बेलायतको गगनचुम्बी भवनमध्ये सबैभन्दा अग्लो मानिने टावरको मुख्य स्वामित्व कतार सरकारको हातमा छ भन्ने कुरा निकै चाखलाग्दो छ । यूरोपमै सातौं स्थानमा उचाइ पाएको यो भव्य संरचना ३ सय १० मिटर अर्थात् १ हजार १६ फीट अग्लो छ, जसले लन्डनको आकाशमै मानौं आफैँ एउटा इतिहास रचेको छ । यसको सरकारी नाम ‘द शार्ड’लाई ‘द गार्ड अफ ग्लास’ वा ‘शार्ड लन्डन ब्रिज’ पनि भनिन्छ । सन् २००९ को मार्चमा निर्माण शुरू गरी ठीक तीन वर्षमा तयार भएको शार्डको औपचारिक उद्घाटन भने ५ जुलाई २०१२ मा भएको थियो ।

प्रख्यात आर्किटेक्ट रेन्जो पियानोले डिजाइन गरेको यो भवन ९५ तल्ला भए पनि ७२ तल्ला मात्र प्रयोगमा ल्याउन मिल्ने खालको छ । सेलार प्रोपर्टी ग्रुपको सक्रियतामा निर्मित यस भवनमा उनीहरूको भने पाँच प्रतिशत मात्र स्वामित्व रहेको छ । यो भवन करीब ४ सय ३५ मिलियन पाउन्ड झन्डै नेपाली साँढे ७७ अर्ब लागतमा निर्माण भएको थियो । यस भवनको परिचयात्मक चिह्न फ्याउरो राखिएको छ । फ्याउरोका ससाना मूर्तिहरू त्यहाँको उपहार बेच्ने पसलमा निकै बिक्री हुने गर्दछ । यसको प्रसङ्ग पनि रमाइलो खालको छ । भवन निर्माण भइरहेको बेला सन् २०११ तिर ७२ औं तल्लामा एउटा फ्याउरो फेला परेको थियो । काम गर्नेहरूले फालेका खानाहरू खाँदै त्यो फ्याउरो त्यति माथि पुगेको अनुमान गरिएको छ । जसले उसलाई देखेको थियो उसले फ्याउरोको नाम रोमियो राखेका रहेछन् । स्थानीय काउन्सिलले झन्डै दुई हप्ता लगाएर रोमियोलाई सकुशल समातेर नजिकैको बर्मदाइस सडकमा छाडेका रहेछन् ।

हामीले बेलायतमा १८ वर्ष क्याटरिङ व्यवसाय गर्‍यौँ । सन् २०१६ को जनवरीमा रेष्टरेन्ट बन्द गरेपछि धेरै फुर्सद मिल्यो । त्यसअघि पनि विशेष अवसरहरूमा विदेश घुम्न जान्थ्यौं । हाम्रा छिमेकी राजु श्रेष्ठको परिवारसँग हामी धेरै बाहिर जान्थ्यौं । उहाँकी कान्छी छोरी र मेरी छोरी एकै उमेरकी भएकाले हामी दुई परिवार सँगै जाने गर्थ्यौं । त्यही वर्ष मेरी श्रीमती मीनुको जन्मदिनमा ‘द शार्ड’ जाने योजना बन्यो । त्यो दिन धेरै रमाइलो भयो । अरू दिनमा भने कतै बाहिर जाँदा पनि मनमा सधैं रेष्टरेन्टकै चिन्ता हुन्थ्यो । ‘के हुँदै होला ?’ भन्ने सोचले पछ्याइरहन्थ्यो ।

यस पटक मेरो जन्मदिनमा मलाई आश्चर्य पार्दै उक्त रेस्टुरेन्टमा बुकिङ गरिएको थियो । तर म काममा जाने निधो गरिसकेकाले कार्यक्रम रद्द भयो । पछि ससुरालाई लन्डन घुमाउन लैजाँदा फेरि बुकिङ भयो । मलाई केही शंका लागेको थियो, तर मीनुलाई थाहा नै थिएन । पहिले जाँदा औपचारिक पोशाकमा गएका थियौं, यस पटक साधारण लुगामा गएकाले उनलाई विश्वास नै लागेन । अघिल्लो पटक ‘अक्वा’ रेस्टुरेन्टमा गएका थियौं, यस पटक ३२ औँ तल्लाको ‘ओब्लिक्स’ मा गयौं ।

‘शार्ड’ भन्नाले पुरानो अंग्रेजी शब्द ‘स्कियरेन’ (काट्नु) हो । यो शब्द जर्मनमा ‘स्याव’ (भाँच्नु) पनि भनिन्छ । अंग्रेजीमा तरबारलाई ‘सर्ड’ भनिन्छ, जसले यस भवनको नामको पृष्ठभूमि बुझ्न सजिलो छ । शार्ड भनेको कुनै फुटेको सिरामिक, धातु वा सीसाको धारिलो टुक्रा हो । यो भवन पनि चारैतिर धारिलो देखिन्छ । यसमा ११ हजार सीसा प्यानल प्रयोग गरिएको छ, जसले २६ हजार वर्गमिटर (८ फुटबल मैदान बराबर) क्षेत्र ढाकेको छ । यहाँ ४४ लिफ्ट छन् ।

