कपाल फुलेका, सधैं नम्र र हँसिला डोमिनिकसँग (दल्लु) बारबार भेट भइरहन्थ्यो । ८२ वर्षिय उनी फ्रान्सको राजधानी पेरिस नजिकैको हरियालीले ढाकिएको मनोरम उपत्यका शभ्रोजमा बस्छन् । पेशाले पेरिसको प्रसिद्ध विश्वविद्यालय सर्वोन युनिभर्सिटीका सोसोलोजी विषयका प्रोफेसर र रिटायर्ड वृद्ध ।  एक दिन कसैले उनलाई म नेपालबाट आएको भनेर बताएछ । म नेपाली हुँ भन्ने थाहा पाएपछि उनले मलाई आफ्नो यात्रावृतान्त सुनाउन आफ्नै घरमा निमन्त्रणा गरे । हामी उनको घर पुग्यौं । उनले नेपाल यात्राका करीब छ दर्जन तस्वीरहरू देखाए । यात्रा विवरणात्मक कापी पनि रहेछ उनीसँग जहाँ हरेक दिन कहाँ गइयो र के देखियो उल्लेख गरिएको छ । भेटको शुरूमै भने, “यतिका वर्षपछि मैले यहाँ कुनै नेपाली भेटुँला भन्ने सोचेको थिइनँ । कस्तो भावुक भइयो !”

यति मात्र होइन उनले रातो यात्रा नोटबूक देखाउँदै थपे, “छ दशकपछि यो कापी पल्टाउँदा उ बेलाको नेपाल सरर दिमागमा आइरहेको छ । अहिले त नेपाल मैले देखेको जस्तो त अवश्य छैन । भूगोल उस्तै होला तर शहरीकरण अवश्य नै बढ्यो ।”

त्यो नोट कापीको बीचमा उनले उ बेलाको नेपाली नोट टाँसेर राखेका रहेछन् । पासपोर्टमा नेपालको गृह पञ्चायतले दिएको भिसा रहेछ । अनि टेबुलतिर देखाउँदै भने, “यो भादगाउँ जाँदा बुद्ध धर्मगुरुले दिएको मानेपेमे हो, योभित्र पवित्र मन्त्रहरू छन्, तर के लेखिएको हो, मलाई थाहा छैन ।”

अनि त्यो किताबको तखतामा देखिएको खुकुरी देखाउँदै भने, “यो काठमाडौं दरबार स्क्वायरमा किनिएको, जहाँ जीवित देवी कुमारीको घर रहेछ।”

 

उनको घरको भित्तामा तालिबानहरूले नष्ट गरेको अफगानिस्तानको सबैभन्दा अग्लो बुद्ध मूर्ति पनि सजिएको छ । जुन वेला उनी घुम्न गएका थिए, त्यो मूर्तिमा क्षति त देखिन्थ्यो तर अहिलेझैं क्षतविक्षत थिएन ।

उनकोमा जाँदैगर्दा मैले सानो काँसको फूलदानी लगिदिएकी थिएँ । त्यसमा एउटा मात्र फूलको थुँगा अटाउँछ । त्यसलाई उचाल्दै उनले भने, “तिम्रो देशका सम्झनाहरू मेरो कोठामा छन्, अब यसमा यो पनि थपियो । पर्यटन व्यवसाय प्रवर्द्धन गर्नेहरूले नेपाल भनेको देवता बस्ने देश हो भन्थे उ बेलामा । त्यही देवता बस्ने देशबाट तिमीले देवताको नाममा दियो बाल्न मिल्ने र फूल राख्न मिल्ने फूलदानी ल्याइदियौ, म झन् भावुक भएँ ।”

अनि उनका तस्वीरहरू ड्यापोमा हेर्दै गर्दा नाङ्गै गोडाका नेपाली सानासाना नानीहरूले पनि धोती पहिरिनु पर्ने बाध्यता, पोखरामा गाइनेहरूको उपस्थिति फेवाताल वरपरका कञ्चन र हरिया पहाडहरू, अनि काठमाडौं उपत्यकाको ईंटा संस्कृतिले आफैलाई पनि म त्यस्तो देशको बासिन्दा पो थिएँ भन्ने अनुभूती गरायो ।

त्यसपछि हाम्रो कुराकानी शुरू भयो । उनले यसरी आफ्नो यात्रावृत्तान्त सुनाए, जसलाई मैले छोट्याएर यहाँ राखेकी छु ।

