सबै भाषा हृदय वा आत्माका भाषा हुँदैनन् । केवल मातृभाषा नै सबैभन्दा आत्मीय र गहिरो सम्बन्ध जोड्ने भाषा हो । मेरो सन्दर्भमा, हिन्दी, उर्दू, अंग्रेजी, र डच मेरा कामकाजी भाषा भएकाले प्रिय छन् । काममा डच बोल्नुपर्छ, अनुसन्धानमूलक लेख, दार्शनिक विचार, वा सुन्दर कथा पढ्दा अंग्रेजी र हिन्दीको सहारा लिनुपर्छ । त्यसैले यी भाषाहरू मेरो लागि उपयोगी मात्र होइनन्, प्रिय पनि छन् ।

नेपालमा विभिन्न समुदायले बोल्ने मातृभाषाहरू मातृभूमिका अभिन्न अंश तथा राष्ट्रियताको प्रतीक भएकाले ती सबै सम्मानयोग्य छन् । मैले कुनै एक भाषालाई माया गरेर अरूलाई तुच्छ ठान्दिनँ, न त कसैले त्यसो गर्नुपर्छ ।

तर, मेरो आत्माको भाषा भने नेपाली नै हो, किनभने मेरो पहिलो बोली यही भाषामा फुट्यो । यही भाषाले मलाई संसार चिन्न सिकायो, ज्ञानको विशाल आकाश देखाइदियो । मलाई यसमा कुनै सङ्कोच छैन — नेपाली भाषा नै ज्ञान, विज्ञान, र परिचयको क्षेत्रमा मलाई जन्माउने र हुर्काउने भाषा हो । यो मेरी आमा जस्तै आत्मीय छ । आमाको सवालमा न सम्झौता हुन्छ, न कुनै शर्त राखिन्छ ।

नेपाली भाषा मेरी आमा हो भन्दैमा अन्य भाषालाई अपमान गर्ने छूट मलाई छैन । सबै भाषालाई सम्मानपूर्वक प्रेम गर्नुपर्छ ।

संस्कृत मेरो जिजुबाजेहरूको भाषा हो भने कुमाउनी, गढवाली जस्ता पुराना भाषाहरूबाट अपभ्रंश हुँदै विकसित नेपाली भाषा, समग्रमा हेर्दा सम्पूर्ण पर्वते भाषाहरू मेरा परिवार हुन् ।

केही शक्तिहरूले नेपाली भाषालाई ‘खस भाषा’ भनेर जातीय पहिचानमा सीमित गर्न खोजे, तर नेपाली भाषा कुनै एक जातिको मात्र भाषा होइन । यसको उत्पत्ति कुनै एक स्थानमा सीमित छैन । यो काश्मीरदेखि कुमाउ, गढवाल हुँदै विभिन्न स्थानमा बसाइँ सर्दै क्रमशः विकसित भएको भाषा हो । यसको इतिहास हजारौँ वर्षका आरोह-अवरोह पार गर्दै यहाँसम्म आइपुगेको छ ।

यो भाषा कुनै जातिको बच्चा बनेर जन्मेको होइन, बरु एक विशाल समुदायको बीचबाट हुर्कंदै, परिवर्तित हुँदै, विकसित हुँदै आएको भाषा हो ।

संस्कृतबाट जन्मेका धेरै भाषा आज विश्वभर बोलिन्छन् । नेपाली भाषा त्यही परिवारको एक सदस्य हो । त्यसैले आज भाषाको प्रश्न संसारकै सभ्यता र पहिचानको अब्बल प्रश्न बनेर उभिएको छ ।

एक साहित्यकारले भनेका छन्, ‘नेपाली भाषा नेपाल आमाको निधारको टीका हो ।’ यो भनाइ सुन्दर छ । नेपाली समाजको लागि मेरो भनाइ यत्ति हो कि भाषा प्रयोगले विकास हुँदै जाने हो । पढाइ लेखाइ, सुनाइ र बोलाइबाट भाषा परिष्कृत हुन्छ । तर दुःखको कुरा हामी पठन संस्कृतिबाट अलग हुँदैछौं । हामी अरूको कुरा धेरै सुन्छौं तर आफूले पढ्दैनौं । नेपालीमा ज्ञानवर्धक, दर्शन तथा साहित्यका उत्कृष्ट पुस्तकहरू छन् । सम्भव भए सम्मका पुस्तक नेपालीमै पढौं । पढ्नुभन्दा सुन्दर कुरा केहि छैन । एक उत्कृष्ट किताब पढ्दा लेखकको जीवनभरिको अनुभव केही दिनमै प्राप्त गर्न सक्छौं र नयाँ शब्द तथा वाक्य संरचनाहरू सिकेर भाषा समृद्ध बनाउन सक्छौं । अध्ययनले हामीलाई विगत देख्न र भविष्यका लागि परिपक्व बन्न मद्दत गर्छ ।

