पश्चिमी जगतमा नारीवाद सिद्धान्तको ग्रान्डमदरको रूपमा चिनिने मेरी वल्सटन काप्टद्वारा सन् १७९२ मा लिखित ‘ए विन्डिकेशन अफ द राइटस अफ वुमेन (A Vindication of the Rights of Woman)’ लाई नारीवाद सिद्धान्तको आधिकारिक पुस्तकको रूपमा लिएको पाइन्छ । नारीवादी सिद्धान्तलाई अघि बढाउन मेरी वल्सटन क्राफ्ट, हेरियट टेलर, जानँ स्टुअर्ट मिल, एलिजावेथ कैडी स्टैंटन, लगायत वर्जिनीया वुल्फ पनि हुन् ।

वुल्फको सन् १९२८ मा लेखिएको पुस्तक ‘ए रूम अफ वान्स ओन’ हालसम्म निकै चर्चामा रहेको छ ।  यस पुस्तकमा उनी भन्छिन्, “यदि कुनै स्त्रीलाई कथा साहित्य लेख्नु हो भने उसकोमा आफूसँग पैसा र एउटा कोठा हुनु पर्दछ ।” उनको यो भनाइ स्त्री स्वतन्त्रतासँग सम्बन्धित छ । उनले स्त्री लेखन‌लाई महत्व दिं‌दै स्त्री लेखनमा आइपर्ने समस्याहरू बौद्धिक तथा तार्किक ढङ्गमा उदाहरणहरू प्रस्तुत गरेकी छन् ।

उनको उक्त पुस्तकमा एउटी स्त्री लेखक बन्न कति समस्याहरू झेल्नु पर्दछ अनि ती समस्याहरूबाट फुल्केर यदि ऊ लेखक हुन्छ भने पनि यसको निम्ति पैसा र एउटा कोठा हुनुपर्ने कुरामा जोड दिंदै एउटा छुट्टै मुद्दामा वुल्फ अघि बढेकी छिन् । स्त्री सम्बन्धित जुनै मुद्दामा पनि पुरुषप्रधान नैतिकता उनीहरूको अगि खडा भइदिएकै छन् । स्त्रीपुरुष दुवैमा सिर्जनात्मक क्षेत्रको निम्ति जुन परिवेश हुनु पर्दछ सोही परिवेश स्त्रीहरूको निम्ति अनुकूल हुँदैन । किनकि स्त्री पुरुषमा जुन सामाजिक लैंगिक विभेद छन्, यस व्यवस्थाले स्त्रीलाई कुनै अधिकारको अवसर दिंदैन ।

एउटा वृद्ध सज्जनले भनेको कुरा वुल्फ यसरी राख्छिन्, “विगत वर्तमान वा भविष्यमा कुनै पनि स्त्रीको लागि शेक्सपियरको जस्तो असाधारण बौद्धिक क्षमता हुनु सम्भव छैन ।”

तत्कालीन समयावस्थालाई नियाल्दै  उनी आफ्नो विचार खोल्छिन्, “त्यसबेला शेक्सपियरको पुस्तक कुनै स्त्रीले लेख्नु सम्भव थिएन, किनभने त्यसबेला साहित्य सिर्जना गर्ने जुन परिवेश आवश्यक हुँदछ त्यो परिवेश स्त्रीहरु‌को निम्ति उपलब्ध थिएन ।” यस विषयलाई बुझाउन  वुल्फले शेक्सपियरकी बहिनी जुडिथको कल्पना गर्छिन्, “जुडिथ जति नै प्रतिभा सम्पन्न भए पनि उनले आफ्नो प्रतिभालाई खोलेर प्रर्दशन गर्नसक्ने थिइन । उनको भाइ (शेक्सपियर) जस्तो परिवेश उनले पाउने थिइन, यदि उनको प्रतिभा फस्टाए भने पनि उनले छद्म नाममा लेख्नुपर्ने थियो ।” वुल्फको उक्त उदाहरण शेक्सपियर‌को समयको भए पनि एक्काइसौँ शताब्दीमा पनि वुल्फको यो पुस्तक प्रायोगिक नै छ ।

