असम नेपाली साहित्य सभाका सभापति दुर्गा खतिवडा र मूल सचिव मदन थापाज्यूद्वारा प्रेषित पत्र र रेलको दोहोरो टिकट प्राप्त भएपछि सरुपथार असम जाने निश्चित भयो । स्वर्णमहोत्सवको समापन समारोह नै ४ दिनसम्म चल्ने, समारोहको भव्यता र सम्मानका लागि असम सरकारले ३ दिनको छुट्टी दिने, दशौं हजार साहित्यानुरागीहरूको उपस्थिति रहने, मुख्यमन्त्रीले सभालाई सम्बोधन गर्ने, साहित्य सभाका २० र अन्य लेखकका ८० गरी जम्मा १०० वटा पुस्तकको लोकार्पण एउटै मञ्चबाट हुने, सयौं जाति जनजातिले आआफ्ना झाँकीसहितको र्याली प्रस्तुत गर्ने, ९०० प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन गर्ने, विविध सङ्गोष्ठीहरू सञ्चालन हुने र त्यस्तो विशिष्ट समारोहको विशिष्ट अतिथि बन्न पाउने सौभाग्य प्राप्त भएपछि यो मनले चाहिं किन खुशी नमनाउने ?
प्रिय मित्र दीपक सुवेदी गौरादहबाट, दाजु चन्द्र भण्डारी धुलाबारीबाट, दाजु विमल वैद्य इलामबाट र दाजुभाउजू देवी नेपाल र टीका पौडेल काठमाडौंबाट एउटै बोगीका सहयात्री बन्यौं । पाँचै दिशाबाट आएका मुख जोडिए देवकोटा पार्क काँकडभिट्टामा । परदेशको जेठो हुनु जिम्मेवारी लिनु र कान्छो हुनु भाँडा माझ्नु भन्ने पाकाहरूको अनुभूति स्वीकार गर्दा उमेरले चन्द्र दाजु जेठो र ज्ञानले कान्छो बनें म । उमेरले कान्छो दीपकजी व्यवहारले बन्नुभयो जेठो ।
राति ११ : २५ को टिकट थियो न्यू जलपाइगुडीबाट । एल.टी.टी डिब्रुगढ एक्सप्रेस थियो रेल र उत्रने ठाउँ थियो ७२८ किलोमिटर टाढाको फर्काटिङ असम । कार्यक्रम स्थल थियो गोलाघाट जिल्लाको सरुपथार शिवाजी राई समन्वय क्षेत्र । हाम्रो यात्रालाई सहज बनाइदिनुभयो भाउजू गीताश्री शर्माले । ‘बेलुकाको खाना खुवाउने, आराम गराउने र ठीक समयमा रेलस्टेसन पुर्याइदिने जिम्मा मेरो भयो तपाईंहरू अप्ठ्यारो नमानी मेरो घरमा आउनू’ भन्नुभए पछि हामी गद्गद् बन्यौं र पानीट्याङ्कीबाट एउटा बुलेरो रिजर्भ गरी बेलुका ६ बजे पुग्यौं मिलन मोड – जादुभिट्टा । सहृदयी भाउजूको स्वागत, स्वादिष्ट भोजन र गाडीको प्रबन्धले सम्बोधन गरिनसक्नुको गुन लगायो ।
