५
विजया
रंगून पुगेर शेखरले मोटा राईसित बिदा लियो । मोटा राईले शेखरलाई श्यामाको बिहे खाईकन मात्र जानुपर्छ भनी कति अनुरोध गर्यो तर शेखरले मानेन ।
विदा हुने बेलामा मोटा राईले शेखरका हातमा पाँच सय रुपियाँको नोट हालिदिएर पसीनै पसीना भएर भन्यो, ‘क्या नाम हेर्नोस् महाशयजयी, म तपाईंको पाउ पक्रन्छु । यो-क्या नाम तपाईंले लिनै पर्छ । मेरो कसम है, यति नलिइदिए गाई मारेको पाप लाग्नेछ ।”
शेखर दङ्ग परेर मोटा राईका मुखमा हेरिरह्यो ।
पसीना पुछ्दै फेरि राईले भन्यो, “विदेशमा क्या नाम कैले के आपद परिआउँछ-क्या नाम-भन्न सकिन्न ।”
शेखरले उच्च वाच्य केही नगरी रुपियाँ जेवमा हाल्यो । मोटा राईको प्रसन्नताको सीमा रहेन । विचित्र प्राणी यो मोटा राई । कस्तो उदार हृदय यस प्रवासी नेपालीको शेखरले प्रेमसित मोटा राईलाई अँगालो हाल्यो ।
शेखरको जीवनतरीले फेरि कुन अज्ञात देशाभिमुख समुद्रमा प्रवेश गर्यो । रंगून छोडेर शेखर मद्रास पुग्यो । अलिक दिन चाकरीको अनुसन्धानमा रह्यो । मन मानेन । मद्रास परित्याग गर्यो औ घुम्दै फिर्दै फेरि एक दिन कलकत्ताको विशाल जनसमुद्रमा आई सम्मिलित भयो ।
हवडादेखि कति कोस टाढा सिलुवा भन्ने एउटा स्थान छ। यहाँ अनेक नेपालीहरू बसेका छन् । यिनमा सयमा अस्सी जना मिलका मजदूरहरू छन् । दिनमा ५ आना यिनलाई मजदूरी मिल्छ । अरू प्रायः सबै वाच एण्ड वार्डका दरवान छन् । महिनामा पन्ध्र रुपियाँ कम्पनी मिल्छ । प्रवासमा, मदेशका प्रचण्ड गर्मीमा, यी दुःखी नेपालीहरू आफ्ना दुःखमय जीवन व्यतीत गर्छन् । दुई साँझ भात खानु बाहेक यिनका जीवनको अरू उद्देश्य केही छैन । यिनका जीवनमा आशा, आकांक्षा अथवा अभिलाषा प्रायः छैन ।
यिनै दीन-दुःखियाका संसर्गमा शेखरले फेरि जीवनको अर्को अध्याय आरम्भ गर्यो ।
लिलुवामा एउटा गुजराती परिवार बसेको थियो। परिवारमा तीन लडकाहरू थिए- तिनको उमेर क्रमशः ९, ७२५ वर्षको थियो । औ स्वामी, स्त्रीसमेत अनेक नोकर चाकर आदि थिए ।
यी तीन लडकाहरूका शिक्षक कुनै बंगाली बाबु सहसा हैजाले अकालै मरे । शेखर त्यस्तै समयमा लिलुवा पुग्यो । लिलुवामा यत्र तत्र हैजाको राज्य थियो । प्रतिदिन दश पन्ध्र मानिस यसका आक्रमणले मृत्यु-मुखमा कवलित भइरहेका थिए ।
शेखरको जेवमा मोटा राई प्रदत्त दुई सय रुपियाँ अझै थियो । लिलुवामा एउटा एक तले घर महिनाको पन्ध्र रुपियाँ भाडामा लिएर ऊ वास गर्न लाग्यो ।
मानिसहरू चारैपट्टि जताततै कुकुर मरेझैं मर्दैछन् । कति ता अन्तिम संस्कार गर्ने मानिसका अभावले त्यसै घरघरै कुहिरहेका छन् ।
शेखर नित्यप्रति नेपालीहरू बसेका गाउँ गाउँ, घर घर चहारेर तिनको अनुसन्धान लिन्छ । कलकत्ताबाट होमियोप्याथी औषधि ल्याएर तिनको उपचार गर्छ-मरेका मानिसहरूलाई जलाउने प्रबन्ध गर्छ ।
