
कुखुरी काँ !
बासी भात खाँ !
खै बासी भात ?
बिरालोले खायो !
खै बिरालो ?
मुसा मार्न गयो ।
सानोमा हामीले लय हालेर गाउने यो गीत अहिले नेपाली पाठकहरूको सन्दर्भमा मिल्न पुगेको छ । बासी विषय शैली र बासी विधामै रमाइरहेका नेपाली पुस्तकका पाठकहरू केही वर्ष यता देखि बिरालो मुसा खोज्न गए जस्तै नयाँ स्वाद खोज्न अन्तै जान थालेका छन् । त्यसैले नेपाली पुस्तक बजार पाठकहरूको अभावमा लगातार खस्कँदो क्रममा छ ।
सबभन्दा बढी पुस्तक बिक्री हुने चाडबाडको समयमा पनि पुस्तक बजारको चर्चा खासै सुनिंदैन । शरद ऋतुको उमङ्गमा पनि पुस्तक बजार चाहिं पतझर शिशिर ऋतु जस्तो उदास भान भैरहेको छ । हुन त यो वर्ष प्राकृतिक प्रकोपको कारणले गर्दा अन्य सबै विषयहरू भन्दा प्रकोपकै चर्चा बढी छ तै पनि खाने मुखलाई जुँगाले छेक्दैन भने झैं पढ्नको लागि प्रकोपले त्यति धेरै असर गर्नु नपर्ने हो । तर नेपाली पुस्तक बजारमा पनि ठूलै प्रकोप गए जसरी पाठकहरू घटिरहेका छन् ।
ताजा होस् या बासी, मीठो होस् या नमीठो जस्तो भए पनि नेपाली पुस्तकको बजार सन् २०२० को कोरोना महामारी भन्दा अगाडिसम्म ठीकै थियो । तर महामारीले अर्थतन्त्र थलिएपछि त्यसको असर पुस्तक बजारमा पनि पर्न गयो । त्यसपछि अन्य क्षेत्र त धेरै हदसम्म तंग्रिए पनि तर पुस्तक बजार भने तंग्रनुको साटो झन् पछि झन् थला परिरहेको प्रष्टै देखिन्छ ।
आफू पनि यही क्षेत्रमा रुचि राख्ने व्यक्ति भएको हुनाले पुस्तक बजारमा मैले ध्यान दिइरहेको हुन्छु । अहिलेको अवस्था हेर्दा नाम चलेका र स्थापित केही लेखकहरूद्वारा लिखित र राष्ट्रिय स्तरका पुरस्कार प्राप्त पुस्तकहरू बाहेक अन्य लेखकका पुस्तकहरू प्रकाशन हुनका लागि मात्र प्रकाशित हुन्छन्, पढिनका लागि हैन भन्ने अवस्था छ । तर स्थापित लेखकहरूका पुस्तकमा पनि पहिले जस्तो आकर्षण छैन । जति प्रचारप्रसार गरे पनि ती पुस्तकहरूको बिक्रीमा पनि भारी गिरावट आएको प्रष्ट नै छ ।
तर किन त ? के विगतको तुलनामा पठन संस्कृति घटेकै हो त ? अनि यसरी घट्नुका कारणहरू के के हुन् त ? के अब नेपाली पुस्तक बजार सधैंको लागि थलिएको हो या यो क्षणिक लक्षण मात्र हो ? के नेपाली पाठकहरू साँच्चै नयाँ स्वादका ‘मुसा’ खोज्न गएकै हुन् त ? के उनीहरू फेरि फर्किएलान् ? आउनुस् एक पटक मनन गरौं ।
त्यसो त पुस्तक किनेर पढ्ने नेपाली पाठक कति नै छन् र ? नेपालमा पठन संस्कृति निकै नाजुक छ । अझै पनि धेरै नेपालीहरू पढ्ने भनेको जाँच पास गर्नको लागि मात्र हो भन्ने भ्रम पालेर बसेका छन् । अधिकांश जिल्लाहरूमा न त राम्रो पुस्तकालय छ, न त पुस्तकालय भए पनि पुस्तकालयमा जाने पाठक नै छन् ।