तोकिएकै समयमा रेल आइपुग्यो र तँछाडमँछाड नगरी चढ्यौं हामी । बाहिर अँध्यारोको राज चलिरहेको हुनाले बाटोमा पर्ने दृश्यहरू हाम्रा आँखामा कैद हुन सकेनन् । भुइँमा उज्यालो खस्ता हाम्रा आँखा बन्द थिए र खुल्दा गुवाहाटी पुगिसकेका थियौं । यात्रा उत्साहवर्धक नै थियो । सहयात्रीहरू विद्वान् भएपछि आफूले मुख चलाइरहनु नपर्ने रहेछ । कान खुला राखिदिए पुगिहाल्ने । गहन भाव बोकेका सुन्दर विचारहरू श्रवण गर्दागर्दै भोक, तिर्खा, थकान, निद्रा केहीको पर्वाह भएन । तर पनि प्रवचनलाई रसिलो बनाउन गुवाहाटीमा दीपकजीले किन्नुभएका २ पाकेट बिस्कुट, विमल दाजुले इलामबाट बोक्नुभएका केही दाना सुन्तला र केही दाना किबीलाई बाँडीचुँडी आहारा बनाइरह्यौँ दिनभरिनै । ठाउँठाउँ पानीका बोतल र कालो चियाका कप पनि थपिएकै हुन् तर ठोस खान्की केही थपिएन ।
कुनैकुनै स्टेशनमा बाहिर निस्केर फोटाहरू खिच्ने फेसबूकमा पोस्ट गर्नेबाहेक थप कामहरू केही थिएनन् हाम्रा । डिमापुरबाट उत्तरपूर्व लागेर केही पर पुगेपछि देखियो सरुपथार र हाम्रो कार्यक्रमस्थल । तर रोकिएन रेल । त्यसको बिसौनी त्यहाँ नपर्दो रहेछ । २० किलोमिटर पार गरेपछि पुनः अर्को रेल चढेर त्यहीं फर्कनुपर्ने रहेछ हामीले ।
सरुपथारबाट करीब १० किलोमिटर हिंडेपछि रोकियो रेल अलपत्रे स्थानमा । सोधीखोजी गर्दा रेल्वे मजदूरहरूले लोकल रेल आउँदै छ तिमीहरू यहीं उत्रेर अर्कोमा चढिहाल भन्ने सल्लाह दिए । रेल नजीकै आउँदै गरेको बुझे पनि हामी हतारहतार अफसाइडतिरै उत्रेर लिख क्रस गर्न लाग्यौं । दीपकजी, म र देवी दाजु फात्तफुत्त पारिपट्टि उक्लिहाल्यौं । मैले टीका भाउजूलाई दुवै हातमा समातेर तुर्लुङ्ग झुन्डाउँदै डीलमाथि तानें । रेल नजीकै आइसकेको थियो । सिमेन्टमा नलिखुट्टो धस्रिए पनि उक्लिन सफल हुनुभयो भाउजू । चन्द्र दाजुको खुट्टो झन्डै भाँचिएछ अघिल्लो रेलबाट उत्रिंदा । उहाँले त भाँचिएकै कल्पना गर्नुभएछ तर त्यहीं बसिरहँदा अर्को रेलले अचार बनाउने निश्चित भएको हुँदा ताततातै त दौडन सक्छु भनेर जबरजस्ती पारिपट्टि पुग्नुभएछ । दीपकजी र देवीदाजुले तानेर विमल दाइलाई समेत माथि उकालिसक्ता रेलले क्रस गरिहाल्यो ।
दुईदुईवटा गह्रौं झोला बोकेर रेलसँगै स्टेशनतिर दौडियौं हामी । स्याँस्याँ र फ्याँफ्याँ गर्दै अन्तिम डब्बामा उक्लिन सफल भयौं । तर टिकट थिएन हामीसँग । अब डर भयो फेरि टिटीको । आउला र माफी मागेर भए पनि पैसा तिरौंला भन्दाभन्दै सरुपथार पुगियो । उत्रियौं र काउन्टरतिर गयौं । तर काउन्टर पनि खाली नै रहेछ लुरुलुरु आफ्नो बाटो लागिहाल्यो । पल्याक्पुलुक वारिपारि हेर्यौं, मुखामुख गर्यौं र ढुक्कको हाँसो हाँसेर लाग्यौं कार्यक्रम स्थलतिर ।
