‘तिम्रा कुकुरलाई मारिदिन्छु म । हेर्दै डरलाग्दो । भोटे कुकुर ! यो बाटो त हिंड्नै भएन । झम्टिहाल्छ ।’

‘किन ? के भयो र दाइ ?’

‘दाइ नभन मलाई ! यो कुकुरलाई ठेगान लगा नत्र म मारिदिन्छु ।’

‘के गर्‍यो र मेरो कुकुरले ?’

(भ्वाऊ … भ्वाऊ … )

‘हेर न त्यहाँ भुकेको ! मलाई टोक्न नपाएर दाउरा टोकेको । अझ के गर्‍यो रे ? जो चोर उसैको ठूलो स्वर ! हैन ए लठुवा !’

‘कसलाई लठुवा भनेका हौ र दाइ ? मेरो नाम नोर्बु हो । नामले बोलाए त तिम्रा के बिग्रिन्थे ! कति न ठूलो पल्टन्छौ ।’

‘यो बाटो तिम्रा निजी सम्पत्ति हुन् र ?’

‘हैन ए दाइ, किन गर्जन्छौ र ?’

‘बाटो हिंड्नै नपाउने भइयो, तेरा कुकुरलाई छाडा नछोड् । टोकूलाझैं गर्छ । कुन दिन कसलाई टोक्छ अनि जान्छस् जेल ।’

‘तिम्रालाई त टोकेको छैन नि, किन यतिका विधि फलाक्छौ ? टोकेका दिन मारिदिउँला,’ मेरो बोली सकिन नपाउँदै दाइ हिंडिभ्याए । हिंड्दै गर्दा पछाडि फर्केर आँखा पर्लक्क पल्टाए । मैले बुझिहालें । आँखाले पख्लास् भन्दै थिए ।

हामी शेर्पा जातिहरू, कुकुर र हाम्रो सम्बन्ध प्रगाढ हुन्छ । पहिला पहिला हिमालमा बस्ने भएकाले कुकुर पाल्ने गरिन्थ्यो । हाम्रा पुर्खाले भनेका । कुकुरमा पनि भावना हुन्छ रे । माया र स्वामीभक्त हुन्छ रे । त्यो वेला जङ्गली जनवारहरूसँग सजिलै भिड्न सक्ने भएको हुनाले अङ्गरक्षकको रूपमा पालिने गरिन्थ्यो ।

मेरो बुबाले पनि कुकुर पालेको थिए । औधी माया गर्थे । बुबा मर्नुभन्दा एक हप्ताअघि नै घर छोडेर गयो रे । बुबा मरेको ४५ दिनपछि फेरि टुप्लुक्क घर आएको थियो रे । म त सानै थिएँ । आमाले पछिसम्म पनि सम्झिरहनु हुन्थ्यो । आमाको काखमा बसेर लुटुपुटु गर्दा मलाई जस्तै माया गर्नुहुन्थ्यो । बौद्ध धर्ममा आस्थासँगै अहिंसा हाम्रो धर्म हो । हाम्रो पुर्खाहरू तिब्बतबाट शरणार्थी भएर नेपाल सरेका हुन् । म चाहिं नेपालमै जन्मेको हो ।

आजकाल समयसँगै मान्छेहरू पनि परिवर्तन भए । हामी पनि हिमाली भेगबाट गाउँमा बस्न थाल्यौं । बुबाको मुत्युपछि सोलुखुम्बुमा बसाइँ सर्यौं । सोलुखुम्बु आउँदा बाटामा भेटेको यसलाई मेलै । यसलाई भन्नाले ‘सोलु’लाई । बिचरा यो सानो थियो । मलाई देख्नबित्तिकै टुलुटुलु हेरिरह्यो । मैले मायाले अँगालें र आज हामीसँगै छ ।

सोलु सानैदेखि चुलबुल स्वभावको थियो । सोलुखुम्बुको बाटोमा मलाई पर्खिरहेको थियो । मलाई लाग्यो मेरो बाबाले पठाइदिनु भएको हो । यसको नाम नै मैले सोलु राखिदिएँ । सोलु अर्थात् सोलुखुम्बु जस्तै सुन्दर र सफा मन भएको सोलु । हामी खुब खेल्थौं । घर बाहिर जाँदा सोलुले मलाई पर्खिरहेको हुन्थ्यो । मलाई देख्न बित्तिकै कम्ता खुसी हुँदैनथ्यो ! बुरुक्क उफ्रेर अँगालो नै हाल्थ्यो ।

