प्रिय सिमोन,
एक महीना अगाडि मेरा प्रिय मित्र अत्यन्त प्रतिभाशाली लेखक, कवि, गीतकार अनि सिनेकर्मी प्रकाश सायमी आफ्नो फेसबूकमा लेख्छन्,
“मेरा मित्रहरूमा अचाक्ली प्रतिभा भएका एक पात्र हुन्, शरद् प्रधान । जो साहित्य, सङ्गीत, कला, सिनेमा अनि पर्यटन बारे खूब जान्दछ । आइटी, कपि राइट यस्ता धेरै कुराका इन्सियशन गरेका छन् । नेपाल र दार्जीलिङको साहित्य, सङ्गीतका धुरन्धर हुन्, पुस्तक पनि लेखे- ‘स्मृति विम्ब’ । तर उनमा अझै बिछट्ट प्रतिभा छ , संस्मरण लेखन र कविताकारिताको । त्यो कुरा चैं मित्र महोदयले लुकाएर राखे । लेख्नुपर्छ शरदजी तपाईं राम्रो कवि हो, राम्रो कविता लेख्नुपर्छ । प्लिज, कवितालाई पनि माया गर्नुस् ।”
यो पढेर म भावुक भएँ, हुनु स्वाभाविक थियो सिमोन ! म लेखक नै स्थापित हुन नसकिरहेको अवस्थामा उहाँले मलाई राम्रो कविको पगरी लगाइदिनु भयो । शायद यो उहाँको आत्मीयता हुनसक्छ । आत्मीयता भन्दा पनि प्रोत्साहन हुनसक्छ । अथवा आत्मीयता र प्रोत्साहन भन्दा पनि एक द्रष्टाको दृष्टि हुनसक्छ । हो सिमोन म मूलतः कवि हुँ- शायद कवि नभएको भए लेखक हुने जमर्को गर्ने थिइन होला । ६ कक्षा देखि कविता लेख्न शुरू गरेको मैले ९ कक्षा पढ्दा ‘नवराग’ नामक दार्जीलिङको प्रतिष्ठित पत्रिकामा एउटा सानो कविता प्रकाशित गरेको थिएँ “केही स्मृतिहरू” शीर्षकमा ।
“नेत्र, आत्मा र मनमा प्रेम बटुलेर
सम्झिरहेछु भावी कथालाई
आज पनि सम्झनाका लहरहरूमा
स्मृतिको समीरमा …………
सधैं सधैं अल्झिरहेछु बहिरहेछु ।”
म सानोमा निक्कै भावुक थिएँ सिमोन- अनि अहिले पनि छु त्यो तिमीलाई राम्ररी थाहा छ । कविता मोह कहिले देखि शुरू भयो त्यो हेक्का राख्न सकिनँ तर माधव घिमिरे, देवकोटाका बाल कविताले बालक कालमा अनि अलिक ठूलो भएपछि वैरागी काइँला, ईश्वर वल्लभ, लेखनाथ, हरिभक्त कटुवाल, भूपि, अगमसिंह गिरि, विजय मल्ल, वीरेन्द्र सुब्बा, नरेन्द्र कुमाई, ध्रुव दवाडी आदिको प्रभाव ममा मात्र होइन तर मेरो कविता लेखनमा पनि पर्यो । मलाई ईश्वर वल्लभको कविता चोरेर लेखेको आरोप पनि लगाए कलेजमा एक प्राध्यापकले । तर भगवान् कस्सम सिमोन, उहाँले आरोप लगाउनु भन्दा ३ वर्ष पहिले म दश कक्षामा हुँदा यो कविता लेखेको थिएँ –
मिति : अगष्ट १९, १९८१
समय : राति ९ बजे
मेरो भावना : पिरामिड जस्तो
एउटा टुक्रा दिनले मलाई
फुटेको, भर्किएको बाङ्गिएर
सोकेस भित्र उभिएको मानव जस्तो
एउटा आयतनहीन गोरेटोमा
हिंडिरहेको टुक्रे रात जस्तो
प्रयास गरियो होला बनाउने
चाँप र गुराँसको सुगन्ध फैलिएर