हाम्रो हतारको निर्णयले छिनभरमा दुईवटा खतरा मोल्यो । एउटा ज्यानको जोखिम, अर्को इज्जतको जोखिम । एक सेकेन्ड तलमाथि परेर ढीला भएको भए रेलले अचार बनाउने, टिटीले भेटेर उसको अधिकार प्रयोग गरेको भए एक महीनासम्म जेल चलान हुनसक्ने । तर हाम्रो भाग्य बलियो । दुईवटै फटाइँबाट जोगियौं सर्लक्कै ।
कार्यक्रमस्थल नपुग्दै ‘देवीसर खै ? को हुनुहुन्छ देवीसर ?’ भन्दै ३-४ जन आए । र हाम्रा झोलीझ्याम्टा समातेर एउटा गाडीमा कोचकाच बनाए । टीका भाउजूलाई गाडीमा बस्न लगाए र हामीलाई हिडाउँदै लगे । एकैछिनमा अर्को गाडी आयो र हामीलाई पनि उठाए । कार्यक्रम स्थलभन्दा दुई किलोमिटर जति उत्तर लगेर एउटा निर्माणाधीन होटलमा उतारे । झोलाहरू टाँडमाथि चढाए । तर बस्ने कोठाहरू पर्याप्त नभएपछि मान्छे मात्रै हालेर तल अर्को होटलसम्म ल्याए । त्यहाँ पनि कोठा भेटेनन् । झोला एकातिर मान्छे अर्कातिर भएपछि फेरि फर्काए गाडी र झोला भएकै ठाउँमा पुर्याए मान्छे पनि ।
भोक र थकानले हैरान बनाएका वेला बेसुरका फन्का मारेको देखेपछि मूल सचिव मदन थापालाई फोन गर्नुभयो दीपकजीले । उहाँहरू प्रतिनिधि सभाको बैठकमा व्यस्त हुनुहुँदो रहेछ । सारै भोक लाग्यो, खाने प्रबन्ध कहाँ छ ? भनेपछि फेरि तलै ल्याए र भोजनालयमा छिराए । बिहानकै खाना चलिरहेको रहेछ अपराह्न ४ : १५ सम्म पनि । हामीले खाना खायौं । खाना खाइकेपछि हामीलाई झोला भए ठाउँ पुर्याइदिए र लागे उनीहरू आफ्ना बाटातर्फ ।
निर्माणाधीन होटले आफ्ना ६ वटा कोठा प्रयोगमा ल्याइएको रहेछ । दुई वटा कोठा खाली थिए तर हामीलाई चाहिन्थ्यो ३ वटा । एउटा कोठाभित्र छिरेर आराम गर्दैथियौं त्यो कोठामा बस्ने मान्छे बाथरूमबाट फुत्त निस्किए । उनी रहेछन् आयोजक संस्थाका एक उपाध्यक्ष । हाम्रो व्यथा बुझेपछि उनले फोनसोन मारेर, अर्कै गाडी मगाएर, झोलाझ्याम्टा सिटीमा हालेर कार्यक्रम स्थलछेउ झारे । उनले सम्झेको होटल पनि भरिएछ र व्यवस्थापन समितिका साथीहरू बोलाएर जिम्मा लगाइदिए । उनीहरूले तुरुन्तै १ किलोमिटर दक्षिण लगेर एउटा सुन्दर गेस्टहाउसमा राखिदिए हामीलाई । हामी ढुक्क भएर नुहाइधुवाइतिर लाग्यौं । भरे बुझ्दा हामीलाई शुरूमा उठाएर लानेहरू आयोजक–व्यवस्थापक कोही नभएर देवी नेपाल दाजुका आफन्त रहेछन् । त्यो उमेरसम्म कहिल्यै देखभेट नभएका आफन्त । आउँदै हुनुहुन्छ भन्ने सुनेपछि श्रद्धाले शिर निहुर्याएर उनीहरूले दाजुको सेवा गरेका रहेछन् । हामीलाई माथि पुर्याएपछि आफ्नो दायित्व पूरा भएको महसूस गरी २० किमी टाढा रहेको आफ्नो बासस्थानतिर फर्किएछन् । उनीहरूले गरेको भलाइलाई हामीले सहृदय स्वीकार गर्यौं ।
