नेपालमा मोरङ जिल्लाको सुन्दरपुरमा स्थायी बसोबास भएकी साहित्यकार नम्रता गुरागाईं हाल संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना राज्यको केरी शहरमा सपरिवार बस्नुहुन्छ । सानै उमेरदेखि साहित्यमा अति सक्रिय गुरागाईं अहिले पनि साहित्यमा अति नै सक्रिय हुनुहुन्छ । विभिन्न साहित्यिक कार्यक्रमहरूमा सहभागी समेत बन्नुहुन्छ ।

नम्रता गुरागाईं

विभिन्न विधामा कलम चलाउनुहुने गुरागाईंको ‘परिवेश र म’ (२०५५), र ‘मन भए तिमिसँग’ कवितासंग्रह (२०६५) दुई कवितासंग्रह प्रकाशित भइसकेका छन् । पाको उमेरका पितालाई पनि साहित्य-लेखनमा सक्रिय गराउन सफल हुनु भएकोमा उहाँ अहिले निकै चर्चामा पनि हुनुहुन्छ ।

प्रस्तुत छ साहित्यपोस्टका लागि विश्वराज अधिकारीले साहित्यकार नम्रता गुरागाईंसँग गर्नु भएको वार्ता ।

अचेल के गर्दै हुनुहुन्छ ?  

– हप्ताका ५ दिनका जागीरका काम बाहेक अरू काम पनि हुन्छन् । समय हुँदा आफ्नै लेखाइपढाइलाई अगाडि बढाउँछु ।  स्थानीय सामाजिक तथा साहित्यिक कार्यक्रममा सहभागी नि हुन्छु बेलाबेला ।

नेपाली साहित्य जगत् वा पाठक वर्गले महिला साहित्यकारहरूप्रति अव्यक्त विभेदी दृष्टिकोण राख्ने गरेको पाइन्छ भन्नेहरू पनि छन् । तपाईंलाई के त्यस्तो हो जस्तो लाग्छ ?  

– त्यो बुझाइको कमजोर मानसिकता हो जस्तो लाग्छ मलाई । केही गर्छु भनेर मुट्ठी कसेर उठे कसैले हल्लाउन सक्दैन । तर कुनै पनि काम जादूको छडी चाहिं होइन ।  शुरू गरेपछि सक्न समय लाग्छ । आफूमा धैर्यता, मेहनत र सङ्कल्प उत्तिकै चाहिन्छ । म आजभन्दा ३० वर्ष अगाडि पनि आफ्नै मेहनतले आफूलाई उभ्याएकी मान्छे हुँ ।  अमेरिका आएर त्यसमाथि मात्र अलिकति थपेँ । मेहनतमा विश्वास गर्छु । महिला या पुरुष, हामीले हेक्का राख्नुपर्ने यही हो – मेहनत नगरी केही कुरा पनि हात लाग्दैन । आफ्नो हत्केलामा रेखा आफैले कोर्नु पर्छ । अरूले कोरिदिउन् भनेर चूपचाप बस्न कदापि हुन्न । हामीले समयसँगै हिंड्न कोशिश गर्नुपर्छ । समयले हामीलाई पर्खंदैन ।

यो जीवन र जगतलाई अनुभूत गर्ने सन्दर्भमा के महिला र पुरुषको अनुभूति भिन्न हुनसक्छ ?  

– संवेदना सबैमा हुन्छ पुरुष या महिला । तर कसले कुन कुरालाई कसरी लिने भन्ने फरक हो जस्तै जीवन र जगत् पनि । जे कुरा पनि आफूलाई छोएपछि मात्र गहिरो अनुभूत हुन्छ ।

प्रसवपीडा, गर्भधारण, महीनावारी जस्ता नितान्त महिला अनुभूति केवल महिलाहरूलाई मात्र प्राप्त हुने सुऔसर प्राप्त हुन्छ । यस सन्दर्भमा, के महिलाहरूले यो जीवन र जगतलाई बुझ्ने थप औसर पाएको हो ? महीनावारीलाई हाम्रो समाजले कसरी लिन्छ र तपाईंले कसरी लिनुहुन्छ ? केही बताइदिनु हुन्छ कि ?  

