शायद साहित्यका विधा र उपविधा केलाउन सक्ने ल्याकत राख्थे भने म ठूलै समीक्षक बनिसक्थें होला । “तिमीले लेखेको यो मिल्यो, त्यो मिलेन” भन्दै “सिद्धान्तका कोर्रा”ले हानिसक्थें होला । त्यही भएर आजसम्म तपाईंले राजेन्द्र कार्की नामधारीले समीक्षाको औजारले कुनै कृति गोडमेल गरेको देख्नु भएको छ ? अहँ, छैन । त्यो म ठोकुवा गर्न सक्छु ।

समीक्षाको शाब्दिक अर्थ बुझ्न शहीदलाई सहिद बनाउने नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोश हेरें । यस्तो लेखेको रहेछ – “कुनै कृतिबारे गुण दोष छुटाई गरिने विवेचना, समालोचना ।”

त्यसपछि ठानें – मेरा लागि समीक्षा कालो अक्षर भैंसी बराबर ।  नजाने गाउँको नामै नलिऊँ । बरु …हिउँको रापको नाम लिऊँÚ, जे जे पर्ला पर्ला ।

शीर्षमा …हिउँको रापÚ र त्यसमुनि डा. कुसुमाकर शर्मा गौतम लेखिएको पुस्तकले मलाई महिनौं  देखि टुलुटुलु हेर्छ । म मरिकाटे हेर्दिनँ । फेब्रुअरीदेखि जुनसम्म सयौं मान्छेका करका दर मिलाउन सहयोग गर्दै दिन बित्यो । फेरि त्यति नगर्ने हो भने पेटमा राप ताप आउने कुरै भएन । कामको तापले ज्यान तातेका वेला हिउँको राप पनि थपिंदा सहन सक्ने कुरै भएन । त्यही भएर हिउँको राप ताप्नेतिर लागिएन । बरु टाढै बसियो र त्यता आँखै लगाइएन ।

“अति गर्नु, अतिचार नगर्नु” भन्छन् । त्यही भएर लौ अतिचार नगरौं भन्ने ठानेर हिउँको राप माथि जुलाईमा आँखा भुलाइ भयो । कभर भित्रको पहिलो पेजमा कोष्ठभित्र लघुकथा संग्रह भनेर लेखिएको रहेछ । कथा, उपन्यास सुनेकै हो र आक्कलझुक्कल पढेको पनि हो । काव्य, खण्डकाव्य, महाकाव्य पनि नसुनेको होइन । अझ आफैं सुत्ने कोठाको दराजमा ठिङ्ग उभिएर शाकुन्तल महाकाव्यले हेरिरहन्छ र वेला वेलामा गिज्याइरहन्छ ।

अनि लघुकथा ? लघुकथाको यत्रो भेल बाढी आएको वेला सुन्दै सुनेको थिइनँ भन्दा कसले पत्याउला  ! कोरोनाका कहरमा “राष्ट्रियता” नामको कथा कुनै अनलाइनमा पढेको थिएँ । छोटो तर स्वादे थियो । त्यो कथा यिनै डा.कुसुमाकर शर्माले लेखेका रहेछन् ।

जिन्दगी कथा हो, त्यसैले कथा जिन्दगी जस्तो लामो हुने होला । त्यो कथाभित्र व्यथा पनि त्यतिकै हुन्छन् । कथा लामो भयो भने उपन्यास बन्दो हो । तर लघुकथा चाहिं जिन्दगीको कथा हो कि होइन, थाहा भएन । तर हिउँको रापको तापले भेटेपछि थाहा लाग्यो लघुकथा छोटा हुँदा  रहेछन् ।

कुसुमाकर शर्मा साहित्यकार मात्र होइन रहेछन् ।  यी त ठूला वैज्ञानिक पनि रहेछन् । फेरि यिनी स्वघोषित वैज्ञानिक होइन रहेछन् । क्यानडाको युनिभर्सिटी अफ अल्वर्टाबाट विद्यावारिधि गरेका यिनी अल्वर्टा सरकारको वातावरण मन्त्रालयको पानी प्रशोधन विशेषज्ञ रहेछन् । फेरि देशमा छँदा पनि इन्जिनियरको पदमा विराजमान भैसकेका रहेछन् । त्यो पनि गुगल भाइले भनेर पो थाहा पाएँ । त्यति थाहा पाउन पनि वर्षौं कुर्न पर्‍यो ।

