भोजपुर जिल्लाको जरायोटारस्थित माङदिङ आम्बोटे सल्लेरीमा जन्मेर बाल्यकालका दशक पछिको दशक झापा जिल्लाको गौरिगंज-कोरोवारीमा, त्यसपछि विराटनगर, वीरगन्ज र काठमाडौंमा डेढ दशक बसोबास गरेका लेखनाथ भण्डारीको दुई दशक यता देखिको बसोबास अमेरिकाको भर्जिनियामा रहेको छ । पत्रकारितामा लामो अनुभव भएका भण्डारी नेपालको पत्रकारिता क्षेत्रसँग परिचित हुनुहुन्छ भने नेपालको पत्रकारिता राम्रोगरी बुझ्नु भएको छ । पत्रकारिताको क्षेत्रमा एक इमानदार पत्रकारको परिचय बनाउनु भएका भण्डारी साहित्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । माया न्यौपाने (योगमाया) बारे थाहा पाउन र उनको बारेमा लेख्न उहाँले अनेक अध्ययन, अनुसन्धान एवं भ्रमण गर्नु भएको छ । भण्डारीका वेमौसमका रागहरू (लघुकविता अर्थात् उच्छ्वास संग्रह), आजादको हत्या अघोषित मृत्युदण्‍ड (इतिहास), सामाजिक जागरणमा महिला विद्रोहको प्रस्थानबिन्दु (इतिहास), जीवनी र मूल्याङ्कन योगमाया (इतिहास) लगायतका कृति तथा सम्पादनमा योगमाया, बिपी कोइराला, महकवि लक्ष्मीप्रसाद देवकोटा, झमककुमारी घिमिरे, बालबालिकाहरू र मानव अधिकारसँग सम्बन्धित अन्य कृतिहरू प्रकाशित छन् ।

प्रस्तुत छ साहित्यपोस्टका लागि विश्वराज अधिकारीले लेखनाथ भण्डारीसँग गर्नुभएको वार्ता :

अचेल के गर्दै हुनुहुन्छ ?

– सामान्यतः प्रवासी जीवन र त्यसमा पनि खाइजीविका लागि संघर्ष गर्नुपर्ने अदक्ष कामदार ! यसै पनि अमेरिकी नेपाली जीवनको घनचकक्करमा ज्यान यता र मन उता भएपछि अर्को रोग नचाहिने रहेछ । नेपाली समाजका अगणित विषयमा मन पुग्ने गर्छ तर बोल्न केही नसकिने, लेख्न केही नमिल्ने ! यस्तो लाग्छ, मातृभूमिका लागि जे गर्न सक्थें र जति गर्न पाउँथे, त्यो मौका गुमाएँ । नेपाली भाषा संस्कृतिको यो मरुभूमिमा यसका प्रतिभाहरू र अग्रजहरूको प्रवर्धन तथा प्रोत्साहन हुन सकोस् भनेर प्रयास गरिरहेको छु ।

कुनै कृति लेखन वा प्रकाशनको क्रममा हुनुहुन्छ ?

– अहिले त्यस्तो कुनै प्रयासमा छुइन । तर अमेरिकी नेपाली बालबालिकाहरूको नेपाली संस्कृति प्रतिको दृष्टिकोण र अनुभव तथा यहाँका अगुवा नेपालीहरूले अमेरिका नै किन रोजे ? यसबारे कुनै सामूहिक विचार सङ्कलन प्रकाशित गर्न सकिन्छ कि भनेर मनमा लिएको छु । यो मनोकामना प्रकट गर्ने मौका दिनुभयो, तपाईंलाई धन्यवाद ! यसमा सहकार्य गर्न इच्छुक सहृदयीहरू कोही हुनुहुन्छ भने अपिल गर्दछु- मिलेर प्रयास गरौं ।

तपाईं आफूले आफैलाई साहित्यकार वा पत्रकार, के भन्न रुचाउनुहुन्छ ?

– म यी दुवैको अधिकारी हुन सकेको छुइन । सिर्जनात्मक लेखनमा र पत्रकारितामा पनि अपेक्षित काम गर्न सकिनँ । यी दुवै क्षेत्रको स्वयंसेवी प्रवर्धक हुँ । लेख्नेहरूलाई प्रोत्साहित र सम्मान गर्नुपर्छ भन्ने मेरो मत हो । लेखकहरूबाट समाजले लिन सक्ने लाभ नलिएको र लेख्नु भनेको लेखकहरूको आपसी विषय जस्तो मात्र भएको छ ।

