तिर्यक्का विधानले उकारान्त अथवा ओकारान्त शब्दको बहुवचन हुँदा आकारान्त हुन्छ । जस्तै, एकवचन कानु अथवा कानो, बहुवचन काना । तदनुसार चेप्टो>चेप्टा । तर डाडू> डाडूहरू, पन्यू> पन्यूहरू किनभने ‘डाडू’-को ‘डाडो’ हुँदैन, ‘पन्यू’-को पनि ‘पन्यो’ भन्ने भेद छैन ।

——

 

नेपाली साहित्यको सुव्यवस्थित ज्ञान बढाउनेहरूमा प्रमुख एक रहिआउनु भएको थियो डा. ईश्वर बराल समालोचक र समालोचक-सम्पादकको हकले । विचारित विषयवस्तुले भन्दा अधिक तर उहाँद्वारा प्रयुक्त भाषाले हामी चकित बन्थ्यौं । उहाँको समालोचना भाषामा संयोजित पायौं संस्कृत शास्त्रीय शब्दावलीसँगै नेपाली ठेट शब्दहरू र नबिटुलिएका वाग्धारा । उहाँको जुनै लेख दोहोर्याई – तेहर्याई पढ्थ्यौं उहाँको भाषामा लहसिएर । जुनै लेख व्याकरण, शब्द एवं वाक्यरचनाविधि तथा शब्दकोश- समान हुन्थ्यो । उहाँले फेरि भाषाको चोखोपन र शुद्धताका सचेतक हुन आफ्नो समालोचना धर्मभित्र पार्नुभएको देख्यौं । आवश्यक थियो पनि त्यसो गर्न ।

उहाँको भाषिक शुद्धताको निर्णयनमा (क) गृहीत शुद्धता र (ख) विवेचित शुद्धता दुई पक्ष छन् । दार्जीलिङ, सिक्किम, डुवर्सप्रान्तीय भारतीय नेपाली पृष्ठभूमिको भाषाको ‘विवेचित शुद्धता’ यता हामी पनि बढाउँदै थियौं । उहाँको शुद्धताले यसलाई स्वीकार्य पाएन ।

कठपुतलीको मन मानार्थ प्रति उहाँमा चढाएको थिएँ । ‘अशुद्धताहरू’ देखेपछि चूप लागेर बस्ने व्यक्ति उहाँ हुनुहुन्नथ्यो । आइपुगिहाल्यो पत्र :

११६, न्यू क्याम्पस

जवाहरलाल नेहरू विश्वविद्यालय

नयाँदिल्ली- ११००६७

१० अप्रिल, १९८९

श्रीमान् इन्द्रबहादुर राई महोदयका समीपमा

सप्रेम नमस्कारोपरान्त निवेदनमेतत् ।

तेस्तै केके परिरह्यो जसले गर्दा तपाईंलाई यथासमय पत्र लेख्न सकिएन अनि तपाईंका न १०.२.८९ तथा १८.२.८९ का पत्रको उत्तर पठाउन सकें न कठपुतलीको मन पाएको जनाउनी नै । एसरी यो पत्र अति बियाँलो भई लेख्ता क्षमायाचना गर्न पनि लाज लागिरहेको छ ।

कठपुतलीको मनका कथा पढें र तपाईंका विचार पनि । तपाईं रोमान्सिक लेखक, इन्द्रेनीसंसारमा विचरण गर्नेसित सांगी लाग्नु पृथक्पृथक् विधाका निरूढ सूत्र समाउने हामी समीक्षकलाई हम्मे नै पर्छ । तपाईं विधाविशेषका मान्यतालाई छिचोल्न, छिंवल्न औ उछिन्न खोज्नुहुन्छ । सिर्जनाधर्मी कृतिकारको प्रवृत्ति तथा कृतिको प्रकृति एही हो पनि । तर तदनुसार हामी समीक्षकलाई तपाईंका मनोव्यापारसित समान चित्तचेष्टाले एकभावसम्बद्ध भइहाल्नु अप्ठेरो पर्छ, स्वीकृत निर्दिष्ट सिद्धान्त छाड्न सकिन्न पनि । तेसैले कठपुतलीको मनभित्रका कथा बारम्बार पढी मथिङ्गललाई सकेसम्म घोट्ता पनि चौथाइसम्म मर्म बुझ्न औ चुरो फेला पार्न सकियो कि कुन्नि !

