साहित्य सिर्जना गर्नु एउटा कुरा, अनि साहित्यिक गतिविधि गर्नु अर्को कुरा । र यी दुवै कुरामा एकसाथ उत्तिकै सक्रियताका साथ लाग्नु झन् अर्कै कुरा । साहित्यलेखन र विभिन्न साहित्यिक गतिविधिमा बराबर सक्रियता राख्नसक्ने व्यक्तिहरू मध्ये एउटा नाम हो – सुमित्रा सुमी । जो नुवाकोटमा बसेर लामो समयदेखि साहित्य साधनामा निरन्तर लागिरहनुभएको छ ।
नेपाली साहित्यमा उहाँको सक्रियता र लगनशीललाई उच्च सम्मान गर्दै नुवाकोट सेवा समाजले कवि तथा गजलकार सुमीलाई साहित्यिक कार्यक्रमका लागि युएई निमन्त्रणा गर्यो । छिमेकी राष्ट्र भारतपछि यो उहाँको दोस्रो अन्तर्राष्ट्रिय प्रस्तुति थियो । युएईले अन्य कवि/गजलकारहरूलाई पनि अन्तर्राष्ट्रिय प्रस्तुतिको स्वाद चखाइसकेको छ ।
नुवाकोट सेवा समाजले गत जुलाई २८ तारिख आइतबार दुबईमा आयोजना गरेको “बृहत् साहित्यिक कार्यक्रम २०२४” मा सहभागी हुन कवि/गजलकार सुमी विशेष अतिथि स्रष्टाको रूपमा युएई आउनुभएको थियो । कार्यक्रमसँगै केही दिनको युएई घुमघामपछि उहाँ नेपाल फर्किसक्नुभएको छ ।
शिक्षण पेशामा आबद्ध उहाँ सगरमाथा साहित्य प्रतिष्ठान युएईकी केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले नुवाकोट एफएममा लामो समयदेखि साहित्यिक कार्यक्रम समेत सञ्चालन गर्दै आउनुभएको छ । साहित्य सङ्गम नुवाकोटकी अध्यक्ष समेत रहनु भएकी सुमी लेखनमा जति सक्रिय हुनुहुन्छ त्यति नै विभिन्न साहित्यिक कर्ममा पनि सक्रिय हुनुहुन्छ ।
यिनै सक्रिय नारी स्रष्टा सुमीसँग युएईको साहित्यिक भ्रमणमा केन्द्रित रहेर साहित्यपोस्टका लागि मैले केही कुराकानी गरेको थिएँ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश…
साहित्यिक कार्यक्रमका लागि तपाईं दुबई पनि आइपुग्नुभयो । कस्तो रह्यो युएईको साहित्यिक यात्रा ?
– देशको हिसाबले साहित्यिक कार्यक्रममा नेपालबाहिर सन् २०१७ मा पहिलो पटक छिमेकी राष्ट्र भारत र त्यसपछि पनि भारतका विभिन्न प्रान्तहरूमा साहित्यिक कार्यक्रममा गएको सम्झिरहेकी छु । त्यसपश्चात् साहित्य यात्रासँग जोडिएर युएईको यात्रा गर्ने अवसर प्राप्त भयो । यो मेरो लागि साहित्य लेखेर के हुन्छ ? के पाउँछेस् भन्नेहरूको लागि बनेको उत्कृष्ट जवाफ हो । थोरै शब्दमा युएई यात्राको अनुभव समेटिँदैन । एउटा नियात्रा संग्रह नै तयार हुन्छ । समग्रमा निकै उत्कृष्ट, भव्य र अविस्मरणीय रह्यो युएईको साहित्य यात्रा ।
यसअघि साहित्यपोस्ट सँगकै कुराकानीमा तपाईंले युएईले गरेको साहित्यिक निमन्त्रणाले आफ्नो लागि मात्रै नभएर सिङ्गो नेपाली भाषा-साहित्यप्रति उच्च सम्मान प्रकट गरेको विचार राख्नुभएको थियो । कोही एउटा सर्जक अन्तर्राष्ट्रिय मञ्चमा उभिंदैमा त्यसलाई सिङ्गो साहित्यसँग जोड्नु कति सान्दर्भिक होला ?
– सर्जक एउटा व्यक्ति मात्र भएर मञ्च ओगट्दैन । सर्जकले साहित्य सिर्जना र लाखौं करोडौं नेपाली भाषा साहित्यलाई माया गर्ने दर्शक, पाठक तथा श्रोताको हृदय लिएर मञ्चमा उभिएको हुन्छ । त्यसैले पनि एउटा जो कोही सर्जक मञ्चमा उभियो भने नेपाली भाषा साहित्यको सम्मानको खातिर शब्दका पुष्पगुच्छा अर्पिरहेको हुन्छ । मेरो यसअघिको भनाइ तपाईंलाई असान्दर्भिक लाग्नुपर्ने केही छ र ?
साहित्यिक कार्यक्रमका लागि तपाईं युएई आउने खबर सार्वजनिक भएपछि र कार्यक्रम सकेर नेपाल फर्किएपछि के कस्ता प्रतिक्रियाहरू पाउनुभयो ?
