
भारतीय साहित्य जगतमा नेपाली भाषा-साहित्यको दृष्टिकोणले डा. राजकुमार छेत्री अध्ययनशील, उद्यमी, साधक र संवेदनशील व्यक्तित्वको रूपरेखामा परिलक्षित छन् ।
चियाबारी, अरेञ्ज जिल्ला दार्जीलिङमा जन्मेका छेत्रीज्यू भारतीय नेपाली साहित्य संसारका आधुनिक विचारधाराबाट प्रभावित व्यक्तित्व हुन् । सन् १९८० को दशकदेखि दिग्दर्शनकै रूपमा आजसम्म अनवरत निरन्तर कलम चलाउँदै आएका छन् ।
उहाँका हालसम्म सिर्जनाको समावलोकन, अवलोकन अवबोधन, कृति आलोकन, दृष्टिपथ (४ समालोचनासङ्ग्रह), अक्षरहरूमा संवाद (साहित्यिक अन्तर्वातासङ्ग्रह), पूर्ण राई (मनोग्राफ), शब्दहरूको देशका (कविता-मुक्तकसङ्ग्रह), अक्षरका आयाम (भूमिकासङ्ग्रह) हरू प्रकाशित छन् । सम्पादनको सन्दर्भमा पनि उहाँ उत्तिकै सशक्त र सक्रिय हुनुहुन्छ ।
छेत्रीज्यू समसामयिक शैलीविज्ञान समालोचना अन्तर्गत नवीन भाषा वैज्ञानिक, प्रविधियुक्त संरचनाका स्रष्टा र द्रष्टा हुँदाहुँदै काव्यजगतमा कवितासङ्ग्रह लिएर कविको रूपमा जन्मिनुभएको छ । कविता अन्य विधाहरू झैं शाश्वत विधा हुन् ।
उहाँका कविता ५० जति विविध पत्रपत्रिकामा अघिबाटै प्रकाशित भएका छन् । नेपाली भाषा-साहित्यका हस्ती शिवकुमार राईले ‘कविता लेखन राम्रो छ, कविता निरन्तर लेखिरहनू’- भनी आशीर्वचनसहित प्रेमपूर्वक धाप मारेकोदेखि आजसम्म कविता सिर्जना गरिरहेको भए काव्यजगतमा तिक्खरता, प्रखरता आएर छुट्टै स्थान ग्रहण गरिसक्ने थिए होला, लाग्छ ।
शब्दहरूको देशमा कविता सङ्ग्रहभित्र अभिव्यञ्जित कविताहरूमा वस्तुविन्यास, विषयवस्तु, जनपक्षीय सैद्धान्तिक दिशाबोध, मानवीय मूल्यको खोज, अन्यायप्रति तीव्र आक्रोश, विद्रोहात्मक अभिव्यक्ति, सरलता, रोमान्टिसिज्म, कथ्य शैलीको संश्लिष्ठता, शब्दविन्यास, प्रतीक र भावबिम्बहरू, संवेदनशील अनुभूतिहरू सबै समाविष्ट छन् । कविताहरूले मार्मिक मूलभूत अभीष्टताको बोध उठाएका छन् । यस संग्रहभित्रका सम्पूर्ण कविताहरूको भूमिकालाई दृष्टिगत नगरे पनि केही कविताहरूको मनन-चिन्तन गरौं ।
भारतीय नेपाली-गोर्खा जातिको जनजीवन, अस्मिता, अस्तित्व कर्कलाको पातको पानीसरह घामको रश्मिले सुकिजाने तथा ढलपल ढलपल भई झरिजाने जस्तो देखेर कवि अन्तर्हृदयद्वारा चिन्तित छन् । हरिभक्त कटुवाल, अगमसिंह गिरी, मनप्रसाद सुब्बा, रेमिका थापा, राजा पुनियानी, कविता लामा, जस योञ्जन ‘प्यासी’, असीत राई, विकास गोतामे, डा. लक्खीदेवी सुन्दास, प्रा. लक्ष्मीकान्त शर्मा तथा अक्षुण्ण साहित्य बुद्धिजीवीहरूको संवेदन चिन्तकहरूसरह भारतीय गोर्खा- नेपालीको भारतभित्र एउटा चिनारीको यथोचित सानो भए पनि राज्य हुनुपर्छ भन्ने उनको टेक छ ।