– हो, प्रशव पीडा, गर्भधारण, महीनावारी जस्ता जटिल कुराहरू महिलाले मात्र अनुभूत गर्ने कुरा हुन् । जन्मिंदा छोरा छोरी उस्तै हुन् तर हुर्कंदैजाँदा छोरीका धेरै रूप हुन्छन् । महीनावारी हुनु भनेको सम्पूर्णमा नारी हुनु हो । यसले आमा हुनुको संकेत गर्छ । महीनावारीको वेला असह्य दुखाइसँग झेल्नुपर्छ । यस वेला उसलाई सकारात्मक सोच, आमादिदीहरूको हौसला र माया आवश्यक हुन्छ जसले गर्दा उसको महीनावारी दुखाइ आधा कम हुन्छ ।

हाम्रो नेपाली समाजका धेरैजसो छेत्री बाहुन परिवारमा जन्मेका छोरीलाई पहिलो पटक महीनावारी हुँदा अरूको घरमा पठाइने चलन थियो । अहिले पनि कताकति होला । जुनवेला आमाको धेरै सहयोग चाहिने हो त्यो वेला दाजुभाइलाई हेर्यो भने पाप लाग्छ भनेर छिमेकीको घरमा पठाउनु चाहिं पाप हो । त्यो भर्खर ११ पुगेर १२ मात्र लागेकी छोरीले हिजोसम्म आफ्ना दाजुभाइसँग खेल्न हुने तर आज महीनावारी हुने बित्तिकै दाजुभाइसँगै खेल्न त परै जावस् हेर्दा मात्र पनि पाप लाग्छ भन्ने गरिन्छ । कसरी दाजुभाइको आयु घट्छ आफ्नी दिदी या बैनीले हेर्दा ?  के पाप क्षेत्रीबाहुनका छोरीलाई मात्र लाग्छ ?  अरू जातले नमान्दा खै केही भएको छैन त ? मलाई लाग्छ, यो सबै अशिक्षा हो । समाज त्यसकै शिकार बनेको छ ।

म पनि पहिलो पटक महीनावारी हुँदा अरूको घरमै बसेकी हुँ । अक्षर मात्र अलिअलि चिनेकी मेरी आमा त्यही समाजकी एक सदस्य भएकीले समाजले जे सिकायो त्यही गर्नुभयो, आमाको केही दोष थिएन । थियो त समाज चलाउने अगुवाहरूको थियो, तर  हामी दुवै छोरीलाई स्कूल पठाउनु भयो । आज हामी दुवै आफ्ना खुट्टामा उभिएका छौं । अब राम्रो र नराम्रो, पाप र धर्म छुट्याउने काम हामीले गर्नुपर्छ । आमाले समाजको डरले जुन कुरा गर्न सक्नुभएन,  हामीले त्यही कुरा हाम्रा छोरीलाई दोहोर्यायौं भने हामी दोषी मात्र नभएर पापी पनि हुन्छौं ।

हामी सबै आमाले साना छोरीलाई महीनावारी हुँदा अघिपछि भन्दा बढी सहयोग गर्नुपर्छ । किनकि यही वेलादेखि उनीहरूले आफ्ना शारीरिक बनोटदेखि जीवनलाई अनुभूत गर्न थाल्छन् ।

पाप लाग्छ भने बरु मलाई नै लागोस् भनेर त्यो बेला छोरीलाई सफा सुग्घर आफैले गरिदिएँ । महीनावारी भएको कुरा बिर्साउन भाइसँग झन् धेरै खेल्न दिएँ । उसले मलाई सोधिरही, खोजिरही । छुन हुन्छ र हुँदैन मा नबाँधी विशेषगरी सरसफाइमा ध्यान दिन लगाएकी थिएँ ।

छोरीको दोस्रो रूप विवाहपश्चात् कसैकी श्रीमती र बुहारी र त्यसपछि आमा हुनु हो । छोराछोरी जन्माउने कि नजन्माउने उनीहरूको विचार हो । आमाबाउ हुने रहर गर्नु भनेको जिन्दगीको साह्रै ठूलो निर्णय हो ।

