‘भन्याको मान्नैनैई किन ए बुद्धिका टोटा !
भात खान्या रोगाती हुन्छन् रोटा खान्या मोटा ।’

माथिको भनाइ मेरी आमा स्वर्गीय कोकिला थापाको हो । आमाले भात पकाउनु भएको वेला मैले रोटी खान्छु भनी जिद्दी गरेको हुन्थें । त्यै समयमा उनले मलाई फकाउन यो गीतको प्रयोग गरेकी हुन् । त्यो मलाई याद छ ।

आमाहरू पढेलेखेका हुन्थेनन् तर आमाहरूले जिन्दगी पढेका हुन्थे । तिनै आमाहरूमध्ये मेरी आमालाई त किताबी ज्ञान कत्ति पनि थिएन, तर मेरी आमाले जिन्दगी पढेकी थिइन् । शायद संसारमा जिन्दगी नपढेका आमा कमै हुन्छन् !

जे नगर भन्यो त्यही गर्ने, जे चूलामा पाकेको छैन त्यही खाने भनी जिद्दी गर्ने प्रायः केटाकेटीहरूको बानी नै हुन्छ । म नि त्यै केटाहरू मध्येकै केटाकेटी थिएँ, जिद्दी गरिरहन्थें । त्यसैवेला आमाले यसो भनेर सम्झाउँथिन् :

‘लोटा समाई पानी ल्याउन धारा जा ए कान्छा !
रोटाले छेराउटी लाग्दी भातै खा ए कान्छा…’

जसरी आमाहरूले अथाह दुःख कष्टहरूका बीच सन्तान जन्माउन, हुर्काउन जानेका हुन्छन् ठीक त्यसरी नै सन्तानलाई फकाउन बुझाउन पनि आमाहरूले जानेका हुन्छन् । त्यसैले गुनगुनाइन्छ –

आमाको महिमा अपरम्पार छ,

आमाको लीला अपरम्पार छ,

आमाको माया अपरम्पार छ ।

आमाको स्थान कसैले लिन सक्दैन, जननी जन्मभूमि स्वर्गदपी गरिएसी ! – आमाभन्दा अगाडि कोही पनि छैन, यदि कोही छ भने देश छ, देश र आमा बराबरी छन् घटी बढी कुनै छैन !

आमाहरू पढ्ने कुनै विश्वविद्यालय हुन्थेनन्, कुनै पाठशाला हुन्थेनन् र पनि आमाहरू विद्वान थिए, वैज्ञानिक थिए, हामीलाई बोल्न आउँदैनथ्यो र पनि आमाहरू हाम्रो भाषा बुझ्थे । हामीलाई भोकप्यास लागेको नत्र कसरी थाहा पाउँथे आमाहरू ? त्यसैले भनिन्छ – सन्तानले ब्रह्माण्डलाई जितोस्, विश्वलाई जितोस् तर आमाबालाई कहिल्यै पनि जित्न सक्दैन । हाम्रा जीतहरूमा हाँसीखुशी हारिदिने हाम्रा आमा, बाहरू नै हुन् । उनीहरू भन्दा माथि को हुन सक्छ र ?

आमाको पेट, आमाको काख, आमाको छाती, बाको काँध, बाको हात, बाको ढाडलाई भन्दा हामीले बढी दुःख कसलाई नै दिएका हुन्छौं र ?
तिनै बाआमा बूढा भए राति खोक्दा हामी भन्छौं – रातभरि बड्डाले सुत्न दिएन, बड्डीले सुत्न दिइन । झर्को गरी गफ छाँट्ने पनि हामी सन्तानहरू नै होइनौं र ? छोराले पानी नखाँदा, दूध नचुस्दा निन्याउरो भइरहँदा वैद्य, धामी, झाँक्री र डाक्टरहरूका पासमा रातदिन नसुती खट्ने हाम्रा बाआमाहरूको योगदान हामीलाई हुर्काउनमा कति छ ? हामी त्यसको मूल्य चुकाउन कदापि सक्दैनौं !

धर्तीमा निस्किने बित्तिकै रोएन भन्ने चिन्ता, छ महिनाको हुँदा अन्न खाएन भन्ने चिन्ता, वर्षको पुग्नै लाग्दा धर्तीमा गोडा टेक्न सकेन भन्ने चिन्ता लगायतका अथाह चिन्ता लिने आमाबा हरू आफूले अन्तिम सास नलिंदासम्म सन्तानकै चिन्तामा रुमलिरहेका हुन्छन् !

कसरी बुझ्छन् आमाहरूले हाम्रो भाषा, कसरी थाहा पाउँछन् हाम्रा इच्छा र चाहनाहरू ? कहींकतै नहारेका आमाबाहरू किन हार्छन् आफ्ना सन्तानका अगाडि ?