भाषा मानिसको समुदाय, सभ्यता, र अस्तित्व जोगाउने सुरक्षा कवच हो । यसको महत्त्व बुझ्न मानव उत्पत्तिको कालसम्म पुग्नुपर्छ । इजरायलको हिब्रु विश्वविद्यालयका इतिहासकार तथा लेखक यूवाल नोवा हरारीले सपियन्स ग्रन्थमा उल्लेख गरेअनुसार, भाषा नै होमोसेपियन्सको अस्तित्वको आधार बन्यो ।

उनको अनुसन्धानअनुसार, आजभन्दा करीब तीन लाख वर्ष पहिले बाँदरको भिन्न प्रजातिबाट होमोसेपियन्सको एक शाखा अलग्गियो । यो परिवारभित्र नियन्डरथल, अस्थेलोपिथेकस, होमोइरेक्टस जस्ता अन्य मानव प्रजातिहरू पनि अस्तित्वका लागि संघर्षरत थिए । करीब ७०,००० देखि ३०,००० वर्ष अगाडि भएको संज्ञानात्मक क्रान्तिले होमो सेपियन्सलाई मात्र बचायो ।

यो क्रान्तिले भाषा अभिव्यक्तिको नयाँ स्तर प्रदान गर्‍यो, जसले होमोसेपियन्सलाई नदेखेका, नछोएका, नसुँघेका कुराहरूसमेत कल्पना गरी संवाद गर्न सक्षम बनायो । शक्तिशाली नियन्डरथल समेत टिक्न सकेन, किनभने क्रमिक विकासमा सबै वंश शाखाहरूको अस्तित्व सम्भव हुँदैन भन्ने तथ्य जीवविज्ञानले पुष्टि गर्छ ।

होमोसेपियन्सले आफ्नो अस्तित्व भाषिक क्षमताको कारणले नै मात्रै बचाउन सफल भयो । अरूसँग पनि भाषाको सीमित क्षमता थियो तर उनीहरूले भाषिक क्षमतालाई अगाडी बढाउन सकेनन् । उनीहरूले एक आवाजमा पूरै वाक्य बोल्दथे । होमोसेपियन्सले शब्दहरू जोडेर बोल्न सिक्यो । शब्दको व्यापक भण्डार गर्दै जाँदा त्यही अनुकूलमा उसको दिमाग पनि विकसित भयो । त्यही कारण ऊ आफ्ना अन्य समुदायबाट क्रमशः अलग हुँदै गयो । आफ्नो सन्तानलाई भाषिक तथा औजार निर्माण कलाले अझ परिष्कृत गर्न सक्यो ।  आज हामी अरू प्राणी भन्दा सक्षम छौं भने त्यसको प्रमुख कारण हो सज्ञानात्मक क्रान्ति वा भाषाको विकास ।

अहिले हामीले केही ध्वनिबाट सयौं शब्द, सयौं वाक्य बनाउन सक्छौं । यो तरिका अन्य जीवले विकास गर्न सकेको छैन ।

जो चीज त्यतिकै विरासतको रूपमा मिल्छ त्यसको त्यति धेरै कदर हुँदैन । त्यसको मूल्यलाई हामीले सम्झन सक्दैनौं । भाषा जुन हामीले त्यतिकै पुर्खाबाट प्राप्त गरेको फोकटको माल सम्झने भुल गर्नुहुँदैन । भाषाको लागि पुर्खाको अतुलनीय त्याग र समर्पण छ ।

वेलाबखत हामीलाई भाषासम्बन्धी केही प्रश्नहरूले अत्याइरहेका हुन्छन् । जस्तो : किन दुनियाँको भाषा एउटै हुन नसकेको होला ? यति धेरै भाषा किन होलान् ? त्यसको उत्तर खोज्न हामी नोहाकालीन समाजमा पुग्नुपर्छ । जुन वेला मानव भाषा लगभग मिल्दोजुल्दो थियो । बाइबलमा बताएअनुसार बेबिलोन सभ्यता कालमा त्यहाँ प्रलयकारी बाढी आयो । जसको कारणले बाढीबाट बाचेका मानिसहरू विभिन्न भागमा छरिएर आफूलाई बचाउन सफल भए । तर बाइबलमा संसारको प्रलयले गर्दा नोहाले डुङ्गा बनाएर संसारका सबै जातिका एकएक जोडीलाई बचाएको वृत्तान्त छ । त्यो के हो थाह भएन । त्यो बाढीमा मानिसले आफू रहेको स्थान छोडेर छरिएको कुरा भने सजिलै बुझ्न सकिन्छ । तर छरिएर एसियातिर आएका मानिसले बोल्ने भाषा अपभ्रंश हुँदै आदिम फारसी र त्यसको कालान्तरमा संस्कृत भाषा बन्यो भने युरोपतिर पुगेर त्यो भाषा ल्याटिन, रोमन र ग्रीक भाषा बन्यो । यी सबै भारोपेली परिवारका भाषा हुन् ।