म जवान हुँदा यात्रा गर्ने शौख थियो । नेपाल जानुभन्दा पहिले मैले अफगानिस्तान घुमेको थिएँ । यो सन् १९६६ तिरको कुरा हो । एसियाको धार्मिक र सांस्कृतिक सभ्यताले मलाई स्वाभाविक रूपमा आकर्षित गर्‍यो ।

त्यही बेला नेपालबाट राजा महेन्द्र पेरिस भ्रमणमा आउनुभएको थियो । फ्रान्सेली राष्ट्रपति शार्ल दे गोलको निमन्त्रणामा उहाँ पेरिस आउनुभएको थियो । त्यतिबेला फ्रान्सका लागि नेपाल अत्यन्तै महत्त्वपूर्ण देश मानिन्थ्यो, भू-राजनीतिक बनोटको कारणले । दक्षिणमा भारत, उत्तरमा तिब्बत अनि चीन । भौगोलिक हिसाबले हेर्दा फ्रान्समा आल्प्स पर्वत छ भने नेपालमा हिमालय । नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापनाको शुरूवाती चरणमै राजा महेन्द्रले ल्याउनुभएका नेपाली हस्तकलाका सामग्रीहरू पेरिसको म्युसे गिमेमा प्रदर्शन गरियो । म सम्झन्छु, उहाँको भ्रमणलाई फ्रान्सेलीहरूले निकै रुचिका साथ स्वागत गरेका थिए । नेपाल नामसँगै एउटा विशेष आकर्षण अनुभव हुन्थ्यो । अन्नपूर्ण हिमालको नाम त सबैले सुनेकै थिए ।

 

मनमा थियो—यस्तो अनुपम देश जानैपर्छ, जहाँ आधुनिकताको छाया पनि परेको छैन ।

सन् १९६८ मा पेरिसको सर्भोन विश्वविद्यालयमा विद्यार्थीद्वारा शिक्षामा आधुनिकीकरण र विश्वविद्यालयहरूको स्वायत्तता माग गर्दै ठूलो आन्दोलन भयो । म पनि सोही विश्वविद्यालयको विद्यार्थी थिएँ । प्रहरीले सर्वत्र सुरक्षा बारिकेड राख्न थाल्यो । आन्दोलनमा युवा कामदारहरूको पनि समर्थन जोडिंदै गएपछि स्थिति चर्किंदै गयो र हिंसात्मक रूप लिन थाल्यो ।

त्यही अवसर पारेर म र मेरो साथीले नेपाल जाने योजना बनायौं । हामीसँग यात्रा गर्न प्रशस्त पैसा थिएन । जहाँ पुगिन्थ्यो, त्यहीं अँगुला उठाएर ‘हाम्रो गन्तव्य त्यता हो लगिदेऊ न’ भन्दै अघि बढ्थ्यौं । हामी विद्यार्थी थियौं—सीमित खर्चमा घुम्ने रहरले निस्किएका ।

त्यतिबेला पेरिसबाट नेपाल सिधा उडान थिएन । पेरिस–कायरो–बम्बई हुँदै बनारस, त्यसपछि भारत–नेपाल सीमाको पटना र अन्ततः काठमाडौं पुगियो । यसबीचमा पनि उडानहरू प्रायः प्रभावित हुन्थे । सन् १९५६ मा स्वेज नहरमाथि इजिप्टले पूर्ण नियन्त्रण गरेपछि उत्पन्न संकटले उडानहरू अस्तव्यस्त पार्थ्यो । हामी पनि एक दिन कायरोमा जहाज उड्छ कि उड्दैन भनेर डराउँदै बस्यौ तर अन्ततः जहाज उड्यो ।

सबै यात्रा उत्सुकताले भरिएका थिए । तर बनारस पुगेपछि देखिएको दृश्य भने मन कुँडाउने खालको थियो—दुःखी, अपाङ्ग, माग्नेहरूको भीड, मौन पीडाको स्वीकारोक्ति देखिन्थ्यो । जीवन यस्तै हो भन्ने निराशाजनक वातावरण थियो । एकदम उकुसमुकुस लाग्ने ।

तर काठमाडौं आइपुग्नेबित्तिकै सबै कुरामा परिवर्तन देखियो । उज्याला अनुहारहरू, संगीत, हाँसोले गुञ्जिएका सडकहरू । (जात्राको समय रहेछ—गाईजात्रा । उनले देखाएको एउटा फोटोमा त्यो क्षण कैद गरिएको रहेछ ।)