थाहा छ तपाईं, हामीलाई तिनै आमाबा माथि हामी मुटुमा लाग्ने खालका वचनहरू प्रहार गर्छौं र पनि तिनीहरू दुःख नमानी हाम्रा लागि मुसुक्क मुस्काइदिन्छन् ।

जिन्दगीभर डोको, हँसिया, नाम्लो बोकेर हिंड्ने मेरी आमा चप्पल लगाउन जान्दिन थिइन् तर हामीलाई चप्पल लगाउन सिकाउँथिन्, मलाई चप्पल लगाउन सिकाउँथिन् । त्यतिवेला एउटा दुइटा मात्रै सन्तान हुन्थेनन् करीब आधा दर्जन सन्तानको लालनपोषणमा आमाले खर्चिएको समय भोगेका दुःख र भोकै बसेका रात दिनहरू सम्झँदा हामीलाई अहिले कथा लाग्छ ।

सन्तानले राम्रो काम गर्दा बाको नाम आउने र नराम्रो गर्दा आमाको नाम आउने अहिले पनि हाम्रो समाजमा विद्यमान चलन छ । सन्तान दृष्टिविहीन, अशक्त या स्वस्थ मनस्थितिको भए पनि आमाको नजरमा कहिल्यै पनि दृष्टिविहीन अशक्त र सुस्तमन स्थितिको हुँदैन र आमाको ममता कुनै पनि सन्तानमा भेदभावपूर्ण कहिल्यै हुँदैन !

निधारमा बरियो, एक हातमा आसी र पिठ्यूँमा घाँसको डोको त्यही डोकोको माथि सन्तानलाई राखेर हिंड्ने आमाहरू कुनै युद्ध लड्न तम्सिएको साहसिक योद्धाभन्दा कम कदापि हुँदैनन् । इतिहास पढ्दा सुन्दा जसरी सुनिन्छ फलानो राज्य कब्जा गर्दा फलानाले यसरी लड्यो, फलानाले त्यसरी लड्यो भने झैं ठीक त्यसरी नै घरपरिवारको साम्राज्य चलाउन आमाले लडेको युद्ध, लड्ने सामर्थ्य शायद बा भित्र पनि अलि कम हुन्छ आमाको भन्दा ।
यो भनिरहँदा मैले बा कर्तव्यबाट पन्छिएको कुरा गरेको होइन शायद आमाले भोगेको दुःख भन्दा बाले भोग्ने दुःख अलि कम नै हुन्छ ।

गोठका तीन-चारवटा भैँसी दुई वटा गोरु करीब १०-१२ वटा बाख्रा, २५-३० जानी खेतबारी, चूला, चौका र पिँढीमा भोकाएका करीब आधा दर्जन लालाबालाको स्याहारसुसारमा चौबिसै घण्टा खटिरहने आमाहरूलाई आरामको जरूरत हुँदो हो, भोक लाग्दो हो, निद लाग्दो हो तर कहिल्यै कसैसँग म भोकी छु, मलाई निद लागेको छ, मलाई प्यास लागेको छ, मलाई थाक लागेको छ भनेर गुनासो नगर्ने आमाहरूलाई आजीवन उच्च सम्मान छ !

फलानाले देशका लागि लड्यो, फलानाको सम्मान गर्नुपर्छ, फलानाको नाउँमा चोक स्थापना गर्नुपर्छ भनेर कुर्लंदै हिंड्ने हामी आमाको योगदानलाई नजरअन्दाज गरिरहेका हुन्छौं । तिनै आमाको स्याहारसुसार र संस्कारले हुर्किएका छोरासन्तानहरू नै हुन् आखिर देशका लागि लड्ने र मर्ने । तर यो कुरा बारबार हाम्रो मानसपटलबाट बाहिर निस्किरहेको हुन्छ ।

सन्तानको पहिलो स्कूल या जिन्दगीको डिग्री लिने कुनै विश्वविद्यालय छ भने त्यो आमाको गर्भाशय, आमाको काख, आमाको छाती र आमाको संस्कार हो ।

कागजी डिग्री लिने पढाउने विश्वविद्यालयहरू संसारमा अथाह छन् । तिनै विश्वविद्यालयहरूको सम्मान गर्नुपर्दैन, गर्नुहुँदैन पनि भन्न खोजिएको होइन तर पहिलो विश्वविद्यालय आमाको गर्भाशय हो आमाको छाती हो, आमाको काख हो र आमाको भरणपोषण हो ।

माथि उल्लिखित कुराहरू गरिरहँदा बाउको उत्तरदायित्व कम र जीवनमा गुरुहरूको कमीलाई उल्लेख गर्न खोजिएको होइन, आआफ्नो ठाउँमा सबैको उत्तिकै योगदान छ तर त्यस मध्ये पनि आमाको योगदानलाई अरू कसैको योगदानसँग तुलना गर्न नमिल्ने भनेर व्याख्या गरिएको हो ।

