विषय प्रवेश-

नेपाली साहित्यको विकास र समुन्नतिका निम्ति दार्जीलिङ-सिक्किमको स्थान र योगदान महत्त्वपूर्ण छ । यहाँ धेरै साहित्यकार, लेखक छन् । पुरानाका साथै नयाँ साहित्यकारहरूको दिनानुदिन संख्या बढ्दो छ । पुरानाले नयाँलाई निर्देशन दिइरहेका छन् भने नयाँले पुरानालाई उछिनिरहेका छन् । लेखन र अध्ययनको फाँट विस्तार हुँदो छ । केही पुराना साहित्यिक संस्थाहरूका साथै नयाँ साहित्यिक संस्थाहरू पनि स्थापना हुँदैछन् । साहित्यिक मासिक भेला कार्यक्रमहरू सञ्चालन भइरहेका छन् भने अनलाइन साहित्यिक कार्यक्रम पनि उत्तिकै सम्पन्न भइरहेका छन् । विभिन्न विधाका नयाँ नयाँ पुस्तक र पत्रिकाहरू पनि प्रकाशित भरहेका छन् । ठाउँठाउँमा साहित्यिक गोष्ठी, अधिवेशन, सम्मेलन आदि भइबस्छन्, त्यहाँ पनि मानिसहरूको ठुलै जमघट हुन्छ । साहित्यिक संस्थाहरूको काम कुरा भइरहन्छन् ।

साहित्यकार सचेन राई दुमी-

नेपाली साहित्यमा सचेन राई दुमीको स्थान सुरक्षित रहेको छ । उनी धेरै वर्षअघिदेखि नेपाली साहित्य सेवामा समर्पित देखिन्छन् । उनको जीवनको धेरै भाग परोक्ष र प्रत्यक्ष रूपमा नेपाली साहित्य अध्ययन र लेखनमा आबद्ध छन् । अब उनी उमेरको माथिल्लो भागमा छन् । उनी नेपाली साहित्य सम्मेलन दार्जीलिङसित आबद्ध छन् । उनी नेपाली साहित्य सम्मेलनका अध्यक्ष, सचिव आदि सबै काम गरिसकेका अनुभवी हुन् । हालसम्म उनका प्रकाशित पुस्तकहरूको सूचि हेर्दा उनी निबन्धकार, समीक्षक, कथाकार र कवि हुन् । उनी अहिलेसम्म पनि दैनिक रूपमा कुनै किसिमका साहित्यिक चर्या, चर्चा आदिमा डुबेका हुन्छन् । आफूले हासिल गरेका ज्ञान, अनुभव, अनुभूतिलाई उनले लिखित रूपमा उतारेका छन् ।

हालसम्म उनको कवितासंग्रह – ‘मलाई के भन्ला’, ‘जीवन कविता हो, कविता जीवन’, रेडियो वार्ताहरूको सङ्गालो ‘बाह्र वार्ताहरू’, केही प्रबन्ध केही समीक्षा, भारतीय नेपाली निर्माता शृङ्खलामा जी छिरिङ (जीवनीमूलक), प्रस्फुटन (श्रीमतीको निधनमा उब्जेका भाव प्रस्फुटन), बोज्यूले भनेका कथा (अनूदित बालउपन्यास), केही विवेचना केही अनुशीलन (समीक्षासंग्रह), अतीतका रङ्गहरू (संस्मरण), कथोपकथन (कथासंग्रह), बीसौं शताब्दीको प्रथम शतक (निबन्ध), राष्ट्रिय शिक्षा नीति अनि दार्जीलिङ (प्रबन्ध) यसबाहेक Why Gorkhaland  र Mingled (विविध लेखसंग्रह) उनका अंग्रेजी पुस्तक हुन् । यीबाहेक उनले सावला भन्ने पत्रिका धेरै लामो अवधिसम्म सम्पादन गरी प्रकाशित गरेका छन् । उनले वितर्क नामक साहित्यिक पत्रिकालाई चौबिस अङ्कसम्म सम्पादन गरी अघि बढाएका छन् ।