लन्डनका अन्य दृश्यावलोकन टावरहरूभन्दा दोब्बर अग्लो यस भवनको ६८, ६९, र ७२ औँ तला सर्वसाधारणका लागि खुला छन् । भुइँतलाबाट ६८ औँ तलासम्म ६० सेकेन्डमा पुगिन्छ । त्यहाँबाट लन्डनको ४० माइल सम्मको दृश्य देखिन्छ । ७२ औँ तल्लामा खुला आकाशमुनि खडा हुन सकिन्छ । यहाँको अनुभव शब्दमा वर्णन गर्न गाह्रो छ ।

दृश्यावलोकन, त्यहाँ भित्र हुने विभिन्न कार्यक्रमहरूको आधारमा समयको सूचना दिने गर्दछ । प्रायः जसो शनिवार बिहान १० बजेदेखि राती १० बजेसम्म र अरू दिन दिउँसो एक बजेदेखि बेलुकी नौ बजेसम्म खुल्ने गर्दछ । तर कुनै कुनै दिन सुरक्षाको कारण भवनभित्र एकै समयमा ९ हजार ५ सय भन्दा बढी मानिस अनुमति नभएकोले फरक समय हुन पुग्छ ।

 

यसको प्रवेश शुल्क चाहिं तीन वर्ष भन्दा माथिको लागि सामान्य दृश्यावलोकनको लागि २८.५० र विशेषको लागि ४५ पाउन्डसम्म छ । सामान्यमा चार वटा डिजिटल फोटो तथा विशेषमा एक ग्लास स्याम्पीयन, त्यहाँको पसलमा खर्च गर्ने १० पाउन्डको भौचर अनि फोटो खिच्न पाइन्छ । १० जना भन्दा बढीको समूह भयो भने विशेष छुट पाइन्छ । कथमकदाचित आफू गएको दिन मौसम बिग्रेको कारण लन्डन आई, वाकिटाकी भवन, टावर व्रिज, क्यानन स्कवायर, सेन्ट पोल क्याथिडरल  मध्य कुनै तीन स्थान देख्न सकिएन भने त्यही टिकटले तीन महिना भित्र पुनः प्रवेश गर्न सक्ने ग्यारेन्टी पनि दिएको छ । टिकट लिएर प्रवेश गरेपछि बन्द नभएसम्म बस्छु भन्न पनि सकिने र अन्तिम प्रवेश चाहिं बन्द हुनुभन्दा एक घण्टा अगाडि नै भैसक्नु पर्ने हुन्छ ।

चौविस तल्ले साउथवाल्क टावरलाई आधुनिकीकरण गर्ने योजनामा सन् १९९८ मा ‘द शार्ड’को नामकरण भएको हो । जिविस  परिवारका फेसन डिजाइनर आएरभिन्  सेलर र उनको साझेदारद्वारा स्थापित कम्पनीले  यो कामलाइ अगाडी बढाए । सेलर सन् २ हजारमा नामुद आर्कीटेक्चर रेन्जो पियानोलाई भेट्न जर्मन पुगेका थिए । यो भवन बनाउने सल्लाह एक रेष्टरेन्टको टेबलमा भएको हो । त्यहीको न्याप्किनमा खाका कोरेका र पछि न्याप्कीन कचाककुचुक पारेर फाल्दा यस्तो आकृति बनेकोले त्यही अनुसार भवनको डिजाइन तयार गरे ।

भवन निर्माणका लागि स्वीकृति माग्दै आवेदन दिएपछि कमिशन फर आर्किटेक्चर, इङ्लिश हेरीटेज लगायतका थुप्रै संघ–संस्थाले विरोध जनाए, जसका कारण योजना लामो समयसम्म अलमलमा पर्‍यो । अन्ततः तत्कालीन उपप्रधानमन्त्री जोन प्रेसकटले सन् २००३ को नोभेम्बरमा उक्त योजना स्वीकृत भएको घोषणा गरे ।

पुरानो भवनमा रहेका अफिसहरू सार्न तथा लिज किन्न आवश्यक आर्थिक बन्दोबस्त भएपछि सेप्टेम्बर २००७ मा पुरानो भवन भत्काउने कार्य शुरू गरियो । तर त्यही समयमा आएको आर्थिक मन्दीका कारण निर्माण कार्य अघि बढ्न केही ढिलो भयो ।

एक वर्षपछि, सन् २००८ को नोभेम्बरमा, योजना सम्पन्न गर्नका लागि अधिकतम ३५० मिलियन पाउन्डको लागतमा मेस  कम्पनीलाई ठेक्का दिइयो। भवन भत्काउने कार्य सकिएपछि सन् ২০০९ को मार्चमा नयाँ भवन निर्माण कार्य शुरू भयो । कुल लागत अनुमानित लागतभन्दा ८६ मिलियन पाउन्ड बढी खर्च भई सम्पन्न भयो ।

