धरणीधर कोइराला वा सिद्धिचरणको युवा वयको जोश र जाँगर रबिनमा पनि यथेष्ट देख्छु । साँचो बोल्न र लेख्न नडराउने स्वभाव छ उनमा । यही स्वभावले उनलाई सत्यको नजिक लैजानेछ भन्ने मेरो विश्वास छ ।

——

रबिन शर्मा समकालीन साहित्यानुरागीहरूमाझ प्रिय नाम हो । मैले उनलाई अनन्त जोश र जाँगरले युक्त उत्साही, प्रतिभाशाली बहुजनका आँखाको नानी जस्तै प्रिय व्यक्तिका रूपमा पाएको छु । नेपाली साहित्य जगतमा उदियमान् कविका रूपमा देखा परेका रबिन नेपालबाट रोजीरोटीका लागि जापान गएका नेपालीहरूमाझ अत्यन्त लोकप्रिय छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका पूर्व अध्यक्ष अन्तर्राष्ट्रिय केन्द्रीय कार्य समितिका निवर्तमान सदस्य र वर्तमानमा केन्द्रीय कार्य-समितिको सचिव उनको संस्थागत साहित्यिक चिनारी हो ।

पश्चिम नेपालको पर्वत जिल्लामा जन्मी गाउँबेंसी, उकाली, ओराली, देउराली, घर, बन, मेलापात र स्कूले जीवनका घामछायामा रत्तिंदै उनको बाल्यकाल बित्यो । जीवनयात्राको लामो राजमार्गमा उनका पाइतालाले पर्वत, पोखरा, चितवन, काठमाडौंदेखि जापानको टोकियो, चिवा र ओशाका सम्मको दूरी पार गरिसकेका छन् । उनका भौतिक र मानसिक पाइलाहरू एकसाथ गतिशील छन् । उनी दिनमा मेशिन र साँझ बिहान कापी कलमसँग निरन्तर खेल्दै आएरहेछन् अर्थात् उनी हरेक काम खेल खेले जस्तै रमाइलो पारामा सम्पन्न गर्छन् । खेलकूद, गीत, सङ्गीत, संस्कृति र साहित्यका तरेलीहरूमा उनको उपस्थिति साँच्ची नै लोभलाग्दो छ ।

समाजसेवा र युवा जागरणका क्षेत्रमा पनि सहृदयतासाथ उनले धेरै साथीहरू कमाएका छन् । साहित्यिक र सांस्कृतिक कार्यक्रमलाई कसरी अब्बल बनाउने भन्नेमा जापानका अभियन्ताहरूमाझ रोलमोडेल नै छन् उनी । उनको अगुवाइमा सञ्चालन भएका साहित्यिक तथा सांस्कृतिक मेलामा उनले हजारौं दर्शकहरू जुटाउने खुबी प्रदर्शन गरिसकेका छन् ।

उनीसँगको मेरो पहिलो भेट सन् २०२० को फेब्रुअरीमा भएको हो । त्यसदेखि यता उनका साहित्यिक कर्मका साक्षीहरूमध्ये म पनि एक हुँ । त्यसो त जापानलाई कर्मभूमि बनाएका कवि लेखकहरूमध्ये दर्जनौँ जुझारु एवम् प्रतिभाशाली स्रष्टाहरूको उपस्थिति र प्रस्तुतिबाट समेत म प्रभावित छु । कसैले छन्दमा, कसैले गद्य कवितामा, कसैले गीतमा, कसैले गजलमा, कसैले चित्रकलामा र कसैले मूर्तिकलामा समेत आफ्नो प्रतिभा देखाउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा जापान च्याप्टरलाई उदाहरणीय बनाउनमा धेरैको हात र साथ छ । तिनै मध्ये बलियो खम्बा हुन् – रबिन ।

कविता प्रतियोगितामा प्रथम स्थान ओगट्न सफल कविता पनि यस संग्रहमा संग्रहित छ । कार्यक्रम सञ्चालन र कविता प्रस्तुतिबाट साथीहरूमाझ पटक पटक वाहवाही कमाएका छन् उनले ।

यतिखेर मेरो हातमा उनको ‘देउता बनाउने कारखाना’ कवितासंग्रह छ । यसमा ३९ वटा कविता संकलित छन् । रबिनलाई बढी नै मनपर्ने कविता हो ‘देउता बनाउने कारखाना’ । मलाई पनि निकै छोएको छ यस कविताले । अमूर्त अमूर्त जस्तो अनुभूति हुने यस कविताले अर्थका अनेक पत्रहरू देखाउँछन्, आफ्नै माटो, आफ्नै जन्मदाता अवचेतन मनमा ढुङ्गाको अक्षर जस्तै भई कोरिएका सांस्कृतिक बिम्बहरूको आँखीझ्याल उघार्छन् र देखाइदिन्छन् अपनत्व, स्वपहिचान र सत्कर्मका लहलह बाली । त्यस्ता मनहरूलाई उनले देउता बनाउने कारखानाको नाम दिए ।