साहित्यिक व्यक्तित्व

अन्य विधा भन्दा राई समीक्षामा अलिक रमेका छन् । उनी शिक्षाविभागमा जीवन बिताएका हुनाले विद्यार्थीकेन्द्रित लेखादि पनि लेखेका छन् । उनी एउटा उच्च विद्यालयका प्रधानाध्यापक थिए । विद्यालयको जिम्मेवारीको चेपबाट पुर्सद निकाले पनि पुस्तक अध्ययन लेखन सम्पादन आदि कार्य गरिरहेका हुन् । एक कुशल सम्पादक पनि हुन् । उनले सम्पादन गरेको वितर्क भन्ने पत्रिका बाह्र अङ्कसम्म प्रकाशित भएको थियो ।

माथिका पुस्तक सूची हेर्दा मात्र पनि सचेन राई एक साहित्यिक व्यक्तित्व हुन् भन्ने थाह लाग्छ । उनी गम्भीर अध्येता हुन् । जीवनका विभिन्न स्थितिहरू भोगेका दुमीले आफ्नो लेखनीमा धेरै कुरा उतारेका छन् । उनी साहित्य, संस्कृति, परम्परा, राजनीति सबै कुराको खोजी गरेर तिनको तथ्याङ्क प्रस्तुत गर्दछन् । पाठकले उनका लेखादि अध्ययन गर्दा उनले इतिहास, समाज, भाषा, संस्कृति आदि धेरै अध्ययन गरी लेख्ने काम गरेका छन् ।

समीक्षकका रूपमा

सचेन मूलतः प्रभाववादी समीक्षक हुन् । उनी कृति पढेर त्यसबाट उब्जेका मानसिक प्रभावलाई समीक्षा लेख्ने गर्छन् । उनले कृतिको भाव पक्ष, अर्थ सन्दर्भ आदिबारे प्रकाश पार्ने गर्छन् । उनी पढ्न थालेको कृति निकै गहन अध्ययन गरी तिनको समीक्षण मूल्याङ्कन गर्दछन् ।

उनको पहिलो समीक्षामूलक पुस्तक ‘केही प्रबन्ध केही समीक्षा’मा रहेका केही समीक्षामूलक लेखहरूमा- ‘एरिस्टोटलको विरेचन सिद्धान्त’, ‘प्रगतिवादी साहित्य : एक चिन्तन’, ‘एरिस्टोटलका रचनाहरू’, ‘प्राचीन अंग्रेजी साहित्यको शुरूवात्’, ‘प्राचीन अंग्रेजी साहित्यका कविताहरू’, ‘फ्रान्सिस बेकनको मतमा प्रतिशोध’, ‘कवि जगत राई विश्व’, ‘विश्वेश्वरप्रसाद कोइराला : कृतिहरू’, ‘सम्प्रेषण सिद्धान्त’ हुन् ।

लेखहरू हेर्दा स्नातकोत्तर नेपालीको पाठ्यक्रममा रहेका पाठहरूलाई सन्दर्भसामाग्रीका रूपमा रहेका छन् । यस पुस्तकमा एरिस्टोटलको बारेमा तीनवटा लेखहरू रहेका छन् । उनी एरिस्टोटलको संक्षिप्त जीवनी, उनका कृतित्व र मूल उपलब्धिबारे गहिरो अध्ययन गरी आलेख तयार पारेका छन् । ‘प्रगतिवादी साहित्य एक चिन्तन’ भन्ने लेखमा प्रगतिवादी साहित्यको प्रादुर्भाव र विकास, यसलाई मूल रूपमा अघि बढाउने साहित्यकारहरू, यसको मुख्य मुख्य प्रवृत्ति, रूपरेखा आदिबारे छलफल गरिएको छ ।