कस्तो अजीवको हुँदो रहेछ है माया । समयको रफ्तारसँगै आमाले पनि बिदाइ लिनुभयो । म एक्लो भएँ । सोलुलाई हेरेर दिन बिताउँथें । मेरो दुःख साट्ने सोलु नै थियो । आँसु पुछिदिने पनि उही । सोलु र ममा के फरक छ र ? बस ! सोलु बोल्न सक्दैन, म बोल्न सक्छु । यति नै होइन फरक ? भावना उस्तै, मन उस्तै, दुखाइ उस्तै अनि भोगाइ उस्तै । हामी ठीक उस्तै ।

मेरो जीवनले कहिले पनि सुख दिएन तर एउटा नयाँ अनुभव भने दिइरह्यो । इमानदार र असल हुन मैले सोलुबाट सिकेको छु । मान्छेहरू त पाइला पाइलामा रीस र डाहा गर्ने मात्रै भेटेको छु । विश्वासमा अडेको छ संसार । सोलुले मलाई आँखा बन्द गरेर विश्वास गरेको छ ।

कहिलेकाहीँ हामी झगडा पनि गर्छौं । सोलु बिनाकारण नै भुक्छ । मलाई बेस्सरी रीस उठ्छ । घर बाहिर छोडिदिन्छु । म कोठामा चुकुल लगाएर बस्छु । कोठाको झ्यालबाट टुलुटुलु हेरिरहन्छ । अनि म फेरि कोठाको झ्याल पनि बन्द गरिदिन्छु । एकैछिनमा घरको दैलोमा आएर बोलाउँछ । बिचरा सोलु ! मलाई एकैछिन नदेख्दा खूब आत्तिन्छ । मलाई पनि मायाले डोर्‍याइहाल्छ अनि अँगालो हालेर सुत्छौं ।

हिन्दूहरूको महान् चाड दशैं सकिए लगत्तै तिहारको रमझम चलिरहेको थियो । देश तिहारको संगीतमा झुमिरहेको थियो । मलाई पनि दशैं र तिहार भन्ने बित्तिकै मन हर्षित हुन्छ । हामीहरू लोसार पर्व मान्छौं तर मौलिक परम्परागत संस्कार र संस्कृतिसँग जोडिएका पर्वहरूले नेपाली नेपाली बीचको सम्बन्धलाई अझ मजबूत बनाउँदो रहेछ ।

आधुनिकतासँगै भित्रिएको विदेशी संस्कारलाई त्यागी आफ्नै मौलिकता झल्काउने भेषभुषा, भाषामा रमाउँदा स्वर्ग यही हो जस्तो लाग्छ । तिहारको बत्तीमा सोलुले उत्सव मनाउँदा मलाई खुशी लाग्छ । यस पालिको तिहारमा सोलुलाई मैले उपहार ल्याइदिएको छु । सोलुलाई थाहा छैन, धेरै वर्ष भयो मैले केही दिएको छैन । सोलुले केही मागेको पनि छैन मसँग । सोलुलाई थाहा छ, म एक छाक खानको लागि यार्सागुम्बा टिप्न जान्छु । सोलुले पनि सघाउँछ मलाई ।

बिहानको सूर्यसँगै म उठें । आङ तनक्क तन्काएँ । सोलुको निद्रा खुलेको थिएन । सोलु सुतिरहेकै थियो । म ट्वाइलेट गएँ । आउँदा सोलुले मलाई खोजिरहेको थियो । मलाई देख्ने बित्तिकै पुच्छर हल्लाउँदै काखमा आइहाल्यो । सोलुलाई थाहा भयो होला आज कुकुर तिहार हो भनेर ।

मैले भनिदिएँ, ‘सोलु ! आज तेरो दिन हो ।’

सोलुले मलाई बुझे झैं गरी पुलुक्क हेर्‍यो । मैले ल्याइदिएको सानो घण्टी सोलुको घाँटीमा लगाइदिएँ । सोलु छक्क पर्दै हेरिरह्यो ।

