साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आधुनिक आख्यानका धरोहर ध.च. गोतामे

Chovar Blues Mobile Size

विसं २०३५ सालमा औसत भन्दा अलि मोटो आकारको एउटा उपन्यास प्रकाशित भयो साझा प्रकाशनवाट, ‘घामका पाइलाहरु’ ।

त्यतिबेला प्रकाशन संस्थाहरु कम थिए, कम प्रकाशित हुन्थे । जति प्रकाशित हुन्थे, प्रायः उच्चस्तरकै हुन्थे, त्यसमाथि साझा प्रकाशन वा एकेडेमीबाट प्रकाशित कृतिको महत्त्व र महत्ता नै बेग्लै थियो । ती प्रकाशनबाट प्रकाशित हुन चानचुने मिहिनेतले पुग्दैनथ्यो र प्रकाशनका लागि वर्षौँ कुर्नुपर्ने हुन्थ्यो । सीमित जो जति पाठक थिए, तिनीहरु व्यग्रतापूर्वक नयाँ पुस्तकको प्रतीक्षामा हुन्थे । यस्तो बेलामा ‘घामका पाइलाहरु’ उपन्यास साझा प्रकाशनबाट आएको थियो र उपन्यासकार थिए, ध.च.गोतामे । मैले उनको खासै फुटकर रचनाहरु पढेको कुनै हेक्का थिएन । तर साझा वा एकेडेमीबाट प्रकाशित नयाँ कृति पढ्ने चासो बढिसकेको बेला थियो मेरो ।

गोविन्द गिरी प्रेरणा

मैले किनेँ ‘घामका पाइलाहरु’ र केही दिन लगाएर पढेँ । मलाई यौटा अलौकिक संसारमा पुगेजस्तो लाग्यो, यद्यपि त्यो उपन्यास वीरगञ्ज र अमलेखगञ्जको सेरोफेरोको पृष्ठभूमिमा लेखिएको थियो । तर तिनका नेपाली र मधेसका पात्रहरु, बङ्गाली पात्रहरु सबै सबै जीवन्त लागे । मलाई केही दिनसम्म त्यो उपन्यासको कथा र पात्रहरुको ह्याङओभर भयो ।

धच गोतामे नामसँगको मेरो पहिलो साक्षात्कार त्यसरी घामका पाइलाहरुको माध्यमबाट २०३५ सालमा भएको थियो । प्रत्यक्ष भेटघाट र अन्तरङ्गता भने निकै पछि भयो । अन्तरङ्गता शब्द मैले जानी बुझी प्रयोग गरेको हुँ, रमाइला ‘सवै किसिमका’ अन्तरङ्ग, ‘ठट्टा’ गर्ने र सँगै मदिरापान गर्ने सम्मको निकटता भएकाले मैले अन्तरङ्गता भनेको हुँ ।

sagarmani mobile size

‘घामका पाइलाहरु’ धच गोतामेको पहिलो पुस्तकाकार कृति थियो । यो कृति प्रकाशन हुनेबित्तिकै साहित्यिक वृत्तमा चर्चाको विषय भयो । छोटो समयमै यसको उदात्त चर्चाले बिक्री पनि राम्रो भयो, यद्यपि त्यतिखेरको साझाले पहिलोपल्ट प्रकाशित गर्ने पुस्तकको सङ्ख्या भने उही एक हजार थान नै थियो । यो पुस्तकले २०३५ सालको मदन पुरस्कार पायो । त्यतिमा थामिएन, यसले साझा पुरस्कार पनि प्राप्त गर्यो । मदन पुरस्कार र साझा पुरस्कार पाउने ‘घामका पाइलाहरु’ नै पहिलो कृति बन्यो र यौटा नयाँ इतिहासको निर्माण गर्यो । यसले यो कृतिलाई नेपाली जगतमा ख्याति फैलाउन र व्यापक व्याप्ति दिलाउन ठूलो काम गर्यो ।

यस्ता विलक्षण लेखकसँग मेरो भेट जुरेको थिएन । यिनी साहित्यिक सभा समारोहमा कतै देखिँदैनथे । सुनेँ, यिनी सरकारी ओहदामा छन्, उच्च पदस्थ छन् । बस्, यो भन्दा बढी मैले केही सूचना पाउन सकिनँ ।

