धनगढी टेकेको तेस्रो दिन अर्थात् फाल्गुन १७ ।
बिहानै सबै सरहरूसँगै होटलबाट मञ्च आइसकेका थियौँ, चौथो दिनको सभामा सहभागी हुन । बर्माको बोली: माइती देशको कौवा प्यारो, यही विषयमा चर्चा हुने थियो । मञ्चमा चढेपछि अचानक आँखा रसाएर आयो ।
नेपालमा बस्नेहरूका लागि यो पीडा बुझ्न गाह्रो छ । बर्मामा बसेर यस्तो मञ्चमा उक्लनु सानो कुरा होइन । घरमा अलिअलि बोल्न र ढाई महिने बसन्त बिदाईको छुट्टीमा चिनेका धेरथोर नेपाली अक्षरबाहेक साहित्यलाई कहाँ गहिरिएर पढ्ने अवसर मिल्यो र ?
अँ, संस्कृत पाठशाला छन् बर्मामा । त्यसो हुनाले पनि साँस्कृतिक वातावरण अलि झाँगिएकै छ । तर साहित्यको फराकिलो फाँट भने छैन। सन् २००० बाट सञ्चालन गरिएको नेपाली साहित्य डिप्लोमा संस्थाले साहित्य अध्ययन गर्ने खुला मञ्च दियो । यस संस्थाकै दुई दशकको अथक प्रयासले आज चौथो अर्थात् पाँचौँ पुस्ताका हामीले नेपाली साहित्यलाई फराकिलो ढङ्गमा अध्ययन गर्न पाएका छौँ। बसन्त बिदाईमा भरिने कुवाको पानी जतिको साहित्य देखेका हामीलाई नेपाली साहित्य डिप्लोमा, साहित्यको विशाल सागरसम्म पुग्ने मार्ग बन्यो। मैले पनि यसैको अध्येता बनेपछि साहित्यका विधाहरू चिनेँ, साहित्यप्रति रूचि बढ्दै गयो । साहित्यलाई माया गर्न पनि यसैले सिकायो मलाई । विश्वविद्यालय स्तरको उच्च साहित्यिक संस्थान हैन यो तर त्यसको भन्दा कम महत्त्वको छैन मेरा लागि । मैले लेख्न अलिअलि सिक्नु र साहित्य कनीकुथी बुझ्नु त्यही संस्थानको देन न हो ।
आज विश्व साहित्य सम्मेलनमा उभिन सक्ने उर्जा जम्माजम्मी त्यही हो । आँखा रसाउनु स्वभाविक पनि हो । त्योबेला मैले हामीलाई भाषा सिकाउने संस्थान सञ्चालन समिति, संरक्षण र सम्वर्द्धन गर्दै आउनुभएका प्राध्यापकहरूमा मेरो हार्दिक आभार ! भाषाको उत्पत्ति र विकासबारे मलाई कति पनि ज्ञान छैन तर यतिचाहिँ थाहा छ जो हामी बोलिरहेछौँ, लेखिरहेछौँ त्यो खस भाषा हो । पछि नेपाली भाषा भनी बोलाउने नाम मात्र फरक भएको हो । नेपाली साहित्य डिप्लोमा अध्ययन गर्ने क्रममा जान्ने मौका पाएँ मैले । अहिले हामी जुन भुइँ टेकिरहेका छौँ । जहाँको हावा पानीमा आफैँलाई बिर्सेका छौँ । यो नै भाषाको उद्गमस्थल हो । यही उदय भएको हो खस भाषा । भाषाविद् सरदचन्द्र वस्ती सर भन्नु हुन्छ, “यही पश्चिम नेपालबाट फैलिएर यो भाषा आसाम, भुटान र बर्माजस्ता दूरदेशसम्म पुगेको हो।”
अहो ! मेरो खुशीले सीमा नाघ्यो, आफूलाई भाषा उदय भएको मूल ठाउँमा उभिएको पाउँदा । वरिष्ठ साहित्यकारहरूसँगै चियानास्ता खाँदै केही सिक्दै पनि गयौँ । वहाँहरूको एकाएक शब्द हाम्रो लागि पाठ्यपुस्तक अध्ययन गरे बराबर थियो । त्यसो हुनाले म त सोधेका प्रश्नको उत्तरबाहेक वहाँहरूलाई नै सुनेँ । त्यसो त बर्मेली टोली भनी उपस्थित साहित्यिक अग्रजको नजरमा परिसकेका थियौँ हामी । तर आज बढी नै चर्चा पायौँ ।