एक दिन बिहान प्रायः सात बजे शेखर शयनकक्षमा बसेर यो सर्वतोमुखी महामारीको विध्वंसको अनुमान गर्ने चेष्टा गर्दै थियो, सहसा बाहिर ढोकामा कसैले ढकढक गरेको सुनेर त्यो तुरन्त औषधि लिएर बाहिर निस्क्यो । ‘कुन नेपाली परिवार फेरि आपद परि आएछ ?” यही विचार गर्दै शेखर निस्क्यो ।
तर बाहिर एउटा अज्ञात विदेशी मानिसलाई देखेर शेखर किञ्चित् विस्मित भयो ।
विदेशीले सलाम गरेर हिन्दीमा भन्यो, “हजुर, म अम्बाभाई देसाईको नोकर हैं । मालिकलाई हैजाले आक्रमण गर्यो । घरमा स्त्री र बालकहरू छन् । हजूरको नाउँ मालिकले सुनिबक्सेथ्यो । मलाई चट्टै हजुरलाई लिएर जाने आदेश भयो र म आएँ ।”
शेखरले संक्षेपमा, “लौ, हिंड, भन्यो ।”
अम्बाभाई देसाई धनी व्यापारी थियो । उसले पाटको व्यापारमा अनेक धन उपार्जन गरेको थियो । लिलुवामा उसको आफ्नै एउटा जूटको मिल (कारखाना) पनि थियो ।
अम्बाभाईको अवस्था दुई घण्टाकै बीचमा सोचनीय भइसकेको थियो । तिनकी स्त्री ठूलो धैर्यसित स्वामीका सिहारमा लागिरहेकी थिइन् । तीन चारजना गुजरातीहरू पनि त्यहाँ उपस्थित थिए ।
शेखरलाई देखेर अम्बाभाईको मुख केही प्रफुल्ल भयो । हातले संकेत गरेर उसले शेखरलाई छेउमा बोलायो ।
शेखरले उपस्थित मानिसहरूलाई सुनाएर हिन्दीमा भन्यो, “हेर्नोस्, म ता कोही वैद्य डाक्टर होइन । म ता दीनहीन असहाय नेपालीहरू त्यसै पथ्य नपाई कुकुर बिराला झैं मरेको हेर्न नसकी, होमियोप्याथीको औषधि तिनलाई खुवाई हिंड्छु । देसाईजीका निमित्त डाक्टरहरू ता यथेष्ट पाइन्छन् ।”
यसको कसैले उत्तर दिएन । एक छिनपछि देखाई पत्नीले अति शान्त कोमल स्वरमा भनिन्, “बाबुजी, तिमीले दुःखीहरूलाई गरेको सेवा लिलुवामा आज सबैलाई थाहा छ । ईश्वरले तिम्रो भलो गरुन् । परमात्माका आशीर्वादले यतिका दीन दुःखी तिम्रा औषधिले आरोग्य भए भने उनै परमात्माका कृपाले मेरा स्वामी पनि आराम हुनेछन् ।”
यति भनेर सती नारीले विश्वदेवलाई साष्टाङ्ग प्रणाम गरिन् औ त्यही भूमिमा लोटेर यतिञ्जेल संयत गरिराखेको अश्रु विसर्जन गर्न लागिन् ।
शेखरले अति करुण स्वरमा भन्यो, “उठ्नोस्, माताजी । सतीको आवेदन देवताका घरमा कहिल्यै व्यर्थ हुँदैन ।”
औ त्यसपछि शेखरले देसाईजीको सेवामा आफूलाई डुबायो ।
०० ०० ०० ००
दुई महिनापछि
बैठकमा देसाईपत्नी स्वामीका गोडानेर एउटा आसनमा बसेकी छन् । शेखर नजीकैमा एउटा कौचमा बसेर दैनिक पत्र पढेर देसाईजीलाई सुनाइरहेको छ। देसाईजी अर्द्धमुदित नेत्रले शेखरको मुखमा हेरिरहेका छन् ।
पत्र टेबलमा राख्तै शेखरले भन्यो, “लौ हेर्नोस्, देसाईजी, यतिका मजदुरहरू त्यो कोइलाखानीमा मरे । ती ता मरे मरे । अब तिनका जहान बालबच्चाको के हुने हो ?”