‘टाउको हल्ला त सोलु ?’ सोलुले टाउको हल्लायो । घाटीको घण्टी टिंग… टिंग… गर्दै बज्न थाल्यो । सोलु खुशीले बुरुक्क उफ्रियो अनि त के चाहियो र ? जति वेला पनि टाउका मात्रा हल्लाउँछ । टिंग… टिंग… टिंग… ।

एकदिन सोलुले खान खानै मानेन । निराश मन लिएर सुतिरह्यो । मलाई एकदम चिन्ता लाग्यो । बोली आउने भए भन्थ्यो होला, मलाई सन्चो छैन भनेर । पुसको महीना चलिरहेको थियो । सोलुखुम्बुले चिसो हावासँगै चिसो मौसमलाई पनि बोकेर आएको थियो । जाडो बढेसँगै घामले मुख देखाउनै छोड्यो । हुस्सु र कुहिरोले सोलुखुम्बुलाई छोपिदिएको थियो । मलाई चाहिं मन पर्छ जाडो महीना ।

जाडो महीना अक्सर पानी नपर्ने तर सोलु र मेरो पहिलो भेट जाडो महीनामै पानी परेको दिनमा भएको थियो । मलाई अहिले पनि सम्झना छ । सोलु पानीमा भिज्दै बाटोमा भौंतारिरहेको वेला मैले भेटेको हो । आकाशको पानीले मलाई सोलु उपहारमा दिएको छ । आज पनि पानी पर्‍यो भने त्यही दिनमा भेटाउँछु आफूलाई । आज त रातभरि पानी परेछ । पानीले चिसिएको दाउरालाई अगेनामा झोस्दै गर्दा मान्छेहरूको हूल मेरो घरको दैलोमा देखें । सोलु भुक्न थाल्यो । अगेनाको धूवाँसँगै बाहिर आएँ । मान्छेहरूको भीडमा पुलिस पनि थिए । मेरो सातो गयो । म आत्तिएछु ।

मान्छेको हूलबाट एकजना पुलिसले हप्काउँदै सोधे, ‘तेरो कुकुर खोइ ?’

मेरो बोली नै बन्द भयो ।

‘किन बोल्दिनस् ?’

आत्तिंदै बोलें, ‘भित्र छ सर ! हिजोदेखि बिरामी परेको छ ।’

मेरो बोलीसँगै मान्छेहरूका हूलबाट आवाज एकोहोरो बर्सिन थाल्यो- ‘यसको कुकुरलाई मारिदिनु पर्छ । नत्र हामी नै मारिदिन्छौ । बाहिर निकाल् तेरो कुकुरलाई ।’

‘के गल्ती भयो र ?’ भनेर सोधें ।

‘नजान्ने हुन्छस् ? हिजो बेलुका तेरो कुकुरले मेरो छोरालाई टोकेछ । यी हेर् त घाउ !’

केटो चूप थियो ।

मैले लामो सास फेरें । सोलुलाई भित्रबाट लिएर आएँ । सोलु एकदम डराएको थियो । त्यो केटालाई देख्न बित्तिकै झम्टिहाल्यो । पुलिसले एक लात्ती सोलुको ढाडमा हान्यो । सोलु कराउँदै मेरो खुट्टामा लुक्दै आयो । मलाई पुलिसले समातेर लग्यो । सोलु पछिपछि दगुर्दै थियो । मान्छेहरूले ढुङ्गाले हिर्काउँदै थिए ।

आँसुका थोपा तप्प भुइँमा खसे । म अकमक्क थिएँ । अन्योलमा हराएको थिएँ । पुलिसको गाडीलाई पछ्याउँदै दगुरिरहेको सोलु एकैछिनमा मेरो आँखाबाट विलीन भयो । मलाई विश्वास थियो, मेरो सोलुले यस्तो गर्न सक्दैन । पुलिस चौकीमा सोधपुछ शुरू भयो । मेरो सबै कुरा प्रष्टै राखें ।

दुई दिनको जेल बसाइपछि सहमतिमा छोडिदिए । मैले मेरो सोलुलाई मेरै हातले मार्नुपर्ने निर्णयले म पलपल मरिरहेको थिएँ । सोलु घरमा मलाई पर्खेर बसिरहेको थियो । मलाई देख्नेबित्तिकै सोलुको आँखा आँसुले भिज्यो । मैले सोलुलाई बेस्सरी गाली गरें ।

‘किन बदमास गरेको ? यस्तो काम गर्नुहुन्छ ? मैले तँलाई यति माया गर्दा पनि सुख कहिले नदिने भइस् ?’