खासमा हामीले लगाएको बर्मेली पोसाक र गालामा दलेको तनखाकै कारण हो त्यो चर्चा पाएको । अघिल्लो दिनबाटै जो बर्मा देखिसक्नु भाथ्यो वा बर्माबारे चासो राख्नुहुन्थ्यो, वहाँहरूबाट बढी बर्माको पोसाक र तनखाबारे नै सुन्यौँ ।
बर्मा हुँदै हामी चार जनाले कुनै एक दिन चाहिँ बर्मेली पोसाक लाउने भनेर सल्लाह गरेरै एक एक जोडी ल्याएका थियौँ । साथमा सरगमले तनखा पनि ल्याएकी रहेछिन्,सुनमा सुगन्ध भने झैं भैगयो । असल्ली बर्मेली नेपाली बनेका थियौँ हामी । अब त जोकोहीले हामी बर्माबाट आएका भनी ठम्याउन सक्थ्यो ।
“गालामा चाहिँ के दल्नु भाको नि ?, तनखा भन्याचाहिँ के हो ? यसलाई दलेमा के हुन्छ ?”, जस्ता धेरै जनाको प्रश्न र जिज्ञासाले हामीले पालैसँग उत्तर दियौँ, “यो बर्मेली नारीको श्रृङ्गार हो । यो एक प्रकारको रूख हो, जो बर्मामा तनखा भन्ने गरिन्छ । नेपालीको चन्दन जस्तै जस्तै हुन्छ ।”, मेरा कुरामा लक्ष्मण सर, अश्विनी सरलगायतले थप्नु भयो । खासमा एउटै कुरा बुझाउन फरक फरक उदाहरण दिनुपर्ने रहेछ ।
हामीले बर्मेली पहिरन लगाएका थियौँ । त्यसमाथि पहिरिएका तनखाले सबै जना हाम्रा वरपर झुम्मिनुभएको थियो ।
हामी त के जान्नु ! देखासिकी न हो ! मैले भने नाचको अन्तिमसम्म पनि खुट्टा मिलाउन सकिनँ । थारू भाषाको अलिअलि बुझे नबुझे जस्तो गीत भए पनि गीत लय खुब आनन्दमय रहेछ ।
बर्मेली पोसाक र तनखाले अचम्मित पूरा धनगढी थियो । हामीचाहिँ अचम्मित थियौँ, देउडा नृत्यले । देउडा खेल्ने भनेको सुनेर हामी पनि त्यतिञ्जेलसम्म हाजिर भइसक्नुभएका साहित्यकाहरूको पछि लागेर पञ्चको बाँयातिरको खुला मैदानतिर लाग्यौँ। त्यहाँभन्दा अघि देउडा शब्द मैले सुनेकै थिइनँ । म मात्र कहाँ ? हाम्रो सिङ्गो टोली यसबारे अन्जान थियौँ । दर्शक बन्न भनी गएका थियौँ, तर यसमा सबै भाग लिएर आनन्द उठायौँ । सुदुरपश्चिममा मात्र हाेइन, सम्पूर्ण नेपालमा पनि याे नृत्यलाइ निकै महत्व दिइने रहेछ । दशैँ तिहारजस्ता राष्ट्रिय चाडबाहेक यहाँ अन्य धेरै संस्कृति र परम्परा रहेछन्, जसमा देउडा पनि पर्ने रहेछ ।
देउडा साँच्ची नै लोकप्रिय रहेछ । एकले अर्काको हात समातेर गोल आकारमा दाँया पाउ त्यसपछि बाँया पाउ मिलाएर अघि र पछि सार्दै नाचिने रहेछ । हामी त के जान्नु ! देखासिकी न हो ! मैले भने नाचको अन्तिमसम्म पनि खुट्टा मिलाउन सकिनँ ।
