तिक विज्ञानका सापेक्षावाद अनि अनिश्चिततावादका कुराहरू नराखेर स्याद्वादमाथि संक्षिप्तमा आफ्नो विचार राख्न लागिरहेको छु।
जैन दर्शनको स्याद्वादले वस्तुज्ञान सापेक्षिक छ भन्न खोजेको पाइन्छ। वस्तुज्ञान एकैतालमा झ्वाम्म (सर्वाङ्गीणतामा) प्राप्त गर्न सकिँदैन भन्ने मतलाई स्वीकार गर्दछ। वस्तुज्ञान सधैँ हाम्रा प्रत्यक्षमा निर्भर गर्दछ अनि प्रत्यक्ष (बोधगम्य) चाहिँ हाम्रा ज्ञानेन्द्रियहरू अनि बाहिरी वस्तुहरूमाथि आश्रित हुन्छ। प्रत्यक्ष फेरि व्यक्तिविशेष हुन्छ। प्रत्यक्षको आफ्नै सीमितता पनि हुन्छ। त्यो के हो भन्दा वस्तु(आफैँ(आफमा के हो त्यसको ज्ञान सम्भव हुँदैन । त्यो वस्तुको यथार्थ पनि हो।
वस्तुज्ञान हाम्रा भाषाका निर्णय वचनहरूमा (अथवा वाक्यहरूमा) भर पर्दछ। निर्णय वचनहरूबिना वस्तुज्ञान सम्भव छैन। कारण वस्तुज्ञानको आदन(प्रदान भाषाद्वारा मात्र सम्भव छ । यसरी वस्तुज्ञान हाम्रा अनुभव अनि विवेकमा (बुद्धिमा) निर्भर रहन्छ। तर हाम्रा अनुभव अनि प्रत्यक्षहरू व्यक्तिविशेष हुन्छन्। हाम्रा अनुभवहरू एकै प्रकार अनि स्वरूपका हुँदैनन्। तिनीहरूलाई विवेकबाट प्राप्त प्रत्ययहरू (मौलिक तत्त्वहरू अथवा पदहरू) लगाएर एकरूपता दिने प्रचेष्टा गरिन्छ। कारण (जैन अनुयायीहरूले कुरा गरेका हात्ती र अन्धाहरूका सन्दर्भमा) हात्तीका खुट्टाहरूलाई खाम्बा अनि कानहरूलाई नाङ्लोहरू भनेर हामी हिँड्न सक्दैनौँ। ज्ञानको सम्भावनाको निम्ति पाँच इन्द्रियहरू सलामत अनि क्रियाशील हुनु अति अनिवार्य छ। कुनै पनि एउटा इन्द्रियले काम नगरेमा हामी चपेटमा पर्दछौँ। वस्तुको साँचो ज्ञान प्राप्त गर्न सम्भव हुँदैन।
स्याद्वादले कहिले वस्तुज्ञान असम्भव छ भन्दैन तर सापेक्षिक छ भन्ने कुरा विशेष रूपमा सङ्केत दिएको पाइन्छ। मानवज्ञान मानिसका पाँच ज्ञानेन्द्रियहरूलगायत विवेकमा (बुद्धि अथवा मस्तिष्कमा) निर्भर हुन्छ। मानिसले निर्णय गर्दा वाक्यद्वारा नै गर्ने गर्छ अनि निर्णय मानिसको सोचाइमा निर्भर हुन्छ। हाम्रा निर्णयहरू अथवा प्रस्तावहरू भूल हुन सक्छन् कारण हाम्रा ज्ञानेन्द्रियहरूका पनि कमजोरीहरू हुन्छन्। ज्ञानेन्द्रियहरूले हामीलाई कहिलेकाँही झुक्याउन सक्छन्। मानव ज्ञानको सीमानादेखि माथि उठेर वस्तुज्ञान प्राप्त गर्नलाई असाधारण शक्ति (अलौकिक शक्ति) चाहिन्छ जुन साधारण मानिससित हुँदैन।
वस्तुको निरपेक्ष वा सम्पूर्ण ज्ञान केवल(ज्ञानीहरूसित मात्र हुन्छन् भन्ने जैनहरूका धारणा छ। यसरी जैनवादीहरू ज्ञानमीमांसादेखि अलिक उनै तत्वज्ञानसम्म लम्केको पाइन्छ। त्यसैले मानिसको अनुभवाश्रित ज्ञान व्यक्तिविशेष हुन्छ भन्ने कथन इन्द्रबहादुर राईको ‘खीर’ कथाभित्रका दार्शनिक मूल्यहरूसित पनि मिल्दछ। ज्ञान सापेक्षिक हुन्छ भन्नु नै मानव ज्ञान जहिले पनि सापेक्षिक हुन्छ भन्नु हो। जसरी आइन्सटाइनले ब्रह्माण्डको ज्ञान प्रकाशका स्वरुप अनि रफ्तार, अकस्मिताको सिद्धान्त अनि स्पेशको वक्रत्वसित (कर्भेचरसित) सम्बन्धित हुन्छ भनेका छन्। त्यसरी अनुभवकर्ता अथवा भोगीले एकजना पर्यवेक्षकको रूपमा आफ्नै प्रकारले परिभाषा दिने कोसिस गर्दछ। यही व्यक्तिगत परिभाषाबाट सार्वभौमिक तत्त्वहरू निकालेर सर्वमान्य सिद्धान्तको निर्माण गरिन्छ।
संसार बुझ्नलाई त्यस्ता सिद्धान्तहरू चाहिन्छ। तर कुनै पनि थिअरीलाई अन्तिम थेओरी मान्न सकिँदैन। जतिजति विज्ञान र प्रौद्योगिकीले विकास गर्दै लान्छ उतिउति थेओरी पनि परिस्कृत, परिमार्जित र विकसित हुँदै जान्छन्। जबसम्म हामीले हाम्रो चेतनाको वस्तविक स्वरूपलाई बुझ्न सक्दैनौँ अनि वस्तु(आफैँ(आफमा के हो भन्ने कुरा जान्न सक्दैनौँ तबसम्म हामी यस पृथ्वीमा कसरी आयौँ र हाम्रो सृष्टि कसरी भयो भन्ने प्रश्नहरूका सटीक उत्तरहरू पाउन सक्दैनौँ। हामी सक्षम र सफल भयौँ भने मात्र जीवनको परिभाषालाई सिद्धान्तको रूपमा प्रयोग गर्न सक्नेछौँ। जे होस् व्यक्तिको व्यक्तिगत विशेषता अनि स्वतन्त्रतालाई मेटाउन सकिँदैन। स्याद्वादले कतै नै कतैबाट हाम्रो जीवन, जगत अनि ब्रह्माण्डसित जोडिएका प्रश्नहरूसित जोड्दछ।
मानव जीवन सूक्ष्म ‘भाइरस’देखि लिएर प्रत्येक भौतिक अनि मानसिक वस्तुसित सम्बन्धित छ। जगत र ब्रह्माण्डको प्रत्येक वस्तु अनि घटना सापेक्षिक छ। मानव संसार मात्रै मानवद्वारा होइन साथै हामी मात्रैको पनि होइन। त्यसैले हाम्रो जगतको पर्यावरण प्रणालीमा प्रत्येक पशु(पंक्षीदेखि लिएर अवस्थित अनि अनवस्थितको आ(आफ्नै सापेक्षिक भूमिका छ। अतः मानव जीवन एउटा असीम विशाल मौलिक स्वरूपभित्र सापेक्षिक बचाइको अभिव्यक्ति मात्र हो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।