डा. ईश्वर बराल

कथामा सर्वत्र तपाईंले व्याकरणका सर्वस्वीकृत सामान्यतम नियमका घेरालाई फड्के हानेर उछिन्न खोजेको प्रस्ट छ । शब्दका निम्ति स्वीकृत वर्णविन्यास अर्थात् स्पेलिङ तथा पदका संयोजन किंवा समस्तता और वियोजनको व्यतिक्रम मुद्राराक्षसको लीला हो वा लेखकको नै स्वेच्छया लीलालेखन ?

अधिकांश जनता एस्तै बोल्छन् र म तिनैका सारमा चल्छु भनी लेखकले ज्यामन्तै गरेको मलाई चित्त बुझ्दैन । बोली नै आधिकारिक हो र ? स्थानका भेद तथा दूरताले गर्दा मानिसका आनीबानी, आचारविचार तथा वेशभूषा बेग्लिए भाषाको ढङ्ग पनि बेग्लिन्छ । भाषाको ढङ्ग एस प्रकार नानाप्रकार हुँदा ऐकविध्य पाखा लाग्छ । तेसैले शब्दानुशासन चाहिएको हो । तर व्याकरणका निम्ति अमूर्त भाषा व्याकर्तव्य होइन । एसको व्याकर्तव्य भाषा त सर्वसाधारणको बोली नै हो । एसले फगत प्रचलित बोलीका एकरूपताका निम्ति आदर्श उपस्थित गरी साधुताको निर्देशन गर्छ । अधिकांशले एस्तै प्रयोग गर्छन् औ बुझ्छन् भनेर ‘हम पिछले दिनको शादी बनाया’, ‘इसका कितना देगा साब ?’, ‘क्या बोलने मागता है ?’ आदि ‘कुली’ हिन्दीलाई साधु हिन्दी मान्न सकिन्न । प्रत्येक लेखकले जनजिब्राको दुहाई दिएर म एसै लेख्छु भने दूध, दूद, दुद, दुत नानारूप लेखिने भए । कसका जनजिब्रालाई आप्तवाक् मान्ने ? एसरी आफ्नै पारामा लेखकले अड्डी लिए व्याकरणको व्यभिचार बढ्छ । भाषाका निम्ति यो भलो होइन ।

तपाईं लेखक हुनाले कसरी ठेकीलाई च्याट्ट मिल्ने बिर्को तुल्य पारूँ भने भाषामा भित्री आशय औ धारणा यथार्थतः सम्प्रेषित होस् भन्ने औडाहाले अभिभूत हुनु अयथातथ होइन । तर प्रयोगका नाउँमा अयमित भई ज्यामन्तै गर्नु औचित्यको अतिक्रमण गर्नु हो ।

मेरा माथिका भनाइका निम्ति तपाईंका ‘बाघ’ कथाबाट उदाहरण दिन्छु । ‘गोल-गोल धर्काहरूबाट गोल आँखाहरूले हेर्यो ।’ भन्ने वाक्यमा नेपालीमा वीप्साका निम्ति ‘हाइफन्’-को व्यवहार अनावश्यक मानिन्छ, धर्को कसरी गोल भयो ? धर्को ऋजु हुँदैन र ? थोप्लो पो ‘गोल’ हुन्छ, गोलका निम्ति नेपालीमा कहाँ ‘बाटुलो’ प्रयुक्त हुन्छ सो मैले तपाईंलाई बुझाइरहनुपर्ने कुरो होइन ।