लेखकहरूलाई समाजले व्यावसायिक प्रवर्धन, संरक्षण गर्न र तिनबाट बौद्धिक लाभ लिन संगठित प्रयास हुनुपर्छ । लेखक कविहरूका संगठनहरूले लेखन र प्रकाशनमा सकेको प्रयास गर्छन् । तर अन्य सामाजिक संघ-संस्था वा राज्यका निकायबाट लेखकहरू कहाँ के गरिरहेका छन् भनेर खोजी गर्ने र प्रोत्साहित गरिएको छैन । विभिन्न अवसरमा खादा, माला-दुपट्टा वा सम्मान भन्दा पनि तिनका लेख रचना प्रकाशित गर्ने, कृतिहरू किनेर पढ्ने काम हुनुपर्छ । लेखन, प्रकाशन र पठन सामाजिक महत्वका विषय हुन् भनेर समाजले स्वीकार गरेको वा त्यस्तो व्यवहार गरेको महसूस हुँदैन । लेखक कविहरूलाई समाजले प्रशंसा मात्र होइन आलोचना पनि गर्नुपर्छ । प्रश्न र आलोचना भन्दा आँखा चिम्लेर प्रशंसा मात्र गर्दा लेखकले पनि आफ्ना कमजोरी थाहा पाउन, सच्याउन र एकपछि अर्को राम्रो लेख्न सकेका छैनन् । पाठक अगाडि र लेखक पछाडि हुनुपर्छ ।

लेखनको दृष्टिकोणले साहित्यको कुन विधा तपाईंलाई मन पर्छ र किन मन पर्छ ?

– निबन्ध मन पर्छ । यसमा निर्धक्क र निर्बन्ध भएर आवश्यकता अनुसार लेखकले आफूलाई प्रकट गर्न, ज्ञान, क्षमता र अनुभव बाँड्न सक्छ । निबन्धको तुलनामा साहित्यका अन्य विधाका विधागत बन्धन र सीमा छन् । तिनमा जति कलात्मक शिल्प शैली र मिठास हुन्छ त्यति अभिव्यक्तिको स्वतन्त्रता हुँदैन ।

ऐतिहासिक व्यक्तित्व योगमाया न्यौपानेबारे तपाईंसँग निकै जानकारी छ । योगमायाबारे तपाईंले पुस्तक पनि लेख्नुभएको छ । तपाईं आफूलाई योगमायाबारे शोधकर्ताको रूपमा लिनुहुन्छ वा योगमाया बारे राम्रो जानकारी राख्ने व्यक्तिको रूपमा ?

– योगमायाका विषयमा लेख्ने हामी लेखकहरूलाई पनि उनको बारेमा त्यति धेरै जानकारी छैन । जे-जति जानकारी ज-जसलाई छ, सबैलाई बराबरी छ । योगमायाको बारेमा जानकारी हुने लेखकहरूको बराबर नै यसका पाठकहरूलाई पनि जानकारी भइसकेको छ । योगमायाको बारेमा अध्ययन, केही स्थानको भ्रमण, उनीसँग सम्बन्धित व्यक्तिहरूसँग भेटघाट र केही प्रकाशनका काममा सहभागी भएका नाताले म कुन वर्गमा पर्छु भनेर मबाट विषयले प्राप्त गरेको परिणाम र महत्वका आधारमा मैलेभन्दा तपाईंहरूले छुट्याइदिनु भए हुन्छ ।

यस सन्दर्भमा योगमायाका बारेमा विभिन्न कोणबाट अध्ययन गरेर लेख्नु हुने अग्रजहरू र मित्रजनहरूलाई सम्झनु पर्छ- डम्बरबहादुर बस्नेत, जनकलाल शर्मा, ज्ञानमणि नेपाल, बारबरा निम्री अजिज, उतमप्रसाद पन्त, मातृका तिम्सिना, नीलम कार्की निहारिका, निनु चापागाईं, गोविन्दमान सिंह कार्की, दिपेश नेउपाने लगायत हुनुहन्छ । योगमायाको बारेमा काव्य, महाकाव्य समेत गरेर २८-२९ जना लेखकका कृति प्रकाशित छन् ।

योगमायाको बारेमा भएको जानकारी संक्षेपमा के हो ?

