मलाई रात्रि बसमा यात्रा गर्न पटक्कै मन पर्दैन । हुन त रात्रि बसमा यात्रा गर्दा समय बच्छ । तर म भने दिनभरिको समय खेरै फालेर भए पनि दिउँसोको समयमा बसमा यात्रा गर्न मन पराउँछु । रात्रि बसमा मैले गरेको पहिलो यात्राले नै रात्रि बसको यात्राप्रति मेरो नकारात्मक धारणा बनाएको हो । जुन अहिलेसम्म पनि सकारात्मक हुन सकेको छैन ।
रात्रि बस चढ्ने भनेपछि काठमाडौं जाने भनेर भनिरहन पर्दैनथ्यो । एक दिन म पनि रात्रि बस चढ्न पाउने भएँ । मनै फुरुङ्ग थियो ।
काठमाडौं भन्ने बित्तिकै मेरो मनमा आदिकवि भानुभक्तको ‘अमरावती कान्तिपुरी नगरी’ भन्ने कविता गुञ्जिन्थ्यो । मलाई त्यो कविता पढेको त याद छैन तर कसैले भट्याएको सुनेको थिएँ र काठमाडौंको बारेमा लेखिएको कविता हो भन्ने जानकारी थियो । त्यो बाहेक मेरो लागि काठमाडौं एउटा रहस्य मात्र थियो । देशको राजधानी भए पनि सूचनाको अभावमा काठमाडौं भन्दा सयौं किलोमिटर टाढा रहने जनतालाई काठमाडौंको बारेमा एकदम कम मात्र थाहा थियो । म पनि त्यसकै एक सदस्य थिएँ ।
काठमाडौं जान तय भएपछि मनमा उत्साह, कौतुहलता, संकोच र थोरै डर पनि थियो । शहरमा अरूको घरमा डेरा गरेर बस्दाको अनुभव मलाई थिएन । तर दाइले पहिले नै काठमाडौंमा डेरा जमाइसकेकोले त्यही गुँडमा आफू गएर थपिने हुनाले मेरो लागि त्यति अप्ठ्यारो हुनेछैन भन्ने मलाई थाहा थियो । तैपनि पहिलो पटक घर छोडेर टाढा जाँदा रोमाञ्चकताका साथसाथै बेचैनी पनि कम थिएन ।
बसपार्कमा चार बजेको रात्रि बसमा बसालेर बुवा ओर्लेपछि मन ढक्क फुल्यो । झ्यालतिरको सीट थियो । झ्यालबाट बुवालाई हेरें । बुवा हाँस्नुभयो । म पनि मुस्काउन खोजें । बसेको दश मिनेट पछि बस चल्यो । म आफ्नो नौलो यात्रामा निस्कें ।
बसमा अनेक थरी यात्रु थिए । महिला,पुरुष, बाल, वृद्ध, धनी, गरीब, मोटा, दुब्ला, फोहरी, सुग्घरी सबै थिए । कसैले ब्याग बोकेका थिए, कसैले बोरा, कसैले कपडाले बाँधेका कुम्ला ! बस खाली त थिएन तर पूरै भरिएको पनि थिएन । मेरो छेउको सीट खाली थियो । बाटोमा एक परिवार थपिए । त्यो सीट उनीहरूकै रहेछ । त्यो परिवार भगीरथ योगीको रहेछ ।
मैले भगीरथ योगीलाई चिने तर उहाँले चिन्ने कुरा भएन । एक पटक खै के को हो जिल्लास्तरीय प्रतियोगितामा भगीरथ सरले पढाउने स्कूल गएको वेला हाम्रो स्कूलका विनोद योगी मार्फत हामीले भगीरथ सरलाई चिन्ने मौका पाएका थियौं । भगीरथ सर विनोदका नातेदार पर्ने हुनाले हामीले उहाँलाई ‘नमस्कार सर’ सम्म भन्न पाएका थियौं । त्यो वेला उहाँले विज्ञान विषय पढाउनु हुन्थ्यो । त्यही वेला हो मैले भगीरथ सरलाई भेटेको । पछि उहाँ शिक्षण पेशा छोडेर पत्रकारितामा लाग्नुभएको थियो । एउटा भेटले उहाँले मलाई चिन्ने कुरा भएन । त्यो वेला मात्र हैन उहाँले मलाई