‘प्रबलता’, ‘रिस’, ‘डर’ भाववाचक संज्ञा हुनाले असङ्ख्येय हुन् । तेसो हुनाले ई एकवचन हुनु बेस । एक प्रबलता, तीन प्रबलता हुँदैन ।

नेपालीमा शब्दका अन्तका ‘नु’-मा विभक्तिप्रत्यय लाग्दा तिर्यक्का विधानले ‘नु’-को ‘ना’ हुन्छ । जस्तै, हुनु + मा हुनामा, हुनु + ले = हुनाले, हुनु + साथ = हुनासाथ । तर हुनेबित्तिकै, हुनेबमोजिम आदि, किनभने बित्तिकै, बमोजिम आदि विभक्तिप्रत्यय होइनन् । एस नियमले ‘बाघ हुनुको सुन्दरता’ भन्ने पदमा ‘हुनुको’-का सट्टा ‘हुनाको’ चाहियो । तदनुसार ‘मेटाउनालाई’ । अर्को कुरो नेपालीमा ‘छ’ अवस्थानबोधक हो भने ‘हो’ चाहिं निर्धारक । ‘छ’ लोकेट्स, ‘हो’ डिफाइन्स –

छानामाथि फर्सी छ । छानामा देखिएको फर्सी हो । तदनुसार ‘बाघ हुनुको सुन्दरता यै छ ।’ भन्ने वाक्यमा ‘छ’-का सट्टा ‘हो’ का औचित्यले ‘बाघ हुनाको सुन्दरता यै हो’ साधु भयो ।

तिर्यक्का विधानले उकारान्त अथवा ओकारान्त शब्दको बहुवचन हुँदा आकारान्त हुन्छ । जस्तै, एकवचन कानु अथवा कानो, बहुवचन काना । तदनुसार चेप्टो>चेप्टा । तर डाडू> डाडूहरू, पन्यू> पन्यूहरू किनभने ‘डाडू’-को ‘डाडो’ हुँदैन, ‘पन्यू’-को पनि ‘पन्यो’ भन्ने भेद छैन ।

उक्त तिर्यक्का विधानले ओरालाकै, उम्रेका ढपूहरू, काला डाँडाहरू अथवा रूखहरू, मधुरा बिजुलीबत्तीहरू, बाटामा, घित्रामा, उज्यालामा आदि ।

ध्वनिविज्ञानले तो/दो हुने वर्तमानकालिक कृदन्त अघोषान्त क्रिया भए ‘तो’ औ घोषान्त भए ‘दो’ हुन्छ । जस्तै, भेट्ता, हाँस्तै, मच्चिंदो (नेपालीमा ‘मच्तु’ क्रिया हुँदैन, ‘मच्चिनु’ हुन्छ), टेक्तै, घोच्तै ।

नेपालीमा अन्तर्वर्ती ‘इ’-युक्त केही स्वाभाविक क्रिया हुन्छन्, अर्थात् ती कर्मवाच्य होइनन् । मच्चिनु, झुण्डिनु आदि तेस्ता क्रिया हुन् । ‘उभिनु’ पनि तिनैमध्येको हो अर्थात् ‘उभ्नु’ होइन । तेसो हुनाले ‘उभेर’ होइन, ‘उभिएर’ हुनुपर्छ । तुलनीय, ‘खित्खिताइन् उभिएरै’, ‘उभिए’, ‘झुण्ड्याएर’ (क्रिया ‘झुण्डिनु’ हुनाले । कर्तृवाच्यमा अन्तर्वर्ती ‘इ’ भए तेसको प्रेरणार्थक बनिंदा इ>य हुन्छ । झुण्डिनु> झुण्ड्याइनु) ।

