
म अहिले नेपाली मातृभाषी परदेशी हुँ । देश छोडेको एक दशक हुन लागेछ । आमाको सपना र आशाको त्यान्द्रो पूरा गर्न विदेशिएको हुँ । विदेशमै जिन्दगीभर बिताउने योजना भने ममा छैन । देश फर्कने सपना बनाउँदै विदेशिएको हुँ । हामी दुई देश बाँडिए पनि मेरो मन आमामा, आमाको मन ममा हुने गर्छ । सात समुद्र टाढिए पनि धन्य, सम्पर्कको सेतु इन्टरनेट छ र आमाछोरा बीच सम्पर्क भइरहन्छ । मनका पोकाहरू एकापसमा पोख्न पाइन्छ । कहिलेकाहीँ नबोलीकनै पनि भिडियोमा हेराहेर गरेर एकर्काका दुःख पीडा साटिरहेका हुन्छौं । कहिले आमाको आँसुसँग, कहिले अनुहारसँग र कहिले ओठसँग संवाद हुन्छन् ।
पीड छाइरहन्छ, आफैलाई प्रश्न गरिरहन्छु – एउटै छानामुनि कहिले हुने हो, एउटै किचन कहिले बन्ने होला, आमाको माया मिसिएको त्यो मीठो खानेकुरा कहिले खाने होला !
यो वर्ष त हुन्छ कि भन्यो, तर के ले नपुगेको हो खै, हिसाब गर्दा माइनस कै माइनस हुन्छ । सधैं ऋणको ऋण । बैंकमा व्याज तिर्न मात्र ठीक्क । सावा जत्तिको तत्ति । देश फर्कूँ कतै रोजगारीको अवसर छैनन् । विदेशमा भविष्यको सुरक्षा नभए पनि आजको दिनसम्म त भोकभोकै मर्ने अवस्था छैन । यहाँ पसिनाको उचित मूल्य नपाए पनि बेच्न त पाइएको छ । आफ्नो देशमा त पसिनाकै कारोबार हुँदैन र पो दुःख लाग्छ ।
यति सोच्दासोच्दै झल्याँस याद आउँछ । आज आमालाई फोन गर्ने दिन ! जहिले पायो त्यहिले आमालाई फोन गर्न नमिल्ने । उता रात पर्दा यता दिन, यता दिन हुँदा उता रात, शायद आमाले कतिखेर छोराको फोन आउँछ भनेर मोबाइल फूल चार्ज गरेर बस्नु भएको छ होला ।
अहिले उता रातको सात बज्यो, यता बिहानको नौ । म्यासेन्जरमा आमालाई कल गरें । आमाको मोबाइलमा टिङ्टिङ् घण्टी गयो । आमाले फोन उठाउनु भयो ।
मैले “हेलो आमा, दर्शन ! सन्चै हुनुहुन्छ ? तपाईंको खबर के छ अनि हेल्थ कस्तो छ ? आजभोलिको खास खबर के छ नि ?” भनेर प्रश्नको भारी बिसाएँ ।
आमा आफ्ना दिनभरिका गतिविधिहरू यसरी सुनाउनुभयो, “आशीर्वाद बाबू ! के हुनु थियो, उही र उस्तैउस्तै हो नि । गएको रातभरि लोडसेडिङ भएर लाइन आएन । लाइन नै नभएपछि फ्यान चल्ने कुरा भएन । लास्टै गर्मी भयो । टाइम पास गर्ने फेसबूक, टिकटक र युट्युब पनि वाइफाइ नभएपछि चल्ने कुरै भएन । धन्न सिरानै नजिकै बोत्तलमा पानी राखेकी थिएँ र, त्यही पानी खाएर रात त बल्लबल्ल काटें । बिहान उज्यालो भएपछि बल्ल लाइन आयो । आज अरू दिनभन्दा चाँडै नै मर्निङ वाक निस्किएँ । फर्कंदा डेरीमा पसेको दूध पाइएन । घरमा आएर एकछिन एक्सरसाइज पनि गरें ।”
बोल्दाबोल्दै एकछिन आरामको गर्नुभयो । उहाँको दिनचर्याबारे मैले अनुभव गरिरहें । र फेरि शुरू गर्नुभयो, “गरमलाई आज लाइन नहुनाले बाथरूममा पानी पनि थिएन, रोडपारिको छिमेकीकोमा गएर दुई बाल्टिन पानी ल्याएँ अनि एकछिन रेस्ट गरेर सुगर फ्री ब्ल्याक टि पकाएर खाएँ । फेरि टाइममा नखाने हो भने ग्यास्ट्रिक हुने हुनाले किचनको सिन्कमा रहेका भाँडा माझेर अनि खाना पकाई खाएँ । आज खाना खाँदा अलि लेट नै भयो । खै, एघारै बजेको थियो कि ।”
