भूइँदेखि दुई इन्च माथि दुइटै खुट्टा झुल्दै थिए। खुट्टा नीला भएका थिए। दुइटै खुट्टाका औँलामा रातो नेल पोलिस लगाइएका थिए । दुइटै हात लथ्रङ्ग भएर झुण्डि़एका थिए । मुख फिँजै–फिँज भएको थियो। दुइटै आँखा टोल्लिराखेका थिए, यस्तो लाग्दै थियो कि आँखा चिच्याएर केही भन्न खोज्दैछन्। दुईपट्टि नै खुलेको केशले पनि सायद संकेत दिँदैथियो कि, म विवश छु, असहाय छु। सायद यी कुरा आफैँ भन्न सक्थी होला तर उसको आधा जिब्रो मुख बाहिर टोक्किइराखेको थियो। औँलाको मोटाई बराबर घाँटीमा डोरी यसरी टाँस्सिएको थियो जस्तै घाटी र यो डोरी यै मन हल्लिने दृश्यलाई परिणाम दिनलाई बाँधिएका हुन्।

हाँफिन्दै–हाँफिन्दै म घटनास्थलमा पुगेको थिएँ। नीराले फाँसी लगाएर आफ्नो ज्यान दिई । यो मोह–मायाको संसार त्यागेकी थिई। फाँसी लागेको खबर सुनेपछि पन्ध्र मिनटमै पच्चीस–तीस जना भेला भएका थिए। जसमा म पनि थिएँ।

हर्क बहादुर लामगादे (रोहित)

‘नीराले किन आत्महत्या गरेछिन्?’ यो प्रश्न त्यहाँ आएका सबै मान्छे एकअर्कालाई गरिराखेका थिए। सबैलाई यै उत्सुकता थियो कि नीराको लोग्ने कहाँ गएको छ?

‘ठूलो अनर्थ भयो। बिचरीको पाँच महिनाको जिउ थियो। एक ज्यान होइन दुई ज्यान गयो आज,’ छेउमा बसेकी एउटी बूढी आइमाईले भनिन्। यो कुरा सुनेपछि मेरो आङ्नै जिरीङ्ग भयो। दया औँ भावनाको भेल मनका दौडियो ।

म केही दिनअघि घर छुट्टी गएको थिएँ। यो परिवारसँग मेरो राम्रो परिचय थिएन। मेरो घरदेखि मात्र सय पाइला यिनीहरू भाँडामा बस्ने गर्थे। मेरो घर छिमेकी बहिनी थिई, अञ्जली, त्यो पनि त्यहाँ गएकी थिई । अञ्जलीको नीरासँग राम्रो पहिचान थियो। ऊ, म आउनुभन्दा अघि त्यहाँ गएकी रहिछ। उसको छेउ गएँ अनि नीराबारे अनि उसले आत्महत्या गरेको सन्दर्भमा सोधेँ।

अञ्जलीले भन्न लागी, ‘नीरा सोह्र वर्षकी थिई। म भन्दा पनि सानी। पाँच महिनाअघि उसको बिहे भएको थियो। बिहे उपरान्त पतिपत्नी यहाँ बसेका थिए। नीरा धेरै राम्री, व्यवहार धेरै मिलनसार थियो । सबैसँग मीठो बोल्ने। नीराको मीठो मुस्कान उसको सुन्दरतालाई चन्द्रमा समान बनाउने गर्थे । म त सालभरि होस्टल बस्ने, जब घर आउँथे, नीरा मलाई भेट्न आउँथी । मलाई कहिले लागेन कि ऊसँग हालै चिन(जान भएको हो। नीरा धेरै सुशील अनि मजाकी केटी थिई ।

‘यति सानै उमेरमा कसरी बिहे भयो?’ मैले उत्सुकतसँग सानो स्वरमा अञ्जलीलाई सोधेँ?

‘दुई जनाले भागेर बिहे गरेका थिए। एक दिन नीराले मलाई भनेकी थिई कि, दुई जनाको भेट कसैको बिहे रिसेप्सनमा भएको थियो। उसको साथीबाट मनोजले नीराको मोबाइल नम्बर लिएको थियो। त्यसपछि मनोज नीरालाई सधैँ फोन गर्न लाग्यो। दुई जनामा राम्रो मित्रता भयो। फेरि विस्तारै विस्तारै मित्रता मायामा बदलियो । स्कुल उपरान्त दिनैपछि दुई जनाको भेट हुन लाग्यो । एक दिन नीराको आमाले थाहा पाउनुभएछ दुईजनाको प्रेम प्रसङ्ग बारेमा। त्यो दिन नीरालाई आमाले मजाले पिट्नु भएको थियो।’

अञ्जली यो सब सुनाउँदै थिई कि बीचमा अञ्जलीको भाइ मोहन आएर हामीलाई सोध्यो, ‘फन्दाबाट कति खेर निकाल्छन् अरे?’ यो प्रश्न त मेरो मनमा पनि आइराखेको थियो।

‘लोग्ने शान्तिपुर गएको छ। आउन एक दिन लाग्छ होला,’ अञ्जलीले भनी।

‘केटी को बा-आमा आउनु भएको छैन अञ्जली?’ मैले सोधेँ।

‘आएका छैनन्। नीराकी आमा बित्नु भयो। छ महिनाअघि विष खाएर आत्महत्या गरेको थिइन् । आमा बितेपछि घरको स्थिति दयनीय भएको हुनाले सहन न सकेर नीराले एक महिनापछि मनोजसँग भागेर आफैँ बिहे गरी। बाबाको पनि व्यहोरा सक्किएको छ । दिनकै नशामा मस्त भइराख्छ। नीराले चाँडै बिहे गर्नुको एक कारण यो पनि हो। उसले मलाई चार दिनअघि गफ गर्दा भनेको थिई। अर्को कुरा अहिलेसम्म नीरालाई माइतीले बिहेपछि बोलाएका छैनन्।’

