
‘हैन हो पेट, यो गरेको भन्या ? एक घण्टामा दशौं पटक भैसक्यो पाइखाना दौडिएको । म तिघ्रा हुँ कि साइकलको पाङ्ग्रा ?’
खत्रक्कै गलेको तिघ्रोले साह्रै दिक्क मान्दै भन्यो ।
‘त्यो मात्रै हो र ? यता गनाएर टिक्नै नसक्ने भैसक्यो । यसरी पचाउन नसक्नेले किन बेस्सरी घिचेको होला ?’ नाकले थप्यो ।
उसै त भित्रको आन्द्राभुँडी बादल झैँ गडगडाएको छ त्यसमाथि तिघ्रा र नाकको टोकसो । वाक्क मानेर बिरामी पेटले कन्दै भन्यो, ‘के गर्नु साथी हो मेरो रहरले भाको हो र यो । पिरो र अमिलो खानेकुरा तल पठाको पठाइ गर्ने त्यो मुखद्वारलाई भन न । तिमीहरूलाई त के भा छ ? आफूलाई यहाँ आगोले झैँ पोलिराको छ । आन्द्रा बटारिएर दाम्लो जस्तो भैसक्यो । गुलियो, चिल्लो धेरै खानाले म घ्याम्पो जत्रो हुन्छु । अनि राति श्रीमती तिम्रो पेट आयो बीचमा भनेर रिसाउँछिन् । पिरो र अमिलो खानाले यी यसरी पखाला लागेर बिजोग हुन्छ । के गर्नु मुख बज्याले यो कुरा बुझ्दैन ।’
यसरी पेट आफूमाथि खनिएपछि मुख नखुली बस्न सकेन । मुखले पनि आफ्नो दुखेसो पोख्न थाल्यो, ‘के मलाई भन्छौ नि पेट । मैले आफै मुख डोबेर खाको हो र ? ऊ त्यो हातले खाना मुखमा ठोस्या ठोसै गर्छ । पेट भरिएर मलाई खानेकुरा तल घचेट्न हम्मेहम्मे परुन्जेल सम्म कोचेपछि मैले के गर्नु । म पनि पीडित नै हुँ भाइ हो ।’
यी सबै अङ्गहरू एक भएर दोष जति सबै आफूमा थोपरेपछि हातले पनि आफ्नो बचाउ गर्न खोज्यो, ‘होइन होइन, यसमा मेरो कुनै हात छैन । मतलब म हात हुँ तर मेरो कुनै गल्ती छैन । यो त सबै स्वादे जिब्रोको कमाल हो ।’ हातले चोर औँलो जिब्रोतिर सोझ्यायो ।
मेरा यी अङ्गहरूको बेलाबेलामा यसरी नि कलह भैराख्छ । यसको कारण पत्ता लगाउन म घोर्लिरहन्छु । यो संसारमा अरबौं जातका जीवात्माहरू छन् । त्यसमा वनस्पति छन्, प्राणी छन् । प्राणीका पनि लाखौं प्रजातिहरू छन् । तिनीहरूका संरचना एक अर्कामा पटक्कै मेल खाँदैनन् । ती प्राणीहरूका शरीरको हरेक अङ्ग संवेदनशील छ । यिनीहरूमा भएको क्रोध, लोभ, डाह, मोह, ईर्ष्या, चिन्ता आदि सबै ती अङ्गहरूको संवेदनाहरूसँग सम्बन्धित छ । यी संवेदनाकै कारणले मान्छेहरू दुखी, सुखी, रिसाहा, चिन्तित, द्रोही, रोगी भएका हुन् । अझै मुख्य कुरा त के भने मान्छेमा यो संवेदना अरू प्राणीहरूको दाँजोमा हजारौं गुणा ज्यादा छ । त्यसैले त हाम्रो चाहना असीमित छ । कुनै पनि प्राप्तिमा सन्तुष्टि नै छैन । भ्यागुतो त्यही एउटै कुवाभित्रै रमाइरहँदा मान्छेलाई भने विश्व मात्र हैन ब्रह्माण्ड भ्रमण गर्नु परेको छ । यो असन्तुष्टि किन यति धेरै मान्छेमा ?
त्यसो हो भने यदि हाम्रा अङ्गहरू यति धेरै संवेदनाशील नभएको भए हाम्रो मनस्थिति र परिस्थिति अर्कै हुन्थ्यो होला त ? के हामी अहिले भन्दा सुखी हुन्थ्यौँ होला ? हाम्रो जीवन आनन्ददायी र कलह रहित हुन्थ्यो होला ? हाम्रो समाज अहिलेभन्दा निकै सभ्य, सौहार्द र शान्त हुन्थ्यो होला?