हुन त अहिले स्त्री लेखकहरूले विशिष्ट ख्याति प्राप्त गर्नको साथै विशिष्ट कोटिको पुस्तक सिर्जना गरिसकेका छन् । उनीहरूले छद्म नाममा आफ्नो पुस्तक प्रकाशित गर्नुपर्ने वाद्यता छैन, तर लेख्नुको निम्ति चाहिने अनुकूल परिवेश अहिले पनि उस्तै छन् ! यसैले पनि विश्वमा सर्वाधिक पुस्तक लेख्ने प्रसिद्धि पुरुषले नै कायम गरिराखेका छन् ! किन स्त्रीहरूले पुरुषको तुलनामा सर्वाधिक पुस्तक लेख्न सकेनन् ! यसको मुख्य कारण लैंगिक विभेद हो । हुन त अहिलेघर स्त्रीहरूले केही हदसम्म स्वतन्त्रता र अधिकार प्राप्त गरे पनि पुरुषप्रधान सामाजिक नैतिकताबाट पूर्ण मुक्ति भने पाउन सकेका छैनन् । वुल्फको उक्त पुस्तकमा आफ्नो एउटा कोठाको वैचारिक पक्ष वर्तमान समयमा पनि अति नै सान्दर्भिक भेटिन्छ ।

वुल्फको ‘ए रूम अफ वान्स ओन’ पुस्तकको वैचारिक पक्षको मनन गर्नु हो भने हामी एक्कासौँ शताब्दीको मुखैमा लेखिएको विन्द्‌या सुब्बाको ‘निर्गमन’ उपन्यासमा मुख्य नायिका तृष्णाको समस्याहरू वुल्फकै वैचारिक पक्षमा डुबुल्की लगाइरहेको अनुभूति गर्नुपर्ने हुन्छ ।

भारतीय नेपाली साहित्य क्षेत्रमा विन्द्या सुब्बा एक सशक्त स्त्री हस्ताक्षर हुन् । उनको हालसम्म तेइसौँ पुस्तक प्रकाशित भइसकेका छन् । त्यसमध्ये ‘निर्गमन’ उपन्यास सन् २००६ सालमा प्रकाशित भएको हो ।

निर्गमन उपन्यासको मुख्य नायिका तृष्णा पलायन हुनुका कारणहरू विभिन्न पात्र-पात्राद्वारा आ-आफ्नो बुझाइ र मानसिकताको भरमा अडकल गर्दा द्वन्द्व कै रूपमा उपन्यास‌को विषयवस्तु देखा पर्दछ । यति हुँदाहुँदै उपन्यासको अन्तमा पुग्दा पनि यो द्वन्द्वको रहस्य उपन्यासकारले प्रकटित गर्दिनन् । विभिन्न पात्र-पात्राहरू मध्ये अक्षय र सम्पूर्णले मात्र तृष्णाले घर छोड्नको कारणहरू केही हदसम्म बुझ्ने प्रयास गरिएको भए पनि  दुवैको बुझाइमा पनि पृथकता रहेका छन् । तर यी दुवैको पृथक् बुझाइको सम्मिश्रण तृष्णाले घर छाड्नु हो ।

सुब्बाद्वारा रचित यस उपन्यासको मुख्य नायिका तृष्णा उपन्यासभरि एउटा छाया बाहेक उनको भौतिक शरीर देखा पर्दैन, उनी मात्र सम्झनाको तरेलीमा परिवार, साथी-भाइहरूको मन मस्तिष्कमा घुमिरहन्छिन्, तृष्णा अदृश्य रहेर पनि उपन्यासको प्राण उनी नै हुन् ।

तृष्णा पलायन भइसकेपछि मात्र उपन्यास शुरू हुँदछ । उनको घर छोड्‌नुको विषय झ्याङ्गि‌एर विशाल रूप ग्रहण गरी एउटा रहस्यभित्र गुटमुटिएको छ । तर यो रहस्य रहस्यको रूपमा रहँदैन । एक्काइसौँ शताब्दीको साहित्य लेखनमा स्त्रीहरू कसरी पुरुषप्रधान नैतिकतासँग जुझेर आफ्नो एकमुट्ठी जमीनको लागि संघर्ष गर्नु परिरहेछ भन्ने तृष्णाको माध्यमबाट उपन्यासकारले दर्शाएका छन् । जुन वर्जिनिया वुल्फले  बीसौँ शताब्दीको पूर्वाधारमा चर्चा बनाइसकेको मुद्दा हो । यहीँ मुद्दालाई हामी  ‘निर्गमन’ उपन्यासको माध्यमबाट बुझ्नसक्छौं ।