भाषा धर्मभन्दा अत्यन्तै बलियो हुन्छ । युरोपका सबै राज्य भाषाको आधारमा बनेका हुन् । पाकिस्तान र बङ्गलादेश भाषिक कारणले विभाजन भएको हो ।

नेपाली भाषा व्याकरण, शब्दकोश, र प्रयोगका दृष्टिले कतै पनि कमजोर छैन । तर, औपनिवेशीकरणको प्रभावका कारण अंग्रेजीको विश्वव्यापी वर्चस्व देखिन्छ । कतिपयले टेक्निकल शब्दहरूको बाहुल्यका कारण अंग्रेजी अग्रणी भएको तर्क दिन्छन्, तर यो पूर्ण रूपमा सत्य होइन ।

विकसित देशहरूमा राष्ट्रिय भाषाहरू शिक्षाको आधारस्तम्भ हुन् । उदाहरणका लागि, युरोपमा अंग्रेजी ऐच्छिक भाषा मात्र हो, जबकि हरेक राष्ट्रले आफ्नो भाषा जोगाउन कटिबद्ध रूपमा लागिपरेका छन् । युरोपेलीहरू आफ्नो भाषाका लागि संघर्ष गर्छन्, तर सम्झौता गर्दैनन् । बेलायत बाहेक अधिकांश युरोपेली देशहरूमा अंग्रेजीलाई प्रमुख स्थान दिइँदैन ।

तर, नेपाल र भारत जस्ता देशहरूमा भने राष्ट्रिय भाषाहरूलाई पर्याप्त प्राथमिकता नदिइएको देखिन्छ । विलियम शेक्सपियरको नाटक द टेम्पेस्ट की पात्र मिराण्डा जस्तै लाचार सरकारहरूको कारणले हाम्रो मातृभाषा कमजोर बनाउने प्रवृत्ति मौलाएको छ । नेपालमा मात्र नभई भारत, म्यानमार, थाइल्यान्ड तथा नेपाली आप्रवासी रहेका अन्य मुलुकहरूमा समेत नेपाली भाषा बलियो रूपमा स्थापित छ ।

 

तर, हामी हाम्रो भाषाको प्रचार-प्रसार र संरक्षणमा पछि परिरहेका छौं । भाषिक अभियानलाई उपेक्षा गरिन्छ, वा अति न्यून महत्त्व दिइन्छ । यद्यपि, नेपाली भाषा बचाउने अभियानमा अनेसास जस्ता अन्तर्राष्ट्रिय संगठनहरू निरन्तर क्रियाशील छन् । नेपालका साहित्यकारहरू पनि भाषा विकासमा योगदान दिइरहेका छन् । यही निरन्तर प्रयासमा नै नेपाली भाषाको भविष्य सुरक्षित छ ।

नेपाली भाषाको भविष्य यसका विभिन्न पहलहरूलाई हेरेर मात्र आंकलन गर्न सकिन्छ  । नेपाली भाषाको वर्तमान स्थिति विभिन्न पक्षमा मूल्याङ्कन नगरी यसको भविष्यको आकलन गर्न सकिंदैन । नेपाली भाषा राष्ट्रभाषा, राजकीय भाषा, प्रशासनिक कामकाजको भाषा, सम्पर्क भाषा, ज्ञान-विज्ञान तथा अध्यापन भाषा, व्यापारिक भाषा, र रोजगारीको भाषा रूपमा कत्तिको प्रभावकारी छ ? यी प्रत्येक पक्षको विस्तृत अध्ययन आवश्यक छ, किनभने कुनै पनि भाषाको स्थायित्व र समृद्धि यसको व्यवहारिक प्रयोगमा निर्भर हुन्छ ।

के माथि बताइएका सबै क्षेत्रमा नेपाली भाषाको वर्चस्व छ ? वा हामीले क्रमशः आफ्नो भाषाको वर्चस्व गुमाउँदै गैरहेका छौं ? यो विषय बारे थोरै बहस गर्न सकिन्छ ।

वर्चस्व र प्रयासको हिसाबले अनुसन्धान गर्दा, प्रत्येक राष्ट्रले आफ्नो भाषाको विकास र विस्तारमा सहयोगी भूमिका निर्वाह गर्छ वा गर्नुपर्छ । विश्वमा नेपाल त्यस्तो देश हो जहाँ नेपाली भाषाको वर्चस्व स्थापित गर्न गम्भीर भएर लागेको पाइएको छैन । नेपाली भाषाको संरक्षण गर्ने भनेर नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापना भएको छ । तर, त्यो संस्थामा पनि राजनीति हाबी छ । राजनीतिका कारण राम्रा मान्छेभन्दा राजनीतिक गर्ने व्यक्तिको नियुक्तिले प्राज्ञिक व्यक्तिहरू पछाडि पर्दैछन् । सरकारी विद्यालयमा नेपाली पठनपाठन भएका कारण विद्यार्थीको संख्या घट्दैछ । अंग्रेजी भाषा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिंदै छ । इसाईहरूले आफ्नो धर्मको प्रचारसँगै अंग्रेजी माध्यमका विद्यालय स्थापना गर्नाले त्यसको कपी गर्दै नेपालीले पनि त्यही बाटो समातेका छन् । यस्तै अवस्था रहे नेपालमा नेपाली भाषाको पठनपाठन अबको केही वर्षमा अन्त्य हुने सम्भावना देखिएको छ । यो खतराको संकेत हो ।