बिहानै दिनेश खबरमा अन्तर्वार्ताको लागि भनी जानुभएका मधुदी र भागवत सरले यो मीठो अनुभव लिनबाट छुट्ने पो हो कि भनी चिन्ता लाइरेको थियो । धन्न ! समयमै आइपुग्नु भयो । कुनै पनि नाचमा यति धेरै आनन्द हुँदैन होला ! यो अनुभूति सुन्दर उपहार हो, जो धनगढीले दियो । हुन त धनगढीमा बिताएका एक एक पल पनि उपहारै हुन्, तर जब जब धनगढीलाई सम्झन्छु देउडा खेलेको झल्झल्ती आँखामा देख्छु । बिहानको दश बजेको समय हुनुपर्छ, देउडा खेलेर मञ्चमा पस्दा ।
केही छिन पछि सज्जिएका केही महिलाहरू टाउकामा कलश लिएर हलभित्र आएको देखेँ । “यो थारू जातिको पाहुनालाइ स्वागत गर्ने एउटा संस्कृति हो ।”, अश्विनी सरले आफूले जानेजति बुझाउने प्रयास गर्नु भयो । ‘माघी थारूहरूकाे महत्वपूर्ण पर्व हाे, हाम्राे माघे संग्रान्तीकाे दिन थारूहरूले मनाउने माघी साँच्चै नै अाकर्षक पर्व हाे ।’
सहित्यिक कार्यक्रम आफ्नै रूपरेखा अनुसार सञ्चालन हुँदै गयो । हामी भने आफ्नो पालोको प्रतीक्षामा थियौँ । हामी सभाको श्रोता त थियौँ नै, साथै साहित्यकारहरूसँगको परिचय आदानप्रदान जारी नै थियो । यसैक्रममा मैले धनराज गिरी सरलाई चिनेँ । उहाँ पनि केही वर्षअघि बर्मा पुग्नु भएको रहेछ । बर्माबाट धेरै माया कोसेलीमा ल्याउनु भएको रहेछ । उहाँले भन्नुभयो, “बर्मा मेरो देस्रो घर हो । गहिरो नाता छ मनको । ठाकुरप्रसाद गुरगाईं मेरा बुबा, धानी मेरी बहिनी ।”
उहाँ गजलकार हुनुहुँदो रहेछ । रदीफ र काफियासँगैको उहाँको कुराकानीमा पनि गजल नै वाचन गरेजस्तो लाग्ने मलाई । म पनि गजल मन पराउने हुनाले पनि मीठो सम्झना बन्यो उहाँसँगको भेट ।
एकपछि अर्को सेसनहरू हुँदै गए । मञ्च पनि उसैगरी साहित्यकारहरूले रंगिदै गयो । अघि आफ्नै छेउको सिटमा हुनुहुन्थ्यो, मञ्चमा पुगेपछि मात्र थाहा- उहाँ लेखक महेश पौड्याल हुनुहुँदो रहेछ । मलाई मन पर्ने कविता ‘बुद्ध र म’ अनि ‘सियो’का लेखक । त्यस्तै एक वर्ष जति अघि हो मैले कुनै यूट्युब च्यानलमार्फत् सुनेकी उहाँका कविताहरू। अति नै मन परेर यी दुईलाई पुस्तकमा कोरेरै राखेका कविताका लेखकसँगको प्रत्यक्ष भेटले म मनमनै खुशी र अचम्मित पनि भए ।
त्यो दिनको एक एक मिनेटको समय अति किम्ती थियो । लाग्थ्यो, समयलाई रोकी रहूँ, कतै जान नदिऊँ । तर जुन समय बढी प्रिय बन्छ, त्यही कति छिटो हातबाट फुत्कन्छ पत्तै हुँदैन । हाम्रो सेसन पनि कति छिटो सकिएछ, थाहै भएन । पत्यार लाग्दैन, म पनि त्यही मञ्चमा उभिएकी थिएँ , कविता वाचन पनि गरेँ । आफैँमाथि गौरव लागेर आउँछ ऐतिहासिक मञ्चको सहभागी आफू पनि भएको पाउँदा।
कविता वाचन नगर्दै थोरै नर्भस अवश्य भएको थिएँ । मञ्चमा पुगेपछि “म” म रहिनँ । थाहा छैन मलाई, श्रोताहरूले कसरी केलाउनु भयो कुन्नि ! मेरो परिचयबाट मेरो कविता, शब्द, भाव, लय र समाप्तिलाई । तर मेरो निम्ति त्यो पल अनमोल बन्यो । मेरा सहयात्री मित्रहरूले पनि अनुभव गर्नुभयो होला ! आखिर उहाँहरूको पनि त पहिलो मञ्च नै थियो । हामीले पालैसँग कविता वाचन गर्यौँ । अनि पछि हाम्रो सेसन सुरू भयो, जसमा वक्ताका रूपमा ज्ञान सर, भागवत सर, भीमजी र सरगम हुनुहुन्थ्यो भने सहजकर्ता अश्विनी सर । विषय “बर्माको बोली: माइती देशको कौवा प्यारो”, थियो ।