‘दिदी, भाउजूले किन आत्महत्या गरिन्?’ मोहनले सोध्यो

‘फाँसी किन लगाई? यसबारे कसैलाई थाह छैन। तर उसको नन्द दाजुभाउजूको साथमा बस्छे। भन्दै थिई कि, बिहेपछि प्रायः पतिपत्नी झगडा गर्थे अरे। बिहे गरेको अघिल्लो महिना नै गर्भवती भएको थाह भएको थियो। विचरी, यति सानो उमेरमा घरको साथसाथ यो सबै कसरी बिहोर्थी होला! माइतबाट मद्दतको कुरा त न गरे हुन्छ। फोन गरेर हालचाल पनि सोध्दैनथे । अझ ठूलो कुरा, लोग्ने पनि जँड्याहा थियो। भाङ्धतुरो, रक्सी दिनैपछि सेवन गर्थ्यो। यो कुरा, नीरालाई बिहेपछि थाहा भएको थियो। नशा छुुटाउन उसले धेरै प्रयास गरी तर सफल भइनँ। यही कुराले र बेलाबेला पतिपत्नीमा कलह हुन्थ्यो । एकचोटि झगडा यति ठूलो भयो कि नीराले चिच्याएर भनेकी थिई अरे, ‘एक दिन म पनि आमाको जसरी विष खाएर जान्छु अनि शान्तिसँग बसेर नशा गर्नु।’

यो सुन्दा मेरो मनमा नीराप्रति दया पलाएर आएको थियो। कति विवश थिई होला- न लोग्नेको माया, न बाबाको साथ न आमा जिउँदै छिन् । जो छोरीको ख्याल राखुन्। उमेर पनि यति सानो कि सही र गलत पनि छुट्टाउन नसक्ने। तर आत्महत्या नै किन? त्यो कोखमा हुर्किदै गरेको शिशुको के दोष थियो जो संसारमा खुट्टा न राखी आमाको साथ वापस जानु पर्यो। आमाले त आत्महत्या गरेर गलत गरी-गरी साथमा कोखको नानीलाई पनि लिएर गई । नीराको साथसाथ उसको लोग्ने र बाबाको पनि दोष हो, जसबाट माया र साथ पाइन ! यस्ता नाना थरीका कुराहरू मेरा मनमा उम्लिँदै थिए।

अञ्जलीले मेरो काँधमा हातले झस्काउँदै भनी, कहाँ हराउनु भयो? हेर्नु, पुलिस आए। नीराको फोटो लिँदैछन् ।

यति बेलासम्म त, लगभग पचास जना जति भेला भइसकेका थिए। कसैले केही नगरे पनि फाँसी लागेको तमासा हेर्दै थिए। पुलिसको आगमन साथ सबैले आ-आफ्नो खल्तीबाट फेस मास्क निकालेर लगाउन थालेका थिए। आखिर घटना पनि यही कोरोना कालमा भएको थियो। सायद नियति भनेको नै यही होला।

जब नीराको मृत शरीर फन्दाबाट निकालेर तल राखे, नन्द डाँको छोडेर रून लागी । बिलौना गर्न लागी, ‘भाउजू यो हजुरले के गर्नु भयो? हामीलाई छोडेर किन जानु भयो? भर्खर हजुरलाई चिया बनाएर दिएकी थिएँ। दाइको फोन आउदा बोल्दैबोल्दै भित्र जानु भएको थियो। अहिले यो अवस्थामा… हजुरलाई पक्का पनि दाइले केही नराम्रो भन्नु भयो होला? तर हजुरले यो कोखमा भएको नानीको लागि त सोचेके भए हुन्थ्यो । दाइ त मतुवा हो! उसको पीरले दुई ज्यान लिएर किन जानु भएको?’

नन्दको बिलौना सुनेर त्यहाँ भएका सबै महिलाहरू पनि रून लागे। एउटी दिदीले नन्दलाई सान्त्वना दिँदै भित्र लिएर गइन्।

नीराले फाँसी लगाएको देखेर मेरो मनमा अनेक थरीका प्रश्न उठ्दै थिए। यसबीच एउटा प्रश्नले मेरो मनै खल्लो बनायो । ‘मलाई त यो संसारमा आउन दिएको भए हुन्थ्यो ? मेरो के दोष थियो?’ यस्तो लाग्दै थियो कि आमाको कोखमा ज्यान बचाउनलाई तड्पिदैँ गुहार लगाउँदै थियो।

घाम डुबिसकेको थियो। साथै दुई ज्यानको पनि जीवन अस्त भइसकेको थियो। सबै तमासा हेरिराखेका थिए। म आफ्नो घरतिर लागे। पछाडि फर्केर हेर्न मन डराएझैँ भयो । कतै त्यो कोखको नानीले फेरि प्रश्न नगरोस्। अचानक म पछाडि फर्किए नचाहेर पनि। पुलिसले नीरालाई एम्बुलेन्समा हालेर हस्पिटल लाँदै थिए।

चारहजारे, मणिपुर, भारत