नेपाली भाषाको अन्त्य हुनु भनेको नेपाली संस्कृति, परम्परा र नेपालीपनको अस्तित्वमा खतरा आउनु हो । यसलाई रोक्न केही पहल भएता पनि आधिकारिक पहल गरेको देखिंदैन । कारण जहाँ पनि राजनीतिको प्रभाव । यस्तो कार्यले नेपाली भाषाको विकासमा गम्भीर असर पर्नेछ ।

अर्कोतर्फ नेपालको सबैजसो गौरव गर्ने कुरा समाप्त हुनेछन् । त्यसैले यसलाई रोक्न तत्काल आवश्यक छ । नेपाली भाषाको सेवा कसैको ठेक्का नभएर प्रत्येक नेपाली नागरिकको भूमिका अपरिहार्य छ ।

नेपाली भाषा एक अन्तर्राष्ट्रिय भाषा भैसकेको छ । नेपाली जहाँ जहाँ पुगे त्यहाँ त्यहाँ नेपाली भाषाको प्रयोग पाइन्छ । दक्षिण एसियाका दुई प्रमुख देश नेपाल र भारतमा नेपाली भाषाले राष्ट्रिय भाषाको रूपमा स्वीकृत पाएको छ ।

नेपाली भाषा नेपालको राष्ट्रियतासँग जोडिएको भाषा हो । देश बचाउन हाम्रा पुर्खाले नेपाली भाषामा गीत गाई युद्ध गरेका थिए । हरेक क्रान्तिमा जीवन, रामेश, रायन, जेबी टुहुरे जस्ता गायकहरूले नेपाली गीत गाएर परिवर्तनमा प्राण भरेका छन् । सयौँ लेखक तथा कविले ‘आमा त्यो आउँछ र ? हो बा त्यो आउँछ,’ भन्दै परिवर्तनलाई बोलाएका छन् । त्यसैले राष्ट्रियताप्रति जिम्मेवार व्यक्तिले पनि नेपाली भाषालाई सम्मान गरेको पाइन्छ । अन्तर्राष्ट्रिय जगतमा आफ्नो भाषाको जगेर्ना सरकारले गर्नुपर्छ । उनीहरूको राष्ट्रियता भित्र आफ्नो राष्ट्रको भाषा पनि पर्छ । जापानी बजारमा पाइने औषधिमा अंग्रेजी अक्षर देख्न पाइँदैन । चीन, कोरिया, जर्मन, फ्रान्स जस्ता विश्वका शक्तिशाली देशमा उच्च शिक्षासम्म आफ्नै देशको राष्ट्र भाषामा पठनपाठनको व्यवस्था अनिवार्य गरिएको छ ।

नेपाली भाषा भारतको दार्जीलिङ, सिक्किम, आसाम, बर्मा, कलकत्ता, पटना, देहरादुन, दिल्ली, मेघालय, मिजोराम, मणिपुर, पश्चिम भारतका राज्य पन्जाब, गुजरात, जम्मुकश्मीर, हिमाचल, कुमाउ, गढवाल, देहरादून मुम्बईसम्म विस्तार छ । दार्जीलिङमा माध्यमिक तहसम्म नेपाली भाषा शिक्षण गर्ने गरिन्छ ।

सिलिगुढी उत्तर बङ्गाल विश्वविद्यालय तथा काशी हिन्दू विश्वविद्यालयले नेपालीमा एमएसम्म अध्ययन गराउँदै आएको छ । भारतमा सन् २००४ मा नेपाली भाषालाई संविधानमा नै मान्यता दिएको छ । नेपाली साहित्यलाई भारतको साहित्यिक अकादमीले सन् १९७५ मा नै मान्यता दिई यसको प्रवर्द्धनमा विभिन्न क्रियाकलाप गर्दै आएको छ । जापानको टोकियो युनिभर्सिटीमा ३५ भाषाको अध्यापन हुन्छ । त्यसमा नेपाली भाषाको मागमा तीन दिनमै कोटा पुगेको थियो भनी त्यसै विश्वविद्यालयका प्राध्यापक हारुहितो नोजुले बताएका छन् । त्यहाँ नेपाली विषयमा जापानी नागरिक हारुहितो नोजुले प्राध्यापन गर्छन् ।