एकैपल्ट सात वर्षपछि यी लेखक उदाए साझा प्रकाशनमार्फत नै, ‘यहाँदेखि त्यहाँसम्म’ दोस्रो र विशाल कायाको उपन्याससहित । यो उपन्यासले पनि साहित्यिक वृत्तमा उत्तिकै चर्चा र पाठक पायो । यसले फेरि साझा पुरस्कार पायो । यसरी यौटै लेखकले दुईपल्ट साझा पुरस्कार पाउने थोरै साहित्यकारको सूचीमा यिनको नाउँ दर्ता भयो । घामका पाइलाहरुको पृष्ठभूमि वीरगञ्ज र अमलेखगञ्जको सेरोफेरो थियो भने यो उपन्यासको पृष्ठभूमि राजविराज थियो ।

अझै यी लेखकसँग मेरो देखभेट हुन सकिरहेको थिएन । यसको लागि निकै लामो समय कुर्नुपर्यो । त्यसपछि त परिचय भयो नै, भेटघाट बाक्लो पनि भयो । उनी एकेडेमीको सदस्य सचिव हुनु र मैले २०४५ सालको नारायणी वाङ्मय पुरस्कार पाउनुले हामीलाई अझ नजिक्याउने काम गर्यो । यो सिलसिलामा सानोतिनो रोचक घोचक सम्झना र तीतामीठा स्मरण पनि गाँसिएका छन् ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट मेरो दोस्रो कथा सङ्ग्रह प्रकाशित भएको थियो, ‘अन्तराल’ । अनि त्यो पुस्तकले २०४५ सालको ‘नारायणी वाङ्मय पुरस्कार’ प्राप्त गरेको थियो, वीरगञ्जकै अग्रज उपन्यासकार भीमचरण थापासँग संयुक्त रुपमा । पुरस्कार वितरण वीरगञ्जमा हुँदै थियो र पुरस्कार ग्रहणका लागि निमन्त्रणा समेत प्राप्त भैसकेको थियो । यसैबीच मेरो भेट डा. ध्रुवचन्द्र गौतमसँग भयो र उनले पुरस्कार प्राप्तिका लागि बधाई दिँदै सुझाए, ‘ल गोविन्दजी, नारायणी वाङ्मय पुरस्कार वितरणका लागि धनुष दाइ प्रमुख अतिथि भएर जाँदै हुनुहुन्छ, एकेडेमी गएर भेट्नुहोस् न ! उहाँले गाडी लिएर जानुहुन्छ, सँगै गए भयो नि !’

कुरा बडो राम्रो थियो । यस्तो मामलामा ध्रुवचन्द्र निकै सामाजिक र मिलनसार भएको मैले अनुभव गरेकै थिएँ । अनि एकदिन पुगेँ एकेडेमीमा धनुषचन्द्र गौतम भेट्न । म उनको कोठाभित्र पस्ने अनुमति पाएर सोफामा के बस्न लागेको थिएँ, एकेडेमीको एक कर्मचारी स्वाँस्वाँ गरेर भित्र पस्दै फतफताउन थाल्यो, ‘यो किताबले त साह्रै हैरान पार्यो सर । साझा प्राकाशनमा छैन, रत्न पुस्तक भण्डारमा छैन, कति पुस्तक दोकान चहारेँ कतै छैन । कस्तो किताब रहेछ त्यो ।’

म कुरा नबुझेर कहिले धनुषचन्द्रको मुखमा, कहिले त्यस कर्मचारीको मुखमा हेर्दै थिएँ ।

धनुषचन्द्रले ती कर्मचारीतिर हेर्दै मुसुमुसु हाँस्दै भने, ‘त्यो किताबको लेखक उहाँ नै हो ।’

ती कर्मचारी क्षणभर अलमलमा परे र मछेउ आएर खुसामदी स्वरमा भने, ‘सरको अन्तराल किताब कहाँ पाइन्छ ?’