बच्चा पेटमा आउँदादेखि महिलाको शरीरमा धेरै उतारचढाव आउँछन् । पहिलो पटक बच्चा पेटमा आउनु भनेको महिलाका लागि नितान्त नौलो कुरा हो । यही वेलादेखि उसले आफूलाई एक अल्लारे केटीबाट एक जिम्मेवार महिलामा परिवर्तन गर्दै जान्छे । पहिलो पटक आमा बन्न लाग्दाका मैले मेरा अनुभूतिलाई यसरी पोखेकी थिएँ :

आफ्नै शरीरभित्र

केही सलबलाएको थाहा पाउँदा

कताकता काउकुती लागेर आउँछ

धेरै ठूली छौ कि क्या हो

पहाडै बोकेर उभिएझैं लाग्छ

तिमीलाई स्वस्थ देख्ने आशामा

धेरै थरी मिलाएर खाएकी छु

सकी नसकी धेरै पटक पसलमा

लुगा छानेर आएकी छु ।

प्रशव पीडाको सामना गर्दा प्रायः महिलाहरूको पुनर्जन्म भए जस्तो हुन्छ । त्यति सामना गर्दा कतिको ज्यान जान्छ । महिलाको शरीरमा ठूलो घाउ हुन्छ । जुन घाउ आफ्नै नानीलाई हेरेर बिस्तारै निको पार्छन् महिलाहरूले । यो मेरो पनि अनुभव हो । केही समय सानो नानी भएपछि बाँधिन्छन् महिलाहरू त्यो स्वाभाविक हो । त्यसले जीवन बुझ्न सिकाउँछ । व्यवहारले पनि आमा बन्न सिकाउँछ ।

एउटी आमा आफ्ना नानीहरूलाई हुर्काउने, बढाउने र पढाउने क्रममा घरै बसीबसी शिशु कक्षादेखि  विश्वविद्यालयसम्म पुगेकी हुन्छे र आफ्ना नानीहरूलाई सिकाउने क्रममा आफूले पनि धेरै कुरा सिकेकी हुन्छे ।

तपाईं कलिलो उमेरदेखि नै साहित्यमा लाग्नुभएको देखिन्छ र कसरी र कोद्वारा साहित्य क्षेत्रमा सक्रिय भएर लाग्न प्रेरित हुनुभयो ?

– हाम्रो परिवारमा काका पनि लेख्नुहुन्थ्यो अरे तर म सानी हुँदै काका विमान दुर्घटनामा परेर बित्नु भएकोले मैले वहाँले लेखेको देख्न पाइनँ तर बुवा र ठूलोबुवा अलिअलि लेख्नुहुन्थ्यो । म हुर्केको सुन्दरपुर साहित्यिक कार्यक्रमका लागि उर्वर ठाउँ थियो । वहाँहरू जाँदा म पनि जान्थे । अलिअलि लेखे जस्तो म पनि गर्थें । पछि साहित्यमा आफ्नो नाम नै स्थापित गरिसक्नु भएको व्यक्ति अनिल पौडेल हाम्रो परिवारको सदस्य हुनुभयो । अर्थात् दिदीको विवाह साहित्यकारसँग भएकोले वहाँको हौसला पाएर म मात्र नभएर ठूलो बुवाको छोराहरू पनि लेख्न थाल्नु भयो । पछिपछि त सुन्दरपुरका धेरै युवाहरूले लेख्न थाले ।  हरेक साहित्यिक कार्यक्रममा गुरागाईं परिवारबाट बाक्लै सहभागी हुन्थ्यो तर हामी कसैले पनि समेटेर राखेनौं ।

पछि ब्याचलर गर्न धनकुटा गएदेखि मैले त्यहाँ अलिअलि गोष्ठीहरूमा भाग लिन थालें । साथीभाइले हौसला दिन थाले । मेरो एउटा कविता ‘नयाँवर्ष’ त्यहाँबाट निस्कने पत्रिकामा छापियो पनि । तैपनि त्यतातिर त्यस्तो चासो थिएन मलाई । पछि मास्टर्स गर्न काठमाडौं आएपछि भने मज्जाले नै लागेकी हुँ । साहित्य सन्ध्या हामी विद्यार्थीहरूको कविता सुन्ने-सुनाउने थलो थियो । कतैकतै पुरस्कार स्वरूप सानो रकम पनि पाउन थालेँ । त्यसले पनि ऊर्जा थपिरह्यो ममा ।