तर सुब्बाको उपन्यासको नायिका तृष्णा स्वावलम्बी छन् अर्थात् उनकोमा प्रशस्त पैसा छ जबकि लेखनको निम्ति वुल्फले स्त्रीहरूमा पैसा र कोठा हुन पर्दछ भनेकी छिन् । सुब्बाको उपन्यास पढेर हामी के बुझ्नु सक्छौं भने पैसा मात्र भएर पनि नहुँदो रहेछ, अर्थात् पैसासँगै आफ्नो एउटा जमीन हुनु आवश्यक हुँदा रहेछ । तृष्णासँग पैसा भएर पनि साहित्य सिर्जनाको निम्ति उनको आफ्नो जमीन थिएन । अब यही जमीनको निम्ति उनी विद्रोही बनेर पलायन भएकी हुन् भन्ने विषयलाई खोजमेल गर्न उपन्यासको विषयवस्तुभित्र पात्र-पात्राका वैचारिक पक्षमा ध्यानाकर्षण गर्ने प्रयास गरौं ।

उपन्यासको नायिका तृष्णा एक उच्च ओहोदामा कार्यरत प्रोफेसर हुनुको साथै प्रतिभा सम्पन्न लेखक हुन् । उनलाई आफ्नो सिर्जनात्मक क्षेत्रको धेरै मोह छ । उनले गृहस्थी जीवनमा स्त्रीहरू‌को दायित्वबोध भन्दा धेरै भारहरू वहन गर्नुपर्ने  बाध्यताहरू बुझेर नै विवाह गर्नुअघि तृष्णाले अक्षयलाई भनेकी थिइन्, “… तपाईं यति शिक्षित व्यक्ति बुझ्न सक्नु हुन्छ – खुराक पुर्‍याउनु चर्को भए पनि एउटा हात्ती पाल्नु सजिलो छ तर एउटा प्रतिबद्ध लेखकलाई घरभित्र निर्वाह गर्ने शायद उति सहज नहोला … निकै ठूलो मन हुनु पर्‍यो एउटा लेखकलाई स्वीकार गर्ने मान्छेको पनि ।“ (१८)

तृष्णा फेरि थपिन्, “अक्षयजी इमान्दारी साथ भनेको मेरो कर्मबोध र जीवनबोध अर्कै छ, लेखन मेरो खोजको माध्यम मार्ग र साधना ।” (१८)

आफ्नो सिर्जनात्मक क्षेत्रमा बाधा आउने सम्भावनालाई पन्छ्‌याउन जुन अक्षयमाथि आशावादी भई उपरोक्त कुरा भनेकी थिई, तर अक्ष‌यबाट उनले लेखन‌को निम्ति एउटा निजी कोठा वा सही परिवेश प्राप्त गर्न सकेनन्, बरु गृहिणी बाहेक उनको त्यस घरमा कुनै मूल्य थिएन, आफ्नो इच्छाहरू दबिएको कारण उनमा विरोधको भाव उब्जिरहेको थियो ।

गृहस्थी जीवन‌मा एउटी स्त्रीको बाध्यता, समस्याहरू अति नै विचारणीय पक्षहरू हुन्, यसलाई उपन्यासकार यसरी राख्छिन् – “जबसम्म खुम्चिएर परिवारद्वारा निर्धारित कर्महरूभित्र कर्तव्यशील छे, सबैमाझ हुँदछ, ऊ अन्यथा उसको सपनाहरूसाथ आकांक्षाहरूसाथ उसको उड्न र अभिप्राप्तिहरूलाई स्वीकार गरिदिने उदार मन र उन्नत मस्तिष्क एक हातकै औँलामा मात्र पनि गाह्रो होला जस्तो हुन्छ । घरीघरी एक्लै हुन्छे नारी  र सम्झौतापछि र व्यक्तिगत कामनालाई हातबाट छोडिदिएपछि मात्र पुनः भीडभित्र बस्न पाउँछ ।” (८४)

