विश्व प्रचलित रेल डुलेको र विश्व प्रचलित चिया फुलेको दार्जीलिङमा श्रमिकहरूको जीवनमा भने कहिल्यै सुख डुलेन, कहिल्यै शान्ति फुलेन ।

—–

चियाको कुरा गर्नु अनि त्यसमा दार्जीलिङको कुरा नहुनु एकदमै खल्लो स्वाद आउँछ । गूगलमा दार्जीलिङ लेख्नुहोस् गूगलैभरि हरियोभरियो मुनापात छाउँछ । कारण दार्जीलिङको श्रमिकहरूको निधारमा नाम्लो-बरियो हुन्छ । बुट्टाबुट्टामा श्रमिकहरूको हात हुन्छ ।

तर जहिल्यै चाडपर्वमा उनै श्रमिकहरूप्रति घात हुन्छ । पक्षपात हुन्छ । फस्ट फल्स र सेकेन्ड पल्स पगितो पत्ती टिपेर मालिकलाई बुझाउने श्रमिकहरू बोनस थाप्न मात्र होइन कति ठाउँ खर्च(हाँजीरा) थाप्न पनि नाराबाजीले आलस तलास हुनुपर्छ । संसारलाई स्वादको प्याला पिलाउने श्रमिकहरू भने ज्याला र बोनसका लागि जहिल्यै हडताल, जुलुस, पोस्टर, अनशनमा बस्नुपर्छ ।

मान्छे मेशीन भएर मुना फुलेको चियाबारीमा श्रमिकहरू प्रति अतीव अन्याय छ । श्रमिकहरूले आफ्नो ढाड कोप्र्याएर सप्रिएको सुन्दर चियाबारीमा उनै श्रमिकहरूको घरमा भने समस्याको घारी छ । चियाको बुट्टामा सुन मात्र होइन हीरा-मोती पनि फल्छ तर श्रमिकलाई होइन मात्र मालिक र बिचौलियालाई ।
गुमानसिंह चाम्लिङले कवितामा लेख्थे:

“तरल बनाइदिएको छ मानिसले

जीवनलाई यसरी,

कि यो त केवल आँसु, पसिना

र रक्त अनुहारको यो क्यानभास हो ।”

चाम्लिङले भने जस्तै आज श्रमिकहरू आँसु, पसिना र केवल रगतमा दुखजिलो गरिरहेको ठूलो क्यानभास हो । जुन क्यानभासमा पीर, व्यथाको अजस्र थकथकी र छटपटीहरू छ जसको संवेदक श्रमिकहरूबाहेक कोही बन्न सक्दैनन् ।

श्रमिकको लागि बनिएको न्यूनतम वेतन कानून भारत सरकारले सन् १९४८ मा नै लागू गरे पनि पश्चिम बङ्गालमा कार्यान्वयन भएकै छैन । छ त केवल आश्चर्य र उदेक ? ऐनको ऐस मजदूरसित होइन मालिकसितै जकडबन्द छ । श्रमिकहरूसित त दुख्दो परिबन्द मात्र छ । दुई सय पचास रुपियाँमा दैनिक ८ घण्टा चियाबुट्टामा आफ्नो हातखुट्टा सुम्पिएका श्रमिकहरूको हात हालत भने उस्तै छ । फेयर वेज त परको कुरो मिनिमम वेजसम्म पनि श्रमिकहरूले पाउन सकेका छैनन् । न त श्रमिककै भोट पाएका नेताहरूले दिलाउन नै सकेका छन् । भोट पाएका नेताहरूले श्रमिकलाई दिलाए त केवल चोट । यस्तो लाग्छ हिजोआज चियाको प्रत्येक बोट श्रमिकको गहिरोसित गाडिएको चोट हो । विश्व प्रचलित रेल डुलेको र विश्व प्रचलित चिया फुलेको दार्जीलिङमा श्रमिकहरूको जीवनमा भने कहिल्यै सुख डुलेन, कहिल्यै शान्ति फुलेन ।

यस्तो ठाउँमा पनि चिया खेती सम्भव होला र भन्दै सोच्ने अंग्रेजहरूलाई पनि सन् १८५६ देखि नै व्यावसायिक रूपमा सम्भव बनाएर देखाउने श्रमिकहरूको मिहेनतले मगमगाएको चियाबारीमा श्रमिकहरूको निम्ति सुरक्षा र सुविधा केही छैन । मालिक हुँदैन, बनाइन्छ । मालिक बनाउने उनै श्रमिकहरूलाई दिनहुँ शारीरिक र मानसिक प्रताडना छ । समानता र न्यायको कुरा गर्ने देशमा अधिकार आनन्द होइन अन्याय र अत्याचार अतिरिक्त केही सामान्य सहुलियत प्राप्त छैन । छ त केवल मालिकको हकडक ।