‘बाघ’ शिरोनामाङ्कित कथामा कतिपय क्रियापदको अशुद्ध वर्णविन्यास देखिन्छ । कामना अथवा इच्छाको सूचक ‘बसुं’ होइन, ‘बसूं’ हो । ‘आउनु’ र ‘भयो’ बेग्लाबेग्लै छुट्टयाइए आउनु उचित भयो/थियो भन्ने अर्थ हुन्छ । सामान्य भूतकालिक क्रियापदका निम्ति ई दुवै जोरिन्छन् । एस विधानले ‘बिर्सनुहोला’ क्रियापद ‘बिर्सनु’-को भविष्य हो । ‘बिर्सनु’-लाई ‘होला’-ले छुट्टयाउँदा तेसको अर्थ बिर्सनु अन्यथा होओइन भन्ने अर्थ बुझिन्छ । एस प्रकार संयोग औ वियोगले अर्थभेद भएको स्पष्ट हुन्छ ।

अवश्यकर्तव्य बुझाउने सहायक क्रिया ‘पर्नु’ मुख्य क्रियासित जोरिन्छ । जस्तै, खानुपर्छ । तदनुसार ‘फर्कनुपर्दैन’ ।

‘नाक्ली’ भएपछि सारूप्यले ‘आँख्ली’ हुनु उचित होइन र ? किन ‘आँखली’ ?

अशुद्ध वर्णविन्यासका अन्य उदाहरण ‘चडेका’ (चढेका), ‘सन्यासी’ (सन्न्यासी; सत् + न्यास + ई, सन्न्यासी), ‘चकमन्द’ (चकमन्न) । नेपालीमा पश्चतालु भए तापनि ‘ड’ र ‘ढ’-का तल थोप्ली दिइन्न । आदौ ‘ड’ र ‘ढ’-को उच्चारण ‘ड़’ र ‘ढ़’ कदापि हुन्न, नेपालीका शब्दमा । अन्यत्र ई दुई अक्षरको उच्चारण स्वतः पश्चतालुबाट भइहाल्छ । काढ्नु, काँडा, गाड्नु, गाँड, डाँडो आदिमा नेपालीलाई कसको कस्तो उच्चारण हुन्छ सो स्वभावतः आइहाल्छ, अर्थात् सिकाइरहनुपर्दैन ।

समानता, तुल्यता आदिको बोधक ‘जस्तो’ शब्दसित जोरिन्छ । जस्तै, बत्तीजस्ती, बत्तीको जस्तै, बत्तीको समान, बत्तीको स्वरूप ।

हिन्दीका परित्याज्य शब्द : सिंडी (भरेङ), छत (छानो, कौसी), सिधा (सोझो), पन्नाहरू (पाताहरू), ‘पन्ना’ emerald, एकाएक (एक्कासि), एडी (कुर्कुच्चो)। जसको समानार्थक आगन्तुक शब्दभन्दा पनि राम्रो छ भने तेस्ता आफ्ना शब्दलाई बाद किन गर्ने ? होइन, आफ्ना भाषामा शब्द छँदै छैन भने अन्यत्रबाट लिनैपर्छ, के लाग्यो र । जस्तै, धाँधली, हडताल, समझदारी, सम्झौता आदि ।

काम नपाई छिचरो हुन खोजेको म होइन । हो, तपाईंले ‘हेरिदिनुहोला’ भन्नुभएको थियो । मैले र हेरेर केही लेख्ने धृष्टता गरें। तर मैले तपाईंका प्रति आक्रामक औ अपकारक हुने कुचेष्टा गरेको किमार्थ होइन । मेरा भनाइले तपाईं विप्रिय नहुनुहोला भन्ने ठानेर नै आफ्नो विचार जनाउने हियाउ गरिटोपलेको हुँ तापनि उच्चावच बुझिए क्षमा पाऊँ । तपाईंको स्नेहधन्य भएकाले लेखेको हुँ । तपाईंको स्नेह मेरा प्रति घट्नेछैन भन्ने ठानेको छु पनि ।