२०५२ सालको वैशाखमा साहित्यकार मोहन दुवालले बनेपामा नयाँ वर्ष मनाउन एउटा कविगोष्ठीको आयोजना गर्नुभयो । त्यहाँ जब मैले कविता वाचन गरें, तब धुस्वाँ सायमीले आफ्नो कविता वाचन गर्नुअघि नै मञ्चबाट ‘नम्रताका कविताहरू कति छर्नु, भेला गर्नु र एकेडेमीमा आउनु, म कवितासंग्रह निकालिदिन्छु’ भन्नुभयो । त्यसपछि झन् धेरै चुनौती भयो र अरू लेखें । वहाँले भने बमोजिम एक वर्ष भित्रमा कवितासंग्रह हुनेगरी कविता लेखें र बोकेर एकेडेमी गएँ । केही महिनापछि मेरो कवितासंग्रह ‘परिवेश र म’ प्रकाशित भयो । त्यसपछि त लेख्ने बानी नै बस्यो । पछि अमेरिका आएको केही वर्षपछि अर्को कविता संग्रह ‘मन भए तिमीसँग’ प्रकाशित गरें ।

यो उत्तर आधुनिक युगमा मानिस अति नै आत्मकेन्द्रित हुन पुगेको छ । यो उत्तर आधुनिक युगले पनि मानिसलाई आत्मकेन्द्रित हुन बाध्य पारेको छ । यस्तो विषम युगमा पनि तपाईंले आफ्ना पिता चन्द्रमणि गुरागाईंलाई साहित्यमा सक्रिय हुन भौतिक र मनोवैज्ञानिक, दुवै किसिमले निकै सहयोग गरिरहनु भएको छ । प्रेरित गरिरहनु भएको छ । तपाईंको सक्रियता र संलग्नतामा पिता गुरागाईंभीरगाउँदेखि भीमचौरीसम्म’ नामक संस्मरणात्मक निबन्धसँगालो प्रकाशित गर्न सक्षम र सफल हुनुभयो । पितालाई साहित्यमा सक्रिय राख्न तपाईंलाई कस्तो मनोवैज्ञानिक तत्त्वले प्रेरित गर्‍यो ?

– बुवालाई लेख्न प्रोत्साहन गर्नुअघि कसरी अमेरिका लगें, त्यसको थोरै प्रसङ्ग जोड्न चाहन्छु ।

जब घर छोडेर अमेरिका आएँ, भाषाको तिर्खा यहाँ भेटेको समुद्रले मेटाएन । जे कुरा आफूसँग हुँदैन त्यसको बढी महत्त्व हुँदोरहेछ । घरको माया दिनदिनै बढेर आयो । फोनमा सुनेका घरका सानासाना कुरा धेरै ठूला लाग्न थाले । सबैभन्दा धेरै आमबुवाको माया लागेर आयो । आफू कहिले खुट्टा टेक्ने र वहाँहरूलाई आफू बसेको देखाउन ल्याउने भन्ने नै भइरह्यो । तर टाढाको कुरा भन्ने बित्तिकै सम्भव थिएन ।

जहाँ इच्छा त्यहाँ उपाय निस्कन्छ नै ढिलो चाँडो । बुवाआमालाई ल्याउन सकिने भएपछि लिएर आयौं । ल्याउन त ल्यायौं तर केही कुरा पनि नमिल्ने समाजमा ल्याएर बुवाआमालाई राख्न विदेश आउने सबै छोराछोरीका चुनौतीका कुरा हुन् । मुख्य रूपमा बाहिरफेर हिंडिरहने बुवालाई कसरी दिक्क नलगाई आफूसँग राख्ने उपायहरू सोच्दा बुवालाई पढ्न दिने केही किताबहरू थिए मसँग ।

बुवा पढिरहने मान्छे हुनाले त्यही उपाय सजिलो होला कि भनेर पढ्न प्रोत्साहन गर्न थालेँ । पढेका कुरा घत लागे कतै टिप्नु पनि भन्न थालेँ । घुमाउन जाँदा अचम्मका कुरा लागे भने डायरीमा लेख्नु भन्न थालें । यी सबै बुवालाई व्यस्त बनाउन नै भनेकी थिएँ तर पछि त्यसरी घण्टौं बसेर लेख्नु होला भनेर सोचेकी थिइनँ । शायद त्यही बेला बुवालाई आफूलाई लेख्न फुर्सद भएको थियो कि!