देसाईजीले हाँसेर भने, “तपाईं ता दिनदिनै कट्टर साम्यवादी हुन लागिरहनुभएको छ ।”
शेखरले भन्यो, “मन ता साम्यवादी न केही वादी हुँ । मूक अपढ, दीन मानिसहरू, जो आफ्ना मेहनतको पसीना बगाई खान्छन्, तिनका जीवनमा अलिकति आतन्द, केही आशा, अल्प आराम औ ज्ञानको ज्योति देख्न पाइयोस् यही मेरो आन्तरिक इच्छा छ। यसैलाई कार्यरूपमा परिणत गर्न म यथासम्भव चेष्टा गरिरहन्छु । यो साम्यवाद हो भनी तपाईं भन्नुहुन्छ भने म केही भन्दिनँ । तर तपाईंलाई पनि मेरो यही निवेदन छ ।”
देसाईजी अल्लि अप्रतिभ भए तथा लाजले तिनको मुख रातो भयो । तिनले हत्त र पत्त भने, “होइन महाशयजी, यो कुरो तपाईंले मलाई सम्झाउनुपर्छ र ? निश्चय म मेरा प्रतिज्ञाअनुसार मेरा मिलका मजदूरहरूका निमित्त नयाँ बस्ने घर आधुनिक ढाँचाअनुसार बनाइदिनेछु ।”
देसाईपत्नी यतिञ्जेल मौन रहेर कुरा सुनिरहेकी थिइन् । तिनले उपर्युक्त कुरा शेष भएपछि भनिन्, “औ हजुरले मेरा तर्फबाट तिनका छोराछोरीको लागि एउटा स्कूल खोलिदिनेछु भन्ने आज्ञा गर्नु भएको नि ?”
देसाईजीले हाँस्तै भने, “तिम्रो आज्ञा नमाने ता झन् बूढेसकालमा रुखमुनि जीवन बिताउनुपर्ला नि !”
शेखरले कृतज्ञतापूर्ण दृष्टिले देसाईपत्नीलाई हेर्यो ।
देसाईपत्नीले भनिन्, “शेखर बाबु म आशीष दिन्छु, तिमी जस्ता परदुःखकातर हजार हजार सन्तानले भारतमा जन्म लिउन् ।”
शेखरले घडी हेरेर भन्यो, “आठ बज्न पाँच मिनिट । लौ म हिंडे ।”
देसाईपत्नीले भनिन्, “शेखर बावु, तीनवटा मोटर त्यसै तन्किरहेछन् । एउटा मोटर व्यवहार गरे समय पनि बच्ने थियो औ तिमीलाई अनेक सुविस्ता हुने थियो । यो जेठको घाममा विहान ८ बजे निस्केर मध्याह्न १२ बजेसम्म तिमी कहाँ हवडाका गाउँ गाउँमा दगुरिहिंड्छौ ?”
शेखर देसाई परिवारमा बसेको दुई महिना भइसकेको छ । दुर्दिनमा यो विदेशी युवकले गरेको गुण देसाई तथा तिनकी स्त्रीले कहिल्यै बिर्सेनन् । यो यात्रामा शेखरको सुश्रूषा र गोहारैले मेरा स्वामीले निष्कृति पाए भन्ने देसाईपत्नीको दृढ विश्वास छ । तिनको अनुरोध अस्वीकार गर्ने उपाय नदेखी विवश भएर शेखर तिनका परिवारमा सामेल भएको थियो ।
देसाईपत्नी शेखरलाई पुत्रवत् प्रेम गर्छिन् ।
शेखरले हाँसेर भन्यो, “नेपाली वीर पनि कहिल्यै मोटरमा चढेर समाजसेवा गर्न जान्छ के ?”