मैले हाँस्दै भने, ‘यहीँ पाइन्छ, एकेडेमीमा । किनभने त्यो किताब यहीँबाट प्रकाशित भएको हो ।’

मेरो जवाफ सुनेपछि धनुषचन्द्र र ती कर्मचारी हुनसम्मको आश्चर्यमा परेका थिए र कोठाबाट बिदाबारी भएर बाहिर निस्केका थिए ।

त्यसपछि धनुषचन्द्रले चिया मगाउँदै भनेका थिए, ‘तपाईंलाई पुरस्कार दिन मलाई डाकेका छन्, पुरस्कृत पुस्तकको बारेमा केही जानकारी लिउँ भनेर किताब किन्न पठाएको यस्तो ताल छ !’

अनि मैले ध्रुवचन्द्रले सँगै जानका लागि सम्पर्क गर्न सुझाएको बताउँदै भनेँ, ‘दाइ कहिले जानु हुने हो ?’

उनले मेरो अपेक्षा विपरीत टकटकिँदै भने, ‘जान त गाडी लिएर जाने हो तर श्रीमती केटाकेटीहरु पनि जाँदैछन्, गाडीमा त ठाउँ छैन !’

म ट्वाल्ल परें, मलाई पुरस्कृत गर्न औपचारिक कार्यक्रममा जान लागेका उनले पारिवारिक भ्याकेसनमा जान लागे जस्तो जवाफ दिए । चिया आइपुग्यो तर मैले चियाको स्वाद थाहै पाइनँ । अनि लुरुक्क परेर बिदा भएर म फर्कें ।

म बसबाट हेटौंडा गएँ । हेटौँडाबाट भीम विरागले मोटरसाइलमा वीरगञ्ज लैजानु भयो र धनुषचन्द्रकै हातबाट पुरस्कार ग्रहण गरेँ र भीम दाइकै मोटरसाइकलमा पुरस्कार ग्रहण गरेपछि त्यसै साँझ फर्किएँ, यद्यपि त्यस साँझको रात्रिभोजको निमन्त्रणा पनि थियो ।

त्यसपछि विभिन्न अवसरमा धनुषचन्द्रसँग भेटघाट हुन थाल्यो । मैले उनको यौटा अन्तरवार्ता लिन चाहेँ । उनले घरमा साँझको बेला आमन्त्रण गरे । नकुल सिलवाल र म गयौँ अन्तरवार्ता लिनका लागि । अन्तरवार्तापछि सायँकालीन खाजा र पेय पनि चल्यो । पेय चाहिँ उनको लागि विशेष कोटा रहेछ । डाक्टरबाट अनुमति पाए जति मात्र उनले पिउन पाउने रहेछन् । आधा क्वार्टर मदिरा उनको कोटा रहेछ र क्वार्टरको सिसीमा इनामेल हो वा नङ पालिसले क्वार्टरको सिसीमा चिनो लगाएजति घरकाहरुले दिँदा रहेछन् ।

‘तर पाहुना आएको बेला भने भ्रष्टाचार गर्न पाइन्छ । तपाईंहरुलाई थप्ने निहुँमा अलि बढी खान पाइन्छ,’ उनले हाँस्दै भनेका थिए । उनको कोठामा व्यायाम गर्ने साइकल पनि थियो र स्वास्थ्यसम्बन्धी पत्रिका पनि नियमित पढ्ने उनको आदत रहेछ । जे होस्, उनको स्वास्थ्य सचेतताबारे थाहा पाएर हामी प्रभावित भएका थियौँ ।

एकपल्ट संयोगवस एक साहित्यकार तथा पुराना प्रशासकको छोराको बिहे भोजमा नकुल सिलवाल, धनुषचन्द्र र म सँगै भेटियौँ । अनि हाम्रो धारावाहिक साहित्यिक गफ र ठट्टाको सिलसिला अघि बढ्यो । आज उनी कोटामुक्त उन्मुक्त भएर स्कच पिउँदै थिए । हुन पनि काठमाडौंमा स्कचको खोलो बग्ने गरी बिहाभोज खाएको थोरै अवसरमध्ये त्यो एक थियो । उनले साउतीको स्वरमा भनेका थिए, ‘भ्रष्टाचार त राम्रै गरेका रहेछन्, हेर्नोस् त स्कचको खोलो अविराम बगेको बग्यै छ।’