– योगमाया नेउपाने विं.सं. १९१५-२५ को बीचमा भोजपुर जिल्लाको नेपाले डाँडा मजुवामा जन्मेकी थिइन् । उनको जन्म मितिलाई वि.सं. १९२४ भनेर नेपाल सरकारले हुलाक टिकट प्रकाशित गरेको छ । तर उनको आधिकारिक जन्म मिति यकिन छैन । उनको बारेमा वि.सं. २०२० सालदेखि लेख्न थालिएको भएपनि यो निरन्तर हुनसकेन । जनकलाल शर्माको २०२० सालमा प्रकाशित ‘जोसमनी सन्तपरम्परा र साहित्य’ मा ‘शक्तिमाई’ शीर्षकमा सानो लेख छ

योगमायाको ९-१० वर्षको उमेरमा विवाह भयो । यो उमेरमा विवाहित बालिकाहरूले केही वर्ष माइतीमा नै बस्ने र रजस्वला भएपछि मात्र पतिको घर जाने चलन थियो । योगमायालाई १३-१४ वर्षको उमेरमा माइतीहरूले मैतालु (पतिको घर) पठाएका थिए । तर उनी बाल्यकालको बुहार्तन सहन नसकेर १५-१६ वर्षमा पतिको घरबाट भागेर एक्लै माइत आइन् । शुरूका दिनमा योगमाया बालविधवा हुन् भनेर लेखिएको पाइन्छ । तर नीलम कार्की निहारिकाले ‘योगमाया’ उपन्यास लेख्ने क्रममा योगमायाको बालविवाह गरिएको गाउँको स्थलगत अध्ययन गरेर उनी बालविधवा नभएको तथ्य सार्वजनिक गर्नुभएको छ ।

विवाह गरेर गएकी छोरी-चेली घरबाट भागेर आउँदा माइतीले पनि सहज स्वागत-स्वीकार गरेनन् । पतिका घरकाले पनि घर छोडेर एक्लै भागेकी भनेर फिर्ता बोलाउन मानेनन् । केही वर्षको माइती गाउँमा दोहोरो दबाबमा बसेकी योगमाया गाउँलेहरूसँग मिलेर भारतको आसाम गइन् । आसाममा गएर उनले विवाह गरिन् । उनीहरूको बाटुली नामकी एकजना छोरी जन्मिन् । केही वर्षपछि उनका पतिको निधन भयो । उनले तेस्रो पटक विवाह गरिन्, त्यसपछि छोरी नैनकलाको जन्म भयो । आसाममा उनी २०-२५ वर्ष बसिन् । आसामको कुन फूलबारीमा उनी गएकी थिइन् ? त्यहाँ घर गृहस्थी वा खेती किसानी के गरिन् भनेर घरपरिवारलाई पनि थाहा छैन । वि.सं. १९७०-७३ को आसपासमा उनले भाइ अग्निधरलाई ‘लिन आउनु’ भनेर खबर पठाएकाले अग्निधरले आसाम गएर दिदी र भान्जीलाई लिएर आए ।

नेपाल आएपछि उनले समूह बनाएर सन्यासी-भक्तिनी माताका रूपमा गतिविधि गर्न थालिन् । नेपाल र भारतका केही तीर्थस्थलहरूका योगी-सन्तहरूसँग भेट गरिन् । आफूलाई हठ योगीका रूपमा प्रस्तुत गर्न थालिन् – जाडोमा पानीमा डुबेर बस्ने, गर्मीमा आगोको धुनी ताप्ने, निराहर हप्तौं गुफामा बस्ने आदि ।

बाल्यकालदेखि नै उनले देखे-भोगेका विषयहरू थिए : बाल विवाह, दास र सतीप्रथा, बुहार्तन, सामाजिक होचो-हेलो, जातपातको विभेद, धनी, गरीब, लिंदा ठूला र दिंदा साना माना पाथी, साहू महाजनहरूको चर्को व्याज, गौचरण मास्ने आदि । उनले यी मुद्दाहरूमा आफ्नो समूहमा बोल्न-प्रवचन दिन थालिन् । राजा-सरकारलाई घचघच्याउनु पर्छ भनेर प्रयास गरिन् । आफ्ना अनुयायीलाई काठमाडौं पठाइन् । आफू पनि काठमाडौं आएर राजालाई भेट्न र आफ्ना माग राख्न प्रयास गरिन् तर सकिनन् । तत्कालीन राणा प्रधानमन्त्रीहरूले भेटेर नै उनका मागहरू पूरा गर्ने आश्वासन दिए तर पूरा गरेनन् ।

उनले वि.सं. १९९५ साल कार्तिकमा सरकारले आफ्ना मागहरू पूरा नगरेकोले यो अन्यायी राजमा बस्नुभन्दा यिनलाई चेताउन र आउने पुस्तालाई ती समस्याबाट मुक्ति दिन भनेर २ सय ४० जनाले अग्नी दाह गर्ने तयारी गरिन् । यो कुरा राणा सरकारले थाहा पाएर उनीसमेत १५ जनालाई पक्राउ गरेर जेलमा राख्यो ।  उनीहरू ६ महिनादेखि ३ वर्ष भित्र छुटे ।