काठमाडौं दरबार स्क्वायरमा जीवित देवी कुमारी रहिछन् । पालकीमा बोकेर डुलाइएको थियो, तर अनुहार हेर्न पाइएन । तर पनि म अचम्मित भएँ—यस्तो वातावरण, यस्तो श्रद्धा । यस्तो माहौल । कालो छायामाथि प्रकाश परे झैं लाग्यो त्यो यात्रा त ।

मैले पाँचै महादेश घुमें । तर केही पटना देखि काठमाडौंको केही घण्टाको बस यात्राकै बीचमा  यति गहिरो सांस्कृतिक भिन्नता भने मैले अरू कतै देखिनँ । यो मेरो लागि एक सकारात्मक संस्कृति–झट्का थियो ।

हाम्रो फ्रान्समा पनि फ्रान्सलाई प्रतिनिधित्व गर्ने एक महिला प्रतीक छन्, जसको नाम ‘मारियाम’ हो । उनी गणतन्त्रात्मक फ्रान्सलाई र यो देशका नागरिकलाई एकताबद्ध राख्ने प्रतीकात्मक आमा मानिन्छिन् । प्रत्येक नगरपालिकामा उनी कलाकृति स्वरूप विराजमान छिन् । यद्यपि उनी जीवित छैनन्, नेपालमा भने जीवित देवी कुमारी हुनुहुन्छ ।

नेपालमा महिला शक्तिलाई पूजा गरिन्छ, सम्मान गरिन्छ । यद्यपि जीवित देवी धार्मिक परम्परा र संस्कार अनुसार चयन गरिन्छिन्, तर मलाई लाग्छ नेपालको प्रतीकात्मक पहिचान तिनै जीवित देवी नै हुन् । फ्रान्समा जसरी ‘मारियाम’ राष्ट्रिय पहिचानको रूपमा स्थापित छिन्, त्यस्तै नेपालको सांस्कृतिक आत्मा जीवित देवीमै अभिव्यक्त हुन्छ । धार्मिक सहिष्णुताको दृष्टिले पनि नेपाल अद्वितीय देश हो, जहाँ हिन्दू र बौद्धहरू एउटै थलोमा समान श्रद्धा व्यक्त गर्छन् । एउटै मन्दिरमा दुई धर्मका अनुयायीहरू पूजापाठ गर्न पाउँछन् । यो नेपालले विश्वलाई दिनसक्ने अनुपम पाठ हो—धार्मिक सहिष्णुता र सांस्कृतिक सहअस्तित्वको जुन अहिलेको समयमा उति नै महत्त्वपूर्ण छ ।

त्यो यात्रामा मलाई सबैभन्दा बहुमूल्य स्मृति प्राप्त भयो, जब हामी ट्याक्सी लिएर भादगाउँ (नयाँ नाउँ भक्तपुर) जाँदै थियौं । बाटोमा एकजना बुद्ध भिक्षु असिनपसिन हिंडिरहनु भएको थियो । उहाँको हातमा प्रार्थना चक्र थियो । हामीले उहाँलाई साथमा लिएर भादगाउँ पुर्यायौं । छुटिने वेला उहाँले निकै हर्षित हुँदै मलाई यही ‘मानेपेमे’ दिनुभयो जुन टेबुलमा विरासत छ । यसमा मन्त्रहरू पनि छन्, बेरिएर राखिएको छ तर तर कुन–कुन मन्त्र छन् मलाई थाहा छैन तर पवित्र छन् भन्ने विश्वास छ ।

त्यतिबेला काठमाडौं, भक्तपुर र पाटनका वरिपरि धानका खेतहरू लहलह थिए । बीचमा बागमती नदी थियो । खेतको छेउछाउमा खनिएका आलीहरू भन्नु नै कच्ची बाटाहरू थिए, जहाँ साइकल लिएर हिंड्न पाइन्थ्यो । साइकल भाडामा पाइन्थ्यो । ईंटाका कलात्मक घरहरूले ती शहरहरू भव्य देखिन्थे । साँच्चै भन्नुपर्दा ती शहरहरू कलाका अनुपम नमूना थिए । मन्दिरका टुँडालहरूमा अत्यन्तै आकर्षक बुट्टाहरू कुदिएका रहेछन् । शिखर शैलीका मन्दिरहरू खूब राम्रा !

