परिभाषाको परिभाषाभित्र राखेर जीवनको सिङ्गो परिभाषा सम्भव छैन। यसको परिभाषा प्रत्येक व्यक्तिका व्यक्तिगत भोगाइ र बुझाइमा आधारित हुन्छ। जीवन व्यक्तिपरक (आत्मपुरक) भएरपनि यसको प्रत्ययचाहिँ (कन्सेप्ट) सार्वभौम (यूनिभर्सल) हुन्छ। ‘जीवन’ भन्दा विशेष एक व्यक्तिको जीवन बुझिन्छ अनि सारा मानव जातिको पनि। यहाँ जीवनको परिभाषालाई सिङ्गो परिभाषाभित्र अटाउन सकिँदैन भन्नुको अर्थ यो होइन कि जीवनलाई बुझ्न, जान्न र परिभाषित गर्न सकिँदैन। जीवनको अर्थ सधैँ हाम्रो अनुभव र बुझाइमा निर्भर हुन्छ। अनुभव त व्यक्ति विशेष हुन्छ तर परिभाषालाई बचाइ र अनुभवभित्र पूर्णरूपले न्यायसङ्गत गर्न सकिँदैन । कारण बचाइ र अनुभव व्यक्ति विशेष र परिवर्तनशील (समयसापेक्ष) हुन्छ। तिनीहरू अनिवार्य र सार्वभौम (विश्वव्यापी) सत्य हुन सक्दैनन्।

अर्कै प्रकारले भन्ने हो भने जीवनलाई एउटा परिभाषाले पुग्दैन। जीवनको परिभाषा विभिन्न प्रकारको भए तापनि यसको बौद्धिक प्रत्ययचाहिँ प्रत्येकमा एउटै हुन्छ। प्रत्येक व्यक्तिको जीवन परिभाषा आफ्नै प्रकारले भिन्न भए तापनि जीवनको बौद्धिक अवधारणाचाहिँ सर्वमान्य हुन्छ। फेरि सारा परिभाषाहरूको वस्तुप्रमाण अथवा सम्भवतः वस्तुप्रमाण मात्रै एउटा सिङ्गो व्यक्तिमा पुष्टि हुन सक्दैन। जीवनको कुनैपनि एउटा मान्य परिभाषाले विश्वका सारा व्यक्तिहरूको जीवनलाई निर्धारित रूपमा मार्गदर्शन गर्न सक्दैन। जीवनको ‘कन्सेप्ट’ सर्वमान्य भए तापनि परिभाषाचाहिँ व्यक्तिपरक (विशेष) हुन्छ। तसर्थ ‘जीवन’ मानिसको सम्पूर्णताभित्र एकार्थमा सापेक्ष बचाइ र भोगाइ मात्र हो।

ईगम खालिङ

‘जीवन’ भन्दा म मेरो आफ्नो जीवन बुझ्छु अनि अरूको जीवन पनि बुझ्छु। यो ‘मानव संसार’ अथवा ‘मानव जीवन’ भित्र म एकलै बाँचिरहेको हुँदिन । म साथ÷साथै अरू मानिसहरू पनि संसारका विभिन्न भौगोलिक भू–भागहररूमा बसोबास गरिरहेका हुन्छन्। मेरो बचाइ अरू मानिसहरूमाथि प्रत्यक्ष या अप्रत्यक्ष रूपमा निर्भर (सापेक्ष) रहन्छ। यस आधारमा हाम्रो बचाइ सापेक्षिक छ । यसकारण समाजशास्त्रीहररूले मानिसलाई सामाजिक प्राणी भनेका हुन्। मेरो बचाइ सधैँ अरूहरूमाथि पनि निर्भर हुन्छ। त्यसैले यो संसारमा म एक्लै बाँच्छु, म एक्लै ज्ञानी हुन्छु भन्नु मूर्खता हो। त्यस्तो हो भने त परिभाषाको कुरा छोडिदेऊ, भाषाको सम्भवनासम्म रहँदैन फेरि भाषाको माध्यमबिना त ज्ञानको कुरा नै आउँदैन अनि यसरी लेखिरहनु पनि पर्दैन।

जीवनको बचाइ व्यक्तिगत भए तापनि सार्वभौम हुन्छ। त्यो सार्वभौम भए तापनि अनिवार्यचाहिँ हुँदैन। साँचो परिभाषा हामी गणितमा पाउँछौँ। जस्तैः अंकगणितमा पाइने परिभाषाहरू अनिवार्य अनि सार्वभौम (सर्वमान्य) हुन्छन्। जीवनको परिकल्पित विचार सार्वभौम भए तापनि त्यसको परिभाषा सार्वभौम हुन सक्दैन। फेरि ‘जीवन के हो?’, ‘कस्तो जीवन असल हो?’ अनि ‘कस्तो जीवन सफल हुन्छ?’ जस्ता प्रश्नहरूको उत्तर व्यक्तिविशेष हुन जान्छ।