कोभिडले घरमा कैद भएर बसेको वेला शर्माको “दशैंको खसीखोज” नामक यात्रा संस्मरण सन् २०२० तिर कुनै अनलाइन पत्रिकामा पहिलो पटक पढेको थिएँ । यात्रा गर्न नपाएका एशिया, अफ्रिका, युरोप र क्यानडा लगायतका धेरै ठाँउ “दशैंको खसीखोज” मा उनले सँगै यात्रा गराए । त्यसपछि जूमको माध्यमबाट सञ्चालन हुने साहित्यिक कार्यक्रममा जूम भेट हुन थाल्यो । म यिनको नियमित पाठक बन्न थालें ।

वैज्ञानिक मान्छेले जागीर बाहेक पनि अनुसन्धान गरेर विक्री गरे डलर फल्थ्यो होला । अन्तर्राष्ट्रिय जर्नलमा लेखे पनि पारिश्रमिक बर्सिन्थ्यो होला । नाम दाम दुवै हुन्थ्यो होला । तर केही नफल्ने नेपाली साहित्य लेख्ने जाँगर चलेको देख्दा यिनी गजब कै मान्छे लाग्यो । फेरि सोधौं भने पनि तँलाई के को चासो भन्लान् भन्ने डर छ । फेरि लेख्दा झनै डर छ । एउटा शब्द चिप्लियो भने पनि लखेटाइमा परिन्छ । डरै डरको दुनियाँमा लेखकलाई भर चाहिं कम छ । काम कुरो एकातिर कुम्लो बोकी अर्कातिर भने जस्तै हिउँको रापको कुरा गर्दा गर्दै आफ्नै गन्थनको चापतिर पो लागिएछ ।

घामको राप सुनेको हो । अँगेनाको छेउमा आगो राप तापेको हो । अझ कति पटक आगो राप ताप्दा ताप्दै लुगा ढडे । तर “हिउँको राप” कहिल्यै सुनेको होइन । फेरि लघुकथा भनिएको छ। क्यानडाको अल्बर्टामा लघुहिउँ पर्दैन ।  उपन्यास हिउँ पर्छ । उपन्यास हिउँ देखेकै हो । अहिले चाहिँ लघुहिउँ तिरै लागौं ।

हिउँको रापको पहिलो कथा “उपहार” रहेछ । पढें, पहिलो पटक बुझ्दै बुझिन । फेरि दोहराएर पढेपछि बिम्बात्मक मात्र नभएर खुवै दार्शनिक पनि लाग्यो । भाँचिएको लाहुरे फूल र विकलाङ छोरोलाई बिम्ब बनाएर लेखिएको यो कथा दार्शनिक मात्र रहेनछ । व्यवहारवादी पनि रहेछ । जति नै प्रतिकूल उपजलाई पनि सहज स्वीकारेर जीवन जिउनु पर्ने जुन दर्शन कथामा छ, त्यस्तै दर्शन र भावुकता हरेक कथामा भेटिन्छन् । आखिर प्रकृतिमा थरीथरीका उपहार छन् । कोही सग्ला छन्, कोही अग्ला छन् । तर सग्ला र अग्ला मात्र प्रकृतिका उपहार होइनन् । होचा, खोचा, रूप, कुरूप जेजे भएपनि आखिर ती सबै प्रकृतिका उपहार हुन् ।