– आफ्नो प्रशंसा आफैँले गरेको सुहाउँदैन । नेपाली साहित्य जगतमा एउटा इतिहास रचिएको छ भन्नुहुन्छ । त्यो त के हो, तपाईंहरूलाई नै सोध्न मन छ ।
तपाईं लामो समयदेखि साहित्यलेखन र साहित्यिक गतिविधिमा निकै सक्रिय हुनुहुन्छ । साहित्यको यो प्रवास यात्राले भोलिका दिनमा तपाईंको लेखन र व्यक्तिगत जीवनमा कस्तो प्रभाव पार्ला भन्ने लाग्छ ?
– “कर्म गर फलको आशा नगर” भन्ने भनाइ आत्मसात गरेर अगाडि बढ्ने मान्छे हुँ म । मेरो कर्म र मेरा शुभचिन्तकहरूको आशीर्वाद, प्रेरणाको प्रतिफल हो युएईको बृहत् साहित्यिक कार्यक्रम । फलको आशा नगरी साहित्य कर्ममा आफूले जानेको र सकेको गरिरहेको मान्छे हुँ म । प्रवासको त्यो भव्य कार्यक्रमको सफलतापछि मेरो लेखनमा अझ बढी सकारात्मक प्रभाव पार्ने छ भन्ने कुरामा म ढुक्क छु ।
नेपालमा बसेर पनि तपाईंले युएईको नेपाली साहित्यिक गतिविधिलाई नियालिरहनु भएको थियो । कस्तो पाउनु भयो ?
– नेपाली भाषा साहित्यमा युएई निकै अगाडि देखिरहेकै हुँ । सिर्जना वाचन डबली, सगरमाथा साहित्य प्रतिष्ठान, तनहुँ सेवा समाज, नुवाकोट सेवा समाज, अन्तर्राष्ट्रिय नेपाली समाज लगायत युएईमा रहेका विभिन्न साहित्यिक र सामाजिक संस्थाहरूको सक्रियता निकै लोभलाग्दो रहेछ । जुन कुराको तातो प्रमाण म स्वयम् उपस्थित रहेको बृहत् साहित्यिक कार्यक्रम पनि हो ।
युएईमा बसेर साहित्य साधना गरिरहनु भएका थुप्रै सर्जकहरू हुनुहुन्छ । उहाँहरूलाई केही सुझाव सल्लाह दिन मन भए त्यो पनि दिन सक्नुहुनेछ ?
– म उहाँहरूको पाहुना भएर गएको थिएँ । मैले दिने सुझाव त्यस्तो केही छैन । कार्यक्रम असाध्यै भव्य बनाइदिनु भयो । युएईमा रहनुहुने आदरणीय मेरा शुभचिन्तकहरूप्रति म ॠणी छु । यहाँहरूको माया, सद्भाव र आशीर्वाद सदैव पाइरहूँ ।
८/९ दिन युएई रहनुभयो । केही ठाउँ घुम्नु पनि भयो । यो अवधिमा युएईलाई जति बुझ्नुभयो, युएई देश चाहिं कस्तो लाग्यो ? यहाँको मन परेको त्यस्तो केही विशेष कुरा भए त्यो पनि उल्लेख गर्न सक्नुहुनेछ ।
– युएई असाध्यै सुन्दर रहेछ । त्यहाँको हरेक कुराहरूले मलाई तानिरहेको छ । त्यहाँका हरेक कृतिम बस्तुहरू प्राकृतिक झैँ लागेर म रमाइरहेँ । परदेशमा रहँदा स्वदेशको अझ बढी याद आउँदो रहेछ । नेपाल किन विकास हुन सकेन प्राकृतिक रूपमा यति धनी भएर पनि, यस्तै कुराहरूले झस्काइरह्यो । तर नेपाली दाजुभाइ, दिदीबहिनीहरूले मलाई त्यहाँ दिनुभएको
आत्मीयता, आफ्नोपनको न्यानो आभास कहिल्यै भुल्न सक्दिनँ । युएईका सबै कुरा विशेष छन् । शब्दमा उतारेर सकिंदैन ।
विश्वको सबैभन्दा अग्लो मानवनिर्मित भवन (बुर्ज खलिफा) भएको देशमा पाइला राखिरहँदा “म पनि सगरमाथाको देशको मान्छे पो हो त !“ भन्ने भाव चाहिँ आयो कि आएन ?
– मान्छे जहाँ पुगे पनि आफ्नो देश, आमा र छोराछोरी भुल्न सकिंदैन । आफ्नो देशको माटोकै सुगन्ध मीठो लाग्छ, आफ्नाहरूको प्रेम न्यानो लाग्छ । बुर्ज-खलिफालाई निकै बेर नियालें । ओहो ! कति अग्लो घर लाग्यो । तर सगरमाथाभन्दा अग्लो लागेन । आँखाले बुर्ज-खलिफालाई नियालिरहँदा, मेरो मनले सगरमाथालाई नमन गरिरहेको थियो ।
जाँदाजाँदै अन्त्यमा केही ?
– युएईबाट फर्केको केही दिन बितिसक्यो । तर युएईको याद मनमा झन् गाढा भएर बसिरहेको यो अवस्थामा यो वार्ताले त्यस कार्यक्रमलाई फेरि समीपमा ल्याइदिनु भयो । मेरा तीतामीठा कुराहरू राख्ने अवसर दिनु भयो । त्यसका लागि हार्दिक धन्यवाद ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।