वास्तवमा त्यही बेलादेखि हो मैले बुवाआमासँग मन लागे जति गफ गर्न पाएको । बुवाको अन्तर हृदय कोट्याउन थालेको । मेरो पनि कहाँ थियो र समय नेपालमा हुन्जेल । जब मैले बुवालाई कोट्याएँ, बुवाको अतीत दाम्लाका पोया फुस्किए जस्तो फुस्किएर छरपस्ट भयो । बुवा कुरा गर्दागर्दै एकैछिनमा भावुक भएर अड्किनुहुन्थ्यो, एकैछिनमा हाँस्नुहुन्थ्यो । त्यो देखेर अब के गर्न भनेर मलाई झन् धेरै चुनौती भयो । कतै मैले गलत काम त गरिनँ आफैले आफैलाई प्रश्न गर्थें । अब वहाँलाई कोट्याई त हालेँ बरु वहाँका केही कथाहरू वहाँलाई लेख्न लाउँछु र केही अनलाइन पत्रिकामा दिन्छु भनेर बिस्तारै लेख्न प्रोत्साहन गर्दै गएँ ।

लेख्ने बानी नभए पनि बुवाले बिस्तारै लेख्ने बानी बसाउनु भयो । बुवाको आफ्ना जीवनका अनुभव र परिवारको प्रोत्साहनले ‘भीरगाउँखेखि भीमचौरीसम्म’ नामक पुस्तकको जन्म भयो । आफूलाई नढाँटी लेखेको यो किताबले बुवालाई धेरै सन्तुष्टि मिलेको छ । त्योभन्दा बढी मलाई सन्तुष्टि मिलेको छ ।

किताब निकालेर फेरी अमेरिका आउनु अनि यहाँहरू जस्ता धेरै साहित्यकारहरूले वहाँको किताबमाथि छलफल राखिदिनु आफैमा ठूलो कुरा हो । यसले वहाँलाई झन् धेरै खुशी मिलेको छ ।

हरेक छोराछोरीलाई आफ्ना आमाबुवाका लागि केही गरौँ भन्ने हुन्छ नै । बुवाका लागि यति गर्नु यो मेरो मात्र प्रयास हैन, परिवार सबै जनाको उत्तिकै सहयोग छ ।

तपाईंले कविता, गीत लेख्नु भएको छ । कथाहरू पनि लेख्नु भएको छ । यस्ता अनेक विधामध्ये कुनै एकलाई रोज्नु परे कुन रोज्नु हुन्छ ? अर्थात् तपाईंको लेखन कुन विधामा केन्द्रित हुनेछ ?

– कविता साहित्यमा मेरो पहिलो पाइला हो । कुनै कुराले छुनासाथ निस्कन्छ । गीत छोराछोरी साना हुँदा उनीहरूलाई नेपाली सिकाउन लेखें । अहिले कहिलेकाहीं आक्कलझुक्कल लेख्छु तर तिनीहरूले स्वर भरेर जीवन पाएका छैनन् । निबन्धमा आफूलाई लेख्दा अरूलाई पनि लेखिने भएकोले आजकल अलि बढी त्यता लागेकी छु ।

तपाईंको विचारमा साहित्य के हो ?

– आफ्ना मनमा उब्जिएका भावना अर्थात् अनुभूतिलाई विम्ब र प्रतीकको प्रयोग गरेर सबैले बुझ्ने भाषामा लेख्नु साहित्य हो ।

साहित्य किन लेखिन्छ ?

