हो राधा ! एउटा सिङ्गो युगको हिंडाइपछि म यस्तो ठाउँमा आइपुगेर उभिएको छु जहाँबाट अब एक पाइलो अघि बढ्ने जाँगर मभित्र छैन । अनायास मेरा खुट्टामा अनन्त थकाइ आएर थुप्रिएको छ र यहाँ म जडवत् उभिएको छु । बितेको त्यो युगभरि, मलाई लाग्थ्यो, म एक्लै एउटा किरमिर गोरेटो छोड्दै हिंड्न लागेको छु र अनन्त अनन्तसम्म त्यसरी नै हिंडिरहनेछु । तर आज मेरो मन भन्छ – अब अघि बढ्ने कुरा बिर्सेर फेरि पछि फर्कूं, आफैले छोड्दै आएको त्यही गोरेटो मेट्दै मेट्दै र बिसाइदिऊँ जिन्दगीको गह्रुँगो यात्रा ।

उफ् राधा ! आज ज्यादै थकाइ लागेको छ । कसरी मैले एउटा युगभरि हिंडिदिएँ र आज एक्कासि गति हराएँ ? किन हिंडें, केले हिंडायो, कहाँ पुग्न हिंडें ? यस्तै यस्ता धेरै प्रश्नले मलाई ग्वाम्म छोपिदिएका छन् यस वेला र म असहाय छु । मसँग यी प्रश्नको कुनै उत्तर छैन । उत्तर दिनै पर्ने बाध्यताको अनुभव पनि गर्दिन र सधैंका लागि यी प्रश्न प्रश्नकै रूपमा रहुन् र म तिनैभित्र हराइरहें !

तिमी कति अपराधी राधा ! सम्पूर्ण युगभरि मेरै हाराहारी हिंडेर पनि मलाई थाहा दिइनौ र आज नयाँ दिशातिर गति लियो । शायद तिमी अतालियौ – मेरो हाराहारी हिंड्नुबाट तिम्रो विश्वास हट्यो । तर त्यति लामो यात्रामा एकपल्ट त तिम्रो उपस्थितिको आभास, तिम्रो उद्देश्य मलाई थाहा दिन सक्थ्यौ । केवल मेरै चेतनालाई पछ्याउँदै हिंडिरह्यौ र आत्तिएर आज तिमी हिंडेको गोरेटोमा एउटा घुम्ती बनाउँदै नयाँ दिशा रोज्न बाध्य भयौ । यो बाध्यता तिम्रो आफ्नो बाध्यता हो राधा – तिम्रो एकदम पेवा ! न तिमीसित मैले मेरो यात्राभरि हिंडिदिने आग्रह नै गरेको थिएँ, न आज तिम्रो गति परिवर्तनमा बाधक नै बनें ।

हो, मसँगै हिंड्ने तिम्रो रहरको पूर्वाभास यात्रा थाल्नुभन्दा अघि हुँदो हो – मलाई लाग्छ, म तिम्रो हात समातेर, तिम्रा प्रत्येक पाइलामा फूलैफूल ओछ्याइदिएर अनन्त अनन्तसम्म हिंडिरहन्थें । शायद त्यो आग्रह तिमी मबाट चाहन्थ्यौ र त्यही चाहनुले तिमीलाई एउटा युगभरि हिंडायो । अनि आज हार्यौ – हो साँच्चै हार्यौ; यति लामो यात्राभरि थाहा नदिएर पनि तिमीले अहिले भर्खरै अघिल्तिरको शान्त पोखरीमा अनावश्यक एउटा ढुङ्गो फालिदियौ र गयौ । तिमीले जाँदाजाँदै आफूले गति परिवर्तन गरेको र हाराहारीमै यात्रा गरिरहेको बोध गराइदिएँ भनेर नै त्यसो गर्यौ, मलाई थाहा छ ।

मलाई यो पनि थाहा छ – तिमीले पोखरीको शान्त जल नचलाइदिएकी भए यस बेलासम्म म त्यहाँ हेलिसकेको हुन्थें । यहीं तिमी हार्यौ । के आवश्यक थियो त्यत्ति गरिरहनुको ? हो, मेरै हाराहारीमा यात्रा गरिरहेको हुँदा तिमीले पनि त्यहाँ हेल्लिनुपर्थ्यो । के त्यसैले तिमी पोखरीको अथाह गहिराइसँग डरायौ ? शायद होइन, यो युगभरिको हिंडाइमा मैले कैयौं यस्ता जल-राशि, दुर्गम पहाड, अभेद्य अरण्य र उजाड मरु प्रान्त नाघिसकेको छु – तिमीले पनि शायद । त्यसैले तिमी निश्चय डराइनौ र केवल निरास्सियौ मबाट – मेरो जिन्दगीबाट । मैले थाहै नपाई तिमी गति फेर्दी हो त मलाई कुनै दुःख हुने थिएन ! तर छोड्ने संकल्प गरिसकेर पनि तिमीले मलाई बिथोलिदिनु नै तिमी हार्नु हो । भन त मलाई थाहै नदिएको भए के नोक्सान चियो ? आखिर तिमीले त मलाई छोड्नु नै थियो-छोड्यौ; तर व्यर्थै किन मेरो गति खल्बल्याइदियौ ? किन ?