मेरो गालीले सोलु झन् मसँगै टाँसिएर बस्यो । सोलुलाई आँखाभरि सजाएँ । मन भारी थियो । आँखाका डील भत्केका थिए । मेरै काखमा हुर्कियो र मृत्यु पनि मैले नै लिएर आएँ । मृत्युभन्दा भयानक डरलाग्दो चीज अर्को कुनै छ र ? तर सोलु आफ्नो मृत्युमा पनि शान्त र मलिन छ । मनमा धेरै कुराहरू छन् होला । बोली नआउँदा पानीको फोकाझैं हराएर जान्छन् होला । सृष्टिको सबैभन्दा असहाय प्राणी पशुपन्छीहरू नै हुँदा रहेछन् । जन्म त लिन्छन् तर ईश्वरले पनि ठगिदिन्छन् । बिचरा ! मेरो सोलु !

घाम बिस्तारै डाँडाको छेउबाट ओझेल पर्दै जाँदै थियो । आकाशमा बादलहरू मडारिरहेका थिए । पानीको छिटा तपतप वर्षिंदै थियो । रूखका पातहरू हावाको वेगमा हल्लिरहेका थिए । घर वरिपरि दुबो उम्रेर बाक्लो भएको थियो । चारैतिर अस्तव्यस्त वृक्षहरूले ढाकिएको भएता पनि मौसम उजाड थियो । कसैको अभावमा नदी झैं शान्त छ ।

आज यसै पनि केही गर्न मन छैन । मेरो सोलुलाई मीठो खान खुवाएँ । अँ साँच्ची ! नुहाइदिएर कपालमा तेल लगाइदिएँ । तेल लगाउँदै गर्दा भुसुक्क निदाएको थियो । एक घण्टापछि ब्यूँझ्यो । मैले सोलुलाई घर पछाडिको रूखमा बोलाएर लगें । सोलु ज्ञानी भएर लुरुलुरु आयो ।

मेरो हातमा बन्दुक थियो । सोलुले मलाई हेरिरहेको थियो । मैले बन्दुक तेर्साएँ सोलुतिर । मैले सोलुलाई हेर्नै सकिनँ । आँखा चिम्म गरें । लामो सास फेरें । सास फ्याँक्दै गर्दा बन्दुक हातबाट खस्यो । सोलु कुदेर आयो । मलाई अँगालो हालेर चुम्न थालो । मैले पनि सोलुलाई च्याप्पै अँगालो हालेर बेस्सरी रोएछु ।

अह ! म सक्दिनँ । सोलु मलाई माफ गर । रातभरि छटपटी भइरह्यो । छटपटीले निदाउनै सकिनँ । सोलुको एकदम माया लाग्यो । मैले ईश्वरलाई सम्झें । हे भगवान् ! के पाप हुन लाग्यो मबाट । म अनजान छु, मलाई माफ गर ।

बिहानको झुल्के घामको किरणमा भुसुक्क निदाएछु । मान्छेहरूको कोलाहलले ब्यूँझेछु । उठ्ने बित्तिकै मेरा आँखाले सोलुलाई नै खोज्दै थिए । सोलु ढोकाको छेउमा बसेर लामो जिब्रो झिकेर स्वाँ-स्वाँ गर्दै थियो ।

‘यसले त यो कुकुरलाई अझै मारेको छैन रहेछ !’ आवाज मेरो कानमै आएर ठोकियो । रीस नउठेको हैन तर म पराजय भइसकेको थिएँ ।