देउता बनाउने कारखाना

देउता बनाउने कारखाना मूलतः आफ्नै देश त हो नि । देउता बनाउने कारखाना आफ्नै सांस्कृतिक धरोहर त हो नि । देउता बनाउने कारखाना यान्त्रिक जीवनले अभिप्रेरित गरेको पवित्र र असल मन नै त हो नि । वास्तवमा यो मानववादी भाव अनुगुन्जित गर्ने ध्वन्यात्मक कविता पनि हो । उनले नेपथ्यबाट मठ, मन्दिर, र देउताको मूर्ति कुँद्ने कलाकारलाई पनि चियाएका छन् र सधैं आफ्ना सन्तानको भलो चिताइरहने बाबुआमा र बाबुआमाको मुहारमा खुशीका रेखा कोर्ने कर्मवादी सन्तानको महिमा गान गरेका छन् ।

कारखाना यान्त्रिकताको पनि निरन्तरता-गतिशीलताको प्रतीक पनि हो । एकातिर यन्त्रको सहारामा चल्नुपर्ने, घिसार्नुपर्ने, हिँडाउनुपर्ने, दगुराउनुपर्ने जिन्दगी पनि छ र देउतालाई खुशी राख्ने भावना पनि छ । हिजोआज प्रवासीका नेपाली स्वार्थी भए भन्ने भावका हजारौं कविता छ्याप्छ्याप्ती लेखिएका छन् तर यस कविताले भने भिन्न मन पेश गर्छ । देशैं रेमिट्यान्सले चलेको छ भने नेपाली श्रमिकहरूमाथि अवाञ्छित आरोप मात्र किन भन्ने प्रश्न पनि छ यहाँनेर । सबै श्रमिकको प्रतिनिधि जस्तो भएर न्यायको पक्षमा आवाज उठाउँदै ठगी खान पल्केकाहरू भन्दा कैयन गुना माथि छन् भन्ने काव्यिक तर्क पनि हो यो कविता । कामचोर ठगलाई पनि देशभक्त भन्न मिल्दैन भन्ने ध्वन्यात्मक अभिव्यञ्जना पनि प्रष्फुटित हुन्छ यहाँ । अर्कोतर्फ कर्मवादी सन्तान जन्माउने बाबुआमा पनि देउता बनाउने कारखाना हुन् । अरनिकोले तिब्बत र चीनमा गएर मूर्ति र चैत्यहरू निर्माण गरी मान्छेका देउताको हंस भरे भने देशले उच्च दर्जाका कालिगढ पनि जन्मायो । यस्ता बाबुआमा भनेका साँच्चैका ब्रह्मा, विष्णु, महेश्वर नै हुन् र उनीहरूले दिने आशीर्वादमा देवत्वकै भाव छ पनि भन्छ यस कविताले ।

दुई विपरीत वस्तु, विचार वा भावलाई एकै ठाउँमा जोड्नु असल काव्यकर्म हो, काव्यिक यस कवितासंग्रहमा पनि यस्तै प्रवृत्ति अभिलक्षित छन् । धेरैजसो कविताले घरदेश र परदेशलाई एकैसाथ आँसु र व्यथाका रङहरूले घोलेका छन् । घरदेशमा दुःखका पहाडहरू छन् परदेशमा आँसुका महासागरहरू छन् । उनीहरू सन्तानको उज्ज्वल भविष्यका लागि आफ्नो जिउने आधारलाई नै बन्धकीमा राख्न विवश छन् । घर र खेतबारी नै आँखा चिम्लेर बन्धकीमा राख्छन्, भएभरका सुन र गहना गुरिया बैंकमा धितो राख्छन् । उतातिर छोरा वा छोरी एकबारको जिन्दगीलाई नै दाउमा राखेर आगै आगोको भुङ्ग्रोमा हिँड्छन् ।

अझ त्योभन्दा पनि व्यथित बनाउने अर्को तत्त्व पनि छ त्यो हो मनको गहिराइमा दबिएर रहेको सम्झना । सम्झना यति जब्बर छ कि खिलभन्दा पनि जब्बर । धेरै प्रकारका घाउ र पीपहरू पानीले पखाली-पखाली निको बनाउन सकिएला तर आँसुकै गण्डकीले पनि सम्झनालाई बगाउनु सकिंदैन । कति मार्मिक छन् उनका तलका काव्यप‌ङ्क्तिहरू :