जेलबाट छुटेपछि पनि उनीहरूले सरकारलाई घचघच्याउन र भेट्न छोडेनन् । त्यसपछि पनि आफ्ना मागहरू सरकारले पूरा नगरेकोले योगमाया र उनका भक्तहरू ६९ जनाले वि.सं. १९९८ असार हरिशयनी एकादशीका दिन बिहान झिसमिसेमा नै जलसमाधि लिए ।

उनका मागहरू के थिए भनेर बुझ्न सकिने कृति वि.सं. २०१२ सालमा प्रकाशित ‘सर्वार्थ योगवाण’ हो । योगमाया निरक्षर थिइन् । उनले भजन र प्रवचनका रूपमा व्यक्त गरेका वाणी उनकी छोरी नैनकलाबाट सुनेर उनका भक्तहरूले लिपिबद्ध गरेका हुन् । त्यसमा भजन, गीत र कविताहरू छन् । त्यसैका आधारमा र उनका समयका केही मानिसहरू सँगको भनाइका आधारमा योगमायाको इतिहास लेखिएको छ । यो कृति योगमायाको मौलिक काव्य कृतिका रूपमा भन्दा पनि तत्कालीन समयमा उनको नेतृत्वमा भएको सामाजिक जागरणका मुद्दा र विद्रोहलाई प्रकट गर्ने सामूहिक दस्तावेज हो । उनका बारेमा संगठित र व्यवस्थित खोज हुन सकेको छैन । उनको समयका कुनै पनि घटनासँग सम्बन्धित कागजात अभिलेख प्राप्त भएका छैनन् ।

अहिले नेपाल सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय र योगमाया राष्ट्रिय पुरस्कार स्थापना गरेको छ ।

तपाईंको अध्ययन एवं अनुसन्धानले योगमायालाई एक लहडी अभियन्ता वा समाज सुधारक अथवा एक अति साहसिक साहित्यकार, के भन्छ ?

– योगमाया सामाजिक अभियन्ता हुन् । समाज सुधारक भन्न उनी आफैले समाज सुधारको भूमिका खेल्न सक्ने सम्भावना थिएन । उनले समाज सुधारका मुद्दालाई मुखरर गरेकी हुन् । उनले सामाजिक जागरणका लागि विद्रोह गरेकी हुन् । अन्ततः उनी एक लहडी अभियन्ताका रूपमा ‘जलसमाधि’ को निर्णय गर्न पुग्छिन् । उनी साहित्यकार, काव्यचेत वा कविका रूपमा भन्दा पनि सामाजिक जागरणको साहसी अभियन्ता र नेतृत्व क्षमता भएकी व्यक्तित्व हुन् ।

योगमायले लिएको जलसमाधिको प्रकृति र उद्देश्य के थियो ? सो जलसमाधिको परिणाम कस्तो रह्यो ?

– जलसमाधिको प्रकृति भनेको जलमा डुबेर देह त्याग गर्नु हो । उनीहरूले अरुण नदीको उर्लंदो प्रवाहमा हामफालेका थिए । यसको परिणाम यकिन गर्न सकिने कुनै यान्त्रिक मापन हुने कुरा भएन । यसका तीन किसिमका मूल्याङ्कन छन्, पहिलो योगमायाको बहकाउमा परेर त्यतिका धेरैले जीवन गुमाए । दोस्रो, उनीहरू सबैले मातासँगै जलसमाधिमा गएर मुक्ति पाए । तेस्रो, उनीहरूले त्यो समयमा सामाजिक जागरणका लागि गरेको विद्रोह र बलिदानले नेपालको समाज सुधार र राजनीतिक परिवर्तनमा दियोको काम गर्‍यो । उनीहरूको उद्देश्य थियो- समाज सुधारका लागि सरकारलाई चेताउनु, भावी पुस्ताका लागि न्यायपूर्ण समाज बनाउनु र आफूले मुक्ति पाउनु ।

 

अब केही पत्रकारिताबारे कुरा गरौं । तपाईं नवयुवक हुँदादेखि नै पत्रकारितामा लाग्नुभएको कुरा तपाईंले लेख्नुभएको ‘प्रवासी नेपाली पत्रकारको आत्मस्वीकृति’ बाट ज्ञात हुन्छ । पत्रकारितामा लाग्न तपाईंलाई के कुराले प्रेरित गर्‍यो ?