यसर्थ, यदि कसैले नेपाली भाषा सकिंदै गैरहेको छ भन्छ भने मलाई लाग्छ त्यो मूर्ख मात्र हैन नबुझ्ने मानिस हो । हामीले माथिका सबै कुरालाई आधार बनाएर भाषागत तथ्यहरू केलाउनुपर्छ, अनि मात्र बोल्नुपर्छ ।

तथ्यहरू केलाउँदा, एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा मातृभाषाका रूपमा बोलिने १२३ भाषा (पहिलो भाषा) सूचीकृत छन् । नेपालका ४४.६४% जनताको मातृभाषा नेपाली हो । नेपालमा ११.६७%ले मैथिली बोल्दछन् । अन्यको अवस्था ५% र केहीको अवस्था २/३ %को आसपास छ । सम्पर्क भाषाको तहमा झन्डै ८० %नेपालीको सम्पर्क भाषा नेपाली रहेको छ ।

नेपालका अधिकांश भाषाहरू डाइनोसार हुने तरखरमा छन् । १२९ भाषा मध्ये १९ भाषा मात्र १००,००० भन्दा बढीले बोल्ने चलनचल्तीका भाषा हुन् । राज्य र सम्बन्धित भाषिक समुदायको उदासीनता कारण ती भाषाहरू लोप हुन लागेका छन् ।

हामीलाई बहकिने छूट छैन किनकि अहिले नेपालका स्कूलहरूको पूर्ण अंग्रेजीकरणलाई रोक्न तुरुन्तै कदम चाल्नुपर्छ । स्कूलहरूमा पूर्ण अंग्रेजीकरण हाम्रो राष्ट्रिय संस्कृति माथिको आक्रमण हो । भाषा, संस्कृति र राष्ट्रियता माथिको आक्रमण देश माथिको आक्रमण हो । त्यसैले बोर्डिङ स्कूलहरूको पूर्ण अंग्रेजीकरण रोक्न राज्यलाई दबाब दिएर मात्र पुग्दैन । समुदाय पनि जुरमुराएर त्यसलाई रोक्न पहल गर्नुपर्छ ।

नेपाली भाषालाई बुझ्ने नेपालीहरूको संख्या घट्दो नभएर बढ्दो छ । सिक्किम, भूटान, आसाम, म्यान्मार, थाइल्याण्ड र नेपाली आप्रवासी भएको ठाउँमा नेपाली भाषा नै एक मात्र सम्पर्क भाषा रहेको छ ।

 

केही समय अगाडिबाट भारतको मध्ये प्रदेशका मेडिकल कलेजहरूमा मेडिकल साइन्स हिन्दी भाषाबाट पढाइ हुन थालेको छ भने यसको लहर हिमाचल प्रदेशसम्म फैलिने क्रम छ । नेपाली भाषा पनि हिन्दी, अंग्रेजी र फ्रेन्च जत्तिकै विकसित भाषा हो । त्यसैले नेपाली भाषामा इन्जिनियरिङ तथा मेडिकल विज्ञान जस्ता विषयहरू पढाउन सकिन्छ । अंग्रेजीमा के त्यस्ता शब्दहरू छन् जुन शब्दहरू नेपालीमा नहुन् । संस्कृत भाषा अंग्रेजी भन्दा पनि विकसित भाषा हो । नेपालीमा अपुग भएका शब्दहरू संस्कृतबाट लिन सकिन्छ । अनुसन्धान, प्रविधि र मेडिकलसँग सम्बन्धित शब्दहरू अंग्रेजी भाषाबाट लिनुपरे जस्ताको तस्तै स्वीकार्दा भै हाल्यो । देव नागरिक लिपिमा ती शब्दहरूको प्रयोग गर्दा के बिग्रन्छ र !

सन् १९९४ मा मातृभाषाबारे इथोपियामा भएको युनेस्कोको एक अनुसन्धानले बताए अनुसार, हरेक ज्ञान मातृभाषाबाट जति सजिलोसँग मानिसले सिक्नसक्छ, अर्को भाषाबाट सक्दैन । रिपोर्ट अनुसार, प्राथमिक तहका सबै विषयहरू मातृभाषामा पढाउँदा स्कूलमा बालबच्चाहरूको उपस्थिति बढ्नेदेखि लिएर बालबच्चाको समझदारी, रुचि, समर्पण र समाज प्रतिको लगाव उच्च हुने कुरा पत्ता लाग्यो । मातृभाषामा पढेका विद्यार्थीहरूको समाज र देश प्रतिको लगाव बढ्ने हुँदा त्यसले बालबच्चाको मानसिक रुझानलाई सकारात्मक प्रभाव पार्ने रिपोर्टमा उल्लेख छ ।