साँच्चै, बर्मामा साहित्यका अग्रज नभएकै हो भनेँ भने डेढ सय वर्षबाट नेपाली साहित्य बचाएर ल्याएका अग्रजहरूको अपमान गरे सरह हुन्छ ।
बर्माको बोली हैन थेगो हो- माइती देशको कौवा प्यारो । बर्मेलीले सिङ्गो नेपाललाई माया गर्छन् । त्यहाँ बर्मेली नेपाली साहित्यकाबारेमा चर्चा भए । हामीलाई झैं नेपाललाई पनि बर्मामा डेढ सय वर्षदेखि जोगिएर रहेको नेपाली भाषा नमेटियोस् भन्नेबारे चिन्ता भएको पाएँ । अध्यागमनमा भएका विषयबारे पनि चर्चा भयो । हाम्रो पक्षबाट बोलेको सुन्न पाउँदा अति खुसी लाग्यो । सरगमको साहित्यिक यात्रामा नेपाली सिनेमाको असर जस्ता धेरै विषयबारे चर्चा परिचर्चा भए । यी सबैभन्दा मैले लेख्न नछुटाउनु पर्ने विषय हो, ज्ञानसरले दिएको उत्तर, पछिल्लो पुस्तालाई यो मञ्चमा ल्याउनुको मुख्य उद्देश्य ।यो विषयबारे हरकोही जान्न चाहन्थ्यो ।
साँच्चै, बर्मामा साहित्यका अग्रज नभएकै हो भनेँ भने डेढ सय वर्षबाट नेपाली साहित्य बचाएर ल्याएका अग्रजहरूको अपमान गरे सरह हुन्छ । सर भन्नुहुन्छ, “ती नै साहित्य प्रेमको उपज हो यो, जो नेपालबाट जाँदा पोल्टामा तुलसीको बिरूवा, साग र स्कुसको बिरूवासँगै हात गीता, रामायण चेपेर, कुम्लोकुटुरोमा भाषा पनि सँगै नलगेका भए, एकपछि अर्को पुस्तासम्म सुरच्छिद हस्तान्तरण नगरिदिएको भए नेपाली बर्माभित्र हराइसक्थ्यो ।”
“देश, काल र परिस्थितिले यति धेरै गाँजेको समयमा कति पनि हिम्मत नहारी लुकीचोरी नेपाली लेख्न बोल्न छाडेनन् पुर्खाहरूले । हो, त्यो समयमा उहाँहरू परिस्थितिसँग झुकेको भए आज हामी यहाँ हुँदैन थियौँ।”, सर इतिहास पल्टाउदै जानु भयो, म जसरी नै उपस्थित सम्पूर्ण गर्वसाथ सुनिरह्यौँ । सर अघि भन्नुहुन्छ, “गीता रामयणको वाचनले मात्र साहित्य बचाउन नसकेपछि, हिन्दू वर्णमालाबाट अक्षर चिनाउन सुरू भएको हो । ती सबै साहित्यिक शुभचिन्तकहरूको पनि ठूलो देन छ । देशको परिस्थिति साम्य हुँदै गएपछि लिखित साहित्य सङ्कलन, पाठ्यपुस्तक तयार भयो । स्व. वेदप्रकाश भट्टराई, स्व.जीवन गौतम, ठाकुरप्रसाद गुरागाईंहरूलाई सम्मान गर्छु म । नेपाली साहित्य उकास्न, नयाँ पिँडीसम्म पुर्याउन उहाँहरूको अथक प्रयास रहेको छ ।