तपाईंले पुस्तकको सूची जनाएकामा मसित केवल बन्धकी राखिएको सिन्दूर थिएन । सो खरसानबाटै झिकाएको आइपुग्यो । अन्यबाट पाएका विवरणबाट गोडा दसेक थान मसित नभएका रहेछन् । सबै झिकाउनेछु । मार्चका अन्तसम्म लेख ‘साहित्य अकादेमी’लाई बुझाउनु थियो । तारीख नाघियो र सो नगुज्रियोस् भनी थप एक महीनाका निम्ति मन्जूरी गराएको छु ।

विशेष किं । पत्रोत्तर पाए कृतकार्य हुने थिएँ ।

तपाईंको सधैं भलो चिताउने उही

श्रीईश्वर बरालोपाध्याय

– – – –

प्रत्युत्तरमा लेखेको रहेछु :

२, लोच नगर,

दार्जीलिङ,

२२ अप्रिल, १९८९

सेवामा

डा. ईश्वर बराल |

प्रियवर महोदय,

आफ्नो बहुमूल्य समय खर्ची ‘बाघ’ कथाको भाषामा व्याकरणिक त्रुटिहरू देखी लेखिपठाउनुभएको आत्मीयताले भिजेको पत्र पाई धेरै चाख लिई पढें । यहाँलाई विश्वास गराउन चाहन्छु ती ‘त्रुटिहरू’ लेख्दा मैले केही सोचविचार गरेरै लेखेको हुँ ।

नेपालको नेपाली व्याकरणहरूमा दिइएको कति नियमहरू मैले नपछ्याएको कारण दुइटा छ :

इन्द्रबहादुर राई

१. भारतको दार्जीलिङ, सिक्किम, डुवर्सतर्फका नेपालीहरूको मानसिकतालाई यहाँ बोलिने रूपको नेपाली भाषाले नै ठीकसित भनिदिन्छ लागेर मैले त्यसरी नै लेख्न थालेको छु । यहाँ बोलिंदै नबोलिने खालको नेपालीमा लेख्दा प्रकाशनाहरू कृत्रिम र असत्यता पसेको जस्तो लाग्छ हामीलाई । नेपालका लेखकहरूले यताको भाषाको सिको गरेर लेखे उनीहरूलाई त्यस्तै अनुभव नहोला ?

२. कृतिको वैशेषिक साहित्यिक सत्ताले भाषा जस्तो माग्छ त्यस्तै दिंदछु ।

पहिलो कारणमाथि केही बिचार्दै एउटा लेख ‘भारतीय नेपाली भाषातिर’ छपाएको छु । यहाँले हेर्नलाई त्यसको जेरक्सप्रति पठाउँदै छु ।

यस विषयमा यहाँले पनि सोचिदिनुहुन्यै छ मान्दै,

अनि यहाँको कुशलता चाहँदै,

विश्वस्त,

इन्द्रबहादुर राई

 

पुनश्च :

केही स्पष्टीकरण

  • ‘गोलगोल’भन्दा यहाँ ‘गोल-गोल’ लेख्नु लेखाचित्रीय (ग्राफिक) हुन्छ ।

बाघको जीउका चापाकार धारीहरू, दुवै पाटाका हेर्दै, गोल-गोल (वृत्ताकार) देखिन् राधिकाले । वाक्यहरू लेखिएका छन् उसकै देखाइको अनुभूतिले : वास्तविकमाथि आनुभूतिक लेखन । (बाघले) ‘गोल-गोल धर्काहरूबाट गोल आँखाहरूले हेर्यो ।’ वास्तविक ‘धारीहरू’ नलेखी आनुभूतिक ‘धर्काहरू’ ।