पछिसम्म पनि चिन्नुभएको थिएन, शायद अझै पनि चिन्नुहुन्न होला । भर्खर इन्टरनेटमा समाचार पढ्न शुरू गरेको वेला मैले नेपालन्युज डट कम भन्ने समाचारको साइटमा अंग्रेजी भाषामा लेखहरू लेख्थें । त्यो वेला भगीरथ योगी त्यहाँ सम्पादकको भूमिकामा हुनुहुन्थ्यो । मलाई एक पटक उहाँले मेरो बारेमा इमेलमा सोध्नुभएको थियो । त्यसको मतलब उहाँले मलाई त्यो वेलासम्म चिन्नुभएको थिएन । चिनजानको कुरा ठूलो भएन । मैले चिनेका कतिले मलाई नचिन्नु होला, अनि मलाई चिनेका कतिलाई मैले नचिनेको पनि हुन सक्छु ।
तर शिक्षकको पेशा छोडेर भर्खर पत्रकारितामा लागेका भगीरथ सरलाई आफ्नो छेउमा पाउँदा मलाई कताकता खुशी र अप्ठ्यारो दुवै एकै पटक भयो । उहाँसँग कुरा गर्न मन थियो तर आँट आएन र एकअर्कालाई हेरेर मुस्कुराउनु बाहेक अरू कुरा भएन ।
मंसीरको महिना थियो । अलिअलि चीसो थियो, तर त्यति धेरै हैन । बसको झ्याल खोल्दा आएको हावाले जाडो भन्दा आनन्द महसूस गराउँथ्यो । काठमाडौं जाने भए पनि मसँग त्यति धेरै न्यानो वस्त्र थिएन । एउटा स्वेटरले जाडो छेक्ने प्रयासमा थिएँ । काठमाडौंको जाडो थेग्नसक्ने एउटा बाक्लो र गतिलो एउटा ज्याकेट किनेर लाने कुरा भएको थियो । तर बुवाले काठमाडौंमा नै सस्तो पर्ने हुनाले उतै गएर किन्ने भनेपछि म अलिअलि जाडो सहेर नयाँ ज्याकेट लगाएको कल्पनामा झ्यालबाट पसेको चिसो हावा खान तयार भएको थिएँ ।
मेरो सीट अगाडि एक जना चुरोट पिउने मान्छे परेछन् । बस चलेको एक घण्टा जति पछि चुरोट उडाउन शुरू गरे । त्यो वेला बसमा चुरोट खानु सामान्य थियो । घरमा कसैले धूम्रपान नगर्ने भएकोले म चुरोटको संगतबाट टाढै थिएँ । तर मलाई चुरोटको धुवाँको गन्ध निकै मन पर्थ्यो । अधिकांशले घरमै बनाएको तम्बाकु र बिँडी खाने त्यो समयमा चुरोट खानु भनेको शानको विषय हुन्थ्यो । देउराली र याक चुरोट मात्र बजारमा थिए । कसैले चुरोटको धुवाँ उडाए भने त्यसको सुगन्ध टाढासम्म पनि पुग्थ्यो । कतैबाट आफ्नो नाकसम्म कसैले उडाएको चुरोट गन्ध आइपुग्यो भने मैले लामो सास तानेर त्यसको मजा लिन्थें । तर घरको डरले गर्दा चुरोट तान्ने लत बस्न पाएन । कहिलेकाहीं सुकेको मकैको डाँठको भित्रको सफेद गुदी निकालेर सिन्काले प्वाल पारेर चुरोट जस्तै बनाएर तान्ने गरे बाहेक मेरो मुखमा वास्तविक चुरोट पर्न पाएको थिएन ।
मेरो अगाडिको सीटमा बसेको मान्छेले चुरोटको पहिलो सर्को तानेर आएको सुगन्धले मलाई मक्ख बनायो । भगीरथ सरले नाक खुम्च्याउनु भयो । तर मलाई फरक परेन । दोश्रो, तेश्रो सर्कोसम्म पनि ठिकै लागेको थियो तर एकछिनपछि टाउको दुख्न शुरू गर्यो । एकाएक चुरोटको धुवाँ गन्हाउन शुरू गर्यो । तैपनि मैले त्यसलाई गम्भीरतापूर्वक लिएन । तर ऊ त चुरोटको अम्मली रहेछ । आधा घण्टा नपुग्दै फेरि अर्को चुरोट सल्कायो । त्यसपछि चाहिं मलाई अलि बढी नै गाह्रो भयो । टाउको दुखेपछि झ्याल खोलें । बाहिरबाट चिसो सिरेटो आयो । हाम्रो सीट पछाडि भगीरथ सरकी श्रीमती र बच्चा थिए । झ्याल खोलेपछि बच्चालाई जाडो भयो, भगीरथ सरकी श्रीमतीले झ्याल बन्द गर्न भगीरथ सरलाई भनिन् । म झ्याल बन्द गर्न बाध्य भएँ ।