उताबाट थकानको सुस्केरा नमज्जाले सुनिन्छ । मेरो बारे पनि केही जान्न खोज्दै हुनुहुन्थ्यो । आमाको प्रश्न नआउँदै मैले नै अगिको कुरा अगाडि सार्न भनें । अनि आमा बोल्नुभयो, “आज पानी, बिजुली र इन्टरनेटको बिल तिर्नुपर्ने दिन थियो, टेम्पोमा डाइरेक्ट अफिस गएँ, कति लामो लाइन रहेछ, कर्मचारी यति धेरै बिजी थिए कि, तिनीहरूलाई त सास फेर्ने फुर्सद पनि थिएन । एकछिन बजार पसेर शपिङ्ग गरें । आजको दिन त यसो उसो गर्दा गई नै हाल्यो । घर फर्कंदा पाँच बजेको थियो । एकछिन इभिनिङ् वाकमा पनि निस्केर फर्कें । खाना पकाउँदै टिभीमा एकछिन न्युज र गीत सुनें अनि खाना खाएर लाइट नै अफ नगरी बेडमा यसो पल्टेर यही मेरो साथी मोबाइल हेर्दै थिएँ, निदाएछु । तिम्रो फोन आएछ । झसङ्ग हुँदै जागें नि । ल, भन तिम्रो खबर के छ ?”
सबै पोख्ने कुरा मैले पनि पोखेँ । आमासँग जति पोखे पनि कुरा सकिंदैनन् । अनि मैले आमालाई फेरि सम्पर्क गरूँला नि भन्दै गुट नाइट भनें । आमाले पनि ‘गुड नाइट बाबू !’ भन्दै फोन राख्नुभयो ।
जब फोन राखेँ तब मेरो दिमागमा आमाले अनायासै प्रयोग गरेका अंग्रेजी शब्दहरूका बारेमा गन्थन मन्थन पैदा हुन थाल्यो । बरु मैले नै आमाले अंग्रेजी शब्दहरू बुझ्नुहुन्न कि भनेर सम्झीसम्झी नेपाली शब्दहरू प्रयोगमा ध्यान दिएको थिएँ तर आमा स्वतःस्फूर्त रूपमा नेपाली भाषामा अंग्रेजी शब्दहरू मिसाइरहनु भएको थियो । अंग्रेजी कक्षा पढ्दै नपढेकी मेरी आमाको भाषामा अंग्रेजी शब्दको अत्यधिक प्रयोग देखिँदा मलाई केही अनौठो र केही चिन्ता पो लाग्यो ।
मैले मेरी आमासँगै मेरो देश र मेरो मातृभाषा छोडें भनेको त आमाले पनि देशभित्रै बसेर पनि आफ्नो भाषा गुमाइरहनु भएको पो पाएँ । आमाले कुनै विद्यालय वा विश्वविद्यालयमा टेक्नुभएको थिएन र कुनै औपचारिक शिक्षा उत्तीर्ण गर्नुभएको पनि छैन तर उहाँले बोल्दाबोल्दै नेपाली शब्दको ठाउँमा अंग्रेजी शब्द प्रयोग गर्नुभएको थियो । यही तरीकाले आगन्तुक शब्दको प्रयोग गर्दैजाने हो भने त कालान्तरमा मेरी आमाले नेपाली कम र अंग्रेजी बढी प्रयोग गर्नुहुन्छ कि भन्ने पीर पो लाग्यो । यसैगरी नेपाली भाषा नै लोप त हुने होइन भन्ने चिन्ता पनि लाग्यो ।
छ दशक पार गर्नुभएको हजुरआमाको पुस्ताको प्रतिनिधित्व गर्ने मेरी आमाले यति धेरै अंग्रेजी शब्दको प्रयोग गर्नुहुन्छ भने छोराछोरी र नातिनातिना पुस्ताले अझ कति धेरै अंग्रेजी शब्दको प्रयोग गर्छन् होला । त्यसैले भाषाका बारेमा, वर्तमान समयमा नेपाली भाषाको अवस्था र अंग्रेजी भाषाको प्रभाव बारेमा केही क्षण घोत्लिन पो मन लाग्यो ।