  • ‘ले’ विभक्ति लाग्दा मात्र क्रियामा ‘नु’ को ‘ना’ हुने नियम रहोस् (हुनाले, भन्नाले, गर्नाले आदि) । अरू विभक्ति लाग्दा यस्तो तिर्यक् रूप हुनुपर्दैन- गर्नलाई, भन्नमा, हुनको (हुनुको) जस्तो ।
  • ‘बाघको ब्युटी केमा छ ?’ पनि सोधेको छ गोविन्दले कथामा त्यहीं । अंग्रेजी पाराका भनाइ र सोचाइको उसमा प्रभावाङ्कन पनि हो यहाँले टिप्नुभएको वाक्य ।
  • निर्जीव वा अलिङ्गी वस्तुहरूलाई एकवचनरूप क्रिया दिंदा हुने सकार मध्यचन्द्रिकाले उहिल्यै दिएको हो । त्यसअनुसारकै संज्ञा र विशेषण अब राख्दै छौं । यताको बोलाइसित मिल्दो हुन्छ । ‘कालो रूखहरूमनि लहरै पहेँलो मधुरो बिजुलीबत्तीहरू बलेको ।’ कहीं तर श्रुतिमाधुर्य र चित्रसौन्दर्यमा क्षति भएको लाग्छ ।
  • भाववाची संज्ञा नेपालीमा पनि असङ्ख्येय मान्नु अंग्रेजी व्याकरणको ‘काउन्टेबल, अन्काउन्टेबल नाउन्स’को भेद ओसारिएको नहोला ?
  • अघोषान्त क्रियामा सधैं ‘तो’ हुनैपर्ने भए ‘सुक्ता’ (लुगा सुक्ता) वैयाकरणहरूले भन्दा हुन् तर लेखेको देखिएन । व्याकरण वर्ण र शब्दहरूसँगका सम्बन्धहरूमा सीमित हुनु हुँदैन, व्याकरणको सम्बन्ध त्यस भाषा बोल्नेहरूका मनोविज्ञान र सामाजिकतासित पनि हुनपर्छ । प्रियता र परिष्कृतिको व्यञ्जनामा ‘तो’ क्रोध र सामान्य व्यक्ताउँदा ‘दो’ बोल्दा आइहालेको क्रिया अघोषान्त वा घोषान्त भएर मात्र होइन ।
  • ‘उभेर’ नहुने भए ‘बसेर’ कसरी भएको ? ‘बसिएर’ (‘उभिएर’को साम्यानुमानिक रूप) किन नचलेको । उभेर, उभिएर दुवै रूप ठीकै छन् ।
  • वाक्यिक अर्थले लाग्छन् वाक्यभित्रका शब्दका, शब्दयोजन र शब्दवियोजनका अर्थ । बिर्सनुहोला, बिर्सिहाल्नुहोला, नबिर्सिदिनुहोलाजस्ता शब्दलेखनहरूमाथि पुनर्विचार गर्नुपर्ला ।
  • हो, ‘वैरागी’ (तत्समरूप) भन्न सक्ने नायकले ‘सन्न्यासी’ (तत्समरूप) भन्नुपर्ने हो । तद्भवरूप ‘बैरागी’सँग भए ‘सन्यासी’ लेख्दा हुन्थ्यो ।
  • सिंडी, छत, सिधा, पन्ना, एकाएक शब्द सबैले नेपाली बृहत् शब्दकोशमा स्थान पाएका छन् । कथामा ‘एडी’ स्यान्डलको एडी हो ।
  • ‘आँख्ली’ आँखा बाहिर निस्केकी हुँदा ठूला तर बसेका आँखाकी बताउन ‘आंखली’ बनाएको ।
  • ड़ ढ़ नलेख्ने भएकाहरूले कथेको ‘नियम’ मात्र हो त्यो । भारतीय नेपाली हामी सहजतासित र स्वाभाविक तौरले ड़ ढ़ उच्चारण गर्दै छौं अनि कसरी नलेख्ने ?

सदासम्मान्य डा. ईश्वर बराल अब हुनुहुन्न । उहाँबाट दुईतीन अरू पत्र पनि पाएको हुँ, अहिले खोज्दा पाइएन । उहाँको यो पत्र पनि हराउंला आतङ्क लागी आज यो यहां राखें ।

(‘ईश्वर बराल : कृति र कीर्ति: २७’बाट)