रात पर्दै गयो, बस अगाडि बढ्दै गयो, उसले चुरोट उडाउँदै गयो, जाडो पनि बढ्दै गयो तर मैले सबै सहँदै गएँ । जति टाउको दुखे पनि, जति जाडो लागे पनि दश बजे भन्दा ढिलो कहिले नसुतेको मलाई निद्राले जित्यो । अलिअलि झकाएको थिएँ, पौने एघार बजेतिर खाना खानको लागि बस नारायणगढमा पुगेर रोकियो । बसभित्र झलमल्ल राता पहेंला बत्ती बले । मानिसहरू उठे, हल्ला भयो, मेरो निद्रा खल्बलियो ।
चालकले हाम्रो बस होटेलको मुखमै लगेर झोसेको थियो । अधिकांश यात्रुहरू सोझै त्यही होटेलभित्र गुरुरु पसे । बसले लगेको होटेलमा खाना राम्रो हुँदैन भनेर बुवाले भनेको सुनेको थिएँ । जानी जानी त कसरी नराम्रो होटेलमा जानू ? बाठो भएर म सडक पारीको अर्को होटेलमा छिरें । त्यो होटेल बस रोकेको होटेल भन्दा अलि सफा पनि थियो । खाली पनि हुने नै भयो । म मात्र एक जना ग्राहक थिएँ । मासु खान मन नलागेको हैन तर एकातिर पैसाको कुरो थियो अर्कोतिर कुखुराको मासु भने पनि रागा र सुँगुरको मासु पकाएको भाँडोमा पकाएको मासु देला भन्ने डर ! त्यसैले शाकाहारी खाना मगाएँ । त्यो भन्दा पहिले मैले होटेलमा विरलै खाना खाएको थिएँ । होटेलको खानाको स्वाद घरको भन्दा फरक हुने हुनाले मीठो लाग्थ्यो । तर त्यहाँ त्यस्तो भएन । चीसो साग, मूला र आलुको तरकारी, गोलभेँडाको अचार अनि काँचो प्याज । खै किन हो मलाई मीठै लागेन । पचास रुपियाँ बुझाएर बस रुकेको ठाउँमा आएँ र एकछिन यताउता गरेर अरू भन्दा छिटो बसभित्र छिरें । खाना खाएर बसमा पस्ने यात्रुहरूले होटेलको खानाको तारिफ गर्दै थिए । उनीहरूको कुरा सुन्दा खाना निकै मीठो प्रतीत हुन्थ्यो । बाठो भएर फसेछु भन्ने लाग्यो ।
खाना खाएपछि बसले फेरि आफ्नो गति समात्यो । तर आधा घण्टा नपुग्दै जङ्गलको बीचमा गएर बस रोकियो । भाते निदले पीरा बनाएका मेरा आँखा भर्खर लाग्न लागेका थिए, बसको पछाडिबाट आएको खत्र्याक खुत्र्युकको आवाजले फेरि निद्रा बिथोल्यो । उनीहरूले जङ्गलबाट दाउरा लगेर काठमाडौंमा बेच्ने रहेछन् । आधा घण्टा त्यहीं बित्यो ।
अगाडिको मानिसले चुरोट खान छोडेको थियो या ऊ नारायणगढमा ओर्लियो मैले याद गरेन । बसको कुनै कुनाबाट आक्कलझुक्कल चुरोटको गन्ध आउँथ्यो तर त्यो धुवाँ टाउको दुख्नेगरी मेरो नाकमै आएर प्रहार गर्न असक्षम थियो ।टाउको दुखाउने चुरोटको गन्धबाट छुटकारा पाएपछि बसले बाटोमा जति उफारे पनि अब चाहिँ सुत्न पाइन्छ भन्ने लागेको थियो । तर बसका मालिक फेरि अर्को समस्या बनेर आए । उनी भर्खरका युवक थिए । डिक्कीमा हाल्न मिल्ने जति दाउरा हालेर बस हिंडेपछि उनले हाम्रो सीट नजीकै एउटा गुन्द्री र डसना ओछ्याए अनि जुत्ता खोलेर पाखी ओढेर सुते ।