मूल आयोजक कमिटीका साथीहरू साधारण सभामा व्यस्त हुनुपर्दा, हजारौँको संख्यामा पाहुनाहरू एकैपटक आइपुग्नुहुँदा, व्यवस्थापन समितिसम्म सिधै नपुगेर हामी जस्तै बाहिरबाहिरै दौडादौडी गर्न थाल्दा, ठूल्ठूला होटल नभएको सामान्य गाउँमा विशाल कार्यक्रम आयोजना गर्दा, आयोजकमध्ये कोही पनि स्थानीय व्यक्ति नहुँदा केही कठिनाइ देखा पर्नु सामान्य विषय थियो । तर पनि खानामा कुनै दिन, कुनै छाक कमी कमजोरी भएको देखिएन । नमीठो खाना कुनै छाक बनेन । दशौं हजारले खाना खाँदा पनि कतिखेरै लाइन बस्नु परेन । यस्तो भव्य, सभ्य र अभूतपूर्व कार्यक्रम हामीले कहिल्यै देखेका थिएनौं ।
अझै गम्भीर कुरा त साडीचोलो बाहेकको पहिरनमा कुनै पनि महिला वा बालिकाहरू पनि कार्यक्रममा आएको देखेनौं हामीले । शिरमा शिरबन्दी, नाकमा फुली, कानमा माडवारी वा झुम्का, हातमा चुरा लगाएका, धागो लगाएर कपाल बाटेका, विवाह भएकाहरूले सिँदुर पोते लगाएका थिए । साना, ठूला, युवा, पाका सबै उमेर समूहका महिलाहरूको सहभागिता अत्यधिक भएको थियो । जताततै बराबर खटेका थिए । यस्तो उच्च संस्कार बोकेका नेपाली जातिको एकताबद्ध समाजलाई देख्ता हाम्रो देशभित्र मौलाएको पश्चिमा संस्कृति, त्यसले ल्याएको विकृति, जातिका नामको नस्लीय द्वन्द्व आदिको बिगबिगीप्रति घृणा जागृत भएर आयो ।
दोस्रो दिनका कार्यक्रमलाई प्रतिनिधि सभामा सर्वसम्मत नेतृत्व चयन गर्न प्रयत्नले प्रभावित गर्यो । निर्धारण गरिएका कार्यक्रमहरू रद्द भए । नेपालबाट आमन्त्रित कार्यपत्र प्रस्तोताहरू डा. गोविन्दराज भट्टराई र शरदचन्द्र बस्तीका कार्यपत्रहरू फर्केर घरै आए । कार्यक्रम नै रद्द भयो । अन्य कार्यक्रमहरू पनि रद्द भए भने बाँकी दिनका कार्यक्रमहरू अत्यन्तै उत्साहजनक रहे ।
तेस्रो दिन विभिन्न विधाका १७ वटा पुरस्कारहरू वितरित भए । १०० पुस्तकहरू विमोचित भए । हाम्रो पूरा समूह नै सम्मानित भयो । बहुभाषिक कविगोष्ठी सम्पन्न भयो र केही शुभकामना मन्तव्यहरू पनि राखिए । उता प्रतिनिधि सभाले मतदानद्वारा सन् २०१३ का मूल सचिव डा. चिन्तामणि शर्मालाई सभापतिमा, कार्यकारी सभापतिमा डा. इन्दुप्रभा देवी र तिलक शर्मालाई महासचिवमा निर्वाचित गर्यो ।
चौथो दिन झाँकीहरूसहितको एउटा भव्य र्यालीले नवनिर्वाचित पदाधिकारीहरूलाई लिएर सरुपथारको पूर्ण परिक्रमा गर्यो र विजय सभामा परिणत भयो । सभालाई विधायकहरू, असम सरकारका मन्त्री र मुख्य मन्त्री डा. हिमन्त विश्व शर्माद्वारा सम्बोधन भयो । प्रा.डा. देवी नेपाल मुख्यमन्त्रीका हातबाट सम्मानित हुनुहुँदै भारतीय रुपैयाँ ६०,००० / नगद सहितको निरु शर्मा पराजुली स्मृति पुरस्कारबाट पुरस्कृत हुनुभयो ।