ज्ञान र प्रविधिले दुनियाँ सीमा विहीन बनेको छ । को मान्छे कहाँ पुग्छ । कहाँ बस्छ भन्ने कुनै सीमा नै रहेन । जो जहाँ पुग्छ, त्यही इष्ट मित्र नाता कुटुम्ब बन्छन् र समाज बन्छ, त्यही समाजमा प्रेम हुन्छ । त्यही सन्तान हुन्छन् । आज मान्छे  बहुराष्ट्रिय बनेका छन् । कुनै एउटा राष्ट्रियताले आजको मान्छेलाई छेकेर छेकिंदैन । खाना नाना सबैको साझा हो । त्यो सबैलाई चाहिन्छ । त्यस्तै प्रेम पनि साझा हो । रूप रङ्ग, धर्म र भाषाले प्रेमलाई रोक्न सक्दैन । आजको त्यो यथार्थतालाई कथाकारले “राष्ट्रियता” नामको कथामा बेजोड प्रस्तुति दिएका छन् । हुन त यो कथा मैले पहिले नै कतै पढेको थिएँ र त्यतिखेरै बेजोड लागेको थियो । पढ्दै जाँदा लाग्छ, एउटा इन्जिनियरले प्राविधिक नाप जाँच मात्र होइन, साहित्यिक नाप जाँच पनि उस्तै मजाले जान्दो रहेछ । शायद बहुमुखी प्रतिभा त्यसैलाई भनिंदो हो ।

साम्राज्यवाद र विस्तारवादको विरुद्धको क्रान्तिकारी संघर्षले नेपाली समाजले के पायो ? त्यो त घाम जस्तै छर्लङ्ग छ । तर त्यही वादको नाममा कलिला स्कूले बालबालिकालाई भरिया बनाउने र बन्दूक बोकाउने क्रान्तिकारीले नै आफ्ना सन्तान अमेरिका पठाउन कुनै कसर बाँकी नराख्ने प्रवृत्तिलाई “नैतिकता ” नामको कथाले  मखुन्डो उदाङ्गो पारेको छ । पाखण्डलाई खण्ड खण्डमा टुक्रा पारेको छ । साम्राज्यवादीको विरुद्धमा चर्को भाषण र नारामा गालीका थाली पस्कनेहरू त्यही साम्राज्यवादी मुलुकमा आफ्ना सन्तान पठाउन विन्तिपत्र हाल्दै पाउ मोल्ने संस्कृतिको कुरूप रूपलाई शालीन र बिम्बात्मक रूपले झटारो हानेका छन् ।

अन्तिम कथा  हो – “गुह्य कुरो” । यो कथा मार्फत काठमाडौंका गल्ली गल्लीका घर चर्चमा परिणत भएको यथार्थतालाई देखाइएको छ र आयातित धर्मले फिंजाएको साम्राज्यको तीतो यथार्थलाई उजार गरिएको छ । धर्म निरपेक्षाताको परिणामलाई उदाङ्गो पारेपनि  धर्म निरपेक्षता शब्द कहीँ कतै उल्लेख गरिएको छैन । यो कथा मात्र होइन । यो हास्य व्यङ्ग्य पनि हो । अधिकांश कथामा समाज र दुनियाँका बिब्ल्याँटाहरूलाई हास्य रस घोलेर व्यङ्ग्य गरिएको छ । शायद व्यङ्ग्य लघु कथाको अङ्ग नै होला । तर हास्य सहितको लघु कथा लेखनमा कुसुमाकर अग्रपङ्क्तिमा रहेछन् भन्ने मैले गन्ध पाए ।

गन्ध सुँघ्दै जाँदा थाहा लाग्यो, यी त लघुकथाका गुरु नै रहेछन् । कसरी लघुकथा लेख्नु पर्छ भनेर हरेक हप्ता लघुकथा केन्द्रको जूम मार्फत संसार भरिका लघुकथाकारलाई सिकाउँदा रहेछन् । चेला लघुकथाकारका कथालाई आगोमा सुन गाले झैं गालेर टिलिक्क टल्काउने काम गर्दा रहेछन् । हरेक हप्ता समय दिएर केस्रा केस्रा केलाएर कथाका दरिला र कमजोर पक्षलाई उजागर गर्न सक्नु मेरा लागि चाहिँ चानचुने कुरो हुँदै होइन ।

संरचनागत हिसाबले पानीको फोहरा, तिर्खा, पाखण्डी जस्ता कथाहरू छोटा छन् र ती कथा लगभग नब्बेदेखि सय शब्दभन्दा कममा लेखिएका छन् । राष्ट्रियता, अकर्मण्यता, समृद्धि, लिखित सम्झौता लगायतका केही कथाहरू छोटा कथाका तुलनामा अलि लामा छन् र सय शब्द भन्दा बढीका छन् भने अधिकांश कथाहरू सय शब्दका हाराहारीमा लेखिएका छन् । साथै कतिपय कथाले भन्ने खोजेका सार र दिन खोजिएको सन्देश उस्तै उस्तै लाग्छन् । उदाहरणका लागि अंग्रेजी माध्यम, बिटुलो, अर्ति । कतिपय अरू कथामा पनि त्यो देख्न पाइन्छ ।

कथाका विषयवस्तु र प्रस्तुतिमा खोटको चोट भेटिंदैन, तर पनि भाषागत संरचनामा वाक्यको बनोट र त्यो बनोट भित्रका शब्द रखाइमा कता कता नमिलेको हो कि ! फेरि त कहाँको भाषाशास्त्री होस् भन्नु होला । तर साझा प्रकाशन जस्तो नेपाली भाषा र साहित्यमा मानक बनाएको संस्थाले प्रकाशन गरेको कृतिमा त्यस्तो नहुने पर्ने । जिब्रोले चामल निफन्न नजाने पनि बियाँ थाहा पाइहाल्दो रहेछ ।

डा. कुसुमाकर शर्मा पनि म जस्तै मुग्लान भागेका भगौडा रहेछन् । मैले यिनीसँग तुलना गर्न पाउने एउटा सानो छेस्को त्यही मात्र हो । भयङ्कर ज्ञान, सीप, पढाइ, लेखाइ र विद्वता भएका यी वैज्ञानिक साहित्यकारसँग नाम नजोडेको भए पनि हुने हो । तर तुलना गर्ने विषय केही नपाएकोले त्यही सानो छेस्कोलाई आग्लो बनाउने मेलो मात्र गरेको हुँ । यी शर्मासँग तुलना गर्दा आफैलाई कताकता सर्म पनि लागिरहेको छ । यी शर्मा जिन्दगीमा कता कता भागे त्यो त थाहा भएन, तर भाग्दा भाग्दै क्यानडाको एडमन्टन भन्ने ठाउँमा जिन्दगीको नाउ चलाउँदै रहेछन् ।

अन्त्यमा, “हिउँको राप” देश र दुनियाँका मान्छेका कुरूप रूपलाई हेर्ने ऐना हो । त्यो ऐनाबाट नेपाल भित्रको नेपाली समाज मात्र नभएर नेपाल बाहिरको समाजका प्रवृत्तिलाई हेर्न सकिन्छ । आफ्नो अनुहार आफै नदेख्ने मान्छेका अनुहार देख्न सकिन्छ । त्यो ऐनाबाट समाजका अगुवा, भगुवा, नेता, अभिनेता, कर्मचारी, ब्रह्मचारी, व्यापारी, दलाल, वकिल, पत्रकार, शिक्षक, विद्यार्थी लगायत सबै वर्ग, जात, धर्म र क्षेत्रमा देखिने पाखण्डको मुखुन्डो देख्न सकिन्छ ।

भाषा सरल छ । बोधगम्य छ । पढिसके पछि केही बेर सोच्न बाध्य बनाउँछ, त्यो उनको लेखनको सफलता हो । एउटा इन्जिनियर तथा वैज्ञानिक जसले नेपाली भन्दा अंग्रेजी धेरै पढ्यो, उसले नेपाली भाषामा यो तहको साहित्यिक कृति लेख्नु सगरमाथा चढ्नु बराबर हो भन्दा हेगमा हाजिर हुनु नपर्ला ।

अब फेरि अन्त्यमा यो समीक्षा होइन, मनको मन्थन मात्र हो ।