उनी त सुते तर हाम्रो निद्रा भङ्ग गरे । उनका खुट्टा यति गन्हाए कि त्यो गन्धले मरेको मान्छेलाई पनि चिताबाट उठेर भाग्ने गराउन सक्थ्यो होला । पाखीभित्रबाट पनि त्यो गन्धले हामीलाई एकछिनमै वेचैन गरायो । सबै यात्रुहरू कराउन थाले । बस मालिक अटेरी गरेर सुतेकै थिए, तर त्यो गन्ध सहन नसकी एक जना महिला यात्रुले बान्ता गरेपछि जुत्ताको गन्धमा बान्ताको गन्ध मिसिंदा झन् सहनै नसक्ने भयो । सबैले हल्ला गर्न थालेपछि आधा घण्टा पछि उनी उठेर त्यहाँबाट गए । कता गएर सुते थाहा भएन ।
जाडो सहेर भए पनि यात्रुहरूले बसका बन्द झ्यालहरू खोले र भित्रको असह्य गन्धलाई बाहिर पठाए । त्यो वेलासम्म मध्य रात पनि ढल्किन थालिसकेको थियो । अब बल्ल आरामले सुत्न पाइन्छ जस्तो लागेर म आफ्नो हातलाई सिरानी बनाएर बसको भित्तामा टाउको अड्याएर सुतें । तुरुन्तै आँखा लाग्यो । अलिअलि झकाउन थालेको थिएँ, गुडिरहेको बस एकाएक आधा पल्टिए जसरी कोल्टो पर्यो र तुरुन्तै फेरि सिधा भयो । मुटु झसङ्ग भएर आँखा खुले । बसभित्र सुनसान थियो मानौं कि केही भएको थिएन । कसैले केही टिप्पणी गरेनन् । तर मेरो मुटुले ठाउँ छोडेको थियो । झ्यालबाट बाहिर हेरें, पारितिर अग्लो पहाड थियो र हाम्रो बस हिंडिरहेको बाटो र पहाडको बीचमा नागबेली परेको लामो र गहिरो खोंच देखियो । त्रिशूली नदी त्यही हो भन्ने सोच्न समय लागेन । हाम्रो बस नदीको किनारको निकै नजीकबाट हिंडिरहेको थियो । भर्खर बस कोल्टे परेको अनुभवमा त्यति नजीक हिंडिरहेको बसको दृष्य मिश्रित हुँदा मेरो सातो गयो । रातको त्यो चीसोमा पनि हत्केलाबाट पसिना आए । बस खसिहाल्यो भने कसरी बसबाट निस्कने, पानीबाट कसरी निस्कने भन्ने सोचले सतायो । आफूलाई पौडिन नआउने ! झन् त्रसित भएँ । तर म निरुपाय थिएँ । चूपचाप भयभीत भएर जति सक्यो छिटो त्यो ज्यानमारा बाटो पार होस् भनेर पुकारा गर्नु बाहेक मैले केही गर्न सक्ने स्थिति थिएन ।
मुगलिङ पार गरेपछि बाटोबाट नदीको गहिराइ अलि कम भए जस्तो लाग्यो । बस पनि किनाराबाट अलि टाढा गुडिरहेको देखें । बल्ल अलिकति सुरक्षित महसूस भयो । मन शान्त भएपछि फेरि निद्राले ठाउँ लियो । तर एकाएक बसभित्रबाटै बासेको भालेको चर्को स्वरले सबैको निद्रा खोलिदियो । अलि पछाडितिर बसेका एक जना यात्रुले आफ्नो कुम्लोमा छिप्पेको भाले ल्याएका रहेछन् । त्यो कुरा उनलाई बाहेक शायद कसैलाई थाहा थिएन । तर बिहानी भएपछि भालेले आफ्नो गुण देखाउने नै भयो । कानमै आएर भाले बासेपछि सबैको निद्रा