यति भनेर देसाईपत्नीलाई श्रद्धापूर्वक प्रणाम गरेर हाँस्दै, शेखर स्टेशनतिर दगुर्यो ।
हवडादेखि प्रायः आधा कोस टाढा एउटा बस्ती छ। त्यहाँ मानव समाजका निम्नभन्दा निम्नस्तरका अभागीहरू माटाको अँधेरो चिसो कूपमा बास गर्छन् । हड्डी र छाला मात्र भएको केटाकेटी, मानिस भन्ने नाउँ लिएका देहधारी औ लुती भएका कुकुरबाहेक अरू त्यहाँ केही देख्न पाइन्न ।
शेखर त्यहाँ एउटा माटाको अन्धकूपको अघि आएर उभियो, अनि ढोका ढकढकाएर एक छिन पर्यो । एक छिनपछि ढोकाको छेउमा एउटा प्वालमा कालो नेत्र देखाहा पर्यो । त्यसपछि चुराहरू बजेको शब्द सुनियो । ढोका उघ्र्यो औ त्यस अन्धकपमा त्यो नरकतुल्य स्थानमा एउटी सुन्दरी देखाहा परी ।
शेखरलाई त्यसले आदरपूर्वक दण्डवत् गरी ।
शेखर सरासर घरभित्र पस्यो । सुन्दरीले ढोका थुन्न आँटेकी मात्र थिई, शेखरले भित्रबाट भन्यो, “होस्, ढोका उघारै रहोस् ।”
भित्र एक कुनामा सुन्दरीको स्वामी सुतेको थियो यक्ष्माको रोगी । त्यसका दिन शेष भइसकेका छन् । शरीर सुकेर काठ भइसकेको छ। केवल नेत्र दुईवटा मात्र धपधप बलिरहेका छन् ।
यिनको करुणा कथा शेखरलाई कर्णवीर सुब्बाबाट अवगत भएको थियो ।
सुन्दरीको नाउँ विजया थियो । विजया चमनका जनैक मगर सुवेदार मेजरकी एक मात्र कन्या थिई । अल्पशिक्षित थिई । रमानन्द गिरी लाहोरमा कारिन्दा थियो । एक दिन सुबेदार मेजर लाहोर गएका बेलामा गिरीसित तिनको भेट भयो । गिरीका वाक् चातुरीसित प्रसन्न भएर सुवेदार मेजरले त्यसलाई घर लगे । विजयाको शिक्षाको भार मेजर साहेबले गिरीलाई सुम्पेर निश्चिन्त भई बसे ।
विजयालाई कुनै प्रकार फकाई, फुस्लाई गिरीले लिएर कलकत्ता लाग्यो । विजया पनि सोह्र वर्ष पुगेकी थिई । पिताको घर छोडेर प्रेमीसित साथ लाग्न त्यसले केही द्विविधा गरिन ।
गिरीका जति अवगुण भए पनि त्यसले विजयालाई साँच्चै प्रेम गर्यो । विजयाका शासनमा गिरीले गाँजा तान्ने कुव्यसनसमेत त्यागिदियो औ कोशिश गरेर हवडामा एउटा – सिख व्यापारीका फर्ममा नाकेरीसमेत पायो। सुन्दरी विजयासित वर्ष दिनसम्म खूवै सुखसित गिरीले घरबार गर्यो ।
विजयाको पतिभक्ति औ पतिप्रेम देखेर सबै दङ्ग पर्थे ।
यस सुखको संसारमा एक दिन काल-रूपी यक्ष्माको कीटाणुले प्रवेश गर्यो । विजया कम्मर कसेर मृत्युसित युद्ध गर्न तयार भई । हवडामा घरभाडा तिर्न नसकी विजया अहिले यो अन्धकूपमा स्वाभीलाई साथमा राखेर यमसित इन्द्र गरिरहेकी छ ।
शेखरले भित्र पसेर बिरामीलाई सुन्तलाको रस खुवाइदियो । गिरी एक छिन् निदायो । यस अवसरमा शेखरले विजयालाई सोध्यो, “ती मुसलमान र सिख गुण्डा हिजो राति पनि देखाहा परेथे ?”