– साहित्य लेख्ने धेरै कारण हुन सक्छन् । व्यक्तिगत, सामाजिक, राजनीतिक तथा सांस्कृतिक । उस्तै मान्छेका अनुभवहरूले अरूलाई मार्ग निर्देश पनि गर्न सक्छन् । कुनै पनि कुरालाई मान्छेको मन मनमा बसाउने माध्यम भनेकै साहित्य तथा संगीत हो ।

सिकाउनुपर्ने कतिपय कुराहरू जति पटक कोशिश गरे पनि हाडे ओखर जस्ता फुटाउनै नसक्ने हुन्छन् तर त्यसमा साहित्य मिसियो भने सजिलै बुझ्न-बुझाउन सकिन्छ । भनिन्छ – कतिपय प्राविधिक कुराहरूमा पनि साहित्य मिसियो भने लक्षित गरिएका मान्छेहरूमा पुर्याउन सजिलो हुन्छ ।

तपाईंपूर्व (दक्षिण एशिया) मा जन्मिनु भयो । त्यहाँ नै हुर्किन भयो । हाल पश्चिम (संयुक्त राज्य अमेरिका) मा बसिरहनु भएको छ । तपाईंसँग दुवैतिरको अनुभव र अध्ययन छ । ‘पूर्वका लेखनहरू विचार केन्द्रित हुन्छन् । पश्चिमका लेखनहरू मुद्दा वा घटनाकेन्द्रित हुन्छन् ।’ के यो भनाइ सही हो ?

– आधाभन्दा बढी नै सही छ जस्तो लाग्छ । किनकि पूर्वका धेरैजसो देशहरूमा मान्छेहरूलाई सधैं आधारभूत आवश्यकताहरूसँगै लडिरहनु परेको छ । साहित्य लेखन वर्तमानबाट भाग्न सक्दैन । दुई छाक अघाउँजी खान पाइयोस्, नच्यातिएको कपडा लाउन पाइयोस्, नबिग्रिएको बाटोमा हिंड्न पाइयोस् भन्ने विचार धेरैजसो लेखकको रचनामा पढ्न पाइन्छ । कसैका व्यक्तिगत कथा भए पनि ती कथामा उसका दुःख अथवा कुनै घटना बोलेका हुन्छन् । कुनै पनि कुरा मनको भित्री तहले छोएपछि लेखिन्छ र त्यसमा लेखकले नचाहेरै पनि आफ्नो विचार लेखेको हुन्छ ।

पश्चिमको साहित्य लेखन कुनै घटनाप्रधान अथवा व्यक्तिकेन्द्रित छ । त्यसो हुनु भनेको त्यो देशको रहनसहन, आवश्यकतामा आधारित हुन्छ कि ! उदाहरणको रूपमा अमेरिकामा मान्छेलाई चाहिने दैनिक आवश्यकताहरू राज्यले दिएको छ । आफू इमानदार भए बिजुली, पानी, ग्यास कहाँबाट आउँछ, कहिले आउँछ त्यसको चिन्ता गर्नुपर्दैन । त्यो ग्राहकको चासोको विषय नै होइन । ग्राहकको चासोको विषय भनेको समयमा बिल तिर्ने हो । विल तिरेपछि सुविधा नपाउने कुरा नै हुँदैन । जब दैनिक आवश्यक कुराको चिन्ता गर्न पर्दैन, त्यसपछि मान्छेले कुनै घटना विशेषमा ध्यान दिन सक्छ ।

संयुक्त राज्य अमेरिका किन र के सन्दर्भमा आउनु भयो ? के भविष्यमा नेपाल फर्किने इच्छा राख्नुहुन्छ ?

– पहिला मेरो श्रीमान् पढाइको सिलसिलामा अमेरिका आउनुभयो, म २ वर्ष पछाडि आएँ । हामी बाहेक हाम्रो परिवारका सबै जना नेपालमै हुनुहुन्छ, आउँदै जाँदै गर्छु । छोराछोरी आफ्नो खुट्टामा उभिने भएपछि कता बस्ने सोच्नेछु ।

तपाईंको अनुभव एवं विचारमा राष्ट्र के हो ? र राष्ट्रियता के हो ?