यसरी एउटा ऐतिहासिक साहित्यिक कार्यक्रम, भव्य सभा, सभ्य नेपाली समाज, जोगाइराखेको नेपाली संस्कार, संस्कृतिको अवलोकन, अध्ययन, मनन सहित सहभागी बनेर रम्दै आनन्द लिइयो असममा । धेरै धेरै साहित्यकारहरूसँग साक्षात्कार भयो । चिनापरिचय भयो । तस्बिर साटासाट भए ।
अर्को एउटा महत्त्वपूर्ण कुरा त विनोद खनाल जस्ता ऐतिहासिक पुरुषसँग भेट भयो । संस्कृतिविद्, लोकजीवनका संरक्षक अद्भुत यक्तित्व विनोद खनाल आफैँले सङ्कलन, संरक्षण गरी राखेका नेपाली जातिले प्रयोग गर्दै आएका लोपोन्मुख २७०० भन्दा बढी सामग्रीहरू एउटै प्रदर्शनी कक्षमा प्रदर्शन गर्नुभएको थियो । त्यति नै सामग्री अर्को संस्थालाई दिएर दिनुभएको पनि छ । उहाँसँग मादल बजाएर नाच्ने, गाउने, रमाउने, भिडियो रेकर्ड गर्ने मौका मिल्यो ।
कार्यक्रम सकिने तरखर हुँदैगर्दा हामी कार्विआङलङको देउपानी दुर्गा मन्दिर पुग्यौं र दर्शनपछि गुवाहाटी फर्कियौं । हामीलाई लिएर आउनुभयो गोठालो अन्तरेले । लोहित किनारका गोठ र गोठालाहरूका कथा लेख्ने, पञ्जाब नेशनल बैंकका उच्च अधिकृत, ब्रह्मपुत्र नदीकिनारको अन्तरे गोठालो पुरुषोत्तम उपाध्याय दाहालले पाँचौं दिनमा गुवाहाटी ल्याएर चौरासी व्यञ्जन तयार गरी ग्रहण गराउनु भयो र बेलतला बजारको टोकियो टावर नामक थ्री स्टार होटलमा बास बसाउनु भयो । अन्तरे दाजुले नै भोलिपल्ट हामीलाई दिनभरि डुलाइदिनु है भनेर एउटा ट्याक्सीको बन्दोबस्त मिलाइदिनु भयो ।
नेपाली भाषा राम्रोसँग बोल्ने, भारतीय सेनाका सेवा निवृत्त कर्मचारी अतुल भाइले रेल्वे कोलोनी हुँदै कामाख्य मन्दिर पुर्याएर दर्शन गराए । ब्रह्मपुत्र नदीमाथि नौका विहार गराए । कविता वाचन गर्दै ब्रह्मपुत्र नदीको बिचभागमा रहेको टापुमा पुगेर उमानन्द भगवतीको दर्शन गर्यौँ हामीले र फिरेर आई फेन्सी बजार छिर्यौं ।

दाजु विमल वैद्यका ज्वाइँ, भारतीय हनुमान सेनाका सेनापति, प्रधानमन्त्री मोदीका कन्सल्टेन्ट, मुम्बई निवासी तिलक दुवेसँग फेन्सीबजारभित्र रहेको थ्री स्टार होटलमा भेटघाट गर्यौं । दुवेज्यूको विशेष आग्रहमा त्यो दिनको भोजन त्यही होटलमा ग्रहण गर्यौँ र नेपाली उपन्यास विधाका अति आदरणीय व्यक्तित्व, चर्चित उपन्यास बसाइँका लेखक, ऐतिहासिक पुरुष लिलबहादुर क्षेत्रीज्यूको वासस्थान सोलापाडा, हरिजन कोलोनी पुग्यौं । उहाँको दर्शन गर्यौं । स्वास्थ्यलाभको कामना गर्यौं । उहाँका केही प्रवचन सुन्यौं ।
