भाषा विचार विनिमयको एउटा महत्त्वपूर्ण साधन हो । यो अभिव्यक्तिको महत्त्वपूर्ण माध्यम पनि हो । यो वाक प्रतीक हो ।

भाषा यादृच्छिक र व्यवस्थित  पनि हुन्छ । यो सामाजिक वस्तु पनि हो । मानव जातिको उत्पत्तिसँगै भाषाको उत्पत्ति भएको पाइन्छ । समाजमा एकापसमा बुझ्ने भाषा नै छैन भने सामाजिक जीवन अत्यन्तै जटिल हुन्छ । कुनै देश वा समाजमा एउटै भाषा मात्र हुँदैन, अनेक भाषाहरू प्रयोग गरिएका हुन्छन् वा बोलिन्छन् । एउटै भाषाका पनि अनेक भाषिका र उपभाषिका हुन्छन् । भाषामा पनि स्वाभाविकता, गतिशीलता र उत्पादनशीलताको विशेषता हुने हुनाले कुनै एउटा भाषा सधैंभरी एउटै रूप र संरचनामा विकास भएको हुँदैन । समयक्रम अनुसार स्वाभाविक रूपमा परिवर्तन भइरहन्छन् ।

कुनै पनि भाषालाई कुनै पनि वेला परिवर्तन गर्छु भनेर परिवर्तन हुँदैन । संसारका कतिपय देशहरूले ती देशमा प्रयोग गरिने भाषाहरूलाई राष्ट्र, राष्ट्रिय, कार्यालयीय, सरकारी र आधिकारिक भाषा भनेर चिनाएका पनि छन् । मानिस मातृभाषी वा एक भाषी मात्र नभएर द्विभाषी र बहुभाषी पनि हुन्छन् ।

एन्थोलगका अनुसार संसारमा सन् २०२३ मा ७,१६८ भाषा बोलिन्थे । यी मध्ये कतिपय भाषा लुप्त प्राय: छन् । संसारमा बोलिने भाषा बारे भाषा वैज्ञानिकहरूले विभिन्न आधारमा अध्ययन, अनुसन्धान र वर्गीकरण गरेका छन् । भाषिक समानता र स्थानिक निकटताका आधारमा विश्वमा बोलिने भाषालाई अफ्रिकाली, अमेरिकाली, ककेसियाली, जापानी-कोरियाली, मलय-पोलेनिसियाली, युराल-अल्टाइली भारोपेली, चिनियाँ-तिब्बती, आग्नेली र द्रविड गरी १० भाषापरिवारमा  वर्गीकरण गरेको पाइन्छ ।

अंग्रेजी भाषा अमेरिकाली भाषापरिवारमा पर्ने प्रमुख भाषा हो । अंग्रेजी भाषाको नामकरण जर्मनी जनजाति एङ्गल्सको नामबाट राखिएको हो भनिन्छ । अंग्रेजी भाषाको इतिहास र विकास हेर्दा इस्वीको चौथो र पाँचौं शताब्दीको बीचमा बेलायतमा आएका तीन जर्मन जनजातिहरू एङ्गल्स, स्याक्सन र जुटहरूको आगमनसँगै भएको बताइन्छ । यी जनजातिहरू बेलायतमा आएपछि बोलिने भाषालाई अंग्रेजी भनियो । अहिलेको ग्रेटब्रिटेनमा अंग्रेजी  भाषाको उत्पत्ति भएको बताइएको छ ।

यसरी बेलायतमा उत्पत्ति भएको अंग्रेजी भाषा इस्वीको १८ र १९ औं शताब्दीमा आउँदासम्म ब्रिटिश साम्राज्यको विस्तारसँगै  आधुनिक अंग्रेजी भाषाको रूपमा संसारभरि फैलिएको छ । विश्वमा अहिले करीब ४० करोड अंग्रेजी मातृभाषी छन् भने १ अरब ३५ करोड अर्थात १.३५ बिलियन मानिसले अंग्रेजी भाषा बोल्छन् । विश्वमा ६७ देशले अंग्रेजीलाई आधिकारिक भाषाको रूपमा मान्यता दिएका छन् त्यस्तै १३८ देशले आफ्नो विद्यालयदेखि विश्वविद्यालय सम्मका  पाठ्यक्रममा अंग्रेजी भाषा र साहित्यलाई मुख्य विषयका रूपमा समावेश गरेका छन् ।

संयुक्त राज्य अमेरिका बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक मुलुक हो । अमेरिका अस्तित्वमा आउनुपूर्व नै यहाँका बसोबास गर्ने आदिवासीले करिब तीन सय भाषा बोल्थे भनिन्छ ।