सुब्बाको यो भनाइ हेर्नलाई सरल होला तर जति गहिरिएर सोच्यो बुझ्न उति असहज हुन्छ । विवाहित स्त्रीको लागि आफ्नो लेखन कायम राख्न झनै कठिन  हुनपुग्छ ।

वैवाहिक जीवनकालमा बिताएका छ वर्षको आरोह-अवरोह‌मा परिवारप्रति कर्तव्यशील रहँदा-रहँदै उब्रेको समयमा उनले आफ्नो प्रतिभा प्रकाशवान् गर्थिन् तृष्णा । जुन कुराको छनक कसैले पाएको थिएन यसरी लुकाछुपी फुर्सद‌मा आफ्नो प्रतिभा कागजमा नकोरिएको भए उनको यो प्रतिभा विर्सजन हुने अवस्था आइपर्ने थियो । लेखनको निम्ति हुनुपर्ने अनुकूल परिवेश तृष्णाको जीवनमा सम्भव थिएन, तर पनि उनको लेखन क्षमतालाई घर-गृहस्थी कै कर्तव्यबोधमा विर्सजन गर्न दिएको थिइन, यसै पनि अक्षयलाई बारम्बार सिर्जनात्मक क्षेत्रको विषयमा अवगत गराउन छाडेकी थिइन, उनले बुझेकी थिइन् लेखनको निम्ति एउटा आफ्नो निजी कोठा हुनु अति आवश्यक छ । एकदिन तृष्णाले आफ्नो लोग्ने अक्षयलाई भनेकी थिई – “पापा यहाँनेर मेरो निम्ति एउटा ठूलो झ्याल भएको पुस्तकालय बनाइदिनुहोस् न, लेख्ने-पढने एउटा कोठा ।” (८४)

यस विषयमा तृष्णा कति गम्भीर थिइन् तर अक्षयले उपेक्षा गर्‍यो । तृष्णाले घर छोडेपछि मात्र अक्षयले तृष्णाको अनुरोध गम्भीर थियो भन्ने बुझ्यो ।

तृष्णाको माध्यमद्वारा सुब्बाले बुझाउन चाहेकी छन्, स्त्री लेखकहरूलाई साहित्य सिर्जना गर्न पुरुषको तुलनामा निकै गाह्रो हुँदछ, विशेष वैवाहिक जीवनमा रहेका स्त्रीहरूको निम्ति । यसैले तृष्णा स्वतन्त्रता तथा सिर्जनात्मक क्षेत्रको खोजीमा पलायन भइन् र यो पलायन साधारण छैन । स्त्री लेखकलाई परिवार बीच आफ्नो स्वतन्त्र चिन्तनको रूप दिन विभिन्न समस्याहरूसँग जुझ्नु पर्दछ ।

यसरी नै सिर्जनात्मक क्षेत्रमा स्त्रीपुरुष माझ लैंगिक विभेद छँदैछन् । यदि पुरुष लेखक हुनु हो भने स्त्री सरह ऊ घर परिवारप्रति खण्डित भएर आफ्ना इच्छाहरू दबाउनु पर्ने स्थिति हुने थिएन । उसले सिर्जनात्मक क्षेत्रमा मात्र होइन, प्रत्येक क्षेत्रमा स्वतन्त्रताको साथमा आफ्ना इच्छाहरू पूर्ति गर्नसक्ने परिस्थिति हुने थियो ।

तृष्णामा यहीँ परिस्थिति साम्य नहुँदा घर परिवार विखण्डित  भएको आरोप लागेको छ, यसको विरोध गर्दै उनी भन्थिन् – “एउटा घरभित्र राम्रो-नराम्रोको निम्ति किन नारी मात्र सबै कुराको लागि जिम्मेवार हुन्छ ? मेरो ठाउँमा आज तपाईं लेखक भएको भए यो घरलाई विश्रंखला मानिने थियो र ? (४६)

तृष्णाले आफूमा भएको प्रतिभा घर गृहस्थी कै कर्तव्यबोधमा द‌बिएर जाने सम्भावनालाई बुझेकी थिइन्, यसैले घरीघरी आफ्नो लोग्नेलाई आफ्नो इच्छा जताउने हुँदा अक्षयको पुरुष अभिमानले कहिलेकाहीँ रन्थनिने गरी गर्जिन्थ्यो – “तृष्णा तिमीले त बरु बिहा नै नगरेको भए हुने ।” (४६)