मैले गाउँलेहरूसँग माफी मागें । चिच्चाएँ, कराएँ, गुहार मागें तर मेरो कुरा कसैले सुनेनन् । मलाई यो पापबाट मुक्त गरिदिनुहोस् । म सक्दिनँ मेरै हातले मार्न । मेरो बोली नसकिंदै एउटा मोटो टाउको भएको कालो बिरालो सोलुको छेउमा आएर बस्यो । मैले सुनेको थिएँ ‘कुकुर र बिरालो मिल्दैन’ भनेर तर झूट साबित भयो । सोलुले बिरालो देखेर भुकेन । कुकुर र बिरालो बीचमा प्रेम हुन्छ तर हामी मान्छे-मान्छे बीचमा चाहिं किन प्रेम, सद्भाव छैन ? मान्छेको चरित्र बल्ल बुझ्दै छु । मान्छेहरूभन्दा त पशुहरूमा कति धेरै आफ्नोपन छ ।

रीसको पोको बोकेर ममाथि ती मान्छेहरू बर्सिन थाले ।

‘कि तँ मार, कि हामी मार्छौं !’

‘मार्ने कुरा नगर्नुहोस्, बिन्ती ! म कतै लगेर छोडिदिन्छु ।’

‘के रे ! के रे ! छोडिदिने रे,’ मान्छेको भीडबाट आवाज आयो, ‘अनि फेरि त्यहाँका मान्छेलाई पनि टोक्यो भने तँ के गर्छस् ?’

‘तँ किन कुरा बुझ्दिनस् ? जेलबाट के सम्झौताम छुटेको छस् ?’

म निःशब्द भएँ । मौन बसें । केही बोल्नै सकिनँ । सोचें, मैले यी मान्छेलाई मार्न दिएँ भने तड्पाई-तड्पाई मार्छन् । बिचरा सोलुलाई कति दुख्छ । अहँ ! म आफै एकैचोटि मार्छु । मैले गाउँलेहरूलाई आज मार्छु भनेर विश्वासमा फर्काएँ । मार्छु त भनें तर सक्दिनँ । मान्छेहरूसँगै त्यो बिरालो पनि गयो । सोलुले बिरालोलाई हेरिरह्यो । शायद सम्झनामा राख्यो होला ।

थोरै हिम्मत र आँट बटुलेर फेरि बन्दुक उठाएँ । सोलुतिर तेर्साएँ । सोलु ढोकामै सुतिरहेको थियो । आँखाहरू डुलिरहेका थिए । मन उडेको हुँदो हो शायद । घर पछाडिको रूखमा बसेर खूब रोएँ । सोलु पनि त्यही आयो । सोलुलाई मैले सिधै भनें, ‘म तँलाई मार्दैछु आज सोलु ! सुन्दैछस् !’

बिचरा मेरो शब्दमा माया भेटेछ । मलाई खुट्टामा चाट्न थाल्यो । आँसु बरर खस्यो ।

‘कि यति धेरै माया गर्छस् मलाई ? म पापी हो । म तेरो मायाको लायक छैन । मलाई माफ गर है सोलु ।’

सोलुले टाउको उठाएर मलाई हेर्‍यो । आज म सबैसँग माफी माग्छु । संसारका प्रत्येक पशुप्राणीहरूसँग । यो धर्ती, जङ्गल, आगो, पानी, घाम, जून, गाउँले र तपाईंहरूसँग पनि । हे भगवान् ! के हो पाप ? के हो पुण्य ? मलाई थाहा छैन । छुट्याउन सक्ने क्षमता पनि छैन र ममा त्यो शक्ति पनि छैन । म गलेर शिथिल भएको छु ।

एकैछिनको मौनतापछि आँखा बन्द गरें र सोलुलाई गोली हानें । सोलुलाई हेर्दै नहेरी फनक्क पछाडि फर्केर घरभित्र स्वाट्ट पसें । सोलु कराउँदै गरेको आवाज सुनें । आवाजसँगै सोलुको घाँटीको घण्टी बजिरहेको थियो । घण्टीको आवाजसँगै तिहारलाई सम्झें । सम्झें सोलुलाई मनभरि ।

एकैछिनमा आवाज बन्द भयो । बाहिर निस्केर हेर्ने आँटै आएन । ढोका थुनेर बेस्सरी रोएँ । आँसुले भरिएको आँखा पुछ्दै बाहिर निस्केर हेरें । रूखको वरिपरि रगतले पोतिएको थियो । सोलुको रगतलाई हातले स्पर्श गरें । तर सोलु त्यहाँ थिएन । सोलुलाई खोज्दै पर जङ्गलसम्म गएँ । शून्य मन र फुस्रो ओठ लिएर घर फर्किएँ ।