– पत्रकारिताको मूलप्रवाह बाहिरको पत्रकार हुँ म । ‘प्रवासी नेपाली पत्रकारको आत्मस्वीकृति’ नेपाली पत्रकारहरूको परिचय भाग-२, वि.सं. २०६८ (सम्पादक- ऋतुवर्ण पराजुली) मा मैले लेखेको व्यक्तिगत जीवन यात्राको बुँदागत अनुभूति हो ।

शुरूमा सामाजिक चासोका विषयमा र व्यक्तिगत अनुभूतिहरू भित्ते पत्रिकामा लेख्न थालें । यो भित्ते पत्रिकाको प्रकाशन अग्रजहरूको प्रयास थियो । त्यसलाई अलिक फराकिलो बनाउन पत्रिकाहरूले सहयोग गरे । मैले सम्पादकलाई चिठ्ठी, गीतिकथा, कविता, पत्रमित्रता हुँदै सामाजिक जागरण र बेथितिका विषयमा लेख्न थालें । यसक्रममा लेखक, साहित्यकार, राजनीतिकर्मी र पत्रकारहरूको सङ्गतले केही पत्रिकाहरूमा औपचारिक समाचार पनि लेखें तर मेरो रुचि मुद्दा र विचारमा नै केन्द्रित भयो ।

मैले औपचारिक पत्रकारितामा धैर्यता राख्न सकिनँ र त्यस्तो वातावरण वा अवसर पनि पाइनँ । मलाई प्रेरित गर्ने विषय सामाजिक विषय प्रतिको मेरो दृष्टिकोण र सामाजिक मुद्दाहरू हुन् । मैले शुरूमा घरपरिवारका दुःख-पिडा, गाउँ-समाजका होचो अर्घेलो र गुरुहरूले प्राइवेट ट्युशन पढाएको विषयमा पनि लामा लेख लेखेको छु ।

त्यसैको निरन्तरता हो अहिले पनि सामाजिक मुद्दाहरूमा विचार वा प्रश्न र लेखकहरूलाई प्रोत्साहन तथा प्रवर्धन गर्न प्रयास गरिरहेको छु । मेरो भूमिका र परिणामका बारेमा मेरो कुनै मूल्याङ्कन छैन । म प्रशंसा होइन आलोचना नै  चाहन्छु तर नगण्य केही सन्दर्भमा सामान्य प्रतिक्रिया बाहेक अन्यमा कुनै प्रतिक्रिया पाउँदिन । मेरा लेख रचनाका फ्यान, फलोअर छैनन् वा शेयर हुँदैनन् । विषयको प्राथमिकता वा मुद्दाको गहनतामा भन्दा अति प्रशंसा र अति निन्दाका विषय हुन्छन् सजिलै लाइक,कमेन्ट वा शेयर हुने ।

आफ्नो नव युवाकालदेखि तपाईं देश, जनता र व्यवस्थाप्रति जागरूक रहेको तपाईं बारेका सामाग्रीहरू पढेर थाहा हुन्छ । जन्मभूमिलाई यति धेरै माया गर्ने व्यक्ति तपाईं, किन र कसरी प्रवासी हुनुभयो ? के कारणले गर्दा परदेश जाने निर्णय गर्नुभयो ?

– म योजना नबनाई प्रवासी हुनपुगें । थाहै नपाई भन्दा पक्कै अलिक अस्वाभाविक लाग्नसक्छ तर अनपेक्षित अवसर र सामाजिक प्रभावमा मैले देश छोडें । मैले सही समयमा सही निर्णय गर्न सकिनँ ।

तपाईंले नेपालको पत्रकारिता क्षेत्रमा लामो समयसम्म काम गर्नु भएको छ। यस क्षेत्रमा रहेका अनेक समस्याहरू देख्नु र भोग्नु भएको छ। तपाईंको विचारमा नेपालको पत्रकारिता क्षेत्रमा रहेका केही उल्लेखनीय एवं गम्भीर समस्याहरू के होलान् ?

– नेपाली पत्रकारिताप्रति यदि सबैभन्दा धेरै गुनासो कसैको छ भने त्यो मेरै छ जस्तो लाग्छ । समकालीन नेपाली पत्रकारिताका धेरै अगुवा सम्पादकहरूलाई हरेक दिनजस्तो १-२ वटा गुनासो ‘इनबक्स’मा आज पनि म राख्छु । नेपाली पत्रिकाहरूको समाचारमा पूर्णताको अभाव र भाषाको समस्या देख्छु । म चाहन्छु,त्यस्तो आँखामा नपरोस् तर परिहाल्छ । म त्यस्ता विषयमा तिक्त टिप्पणी गर्न र सार्वजनिक गर्न भने सक्दिन । क्यानडामा हुनुहुन्छ भानुभक्त आचार्य, उहाँको ‘फेसबुक स्टाटस’ हेरे थाहा हुन्छ- नेपाली पत्रकारिताका समस्या । नेपाल फ्याक्ट चेक,मा पनि नेपालको सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएका कमीकमजोरीका बारेमा बुझ्न सकिन्छ ।

