
टिस्टादेखि सुनकोशसम्मको घना जङ्गल र चिया कमानको विस्तीर्ण भूमि हो – ‘डुवर्स’ । साहित्यकारहरू यसलाई ‘त्रासदीको अर्को नाम’ को रूपमा पनि अर्थ्याउँछन् । तर, पीडाहरूलाई चिर्दै आर्तनादलाई पनि सङ्घर्षको पर्याय बनाउनु डुवर्सको बाध्यता र विशेषता दुवै हो ।
डुवर्समा नेपाली साहित्यको पृष्ठभूमि
ब्रिटिशकालीन भारतभन्दा अघिदेखि नै गोर्खा यस भूमिमा बस्दै आएको इतिहास छ । औलो लाग्छ भनेर हाम्रा पुर्खाहरू पहाड चढेका थिए । भारत स्वाधीन भएपछि यस क्षेत्रमा सांस्कृतिक, साहित्य, कला अनि राजनैतिक चेतनाको विकाश हुन्छ । तर त्यसभन्दा दुई दशकअघि नै डुवर्सको कैँजले बस्ती निवासी हैकमसिंहले राईले सन् १९२९ मा ‘गोर्खा समाज सुधारको आवश्यकता’ शीर्षकमा निबन्ध लेख्छन् । तत्कालीन समयमा त्यस प्रकारको चेतना डुवर्समा विद्यमान हुनु भनेको भारतीय गोर्खाहरूको राष्ट्रिय चेतनासँग डुवर्स पनि एकाकार हुँदै त्यसको मूलप्रवाहमा हेलिंदै गएको सङ्केत थियो ।
सन् १९४० को दशकमा शिक्षाको ज्योतिबाट समाज उजेलिंदै गएपछि प्राथमिक विद्यालयहरू खोलिए, यहाँका युवाहरू बाहिर पढ्न गए । यसरी डुवर्स बाह्य गतिविधि र नवीनतम चेतना र घटनाक्रमहरूसँग जोडिंदै गयो । स्वाधीनता आन्दोलनमा डुवर्सका गोर्खाहरू महात्मा गान्धीको राष्ट्रिय नेतृत्वमा समाहित भइसकेका थिए । यसरी चियाबगान र वनवस्तीबाट उठ्दै गरेको डुवर्सेली गोर्खाहरूको चेतनाले उनीहरूलाई बौद्धिक तथा साहित्यिक गतिविधितर्फ धकेल्दछ । फलतः सन् १९५० को दशकमा हस्तलिखित पत्रिकाहरूको बाढ आउन थाल्छ ।
डुवर्स नेपाली विकास समितिको स्थापना र विकासको इतिहास :
डुवर्सको चेतनाको प्रवाह सन् १९५० को दशकबाट घनिभूत हुनथाल्छ । दुई दशकमा अनेकौं बौद्धिक कसरतहरूका प्रयास स्वरूप पश्चिम डुवर्सबाट ‘प्रयास’, ‘इन्द्रधनु’, ‘शिरीष’ अनि पूर्व डुवर्सबाट ‘मुना’ र ‘नवजागृति’ जस्ता पत्रिकाहरूका सम्पादक, प्रकाशक अनि व्यवस्थापकहरू भेला भएर वीरपाडामा सन् १९७४ को नोभेम्बर २२ र २३ तारिखको दिन एउटा महत्त्वपूर्ण बैठक गर्छन् । बैठकमा सङ्गठनको आवश्यकता बोध हुन्छ अनि बनिन्छ नेपाली साहित्य विकास, डुवर्स । बैठकले सन् १९७५ को मार्च महीनामा एउटा ठूलो सम्मेलन गर्ने तय गर्छ, जहाँ इन्द्रबहादुर राई, ईश्वर बल्लभ, रामलाल अधिकारी जस्ता हस्तीहरूको आगमन हुन्छ । त्यही बैठकमा इन्द्रबहादुर राईले पुच्छरको ‘डुवर्स’ अगाडि जोडेर डुवर्स नेपाली साहित्य विकास समिति नामकरण गर्न सुझाउँछन् ।
फलतः सर्वसम्मतिले यो नामलाई अनुमोदन गर्छ । यसरी विकास समितिको गठन हुन्छ ।
० ० ० ०
विकास समितिको ऐतिहासिक विकासक्रमलाई निम्न क्रमबद्धतामा हेर्न सकिन्छ:
नोभेम्बर, १९७४ मा विकास समितिको गठन भएपछि यसको साङ्गठनिक बिस्तार र जागृतिमूलक अभियानका लागि सन् १९७५ को मार्च महीनामा डुवर्सव्यापी साइकल ऱ्यालीको आयोजन भएको थियो । यसले आफ्नो मूल र रूटिन गतिविधिका रूपमा साहित्यिक, सांस्कृतिक, शैक्षिक विकासका लागि डुवर्सव्यापी भानु जयन्ती/लोक सांस्कृतिक सम्मेलन जस्ता कार्यक्रमहरूको आयोजन गर्दछ । यस समितिकै पहलमा डुवर्सका विभिन्न ठाउँमा एक दर्जनभन्दा बढी आदिकवि भानुभक्त आचार्यको सालिक स्थापना भएका छन् ।