आतिथिलाई यसरी व्यङ्ग्य गर्दै हामीले स्कच थपीथपी पिएका थियौँ र मज्जाले हाँसेका थियौँ ।

धनुषचन्द्रले दुई वटा कीर्तिमानी उपन्यास लेखेपछि उपन्यासमा होइन संस्मणात्मक निबन्धमा उनले कलम चलाउन थाले । त्यसो त उनी सानैदेखि लेख्थे । साहित्यकार श्यामप्रसादको सेवा पत्रिकामा २००८ सालमै उनका रचना प्रकाशित थिए र व्यंग्यात्मक रचना लेखन उनको यौटा पाटो थियो । तर विसं २०५३ सालमा ‘कालान्तर’ प्रकाशित भएपछि ती निबन्धहरुको वाहवाही भयो । यो वाहवाही ‘घामका पाइलाहरु’ उपन्यासले पाएको वाहवाही भन्दा कम थिएन । त्यसपछिका सम्झनाका गल्छेंडाहरुमा (विसं २०५५), तीन बास (विसं २०५८), उत्तरोत्तर ( विसं २०५९) पनि उनका उम्दा संस्मरणात्मक कृतिहरु हुन् । यस बीचमा उनको ‘संज्ञा सर्वनाम’ व्यङ्ग्य निबन्धहरुको पुस्तक पनि प्रकाशित भयो, नारायणी वाङ्मय प्रतिष्ठानबाट । त्यसको प्रकाशनको पनि कथा छ ।

नारायणी वाङ्मय प्रतिष्ठान सुस्त हुँदै गएको थियो तर त्यसको कोषमा केही रकम थियो । त्यो रकमबाट धनुषचन्द्रको ‘संज्ञा सर्वनाम’ पुस्तक प्रकाशनका लागि रकम निकासा गर्न धनुषचन्द्रका वीरगञ्जवासी भाइबन्धु लागिपरे । तर नारायणी वाङ्मय प्रतिष्ठानको विधानमा पुस्तक प्रकाशनका लागि सहयोग गर्ने वा अनुदान दिने प्रावधान थिएन । अतः त्यसमा राय विभाजन भयो । तर निकै जोड लागेपछि रकम निकाशा भयो । पुस्तक छापियो काठमाडौंमा । परिषदले रकम खर्च गरेको र धनुषचन्द्र आफैं वीरगञ्जका भएकाले परिषदका पदाधिकारीहरु सो पुस्तकको विमोचन वीरगञ्जमै गराउन चाहन्थे र त्यसको लागि निम्ता गरिरहेका थिए ।

त्यसैबीच कवि द्वारिका श्रेष्ठले वर्षेनी आयोजना गर्ने ‘साहित्य वन महोत्सव’ को आयोजना आयो । संयोगवस त्यस वर्षको कार्यक्रम संयोजक म थिएँ । धनुषचन्द्र गौतम पनि निम्तालुमध्ये एक थिए । बाटोमा रमाइलो गर्दै हाँसो ठट्टाको साथमा हामी काठमाडौँबाट चितवनको चितवन जङ्गल लजतर्फ लाग्यौं । बाटामा बिहानको नास्तापछि पुनः बसमा चढ्दा सिटमा को कता को कता परे । म भने धनुषचन्द्र गौतमसँग परेँ । उनका ठट्टा र व्यङ्ग्यात्मक अभिव्यक्तिले हामी रमाइरहेका थियौँ । तर केहीपछि साथीहरु सुस्ताउन थाले । त्यही मौकामा धनुषचन्द्रले मेरो कानमा साउतीको स्वरमा भने, ‘गोविन्दजी, हामी सँगै परेर राम्रो भो । तपाईंसँग यौटा सल्लाह छ, सल्लाह पनि के भन्नु तपाईंले सहयोग गर्नु पर्यो ।’

मैले भनें, ‘के होला दाइ ?’