नेपाली पत्रकारिताले व्यावसायिक रूप लिन नसकेको हो वा आवश्यकताभन्दा बढ्ता त्यस्ता माध्यम भएको हो अध्ययन र निष्कर्ष छैन । व्यावसायिक र पारदर्शी पनि नभएको, ‘फाएव डब्लु एच’ को फ्रेममा पनि नपरेको,विषयको महत्त्व तथा जवाफदेहीताप्रति सचेत नभएको र भाषाको मानक-मर्यादा पनि सन्तोषजनक नभएको नेपाली पत्रकारिताको अवस्था छ । यी ठूला वा समाधान हुन नसक्ने समस्या पनि होइनन् तर सुधार गर्नै पर्ने विषय हुन् । यस्तो अवस्थामा पनि नेपालमा सूचना सम्प्रेषण, सामाजिक जागरण,नागरिक अधिकार र प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण छ ।

नेपालमा हुँदा पत्रकारिताको क्षेत्रमा अति नै सक्रिय हुनुहुन्थ्यो । अमेरिका आएपछि तपाईंको त्यो सक्रियतामा शिथिलता आएको हो ?

– नेपाली भाषी पत्रकारका लागि अमेरिका मरुभूमि नै हो । यहाँ शिथिल हुनु स्वाभाविक हो ।

तपाईंसँग परिचित केही व्यक्तिहरूले तपाईंलाई एक निर्भीक तथा सत्य र तथ्यपूर्ण सामाग्री सहित पत्रकारिता गर्ने एक स्वच्छ पत्रकारको रूपमा लिन्छन् । तपाईं आफू त्यस्तो रहेको पाउनु हुन्छ ?

– मेरो बारेमा जो व्यक्तित्वहरूले तपाईंलाई बताउनु भयो, यदि मबाट त्यो भूमिका निर्वाह भएको छ भने मेरो लागि खुशीको कुरा हो र उहाँहरूको मूल्याङ्कनप्रति आभारी छु । म चाहन्छु, पत्रकारिताको कारण अनाहकमा मबाट कसैले ‘पीडित हुनु परेको’ महसुस नगरून् । आलोचना र प्रश्नलाई विरोध मानिनु हुँदैन । मलाई लाग्छ  ‘वादे वादे जायते तत्त्व बोध’ ।

नेपालको पत्रकारिता क्षेत्रमा लामो समयसम्म तपाईंले काम गर्नुभएको छ । अमेरिकमा बसोबास गर्नुभएको पनि धेरै वर्ष भयो । तपाईंसँग दुवै देशको पत्रकारिता सम्बन्धी अनुभव र भोगाइ छ । तपाईंको विचारमा नेपाल र अमेरिकाको पत्रकारिताबीच के कस्ता अन्तरहरू छन् ? के कस्ता समानताहरू छन् ?

– अमेरिकी मूल प्रवाहको पत्रकारिताको अनुभव मलाई छैन । नेपालको सन्दर्भमा व्यावसायिक र पत्रकारहरूको भूमिकाअनुसारको श्रमको मूल्य नहुनु नै हो । यहाँका केही पत्रकारहरूको भूमिका हेर्दा यस्तो लाग्छ, उनीहरू आफ्नो पेशाप्रति जवाफदेही र परिणामप्रति पनि सचेत देखिन्छन् । माथि चर्चा गरिएका कतिपय कमीकमजोरी हुँदा हुँदै पनि नेपाली पत्रकारिता व्यावसायिक दृष्टिले कमजोर र व्यावसायिक लाभको अभावमा नै भएपनि स्वयंसेवी भावनाले पनि आजको अवस्थामा आइपुगेको हो, यो विशेषता छ नेपाली पत्रकारितामा । स्वयंसेवी पत्रकारिता नेपालीहरूले अमेरिकामा पनि गरिरहेका छौं । सिद्धान्ततः पत्रकारिताको उद्देश्य र भूमिका सबैतिरको एकै हो ।

नेपालको पत्रकारिता क्षेत्रमा के के सुधार गर्नु पर्छ जस्तो लाग्छ तपाईंलाई ?

– नेपालको पत्रकारितामा पहिलो कुरा त संस्थागत र व्यावसायिक हुनुपर्छ । अब यो स्वयंसेवी, तजबिजी वा मिशन पत्रकारिताबाट अगाडि बढ्नुपर्छ । सही सूचना र जवाफदेही पत्रकारिता हुनुपर्छ । भाषाको मानक र मर्यादा पालना गर्नुपर्छ । पत्रकारिताका नाममा भ्रम र अतिरञ्जना सार्वजनिक गर्नु हुँदैन ।

प्रवासमा रहेका नेपालीहरू, जो एशिया, अमेरिका, युरोप, अस्ट्रेलिया आदिमा छरिएर बसेका छन् र मुख्य गरी ती क्षेत्रहरूमा स्थायी बसोबास गर्ने व्यक्तिहरू, आफू बसेको स्थान (देश) मा खुशी छन् ? तपाईंको अनुभवले के भन्छ?