माथि बताइएका अनुसन्धानका परिणामहरूको सन्दर्भ नेपाली मातृभाषी विद्यार्थीहरूको हकमा पनि हो । मलाई नेपालको शिक्षा प्रणाली देखेर टीठ लाग्छ किनकि नेपाली बालबच्चाले प्रारम्भिक तहमा आफ्नो भाषामा पढ्न पाउने अधिकारलाई राज्यले सम्मान गरेको छैन । भर्खर चार वर्ष पुग्दै गरेका, मातृभाषामा पकड बनाउँदै गरेका नेपाली बालबालिकाहरूलाई निजी स्कूलहरूले अंग्रेजी माध्यामबाट पढ्न बाध्य पारेका छन् । हाम्रै भूमिमा हाम्रै राष्ट्र भाषामाथि आक्रमण गरिएको छ । निजी स्कूलहरूमा एक खालको ज्यादती र बालहिंसा छ । यो देशको लागि दुर्भाग्यपूर्ण अवस्था हो ।

एक बालकले सिक्नुपर्ने आफ्नो मातृभाषाका वाक्यनिर्माण, शब्दहरू सिकिरहेको अवस्थामा उसको आधि ऊर्जा अंग्रेजी भाषा सिक्दा सकिन्छ । त्यसले उसलाई भाषागत अलमल उत्पन्न गर्छ र ऊ मानसिक रोगी बन्न सक्छ । यो अवस्थाको ख्याल गरिएको छैन । शिक्षा मन्त्रालय यस बारे बोल्दैन । नेपालमा यस्तो किन हुँदैछ ? यो प्रश्नले नै अहिले मातृभाषाको उत्थान चाहनाहरूको लागि झकझक्याइ रहेको छ । अन्य विकसित देशमा प्राथमिक तहको पढाइमा विदेशी भाषा पढाइँदैन । युरोपमा आफ्नो मातृभाषामा मेडिकल साइन्स र अन्य टेक्निकल विषय पढ्न सक्छन् भने नेपालीमा किन नसक्नु ?

तथ्यले भन्छ,  विश्वका १८९ देशमा २९०० भन्दा बढी मेडिकल कलेजीहरूमध्ये अधिकांश (१०५, वा ५५.६%) मातृभाषामा निर्भर गर्छन् । अर्को तर्फ, ३९.१% देशहरू विदेशी भाषाहरूमा निर्भर छन् । अफ्रिकाले मातृभाषामा सबैभन्दा कम निर्भरता देखाएको छ; यसको विपरीत, ३९ मध्ये ३८ युरोपेली देशहरू चिकित्सा शिक्षाको प्राथमिक भाषाको रूपमा आफ्नो मातृभाषामा निर्भर छन् । निष्कर्षहरूले विकसित र विकासशील देशहरू बीच चिकित्सा शिक्षामा भाषाको प्रयोगबारे विपरीत अवस्था देखिएको छ । विकसित र अल्पविकसित देशहरू बीचको मातृभाषामा निर्भरताको विविधता र शिक्षामा भाषाको प्रयोग सम्बन्धमा उपनिवेशीकरणको स्थायी प्रभाव प्रष्टै देख्न सकिन्छ ।

नेपाल कहिल्यै कसैको उपनिवेश नभएर पनि शिक्षामा भाषा प्रयोगको अवस्था औपनिवेशिक छ । त्यसैले नेपालको वर्तमान शिक्षा नीतिलाई बदलेर नेपाली भाषामा कुनै पनि विषय पढ्न पाउने गराउनुपर्छ भने प्राथमिक तहको पढाइ नेपालीमै हुनु अनिवार्य छ । अन्यथा कालान्तरमा नेपालमा नेपाली भाषाको उत्थान गर्ने लेखक साहित्यकार, विश्लेषक र भाषाविद्हरू मेटिंदै जाने खतरा रहनेछ । नेपालको भाषा सांस्कृतिक र मौलिक सम्पदा मासेर विदेशी भाषा र संस्कृतिलाई नेपालमा स्थापित गर्ने मिसिनरी र आइएनजीओहरूको योजना सफल हुनेछ । यसले देशमा सांस्कृतिक र भाषागत खालीपन निर्माण गर्ने छ । त्यो अवस्था आउनु भनेको नेपाललाई कंगाल बनाउनु हो । यी कुराहरू वेलैमा बुझेर राज्यले आफ्नो भावी शिक्षानीतिको तर्जुमा गरोस् भन्न चाहन्छु ।

