जापान घुम्न आउनुभएको छ भने यो शब्द जापानमा तपाईंले खुब सुन्न सक्नुहुन्छ । व्यापारिक केन्द्र, अवलोकन केन्द्र, रेस्टुरेन्ट तथा मनोरन्जन स्थलमा मुसुक्क हाँसेर,अलिकती शीर निहुर्याएर ‘इरास्साइमासे’ भन्नु यहाँको संस्कृतिको अभिन्न अंग बनिसकेको छ ।
जापानको दैनिक व्यवहार देखि लिएर ‘व्यापार–कल्चर’मा ‘इरास्साइमासे’ को धेरै ठूलो प्रभाव छ । आखिर के रहेछ त यो ‘इरास्साइमासे’ भनेको ?
यो अथिति स्वागत र सत्कार गर्ने जनबोली हो । जसको सिधा अर्थ स्वागतम हो पनि भन्न सकिन्छ । तर यो शब्द कोरा स्वागतममा मात्र सीमित छैन । ‘तपाईँको सेवाको लागि म हर हिसाबले हाजिर छु’ भन्ने भावसँग पनि जोडिएको छ ।
सेवा शब्दको गहन अर्थ छ जापानमा। हाम्रो तिर जस्तो ‘स्वास्थ्य सेवा’ लेखिएका ठाउँमा बिरामीलाई थर्काउने, ‘यातायात सेवा’ लेखिएका ठाउँमा यात्रुलाई अनेक सास्ती दिनेअनि ‘जनसेवा’ लेखिएका ठाउँमा जनतालाई कहिल्यै सेवा नदिने भन्ने हुँदैन जापानमा । तपाईँले जब एकपटक कसैलाई ‘इरास्साइमासे’ गर्नु भयो भने नीजले चाहेको सेवा र सुविधा नदिने छूट हुँदै हुँदैन जापानमा ।
त्यसो भए के हुन्छ त उसले चाहेको सेवा दिन नसकेमा ? कानून लाग्छ ? कारवाहीमा परिन्छ ? यस्ता प्रश्न उठ्न सक्छन । कानून र कारवाही भन्दा माथि पनि केही कुराहरू हुने रहेछन जसलाई आचरण भनिदो रहेछ र असल आचरण नैतिकवानहरूको सबै भन्दा ठूलोअस्त्र रहेछ । जापान असल आचरणहरूको देश हो र ‘इरास्साइमासे’ त्यसैको अभिन्न अंग हो ।
‘इरास्साइमासे’ नभने पनि यहाँ कानून लाग्दैन । ग्राहकले तपाईँको कठालो समाउँदैन । प्रहरी आएर किन भनिनस् भनेर घेरा हाली केरकार गर्दैनन् । तर तपाईंको आफ्नो पसल छ र बिस्तारै व्यापार घट्दै गयो वा ग्राहक आउन छोडे भने सम्झिनोस्, तपाईँको ‘इरास्साइमासे’ मा केही कमजोरी छ । यसको अर्थ तपाईँले ‘इरास्साइमासे’ भन्नुभएन भन्ने हैन, ग्राहक आउँदा प्रत्येक पटक भन्नुभयो होला, तर तपाईँले ‘इरास्साइमासे’ निभाउनुु भएन होला !
के हो यो ‘इरास्साइमासे निभाउनु’ भनेको फेरि ? तपाईंको दिमाग प्रश्नै प्रश्नले चिडचिड भइसक्यो होला है ? हो, यही धैर्यता रसहनशीलताको एकमुस्ट प्रस्तुती र प्रयोग हो ‘इरास्साइमासे’ ।
जापानमा ग्राहकलाई ‘ओक्याकुसामा’ भनिन्छ । जसको नेपाली अर्थ ‘ग्राहक’ भन्ने नै हुन्छ । तर यो शब्दमा अदृश्य रूपमा ‘भगवान’ जोडिएको हुन्छ भन्ने मान्यता पाइन्छ । त्यसो त हाम्रो तिर पनि ग्राहक भगवान हुन भन्ने चलन त छ तर मान्यता छैन । मान्यता र चलनमा केही त पक्कै फरक छ ।
टेबलमा तपाईँ हुनुहुन्छ । वेटरले झुकेर (सके त घुँडा नै टेकेर) अर्डर लिएको तपाईँले देख्न सक्नुहुन्छ । खानामा ‘कम्प्लेन’ गर्नुहोस्, म्यानेजर नै आएर हात जोडेर माफी माग्छन । अधिकांश ठाउँमा त उही अर्डरको खाना फेरि बनाएर दिन्छन । कुनै कम्पनीले दिएको छूट वा विशेष अफर यदि कर्मचारीले भूलवश वा नियतश बिर्सियो भने कम्प्लेन गर्नुहोस्, नतीजा उत्तिबेलै पाइहाल्नु हुन्छ । यी र यस्तै गतिविधिबाट स्पष्ट हुन्छ, ‘इरास्साइमासे’ केवल कोरा स्वागतम मात्र हैन । कसैलाई स्वागत गरिसके पछि उसलाई झेल्न र सन्तुष्ट पार्न म पूर्णरूपले तयार छु है भन्ने दृढ इच्छाशक्ती पनि हो । र यो इच्छाशक्ती जापानको ‘व्यापार कल्चर’ मा आज पनि जीवित छ । व्यवहारमा तजापान सधै अब्बल नै छ ।
के गेटमा उभिएको मानिसले मात्र ‘इरास्साइमासे’ भन्छ ? होइन, तपाईँ जहाँ प्रवेश गर्नुभयो, त्याहाँ भित्रका सबै कर्मचारीले तपाईँलाई देखेसम्म ‘इरास्साइमासे’ भन्छन । लय मिलाएर भन्छन । मुसुक्क हाँसेर भन्छन । शीर झुकाएर भन्छन । यसको अर्थ हुन्छ, हामी सबैतपाईँको सेवामा कटिवद्ध छौँ । तपाईं बाहिरिने बेला पुनः सबैको मुख बाट ‘आरिगातोऊगोजाइमास’ सुन्नुहुन्छ । अझै धेरै वाक्यहरू सुन्नुहुन्छ । जसको अर्थ हुन्छ, तपाईँको उपस्थितिले हामीहरूलाई खुशी दियो ।
एउटै शब्दमा म यतीबेर खेल्नुको खास अर्थ छ । जापानमा जुन हिसाबले अभिनन्दनका भाषाहरू र संकेतहरू प्रयोग गरिन्छन, त्यस हिसाबले जापान विश्वकै विशिष्ट देश हो भन्ने लाग्दछ । भाषा र संकेतहरू भनेका साहित्यका नै अंग हुन । संगीत पनि साहित्यको पाटो हो ।
भाषालाई मिठास पूर्वक उच्चारण गर्यो भने त्यो पंचम बन्दछ । कोईलीको बोली कसलाई मन पर्दैन र ? यस हिसाबले मिठो बोली,वचन र व्यवहार भएका हामी सबै दैनिक जीवनका साहित्यकार नै हौँ । साहित्य जीवनको त्यो पाटो हो, जहाँनेर शाब्दिक रभावनात्मक मिठास सदैव रहन्छ ।
मैले यो आर्टिकल साहित्यपोस्टमा पहिलोपटक लेख्दैछु । र मैले अझै पठनीय लेखहरू लेख्न सकूँ भन्नको लागि यो मेरो ‘इरास्साइमासे’ लेख हो तपाईंहरूको लागि । हेमन्त गिरीको ‘सुगोइ ने’ स्तम्भमा तपाईंहरूलाई ‘इरास्साइमासे’ !
जापान
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।