अहिलेका आमा पनि पहिलेका आमाभन्दा कम कदापि छैनन् । काखमा बच्चा च्यापेर सरकारी सेवामा खटिएका, सुरक्षा सेवामा खटिएका आमाहरूको योगदान कम कदापि छैन ।

हामीले यो कुरा बुझ्न जरूरी छ -आमाहरू पहिलेका र अहिलेका हुँदैनन् केवल कार्यशैली फेरिएको हो, काम एरिया फेरिएको हो तर आमाहरू सधैं नै आमा नै हुन् आमाको काम कर्तव्य र जिम्मेवारी अरू कसैले पनि उठाउन सक्दैन ! आफ्नो मुलुकमा मात्र सीमित नभई आफ्ना लालाबालाको भोक प्यासलाई मध्यनजर गरी पढाइलाई ध्यानमा राखी खाडीमा अरबीहरूको गाली खान विवश आमाहरूको कथा व्यथालाई म कसरी प्रस्तुत गरूँ ?

अनि त्यही समाजले लाञ्छना लगाउँछ अलिकति लुगा फाटा र छालामा चम्किलोपना के आउँथ्यो, फलानीले यसो गरी फलानीले उसो गरी भनेर तपाईं हामीहरूले नै तिनै आमाप्रति प्रश्नहरू खडा गर्छौं ? प्रश्न उठाइरहँदा भने हामीलाई हुर्काएका आमाहरूलाई कसरी बिर्सन सक्छौं ? तिनैको योगदान र तिनैको रगत छ हाम्रो शरीरको कणकणमा र पनि हामी बिर्सन्छौं । यदाकदा केही आमाहरू खराब पनि होलान् तिनका बाध्यता पनि होलान् तर सयमा ९९% आमा कहिल्यै खराब हुँदैनन् । यदि आमाले कुनै गलत कदम चाले पनि केवल सन्तानको खुशी र सन्तानको खुशीको स्वार्थ जोडिएको हुन्छ । त्यसमा पनि आमाहरू कहिल्यै गलत हुँदैनन् र आमाहरूको चरित्रमाथि शङ्का गर्नु पनि पाप हो भनेर हामी किन बुझ्दैनौं ?

विभिन्न कारणवश दुई दिन बाहिर बसेर घर फर्किएकी आमालाई घरभित्र छिर्ने अनुमति हुँदैन । करीब आधा दशक, एक दशक र दुई दशक भन्दा बढी समय बाहिर बसेर बाहरू घर फर्किंदा पनि आमाले सहर्ष स्वीकार गर्नुपर्छ । यहाँ बाटै शुरू हुन्छ भेद्भावको, हैन र ? तपाईंहरूलाई लाग्दैन, यो भेदभाव हो भनेर ? आमाको चरित्रमाथि शङ्का गर्ने बाहरूकै बराबरमा पर्छौं,  त्यहाँ हुन्छौं, तपाईं अनि हामी र उनी ।

समाजका अनेक लाञ्छना र मान्छेहरूको असामान्य भाषासँग लड्दालड्दै कहिल्यै हार नखाने आमाहरू आफ्ना सन्तानका अगाडि सधैँ निरीह देखिन्छिन् जसरी सुन खाएर पचाउने पंक्षी कुखुरालाई भनिन्छ ठीक त्यसरी नै दुःख पीडा र आँसु खाएर पचाउन सक्ने यदि संसारमा कोही छ भने त्यो ‘आमा’ हो । त्यसैले आमाको ठाउँमा कोही अरू बस्न सक्दैन र बसाल्न पनि सकिंदैन ।

मलाई अझै याद छ – मेरी स्वर्गवासी आमा कोकिला थापाले विसं २०७८ साल वैशाख १३ गतेको बेलुका भनेकी थिइन्, ‘कान्छा तलतिर काँङ्णो लाइहाल खुर्सानी लाईहाल । म मरि गया भन्या पनि तमेरु खाउला त नातिहरू खालान् तेरा बा पनि खालान् ।’
त्यसको लगत्तै १४ गते बिहान साढे तीन बजे मेरी आमाले यो धर्ती छोडिन् र त्योभन्दा पछिको समय मेरो अवस्था कस्तो रह्यो र अझ कस्तो हुनेवाला छ त्यो मलाई मात्रै थाहा छ । !

कालको प्रतीक्षामा बसेकी मेरी आमालाई आफ्नो मृत्युभन्दा पनि हामी बाँच्नेहरूको खानपिनको चिन्ता कति हो कति ?

त्यसकारण आमाको ठाउँमा कोही अरू बस्न पनि सक्दैन र बसाल्न पनि सकिँदैन । र बसाल्नु पनि हुँदैन !

काजी प्रवासी भैरवी गाउँपालीका १दैलेख