यी सामान्य गतिविधिबाहेक समयसमयमा यसले विशेष कार्यक्रम गरिएको छ । सर्वप्रथम यसको नेपाली भाषाको संवैधानिक मान्यताको आन्दोलनमा भारतव्यापी आबद्धता र डुवर्सको सक्रिय सहभागिता रहेको थियो । यस कामलाई फत्ते गर्ने राष्ट्रिय स्तरको आन्दोलनलाई नेतृत्व गर्ने स्व नरबहादुर भण्डारीको अगुवाइमा खोलिएको भाषा सङ्गठन भारतीय नेपाली राष्ट्रिय परिषद्को ५१ जना सदस्यीय कमिटीमा डुवर्सबाट चा रजना विशिष्ट सङ्ग्रामीहरू सुखमन मोक्तान, कितापसिंह राई, इन्द्रबहादुर गुरुङ र बीएम योञ्जन कमिटीमा आबद्ध थिए ।
उल्लेखनीय छ, भर्खरै ३१ अगस्त, २०२४ को दिन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) दार्जीलिङद्वारा डुवर्सका विशिष्ट भाषा-सङ्ग्रामी बी.एम. योञ्जनलाई रु. ५० हजार रुपियाँको नगद राशिसहितको भाषा सेवा सम्मान पुरस्कार-२०२४ अर्पण गरिएको छ ।
डुनेसाविस-का प्रतिनिधि टोली पनि भारतका तत्कालीन प्रधानमन्त्रीहरू मोरारजी देसाई, इन्दिरा गान्धी, विश्वनाथ प्रताप सिंह, पी.भी, नरसिंहा रावसँग भेट गर्ने शीर्षस्थ टोलीमा पनि सामेल थिए । सन् २० अक्टोबर, १९८२ मा साहित्य अकादमी, नयाँ दिल्लीले डुवर्स नेपाली साहित्य विकास समितिलाई मान्यता प्रदान गऱ्यो ।
यसबाहेक यसको शैक्षिक गतिविधिमा पनि योगदान रहेको छ । डुवर्समा नेपाली भाषामा नेपाली विद्यालयहरू स्थापनाका लागि विकास समितिले दीर्घकालदेखि सरकारसमक्ष आवाज उठाउँदै आइरहेको छ । जसको फलस्वरूप विकास समितिका नेतृत्वहरूका पहलमा अहिले डुवर्समा कतिपय विद्यालयहरूले सरकारी मान्यता पाएर सुचारू रूपले सञ्चालन भइरहेका छन् । यसका साथै डुवर्समा स्थापित महाविद्यालयहरूमा नेपाली विभाग खोलिनुपर्ने मागमा सुदीर्घ सङ्घर्ष गरेको छ । जो अहिले अनर्ससहितको नेपाली विभाग स्थापित छ ।
यो बहुभाषिक र सामाजिक विविधता र मिश्रित स्थान हो । अन्य भाषा-भाषीसँग मिलेर बस्दै आफ्नो जातीय मौलिक संस्कृतिको संरक्षण र प्रवर्धनमा निरन्तर प्रयासरत छ । भूटानका नेपालीहरूमाथि अत्याचार हुँदा ‘डुवर्स नेपाली साहित्य विकास समिति’का पदाधिकारीहरूले पदयात्रा गरे अनि जेल पनि परेका पनि थिए । बङ्गालका तत्कालीन मुख्यमन्त्री ज्योति बासुलाई भानु जयन्तीको बिदाका लागि निवेदन गरी सफल भएका थिए ।
यस समितिको साहित्यिक, सामाजिक, सांस्कृतिक, शिक्षा सेवा पुरस्कार हरेक साल प्रदान/आर्थिक अनुदान हालसम्म ३४ जना साहित्यकार तथा बुद्धिजीवीहरूलाई प्रदान गर्दैआएको छ । सन् २०११ मा सिक्किमका पूर्व मुख्यमन्त्री एवम् भाषा सङ्ग्रामी नरबहादुर भण्डारीलाई सम्मान प्रदान गरेको थियो भने डुवर्सका अन्य सक्रिय समाजसेवी, भाषा सङ्ग्रामी अनि कलाकारहरूलाई सम्मान गर्दै आएको छ । समितिकै निरन्तर प्रयास स्वरूप डुवर्सका प्रथम साहित्यकार एवम् स्वतन्त्रता सेनानी हैकमसिंह राईको सालिक निर्माण-२०२४ भएको छ ।
० ० ० ०
प्रकाशन गतिविधि