यस्तो महँगाइमा पनि कम रोजमै दलाइरहेको मालिकको शोषण यति धाकसित छ कि यो देशमा सरकार र कानून उसैको पेवा हो । चियाको बुट्टामा श्रमिकहरू घोटिएर नै मालिकले पैसाको बिट्टा समाउन पाइरहँदा पनि उनै मालिकबाट दैनिक विभिन्न वचन र बाधा अड्चन झेल्नु परिरहेको छ । पुर्खाहरूको हाड–नली माथि हरियो बाँचेको चियाबारीमा यति छली मालिकको रजाइँ छ । यस्तो विह्वल परिस्थितिमा पहाडका श्रमिकहरूको बसाइँ छ । जसलाई जो कसैले प्रयोज्य साधन स्वरूप फसाइरहन्छ ।

”मोदी के संग चाय चौपाल”, “चाय पे चर्चा” भनेर चिया बारे प्रचारप्रसार गर्दै चियावाल छविले समेत चुनाउमा उकासिएका उनै मोदी आज देशको तेस्रो पटक प्रधानमन्त्री हुँदा पनि चिया श्रमिकहरूको लागि कुनै ठोस पहल छैन ।

बेलायतको महारानीलाई चिया रङ कोसेली लिएर पुग्ने मोदी खलखल घाम र भलपैह्रोमा समेत डाँडाकाँडातिर कमान स्यार्ने श्रमिकहरू मोदीको सम्झनामा न त सपनामै आउँछन् । चुनाउको बेला देशको गृहमन्त्री हुर्र चियाबारी आउँछन् र फोटो खिचाएर जान्छन्,जित्छन् पनि त्यसपछि आउँदैनन् बिर्सिन्छन् । पछि न कमान सम्झिन्छन् न कमाने । के थाहा रम्न, घुम्न र जम्न आउनेहरूलाई यी चियाबारीका श्रमिकहरूले न डोको बिसाउने ठाउँ पाउँछन् न मन बिसाउने । रवि रोदनको कविताका हरफले भन्छ-

“डिजिटल क्यामेराले
टाइगर हिल
र घाम खिचिबस्छ
तर साइँलीको सङ्घर्ष खिच्दैन ।”

घामै पृथ्वीमा नआइपुगी मेलो पुग्ने श्रमिकहरू २० प्रतिशत बोनसको लागि मालिककै चलखेल र झेलखेलमै कसिएका छन् । बोनस त बार्गेनिङ पावर भएको छ । श्रमिकको पसिना झरेर हरियो रङ चढेको चियाले नै अघि बडेको पहाडको राजनीतिको भूमिका श्रमिकहरूको निम्ति परिणाम शून्य छ ।

दशैं-तिहारको छेकमा श्रमिकहरू नाराबाजी, जुलूस र गेट मिटिङमा ओर्लनु परिरहेको छ । दशैं घरमा श्रमिकहरू सडकमा छन् । श्रमिकहरूलाई निर्धक्क ढसमस गरिरहेका मालिकहरू टसमस भएका छैनन् । उनीहरूलाई के दशैं के तिहार खल्ली न बल्ली तर वर्ष दिनमा एकपल्ट रमाउने र घर सजाउने चाडपर्वमा भने श्रमिकहरू बिचल्लीमा परेका छन् । जीटीएका चीफले २०% बोनसको माग गर्दै श्रम मन्त्रीलाई पत्र लेखेका छन् । विभिन्न दलका नेताहरू श्रमिकहरू सितै छन् । श्रमिकका निम्ति बनिएका संघ संगठन श्रमिकसँगै नाराजुलूसमा उभिएका छन् ।

बालेनको एउटा गीत स्मरण हुन्छ, ‘गरीबको चमेली बोल्दिने कोही छैन ।’

तर यतिवेला श्रमिकहरूको निम्ति भने बोलिदिने नेता, संघ, संस्था हर कोही छ तर भएको केही छैन । अब सोध्नुपर्ने सवाल हो – यस्तो किन भएको त ?

मिरिक, दार्जीलिङ