उपन्यासकारले अक्षयलाई दोषमुक्त राखेको भए पनि तृष्णासँग बेलाबेलामा रन्थनिनु, रक्सी खाएर घर फर्किनु सम्पूर्ण (उसको पूर्व प्रेमिका) सँग पत्रचार गर्नु जस्ता अनेकौँ स्वभावले एउटी ग्रहणी स्त्री कतिसम्म शोषित उत्पीडित थिइन् हामी अनुमान लाउन सक्छौं । हुन त सम्पूर्णको विषयमा एकतर्फी प्रेम भनेर अक्षयलाई फुक्को राखिदि‌एको भए पनि सम्पूर्ण उसको पूर्व प्रेमिका थिइन् भन्ने कुरा तृष्णासगँ लुकेको थिइन सायद, न पाठकसँग लुकेको छ । यस्तो विषयले सिर्जनात्मक क्षेत्रमा बाधा उत्पन्न गराउन मात्र होइन  तृष्णाको मनमस्तिष्क अस्वस्थ्य बनाएको  हुनसक्छ ।

मेहेरमान सुब्बा भन्छन् – “… पुरुष प्रभुत्व समाजमा स्त्री र पुरुष बीच समान अधिकार दिएको छैन । वैयक्तिक रूपमा स्त्री र पुरुषलाई समान दृ‌ष्टिले नहेरिनु‌को पछि पनि यही समान अधिकार नपाएकै कारण हो । जति नै पढे वा शिक्षित भए पनि र आर्थिक रूपले स्वतन्त्र भए पनि पितृ‌सत्तात्मक सामाजिक व्यवस्थामा स्त्री र पुरुषबिच समानाधिकार छैन ।“ (३३)

पितृसत्तात्मक सामाजिक व्यवस्थामा लैंगिक विभेद‌ विद्‌यामान रहेको कुरा तृष्णाले वैवाहिक जीवनपछि धेर बुझिन्, यसैले उनको लेखन प्रतिभा नारीवादी सिद्धान्त तर्फ आकृष्ट हुँदछ, परिणाम स्वरूप उनको ‘एर्श्वायमयी’ उपन्यासमा प्रचुर नारीवादी अवधारण समिटिएको भेट्छौं ।

वुल्फले भनेकी छिन् – “इतिहास पुनः लेख्नुहोस् ! … किन इतिहासमा पूरक अध्याय थप्न सक्दैनन् !” (८६)

यसको तात्पर्य अहिलेसम्मको जति पनि साहित्य इतिहास छन्  त्यो पुरुषद्वारा लेखिएका हुनाले स्त्रीहरूले न्याय पाउन सकेका छैनन् । साहित्य इतिहास निर्माणमा पुरुषहरूले स्त्री द्वषीद्वारा उनीहरूलाई कि त पुरुषकै (सहायक) छायाको रूपमा हेरे, कि दुर्बल हीनभावनाद्वारा व्याख्या गरेका छन् । उनीहरूलाई अवहेलनाको दृष्टिकोण राखेर  पुरुषलाई धेर महत्व दिएर लेखिएका साहित्य इतिहास पूर्ण लेख्ने तथा यसका पूरक अध्याय थप्न सकिने विचार व्यक्त गर्दै साहित्य लेखनको शुरूवातमा यी विषय सम्भव थिएन भनेर वुल्फले कलेजका विद्यार्थीहरूलाई सम्बोधन गरेका हुन् ।

अब सुब्बा पनि वुल्फ कै मतमा समर्थन जनाउँदै भन्छिन् – “पौराणिक कालका ती नारीहरूको दुःख उनीहरु माथिको अन्याय र उनीहरूले दिनुपरेको परीक्षाहरू नितान्त यथार्थ नभएर ती काव्य / महाकाव्यका  स्रष्टा द्रष्टाहरूका कल्पना र मनका उपज पनि हुन् ।” (८३)

आलोचक दिपक तिवारीको विचारमा एक्कासौँ शताब्दी भएर बलशाली वर्तमानमा आइपुग्दा समेत नारीलाई केवल भोगको साधन ठान्ने र वस्तु-भाउ सरह व्यवहार गरिने सङ्कीर्ण पुरुषवादी मानसिकताको तीव्र संकेतात्मक विरोध यसमा पाइन्छ ।