सोलुको मृत्युमा शोक मनाएँ । वरिपरि सोलु मात्र आइरह्यो । घरको भित्ता र ढोकामा सोलुकै छाया नाची मात्र रह्यो । एउटा शून्यता बोकेर कालो रातमा छटपटिरहेको थिएँ । घर बाहिरको कौसीमा बसेर रातमा जून खोजिरहेको थिएँ । आकाशमा जून थिएन । ताराहरू पनि आकाशमै हराएका थिए । म भित्रका सबै आत्मविश्वास गलित र थकित भएका थिएँ ।

मभित्रका जोश जाँगरका सागर सुकेर फिक्का फिक्का भएर एक्लो भइसकेको थिएँ । अब छन् त केवल मसँग एक्लोपन र मात्र सपना देख्ने यी आँखाहरू । अब यी आँखाहरूको पनि लालच छैन । कसैले घोचेर फुटाइदिए पनि हुन्छ ।

अनेक थरीका प्रश्नहरूबीच कालो रातमा सोलुका यादमा तड्पिरहेको थिएँ । रात छिप्पिएर चीसो बतासमा पानीका थोपा बोकेर आउँदै थियो । चीसो बतासले मलाई छोएर अन्धकारमा विलीन हुन्थ्यो । शरीरले विश्राम गर्न खोज्दै थियो । डम्म सुनिएको आँखा झन् निद्राले सुनिएका थिए । पर-परसम्म फिंजिएको रातमा सोलुको घण्टीको आवाज मधुरो सुनें । जुरुक्क उठेर दगुरें । घण्टीको आवाज पछ्याउँदै दगुरें ।

सोलु मलाई खोज्दै आउँदै रहेछ । मैले देखिहालें । सोलुको पछाडिको भाग रगतले रंगिएको थियो । खुट्टामा रगतका टाटा खुट्टामै सुकेका थिए । सोलुलाई गर्ल्याम्म अँगालो हालें । सोलुले मेरो कुममा टाउको अड्यायो । मैले सोलुलाई बोकेर घर ल्याएँ । तातो पानीमा कपडा भिजाएर सोलुको घाउ सफा गरिदिएँ । गोली सोलुको पछाडिको भागमा लागेछ । मैले हेर्नै सकिनँ । सोलुलाई कति दुख्यो होला ! म अनुमान पनि गर्न सक्दिनँ । आफैले आफैलाई धिक्कारें ।

घामको झुल्को धर्तीमा आएसँगै सोलुलाई बोकेर शहरको पशु अस्पताल लगें । कठिन पैदल यात्रा छिचोलेर सोलुखुम्बुको गाउँबाट सल्लेरी आइपुग्न झन्डै एक दिन लाग्छ । मान्छेको उपचार नहुने गाउँमा पशुको उपचार सम्भव थिएन ।

सोलुलाई बचाउने झिनो आशा लिएर अस्पताल हिंडेको म, सोलुले देख्नै परेन । बाटामै सोलुले अनन्तको लागि बिदाइ गर्‍यो । मेरो कुममै निदायो, कहिले नफर्किने गरी । अनन्तको लागि । अब भने मेरो आँखाबाट आँसु आएन । शायद आँसु सकियो होला । सोलुको मृत शरीर बोकेर फेरि घर फर्किएँ । सोलुको दाहसंस्कार आफ्नै घरमा गरें । घरको ढोकामै सोलुलाई गाडिदिएँ । सोलुले अबदेखि यो घरको रक्षा गर्नेछ । सोलुको आफ्नै घर ।

मैले यो गाउँ नै छोडिदिएँ । अबदेखि यो गाउँ सोलुको हो । आजभोलि म हिंड्ने हरेक गोरेटा अनि गल्लीहरू शून्य लाग्छन् । आकाशबाट बर्सिने पानीमा आज पनि सोलुलाई सम्झन्छु । समयले सम्झनामा बाँच्न सिकायो । सम्झनामा बाँच्नु नै जिन्दगी हो जस्तो लाग्छ आजकाल । प्रत्येक तिहारमा सोलुलाई सम्झन्छु । तिहारको रमझममा सोलुको घण्टीको आवाजले झस्किन्छु । सम्झना सोलुको नाममा ।

अमेरिका