आज यो सडकका माझ भएको
आकारहीन हावा जस्तो
डुङ्ग डुङ्ग फैलाइसक्यो
यहाँ पृथ्वीमा अब प्रकृतिको सौन्दर्य
नअटाएको जस्तो देख्न थाल्यो
यसैले होला यो सौन्दर्य
बिग्रिएको आकारहीन रातमा
गतिहीन आकाशमा चम्किने
मौन तारा र जूनको रूपमा
दुई आँखाको सामु हजार दृश्य भई
झुल्किने भइदिएको होला
एउटा शब्दहीन वाक्य पूरा नभई
किन हो कुन्नि दग्धहीन हावाले
उडाई सबैको श्रवणहीन कानमा
पुराउने क्रम गरिरहन्छ
यहाँको चेप्टो गीतले रङ्गिएको
शहर आज आकृतिपूर्ण भै बौरिएको छ ।
बुझेर हो या नबुझेर हो यो कवितामा काइँला दाइको नक्कल भने पक्कै गरेको थिएछु जस्तो लाग्छ सिमोन ! चोर्नु पो भएन नक्कल गर्न त पाइन्छ होला नि साहित्यमा पनि । “मातेको मान्छेको भाषण : मध्यरात पछिको सडकसित”- काइँला दाइको यो कविता खुला आकाशमुनि कति पल्ट आवृत्ति गरे होला मैले त्यो त जङ्गल र पहाडलाई मात्र थाहा छ ।
मैले धेरै वर्ष कविता लेखें तर छाप्ने दुःसाहस कहिले गरिनँ । कवि बन्ने प्रबल सम्भावना हुँदाहुँदै पनि कवि बन्ने अभीष्ट कहिले राखिनँ । जीवन पनि गज्जब छ सिमोन ! हामी चाहेर मात्र केही नहुँदो रहेछ । ठूलो भएर कवि बन्ने रहर थियो तर त्यो सपनामा अनायास ब्रेक लाग्यो । प्रकाशजीको त्यो सानो स्ट्याटसले मभित्र रहेको कवि बन्ने सुषुप्त इच्छालाई जागृत गरिदिएको छ पुनः एकपल्ट सिमोन !
तर मलाई थाहा छ सिमोन ! कवि बन्न सजिलो छैन । दुई-चार वटा टुक्का रच्दैमा कवि बन्ने पनि होइन । र मलाई सस्तो लोकप्रियताको निम्ति कविता लेख्न सानैदेखि मन थिएन र अहिले पनि त्यही अडानमा छु । यसैले गर्दा म कवि बन्न सकिरहेको छैन- राम्रो कविता लेख्न आउँदैन कमशल लेख्न मन लाग्दैन ।
पारसमणि प्रधानले भने जस्तै “कवि कविता होस्, कविता कवि होस् तब पो हुन्छ, शब्द थुपारीकन के हुन्छ, भाव भए पो हुन्छ ।”
अब कविता त्यो परिभाषा पनि रहेन । कविता भावातीत भइसक्यो । तेस्रो आयामले कविता लेख्ने परिभाषालाई ३६० डिग्री कोणमा परिवर्तन गरिदियो । गहन विचार, भावमा गहनताले मात्र कविता बन्ने छाँट नदेखेर उनीहरू कवितामा बिम्ब, प्रतीक घुसारे । जीवन्त बनाउन त्रिकोणात्मक मूल्य र मान्यताको सहारा लिए । तर जतिकै प्रभाव परे पनि काइँला दाइ र वल्लभ महाशयको कविता लेखनको विराट रूप (अर्जुनले महाभारतको युद्धमा भगवान् कृष्णले देखाए) जस्तो- को एक चोक्टा पनि हुन नसक्ने भएपछि के कविता लेख्ने जस्तो लाग्यो । म जन्मनु भन्दा एक वर्ष पहिले नै शुरू भएको आयामको गहिराइ र गोलाइ १७ वर्षे मस्तिष्कले कसरी छिचलोस् सिमोन त्यो बखत !