विजयाले भनी, “हिजो कर्णवीरसित अर्का एकजना नेपाली पनि आएका थिए । रातभरि ती दुई जागा बसे । ती गुण्डाहरू सायद ती दुई नेपालीका डरले होला देखाहा परेनन् ।”
दुईजना हवडाका गुण्डाहरू विजयाको यो निःसहाय अवस्था देखेर त्यसलाई बलजफ्ती भगाएर लैजान रातदिन चेष्टामा थिए । विजयाले दुर्दिनको साथी कर्णबीरको सहायता नपाएकी भए ती नीचहरूले आफ्नो दुर्वासना निश्चय पनि पूर्ण गर्ने थिए ।
शेखरलाई यो कुरा कर्णवीरले सुनाएको थियो ।
बिमारीको त्यो अवस्थामा विजया र गिरीलाई अन्यत्र सार्न असम्भव थियो । शेखरले विजयालाई आफ्नो इज्जत र धर्म बचाउनका निमित्त गिरीलाई छोडेर अन्यत्र गई वस्ने सल्लाह दियो तर विजयाले भनी, “हजुर, मेरो धर्म औ इज्जत यिनै हुन् । पतिलाई यस्तो अवस्थामा त्यागेर मैले कहाँ जाने ?”
शेखर निरुत्तर भयो । उपाय अरू केही नदेखेर त्यसले हवडाका नेपालीहरूलाई विजयाको घर रुङ्न लायो ।
तीन दिनपछि शुक्रवार बिहान रमानन्द गिरीको मृत्यु भयो । मृत्युको समयमा शेखर उपस्थित थियो । दश-बाह्र जना नेपालीहरू भेला गरेर शेखरले गिरीको अन्तिम संस्कार गराइदियो ।
गिरी ता मर्यो । अब विजयालाई के गरिदिने ? विकट समस्या । यसलाई कसरी हल गर्ने ? शेखरले कर्णवीरसित सल्लाह गरेर विजयालाई हवडामा एउटा वृद्ध मगरका घरमा लगेर रातभरिका निमित्त राखिदियो ।
भोलिपल्ट विहान त्यो फेरि नित्य नियमित समयमा हवडा स्टेशन पुग्यो । युवती विधवा विजयालाई कसको जिम्मा लाइदिने ? त्यसको भविष्यको के व्यवस्था गरिदिने यही कुरा विचार गर्दै शेखर स्टेशनका प्लेटफार्ममा घोरिइरह्यो ।
तर केही उपाय मनमा आएन । के गर्ने हो उसले केही पक्का गर्न सकेन । अन्त्यमा वाक्क मानेर एउटा अंग्रेजी दैनिक पत्र किनेर शेखर एउटा चिया दोकानमा पस्यो ।
चिया खाँदै, विजयाका कुरा सोच्दै, अन्यमनस्क भावले शेखर अखबारका पत्र पल्टाउँदै थियो । सहसा त्यसको दृष्टि एउटा सूचनामा पर्न गयो। “माया ।”- रुद्ध सासले शेखरले त्यो सूचना पढ्यो औ आँखा मिचेर फेरि त्यो सूचना आद्योपान्त पढ्यो ।
अखबार त्यसका हातबाट खस्यो । अखबार उठाएर शेखर चिया दोकानबाट निस्केर प्लेटफार्ममा आएर बस्यो । फेरि गम्भीर सोचमा त्यो पर्यो । माया ! अभिमानिनी मायाको विनयपूर्ण अनुरोध । शेखरले त्यो सूचना पुनः एकचोटि पढ्यो ।
“श्री इन्द्रशेखर खँड्का, बी. ए. – तपाईं जहाँ भए तापनि यो पढ्ने बित्तिकै आमा औ वीणाको मुख सम्झेर तुरन्तै आउनुहोला औ तारद्वारा त्यो कुरा जनाउनुहोला । जसका निर्मम व्यवहारले क्षुब्ध भई देश त्याग्नु भयो उसको विनयपूर्वक क्षमा याचना छ- माया । ठेगाना- १६०, लोअर सर्कुलर रोड, पी ओ एण्टाली, कलकत्ता ।”