भाषा विचार विनिमयको एउटा महत्त्वपूर्ण साधन हो । यो अभिव्यक्तिको महत्त्वपूर्ण माध्यम पनि हो । यो वाक् प्रतीक हो । भाषा यादृच्छिक र व्यवस्थित पनि हुन्छ । मानव जातिको उत्पत्तिसँगै भाषाको उत्पत्ति भएको पाइन्छ । समाजमा एकापसमा बुझ्ने भाषा नै छैन भने सामाजिक जीवन अत्यन्तै जटिल हुन्छ । कुनै देश वा समाजमा एउटै भाषा मात्र हुँदैन, अनेक भाषा प्रयोगमा आउँछन् । एउटै भाषाको पनि अनेक भाषिका र उपभाषिका हुन्छन् । भाषामा पनि स्वाभाविकता, गतिशीलता र उत्पादनशीलताको विशेषता हुने हुनाले कुनै एउटा भाषा सधैंभरी एउटै रूप र संरचनामा विकास भएको हुँदैन । समयअनुसार भाषाको स्वरूप परिवर्तन हुन्छ । कुनै पनि भाषालाई कुनै वेला परिवर्तन गर्छु भनेर परिवर्तन हुँदैन । संसारका कतिपय देशहरूले ती देशमा प्रयोग गरिने भाषाहरूलाई राष्ट्र, राष्ट्रिय, कार्यालयीय, सरकारी र आधिकारिक भाषा भनेर चिनाएका पनि छन् । मानिस मातृभाषी वा एकभाषी मात्र नभएर द्विभाषी र बहुभाषी पनि हुन्छन् ।
भाषा सामाजिक वस्तु हुनाले यसमा गतिशीलता र परिवर्तनशीलता हुनु स्वाभाविकै भए पनि अत्यन्तै द्रुत गतिमा आँखै चिम्लिएर वा होश नै गुमाए जस्तो गरी शब्दहरू भित्र्याउनु पक्कै पनि राम्रो पक्ष होइन । नयाँ शब्दहरू थपिनु, केही शब्दहरू लोप हुनु स्वाभाविकै भए पनि अन्य भाषाको प्रभावमा शब्दहरू प्रयोग गर्न छाड्नु भने पक्कै ठीक होइन । कुनै पनि देशका भाषा, धर्म संस्कार र संस्कृति भनेका त्यो देशका मौलिक पहिचान, सम्पत्ति र चिनारी पनि हुन् । भाषा देशको अस्तित्वसँग जोडिएको महत्त्वपूर्ण सम्पत्ति हो । सबै किसिमका भाषा र भाषिकालाई बचाउनु र संरक्षण गर्नु आम जनता र राज्यको महत्त्वपूर्ण कर्तव्य र दायित्व हो ।
नेपालमा १३१ भाषा बोलिन्छन् । नेपालको जनगणना २०७८ अनुसार नेपाली मातृभाषीको संख्या ४४.८६ प्रतिशत रहेको छ । नेपाली भाषा भारोपेली भाषा परिवारको सतम् वर्गभित्र पर्ने भाषा हो । यसको सम्बन्ध आर्य इरानेली शाखाको आधुनिक आर्यसँग रहेको पाइन्छ । यो संस्कृत, प्राकृत र अपभ्रंश हुँदै विकसित भएको हो । नेपाली भाषाको उद्भव कर्णाली प्रदेशको सिँजामा भएको थियो । यो भाषा खस कुरा, पर्वते भाषा,गोर्खाली भाषा नामले चिनिँदै,विकास र विस्तार हुँदै अहिलेको नेपाली भाषाको नामले प्रचलित छ । यस भाषाका थुप्रै भाषिका र उपभाषिकाहरू पनि रहेका छन् । यो भाषा खासगरी अहिले नेपाल बाहेक भारत, भूटान, बर्मा हुँदै संसारभरि फैलिएको छ । नेपालको संविधान २०७२ को भाग-१ धारा-६ मा नेपालमा बोलिने सबै भाषालाई राष्ट्रभाषाको मान्यता दिएको छ । त्यस्तै धारा-७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई सरकारी कामकाजको भाषा हुने भनेर व्यवस्था गरिएको छ ।