व्यक्तिविशेष (आत्मपुरक) कुराहरू व्यक्ति व्यक्तिमा फरक पर्न जान्छ। त्यसैले इन्द्रियजन्य वस्तुहरू अनि अनुभवाश्रित परिभाषा दिँदा हामी पूर्णरूपले ढुक्क हुन सक्दैनौँ। शुद्ध गणितका परिभाषाहरू अनुभवरहीत हुन्छन्। अनुभव प्रधानता अथवा अनुभवाश्रित ज्ञानमा भूल हुन सक्छ। कहिलेकाहीँ हामीलाई हाम्रा ज्ञानेन्द्रियहरूले झुकाउँछन् अनि हामी भूल गरिपठाउँछौँ। फेरि, वस्तु विभिन्न परिस्थिति, स्थान, अवस्था अनि समयमा विभिन्न प्रकारको देखा पर्छन्। त्यसकारण त्यहाँ भूल हुने सम्भवना सधैँ रहिरहन्छ।

त्यसको ठीक उल्टा विवेकप्रधानता ज्ञान जुन अनिवार्य अनि सार्वभौम छ त्यो अपरिवर्तित् रहन्छ। अनिवार्य भन्नाले हामी निश्चित अनि विपरित विकल्पको असम्भवता बुझ्छौँ अनि सर्वभौम भन्नाले विश्वका प्रत्त्येक ठाउँमा समान प्रकारको मान्यता। उदाहरणको निम्ति अङ्कगणितका शुत्र ‘१ ‘ २ र ३’ लाई लिन सकिन्छ। यो वचन (वाक्य) अथवा सूत्र हाम्रो बाहिरी अवस्था, भौगोलिक स्थिति अनि स्थानमा निर्भर पर्दैन । यहाँ ‘एक योग दुई बराबर तीन’ बाहेक ‘चार’ कदाचित् हुन सक्दैन। यो अनिवार्य हुन्छ। यहाँ ‘एक योग दुई बराबर तीन’ को अर्को विपरित विकल्प हुनै सक्दैन। त्यसरी नै ‘एक योग दुई बराबर तीन’ विश्वभरि मान्य हुन्छ। भारतको ‘एक योग दुई बराबर तीन’ जापनमा गएर न त ‘चार’ हुन्छ न ‘दुई’ नै हुन्छ। त्यसरि नै रेखागणितको त्रिभुजको परिभाषा ‘तीनवटा कोणहरू भएको भुजलाई त्रिभुज भनिन्छ’ पनि अनिवार्य अनि सर्वभौम हुन्छ। जब हामी यस्ता परिभाषाहरूलाई सांसारिक वस्तुहरूसित अथवा यथार्थमा प्रयोग गर्छौ तब परिभाषाहरू साँचो रूपमा पुष्टि भएका पाउछौँ। यहाँ त्रिभुजको परिभाषाभित्र त्रिभुजत्त्व (ट्रयाङ्गुरिटी) मात्रै मूलरूपमा परिपूर्ण (ह्यूनिभर्सल) छन् तर त्रिभुज आकार भएका वस्तुहरूचाहिँ एकै प्रकारका पाइँदैनन्। यी कुराहरूलाई पुष्टि पार्दै ईमानुएल कान्टले यसरी आफ्नो कुरा पोखेका छन्—“ती परिभाषाहरू मात्र सार्वभौम अनि अनिवार्य हुन सक्छन् जसले तार्किक (अर्बिट्रेरी) संश्लेषणद्वारा प्रागानुभव संरचनाका निर्माण गर्न सक्छन्। फलस्वरूप गणित मात्र यस्तो एकमात्र विज्ञान हो जसमा यसप्रकारका परिभाषाहरू पाइन्छ” (क्रिटिक अफ् प्यूर रिजन, पृ० ५८७)।

जीवनको परिभाषा मानिसको जीवन भोगाइको अनुभवमा आधारित (आश्रित) भएको कारणले यसको सिङ्गो (एकमात्र) परिभाषा सम्भव छैन। यसको कन्सेप्ट सार्वभौम भए तापनि परिभाषा व्यक्तिविशेष हुन्छ। त्यसैले यसको परिभाषा व्यक्ति व्यक्तिमा फरक पर्न जान्छ। जीवनको कन्सेप्ट बुझाइमा एकरूपता भए तापनि जीवन भोगाइमा हुँदैन।