– राष्ट्र त्यहाँका नागरिक बस्ने देश हो, जो सिमानाले बाँधिएको हुन्छ । राष्ट्रमा जनता, सरकार र तिनीहरूको सार्वभौमिकता हुन्छ । राष्ट्रियता त्यो राष्ट्र माथिको माया, प्रेम र त्यसभित्रको सद्भावना हो जहाँ भाषा, कला र संस्कृति झाँगिएको हुन्छ । मान्छेले देश छोड्दा त्यही राष्ट्रियता मनभित्र बोकेर हिंडेको हुन्छ ।

के यो उत्तर आधुनिक युगले राष्ट्रियता-भावनालाई क्षय गरेको छ ?

– छैन । मेरो विचारमा आधुनिक युगले राष्ट्रियतालाई झन् धेरै माया गरेको छ । भौतिक रूपमा भएको देश सिमानाले बाँधिएको हुन्छ भने भावनाको देश संसारभरी फैलिएको हुन्छ । जहाँ नेपाली हुन्छन् त्यहाँ नेपाल हुन्छ ।

अहिले नेपाली युवाहरू चराको झुण्ड जस्तो भएर विदेशी आकाश (संसारका अनेक मुलुकहरू) तिर उडिरहेका छन् । बहुसंख्यक नेपाली युवाहरूको सोच र योजना विदेशतिर बसाइ नै सर्ने पनि रहेको छ । के यो स्थिति नेपालको लागि सुखद हो ? होइन भने यो स्थिति रोक्न वा नेपाली युवाहरूलाई स्वदेशमा नै आफ्नो भविष्य सुरक्षित रहेको देख्न र स्वदेशमा बस्ने स्थिति सृजना गर्न के गर्नुपर्ला ?

– यहाँले भन्नुभएको एकदमै ठीक हो । युवा जमात अहिले दिनदिनै विदेशतिर गइरहेछ । यस्तो स्थिति पक्कै पनि सुखद हैन । यसको कारण सरकारमा जानेहरूले आशामुखी रोजगारी सृजना गर्न नसक्नु नै हो । जनता हरेक वर्ष कि त सरकार पाल्न व्यस्त छन् कि त सरकार फाल्न । एउटा सरकारमा गए अर्कोले खुट्टा तान्ने प्रवृत्ति जबसम्म जाँदैन तबसम्म यो प्रक्रिया दोहोरिरहन्छ जस्तो लाग्छ मलाई ।

कुनै नयाँ कृति प्रकाशनको योजनामा हुनुहुन्छ ?

– निबन्धसंग्रह निकाल्ने विचारमा छु ।

हालै कुन कृति (पुस्तक) पढ्नुभयो ?

– भर्खरै अमेरिकी पूर्व राष्ट्रपति ब्राक ओबामाकी श्रीमती मिसेल ओबामाको पुस्तक ‘‘The Light We Carry’’ सुनें ।

भविष्यमा कस्तो पुस्तक लेख्ने योजना गर्नुभएको छ ? र किन त्यस्तो योजना गर्नुभयो ?

– यस्तै लेख्छु भनेर कुनै योजना त छैन । लेख्दैजाँदा के हुन्छ त्यसैलाई योजनामा राख्नेछु ।

हाम्रो समाजमा बहुसंख्यक साहित्यकारहरू अन्य साहित्यकारहरूको कृति पढ्ने इच्छा गर्दैनन् । पढे पनि आफ्ना नजीककाहरूको पढ्ने गर्छन्यो आरोप मिथ्या हो वा सही हो ?

– यस कुरामा मेरो विमति छ । पढ्दैनन् भन्ने कुरामा विश्वास गर्दिनँ तर बजारमा निस्केका सबै कृतिहरूले पाठकलाई आफूसँगै हिंडाउन सक्दैनन् ।

मान्छेसँग भएको त्यही २४ घण्टाको समयलाई धेरैतिर भाग लगाउनु पर्ने भएकोले पढ्ने पाठक भन्दा रेकर्ड भएका किताब सुन्ने पाठक चाहिं बढेका हुन् ! अर्को कुरा अचेल धेरै कुरा सामाजिक सञ्जालमा पढ्न पाइन्छन् । अनि हरेक मान्छेको हातमा मोबाइल छ । सशरीर पुस्तक पसल अथवा पुस्तकालय गएर पढ्ने, भेटेर कुराकानी गर्ने तरिका अब क्रमशः भर्चुअल हुन थालिसक्यो र मान्छे त्यसैमा रमाउन थालिसक्यो ।

विश्व साहित्यसँग तुलना गर्दा नेपाली साहित्यलाई कहाँ पाउनुहुन्छ ?