डुवर्सको नेपाली साहित्य विकास समितिका अन्य केही गतिविधिहरूमा पुस्तक तथा पत्रिका प्रकाशन, पुरस्कार प्रदान र साहित्य समारोहहरूको आयोजन लगातार गर्दै आइरहेको । यद्यपि यस विकास समितिसमक्ष कुनै अक्षय कोष छैन, कुनै खासै आय स्रोत छैन । जे जति काम हुँदैछन् सबै यसकै सदस्यहरूको व्यक्तिगत खर्च, सदस्यता शुल्क र केही दानहरूबाट भइरहेका छन् । यो संस्थालाई अहिलेसम्म कहीं-कतैबाट ठूलो आर्थिक सहयोग पनि प्राप्त भएको छैन । पश्चिम बङ्गाल सरकारबाट कुनै आर्थिक मद्दत प्राप्त छैन भने जीटीए, दार्जीलिङको व्यवस्थाको परिसीमाभित्र डुवर्स पर्दैन । त्यसैले यो ठाउँ र यहाँ सङ्घर्षरत साहित्यिक सङ्घ-संस्थाहरू जति पनि कार्यहरू गरिरहेका छन्, आफ्नै बलबुता र गोजीको पैसा हालेर गरिरहेका छन् । यस समितिबाट प्रकाशित केही पत्रिका/स्मारिकाहरू हुन्- स्मारिका, अङ्क १, २, र ३ (सन् १९८०, १९८३, १९९१)
२. डुवर्स-वार्ता, अङ्क १ देखि १२ सम्म, (१९८४-१९८९),
३. डुवर्स, अङ्क १, सन् २००४, अवलोकन, अङ्क १, २, ३, (सन्, २०१५, २०१६, २०१८) । यो पछिल्लो अवलोकन भने एक उच्चस्तरीय साहित्यिक पत्रिका हो । यसले कथा अङ्कका रूपमा पनि एउटा विशालकाय ग्रन्थ प्रकाशित गरेको छ ।
यसका साथै यस समितिको प्रकाशनमा रहेका केही पुस्तकहरू हुन्- धामीको सवाई, तेस्रो संस्करण, दिलबहादुर सरदार, सन् १९८४, केही साहित्यिक अध्ययन र मूल्याङ्कन, मननारायण प्रधान, सन् १९९१, चन्द्रवीर प्रधानका कथाहरू, सम्पादक, मननारायण प्रधान, सन् २००२, गल्लीदेखि राजमार्गसम्म, कथासंग्रह, श्रीनारायण प्रधान, सन् २००४, बिराटाकी पद्मिनी, अनुवाद, शङ्कर प्रधान, सन् २००९ (२०१५ को अनुवाद साहित्य अकादमी पुरस्कार प्रापक), डुवर्स तिमी, कवितासंग्रह, किरण उपाध्याय सन् २०१४, संस्मरण: एक संस्मरण, इन्द्रबहादुर गुरुङ, सन् २०१५, सभ्यताका पेन्डुलमहरू, कवितासंग्रह, दोस्रो संस्करण, पवित्रा लामा, सन् २०१७, काजीमान गोले स्मृति ग्रन्थ, सन् २०१७, कितापसिंह राई स्मृति ग्रन्थ, सन् २०१९, देश र फुच्चे, बाल कवितासंग्रह, बसन्त थापा, सन् २०२० (२०२४ को बालसाहित्य अकादमी पुरस्कार प्रापक), हनुमानको अनुमान, बाल-कवितासंग्रह, बसन्त थापा, सन् २०२०, हराएका रोल नम्बरहरू, बाल कवितासंग्रह, बसन्त थापा, सन् २०२०, कृष्णभक्त खड्काका कथाहरू, सन् २०२२, नि:शब्द, कथासंग्रह, श्रीनारायण प्रधान सन् २०२२, अवलोकन, कथा विशेषाङ्क, सन् २०२२, ज्योति-ज्वाला-ज्योत्स्ना, कवितासंग्रह, नरेन्द्र खँड्का, सन् २०२३, सत्ता र समय, कवितासंग्रह, अनन्त श्रेष्ठ, सन् २०२३, विस्थापन, कथासंग्रह, अबीर खालिङ, सन् २०२४ ।
यसबाहेक विकास समितिले अन्य गतिविधिहरू निरन्तर रूपमा आयोजन गरिरहेको छ । यस वर्ष स्वर्ण जयन्ती वर्ष भएकोले वर्षको शुरूदेखि नै विविध कार्यक्रमहरू सम्पन्न भइरहेका छन् । आगामी दिसम्बरको अन्ततिर मध्य डुवर्सको वीरपाडामा एउटा भव्य राष्ट्रिय भेला आयोजन गरेर स्वर्ण जयन्तीको वर्षको समापन गरिनेछ ।
डुवर्स नेपाली साहित्य विकास समिति ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