भवन पूर्ण रूपमा निर्माण भएपछि, यसमा २६ तल्लामा ३२ वटा अफिस, ३ वटा रेस्टुरेन्ट, ५ तारे सांग्रिला होटल, १० वटा आवासीय फ्ल्याट तथा सर्वसाधारणका लागि सशुल्क दृश्यावलोकनको लागि छुट्याइएका ३ तल्ला रहेका छन् । भवनको ५२ औँ तल्लामा रहेको  ‘स्काई पुल’ पश्चिम युरोपको सबैभन्दा अग्लो स्विमिङ पुल मानिन्छ ।

भवनमा रहेका तीन वटा रेस्टुरेन्ट क्रमशः ३१ औँ, ३२ औँ र ३३ औँ तल्लामा रहेका छन् । यी सबै रेस्टुरेन्ट ‘अक्वा ग्रुप’ अन्तर्गत पर्दछन्, जसका संस्थापक डेभिड येओ हुन् । कानूनमा स्नातक गरेका उनले सिंगापुरमा जन्म लिएर सन् २००० देखि हङकङमा रेस्टुरेन्ट व्यवसाय थालेका थिए । आज उनी ‘अक्वा म्यान’ का नामले पनि चिनिन्छन्, र उनको अक्वा ग्रुपले लन्डन, दुबई, र न्यूयोर्क लगायतका शहरहरूमा २५ भन्दा बढी रेस्टुरेन्टहरू सञ्चालन गरिरहेको छ ।

हामी यस पटक गएको ओब्लीक्स चाहिं प्रख्यात सेफ रेनर बेकरको हो । उनी पनि अन्तर्राष्ट्रिय रेष्टरेन्ट चेन ‘जुमा एन्ड रोका’का सहसंचालक हुन् । न्यूयोर्क स्टायलको ग्रील खानामा बढी केन्द्रित यहाँको मेनुमा बेलायती र यूरोपियन खाना पाइन्छ । गजबको संयोग हाम्रो टेबलको जिम्मा पाएका मध्ये एक जना हाम्रो फोटो खिचिदिने भाइ नेपाली रहेछन् भरखर दुई हप्ता भएछ यहाँ काम थालेको । नेपालबाट आएको चाहिं तीन वर्ष भएछ । एक महिला र अर्को पुरुष नेपाली पनि भान्सामा काम गर्ने रहेछन् तर त्यो दिन बिदामा रहेछन् । यहाँको रेस्टुरेन्टहरूमा जान अग्रिम बुकिङ गर्न अनिवार्य छ । अन्यत्र भन्दा अलि बढी खर्च गर्न परे पनि यहाँको जस्तो अनुभव भने अर्को ठाउँमा पाउन सकिंदैन ।

शार्डका डिजाइनर रेन्जो पियानो इटालीको माथिल्लो सदन (सेन्ट) का आजीवन सांसद हुन् । सन् २०१० मा तत्कालीन राष्ट्रपति जर्जियो नापोलिटानोले उनलाई यस पदमा मनोनीत गरेका थिए – इटालीमा विशिष्ट प्रतिभाहरूलाई यसरी सम्मानित गर्ने चलन छ ।

पियानोले आफ्नो करियरमा धेरै उल्लेखनीय परियोजनाहरू सम्पन्न गरिसकेका छन् :

  • लन्डनको सेण्ट्रल सेण्ट गाइल्स (८ वर्षको निर्माणपछि २०१० मा पूरा)
  • माल्टाको संसद भवन
  • न्यूयोर्कको व्हिट्नी म्युजियम अफ अमेरिकन आर्ट
  • नर्वेको आस्ट्रप म्युजियम अफ मोडर्न आर्ट
  • जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल
  • न्यूयोर्क टाइम्स भवन

पियानोले आर्किटेक्चरको नोबेल पुरस्कार मानिने प्रित्जकर पुरस्कार १९९८ मा प्राप्त गरेका थिए । सन् २००६ मा टाइम पत्रिकाले उनलाई विश्वका १०० प्रभावशाली व्यक्तिहरूमा सूचीबद्ध गरेको थियो । उनको कार्यलाई सम्मान गर्दै बोस्निया हर्जेगोविनाले उनलाई मानार्थ नागरिकता प्रदान गरेको थियो । सान फ्रान्सिस्कोमा ३ सय २६ मिटर अग्लो ‘रेन्जो पियानो टावर’ उनको नाममा राखिएको छ ।

विश्वभर राजधानीहरूमा अग्ला टावरहरू बनाउने चलन छ । नेपालमा सन् १८३२ मा भीमसेन थापाले ७२ मिटर (२ सय ३६ फिट) अग्लो धरहरा बनाउने योजना बनाएका थिए । त्यस समयको गोलाकार धरहरा र आजको शार्डबीच तुलना गर्दा, शार्डलाई हामी लन्डनको ‘धारिलो धरहरा’ भन्न सक्छौं ।