काठमाडौं, भक्तपुर र पाटन घुमेपछि हामी अन्नपूर्ण उपत्यका अर्थात् पोखरा गयौं । त्यतिबेला काठमाडौं–पोखरा उडान दैनिक थिएन, हप्तामा दुई–तीन पटक मात्र हुन्थ्यो । ‘डाकोटा DC–3’ मोडेलका जहाजहरू प्रयोग गरिन्थ्यो, जुन युद्धका वेला सैनिकहरू ओसार्ने सानासाना जहाजहरू थिए । मैले सुनेको थिएँ- अमेरिकाले भियतनाम युद्धमा यिनै मोडेल प्रयोग गरेको थियो । त्यही मोडेलका जहाजहरू नेपालमा ‘रोयल नेपाल एयरलाइन्स कर्पोरेशन’ अन्तर्गत प्रयोग हुन्थे । पाइलोट पछाडि झोलाहरूलाई डोरीले बाँधिन्थ्यो र यात्रुहरू पछाडि सीटमा बस्थे । पछि यही ‘कर्पोरेशन’ शब्द हटाएर ‘रोयल नेपाल एयरलाइन्स’  बनाइयो ।

हामीले त्यही जहाजमा यात्रा गर्ने अवसर पायौं । जब पोखराको आकाशमा उड्दै थियौं, पाइलटले अंग्रेजीमा भने- “हवाई पट्टीमा चौँरीहरू चरिरहेका छन् ।” उनले केही फन्का मारेर जहाज घुमाए अनि तिनीहरू तितरबितर भएपछि जहाज अवतरण भयो । (ती चौँरी तिब्बती शरणार्थीहरूले ल्याएका थिए कि, वा बोक्ने प्रयोजनका थिए या उनी झुक्किएका थिए —त्यो भने अन्तर्वार्तामा खुल्दैन । उनलाई चाहिं ती चौँरीहरू हुन् भनिएको थियो ।) तर त्यो दृश्य  हामीलाई एकदमै अनौठो लाग्यो किनभने फ्रान्समा हामीले यस्तो कहिल्यै देखेका थिएनौं ।

त्यस समयको पोखरा साँच्चै स्वर्गजस्तै लाग्यो—चारैतिर हरियाली, लहलह धानका बाली, उत्तरतिर अन्नपूर्ण हिमशृङ्खला । हामी नौ डाँडा उक्लियौं र सूर्योदय हेर्यौं । डाँडापाखाहरू हरिया, शान्त थिए । तालको बीचमा रहेको टापुमा मन्दिर तालबराही रहेछ- हामी डुङ्गा लिएर त्यहाँ पनि गयौं ।

भोलिपल्ट सराङकोट हुँदै नौ डाँडाको पदयात्रा शुरू गर्यौं । बाटोभरि अत्यन्तै नम्र र दयालु स्थानीय किसानहरू भेटिए । भर्खरै तिब्बतबाट झरेका तिब्बती शरणार्थीहरूको बस्ती देख्यौं । हामीले एक रात उनीहरूको घरमै बिताउने भनेर बास माग्यौं र उनीहरूले बास दिए अनि स्थानीय खाना खायौं ।

त्यो यात्रापछि हामी पेरिस फर्कियौं । नेपाल स्वर्ग जस्तै लाग्यो—देवताको देश, सगरमाथाको देश, हिमालयको देश ! जहाँ आठ हजार मिटरभन्दा अग्ला आठभन्दा बढी हिमाल छन्, जहाँ जीवित देवी छन्, जहाँ धार्मिक सहिष्णुता उच्चतम स्तरमा छ, जहाँ मानिसहरू हँसिला र खुशी छन्, निराशा देखिँदैन । (यो कुरा ६ दशक पुरानो हो, नझुक्किनुहोला !)

मैले ती सबै अनुभवहरू आफ्ना छोराछोरी, नातिनातिनीलाई सुनाएँ । अहिले त पनातिपनातिना पनि हुर्किंदै छन् । मेरो घुम्ने शौख परिवारकै परम्परा हो । अहिले त्यो ‘भ्रमण–विरासत’ मेरा छोराछोरी हुँदै नातिनी एमिलीमा सरेको छ । यनि एमिली पनि नेपाल गएकी थिइन् । २०१५ को विनाशकारी भूकम्पपछि भत्किएको एउटा विद्यालय पुनर्निर्माणमा श्रमदान गरेर फर्किएकी हुन् । उनमा पनि नेपालप्रतिको आकर्षण झल्किन्छ । यसरी नेपाल भन्नु हाम्रो परिवारको भ्रमणको देश पनि बनेको छ जुन हाम्रो आत्मामा विराजमान छ ।

पेरिस फ्रान्स