यसरी नै जमर्कोहरूलाई निरन्तता दिँदै पछि सरकारबाट स्वीकृति प्राप्त दार्जिलिङ नेपाली साहित्य र दुवसु क्षेत्रीको सम्पादकत्वमा बनेको साहित्य हुँदै यो स्तरसम्म आएको हो। यहाँसम्म ल्याइपुर्याउन, भाषा बचाउन खटिएका अग्रजहरूबाट नै बाँचेको हो म्यान्माली नेपाली साहित्य । अब यसलाई बचाएर मात्र हुँदैन, सबैको मनसम्म पुर्याउनुपर्छ । त्यसैले यो काम अबको नयाँ पुस्ताले गरोस् । यिनीहरूको हातमा छ अब म्यान्माली नेपाली साहित्यको भविष्य । त्यसैले मैले साहित्यको खुला मञ्च देखाउनै नयाँ पुस्ता रोजेको हूँ ।”
यतिञ्जेल सिङ्गो धनगढी चुपचाप बर्माको साहित्यिक यात्रा पढिरहेको रहेछ । हाम्रो सेसन जतिको कौतुहलपूर्ण अर्को सेसन देखिनँ मैले । हुनसक्छ, आफैँ मञ्चमा भएकाले मलाई लागेको होस् ।
प्रश्नहरूले घचाघचकै बीच हाम्रो सेसन सकियो । त्यसपछि हामीले सम्मान ग्रहण गर्यौं । सम्मान ग्रहणपछि हामी खाना खानतिर लाग्यौं । बाटामा सधैँ मुस्कुराहट र एक दुई शब्दबाहेक व्यस्त रामलाल जोशी सरसँग चार शब्द कुरा गर्ने मौका पोयौँ । उहाँकै काऱण नेपाल देख्न पायौँ । साहित्यको विशाल मञ्चमा ठाउँ पायौँ । यी सबैका लागि आभार प्रकट नगरे अधुरो रहने थियो सिङ्गो यात्रा ।
थारूहरूको संस्कृति र गौरा पर्वबारे बताएर केही छिनको समयमै घनिष्ठ हुनु पुगेकी धनगढीकै कुश्मा भट्ट बहिनी पनि मनमा रहनेछिन् ।
धनगढी छाड्ने बेला भयो । गाडीको बन्दोबस्त नहुन्जेले सुदुर पश्चिमाञ्चल साहित्यिक भवनमा बस्यौँ । जीवनमा यति सुन्दर समय फेरि कहिले आउला ? आउँदै नआई चोला सकिन पनि के बेर ! मैले सबै साहित्यकारहरूलाई सम्झेँ, जसलाई म पुस्तकका रचना र अडियोहरूबाट चिनेँ । यहाँ आएपछि प्रत्यक्ष भेट्ने मौका पाएँ । साथै ममिला जोशी, भगवती बस्नेत, सरू सुवेदीलगातयलाई थोरबहुत जान्ने र बुझ्ने अवसर पाएँ । हो उहाँहरू सबैलाई मैले बारबार सम्झेँ । थारूहरूको संस्कृति र गौरा पर्वबारे बताएर केही छिनको समयमै घनिष्ठ हुनु पुगेकी धनगढीकै कुश्मा भट्ट बहिनी पनि मनमा रहनेछिन् ।
फोटो लिँदा र उहाँको कविता वाचनका क्रममा परिचय भएको हो जिविका अश्रूसँग । सिक्किममा बसोबास गर्नुहुने कवियित्री भनेर । पछि उहाँबाटै थाहा पाएँ, लामाकार्कीकी बुहारी हुनुहुँदो रहेछ । नाताले भाउजू भन्नुपर्ने रहेछ । धनगढी आएको दिनबाटै परिवार, आफन्त र पुर्ख्यौली भूमिबारे जोकोहीले सोध्नुहुन्थ्यो । तर आफ्ना लामाकार्कीहरू कहाँ छन् ? मसँग भने उत्तर थिएन।
हामीसँग धनगढीको अन्तिम घढी थियो, टिक् टिक् टिक् । त्यहाँबाट धेरै मीठा मीठा सम्झनाहरू पायौँ । अन्तिम दिनसम्म सहभागी हुन चाहन्थ्यौँ, तर के गर्नु ? समय थिएन, भिसाको आधा समय सकिइसकेको थियो । हामीले यात्रा अघि बढाउनै पर्ने भयो ।
साँझ पर्नै लागेको थियो, गाडीको बन्दोबस्त हुँदा । मन पनि अँध्यारिँदैं गयो, धनगढी हामीबाट छुट्दा । हामी पनि अँध्यारिँदै गयौँ, हामी धनगढीबाट छुट्दा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।