क्षयोन्मुखी अस्तित्वको चिन्तन पराकाष्ठामा पुगेपछि विवशताले बाफिएर छटपटिन्छन् अनि आक्रोशको बादलले ढाकिए पश्चात् विद्रोह गर्न मन लाग्छ । प्रत्येकको हृदयमा सुषुप्त अवस्थामा समाहित रहे पनि भारतीय गोर्खा-नेपाली राजनेताहरू जसले आफूलाई भूमिपुत्र सम्झन्छन् उनीहरू भने अस्तित्व, चिनारी तथा जातीय नैतिक सिद्धान्तलाई एकापट्टि पन्छाएर जातिभन्दा पार्टी ठूलाको सिद्धान्त लिएर अर्थशून्य ताण्डव नृत्य गरेको देखेर कविको अन्तर्हृदय यसरी बोलिपठाउँछ-
माटो बेचुवा नेताहरूको राज छ
तर देश र माटोसित कोही पनि जिस्कनु हुँदैन ।
तर देश र माटोसित कदाचित खेलाइँची गर्नुहुँदैन ।
तर देश र माटोसित कहिले पनि गद्दार गर्नुहुँदैन ।
किनभने
माटो भनेको त आमा हो
माटो भनेको त धरती हो
माटो भनेको त धरती हो
माटोलाई लुट्न खोज्नेहरू
माटोलाई ढाँट्ने र जिस्कनेहरू
माटोको सकेसम्म रस चुसेर
माटोलाई नै बदनाम गर्न चाहनेहरूलाई
जिउँदै जलाएर मारे पनि पाप लाग्दैन
जिउँदै दफन गरे पनि पापबोध हुँदैन ।
(देशको माटोमा म विश्वासहरूको सडक भएर, पृ.६४)
राजनेता, प्रधानअध्यापक तथा कुनै नैसर्गिक बुद्धिजीवीले देश, समाज, आर्थिक अवस्था, व्यवस्था, परिवेश, परिस्थितिलाई परिवर्तन गर्ने क्षमता निहित हुन्छ । उसले देश र समाजलाई विकासको पराकाष्ठामा पुर्याउन सक्छ अथवा विशृङ्खलित र दुर्बोध्य अवस्थामा पुर्याउन सक्छ ।
कुनै देश र समाजका नागरिकहरू अस्तित्वविहीन बनेपश्चात आफू निस्सारता, विसङ्गतिपूर्ण र दुर्बोध्य पाएपछि आफ्नो अस्तित्वका निम्ति स्वार्थरहित, विद्रोहात्मक, हत्यारा, निरङ्कुशतातर्फ अभिमुख बन्न सक्छ । मान्छे मान्छेको प्रवृत्तिदेखि अलग रहेर पशुको प्रवृत्तिसम्म पुग्नसक्छ । ऊ कुमान्छे बन्न सक्छ । आज मान्छेको जनसंख्याको घनत्व समीकरण गर्न नसकिने बोडमासदेखि नाघेर होला अथवा आफ्नो आर्थिक अवस्था बलियो बनाउन हो या विशृङ्खलता सिर्जना गर्नु हो आज समाजको यो परिस्थितिसम्म आइपुगेको छ ।
विसङ्गतियुक्त छ आज समाज ! घरबाट बाहिर निस्केपछि बाँधेको पशुपक्षीसरह प्राण हातमा लिएर भयरहित भई हिँड्नपर्छ । मनुष्य-मनुष्यको प्रवृत्तिदेखि विमुख छन् । विश्वास न्यून बन्न पुगेको छ । ईश्वर तथा प्रकृतिले पशुपक्षी, मान्छे सबै प्राणीहरूको सिर्जना गरे । पशुपक्षी प्रवृत्तिगत आफ्नो यथावत स्थानमा रहे तापनि मान्छे पशुपक्षी र मानवीय गुणले युक्त प्राणी हुन् । कुनै समय परिस्थितिगत दुश्चरित तथा हिंस्रक प्रवृत्तिको बन्न सक्छ अथवा रुवाजस्तो कोमल पनि बन्न सक्छ तर मान्छे विवेकशील प्राणी भएका हुनाले मानवतावादी चिन्तन अथवा शान्ति, प्रेम, स्नेह, मानव तथा पशुपक्षीको सेवातर्फ अभिमुख हुनुपर्ने हो । कोलाहलभित्र मान्छेको बस्तीमा कवि विसङ्गतिपूर्ण परिवेश देखेर आफ्नो मनको अभिव्यञ्जना यसरी पोख्छन्-
यो मान्छेको बस्तीमा
मान्छेहरू मान्छेकै दुर्गति खोजेर हैरान छन्
मान्छेले मान्छै ईर्ष्या पोलेर विचलित छन्
मान्छेहरू मान्छेसितै भयभीत र सन्त्रस्त पनि छन्
मान्छेहरू हिजोआज किन हो
मनमा काँडाका झ्याङ बोकेर हिँड्छन्
अनुहारमा मिथ्या हाँसो बोकेर हिँड्छन्