ज्ञानी बालबालिकालाई देशको माटो, भाषा र संस्कृति प्रति उत्तरदायी हुन नदिएर बाल मस्तिष्क मार्ने र संसारभरी अंग्रेजी भाषाको वर्चस्व कायम गर्ने एंग्लो योजनाबारे समुदायले पनि बुझ्नु जरूरी छ । आज नेपालीहरू देशमा बस्न नचाहनुको धेरै कारणमध्ये शिक्षानीति पनि एक हो । यदि नेपाली भाषामा दक्ष जनशक्तिको उत्पादन हुन्थ्यो भने यति धेरै विद्यार्थी विदेश पलायन हुने थिएनन् । अंग्रेजी भाषी मुलुकहरूले आफूलाई चाहिने कामदारहरूको आपूर्ति गर्न उनीहरूकै बमोजिम शिक्षानीति लागू गर्न अल्पविकसित देशलाई मनोवैज्ञानिक दबाब दिइरहेका हुन्छन् । राज्यले बनाउने शिक्षानीतिमा समेत उनीहरूले प्रभाव पारिरहेका हुन्छन् । नेपालको वर्तमान शैक्षिक अवस्था त्यसैको परिणाम हो भन्दा अत्युक्ति नहोला ।

मैले चार कक्षाबाट अंग्रेजी पढें, ठीकै सिकें, काम चलिरहेको छ । मैले युरोप आएपछि निदरल्याण्ड भाषा सिकें, ठीकै छ, काम चलिरहेको छ । तरपनि मलाई मेरै भाषाका गीत-संगीत, साहित्य र ब्याङहरू मन पर्छन् । यताका ब्याङहरू सुनेर ओठ तन्किंदैनन् । बल्लतल्ल ओठ तन्के पनि भने जति मनोरमण हुँदैन । पढ्ने कुरामा म कन्जुस छैन । नेपालीमा नभएका कुरा अंग्रेजी र हिन्दीमा हेर्छु । निदरल्याण्डमा पनि सूचनासम्म हेर्छु । नबुझेका कुरा नेपालीमै गूगल अनुवाद गरेर पढ्छु । चलिरहेको छ ।

ज्ञान विज्ञानको संसारमा भाषिक साम्राज्यवादी हस्तक्षेपलाई तोड्न ढिला गर्नुहुन्न । टेक्निकल पढाइको सन्दर्भमा भन्नुपर्दा, जुन शब्द अंग्रेजी, हिन्दी, जापानी भाषामा प्रसिद्ध छन् र नेपालीमा अनुवाद हुन सक्दैनन् । ती शब्दहरू देवनागरीमा जस्ताको तस्त्यै लेख्न सकिन्छ । यसले गर्दा नेपाली शब्दभण्डार पनि बढ्छ । हामीले पत्रपत्रिकामा लेख लेख्दा त्यसै गर्छौं ।  जस्तो रिक्सा जापानी शब्द हो, अब त्यो शब्द नेपाली जस्तै भयो, जसलाई मानववाहन भन्न जरूरी छैन । बग्गी वा टाँगालाई घोडावाहन भन्न जरूरी छैन । भाषाको समस्या शब्द हैन, वाक्य संरचना हो ।

माथि नै भनियो, मन र आत्माको भाषा नै वास्तवमा मातृभाषा हो जुन आमाको काखमा बसेर दूधपान गर्दागर्दै बालबालिकाहरूले सिक्दछन् । अहिले अरूका मातृभाषा मारेर आफ्नो भाषिक वर्चस्व कायम गर्ने लहर चलेको छ । यो लहर तोड्न अफ्रिकी मुलुकहरू जुरमुराएका छन् भने युरोप, रूस र चीनमा धेरै अगाडिदेखि आफ्नै भाषामा पढाइ गरिन्छ । विदेशी भाषा त्यहाँ ऐच्छिक विषयमा पर्दछन् । भारतमा पनि मध्ये प्रदेश, उत्तराखण्ड, उत्तर प्रदेश हुँदै यो लहर सबैतिर फैलिने क्रममा छ । मेडिकल साइन्समा त्यस्तो केही छैन जसको पढाइ नेपाली भाषामा हुन नसकोस् । आखिर डाक्टर भएर पनि आफ्नै नागरिकको उपचार गर्ने हो । नेपालका सर्वसाधारणहरूले नेपाली बाहेक अन्य भाषा बुझ्दैनन् । बिरामीले अंग्रेजीमा पढेका डाक्टरले न भने-लेखेको बुझ्छन् न आफूलाई के रोग लागेको हो थाह पाउछन् । अप्रेशन गर्दा समेत के लेखेको छ भन्ने कुरा थाह नै नपाई बिरामीले सही गर्नु पर्ने अवस्था छ नेपालमा । जाँच गरेको रिपोर्ट पनि अंग्रेजीमा आउँछ । बिरामीको रिपोर्ट नेपालीमा लेख्न के ले रोकेको हो उनीहरूलाई थाह छैन ।

तर विकसित देशमा त्यस्तो हुँदैन । म बेल्जियममा डाक्टरको रिपोर्ट हेर्छु, सबै खाले टेक्नोलोजीका पढाइबारे बुझ्छु । सबै मातृभाषा मै छ । विद्यालयको पढाइमा अंग्रेजी ऐच्छिक विषय अन्तर्गत हुन्छ, त्यो पनि माध्यमिक तहमा मात्र । बरु फ्रेन्च भाषाको पढाइ चार कक्षामा पुगेपछि हुन्छ । प्राइभेट अंग्रेजी स्कूलमा अति महँगो शुल्क तिरेर डिप्लोम्याटका सन्तान पढ्छन् । तर जागीरको लागि भने स्थानीय भाषामा पढेकालाई पहिलो प्राथमिकता दिइन्छ ।