नेपाली भाषा आजको अवस्थासम्म आउन करीब एक हजार वर्ष लागेको देखिन्छ । एक हजार वर्षको अवधिमा कतिपय शब्द लोप भए भने कतिपय नयाँ थपिँदै गए ।
नेपाली भाषामा शब्दहरू थपिने क्रममा अंग्रेजीको प्रभाव अत्यन्तै बढ्दै गएको देखिन्छ । परिवर्तनको नाममा शब्दहरू चलनचल्तीमा आउन छोडी लोप हुनु चाहिं राम्रो सङ्केत होइन । स्कूल वा कलेजका विद्यार्थीहरूले प्रयोग गर्ने नेपाली भाषामा अंग्रेजी शब्द प्रयोग हुनु सामान्य माने पनि गाउँशहरका जेष्ठ नागरिकले प्रयोग गर्ने चलनचल्तीकोकै नेपाली भाषामा नै अत्यधिक रूपमा अंग्रेजी शब्दहरूको प्रयोग गरिनु भाषिक समृद्धिका दृष्टिकोणले उपयुक्त होइन ।
नेपाली भाषामा प्राविधिक र वैज्ञानिक विषयका अंग्रेजी शब्द प्रयोग हुनु स्वाभाविक नै होला, तर चलनचल्तीमा रहेका नेपाली शब्दहरू प्रयोग नगरी स्तरीयताका नाममा जबर्जस्त अंग्रेजी प्रयोग गरिनु बिलकुल गलत हो । अहिले स्तरीयताका नाममा जबर्जस्त नेपाली भाषामा किचन, भेज, ब्रेकफास्ट, लन्च, डिनर, फ्रेस हाउस, मिसेज, म्यासेज सर्च, लास्ट, डायस्पोरा, मिडिया, क्लिन, स्विप, डिस्कोर्स, करिडोर, प्लान्ट, नेटवर्क, डाइभर्सन, होम डेलिभरी, लोडसेडिङ, युज, अन्कल, आन्टी, ओके, बाइ, थ्यान्क्यु, सरप्राइज, गिफ्ट, बर्थ डे, ब्वाइ फ्रेन्ड, गर्ल फ्रेन्ड, पेपर, पेन, कलर, जोक्स, डेन्जर, अप्रेसन, डिभोर्स, अन, अफ, डायल, पोलिटिक्स, एनिभर्सरी, कंग्राचुलेशन, शपिङ आदि जस्ता शब्दहरू चलनचल्तीमा आइरहेका छन् । यस्ता शब्दहरू नेपाली भाषामा प्रयोग हुनुले भाषालाई बलियो बनाउनुको सट्टा झन कमजोर बनाउँछ । कुनै पनि भाषा धनी वा गरीब हुनु भनेको शब्दभण्डारण नै हो । जुन भाषामा शब्दहरू धेरै छन् त्यसलाई धनी भाषा भनिन्छ भने जुन भाषामा थोरै शब्द छन् त्यसलाई गरिब वा कमजोर भाषा भनिन्छ ।
आज नेपालको जनसंख्याको करीब आधा देश बाहिर हुँदा नेपाली भाषा समेत कमजोर हुँदै जानु नेपाल देशको अस्तित्वकै दृष्टिकोणले शुभ सङ्केत होइन । अंग्रेजीलाई विश्वको सम्पर्क भाषा हो भनेर स्कूल, कलेज, बैंक, सरकारी वा गैरसरकारी कार्यालयहरूमा राज्य तहबाटै नेपाली भाषाभन्दा अंग्रेजी भाषालाई प्राथमिकता दिएको पाइन्छ । जो कोही सबैले बुझ्नु जरूरी छ कि भाषा केवल साधन हो, साध्य होइन । आफ्नो नेपाली भाषालाई बङ्गाएर अंग्रेजी शब्दहरू जबर्जस्त भित्र्याउनु र प्रयोग गरिनु नेपालीको पहिचान गुमाउनु नै हो ।
अहिले नै पनि नातिनातिना र छोराछोरी पुस्ताले मात्रै होइन हजुरआमाबुवाले पुस्ताले समेत अंग्रेजी बोल्न थालेपछि भोलिको नेपाली भाषाको भविष्य अत्यन्तै चिन्ताजनक देखिन्छ । नेपाली भाषालाई बलियो बनाउन, बचाउन र संरक्षण गर्न राज्य र आम जनसमुदाय आजकै दिनदेखि प्रतिबद्ध भएर लाग्नुपर्ने देखिन्छ ।
भर्जिनिया, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