गायब भयो । कसैको लागि भाले बासेको कुरा हाँसोको विषय बन्यो, कोही निद्रा बिथोलिएकोमा रिसाए । मसँग घडी त थिएन तर अन्य यात्रुहरूले कुरा गरेको सुन्दा साढे तीन बजेको थियो । दुई पटक बासेर भाले चूप लाग्यो । यात्रुहरू फेरि सुत्ने प्रयासमा लागे तर आधा घण्टापछि भालेले फेरि उठायो । निद्राको बीच हाँसोको फोहरा, र सिकायतका आवाजहरूले बसभित्रको वातावरण गुञ्जियो । भालेले अब सुत्न दिँदैन भन्ने धेरैलाई लागिसकेको थियो । त्यसैले उनीहरूले निद्राको माया मारे ।
मलाई अझै निद्रा प्यारो थियो । सुत्ने प्रयासमा थिएँ तर झ्यालको चरबाट भित्र पस्ने हावा रातको चीसोमा सिरेटोमा परिणत भैसकेको थियो । त्यही चिसोले होला मलाई पिसाबले च्याप्न थाल्यो । एकातिर जाडो अर्कोतिर पिसाबले च्यापेकोले म निदाउन सकिन । तर पिसाबले च्यापेर प्यान्टमै चुहिन्छ जस्तो भैसक्दा पनि मैले बस रोक्नको लागि भन्न सकेको थिएन । मेरो मनकै कुरा बुझे जसरी एकछिनपछि पिसाब फेर्ने भनेर एउटा सूनसान ठाउँमा पुगेर बस रोकियो । बस रोक्ने बित्तिकै कत्ति पनि अबेर नगरी ओर्लेर लाजै पचाएर सडकको किनारतिर फर्केर पिसाब फेरें । स्वर्गीय आनन्द आयो ।
बाहिर अझै निस्पट्ट अँध्यारो थियो । एकछिन भए पनि निदाउन सकिन्छ कि भनेर बसमा फर्केर म निदाउन प्रयासरत थिएँ तर भालेले आफ्नो धर्म छोडेन र मलाई निदाउन दिएन । एक घण्टापछि एउटा झुप्रो चिया पसलको अगाडि पुगेर फेरि बस रुक्यो । हातमुख धुनेले हातमुख धोए, चिया पिउनेहरूले चिया पिए तर म बसबाट ओर्लिन ।
बाटोभरि नै कहाँ पुगियो, काठमाडौं पुग्न अब कति बाँकी छ मलाई केही थाहा थिएन । बस्ती भएको ठाउँमा बत्तीको मधुरोमा कुन ठाउँ रहेछ भनेर आँखा तरेर हेर्थें तर एउटा पनि मैले नाम सुनेका ठाउँहरू थिएनन् । हातमा घडी थिएन । म अन्तर्मुखी मान्छे ! कति बज्यो भनेर कसैलाई सोध्ने आँट पनि थिएन । तर एउटा कुरा भने पक्का थियो- बिहानसम्ममा बसले काठमाडौं पुर्याउने छ । बसले मेरो विश्वास तोडेन- उज्यालो नहुँदै पुरानो बसपार्कमा पुगेर बस रोकियो ।
काठमाडौंको झिसमिसे बिहानीमा आफ्ना अनिदा आँखा मिच्दै म बसबाट ओर्लिएँ । त्यति सबेरै पनि शहरलाई कुहिरोले ढाक्न शुरू गरिसकेको थियो । म त्यही कुहिरोमा हराउन निस्केको काग झैं सडक पेटीमा आफ्ना झोला राखेर खोकिलामा हात राखी जाडोमा सिउसिउ गर्दै दाइलाई पर्खें । काठमाडौंमा जाडो हुन्छ भन्ने थाहा पाए पनि त्यति धेरै जाडो होला भन्ने मैले सोचेको थिएन । सास फेर्दा मुखबाट बाफ निस्क्यो, नाकको टुप्पोबाट तप्प एक थोपा सिँगान चुह्यो । बसपार्कमा दाइलाई पर्खिरहँदा पहिलो दिन बस चढ्दाखेरिको मेरो उत्साह र कौतुहलता काठमाडौंको तापक्रम जस्तै निकै तल झरिसकेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