उनले भने, ‘मेरो संज्ञा सर्वनाम किताब छापिएको छ । वीरगञ्जियाहरु वीरगञ्जमा विमोचनका लागि बोलाउँदैछन् । मलाई वीरगञ्ज जान मनै छैन । यौटा किताब ल्याएको छु, कार्यक्रममा यसो विमोचन गरिदिउँ, अनि त मलाई वीरगञ्ज जानुपर्ने टण्टै हुन्न।’

त्यस्ता अग्रजले यति भनिसकेछि मैले संयोजकका नाताले नाइँनास्ती गर्ने कुरै थिएन । साहित्य वन महोत्सवको कार्यक्रममा ‘संज्ञा सर्वनाम’ को विमोचन कार्यक्रम पनि घुसाइयो र कवि द्वारिका श्रेष्ठको हातबाट विमोचन भयो । म छक्क त्यतिबेला परेँ, जब उनको त्यस चितवनको यात्राको संस्मरण लेख प्रकाशित भयो । त्यसमा विमोचनको विषयमा भएको यथार्थभन्दा बिल्कुल फरक, एक किसिमले भनौं भने उल्टो कुरा लेखिएको थियो । धनुषचन्द्रजस्ता स्वनामधन्य लेखकले किन झूट लेखे, म हैरान थिएँ । मलाई उनका संस्मरणहरु लोकप्रिय हुँदाहुँदै र चर्चित हुँदाहुँदै पनि केही गम्भिर व्यक्तिहरुले मरेका मान्छेको बारे उछित्तो काढेको र कतिपय कुरा विश्वसनीय नभएको भनेर गरेको आलोचना झल्झली याद आयो ।

मित्र नकुल सिलवाललाई मैले अन्तरवार्ता लिने क्रममा मेरो तर्फबाट धनुषचन्द्र गौतमको घर लगेको थिएँ । अब भने नकुलजीको तर्फबाट म धनुषचन्द्रकहाँ जाँदै थिएँ । धनुषचन्द्रले नै नकुललाई निम्ता गरेका थिए । नकुल र म हम्मेसी नछुट्टिने जोडी भएकाले म पनि निम्त्याइएको थिएँ । सायँकालीन सुस्वादु खाजा र पेयको दौर चल्यो पहिलेजस्तै । खासमा धनुषचन्द्र नकुलजीको बगर फाउण्डेसनबाट उनको यौटा पुस्तक प्रकाशित होस् भन्ने चाहँदा रहेछन्, त्यसैका लागि निम्ता गरिएको रहेछ । म अमेरिका लागिहालेँ, नकुलले उनको ‘आरोह अवरोह’ निबन्ध सङ्ग्रहलाई सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कारले पुरस्कृत गरेरै वि.सं २०६२ सालमा प्रकाशित गरिदिए ।

धनुषचन्द्रले तेश्रो उपन्यास पनि लेखे ‘अग्राखका पालुवाहरु’ । तर त्यो पूरा भएन वा पूरा भएर पनि नछापिएको हो, त्यो तथ्य अज्ञात नै छ अझै । पछिल्लो चरणमा संस्मरणमा उनी रमाए पनि, पाठक रमाए पनि कालान्तरसम्म उनलाई चिनाउने उनका दुई उपन्यासहरु नै हुनेछन् भन्ने लाग्छ । ती दुवै उपन्यासमा देखिने औपन्यासिक शिल्प, माधुर्य र चरित्र चित्रण बेजोडको छ, तुलनामा आफैंले सदस्य सचिव भएर प्रशासन हाँकेको एकेडेमीको कर्मचारीको आनीबानी र चरित्रको उछित्तो काढेका संस्मरणभन्दा । यद्यपि उनका संस्मरणमा पाइने व्यङ्ग्य, मिठास, शाव्दिक चातुर्य, ऐतिहासिकताको पनि आफ्नै प्रकारको महत्त्व र विशेषता छ ।

विसं १९८९ पुस १२ का दिन मनराकट्टी महोत्तरीमा जन्मेका धनुषचन्द्र २०६३ सालमा काठमाडौंमा दिवङ्गत भएका थिए ।

प्रतिक्रिया
Loading...