नेपाली पाठक कम हुनुमा हाम्रो समाज र हामीले पाएको शिक्षा धेरै हदसम्म दोषी छ । हामीलाई सानैदेखि पुस्तक पढ्ने बानी नै बसेन । गाउँतिर त गरीबी, पुस्तहरूको उपलब्धता नहुनु र समयाभावको कारणले गर्दा विद्यार्थीहरूले पढ्न पाएनन् भन्न सकिएला तर सजिलै पुस्तकको पहुँच हुन सक्ने समय पनि हुने शहरिया मध्यम वर्गीय विद्यार्थीहरू पनि पढ्नमा त्यति रुचि राख्दैनन् । त्यसमा हाम्रो समाजकै मुख्य दोष छ ।
अर्को कुरा पढ्ने उमेरका पाठकहरूको आधा भन्दा बढी जनसंख्या नेपाल बाहिर छ । रोजगारीको क्रममा होस् या अध्ययनको लागि होस् पुस्तकमा रुचि राख्ने युवा पुस्ता नै देशमा नभएपछि पाठकहरू घट्ने नै भए । तर पाठकहरूमाथि सबै दोष थोपरेर लेखक र प्रकाशकहरू पन्छिन भने मिल्दैन किनभने हाम्रा लेखक र प्रकाशकहरू पनि पाठकलाई आकर्षित गर्नसक्ने पुस्तक पस्कन असमर्थ भएको कुरा छिपाएर छिपाउन सकिंदैन ।
हामीले स्वीकार्नै पर्छ कि हाम्रा लेखनका विषय निकै सीमित छन् र अधिकांश विषयहरू बासी भात जस्तै भैसकेका छन् । हाम्रा अधिकांश लेखन सतही इतिहास, गाउँले परिवेश, मध्यम वर्गीय सङ्घर्ष, माओवादी युद्ध, महिला शोषण, जातीय विभेद, सीमान्तकृत वर्गको अवस्था भन्दा माथि उठ्न सकेका छैनन् ।
हास्यव्यंग्य र बाल साहित्यमा पनि कलम चलाउने केही लेखक छन् तर ती पनि निकै सीमित विषयमा नै छन् । नयाँ विषयमा कलम चलाउने लेखक निकै कम छन् । स्वैरकल्पना, विज्ञान कथा, जासुसी कथा, अपराध, अलौकिक, त्रास जस्ता अलि फरक विषयमा कलम चलाउने लेखकहरू निकै कम छन् ।
त्यसको कारण हो- ती विषयमा लेखिएका नेपाली पुस्तकहरूमा नेपाली पाठकहरू सकारात्मक छैनन् । त्यस्ता विषय मूलतः युवा वर्गका रुचिका विषय हुन्छन् । अहिलेको युवा पुस्ता अंग्रेजीमा पारङ्गत छ । अनि ती विषयहरूमा अंग्रेजीमा बग्रेल्ती पुस्तकहरू छन् । ती पुस्तकहरूको विषयवस्तु नवीन मात्र नभएर लेखकहरूको लेखनशैली पनि निकै आकर्षक हुन्छ । अंग्रेजी भाषामा वर्षेनी लाखौं पुस्तक निस्कन्छन् । ती मध्ये कुनै न कुनै पुस्तक राम्रो भैहाल्छ ।
त्यस्तो अवस्थामा नेपाली लेखकहरूले लेखेका भिन्न विषयका पुस्तकहरू अंग्रेजी विषयका थुप्रामा फेरि कहिले बाहिर निस्कन नसक्ने गरी सजिलै पुरिन्छन् र त्यसले नेपाली लेखकहरूलाई दुरुत्साहित गर्न मद्दत गर्छ । यस्ता विषयमा लेखेका धेरैजसो पुस्तकहरू अधिकांश लेखकहरूका लागि ‘मैले पनि पुस्तक निकालें’ भन्ने आत्मसन्तुष्टी गर्नु बाहेक त्यसबाट अरू केही उपलब्धि हुँदैन । ती पुस्तकहरू प्रकाशकका गोदाममा र लेखकका घरका कुनै कुनामा धमिराको खुराक बन्न कुर्दै बस्छन् ।
पोहोर फागुनतिरको कुरा हो, मेरो अंग्रेजी उपन्यास ‘द लास्ट ड्रिम’ भर्खर प्रकाशित भएको थियो । मैले मेरो भतिजोलाई आफ्नो पुस्तक पढेर त्यस बारेमा प्रतिक्रिया दिन आग्रह गरें ।
“नेपाली हो ?” उसले सोध्यो ।
“हैन, अंग्रेजी हो !”
उसले नेपाली पुस्तक पढ्दैन भन्ने मलाई थाहा थियो । त्यो भन्दा पहिले मैले उसलाई मेरा नेपाली पुस्तकहरू पढ्न आग्रह गरेको थिएँ तर उसले ‘नेपाली पुस्तक त्यति बुझ्दैन !’ भनेर टारेको थियो । त्यो बेला मलाई ‘आजभोलिका केटाकेटी पढ्नै मन गर्दैनन् र नपढ्नको लागि बहाना बनाउँछन् !’ भन्ने लागेको थियो ।
अंग्रेजी भनेपछि उसले ‘हुन्छ’ भन्यो । मैले उसलाई पुस्तक दिएँ तर उसले पुस्तक लिएन बरु पुस्तकलाई इमेलमा पठाइदिन भन्यो । मैले पुस्तक उसको इमेलमा पठाइदिएँ । दुई दिनमै पुस्तक पढेर मलाई प्रतिक्रिया दियो ।
उसलाई पढ्न मन नलाग्ने हैन रहेछ । समस्या त भाषाको रहेछ । अंग्रेजीमा लेखेको भन्ने थाहा पाएपछि उसले मन लगाएर पढ्यो र दुई दिनमै सकायो पनि । उसले साँच्चै पूरै पुस्तक पढ्यो कि मेरो मन राख्नको लागि ‘पढेँ’ मात्र भन्यो भन्ने जाँच गर्न मैले उसलाई पुस्तकका घटनाको बारेमा विस्तृत रूपमै भन्न लगाएँ । उसले सबै कुरा बतायो । प्रष्ट थियो- उसले पढेको मात्र नभई ध्यान लगाएर पढेको थियो र बुझेको पनि थियो ।
नेपाली पुस्तक पढ्न नचाहनुमा उसको दोष हैन, हाम्रो शिक्षा प्रणालीको दोष हो । अंग्रेजी भाषा विश्वव्यापी भाषा हो । आजभोलिका विद्यार्थीको लागि अंग्रेजी नजानी जीवन नै नचल्ने भैसकेको छ । अंग्रेजी जान्नुपर्छ, यसमा कुनै दुई मत छैन, तर अंग्रेजी मात्र जानेर पनि हुँदैन । विश्वव्यापीकरणको यो युगमा जति धेरै भाषामा दक्षता हासिल गर्यो त्यति नै हाम्रो महत्त्व बढ्छ । नेपाली भाषामा पारङ्गत हुँदा अहिलेको संसारमा त्यति धेरै सहयोग नहुन पनि सक्ला तर आफ्नो भाषा नजानी आफ्नो समाज, संस्कृति, इतिहास बुझ्न सकिंदैन ।
अहिलेका विद्यार्थीहरूको लागि नेपाली भाषा पढ्नु त खाली जाँच पास गर्नको लागि मात्र भएको छ । अन्य सम्पूर्ण विषयहरू अंग्रेजीमा पढाइन्छन् । अनि विद्यार्थीहरूले कसरी नेपाली पुस्तकहरू पढ्न सकुन् ? यही कारणले गर्दा पनि नेपाली पुस्तक पढ्नेहरूको संख्यामा लगातार गिरावट आइरहेको छ र भविष्यमा यो समस्या झनै विकराल हुनसक्छ । केही वर्षपछि नेपाली पुस्तक पढ्ने भनेको त अलि पुरानो पुस्ता, गाउँमा पढ्न बाध्य भएको मध्यम वर्गीय या निम्न वर्गीय विद्यार्थीहरू र नेपाली भाषा पढ्ने विद्यार्थी बाहेक अरू हुने छैनन् । अनि स्वाभाविक रूपमा नेपाली पुस्तकका पाठकहरू घट्ने नै भए ।
पाठकहरू कम हुनुमा अर्को महत्त्वपूर्ण कारण भने तीव्र गतिमा अगाडि बढिरहेको प्रविधि र त्यसको गतिमा हिंड्न नसकेका प्रकाशक र लेखकहरू हुन् । यो जमाना सूचना प्रविधिको हो । पठन क्षेत्र पनि यसबाट अछुतो हुने कुरा भएन । पढ्नु भनेको सूचना प्राप्त गर्नु हो । अहिले सूचना प्राप्त गर्नको लागि पढ्ने मात्र विकल्प छैन । सामाजिक सञ्जालमा हरेक क्षणमा सूचनाको बाढी आइरहेको हुन्छ । त्यो बाढीबाट आफूलाई चाहिने सूचना निकाल्न नयाँ पुस्ता खप्पिस भैसकेको छ । त्यहाँबाट सूचना प्राप्त गर्न पुस्तक पढ्नुभन्दा सजिलो, सस्तो र रुचिकर हुन्छ । पुस्तक पढ्नु भन्दा श्रव्य दृश्यबाट प्रसारित सूचनाहरू बढी प्रभावकारी हुन्छन् । किताबमै लेखेका कुराहरू पनि सामाजिक सञ्जालमा सजिलै पाइन्छ भने किन पैसा र समय खर्च गरेर पुस्तक किनेर पढ्ने ?
हुन त सामाजिक सञ्जालका सामग्रीहरू सजिलै विश्वास गर्न सकिने खालका हुँदैनन्, ती सामग्रीहरूले हामीलाई सूचना र ज्ञान दिनुभन्दा पनि गलत सूचना प्रदान गरेर हामीलाई दिग्भ्रमित बनाएका हुन सक्छन्, तर पुस्तक पढ्ने स्तरको मान्छेले कुन सूचना ठीक हो र कुन गलत हो भन्ने पत्ता लगाउन सक्छ र त्यहींबाट आफूलाई चाहिने सूचना लिन्छ । अधिकांश पुराना पुस्तकहरू इन्टरनेटमा सित्तैमा पनि पाइन्छन् । त्यसैले पनि पुस्तकको बिक्रीमा कमी आउनु ठूलो कुरा भएन । कम समय, मूल्यमा सस्तो अनि मेहेनत कम लाग्ने भएपछि कुन चाहिं मूर्खले खोजीखोजी पुस्तक किनेर पढ्छ ? त्यसको समाधानको लागि हामी इ-बूक र अडियो बूकमा जानैपर्छ । यो समयको माग हो । समयको बहावसँग हिंड्न नसक्ने जो कोही पनि धेरै समय टिक्न सक्दैन । यदि पुस्तक बजारमा टिक्नु छ भने प्रकाशक र लेखकहरू ढिलो-चाँडो इ-बूक र अडियो बूकमा जानैपर्छ ।
यसो भयो भने विदेशिएको नेपाली युवा जमातले पनि सजिलै र सस्तो मूल्यमा नेपाली पुस्तक पढ्न पाउँछ । विदेशको तुलनामा नेपालमा इ-बूक र अडियो बूक अझै त्यति लोकप्रिय भैसकेको छैन तर प्रविधिको यो दिशा र गतिमा हामी चाहे पनि नचाहे पनि समाहित हुनै पर्छ ।
त्यसैले अब हामीले नयाँ स्वादका ‘मुसा’ खोज्न गएका ‘बिराला’हरूलाई अझै पनि बासी भात पस्केर आकर्षण गर्न खोज्छौं र साबिककै विषय र प्रकाशन प्रविधिको घेराबाट बाहिर निस्कने साहस गर्दैनौं भने अब उनीहरू फर्कने अवस्था छैन । उनीहरूलाई फर्काउन शिक्षा प्रणालीमा परिवर्तन, ताजा विषय, नयाँ शैली, विविध विधाहरू मात्र हैन नयाँ प्रविधि आत्मसात् गरेर आकर्षक रूपमा पुस्तक पस्केर नलोभ्याउने हो भने पाठकहरू अब नफर्कने गरी नियन्त्रण भन्दा पर भागिसकेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