शेखरले दीर्घ निःश्वास तान्यो । त्यसको छातीको भार लाघव भयो। यति दिनपछि मेरो अनुतापले मायाको हृदयमा क्षमाको भाव जगाएछ भन्ने कुरा बुझेर शेखरको मन अनेक शान्त भयो ।
अब वीणा र आमाका साम्ने मुख देखाउने साहस त्यसको मनमा आउन लाग्यो ।
साथै विजयाको समस्या समाधान गर्ने उपाय पनि उपस्थित हुँदा शेखरको चिन्तित हृदय बल्ल प्रफुल्ल भयो औ विजयालाई वृद्ध बस्नेतको आश्रममा राख्ने निश्चय गरेर शेखर मगर बुढाका घरतिर हिंड्यो ।
विजयालाई शेखरले संक्षेपमा भन्यो, “विजया, एउटा नेपाली परिवारमा म तिम्रो बास ठीक गरिदिनेछु । हिंड ।”
विजया केही नभनी शेखरका पछि लागी ।
हवडाको मूल सडकमा आएर शेखरले विजयालाई ट्याक्सीमा चढायो । स्वयं ड्राइभरसित अघिल्तिर बस्यो । “हिंड, १६०, लोअर सर्कुलर रोड ।” ट्याक्सी प्रबल वेगले हरिसन रोडतिर लाग्यो ।
दुईजना मानिस अघिदेखि यिनलाई अनुसरण गर्दै थिए । यिनीहरू ट्याक्सीमा चढ्नेबित्तिकै ती दुई पनि अर्को ट्याक्सीमा चढे । एउटाले ड्राइभरका कानमा के भन्यो कुन्नि ड्राइभरले टाउको हल्लाएर अघिल्लो ट्याक्सीलाई पच्छ्याउन थाल्यो ।
हवडा पुलमा दुई ट्याक्सीका बीचमा हातभरिको मात्र अन्तर रह्यो। पुल पार गरेर अघिल्लो ट्याक्सी बडाबजारका मुखमा पुग्नै आँटेको थियो, एक्कासी ड्राइभरले ट्याक्सी थामेर शेखरमाथि आक्रमण गर्यो। शेखर आफूलाई यसरी एक्कासी धूर्तहरूको पञ्जामा देख्ता विमूढ भयो ।
विजयाले त्यो देखेर चिच्याएर ट्याक्सीबाट हाम फाल्न खोजेकी थिई, पछिल्लो ट्याक्सीबाट एउटा सिख आएर त्यसलाई जुरुक्क उचालेर दगुर्यो ।
उता शेखर र ड्राइभरको कस्ती परिरहेको थियो, पछिल्लो ट्याक्सीबाट एउटा मुसलमान दगुरेर शेखरमाथि आक्रमण गर्न लाग्यो ।
निमेषभरिमा यस्तो अद्भुत काण्ड सम्पादन भयो । सिखले विजयालाई पछिल्लो ट्याक्सीमा राख्यो । ड्राइभर तयार थियो । पछिल्लो ट्याक्सी प्रचण्ड बेगले स्ट्याण्ड रोडपट्टि भाग्यो ।
सडकका मानिसहरू एकछिन हतबुद्धि भएर यो अमानवीय दुष्कर्म हेरिरहे । गुण्डाहरूका छुराका डरले एकछिनसम्म ता तिनीहरूले छेउमा जान पनि साहस गरेनन् । तर यता अर्को मोटरमा शेखर दुइजना मानिससित लडेको देख्ता तिनका एक दुइ शुराहरू अघि बढे औ अरूचाहिँ “पुलिस ! पुलिस ! खून खून !” भनी कराउन लागे ।
तर ती मानिसहरू पुग्नुभन्दा अघि नै शेखरलाई मुसलमानले छुराले पछिबाट हान्न खोज्दा केही उपाय नदेखी शेखरले ड्राइभरका कमरबाट छुरा निकालेर त्यो मुसलमान गुण्डाको छातीमा रोपिदियो । साथै मुसमानको छुरा पनि शेखरका दाहिने काखीमुनि गाडियो । मोटर ड्राइभर भाग्न तरखर गर्दै थियो तर त्यहाँ भेला भएका मानिसहरूले समातेर साफसँग चुटे ।
अन्त्यमा घुइँचो चिर्दै पुलिसका कर्मचारीहरू घटनास्थलमा उपस्थित भए ।
बाँकी अर्को साता….
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।