– मेरो व्यक्तिगत सवालमा म खुशी छुइन । तर विकसित देशहरूमा आ-आफ्नो पेशा व्यवसायको विज्ञताको आधारमा काम गरिरहेकाहरूले खुशी नहुनु पर्ने कारण पनि छैन । जो योजना बनाएर,कुनै महत्वाकांक्षा वा असन्तुष्टिका कारण विदेशमा छन् र सम्बन्धित देशको व्यावसायिक विज्ञता पनि छ भने उनीहरू खुसी छन् ।  रोजगारी वा जीविकोपार्जनको विकल्पको छनौट र अवसरका आधारमा पनि खुसीको मापन हुनसक्ला । तर त्यसको तुलनामा जो योजना नबनाई, कुनै महत्वाकांक्षा वा असन्तुष्टि नहुँदा नहुँदै, सामाजिक अपेक्षा र पहिचानको दबाबमा परेकाहरू विदेशमा छन् भने तिनीहरू खुसी नहुन सक्छन् ।

नेपालीहरू अहिले ठूलो संख्यामा विदेशतिर लागिरहेका छन् । नेपालीहरू यसरी ठूलो संख्यामा विदेशिने क्रम रोक्न र नेपालीहरू नेपालमा नै बस्ने वातावरण बनाउन के गर्नु पर्छ होला?

– जो मानिस जहाँ जन्मिन्छ, त्यहीं जीवन पर्यन्त आफ्ना आमाबुबा र छोराछोरीकै काख र साथमा रहन पाउनु खुशीको कुरा हो तर सम्भव छैन । मानिसको स्वभाव पनि त्यो होइन, मानिस रोजाई-अवसरको खोजीमा घुमन्ते हो । मानव जातिको सभ्यता-विकाशको प्रस्थानविन्दु बसाइँ सराई-स्थानान्तरण हो । नेपालीहरू अझै बाहिरिनुपर्छ र नेपालको विकासमा भूमिका खेल्नुपर्छ । अहिले हाम्रा सीमा, बाध्यता,स्रोत र साधन सीमित छन् । सबैका लागि पर्याप्त छैनन् । त्यसैले सीमित साधन,स्रोत र अवसरमा झगडा गर्नु र आयमूलक वा सिर्जनात्मक काम नगरी निराशा-असन्तुष्टिमा रहनुभन्दा देश बाहिरका अवसरहरू खोज्नु राम्रो हो । शिक्षा, साधन-स्रोत,प्रविधिको विकाश-विस्तारले अवसरहरू बढ्न थालेपछि नेपाल मै बस्ने र बाहिरबाट पनि भित्रिने वातावरण बन्छ ।  बाहिरिएका नेपालीहरूले देशलाई कुनै हानी गरेका छैनन् ।

यसै पनि बुझ्न सकिन्छ,जनशक्ति  भनेको शक्ति हो । यसलाई रोकेर वा थुनेर राख्न सकिन्न, निकास चाहिन्छ । नदीको पानीलाई कि नदीमा बग्न दिनुपर्छ कि बाँध बाँधेर खेत-बारीमा सिंचाइ गर्नुपर्छ अन्यथा बाँध मात्र बाँधेर पानी रोकिंदैन र परिणाम पनि राम्रो हुँदैन । जनशक्तिलाई पनि त्यसरी नै निकाश चाहिने शक्तिका रूपमा बुझ्नुपर्छ । तिनलाई अवसर दिएर सिर्जनात्मक काममा लगाउन सकिंदैन भने तिनले निकास खोज्नु स्वाभाविक हो, रोकेर-थुनेर राख्नु हुँदैन र रोकेर सकारात्मक परिणाम पाउन सकिन्न ।

नेपाल बाहिरका नेपालीहरूले नेपालको सत्कामना र नेपालको सामाजिक-आर्थिक संवृद्धिमा महत्त्वपूर्ण सहयोग पुर्‍याएका छन् । अवसरको अभाव,बेरोजगार र जीविकोपार्जन लगायतका सामाजिक समस्याबाट पीडित युवाहरू राजनीतिक पार्टीहरू वा तिनका नेताहरूको ’शक्तिप्रदर्शन’का हतियार बनेर निराशा पालेर बस्नु भन्दा देश बाहिरका अवसरहरू खोजेर सिर्जनात्मक हुनु र आर्थिक लाभ लिनु राम्रो हो ।

 

अमेरिका बसाइँप्रति तपाईंको व्यक्तिगत अनुभूति कस्तो छ ?