यसबाट हेर्दा पनि उनको पाश्चात्य साहित्यको अध्ययनको फाँटमा एरिस्टोटलदेखि लिएर प्राचीन अंग्रेजी कविता, फ्रान्सिस बेकन, सम्प्रेषण सिद्धान्त, नेपाली साहित्यका विश्वेश्वरप्रसाद कोइराला, दार्जीलिङकै जगत राई विश्व आदिका कृतिहरूको पनि समीक्षा गरेका छन् । उनी कृतिभित्र मिहिन रूपमा तथ्य र तत्त्व केलाउने गर्छन् । कृतिभित्रका आन्तरीक पक्षहरूको अध्ययन र बाह्य सन्दर्भको रेखाङ्कन गर्ने रूचि राखेको पाइन्छ । भारतमा प्रगतिवादी नेपाली साहित्यको स्थितिको चर्चा र चिन्तन गरिएको छ ।

दैनिकी लेखन-

राईको एउटा पुस्तक छ बीसौं शताब्दीको प्रथम दशक । यसलाई लेखकले केही खोजी कोही तथ्याङ्क भनेका छन् । यस पुस्तकमा सन् १९०० देखि १९१० सम्म विश्वमा घटित केही मुख्य मुख्य राजनैतिक, सामाजिक घटना, भारतको राजनैतिक वैज्ञानिक घटनादि र विश्व र नेपाली साहित्यको रेखाङ्कन गरिएको छ । यस पुस्तक तयार पार्दा धेरै किसिमका स्रोत सामाग्री जस्तै दैनिक, साप्ताहिक, मासिक र वार्षिक पत्रिकाहरू, इतिहासमूलक पुस्तक आदिको सदुपयोग गरिएको छ । अहिलेका इतिहासकार र साहित्येतिहासमा चासो राख्ने अध्येताहरूका निम्ति उपयोगी सिद्ध हुन्छ ।

निबन्धकारका रूपमा

सचेन राई सफल निबन्धकार हुन् । यस क्षेत्रमा उनको योगदान उल्लेखनीय छ । उनले शिक्षाक्षेत्रमा आफनो जीवन बिताएका हुनाले शिक्षा र अन्य समाजोचित विषयमा केही लेखहरू लेखेका छन् । उनको राष्ट्रिय शिक्षा नीति अनि दार्जीलिङ (पूर्वार्द्ध, १९९०), भाषा : नेपाली कि गोर्खा (१९८८), बीसौं शताब्दीको प्रथम दशक (२०१८) बीहिर वार्ताहरू (२००५), अतीतका रङ्गहरू : जीवनको प्रथम दुई दशक (२०१७), Mingled (Collection of miscellaneous articles, अङग्रेजीमा, २०१८ जस्ता निबन्धपरक पुस्तकहरू प्रकाशित छन् । यी पुस्तकहरूमा उनले आफ्नो जीवनकालका अनुभव, ज्ञान, सूचना तर्क आदिलाई प्रस्तुत गरेका छन् । उनका निबन्धहरू वस्तुपरक, विषयपरक र विश्लेषणपरक हुन्छन् । कुनै एउटा विषयलाई लिएर त्यसका बारेमा आफ्नो खारिएका अनुभवबाट सिर्जिएको विचार प्रकट गरिएको हुन् । शिक्षा, अनुशासन, भाषा, साहित्य संस्कृति, इतिहास आदिबारे उनको कलम चलेको देखिन्छ ।

वार्ताकारका रूपमा

वार्ताकारका रूपमा पनि देखा परेका छन् राई । उनको ‘बाह्र वार्ताहरू’ भन्ने पुस्तकमा आफूले कुनै एउटा विषयमा, कुनै एक लेखकका बारेमा र तीनजना साहित्य सर्जकहरूसित साहित्यिक अन्तर्वार्ता गरिएको छ । यस पुस्तकको अध्ययन गरे पाठकले धेरै विषयमा जानकारी, विचार र ज्ञान हासिल गर्दछ ।

‘एक एक एघार’ भन्ने वार्तामा मानव जीवनमा एकता, सामाजिक, राजनैतिक, पेशागत एकता, राष्ट्रिय एकता आदिबारे विचारपरक वार्ता प्रस्तुत गरिएको छ । भारतको राजनीतिमा असहयोग आन्दोलनका बारेमा इतिहासपरक वार्ता राखिएको छ । दार्जीलिङमा प्रसिद्ध बौद्ध अध्येता सोमा डि कोरसको जीवनी, कृतित्व र दार्जीलिङ बसाइबारे विस्तृत वार्ता राखिएको छ । प्रेमचन्दका कथामा पाइने देशप्रेम, स्वदेशी भावना, गरीबी चित्रण, भारतीय समाजको वास्तविक चित्रण आदि पाइने तथ्य प्रकट गरिएको छ ।