र पल्टनबजार, बेलतलाबजार हुँदै अन्तरे गोठालोको क्वाटरमा पुग्यौं । भाउजू र नानीसँग भेट गर्यौं । कविता सुनायौं । पुस्तकहरू साटासाट गर्यौँ र होटल टोकियो टावर आएर झोला बोकेर गुवाहाटी रेलस्टेसनतिर लाग्यौं । हामीलाई बिदा गर्न अन्तरे दाजु होटलसम्म आउनुभयो । होटलको बिल फर्याउनु भयो र बाटोमा भोक लाग्यो भनेर नरुनु बरु हातको पटुका कसेर, चूपचाप बसेर जानु है भन्दै हात हल्लाउनु भयो ।
पुरुषोत्तम उपाध्याय दाहालज्यूको फरासिलोपन, कविहरूप्रतिको सद्भाव, कविताप्रतिको मोह, साहित्यसँगको प्रेम, समाजसेवाको भावना, पशुसेवाको दृष्टान्त, कर्मप्रतिको लगाव, उच्च ओहोदामा बसेर पनि भुइँमान्छेसँग हुने अन्तरघुलन आदिआदि कुराहरू हेर्दा व्याख्या नै गर्न नसकिने गहिरोमा डुबिन्छ । कल्पना नै गर्न नसकिने उचाइमा पुगिन्छ । उहाँको विशिष्टता अरू कसैले खोजेर पनि प्राप्त गर्न सक्तैन । हामीलाई जति गर्नुभयो त्यति नै सेवा गरिरहनु भएको छ हजारौंलाई ।
सडकमा छोडिएका बिरामी कुकुरहरूलाई उपचार गर्ने, खुवाउने पिलाउने, नुहाउने, संरक्षण गर्ने केन्द्र खोलेर विगत पाँच वर्षदेखि ३०० भन्दा बढी कुकुरहरूको सेवा गर्नु–गराउनु भएको छ उहाँले । आफ्नो गाउँ जागुन पुग्दा भगवान् सम्झेर सयौं परिवार आँगनमा आएर रुन्छन् । हात समाएर फर्कन दिंदैनन् बाटोबाटोमा उहाँलाई । उहाँको स्वभाव भगवान्ले दिएका हुन्, भावना, जाँगर, तत्परता, प्रेम र खुला हृदय पनि भगवानले नै । यस्ता भगवान् जस्ता व्यक्ति ‘गोठालो अन्तरे’को जयजयकार गर्दै चढ्यौं रेल र आयौं सबै साथीहरू गुवाहाटी–एनजेपी एक्सप्रेसबाट । तोकिएको समयभन्दा ४ घण्टा ढीलो भोलिपल्ट १२ बजे मात्रै एन.जे.पी. आइपुग्यौं हामी ।
एउटा ट्याक्सी रिजर्भ गरेर काँकडभिट्टा निस्कियौं र सिटी रिक्सा रिजर्भ गरेर दाजु चन्द्र भण्डारीको घर धुलाबारीमा । विमलजी सरासर चारआली आएर इलाम उक्लनु भयो भने हामी दुइभाइ लीना भाउजूले पकाउनु भएको मीठो खाना खाएपछि पप्लिक बस चढेर फर्कियौं । म दमक आएँ र दीपकजी जानुभयो गौरादह ।
हाम्रो यो यात्रा अत्यन्तै सार्थक, रोमाञ्चक, ज्ञानवर्धक भएको कुरा हामी सबैको हृदयले बताएको हुनाले असम नेपाली साहित्य सभाका आयोजक, सञ्चालक, परिचालक, सहयोगी सबैसबैमा साधुवाद अर्पण गर्दछु । जय साहित्य !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ मंसिर २०८२, आईतवार 










