नेपाली संगीतप्रेमीहरूका लागि किरण रसाइली परिचयको नाम मात्र होइन, प्रेरणाको प्रतीक पनि हुन् । भूटानी शरणार्थी समुदायका पहिलो संगीत शिक्षक तथा बहुप्रतिभाशाली संगीतकारका रूपमा रसाइलीले आफ्नो सिर्जनामा परम्परा, आधुनिकता, र सांगीतिक कलाको सम्मिश्रण गर्दै जीवन जिउने पाठ सिकाएका छन् ।

रसाइलीको जन्म भूटानको चिरांगमा भएको हो । सन् १९९० मा भूटानबाट निर्वासित भएपछि उहाँले झापाको टिमाई शरणार्थी शिविरमा संघर्षमय जीवन बिताउनुभयो । कठिन परिस्थितिले पनि उहाँको संगीतप्रतिको लगावलाई रोक्न सकेन ।

उहाँले सन् १९९५ मा आफ्नो बाल्यकालको साथी रत्न गुरुङसँग मिलेर यूफोरिया सांगीतिक समूह स्थापना गर्नुभयो । यस समूहले शरणार्थी शिविरका युवाहरूमाझ संगीतको माध्यमबाट उत्साह र एकता फैलाउन उल्लेखनीय भूमिका खेल्यो ।

उहाँले आफ्ना प्रारम्भिक संगीतशिक्षा भूटानका शिक्षक जोन चिरामलबाट प्राप्त गर्नुभयो । दार्जीलिङमा जीवन प्रधानसँग पाश्चिमी शास्त्रीय गितारको अध्ययन गर्दै, उहाँले संगीतलाई व्यवस्थित रूपमा सिक्न थाल्नुभयो । उहाँले सन् २००५ मा अस्ट्रेलियाबाट संगीत शिक्षामा डिप्लोमा, अमेरिकाका प्रतिष्ठित संस्थाहरूबाट संगीतका विभिन्न विषयमा डिग्री हासिल गर्नुभयो ।

दार्जीलिङ र नेपालका विभिन्न ठाउँमा अनौपचारिक रूपमा संगीत सिकाउन थाल्नुभएको किरणले साथी रुद्रेशोभ राईसँग मिलेर दमकमा औपचारिक संगीत शिक्षालय स्थापना गर्नुभयो । यसरी RIFF संगीतालयको औपचारिक शुरूवात भयो । यस संगीतालयमार्फत, उहाँले पूर्वी नेपालमा पहिलो पटक ‘एबिआएसएम लण्डन’ को पाठ्यक्रम लागू गर्नुभयो ।

रसाइलीले अमेरिका, स्पेन, र ग्रीसका चर्चित संगीत साधकहरूसँग प्रशिक्षण लिँदै आफ्नो सिर्जनालाई परिष्कृत गर्नुभयो । उहाँले परम्परागत नेपाली बाजा र आधुनिक संगीतको संयोजन गर्दै आफ्ना सिर्जनालाई विशिष्टता प्रदान गर्नुभएको छ । उहाँले चर्चित एल्बमहरूमा संगीत दिनुभएको छ । भूटानी गायक किशोर शिवाकोटीको ‘भूगोल’, शिव परियारको ‘आमा’, र दीप श्रेष्ठको ‘सपना’ जस्ता गीतमा रसाइलीको संगीत संयोजनको जादू देख्न पाइन्छ ।

पुनर्वासपछि अस्ट्रेलियामा बसोबास गर्न थाल्नुभएको किरणले सन् २०१८ मा ‘ओ वरीस् !’ शीर्षकको फ्युजन संगीत सिर्जना गर्नुभयो । मुक्ति गुरुङले लेख्नुभएको नेपाली शब्दमा रसाइलीले फ्युजन संगीत तयार गर्नुभएको थियो । यो फ्युजन संगीतले अन्तर्राष्ट्रिय पुरस्कारहरू जित्न सफल भएको थियो । यसमा नेपाली परम्परागत बाजाहरूको रक संगीतसँग संयोजन गरिएको छ ।

प्रस्तुत छ, अर्जुन प्रधानले किरण रसाइलीसँगको कुराकानी :

शरणार्थी जीवनबाट संगीतमा तपाईंको यात्रा कसरी सम्भव भयो ?

– संघर्ष मेरा लागि प्रेरणा बन्यो । संगीत मेरो अभिव्यक्ति र आत्मविश्वासको माध्यम हो ।

यूफोरिया स्थापना गर्दा कस्तो चुनौती सामना गर्नुभयो ?

– साधनको अभाव थियो, तर तपाईंहरूको साथ, माया, र ऊर्जा भरपूर थियो । हामीलाई कुनै चुनौतीले रोक्न सकेन ।

आर.आइ.एफ.एफ संगीत विद्यालय स्थापना किन गर्नुभयो ?

– शरणार्थी भाइबहिनी र नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको संगीत शिक्षा दिनु मेरो उद्देश्य थियो ।

संगीतमा आधुनिकता र परम्पराको संयोजन कसरी गर्नुहुन्छ ?

– परम्परा हाम्रो पहिचान हो । आधुनिक शैलीमा त्यसलाई प्रस्तुत गर्नु हाम्रो कर्तव्य हो ।

‘भूगोल’, ‘आमा’, र ‘सपना’ सिर्जना गर्दा कस्तो अनुभव रह्यो ?

– यी सबै गीतले जीवनका गहिरा भावनालाई उजागर गर्छन् । संगीत सिर्जना मेरो लागि पूजा जस्तै हो ।

‘ए योद्ध हो’ सिर्जना गर्दा कस्तो अनुभव गर्नुभयो ?

­- परम्परागत बाजाहरू र रक संगीतको फ्युजनले नयाँ सम्भावना प्रस्तुत गर्‍यो । यसले अन्तर्राष्ट्रिय सहकार्यको मार्ग खोलेको छ ।

दार्जीलिङ, लन्डन, र अस्ट्रेलियामा सिकेका पाठ तपाईंको सिर्जनामा कत्तिको महत्त्वपूर्ण छन् ?

­- ती सिकाइहरूले मेरो दृष्टिकोण व्यापक बनाएको छ ।

नेपाली बाजालाई आधुनिक संगीतमा जोड्नुको अर्थ के हो ?

-­ यो हाम्रो मौलिकता जोगाउने प्रयास हो ।

शरणार्थी जीवनले तपाईंको संगीतमा कस्तो प्रभाव पार्‍यो ?

-­ संघर्ष र आशाको कथा मेरो संगीतमा झल्किन्छ ।

भविष्यमा के के योजना छन् ?

-­ नेपाली भाषी भूटानी संगीतलाई विश्वव्यापी बनाउने र नयाँ पुस्तालाई संगीतमा प्रेरित गर्ने ।

 

किरण रसाइलीको सांगीतिक यात्रा नेपाली संगीत, संस्कृति, र पहिचानको जगेर्नाको अनुपम कथा हो । उहाँको सिर्जनाले नेपाली भाषी भूटानी समुदायलाई मात्र होइन, सम्पूर्ण नेपाली संगीतलाई विश्वस्तरमा पुर्‍याउने काम गरेकोमा हामी सधैं आभारी छौं ।