डा. लक्खीदेवी सुन्दाससित लिइएको अन्तर्वार्तामा भारतमा र दार्जीलिङमा नेपाली भाषा र साहित्यको विकास, परम्पराको रूपरेखा केलाउँदै समसामयिक साहित्यिक प्रवृत्तिमाथि पनि चर्चा गरिएको छ । यसमा डा सुन्दासले लीलालेखनबारे आफ्नो धारणा, बुझाइको व्याख्या गरेकी छन् । यसमा नेपाली साहित्य सम्मेलन दार्जीलिङ र योसको योगदानबारे आर पी लामासित लिएको अन्तर्वार्ता पनि पाइन्छ । नेपाली साहित्य सम्मेलन दार्जीलिङको योगदान ऐतिहासिक, अतुलनीय र गरिमामय रहेको तथ्य प्रकट गरिएको छ । यसमा आंशिक रूपमा भए पनि साहित्यिक धारणा, मान्यता आदि अभिव्यक्त भएका छन् ।

उक्त ‘बाह्र वार्ताहरू’ भन्ने पुस्तकमा आफूले आकाशवाणी खरसाङमा प्रस्तुत गरिएका वार्ता र अरूसित लिइएको अन्तर्वार्ता र वार्लालापलाई लिपिबद्ध गरेर पुस्तक नै तयारी गरिएको रहेछ । मानिसले बोलिरहन्छन् तर त्यही बोली भाषण, सभा, मञ्च र रेडियातिर बोल्दा शिष्ट स्तरको भाषा शैली र विचार प्रकट गरिन्छ । यस पुस्तकमा ज्ञान तप्केका छ, अनुभव सिचिएको छ, लेखकीय अनुभूति र विचारको अभिव्यक्ति भएको छ ।

कविका रूपमा

कविले आफ्ना कविताहरूमा समाजको स्थितिबारे आफ्नो भावलाई अभिव्यक्त गर्न भाषामा आफ्नो आदर्शोन्मुख चिन्तनलाई अघि सारेका छन् । उनी सामाजिक सुधारवादी कवि हुन् । आफ्ना दुई कवितासंग्रहका आधारमा उनलाई आदर्शीवादी कवि मान्न सकिन्छ ।

उनका कविताको भाषा सरल छ । बेसी बिम्ब र प्रतीक र अन्य प्रयोगको गज्याङगुजुङ छैन । कवितामा हुनुपर्ने मिष्ठता, सुष्ठुता र कोमलतालाई जतिसक्दो उतार्ने प्रयास गरेका छन् । कवितामा आफ्नो जीवनका अनुभव र अनुभूति, देखेका भोगेका कुरालाई प्रकट गरेका छन् । उनका कविता चिन्तन पक्ष, नियति, ईश्वर, गम्भीर दार्शनिकता, जातीय चेतना, आदर्श इच्छा, स्थानीय प्रेम, देशप्रेम, गरीबीको बिडम्बना, मानवीय संवेदना आदिलाई उतारिएको छ । यद्यपि उनको कविताको उँचाइ भने सामान्य छ । उनले आफुलाई लागेको कुरा कि निबन्धमा कि कवितामा अभिव्यक्त गरेका छन् ।