यो पैतलाले आगो टेक्नेहरूको ठाउँ हो

मलम आफ्नै आँसु हो

भोक पनि आफ्नै आँसुले मेटिन्छ

तर कसैले बताएनन्

याद आँसुले मात्र नमेटिंदोरहेछ

जीवनमा गरीबी र अथाह संघर्षका उल्झनहरू त छँदैछन् । तीभन्दा पनि भयावह सामाजिक विभेदका अभेद्य पर्खालहरू देशोन्नतिका विपक्षमा तैनाथ छन् । आजको एक्काइसौं शताब्दीमा यात्रा गरिरहँदा पनि छोइछिटो र ऊँचनीच यथावत् नै छ । सबैले खाने रोटी पनि उस्तै हो । सबैले खाने भात पनि उस्तै हो । किन त्यसमा पनि ऊँचनीचको भावना ? यस्तै सामयिक प्रश्नहरूको दस्तावेज पनि हो यो कवितासंग्रह ।

रबिन मस्तिष्कभन्दा बढी हृदयका कवि हुन् । उनको छातीमा भावनाको मूल छ । त्यो मूल करुण रसको उदेक गर्छ । उनले पिता, माता, दाइ, भाइ, दिदी, बहिनी, साथी, सँगी र देशका अक्षांश र देशान्तरका रेखाहरू सँगको वियोगलाई फूलका पत्र-पत्रमा टप्केका शीतका थोपाहरू जस्तै बनाएर व्यञ्जित गरेका छन् । आँसुका थोपा पनि घामका सहस्र ज्योतिमा मोतीका दाना जस्तै देखिन्छन् । यस्तै मोती दानाहरूको सहस्र वहावको रसान्तम अन्तिम परिणतिमा हाम्रा असाध्य पीडाहरूको विरेचन हुन्छ ।

यस सन्दर्भमा भन्न मन लाग्छ – शर्मा करुण रस, कारुणिकता कतिपय सन्दर्भमा अर्थ ध्वनिका कवि हुन् । उनका कतिपय कविताको कतिपय पङ्क्तिबाट एउटा अबोध साधारण पाठक पनि भक्कानिन्छ । हुन त यो हामी नेपालीहरूको साझा पीडा हो । यही साझा पीडा पनि मनोयोगपूर्वक पढ्ने पाठकका लागि आफ्नै व्यक्तिगत नुनिलो आँसु बन्छ । कविताको शक्ति पनि यही नै हो ।

यस कविताका कतिपय सन्दर्भमा भन्नुपर्दा हाम्रो सांस्कृतिक भण्डारका मानव मूल्यगत विरासतहरूका असल गायक हुन् । उनका कतिपय कविताले टोकियो, न्युयोर्क फ्याङफर्ट जस्ता शहरका माथिल्लो तलामा बसेर कविताको रस्वास्वादन गर्ने अध्येतालाई पनि पोखरा, कुस्मा, बेनीबजारतिरका गाउँघरको भ्रमण गराइदिन्छन् । कतिपय कविताले पर्वत, बाग्लुङ, स्याङ्जातिरका प्रेमिल पाठकहरूलाई टोकियो, चिवा, ओशाका र क्योटोतिरका मानव पुतलीहरूको दृश्यावलोकन गराउँछन् । नेपाली पाठकहरू आफैं नै सप्तरङ्गी फूलबारीमा फुरफुर गर्दै नाचिरहेको पुतली भएको अनुभव गर्छन् । यस अर्थमा मानव सम्पदाको गायक पनि हुन् उनी । त्यसभन्दा बढी त प्रकृतिकै गायक हुन् भन्दा पनि हुन्छ ।

तीसौं वसन्तमा यात्रा गर्ने जुँगामुठे युवकका सपना कस्ता होलान् ? तिनका मानस जगतमा गुञ्जिने चराहरूको चिरिबिरी कस्तो होला ? यीनै प्रश्नहरूको सोलोडोलो उत्तर पनि हो – ‘देउता बनाउने कारखाना’ । यो उमेर समूहका युवा युवतीले मन पराउने स्वतन्त्रता बेग्लै खालको हुन्छ । उनीहरू जातपात मन पराउँदैनन् । संस्कृतिका नाउँमा थाती रहेका कुसंस्कृति र विकृतिहरूलाई आजको वैज्ञानिक युग सुहाउँदो सि‌ङ्गो मानवमूल्यको कसौटीमा एकदमै तटस्थ भाव उल्टोसुल्टो दुवै कोणबाट निरीक्षण गर्न उत्प्रेरित देखिन्छन् । भनाइको तात्पर्य के हो भने निरक्षर बाजे बराजुका भावनाको पवित्रतालाई कुनै खोट नलगाई आजका मान्छेका स्वतन्त्र चाहनालाई पनि उच्च सम्मान गर्दै बीचको बाटोबाट मानवताको सम्वर्द्धन गर्नुपर्छ भन्ने दृष्टिचेत उनका कविताहरूले प्रदान गर्छन् ।