– विश्व साहित्यसम्म भाषाको कारणले नेपाली साहित्य पुगेको छैन त नभनौं तर मेरो बुझाइमा नेपाली साहित्य अरू भाषासँग तुलना गर्ने गरी लेखिएको छैन जस्तो लाग्छ । तुलना गर्नलाई अरू भाषाभाषीले पनि पढ्न सक्नुपर्‍यो । तर यसको पनि उपाय भविष्यमा निस्कन्छ भन्ने कुरामा आशावादी छु ।

नेपालमा पठन संस्कृतिको विकास गर्न के गर्नुपर्छ होला ?

– हाम्रो देशमा पठन संस्कृति हरायो भन्ने कुरामा म विश्वास गर्दिनँ, बरु पठन शैली चाहिं परिवर्तन भयो भन्दा राम्रो होला कि ?

अलिकति गहिरिएर सोच्ने हो भने भर्चुअल पठनपाठनले मान्छेहरूले पसलमा पुग्नुपर्ने समय जोगाए, अलिकति गाडी नचलाएर वातावरणमा हुने प्रदूषण घटाए, गाडीमा हाल्ने पेट्रोलको खर्च घटाए । मान्छेको पठन शैलीमा भएको परिवर्तनलाई यसरी पनि लिन सकिन्छ कि ?

साहित्य पाठकहरूको रुचि अनुसार लेखिनु पर्छ वा साहित्यकारहरूको रुचि अनुसार ? कस्तो साहित्य साहित्य सार्थक साहित्य हो ?

– साहित्यकारहरूले लेख्दा आफ्नै रुचि अनुसार लेख्ने हो किनभने त्यो लेखका माध्यम आफूलाई लेखेको हुन्छ, आफ्नो समय र परिस्थितिलाई लेखेको हुन्छ, समाजलाई र समाजका पात्रलाई । लेखमा इमानदारिता छ भने त्यो लेखले अरूलाई पक्कै पनि रुचिकर नै हुन्छ ।

सिकाउने किसिमका रचनाहरू लेखिन्छन् भने उमेर सुहाउँदा शब्द र वाक्यको चयन गर्नु जरूरी छ । ५, ६ वर्षका नानीहरूको उमेर भनेको खेल्दाखेल्दै सिक्ने उमेर हो र तिनीहरूका लागि लेखिने गीत, कविता खेल्नु जस्तै सजिलै पढ्ने हुनुपर्छ । त्यस्ता खाले लेख उनीहरूले एकैछिनमा कण्ठ गरिदिन्छन् ।

१२-१३ वर्षका नानीहरूका लागि लेखिने रचनाहरू उनीहरूको शरीरमा आउने परिवर्तन आत्मसात् गर्ने खालका भए भने केही हदसम्म त्यस्ता खाले लेखहरूले सहयोग गरेका हुन्छन् र उनीहरूले घरी घरी पढिरहन्छन् ।

उमेर तथा विषयवस्तु सुहाउँदा लेख रचनाहरूमा शब्द र साहित्यका बिम्बहरू पनि उमेर सुहाउँदै प्रयोग गरेर त्यहाँको समाज, त्यहाँको भूगोललाई सकारात्मक शिक्षा दिने किसिमले लेख्न सकियो भने त्यस्ता रचनामा पाठकले आफूलाई पाउँछन् जस्तो लाग्छ मलाई । त्यस्ता खाले रचनाले लामो समयसम्म प्रभाव छोडेका हुन्छन् । मेरो विचारमा त्यही नै सार्थक साहित्य हो ।

मलाई आफ्ना कुराहरू राख्न समय र ठाउँ दिनु भएकोमा साहित्यकार विश्वराज अधिकारीज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

नम्रता गुरागाईं

विश्वराज अधिकारी