कथाकारका रूपमा-

राईको प्रकाशित कथोपकथनमा जम्मा १० कथा सङ्ग्रहित छन् । उनको कथागत शिल्पलाई खिप्ने प्रयास गरेका छन् । आफ्नै वरिपरिका गाउँबस्तीका मानिसहरूकै कुरा, सन्दर्भ र घटनालाई लिएर कथावस्तु बुनिएको छ । कथोपकथन भित्र आफ्नै जीवनका केही वास्तविक घटनालाई पनि कथ्यवस्तु बनाइएको छ । ‘कथोपकथन’ कथामा आफ्नी पत्नीसित गरेको वार्तालाप पनि कथाको रूपमा प्रस्तुत गरिएको छ । घटनाहरू ठूलो हुनपर्दैन, आफ्नै वरिपरिका सानासाना प्रसङ्ग र घटनालाई नै कथा बनाइएको छ । यीमध्ये ‘बात अधुरै रह्यो’ कथा भने लेखकले निकै खिपेर, बुनेर एउटा युवक युवतीको प्रेमको विछोड देखिएको छ । यसले निकै लामो समयावधी लिइएको छ । विद्यार्थी कालदेखि लिएर पछि पल्टनमा अलिक वर्ष बिताइसकेको तर पछिबाट आफ्नी पूर्व प्रेमिका अर्काकी भइसकेको मार्मिक घटना देखाइएको छ । कथामा कविता, चिठी आदि पनि प्रस्तुत गरिएको छ । लेखकको यो कथा निकै उल्लेखनीय रोचक उत्कृष्ठ छ ।

अन्य कथामा पनि यस्तै रोचकता बनाउने प्रयास गरिएको छ । पाठकको रूचिलाई ध्यानमा राखेर कथाहरू लेखिएको छऩ् ।

गीतकारका रूपमा-

गीतसंग्रह मिश्रित भाव तरङ्ग (२००९) का आधारमा राईलाई गीतकारका रूपमा पनि चिनिन्छ । यसमा जम्मा ६० वटा मिश्रित भावधाराका गीत रहेका छन् । प्रत्येक गीतमा भावानुरूप शीर्षक राखिएको छ ।

सम्पादकको रूपमा-

पत्रिका र ग्रन्थ सम्पादन कार्यबाट पनि साहित्यको ठूलो सेवा पुग्छ । मोतीराम भट्ट, सदाशिव शर्मा, ईश्वर बराल, उत्तम कुँवर, बालमुकुन्ददेव पाँडे, ऋद्धिबहादुर मल्ल, गुमानसिंह चामलिङ, रामलाल अधिकारी, डा लक्खीदेवी सुन्दास, राजनारायण प्रधान, लक्ष्मीप्रसाद देवकोटा, डा कुमार प्रधान, आदिका सम्पादन कार्यले नेपाली साहित्यमा केही उल्लेखयोग्य सेवा पुगेको छ ।

यस्तै सचेन राई पनि एक कुशल पत्रिका र पुस्तक सम्पादक हुन् । उनले सम्पादन गरेको ‘वितर्क’ भन्ने पत्रिका छ अङ्कसम्म निरन्तर रूपमा प्रकाशित भएको थियो । उनले आफूले सम्पादन गरेको वितर्क पत्रिकालाई निकै सचेत भएर सम्पादन गरेका छन् ।

यसका साथै उनले अन्य केही पुस्तकको पनि सम्पादन गरेका छन् । गोर्खानेपाली कि गोर्खा (१९८८), चोखो परिवेश (पर्यावरण बुलेटिन, १९८३-१९९४), दियालो (नेपाली साहित्य सम्मेलन, दार्जीलिङको मुखपत्र, संयुक्त सम्पादक, अङ्क १४१, १४२, १४३ र १५१), साकेला (किरात खम्बू राई एसोसियसनको मुखपत्र, १९८९-९०) ।

मूल्याङ्कन र उपसंहार-

यसरी हेर्दा दार्जीलिङका सचेन राई दुमी सचेत साहित्यकार हुन् । विभिन्न विधामा कलम चलाएका उनी मूलमा निबन्धकार हुन् । उनका निबन्धभित्र समीक्षात्मकता, विवरणात्मकता वर्णनात्मकता आदि प्रवृत्ति पाइन्छन् । उनले जीवनको अधिकांश भाग नेपाली साहित्यको श्रीवृद्धिमा समर्पित गरे छन् । मूल रूपमा उनी आदर्शवादी र सुधारवादी साहित्यकार हुन् ।