सन् १७७६ मा अमेरिका स्वतन्त्र राज्य घोषणा गर्दा यहाँको प्रमुख भाषा अंग्रेजी नै थियो । अमेरिकामा बोलिने अन्य भाषाहरूलाई कुनै चोट नपरोस् भनेर पनि यहाँ सर्वप्रचलित सम्पर्क भाषा अंग्रेजीलाई संघीय सरकारले आधिकारिक भाषा भनेर घोषणा नगरेको बताइन्छ । यहाँ करीब ३५० देखि ४५० भाषा बोलिन्छन् । यहाँका अंग्रेजी बाहेक अन्य प्रमुख भाषाहरूमा स्पेनिश, चाइनिज, तगालग(फिलिपिनी),  भियतनामी, अरेबिक, फ्रेन्च, कोरियन, रुसी, जर्मनी आदि रहेका छन् ।

अमेरिकामा संघीय स्तरमा कुनै सरकारी वा कार्यालयीय भाषा छैन तापनि अंग्रेजी भाषा सबैभन्दा चलनचल्तीको सम्पर्कमा प्रयोग हुने भाषा हो । ३० वटा  राज्य सरकारले भने अंग्रेजीलाई आधिकारिक भाषाको मान्यता दिएको छ ।

संयुक्त राज्य अमेरिका आप्रवासीको बाहुल्यता भएको र अत्यधिक बहुभाषिक मानिस बसोबास गर्ने हुनाले यहाँका स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने  आप्रवासीहरूलाई  दैनिक जीवन यापन गर्नदेखि लिएर एकापसमा विचार विनिमय गर्न र कार्यालयीय सेवा सुविधा प्राप्त गर्न जटिल हुने गर्दछ । भाषिक समस्याले गर्दा सरकारी सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था पनि छ ।

केएफसीका अनुसार यहाँ करीब ४७ प्रतिशत आप्रवासी वयस्कहरू अंग्रेजी भाषा बोल्न गाह्रो मान्ने गर्छन् । उनीहरू आफ्नो भाषिक समुदायसँग मात्र बोल्छन् । यसले गर्दा सपनाको संसार भनी अमेरिका आएका आप्रवासीलाई सरकारी सेवा सुविधा प्राप्त गर्न, राम्रो रोजगारी पाउन, यातायातदेखि बजारमा किनमेल गर्न, विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षा प्राप्त गर्न, बालबच्चाको शिक्षाका बारेमा विद्यालयमा परामर्श गर्न कठिनाइ भोगिरहेका छन् । यद्यपि अमेरिकामा सरकारी अन्य व्यावसायिक कार्यालय वा प्रतिष्ठानहरूमा सेवाग्राहीलाई भाषिक समस्या नआओस् भनेर अनुवादकको व्यवस्था गरेको त हुन्छ तर यो केही झन्झटिलो रहेको छ ।

संयुक्त राज्य अमेरिकामा वर्षमा करीब ७५ हजार आप्रवासीहरू रोजगार, शिक्षा र गुणस्तरीय र सुरक्षित जीवन बिताउन बसाइँसराइ गर्छन् । आप्रवासीले अंग्रेजी भाषामा धाराप्रवाह कुराकानी गर्न नसक्दा आफूसँग भएको क्षमता पनि प्रयोग गर्न सक्दैनन् । यसले गर्दा आर्थिक उन्नति, शैक्षिक उपलब्धि प्राप्त गर्न र गुणस्तरीय जीवन बिताउन गाह्रो देखिन्छ ।

अंग्रेजी भाषा कमजोर भएको हुनाले आप्रवासीहरूले आफ्नो भाषिक समुदाय खोजी गरी बसेको देखिन्छ । यसले गर्दा अमेरिकाभित्र आप्रवासीका आआफ्नै सामुदायिक संस्था स्थापना गरेका पनि छन् । यसैले अमेरिकामा सहज जीवनयापन गर्न, सामाजिक क्रियाकलापमा सहभागी  हुन, राज्यबाट सेवा सुविधा प्राप्त गर्न र राम्रो रोजगारी प्राप्त गर्न अंग्रेजी भाषालाई अनिवार्य रूपमा जान्नुपर्ने वा सिक्नुपर्ने नै देखिन्छ । यहाँ अंग्रेजीलाई दोस्रो भाषाको रूपमा सिकाउन सरकारी र व्यक्तिगत रूपमा पनि भाषिक सीपका कक्षाहरू सञ्चालन गरेका पनि हुन्छन् ।

(भर्जिनिया, अमेरिका)