यिनै प्रश्नहरूले मलाई लखेटिरहन्छन्, घोचिरहन्छन् । आज मैले आफ्नो यो उकुसमुकुस नफुकाई रहन सकिन । हामी मुटुको कुरा गर्छौं । चित्त दुखेको, मन दुखेको, रक्तचाप बढेको, दिमाग खराब भएको आदिको बारेमा कुरा गर्छौं । एउटै मुटुको कारणले हामीलाई कयौँ कष्ट भैराखेको छ । हामी यति धेरै सोच्छौं कि हाम्रो दिमाग जहिले व्यस्त हुन्छ । हामी अहिले भएको भन्दा धेरै कुराको आशा र चाहना जो राख्छौं । त्यसको प्राप्तिमा तड्पिरहेका छौं ।
झन् जिब्रोको हर्कत त बयान गरिसक्नु छैन । यसकै कारणले अरू अङ्गहरूको बीचमा हुने कलह त अघि नै सुनिहाल्यौँ । कहिलेकाहीँ त जिब्रो हाम्रो समाजकै कलहको बीउ बन्छ । जिब्रोकै उच्च संवेदनाका कारणले हामी रोगी, दुखी, छुच्चो, मिचाहा र गरीब भएका छौं । हुन त जिब्रो सबै प्राणीहरूमा हुन्छ । तर मान्छेहरूमा जस्तो संवेदनशील भने हुँदैन ।
हामीलाई गुलियो, अमिलो, नुनिलो, पिरो आदि हदै मन पर्छ । त्यसैको लागि मरिमेट्छौं हामी । यी स्वादहरू के ले थाहा पाउँछ ? के को लागि चाहिन्छ यी स्वादका खाना ? आँखाको लागि ? हात खुट्टाको लागि ? या पेटको लागि ? होइन, केवल हाम्रो जिब्रोको लागि । जिब्रोले नै यसको स्वाद पाउँछ । जिब्रोले नै यस्ता चीजहरू मन पराइदिन्छ । हामीलाई जिब्रो पड्काएर ट्वाक्क परेको अमिलो, नुनिलो, र पिरो खानु परेको छ । मुख मिठ्याएर गुलियो खानु परेको छ । यस्ता खानेकुराले तत्काललाई बडो आनन्द दिन्छ । लाग्छ सबैभन्दा सुखको क्षण त्यही हो । चिया, कफी, जुस, कोक, फ्यान्टा आदि सबै गुलियो । अनि जिब्रो त्यसमै भुलियो । गुलियो विनाको चिया र अचार विनाको मःमः जिब्रोले मुखमा हाल्नै दिँदैन ।
तर यो क्षणिकको स्वाद मुखबाट तल झरेपछि बेपत्ता हुन्छ । अनेक थरी स्वाद जिब्रोलाई चाहिएको न हो । पेटभित्र गएपछि त सबै उस्तै । अरू प्राणीहरूले पनि खाना खान्छन् । तर यस्तो नानाथरी स्वाद खोज्दैनन् । घाँस खानेले सधैं घाँस अनि मासु खाने सधैं मासु खान्छन् । त्यो पनि नून, खुर्सानी र चिनी विनाको । तिनै हात्ती, घोडा, बाघ आदि जनावरहरू मान्छेभन्दा बलिया र ठूला छन् । तर जति स्वादिला खानेकुरा उति धेरै रोगब्याध । हो कि होइन त ? मधुमेह, झाडापखला, ग्यास्ट्रिक, नानाथरी रोग हामी मान्छेलाई नै लाग्छ । हामीले यदि सादा खानेकुरा खाने हो भने पेटलाई कति आनन्द हुन्थ्यो होला । कति रोग कम हुन्थ्यो होला ।
स्वास्थ्यको लागि मात्र होइन कि आर्थिक हिसाबमा पनि यो स्वादे जिब्रो बेफाइदाजनक छ । पहिलो कुरा त यस्ता स्वादिला चीजहरू प्रायः महँगा नै हुन्छन् । जतिसुकै अल्छी मान्छे भए पनि उसलाई खाना चाहिँ स्वादिलै चाहिन्छ । स्वादे जिब्रो अल्छी तिघ्रो के त ! हुँदाहुँदा अरू अङ्गले गर्ने काम पनि मान्छे जिब्रोले नै गर्न खोज्छ । मान्छे मात्रै एउटै जात हो जसले उत्तेजनामा मुखमा चुम्बन गर्छ । हो कि होइन ?
अर्को अझै खराब पाटो छ । जिब्रोको चलाइ । कहिलेकाहीँ यो छुरा जस्तै चल्छ । अरूको कुरा काट्छ, गाली गर्छ, चित्त दुखाउँछ । परिवारमा फाटो लेराउँछ, समाजमा उथलपुथल पार्छ । हुन पनि गोली भन्दा खतरनाक हुन्छ कहिलेकाहीँ मान्छेको बोली । जिब्रो नै थुतेर फालिदिऊँ जस्तो । यही जिब्रोले गर्दा मेरो मुख, कान र कपालले कति सजाय पाएको छ । सानोमा जथाभाबी बोल्यो भनेर आमाले कति पटक मेरो मुख च्यातिदिनु भएको छ, बाले कान निमोठ्नु भएको छ । कक्षामा साथै पढ्ने केटी साथीलाई आइ लभ यु भने बापत मेरो कपाल भुत्लिएको छ । अहिले पनि जब जब जिब्रो चल्छ यी कुराहरू याद आउँछन् ।
यही जिब्रोले एउटै कुरालाई परिस्थिति अनुकूल फेरेर बोलिरहने मान्छेले दुई जिब्रे भनेर गाली पनि खान्छन् ।
हैन हाम्रो जिब्रो नि पशुपन्छीको जस्तै लाटो बनाइदिएको भए के जान्थ्यो र ती सृष्टिकर्ताको ! मलाई त यो जिब्रो हाम्रो लागि हानिकारक मात्रै छ जस्तो लाग्छ । यसले हामीलाई सुखी भन्दा दुःखी नै बनाएको छ जस्तो लाग्छ । अलिकति नून नपुगेको वा नून चर्को भएकै कारणले बुढाबुढी बीचमा कलह निम्त्याएर डिभोर्स हुने अवस्थामा पुर्याइदिन्छ । छिमेकीको कुरा काटेबापत पानी बाराबार भएको दृष्टान्त छन् ।
यदि यो स्वादे र धारिलो जिब्रो नहुँदो त हाम्रो जीवन अहिले भन्दा अलि सहज हुन्थ्यो कि ? तपाईंहरूलाई कस्तो लाग्छ ?
फ्लोरिडा, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