मान्छेहरू मनको खाटा घाउको कोट्याउन खोज्छन्
तर मान्छेहरू आलो घाउमा मलमपट्टी गर्न खोज्दैनन्
मान्छेत्वविहीन मान्छे मान्छेको बस्तीमा
म मान्छे जस्तो मान्छे खोज्दैछु ।
(विस्थापित मनहरू, पृ. ६२ )
दार्जीलिङ र कालेबुङ जिल्लामा गोर्खाहरू बहुसंख्यामा बसोबासो गर्छन् । अपितु गोर्खाहरूको वेशभूषा, संस्कार-संस्कृति, भाषा-साहित्य बङ्गाली जातिसँग मेल खान नसक्दा पटक पटक आफ्नो अस्तित्व र चिनारीका निम्ति आन्दोलन भएको हो तर बङ्गाल सरकारले आन्दोलनलाई आफ्नो राज्यशक्तिद्वारा दमन गरिदिए । भारत अतिरिक्त विश्वभरि छरिएर बसेका गोर्खाहरू दार्जीलिङवासीसँग आशावादी छन् । तर यहाँ गोर्खे राजनेताहरू उत्तरदायित्वविहीन तथा गैरजिम्मेवारी बनेपछि निरीह गोर्खे सन्ततिको भविष्य, अस्तित्व अनिश्चित, अकर्मण्य, अपहेलित, तहसनहस, पीडादायक बन्न पुगेको छ । यहाँका बासिन्दाहरूको न त जीवनशैलीमा, न त दार्जीलिङ जगतको न विकास, न परिवर्तन हुनसक्यो । यथावत छ परापूर्वकालमा झैं । दार्जीलिङ बिक्री गर्न राखिएको वस्तुतुल्य, विसङ्गति, विकृत, नातावाद कृपावाद बन्न पुगेका हुनाले दार्जीलिङ दुख्दो छ । कवि यथार्थपरक पार्श्व दृष्टिले दृष्टिगत गर्दै गोर्खे सन्ततिप्रति सरकारको मानवीकरणको तादाम्यता हुनपर्ने हो भन्दै आफ्नो भाव यसरी पोख्छन्-
यो दार्जीलिङ अचेल अस्वस्थ छ. बिसञ्चो छ
अचेलभरि यो बिरामी बस्ने अस्पताल मात्र भएको छ
यो दार्जीलिङ बिसञ्चै-बिसञ्चोको पहाड़ हो
यो दार्जीलिङ समयको ज्वालाले भत्भती पोलेको छ
स्वस्थ्यजस्तो देखिने अस्वस्थ्यहरू धाउने डिस्पेन्सरी मात्र हो
अचेल यो दार्जीलिङ ! एउटा ठूलो फार्मेसी मात्र भएको छ ।
(युगको हत्केलामा दार्जीलिङको भाग्यरेखा, पृ. ४२-४३)
म मेरो दार्जीलिङ खोज्दै हिँड्दैछु
प्रत्येक मान्छेको माया र संवेदनामा
म मेरो दार्जीलिङ सोद्धै हिँड्दैछु
हिजोआज म दार्जीलिङभित्र दार्जीलिङ खोज्दैछु ।
(दार्जीलिङभित्र म दार्जीलिङ खोज्दैछु, पृ. ५० )
हिजोआज म दार्जीलिङ मानचित्रमा
म मेरो भविष्यको हस्तरेखा खोज्दैछु
म अचेल दार्जीलिङको मानचित्रमा
इतिहास र भूगोल खोज्ने भएको छु ।
(दार्जीलिङको मानचित्रमा भविष्यको हस्तरेखा खोज्दैछु, पृ. २२)
उपर्युल्लिखित कवितांश या कविताहरूमा आफू जन्मेको-हुर्केको जगत् अधिकांश अन्य जातिहरूलो भन्दा भिन्न र दुर्बोध्य पाएपछि सन्ततिप्रति तथा आफ्नो जगतप्रतिको सम्प्रेषणताले कवि विक्षुप्त छन् । अन्य जातिहरूसरह प्राकृतिक इतिहास र भूगोलको नैतिक खोजीमा छन् । आफ्नो जाति समीरणसरह देख्छन् । प्रत्येक बुद्धिजीवीको प्रश्नको उत्तर समयकालले कुनै समय प्रदान गर्ला भन्ने आशावादी छौं ।