म यहाँ न त रस, ध्वनि, अलङ्कार, गुण वा औचित्यको कसीमा यी कविताहरू तौलिंदै छु न त बिम्ब, प्रतीक, मिथक र संरचनाको तराजुमा जोख्दै छु । कतिपयलाई यो भूमिका अतिरञ्जित प्रशंसा पनि लाग्न सक्ला । कुरो त्यसो होइन । म त यी कविताहरूलाई उनकै उत्साह र सुदूर दुर्गम भेगहरूबाट एक दर्शक जस्तै भएर हेर्न खोज्दैछु । यी कविताले प्रदान गर्ने मूल स्वर के हो र यो कविताले के कस्तो परिस्थिति र मनस्थितिको सङ्केत गरेका छन् भन्ने तर्फ नै म बढी रूपमा केन्द्रित छु ।

यो पहिलो कृति त छँदै हो । यसमा रबिनका सीमाहरू पनि छन् । मेरो बुझाइमा उनी कविताका यथार्थमै असल श्रोता हुन् भन्ने लाग्छ । राम्रो पोशाक लगाएकाहरूलाई देख्ने मान्छेले राम्रै लुगाको खोजी गर्छ भनेझैं मैले राम्रा र उत्कृष्ट कविता लेख्नुपर्छ भन्ने चेतना उनमा छ । कविताको सङ्ख्या बढाउनुपर्छ भन्ने भावना पटक्कै छैन उनमा । लामो समयको सफरमा यो कृति आउनुलाई यसैको साक्षी-प्रमाण मान्नुपर्छ ।

मैले उनको उमेरमा कस्ता कविता लेखें ? यही आधारमा वयोवृद्ध पाका कविहरूले यस कृतिको पठन गरे भने केटाले त मैलेभन्दा पनि राम्रा कविता पो लेखेछ भन्न सक्छन् ।

नेपाली साहित्यकै कुरा गर्ने हो भने पनि देवकोटा, लेखनाथ, सम, रिमाल र भूपीहरूले नै पनि कहाँ सबै रचनामा सिद्धी प्राप्त गरे त ? धरणीधर कोइराला वा सिद्धिचरणको युवा वयको जोश र जाँगर रबिनमा पनि यथेष्ट देख्छु ।

साँचो बोल्न र लेख्न नडराउने स्वभाव छ उनमा । यही स्वभावले उनलाई सत्यको नजीक लैजानेछ भन्ने मेरो विश्वास छ । धेरै युवाकविमा प्रशस्तै बासीपना भेटिन्छ तर रबिनमा केही नौलो लेख वा नयाँ शैलीमा कविता बनूँ भन्ने चाह राख्छन् । यही नविनता र भिन्नपनको आभास उनका कविताले दिएका छन् । आध्यात्मिक जगतमा साधना शब्द प्रचलनमा रहेको पाइन्छ । सिद्धिका लागि साधना त गर्नैपर्छ । शिखरमा पुग्न उकालो त चढ्‌नैपर्छ । शब्दहरूलाई ठीकठीक तवरले उन्न र बुन्न लामै अभ्यास गर्नुपर्छ । अरूभन्दा भिन्न देखिन जसलाई पनि साधना जरूरी हुन्छ । यस्तो अपेक्षा रबिनका सन्दर्भमा पनि लागू हुन्छ ।

० ० ०

निष्कर्ष :

रबिन शर्मा बहुमुखी प्रतिभा हुन् । प्रतिभा प्रदर्शनका बाटा असङ्ख्य छन् । उनलाई उचाइँको सगरमाथा टेकाउने क्षेत्र कविता नै हो । हुने बिरूवाको चिल्लो पात भनेझैं अलग्गै अग्लो शिखर बन्न सक्ने अभिलक्षण यस संग्रहका हरेक कविताले सङ्केत गर्छन् । उनको दोस्रो कृति योभन्दा भव्य हुनेछ भन्ने विश्वासको काव्ययात्रामा उन्नत खुट्किलाहरूले देखाएको तथ्य सत्य हो । सबिनको साहित्य-यात्राले अझ उन्नत र अग्ला चुलीहरू टेकून् । भविष्य सुनौलो छ । मुरीमुरी शुभकामना ।