मिति : नोभेम्बर १२, १९८१
समय – राति ८ : ३० बजे
यहाँको आवश्यकता
म यौटा पृथ्वीको नितान्त किनारामा आइपुगेको छु,
म यौटा धरतीको बाँझो हिमालको टाकुरामा पुगेको छु ।
आज मैले नालापानी र नागासाकीको युद्धको
बयान गर्दै हिंड्नु परिरहेको छ
आज मैले तेस्रो विश्वयुद्धको
कल्पना गर्दै हिंड्नु परेको छ ।
मैले अलिकति सुत्न पाउनु पर्छ आफ्नै निद्रामा
मैले अलिकति अघाउन पाउनुपर्छ आफ्नै भोकाइमा
मैले सृजनात्मक प्रगति ल्याउनुपर्छ आफ्नै देशमा
निहित देऊ तटस्थ हृदयमा डरहरू मलाई
निग्रह गर्न नसकेको कुरा
आज जटिल हुँदै
पहाड झैं संयमित भइरहेको छु
आकाश झैं अनन्त भइरहेको छु
समुद्र झैं गहिरो भइरहेको छु ।
अन्त आज अनन्त भइरहेको छ
तथागतको आशीर्वाद थाप्दाथाप्दै
कलिङ्गको युद्ध पछि अशोक जस्तै
घात र प्रतिघातको जीवन यो
मैले विश्वलाई विश्वासघात गर्नुहुन्न
तर संसारले मलाई आघात बनाइदियो
अब म मेरै निम्ति अपरिचित छु
मलाई मेरो भावनाले सताइसक्यो
मलाई मेरो लुगा आज कात्रो जस्तो
शयन कक्षा मेरो लाशघर जस्तो
म मेरै लाशसित अपरिचित छु
म मेरै भावनाहरूसित नौलो छु
मेरो अनागतमा मेरो यो देह
मेरो तथागतमा मेरो यो ग्रह
कस्तो हुन्थ्यो होला
तर म आज पृथ्वीको
अनन्त सागरमा डुबिसकें
म अब सबैको निम्ति
अपरिचित छु मेरो आफ्नै संसारमा
मेरो भावना अपरिचित छ
तिमीहरूको भावनादेखि ।
सिमोन ! कविता मेरो निम्ति फलामको चिउरा चपाउनु जस्तै थियो- कारण मेरो निम्ति कविताको मापदण्ड सगरमाथाको उचाइ थियो । त्यो उचाइमा चढ्ने कहिले साहस गरिन सिमोन ! सगरमाथा चढ्न सजिलो भए रामे, चामे, श्यामे, पीटर, हिटर सबैले चढ्थे होलान् । नेपालमा जलस्रोतबाट बिजुली उत्पादन गर्ने ठूलो सम्भावना हुँदाहुँदै पनि कुनै कालखण्डमा १८ घण्टाको लोडसेडिङ खेप्न पर्यो ।
मेरो कविताको आराधना पनि नेपालको जलस्रोतको सम्भावना जस्तै भयो – सम्भावना त छ तर उत्पादन गर्ने योजना नभएको । सानो टाकुरा छिचोल्न नसक्नेले सगरमाथा ताके जस्तै । प्रकाशजीको स्ट्याटस पढेपछि पुरानो डायरी खोजतलास गरें । डायरीमा मेरो पिता र छोरीले निक्कै केरकार गरेका रहेछन् । सन् १९८५ सम्म लेखिएको कविताहरू फेला पारें । तर त्यसपछि कविता लेखनले निरन्तरता नपाएको पक्कै रहेछ सिमोन- डायरी साक्षी छ ।
कविता लेख्न नसकेपछि तीन दशक अगाडि यो कविता लेखेर कविता लेखनलाई केही समयको निम्ति बिट मारेको थिएँ । तर अन्तराल यति लामो भएछ अहिलेसम्म सकिएको छैन ।
किन रोकियो गति मेरो कलमको गति ?
शरद प्रधान
Between the conception
And the creation
Between the emotion
And the response
Fall the shadow
Life is very long.
-T.S. Eliot
किन रोकियो गति मेरो कलमको
याद छैन मलाई त ।
शायद तिमिलाई पनि थाहा छैन होला ?
असंख्य दिनहरू बिताइसकेको यो जिन्दगीभित्र
किन हो अनायास मेरो यात्रामा अवरोध उत्रिए
मलाई त थाहा छैन मेरो अन्तरङ्गका मर्महरू
शायद ‘म’ आफैलाई एक्लो छु जस्तो लाग्छ होला,
आउँछ तर असंख्य भावनाहरू हाम फाल्दै ‘म’सँग
प्रत्येक बेलुकी खेल्न लुकामारी
एक्लो पनको आभासले त हैन मेरा हातहरू
केही कोर्न मान्दैनन् मेरो हृदयभित्र भावना भए पनि ।
मस्तिष्कका ब्रोजिल बौद्धिकताले थिचिएको त हैन आफूलाई,
मलाई त ‘म’ भित्रको कुरा के थाहा ?
इतिहासका थोत्रा सिद्धान्तहरूले त भावनालाई
बाँधेर राखेको त होइन ?
मलाई त के थाहा,
मेरो कलमको गति व्यवस्थाले रोकिएको हो या
आफैंले जन्माएको विवशताले,
तर मेरो प्रत्येक विवशता बोल्छ
तेरो कलम त चैत्रको हुरीले उडाएको छैन र ।
‘म’ बुद्धिभित्र आक्रमण गर्दै भन्छु :
मलाई के थाहा कसले रोक्यो मेरो कलम
मेरो ‘म’ आफैलाई भन्छ :
शायद सिसिपसले जस्तो
तैंले पनि श्राप पाएर पो होला
कहिले सफलता नपाएको ।
तेरो कलमको गतिमा कसले हस्तक्षेप गरेछ
भन्छ मेरा मित्रहरू नेपथ्यबाट
तर म आफैभित्र प्रश्नहरूका सगरमाथा राख्दै भन्छु
मलाई के थाहा किन रोकियो कलम मेरो ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।