अंग्रेजी भाषी नेपाली कति होलान् नेपालमा ? छैनन् भने नेपालको सेवामा किन अंग्रेजी स्कूल चाहियो ? बग्रेल्ती अंग्रेजी स्कूलको बाढी चलेको छ । हामीले अंग्रेजी किताबको गह्रुँगो भारी बोकाएर बाल-बालिकालाई तिनै स्कूलमा पठाइरहेका छौँ । अंग्रेजी हावाले हाम्रा भावी पिँढी समाप्त पार्दैछ । यस कुरामा हामी नेपाली हौं भन्ने नेता, कार्यकर्ता र नीति निर्माताहरूलाई लाज लाग्नुपर्ने हो । हामीलाई पनि लाज लाग्नुपर्ने हो । हामी अनेक विषयमा आन्दोलन गर्छौं तर हाम्रो भाषा जोगाउने कुरामा हामी मिरान्डा हुन्छौं । त्यसैले त स्कूल व्यापारीहरूको मनपरी भै राखेको छ ।

अहिले सोच्छु, हामीलाई सात र आठ कक्षामा संस्कृतिको सट्टा नेपालकै जीवित भाषा थारू, तामाङ, गुरुङ वा भोजपुरी भाषा सिकाएको भए व्यावहारिक जीवनमा कति काम लाग्ने रहेछ । मान्छे जुनसुकै धर्मप्रति आस्था भएको किन नहोस् उसलाई उसकै भूगोलभित्र बोलिने भाषा काम लाग्छ । उसले आवश्यकता अनुसार त्यहींको भाषालाई मातृभाषाको रूपमा बोल्दछ । त्यसैले भाषा जाति वा धर्मको घेराभित्र मात्र सीमित हुँदैन । भाषा अरूको चाहनाले भन्दा आन्तरिक कारणले नै लोप हुने हो । जुन भाषामा त्यो देशले गर्व गर्छ त्यो भाषा सानै देशको किन नहोस् लोप हुँदैन । यो नागरिकहरूको आत्मसम्मानभित्र बाँचिरहेको हुन्छ । केही विदेशको हुन्डी खाएका अंग्रजी स्कूलका सञ्चालकहरूले नेपाली भाषा काम लाग्ने भाषा नभएकोले अंग्रेजी स्कूल खोल्नु परेको भन्ने तर्क सुनेको छु । कस्तो दुःख लाग्छ उनीहरूले त्यसो भन्दा ।

एक कविले भन्दछन् , ‘नेपाली भाषा मेटाइदिन्छौं हामीले देशबाट ।’

यी वाक्य पनि उनीहरूले नेपाली मै भन्छन्

तर समुदायले अलिकति नबुझी सोध्छन्,

‘हो र सर ?’

एक कुशल शासक कुरेको छ देशले,

मेटाइदिन्छु भन्नेलाई नेपालबाट मेटाइदिन ।

जबसम्म समुदायको जनजिब्रोमा नेपाली भाषा जीवित रहन्छ तबसम्म नेपाली मात्र हैन कुनै पनि भाषा समाप्त भएर जाने छैनन् ।

‘भाषा फुल्छ हामी एकसाथ बढ्दाखेरि

भाषा मेटिन्छ फोहर तरलतामा बग्दाखेरि

बोर्डिङ स्कूल छाडेर प्रयोगको हिसाबले हाम्रो भाषा समुदायभित्र बचाउन प्रवासमा समेत अनेसास लगायत भाषिक, सांस्कृतिक साहित्यिक र सामाजिक संस्थाहरूले मिलेर काम गरेका छौं । प्रवासका नेपालीले नेपाली अक्षरहरू चिनिरहेका छन् । तिमीलाई राम्रो अंग्रेजीको लवज आएन नि भन्नेहरूलाई तपाइलाई नेपालीको लवज किन आउँदैन त भनेर जवाफ फर्काइरहेका छन् हाम्रा बच्चाबच्चीले । हामी भित्रबाट अंग्रेजी कमजोर भए जागीर पाइँदैन भन्ने डर निकालेको दिनदेखि नेपाली भाषाको अझ हाइहाइ हुनेछ । जन्मभूमि र मातृभाषाको गरिमा र आत्मसम्मानको रक्षा गर्न बाहिरबाट कोही आउँदैन । त्यसको रक्षा हामीले नै गर्ने हो । सबै भाषाको प्रेम गरौं तर मातृभाषालाई सम्मतापूर्वक सेवा गरौं । अस्तु: