बालकुमारीबाट तीस मिनेट जतिको दूरीमा रहेछ काठमाडौँ विमानस्थल । बिहानको साढे सात भएको हुँदो हो, पाठशालामा एक कप चिया पियौँ र विष्णु डाँगी सरबाट यात्रा शुभकामना लिएर हाम्रो यात्रा धनगढीका लागि अघि बढ्यो।

पाँच दिन पाँच रातको यात्राले काठमाडौँ ल्याइपुर्यायो । धनगढीले अरू तीन दिन र रातहरू काठमाडौँकै नाममा खर्च गर्ने अवसर दियो । काठमाडौँ बसाइका दिनहरूमा पुर्ख्यौली भूमि जन्मभूमि जस्तो निकट लाग्यो । त्यसमाथि पाठशालामा पाएको आफ्नोपन, माया र सम्मानले आफू बर्मेली नेपाली हौँ भन्ने कुरामा पनि अविश्वास लाग्न थालेको थियो ।

पाठशालाकै बस चढेर हामी विमानस्थल पुग्यौँ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । ज्ञान सरले हिजै यात्राको तयारी थाल्दा बताइसक्नु भएको थियो । जहाँबाट हाम्रो धनगढीको यात्राको शुभारम्भ हुनेवाला थियो । धनगढीको साहित्य माहोलको पूर्वानुमानका तर्क वितर्क र कौतुहल एकातिर, हाम्रा पाइलाहरू लक्ष्यको निकट पुगेको खुशी र विश्वभरका नेपाली साहित्यकारहरूसँग प्रत्यक्ष भेट्न पाउने अवसर अर्कातिर, उत्सुकता र भिन्नैखालको रोमान्चकताले पोतिएका हाम्रा अनुहार जोकोहीले सजिलै पढ्न सक्थ्यो।

धनगढीले हामीलाई लिन प्लेन पठाइसकेको थियो, र पनि एयरपोर्टका नियम र चेकिङले झन्नै एक घण्टा त खोसिहाल्यो । नेपालका बारे बोलिरहँदा बर्मालाई एउटा प्रसङ्गमा जोडिहालौँ । त्यो के भने, नब्बे प्रतिशत बर्मेली नेपालीहरूका दुई वटा नाम हुन्छन् । एउटा न्वारनको, अर्को सरकारी प्रयोगको । सुरूमा नेपाल फर्कने भन्दै पहिलो र दोस्रो पुस्ताका नेपालीहरूले कहाँ सरकारी स्कुल पढाएर आफ्ना छोराछोरीलाई ? त्यो समयमा पढ्न पाउने नेपालीलाई अपवाद मानिन्थे रे !

त्यसताका बर्माको देश, काल र परिस्थितिसँग जोगिन पनि सहरमा बसेर छोराछोरी पढाउनु , व्यापार कारोबार गर्नुभन्दा नेपालीहरू जङ्गलमा खेतबारी र पशुपालनमै व्यस्त भए । पछि तेस्रो पुस्ताबाट शिक्षामा चासो बढ्यो । केही छोराछोरी पढाउन भनी सहर पस्न लागे । सहर जान नसक्नेहरू गाउँमै भएको स्कुलका सन्तान पढाउन लागे । पाठशालामा पढाउन नाम दर्ता गराउनु पर्ने भयो । पढ्ने विद्यार्थीको नामसँगै बुबाको नाम पनि आवश्यक हुन्छ । प्रष्ट भन्न नसक्दा, लेख्नेले सुन्न नजान्दा अथवा बर्मेली शब्दले नेपाली हलन्त शब्द टिप्न नसक्दाको अवस्थामा मानबहादुरको बर्मेली नाम मेंभाढू, सोमलालको सोमल्ले आदि हुन पुग्यो । नागरिकता पनि पछि त्यही नाममा आयो । तेस्रो र चौथो पुस्ताका नेपालीहरू शिक्षित हुँदै गएपछि बर्मेलीमै नाम राख्न थाले । तर पनि पचास प्रतिशत यी पुस्ताहरूले आफ्नो नागरिकता बनाउने क्रममा बुबा हजुरबुबाहरूको नाममा हलन्त, आधा अक्षर र चन्द्रबिन्दू छुटेर अर्कै नाम भएका हुनाले धेरै समस्या बेहोर्नु पर्यो । त्यसैले पनि, आजकाल त एकै व्यक्तिको तीन वटासम्म नाम हुन्छन् । एउटा न्वारनको,  अर्को घरमा बोलाउने अर्थात् नेपाली पाठशालामा लेखाउने र स्कुलको नाम अर्थात् नागरिकतामा दर्ता गराएको बर्मेली नाम ।

काठमाडौँ जति सुन्दर स्वयम्भूनाथबाट हेर्दा देखिन्थ्यो, त्योभन्दा सुन्दर प्लेनको सानो झ्यालबाट चियाएर हेर्दा देखियो । बौद्ध स्तूप त झन् अति नै सुन्दर देखियो ।

नेपालमा बर्मेली नामले समस्या नहोस् भनी सरले हिन्दूविद्यापीठको सहयोगमा नेपाली नामकै एक एक वटा कार्ड बनाइदिनु भएको थियो । हामीले त्यो कार्ड पाएदेखि आफ्नो पासपोर्ट र नागरिकता थन्काएर त्यही कार्डको भरमा धनगढी उड्दै थियौँ । तर हाम्रा केही मित्रहरूको कार्डमा भएको नाम र प्लेनको टिकटमा उल्लेख गरेको नाममा गल्ती भएछ । केही समस्या नै पो पर्ने हो कि ? हामी चिन्तित पनि थियौँ । तर त्यहाँका कर्मचारीलाई धनगढीको साहित्य सम्मेलनमा सहभागी हुन हिँडेको भनेर राम्ररी सम्झाएपछि गल्ती माफ भयो ।

काठमाडौँ जति सुन्दर स्वयम्भूनाथबाट हेर्दा देखिन्थ्यो, त्योभन्दा सुन्दर प्लेनको सानो झ्यालबाट चियाएर हेर्दा देखियो । बौद्ध स्तूप त झन् अति नै सुन्दर देखियो । धुलो, धुवाँ र बादलले ढप्पकै ढाकेर यस्तो सफा दृश्य देख्न कहाँ पाइन्छ र अन्य देशको विमान यात्रामा ?

बादल चिर्दै पश्चिमतिर उड्यो प्लेन, मलाई भने एक छिन काठमाडौँलाई नै हेरिरहन मन लाग्यो । सहरहरू पछाडि छुट्दै जाँदा अग्ला-अग्ला हरिया पहाडका थुम्काथुम्की र बीचमा धर्सोजस्तो देखिने बाटो पनि खुब सुन्दर देखियो। असलमा, म दक्षिणपट्टिको साइटमा थिएँ राजनसँग । हाम्रो पछाडि सरगम र मधूदी । उत्तरपट्टिको साइटमा ज्ञान सर र सीमादी । उहाँहरूको पछि भीमजी र भागवत सर । हामी चार जोडी दायाँ बाँया भएका थियौँ ।

“कस्तो होला साहित्य सम्मेलन ?”, मैले सगरमसँग सोधेकी थिएँ ।

उनले भनिन्, “अनुभव नभएको हुनाले अनौठो तर नौलो भाव जागेकै छ मलाई पनि । बर्माको साहित्यिक स्थितिसँग त तिमी विदितै छौ । हामीसँग यसको अनुभव कहाँ छ र ? तर मलाई यस साहित्य सम्मेलनप्रतिको अबोध खुशीले बेसरी कुत्कुत्याएको छ । यस्तो होला भनी म रूपरेखा बताउन त सक्दिनँ, तर यहाँबाट धेरै कुरा सिक्न पाउनेछु भन्ने मलाई विश्वास छ ।”

म मात्रै हैन, भीमजी र ज्ञान सरसिवाय सबै यो हिमालको रहस्यबाट अनभिज्ञ थियौँ । त्यसपछि त दक्षिणपट्टि कहाँ नजर लगाउन भ्याएँ र ! हिमालतिरै एकोहोरो हेरेको हेरै ।

सरगमको विश्वासमा मलाई पनि कुनै शङ्का थिएन । हामीलाई यात्राभरिका प्राकृतिक सुन्दरताहरूको पनि केही न केही सिकाएकै त छन् । साहित्य सम्मेलन नपुग्दै पनि यतिका कुराहरू सिकिरहेकै त छौँ । यही सोचमा टोलाएकी थिएँ, “त्यता हैन यता हेर, यता”, सरले भन्नु भयो । आवाज पच्छ्याउँदै सरतिर के आखाँ मोडेकी थिएँ आँखाले हेरेर नभ्याउने गरी क्षितिजैसम्म हिमालै हिमाल ! म त आश्चर्यचकित भएँ । यो विमान यात्रामा हिमाल देख्न पाइएला भनेर कल्पना पनि गरेकी थिइनँ । म मात्रै हैन, भीमजी र ज्ञान सरसिवाय सबै यो हिमालको रहस्यबाट अनभिज्ञ थियौँ । त्यसपछि त दक्षिणपट्टि कहाँ नजर लगाउन भ्याएँ र ! हिमालतिरै एकोहोरो हेरेको हेरै ।

“डिसम्बर र जनवरी महिनामा मोगोकको भार्नेट भन्ने ठाउँमा अलि अलि परेको हिउँ हेर्न पनि रहर गरी गरी जाने म, आफ्ना अगाडि यति सुन्दर हिमाल पाउँदा मेरो त मनै हरण भए झैँ भयो,” सरगम भन्दै थिइन् । उनको आवाज मेरा कानमा गुन्जिरहेकै थिए तर पनि म अमूक थिएँ । मात्र सबैले पालो बाँधे झैँ गरी गरेको तारिफ मात्र सुनिरहेँ ।

“हुन त जीवनमा हिमाल नसुनेको शब्द हैन । तस्बिरबाहेक साक्षात् देखेको थिएन । कवितामा हिमालको व्याख्या पढ्दा लाग्थ्यो, हिमाल देखेपछिको आनन्द कस्तो होला ? सोच्थे, चरीको जस्तो पखेटा भएको भए पनि हिमालको दर्शन गरिहाल्थेँ,” शब्द राजनका भए पनि भावना मेरा झैँ थिए । “सौभाग्यवश नेपालै पुगेर हिमाल हाँसेको हेर्ने मौका पाएँ । मनबाट हराएको चिज मनैले भेट्टिए जस्तो आभास, उफ्….। बरू तपाईँलाई कस्तो लाग्यो ?”, उनी बीचबीचमा मतिर प्रश्न तेर्स्याउँछन् तर हिमालको दृश्यमा लीन भएर म बेफुर्सदी भएकी थिएँ । मलाई उत्तर दिने फुर्सद कहाँ ? बस्, उनको कुरा भन्ने सुन्न छाडेको थिइनँ ।

“बादलले ढाक्दै, केहीक्षणमै आकाश फाटेर सूर्यको किरणले टलक्क टल्कदै.. । बर्मेली साहित्यप्रेम देखेर हिमाल लजाए जस्तो, बेहुलीले घुम्टोले अनुहार छोपे झैँ तुसारोले छोप्दै… पुन: आफ्नो स्वरूप देखाउँदै गरे जस्तो ! सुन्दाको हिमालको आनन्द र देख्दाको हिमालको आनन्दमा कति हो कति फरक पाएँ मैले त,” परैबाटै भए पनि सुन्दर हिमालको फोटो फोनभित्र कैद गर्दै मधूदीले भन्नुभयो, “म जस्तै मेरा परिवारहरूले हिमाललाई निकटबाट देख्न पाऊन् भनी लिएको यी फोटाहरू । अड्को पड्को तेलको धुप भने झैँ हिमाल चढ्न नपाए नि दर्शनले नै मनको तीर्खा मेटाएँ आज मैले । अझ यी हातका औँलाले सुम्सुम्याउन पाएँ कस्तो हुन्थ्यो होला !”

खासमा मेरो इच्छा पनि यही थियो । मलाई पनि उहाँलाई झैँ हिमालको काखमा बसेर जिन्दगीका थकाइ र पीडाहरू मेटाउँ, हिउँको स्वच्छ वायुको स्पर्श गरूँ, गएर झ्वाम्मै अङ्गाली एक छिन आफूलाई पनि बिर्सूँ जस्तो लागेको थियो । नेपाली फिल्मको “चरी भई उड्न पाएँ गगनको माथि माथि” गुनगुनाउँदै बरफका पहाडहरूदेखि खुसी भएको सीमादीको अनुहार पनि हेर्न लायक थियो ।

“नीलम बहिनीले नेपाल पुगेपछि हिमालको फेदसम्म भए पनि पुगेर आउनू है भनेकी छिन्,” सीमादीले मलाई पोखरा पनि जाने हो भनी प्लान गरेकै बेला भन्नु भएको थियो। यतिबेला पक्कै उहाँले नीलमलाई पनि सम्झनु भयो भन्ने कुरा अनुमान लाउन मलाई गाह्रो थिएन । तर मनमा चाहिँ कताकतै डर पनि थियो, त्यो अनुभव गर्न भने पाइनँ ।

हो, म्यान्माको कछिन् प्रान्तको पुटाओ सहरसम्म फैलिएको छ हिमाल । सेताम्मे चुचुरा र नेपालका झैँ आकाशै छेड्ने अग्ला नभए पनि साना र कतै मझौला आकारका हिम श्रृङ्खला छन्, जसले नेपालको तिर्सना केहीहदसम्म त मेटाइदिन्छन् ।

त्यहाँ राखिएको पुस्तक पल्टाएर पनि हिमाललाई जान्ने प्रयास गरेँ मैले । हिमालय एसियामा अवस्थित एक हिमशृङ्खला हो भन्ने कुरा त मलाई थाहा थियो, तर हिमालका यति धेरै नाम छन् भन्ने कुरा थाहा थिएन । आफूलाई त सगरमाथाबाहेक केही थाहा भएको भए पो ! दक्षिण-पश्चिमबाट पाकिस्तान, भारत हुँदै तिब्बत, नेपाल र भुटानसम्म फैलिएको छ भन्ने पनि थाहा थिएन । हिमालय अफगानिस्तानको हिन्दूकुश हिमशृङ्खलासँग जोडिएको कुरा पनि लेखिएको रहेछ पुस्तकमा । तर म्यान्मारसम्म जोडिएको भन्ने विषय कतै देखिनँ । हो, म्यान्माको कछिन् प्रान्तको पुटाओ सहरसम्म फैलिएको छ हिमाल । सेताम्मे चुचुरा र नेपालका झैँ आकाशै छेड्ने अग्ला नभए पनि साना र कतै मझौला आकारका हिम श्रृङ्खला छन्, जसले नेपालको तिर्सना केही हदसम्म त मेटाइदिन्छन् । त्यो पनि कहाँ प्रत्यक्ष छुन पाएको छु र ! न्युजमा पढेको र युट्युबमा हेरेकोमै सीमित ज्ञान मात्र हो ।

भीमजीको आवाज कानका ठोकियो । आफ्नै प्रान्तमा नभए पनि नेपाल आएर हेरेको हिमालको मज्जा अनुपम छ उहाँलाई । ज्ञान सर त आफैँ हिमाल टेकेर आउनु भएको व्यक्ति, केही वर्षअघि आफ्ना सोह्र जना मित्रहरूसँग  ।

लुक्ला एयरपोर्ट खतरनाक मानिन्छ रे, ज्ञान सरले भन्नु भएको । काठमाडौँबाट लुक्लासम्म प्लेनमा र त्यहाँको नाम्चे बजारबाट माथि बेसक्याम्पसम्म हिँडेर जानु पर्नेमा आफ्ना केही मित्रहरूलाई लेक लागेर रेस्क्यू बोलाउनु परेको थियो रे ! उहाँले आफ्ना यादका पाना पाना हामी समक्ष पल्टाउनु भयो । जसलाई हामीले पढ्ने कोसिस गर्यौँ ।

बीचबीचमा बादल चिर्ने क्रममा प्लेको बिग्रेको सन्तुलनले थोरै डर पलाए पनि हिमाल देख्न पाउनुको आनन्दमा बाधा पर्न दिएन । हिमाल हेर्दैहेर्दा कति चाँडै धनगढी पुगिएछ, पत्तै भएन । हुन त एक घण्टको मात्र दूरी रहेछ । हिमालको दर्शन र त्यसको मोहमा मग्न भएपछि कहाँ पत्तो पाइदो रहेछ र ?

हिमाल यात्रा त्यहीँ सकियो, अबको समय साहित्य यात्राको थियो ।

हामीले धनगढी विमानस्थल टेक्यौँ ।