– अमेरिका बसाइँप्रति मेरो व्यक्तिगत अनुभूति सन्तोषजनक छैन ।

के नेपालको आर्थिक, शैक्षिक र राजनीति स्थिति अति नै प्रतिकूल   ? , यी प्रतिकूलताले नेपालीहरूलाई विदेश जान बाध्य पारिरहेको छ ?

– नेपालीहरूलाई बाहिर जान बाध्य पार्ने कुराहरू भनेको सीमित साधन-स्रोत,प्रविधि र अवसर हो । साधन स्रोत ,प्रविधि र विकासले अवसरहरू सिर्जना गर्छन् । आर्थिक र शैक्षिक विकाशले नागरिकहरूका लागि राज्यको पहुँच र अवसर बढ्न थाल्छ । राजनीति तत्काल जेजस्तो भएपनि यो सधैं यस्तो रहन सक्दैन । यो स्वाभाविक गतिले नै सुध्रिन्छ वा बलपूर्व भएपनि सुधार हुन्छ । अहिले नेपालीहरू बाहिर जानुको प्रमुख कारण अवसरको अभाव र अवसरको खोजी नै हो । तसर्थ देशमा रहेकाहरूको लागि अवसरको वृद्धि, बेरोजगार जनसंख्याको उचित व्यवस्थापन र त्यसबाट पनि आर्थिक लाभ लिएर देशमा आर्थिक संवृद्धिका लागि देशबाहिर जानुलाई अन्यथा मान्नु हुँदैन ।

तपाईंको कुनै विशेष सन्देश छ कि जुन भन्न मन लागेको होस् ?

– लेख्नु जीवनलाई गति र ऊर्जा दिनु हो । जसले शासकीय बाटोमा गएर वा अर्थोपार्जनको माध्यमबाट समाजलाई रूपान्तर गर्न सक्दैन, जान्दैन, भ्याउँदैन वा चाहँदैन तिन(लेखक)ले तिन(शासक वा उधमी/व्यवसायी)लाई समेत समाज रूपान्तरणका लागि गति र ऊर्जा दिने काम गर्छन् । तपाईंसँग विचार छ,अरूको भन्दा राम्रो योजना वा सपना छ,त्यो कति राम्रो छ भनेर कार्यान्वयन गर्न तपाईं आफैले सक्नु हुन्न वा भ्याउनु पनि हुन्न भने लेख्न सक्नुहुन्छ, लेख्नुहोस् । आफ्नो कुरा तपाईंले लेख्नु मात्र भयो (जुनसुकै माध्यम वा जुनसुकै विधामा) भने तपाईंको विचार,योजना वा सपना साँच्चिकै अरूकोभन्दा नवीन र योग्य रहेछ भने भोलि कसैले अपनाउन सक्छन् । कसैले गलत गरेको देखियो भने मौन नबस्नुहोस्,बोल्नुहोस् र प्रश्न गर्नुहोस् । तपाईंको प्रश्नले गलत गर्नेका लागि आँखाको काम गर्छ ।

मानव जीवन मूल्यवान् छ । त्यो मूल्यवान् जीवनले केही गर्‍यो वा गरेन ? केही भन्न पायो वा पाएन ? केही गर्न सक्यो वा सकेन ? यस मूल्यवान् जीवनको भोगाइ र अनुभूति तपाईंको अर्को पुस्ताका लागि वरदान हुनसक्छ । तपाईंले आउने पुस्ताका लागि आफूले दिनसक्ने वरदान नलुकाउनुहोस् वा नगुमाउनुहोस् । त्यसैले जति सकिन्छ लेख्नुहोस् । आफूलाई व्यक्त गर्नुहोस् । अमूल्य जीवनको मूल्यलाई खेर जान नदिन आफूलाई अभिव्यक्त गर्नुहोस् । तपाईंले शासकीय बाटोबाट लागु गर्नु भएको नियम अर्कोले तोड्न सक्छ । तपाईंले अर्थोपार्जन गरेर प्राप्त गर्नु भएको वैभव अर्कोले बिर्सन सक्छ । नासिन वा मासिन वा अर्कोले तपाईंको आर्थिक वैभव खोस्न वा लुट्न पनि सक्छ । तपाईंको लेखकीय मत, तपाईंको लेखकीय दृष्टिकोण र विचार त न मेटिन्छ न बिर्सने डर नै हुन्छ । यस्तो लाग्छ – लेखौं र लेखिरहूँ ।

भविष्यमा नेपाल फर्किने योजना वा सोच राख्नु भएको छ ?

– त्यो प्रयास र सम्भावना छ ।

 

 

 

 

विश्वराज अधिकारी                 लेखनाथ भण्डारी

 

Friday, August 2, 2024

Oklahoma, USA