तृष्णाले गरेको विरोध केही हदसम्म संकेतात्मक जस्तो देखिए पनि यसलाई संकेतात्मक विरोध मात्र भन्नु उचित देखिन्न ।

यसरी नै रूपेश शर्मा लेख्छन् – “निर्गमन उपन्यासलाई समालोचकहरू नारीवादी कोणबाट व्याख्या गर्न थालेका छन् । आफ्नो अस्तित्व चेतनाको कारण पति र परिवार त्याग्न पुगेकी नारी तृष्णाको गृहत्याग नारी अस्मिता र अस्तित्वको रक्षार्थका लागि हो कि वैयक्तिक स्वतन्त्रताका लागि हो भन्ने कुरामा उपन्यासमा स्पष्ट छैन ।”

उपन्यासकारले तृष्णा पलायन हुनुको कारण नखोल्नु यो उनको शिल्पविधानको विशिष्ट पक्ष मान्नु पर्ने हुँदछ, उनले यस विषयमा पाठकदेखि आलोचक समेतलाई बोधो तुल्याएकी छिन् । तर  तृष्णाले घर छोड्नु परमार्थ (बौद्ध दर्शन) वा मोक्ष प्राप्तिको निम्ति होइन बरु स्त्री अस्मिता, अस्तित्व,  समानता, स्वतन्त्रता र मानव अधिकारको निम्ति हो भन्ने विषय भने प्रस्ट हुँदछ ।

पुरुषप्रधान सामाजिक तन्त्रको विरोध गर्दै स्त्रीपुरुष समानताको पक्षमा तृष्णा भन्छिन्, “धेरै जस्तो विचारका क्षणहरूमा न नारी न पुरुष केवल एक मानव सम्झन्छु आफूलाई र यहीँ हाम्रो व्यवस्थामा पनि यो लिङ्ग भेद‌को पर्खाल भत्किऊन् ।” (४०)

तृष्णाको एर्श्वायमयी उपन्यासमा नायिका प्रतिभाको पितृसत्तात्मक समाजप्रति जुन क्षोभ र विद्रोह थियो, वास्तवमा यो तृष्णा कै मौन विरोध हुन् ।

राजकुमार छेत्रीको विचारमा पाइन्छ- “नायिका तृष्णाको अभीष्ट परमार्थको खोज, जीवन‌को परम सत्य र अर्थको खोजी अनि त्यसको साधनाको मूल माध्यम साहित्य लेखन रहेको छ ।”

हो तृष्णाले घर छोड्नु उनको सिर्जनात्मक मूल्यमा उत्पन्न हुने समस्याहरूको विरोध गरिएको भेटिन्छ, यसरी लीला लुइँटेल भन्छन् – “नारी प्रतिभाको विकासका लागि उपयुक्त वातावरणको सिर्जना गरिदिनु पर्ने भावको अभिव्यक्ति पाइन्छ ।”

यस उपन्यासमा  साधारण भावको रुन्चे अभिव्यक्ति होइन बरु प्रबल विद्रोह पाइन्छ ।

 

निष्कर्ष:-

निगर्मन उपन्यास यस्तो उपन्यास हो जुन वर्जिनीय वुल्फको ‘ए रूम अफ वान्स ओन’ पुस्तक अध्ययन नगरी यसको सही मूल्याङ्कन गर्न मिल्दैन । वुल्फले स्त्री लेखकहरूमा आइपर्ने समस्याहरू शेक्सपियरको समयदेखि बीसौं शताब्दीको अवधिमा तुलनात्मक हेरफेर देखाएको भए पनि तृष्णा यस्तो ज्वलन्त उदाहरण हुन्, जो एकाइसौँ शताब्दीमा पनि उनी सिर्जनाको निम्ति अनुकूल परिवेशबाट वञ्चित भएकी छिन् ।  उनको जति पनि समस्याहरू छन्, ती सबै समस्याहरू एउटा निजी कोठा नहुनुको कारणबाट उत्पन्न भएको छ अर्थात् तृष्णाको स्वतन्त्रता हनन भएको छ । यसैले उनी पलायन भएर विद्रोही बनेकी छिन् ।

मकैबारी, खरसाङ्ग