कति जाती हुन्थ्यो राधा ! जिन्दगीको अनन्त यात्रापछि चरम बिन्दुमा पुगेर, जहाँ तिमीले, मैले र अरू सबैले एक दिन पुग्नैपर्छ – म तिमीलाई भेट्थें एउटी निष्पाप नारीको रूपमा । मेरो समस्त अपराध, समस्त दुर्बलता र सम्पूर्ण आकांक्षासहित उत्फुल्ल हृदयले त्यसबेला म आफैलाई तिमीमा समर्पण गरिदिन्थें ! तिमी पनि आफ्नो दुर्बलता लुकाएरै भए पनि मलाई स्वीकार गर्न सक्थ्यौ ।

तर..

तर राधा ! आज तिम्रो दुर्बलता थाहा पाएपछि एक तमासले म निरास्सिएँ । अब फेरि उही बाटोबाट फर्किन लागेको छु आफैले छोडेर आएको गोरेटो मेट्दै मेट्दै । पुनर्जन्ममा मलाई विश्वास थिएन र छैन पनि; तर तिम्रै लागि राधा, एउटा जुनी पर्खिएर अर्को जुनीमा फेरि तिमीसँग हातेमालो गर्दै यो यात्रा थालूँ भन्ने रहर मभित्र टुसाएको छ ।

लाटी ! जुन कुरा एउटा युगभरि आफूभित्रै गुम्स्याएर मेरो हाराहारीमै हिंडिरह्यौ-छोड्ने वेलामा पोखरीभरि ब्यूँझाइदियौ ? तिमीले ब्यूँझाइदिएको यी लहर जताततै ठोकिने रहरले हेर कसरी कुदिरहेछन् । थाहा छ तिमीलाई… डीलसम्म पुगेर यी लहर फेरि पोखरीको बीचमा पुग्छन् मुखामुख गर्ने र फेरि कुर्छन् डीलमा ठोकिन । मैले मेरो दुई कानभरि ती लहर डीलमा ठोकिएर छचल्किँदा उठेका शब्दहरू सुनिरहेछु र मलाई विश्वास छ तिमीले छोड्दै गए पनि ती लहरले तिमीलाई छोड्ने छैनन् । तिमीले टेकिरहेको डीलमा जब तिमीले नै व्यूँझाएका लहरहरू ठोकिन्छन् त्यसबेला तिमी फेरि आत्तिन्छ्यौ ।

मैले तिमीलाई मभन्दा बेग्लै कहिले ठानें र ? तिमीभित्र पनि मेरा जस्तै मानसिक दुर्बलताहरू हुनु अस्वाभाविक के थियो र ? म जस्तै चूपचाप तिमी पनि हरेक अपराधलाई आफैभरि सीमित राख्दै अनन्ततिर बढिरहेकी भए के हुन्थ्यो ?

तर तिमी तिम्रो संस्कारबाट मुक्त हुन सकिनौ मैले दुःख मान्नु त्यत्ति छ । गयौ ठीकै छ, तर मैले उचालेको पाइतलाको अघिल्तिर अनन्त लहरहरू ब्यूँझाइदिएर गयौ यहीं तिमी हार्यौ !

लौ, म गोरेटो मेट्दै फर्किंदैछु । शायद मेरो फर्कनुको गतिमा बर्को एउटा गोरेटो जन्मिन्छ – तर त्यो पश्चाद्मुखी गोरेटो कसैको काम लाग्ने छैन । तिम्रा लागि जुन गोरेटो एक युगभरि बन्यो- त्यसलाई मेटिदिएर मात्र फेरि बिसाउँछु । अवश्य, यो पनि हुन सक्छ – मभित्रको पुरुषले मलाई घच्घच्याइरहन्छ र म अनायास एउटा गोरेटो मेटिसकेर अर्को गोरेटो बनाउँदै गइरहनेछु उही चरम बिन्दुतिर ।

आसाम

(‘भारतीय नेपाली कथा’बाट)