भारत स्वतन्त्रताको समय कति कति शहीद भए तथा स्वतन्त्र संग्राममा भारतीय गोर्खाहरूले भाग लिए समीकरण त हुनुपर्ने हो । कुनै समयकालमा उन्मुक्तिको समाधान होला । प्रथम सर्गमा दार्जीलिङको वस्तुछविको दर्दनाक प्रतिरूप सर्वाङ्ग उदाङ्गो गर्न पनि कवि पछि परेका छैनन् भने दोस्रो र तेस्रो सर्गमा अनुप्राशित लय छन्दमा म, प्रथम पुरूष सर्वनाममा आफू साङ्केतिक प्रतीक भई प्रत्येक गोर्खा सन्ततिको वर्तमान सुषुप्त अवस्था, मानसिकता र अधोगतिको विदीर्ण स्वरूप अङ्कुरित गरेका छन् ।
प्राणी जगत युगौंदेखि प्रेम, स्नेह, मायाको प्रपञ्चमा समाहित छ । भौतिक र समाजको उत्पत्तिको केन्द्रबिन्दु नै प्रेम हुन् । युवास्थामा आइपुग्दा प्रत्येक प्राणीले वात्सल्यमय नैसर्गिकपन र प्राकृतिक उदगार हुन् । युवावस्थाका एक प्रेमी आफूले सहृदयद्वारा मन पराएको आत्मिक प्रेमीसँग अन्तः सम्बन्धको प्रतिपादन गर्न नपाउँदा तथा एकान्तिक भई छटपटिंदा कवि प्रतीकात्मक रूपमा आफ्नो अनुभूति र भावनात्मक साहचर्य यसरी प्रकट गर्छन्-
खै ! यस बतासले पनि मनका अटेस-मटेस कुराहरू
कहीँ टाढ़ोसम्म उड़ाउन नसक्दोरहेछ
खै ! यो भाष्करले पनि हिजोआज
मनका भिजेका लुगाहरू सुकाउन नसक्दो रहेछ
खै ! चन्द्रमाले पनि अचेलभरि
आफ्नो शीतलता न्यानो मायाको क्षितिज देखाउन नसक्दोरहेछ ।
(अक्षरहरूको शहरमा तिम्रो याद आउँछ, पृ. ४७ )
उपयुर्क्त कविता पङ्क्तिमा एक विह्वल कुण्ठाग्रस्त प्रेमी आफ्नो विदीर्ण हृदयबाट प्रतिध्वनित कल्पना, सपना र हृदयका मार्मिक भावनात्मक अभिव्यञ्जनाहरू आफ्नो आत्मिक प्रेमीसम्म प्राकृतिक तत्त्वहरू बतास, भाष्कार र चन्द्रमाले पनि आफ्नो सन्देश पुर्याउन नसक्दा कति क्षुब्ध छन् । आफ्नो जिन्दगी अभिशप्त झैं लाग्छ । आफ्नो प्रेमको लिप्सा दुर्घटनाग्रस्त भएझैं लाग्छ । प्रस्तुत कविता पढिसकेर मनन गर्दा कालिदासको मेघदूत खण्डकाव्यसम्म चिन्तन गर्न पुग्छौं ।
विविध कोणबाट निर्क्योल गर्दा कवि राजकुमार छेत्रीको प्रस्तुत कविता सङ्ग्रह शब्दहरूको देशमा स्वयं झैँ भाषाशैली सरल, सरस, लयात्मक, वात्सल्यमय र सौन्दर्यमय छ । कवि छेत्रीको प्रस्तुत कविताहरूले वरण गरेको उपलब्धि, लक्ष्य, उद्धेश्य तथा आदर्शपन र यथार्थपनले उत्कृष्ट बन्न पुगेको छ । प्रत्येक कविता जीवनजगतसँग समाहित रहेको । प्रस्तुत कविता सङ्ग्रह भारतीय भाषा-साहित्य जगतका एक विशिष्ट उपलब्धि हो भन्दै कवि राजकुमार छेत्रीज्यूलाई साधुवाद टक्राउँदछु ।
अन्त्यमा भाषा-साहित्यका मूर्द्धन्य साधक, विवेचक, शिक्षाविद् आदरणीय प्रा. नरेशचन्द्र खाती, प्रा. निमा निची शेर्पा र श्री सुमन बान्तवाले गहन अध्ययनसहित समीक्षात्मक भूमिका लेखिदिनुभए तापनि थप त्यसमाथि मेरो पाठकीय दृष्टिकोण राख्दा कवि असमञ्जस्यमा नपर्नुपर्ने हो । यो व्यतिक्रम विषय होइन । सागरबाट हिरामोती अथवा धानको बियाँलाई कुटेर असली धानको खोज मात्र हुन् ।
सुकेपोखरी, दार्जीलिङ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

‘द जर्नी अफ होप एण्ड ग्लोबल ह्युमानिटारिनिजम’- विकास मार्गमा काम गर्नेहरूका लागि स्रोत पुस्तक
